Saturday, May 16, 2020

ब्रेन बाइट्स 

सुनको कचौरामा भिख माग्ने देश 
ओम बानियाँ 

मैले चिनेजानेका एक जना ६८ वर्षीय कृषक छन् रुपन्देहीमा । पक्की सडकसँग जोडिएको एक बिगाह जमीन छ, उनी र उनको परिवारसँग । यस जमीनको वर्तमान बजार मुल्य कम्तिमा पनि २० करोड छ । वर्षैदेखि उनी उक्त खेतमा परंपरागत रुपमा खेतीपाती गदै आएका छन् । गाई, भैंसी, बाख्रा तथा कुखुरा पनि पालेका छन् । तर, उनलाई सधैं परिवार पाल्न धौधौ छ । उनले मीठोमसिनो खाएको र राम्रो लगाएको साहेद कुनै छिमेकीले देखेका छन । पैसाको अभावमा नै उनले छोराछोरीहरुलाई सार्वजनिक विद्यालयमा पढाए । कान्छो छोराले बाहेक अरुले १० कक्षा पनि उत्र्तिण गर्न सकेनन् । विज्ञान लिएर पढेको कान्छो छोराले १२ कक्षा राम्रै अंक ल्याएर उत्तिर्ण गरेको भएता पनि एमबीबीएसको छात्रवृत्तिमा नाम निकाल्न सकेनन् । साथीहरु ऋणधन गरेर तथा कसैले जग्गा बेचेर बंगलादेश तथा चीन पढ्न गएता पनि उनका बाले भने उनलाई पैसा खर्च गरेर बाहिर पढ्न पठाएनन् । आफन्तहरुले एकदुई कठ्ठा खेत बेचेर भएपनि छोरालाई एमबीबीएस नै पढाउन सल्लाह दिएता पनि उनले कुनै वास्ता गरेनन् । आफुले पढ्न चाहेको विषय पढ्न नपाएपछि उनको छोराले बीएससी वा अन्य कुनै विषय पढ्न रुचि देखाएनन् । बिस्तारै उनी डिप्रेस्ड हुन थाले । हुनत उनले अहिले एक प्राइभेट स्कुलमा विज्ञान विषय पढाउँछन् । तर, उनको जीवनमा कुनै रंग छैन, कुनै रमाइलो छैन ।  उनको माइलो छोरा तथा दुई बुहारीहरुले खेतपाती गर्छन् भने जेठो छोरो दिल्लीमा मजदुरी गर्छन् । माल पाएर पनि चाल नपाएका लोभी बुढाले आफुले पनि दुःख पाए, बुढी तथा छोराछोरीहरुलाई पनि खुब दुःख दिए भन्छन्, आफन्त, चिनेजानेका मानिसहरु र छिमेकीहरुले । 

उनी मात्र होइनन्, यसरी माल पाएर पनि चाल नपाएका मानिसहरु थुप्रै छन् नेपालमा ।  ठीक यसरी नै नेपाली राजनीतिले पनि माल पाएर चाल पाएको छैन । 



नेपाल गरीब छैन । नेपाल गरीब मुलुक पनि होइन । अपार प्राकृतिक साधानस्रोतहरुले धनी भएर पनि त्यसको समोचित सदुपयोग गर्न नसकेको अविकसित देश हो, नेपाल । त्यसैले त जान्नेबुझ्नेको माँझमा नेपाल सुनको कचौरामा भिख माग्नेहरुको देश कहलिएको छ । नेपाली भुगोललाई राम्रोसँग बुझ्नु भएका स्व. डा. हर्क गुरुङले पटक–पटक यही भन्नुहुन्थ्यो, ‘नेपाल नचिन्नु नै नेपालीको अभिषाप हो ।’ वास्तवमा नेपालमा गणतन्त्र नआएर वा संघीयता नभएर नेपालले प्रगति गर्न नसकेको होइन, हर्क गुरुङले भनेझै नेपाल चिन्न नसक्नाले नै नेपालको प्रगति र समृद्धि हुन नसेकेको हो । गणतन्त्र, संघीयता वा थरिथरिका वाद र व्यावस्था त राजनीतिक बाहना मात्र हुन् ।

