Friday, February 7, 2020

ब्रेन बाइट्स 
कोर्टेक्सको चुरोट छुट्टाउने टेक्निक 

ओम बानियाँ   
कोर्टेक्सको चर्चा शिखरमा थियो । उसको रिस र डाह गर्नेहरु पनि निकै बढेका थिए । फुच्चे डा. कोर्टेक्सको ग्यारेन्टिको उपचारका कारण कतिपय चिकित्सको धन्दा चौपट भएको थियो । एक जना चिकित्सकलाई कोर्टेक्सको टेक्निक सिकेर आफ्नो दोकान फेरि हराभरा गराउने विचार आयो । र, ऊ गाउँको कृषक बनेर कोर्टेक्सको क्लिनिकमा पुग्यो ।
 -----------

चिकित्सक(भित्र पस्दै): नमस्ते डा. साब !
कोर्टेक्सः नमस्ते ! बस्नुहोस् । (हात मिलाउँदै ) अरे ! तँपाई त धन्दा चौपट भएर डिप्रेस्ड एक असफल चिकित्सक जस्तो लाग्छ नि ?
चिकित्सक(हतपत): कहाँको म चिकित्सक हुने ? म त गाउँको सानो कृषक हुँ डा. साब !
कोर्टेक्सः भन्नुहोस् के समस्या पर्यो ? यहाँ ग्यारेन्टिका साथ उपचार हुन्छ, रोग ठीक नभए डबल पैसा फिर्ता !
चिकित्सकः त्यही भएर त म यहाँ आएको नि डा. साब । मेरो ज्यादै चुरोट पिउने आदत छ । दिनकै २ पकेट चुरोट पिउँछु । ल, डा. साब जसरी हुन्छ चुरोट छटाइदिनुहोस् ।
कोर्टेक्स(हाँस्दै): ल यति सानो समस्या ! ठाउँका ठाउँ छुटाइदिन्छु, कहिल्यै नखाने गरी ।
चिकित्सकः साँच्चै ?
कोर्टेक्सः ग्यारेन्टिका साथ, नत्र डबल पैसा फिर्ता ।
चिकित्सकः (मनमनै) अँ ! अब यसको यो टेक्निक सिकेर मजाले दाम कमाउनुपर्छ ।
कोर्टेक्सः होइन, कतै तँपाईले मनमनै मलाई उल्लू बनाएर दाम कमाउने विचार त गर्नु भएको छैन । भुलेर पनि त्यस्तो नसोच्नु होला ? मलाई उल्लू बनाउन खोज्नेलाई त मैले गधा बनाएर भारी बोकाउँछु नि फेरि !
चिकित्सकः (मनमनै) यो फुच्चे त निकै ज्याद्रो पो रहेछ गाँठे ?
कोर्टेक्सः हो, म ज्याद्रो नै छु । ल अब चुरोट छुटाउने होइन ?
चिकित्सकः कति पैसा लाग्छ ?
कोर्टेक्सः अरुलाई ५ सय, तर तँपाईंलाई भने ५० हजार ।
चिकित्सकः मलाई किन ५० हजार ? धेरै भएन र ?
कोर्टेक्सः नक्कली कृषक भएर ।
चिकित्सकः विश्वास गर्नुहोस्, म सक्कली कृषक नै हूँ डा. साब !
कोर्टेक्सः मसँग धेरै गनथन गर्ने समय छैन । चुरोट छुटाउने हो कि होइन ? ५० हजार त धेरै सस्तो हो । अब पनि यसरी नै चुरोट पिउँदै रहनु भयो भने अझ ३० वर्ष बाँचे, लगभग १ करोड धुँवामा नै उडाउनु हुन्छ ? के छ विचार ?
चिकित्सकः (मनमनै ) ५० हजार खर्चेर ५० लाख कसो नकमाइएला ?   छुटाउने हो डा. साब छुटाउने हो ?
कोर्टेक्सः उसो भए बाहिर काउण्टरमा गई ५० हजार बुझाएर आउनुहोस् !
हस् भन्दै चिकित्सक बाहिर गयो ।

--------------
कोर्टेक्सः (मनमनै) मेरो टेक्निक चोर्न कृषक बनेर आउने यो डाक्टरलाई अब मैले यसरी गधा बनाएर भारी बोकाउँछु कि आइन्दा मेरो नाम सुन्ने बित्तिकै यसको सातो जाने छ !