धनी छ नेपालः
नेपाल प्राकृतिक साधनस्रोतले निकै धनी छ । बहुुजाति, बहुभाषी, बहुसंस्कृति तथा जैविक विविधताको पनि धनी छ । वास्तवमा नेपाल सयौं जातजाती, भाषाभाषी तथा अनेक परंपरा र संस्कृतिहरूले भरिएको संसारकै अनुपम र सुन्दर देश हो । प्रकृतिले सुन्दर नगरीका रूपमा सिंगारिहिएको यो देश नेपाल हिमाल–पहाड–तराइ, पाखा–पखेरा, छाँगा–छहरा, वनजड्डल, डाँफे–मुनाल र लेखबेंसीले शोभायमान छ । बहुुजाति, बहुभाषी, बहुसंस्कृति तथा जैविक विविधताको यो देशमा अनेकौ धर्म, भाषा र संस्कृतिहरू अपनाउने यावत् जातजातिहरू सदियौंदेखि हातमा हात गाँसी मिलेर बसेका छन् । यस्तो सामाजिक सद्भाव संसारमा बिरल्लै देख्न पाइन्छ । समाजिक सद्भाव र आपसी एकता, अनुशासित र इमानदार नागरिकले पनि धनी छ नेपाल । त्यसैले नेपाल संसारकै सुन्दर, शान्त र समृद्धिशाली राष्ट्र बन्न सक्ने प्रचुर संभावना छ । नेपालको विकास र समृद्धि सम्भव छ । 

तर किन भएन विकासः
हो, प्राकृतिक साधनस्रोतले यति धनी हँुदा पनि नेपालको विकास हुन सकेन । प्रगति हुन सकेन । पछिल्लो ३०, ४० वर्षमा नेपाल भन्दा निकै गरीब र कमजोर देशहरुले समेत आर्थिक विकासको अकाश छँदै गर्दा नेपाल भने जहाँको तहीं छ । यसरी नेपालको प्रगति हुन नसक्नुको मख्य कारण हो,  नेपालको असक्षम राजनीति । विकास र समृद्धिका नाममा नेपालमा अनेक राजनीतिक प्रयोगहरु भए । पंचायती व्यावस्था आयो, ३० वर्ष शासन गर्यो । बहुदलीय पजातन्त्र, १३ वर्ष शासन गर्यौ । पुनः सक्रिय राजतन्त्र आयो । र, अहिले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र छ । तर नेपालमा जुनतन्त्र आए पनि नेपालको राजनीति इमानदार, दूरदर्शी र सक्षम हुन सकेन । आफ्नै खुट्टामा उभिन सकेन, सकिरहेको छैन । 


हो, हरेक पार्टीका नेताहरुले नेपालको विकास र समृद्धिका ठूल्ठूला कुरा गर्छन् । सिंहझै गर्जिएर आकाशको तारा झार्ने भाषण ठोक्छन् । तर कुन विकास किन कसरी कहिले गर्ने भन्ने योजनाप्रति उनीहरुको कुनै चाँसो छैन । ज्ञान पनि छैन । वास्तवमा नेपाली राजनीतिमा कन्ट्री फस्र्टको भावना नै छैन । नेपाली राजनीति पार्टी फस्र्ट, गुट फस्र्टको भावनाले ओतप्रोत छ । पछिल्लो ३० वर्षको इतिहास पल्टाउने हो भने नेपाली राजनीतिले देशको भन्दा पनि आफ्नो पार्टीको, आफ्नो र आफ्नो गुटको हित र विकास गरेको देखिन्छ । कुनै पनि देशमा राजनीतिक नेतृत्व यस कारण आवश्यक हुन्छ कि मानिसहरु जहाँ पुग्न चाहन्छन्, त्यहाँ पुग्न सकिरहेका हुँदैनन् । पुग्ने चाहना छ, तर पुग्न सकेका छैनन् । तब नेताको आवश्यकता हुन्छ ।  नेतृत्वको आवश्यकता हुन्छ ।  एक व्यक्ति नेता तब हुन्छ, जसले आफ्नो व्यक्तिगत सीमाहरु भन्दा अगाडि बढेर सोच्दछ, महसुस गर्छ, कार्य गर्छ । वास्तवमा नेतृत्व भनेको कार्य गर्ने वा असम्भव जस्तो देखिने कार्यलाई सम्भव बनाउने विज्ञान हो । तर नेपालमा यसको ठीक उल्टो छ । जसले कामकाज रोक्दछ, भत्काउँछ, बिर्गाछ, उही नेता बन्दछ । यदि कुनै व्यक्तिले कामकाज ठप्प पार्न सक्दछ, चक्काजाम गर्न सक्दछ, नेपाल बन्द गर्न सक्दछ । त्यही व्यक्ति नेपालमा नेता बन्दछ । यो नै नेपालको दुर्भाग्य हो ।  

यसरी बन्छ नेपालः
कुनै पनि देश समृद्धशाली हुन देशमा विद्यमान साधानस्रोतहरुको अधिकतम सदुपयोग गर्न आवश्यक छ । त्यसैले नेपाललाई समृद्धशाली बनाउनका लागि नेपालमा विद्यमान प्राकृतिक साधानस्रोतहरु जस्तै जल, जंगल, जमीन, जडीबुटि, डाँडाकाडा, हिमाल र प्राकृतिक सुन्दरतालाई ठीक ढंगबाट उपयोगमा ल्याउनुपर्छ । विकासका दुई आधार स्तम्भः स्वास्थ्य र शिक्षामा पर्याप्त लगानी गरेर स्वास्थ्य र शिक्षालाई सर्वशुलभ बनाउनुपर्छ । राज्यले कुनै पनि नेपाली नागरिकले आफ्नो बौद्धिक क्षमता अनुसार आफुले चाहेको विषय पढ्न पाउने तथा उचित औषधोपचार पाएर मर्न नपर्ने वातावरण सृजना गर्नुपर्छ । त्यो किनभने देशलाई विकासपथमा अगाडि बढाउन स्वस्थ र शिक्षित नागरिकहरु उत्साहजनक सहभागिता आवश्यक हुन्छ । शिक्षा तथा स्वास्थ्यलाई शर्वसुलभ बनाउनका लागि हरेक गाउँपालिकामा तथा नगरपालिकामा एक वा त्यो भन्दा धेरै सामान्य चिकित्सक(जीपी) सहितको निःशुल्क स्वास्थ्य केन्द्र, हरेक जिल्लामा सबै विभागहरु भएको सुविधासम्पन्न जिल्ला अस्पताल र हरेक प्रदेशमा कम्ति पनि दुई वटा सुपर विशेषज्ञ सेवा सहितका ठुला अस्पतालहरु तथा १४ वटा सबै संकायहरु भएको अन्तर्राष्ट्रिय स्तरका विश्वविद्यालय तथा आवश्यकता अनुसार विद्यालय तथा क्याम्पसहरु स्थापना गर्नुपर्छ । विकासनिर्माणमा जनसहभागिता गराएर गाउँदेखि नै विकासको लहर ल्याउनुपर्छ । उजाड पहाडलाई हरियाली बनाउनु पर्छ । विकासको मेरुदण्ड मानिने यातयात सुविधाका लागि आवश्यक सडकमार्गहरु, पुर्वपरिश्चम रेलमार्ग तथा कम्तिमा पनि तीन वटा अन्तर्राष्ट्रिय एअरपोर्टहरु बनाउनुपर्छ । खेलकुदको विकासका लागि पाँच वटा अन्तर्राष्ट्रिय स्तरको रंगशाला तथा हरेक शहरमा राष्ट्रिय स्तरको रंगशाला बनाउनुपर्छ । ठाउँ ठाउँमा पार्कहरु निर्माण गर्नुपर्छ । स्वदेशी उद्योगहरुलाई प्रोत्साहित गर्ने, गाउँ गाउँमा बैंकिंग सेवा पुराएर सम्पुर्ण आर्थिक कारोबारहरु बैंक मार्फत् गर्ने वातावरण तयार गर्नुपर्छ ।