-------------
चिकित्सक भित्र पस्यो ।
चिकित्सकः पैसा बुझाएँ डा. साब । यी लौनुहोस् रसिद ।
कोर्टेक्सः ल अब यहाँनिर उम्भिनुहोस् र तँपाईले कसरी चुरोट पिउनुहुन्छ देखाउनुहोस् ?
चिकित्सकः (चौर औंला र माँझी औंलाले चुरोटको खिल्ली समाउँदै) यी यसरी पिउँछु डा. साब ?
कोर्टेक्सः ल अब औंला धोल्लो(लुज) गर्नुहोस् त !
चिकित्सकले औंला धोल्लो गर्यो । चुरोट भुइँमा खस्यो ।
कोर्टेक्सः देख्नु भयो कसरी ठाउँका ठाउँ चुरोट छुट्यो ? अबदेखि जब जब तँपाईलाई चुरोट पिउन मन लाग्छ यसरी नै औंला धोल्लो बनाउनु होला, चुरोट छुटिहाल्छ ग्यारेन्टिका साथ ।
चिकित्सकः हँ ?
कोर्टेक्सः अँ । ल अब ५० हजारको भारी बोकेर भुँडी हल्लाउँदै घर जानुहोस् ।

----------
जय हो !




Thursday, February 6, 2020

ब्रेन बाइट्स


रोज डे 

कोर्टेक्सको एक छट्टु साथी छ, पोन्स । कोर्टेक्ससँगै ऊ पनि ७ कक्षामा पढ्छ । उमेरले बल्ल १२ वर्षको भएता पनि उसले आफुलाई लक्का तन्नेरी ठान्छ, त्यसैले ऊ आफुलाई मि. पोन्स भन्न रुचाउँछ । कोर्टेक्स लगायत उसका साथीले पनि उसलाई मि. पोन्स नै भन्छन् ।
--------------- 
मि. पोन्सलाई अस्तिदेखि नै निद्रा लागेको थिएन । ऊ ७ तारिखको लामो पर्खाइमा थियो । प्रतिक्षाको गडी पनि सकियो । आज ऊ एका बिहानै उठ्यो । नुहाइधुवाइ गर्यो । बजारमा गएर एउटा सुन्दर गुलाबको फूल किनेर ल्यायो । बिहान नौ बजे नै ड्रेस लगाई सेन्ट छर्क्यो । र, गुलाबको फूल झोलामा राखेर स्कुलतिर लाग्यो । स्कुलमा पाले बाहेक कोही आएका थिएनन् । निकै बेरपछि विद्यार्थीहरु गेट भित्र पस्न थाले । उसले अपूर्वालाई पनि आउदै गरेको देख्यो । अनि खुसी हुँदै अपूर्वातिर दौडियो र गुलाबको फूल निकालेर दियो ।
मि. पोन्सः ह्याप्पी रोज डे अपूर्वा !
अपूर्वाः (फूल समात्दै।) आहा ! कति सुन्दर फूल ! थ्यांक यू पोन्स ।
मि. पोन्सः (लजालु मख्ख पर्यो ।)
अपूर्वाः (गुलाबको फूल सुँघ्दै) कहाँबाट यति राम्रो गुलाबको फूल ल्याएको तिमीले ? अरु ५ वटा पनि ल्याइदेउन मलाई ?
मि. पोन्सः किन अरु पाँच वटा ? गुलाबको फूलको तरकारी खाने बिचार छ कि क्या हो ?
अपूर्वाः मेरा ६ जना बोयफ्रेण्ड छन् क्या !
मि. पोन्स स्तब्ध ।
मि. पोन्सः ले मेरो फूल ? (मि पोन्सले रिसाउँदे अपूर्वाको हातको फूल  खास्यो ।)
अपूर्वाः कस्ता कस्ता भिखारी छन् हाम्रो देशमा ? (अपूर्वा कक्षा कोठातिर गई ।)

-----------
मि. पोन्स स्कुलको पेटीमा थचक्क बस्यो टाउको समाएर । उसको मनले गीत गाउन थाल्यो, उडायो सपना सबै हुरीले---------। के सोचे मैले के भयो अहिले --------।

 
'मि. पोन्स के सोचेर बसेको तिमी यहाँ ? उठ ।' आवाज मि पोन्सको कानमा पर्यो । मि. पोन्सले अगाडि हेर्योः अलि पर ऐश्वर्या मिस मुसुक्क हाँस्दै आउँदै थिइन् ।

------------
फिर------- । फिर क्या ? अगले दिन अपने मोहल्ले मे ........ऐश्वर्या आई ।

------------ 
मि. पोन्सको अनुहारमा एकाएक खुसीको लहर दौडियो, ऊ उठ्यो र गुलाबको फूल मिसलाई दियो । 
ऐश्वर्याः आहा ! कित राम्रो फूल ! थ्यांक यू मि. पोन्स ! ( ऐश्वर्या मिसले मि पोन्सको गालामा च्वाप्प म्वाइँ खाइन् । मि पोन्सको मुटुको धड्कन एकास्सी बढ्यो । ऊ खुसीले उफ्रिदै दौडियो । 
ऐश्वर्याः होइन मि. पोन्स तिमी कता दौडिएको ? मि पोन्स दौडिदै करायो, अर्को गुलाबको फूल लिन ऐश्वर्या मिस !
--------
जय हो !