सबै गाउँपालिका तथा नगरपालिकामा विद्युतीय सुशासन स्थापना गरी जन्म, मृत्यु, बसाइसराइ, पारिवारिक तथा सम्पत्ति विवरण, पेशा व्यावसाय तथा स्वदेश वा विदेशमा नागरिकले गर्दै आएको कामधन्दा तथा नोकरीको तथा नेपालमा कामधन्दा तथा नोकरी गर्न आउने विदेशीहरुको विवरण सम्बन्धित ग्रामपालिका तथा नगरपालिमा अनिवार्य पंजिकृत तथा अद्यावधि गर्ने व्यावस्था गर्नुपर्छ । यस्तो व्यावस्थाले भष्ट्रचार नियन्त्रणमा समेत सहयोग पुराउँछ । नेपाली राजनीतिले यसरी काम गर्ने हो भने केही वर्षमा नै नेपाल बन्छ । तर ओली, प्रचण्ड तथा शेरबहादुरहरुले नेपाल बनाउन सक्दैनन् । त्यो किनभने नेपाल बनाउन नेपाल चिन्न सक्ने एक समर्थ राजनीतिक नेतृत्वको आवश्यकता छ । 


कस्तो हुन्छ समर्थ नेतृत्वः
आफ्नो क्षमता र अरुको मनस्थितिको पहिचान गर्न सक्ने, जस्तोसुकै प्रतिकुल परिस्थितिहरुमा पनि होशह्वास नछोड्ने, कठिनाइहरुमा औसरहरु खोज्न सक्ने, निर्दिष्ट उद्देश्य पुरा गर्नका लागि उद्देश्यमा अर्जुनदृष्टि साधी आफू र आफ्नो टीमलाई उत्प्रेरित गर्न सक्ने तथा आफ्नो र मानवीय अन्तर्सम्बन्धको भावनाहरूको तालमेल गर्नसक्ने खÒबी भएको इमानदार, दुरदर्शी र साहसी नेतृत्व नै समर्थ नेतृत्व हो ।

पुछारमाः
अतः समर्थ नेतृत्वको लोकतान्त्रिक सरकारले दरो अठोट र संकल्प लिएर, ५० वर्ष र १०० वर्षमा नेपाललाई कस्तो बनाउने हो भन्ने दुरदृष्टिका साथ ५ वर्षीय, १० वर्षीय तथा १५ वर्षीय विकासको गुरुयोजना बनाएर यसरी काम गर्यो भने नेपाल बन्छ, अवश्य नेपाल बन्छ, १०, १५ वर्ष भित्रमा नै नेपाल संसारकै एक सुन्दर, शान्त र समृद्धशाली राष्ट्र हुन्छ । तर यसको लागि एक सक्षम नेतृत्व आवश्यक छ । (लेखक मनोविद् हुन् ।) केही वर्ष अगाडि नागरिक दैनिकमा प्रकाशित लेख । 

 


Friday, May 15, 2020

ब्रेन बाइट्स 
माइण्ड अफ मुम्बइ डब्बावाला 
ओम बानियाँ 

भागदौड र भिडभाडले सास लिन पनि मुश्किल हुने मुम्बई सहरका २ लाख सरकारी तथा गैरसरकारी कर्मचारीहरुको लाइफलाइन हुन्,  मुम्बइ डब्बावाला ।  मुम्बइ डब्बावाला एक यस्तो संगठन हो, जसका कामदारहरुले १२८ वर्षदेखि ठीक समयमा उचित तरिकाले कर्मचारीका परिवारले घरमै पकाएको खानाको डब्बा घरदेखि अफिससम्म र खाली डब्बा पुनः घरसम्म पुराइदिने पुण्य कार्य गर्दै आएका छन् । आफ्नो पेशाप्रतिको ईमानदारीता, कर्तव्यनिष्ठता र चुस्ततुरुस्त व्यावस्थापनका कारण अहिले मुम्बइ डब्बावालाहरु संसारभर चर्चित छन् । भारतको अहमदावाद स्थित विश्वप्रसिद्ध म्यानेजमेन्ट युनिभर्ससिटी, आईआईएममा यसका वारेमा केस स्टेडी हुने गर्छ । मुम्बइ डब्बावालाहरुलाई देशविदेशमा समेत बोलाउने गरिन्छ । यसै सिलसिलामा नूतन टिफिन कम्पनीका अध्यक्ष रघुनाथ केन्या, इटाली, अमेरिका, बेलायत तथा नाइजेरिया सहित अनेक देशहरुको भ्रमण गरेका छन् । 


देशविदेशका अनेक संस्था तथा टिभी च्यानलहरुले डब्बावालाहरुको कार्यशैली तथा व्यावस्थापनको सम्बन्धमा थुप्रै डक्युमेन्ट्री बनाएका छन् । बीबीसी, डिस्कवरी तथा नेसनल जियोग्राफिक च्यानलले डब्बावालको बारेमा बनाएको डक्युमेन्ट्री निकै लोकप्रिय पनि भएका छन् । सन् २०१३ मा प्रर्दशित हिन्दी फिल्म लन्चबक्स पनि मुम्बइ डब्बावालाबाट प्रभावित छ ।   

सेतो कुर्ता पाइजामा, गान्धी टोपी, घाँटीमा रुद्राक्षको माला तथा कोल्हापुरी चप्पल लगाएर काम गर्ने अधिकांश डब्बावाला वारकारी समुदायका छन्, जसले विट्ठल भगवानमाथि आस्था राख्छन् । मुम्बइ डब्बावालाको आर्दश वाक्य छ, अन्नपुर्णा देवोभवः अर्थात भोजन उपलब्ध गराउने व्यक्ति देवताको जस्तै हुन् । यही निश्वार्थ भावना र कार्यशैलीका कारण डब्बावालाहरु देशविदेशमा चर्चित छन् । त्यसैले डब्बावालाहरुलाई मुम्बइको लाइफलाइन पनि भन्ने गरिन्छ ।

डब्बामा मायाः 
मुम्बइ डब्बावालाको विषयमा विद्यावारीधि गर्ने मोटिभेसनल स्पीकर डा. पवन अग्रवालले डब्बावालाको कार्यशैली, ईमान्दारीता र व्यावस्थापकीय क्षमताका बारेमा अनेक रोचक तथ्यहरु वाहिर ल्याएका छन् । उनी भन्छन्, मुम्बइ डब्बावालाहरुले घरदेखि अफिससम्म खाना मात्र होइन परिवारको माया पनि पुराउने गरेका छन् । एक प्रसंगमा उनी भन्छन्ः एक पटक पतिपत्नीको बीच ठाकठुक परेछ । एंग्री पति अब आफु कहिल्यै घर नफर्किने भन्दै अफिस गएछन् । सधैंझैं साढे नौ बजे खानाको डब्बा लिन डब्बावाला आएछ । पत्नीले डब्बा दिइछन् । बिहानका एंग्री योंगमैन दिउँसोसम्म हंग्री योंगमैन भैसकेका थिए । डब्बा हातमा पर्नासाथ उनले डब्बा खोलेछन् । डब्बा भित्र एक म्यासेज थियो, प्रिय पतिदेव, आई एम सरी । खाना निकै मीठो छ । खानु होला । आई लभ यु । पति भावविभोर भएर खाना खाएछन् र सिनेमाका दुई वटा टिकट किनेर खाली डब्बामा हालेर आई लभ यु टु म्यासेज लेखेर घर पठाइदिए छन् ।



डिब्बावालाको शुरुवातः 
सन् १८९० तिरको समाजमा बिहान उठेर आफ्ना कर्मचारी पतीलाई टिफिन बनाएर अफिस पठाउन निकै गाह्रो थियो । उति बेला आज जस्तो भान्छामा नै ग्याँस र पानी आदि थिएन ।  कर्मचारी र उनका परिवारको यो समस्यालाई बुझेर नै महादेव हाव्जीले घरको खाना अफिससम्म पुराउने उद्देश्यले नुतन टिफिन कम्पनी मार्फत सन् १८९० मा डब्बावालाको शुरुवात गरेका थिए । जब नुतन टिफिन कम्पनीका महादेवले डब्बा घरबाट अफिस पुराउने कार्यको शुरुवात गरेका थिए त्यसबेला अंग्रेज तथा फारसी समुदायका १०० जना जति ग्राहकहरु थिए । त्यो संख्या क्रमशः बढ्दै गएर आज २ लाख भन्दा माथि पुगेको छ । रघनुाथ मेडगे ३५ वर्षदेखि यस संस्थाका अध्यक्ष छन् । र, अहिले डब्बावालाको संख्या लगभग ५ हजार छ ।  यी ५ हजार डब्बावालाहरुले मुम्बइकोे ६ वटा कार्यालयहरु मार्फत् २ लाख कर्मचारीहरुको घरबाट अफिसमा खाना पुराउने कार्य गर्दै आएका छन् । 

डब्बावाला माइण्डः

डब्बावालाको रुपमा काम गर्न कुनै शैक्षिक योग्यताको आवश्यकता पर्दैन । अशिक्षित तथा पाका व्यक्ति पनि डब्बावाला बन्न सक्छन् । अहिलेका डब्बावालाहरु औसत ८ कक्षा पढेका र औषत ५५ वर्ष उमेरका छन् । तर उनीहरुको टाइम म्यानेजमेन्ट र मेमोरी गजबको छ । कतिपय धेरै पढेका कर्मचारीहरु ठीक समयमा अफिस पुग्न सक्दैनन् । तर मुसालधारे वर्षा होस् वा प्रचण्ड गर्मी वा ट्राफिक जाम डब्बावाला सधैं ठीक समयमा डब्बा लिएर अफिस पुग्छन् । कतिपय कर्मचारीहरुले आफ्नै घरबाट पठाएको डब्बा चिन्न सक्दैनन् । तर डब्बावालाहरुले सम्बन्धित व्यक्तिको डब्बा पुराउन कुनै गल्ती गर्दैनन् । पछिल्लो १२८ वर्षको इतिहासमा डब्बावाला कहिल्यै लेट भएका छैनन् । उनीहरु काम १०० प्रतिशत परफेक्ट छ । त्यसैले डब्बावालालाई सिक्स सिग्मा रेटिगं मिलेको छ । जसको अर्थ हन्छ, ६ मिलियन ट्रांससेक्सनमा गल्ती हुने सम्भवना केवल एक हुन्छ । सामान्यतया संकेतको आधारमा नै डब्बावालाहरुको नेटर्वक चल्छ । उमेर, शिक्षा तथा अनुभव जति भए पनि हरेक डब्बावालाको आय उतिनै छ । ९ देखि १० हजार मासिक कमाइ । वर्षमा एक पटक एक महिनाको तलब बराबर बोनस मिल्दछ ।

सजिलौ छैन कामः
डब्बावालाको काम त्यति सजिलो छैन । प्रचण्ड गर्मी होस् वा मुसलधारे वर्षा, खुट्टा राख्ने ठाउँ नहुने लोकल टे«नमा कोच्चिएर होस् वा साइकल कुदाएर होस्, एक डब्बावालाले हरेक दिन ६० देखि ७० किलोमिटर यात्रा गर्नुपर्दछ । एक डब्बा ग्राहकसम्म ६ हात भएर पुग्दछ । खाली डब्बा पनि त्यसरी नै घर फर्किन्छ । खाना ३ घण्टा भित्र कार्यालय पुग्दछ । सप्लाईका लागि डब्बावालाहरुले साइकल तथा लोकल टे«न प्रयोग गर्छन् । डब्बावालाको रुपमा कार्य गर्न केही नियमहरुको पालना गर्न जरुरी छ । जस्तैः कामको सयममा नशापानी गर्न सख्त मनाही छ । डब्बावालाले सेतो गान्धी टोपी लगाउन आवश्यक छ । बिना पूर्वसचना विदा मिल्दैन । हमेसा साथमा आई कार्ड राख्न आवश्यक छ । कसैले नियम उलंगन गरेमा एक हजार फाइन हुन्छ ।
 

पुछारमाः
अतः ५ हजार डब्बावालाहरुले २ लाख खानाका डब्बाहरु निश्चित समयमा ठीक तरिकाले ठीक ठाउँमा पुराउनु भन्दा ठूलो प्रवन्ध अर्को के हुन सक्दछ ? यो ठुल्ठुला बिजनेश गुरुका लागि पनि चकित पार्ने कुरा हो । वास्तवमा मुम्बइ डब्बावाला उचित व्यावस्थापनको एक उदाहरण हो । त्यसैले त मुम्बइ डब्बावालाहरुको कार्यशैली तथा व्यावस्थापनले ठुल्ठुल्ला उद्योगीव्यावसायी, स्कोलर, समाजसेवी देखि राजकुमार चाल्र्सको समेत ध्यान खिच्न सफल भएको छ ।  डब्बावालाको व्यावस्थापनाको यति प्रसशां हुनुको पहिलो कारण हो, समय व्यावस्थापन (टाइम म्यानेजमेन्ट), दोस्रो हो अनुशासन तथा तेस्रो हो, कामप्रतिको लगााव ।  (लेखक मनोविद् हुन् ।)


                        

Tuesday, May 12, 2020

ब्रेन बाइट्स

ज्ञानको मनोविज्ञान
ओम बानियाँ

आचार्य चाणक्यले भनेका छन्ः “ज्ञानेन हीनाः पशुभिः समानाः अर्थात् ज्ञानरहित मानिस पशु समान हो ।” त्यसैले जीवनमा सफलता प्राप्त गर्न मात्र होइन कि पशुभन्दा माथि उठ्न पनि मानिसले ज्ञान प्राप्त गर्नु पर्दछ । तर ज्ञान प्राप्त गर्न भने सजिलो छैन । त्यो किन भने ज्ञानको नाउँमा मिथ्या ज्ञान पनि हात लाग्न सक्दछ । जुन कुरा जे जस्तो छ, त्यसलाई त्यसरी नै जान्नु ज्ञान हो । अन्यथा जान्नु वा जे जस्तो छ, त्यो त्यसरी नजान्नु मिथ्या ज्ञान हो । त्यसैले जसले ज्ञान दिन्छ, त्यो विद्या हो । जसले मिथ्या ज्ञान दिन्छ, त्यो अविद्या हो । विद्या अनेकौं हुन्छन्, जस्तैः विज्ञान, गणित, वाणिज्य, आयूर्वेद, ज्योतिष, भूगोल, इतिहास तथा संगीत इत्यादि । विद्या ज्ञानको माध्यम हो, जसरी बाल्टीले कुवा भित्रको पानी झिक्न मद्धत गर्दछ, ठीक त्यसरी नै विद्याले मानिसभित्रको ज्ञान बाहिर झिक्न मद्धत गर्दछ ।



स्याउको रूखबाट स्याउ खस्यो । आइज्याक न्यूटनलाई गुरूत्वाकर्षणको ज्ञान अवगत भयो । न्यूटनले स्याउ खसेको देख्नु पूर्व पनि स्याउहरू भुइँमा खसिरहेका थिए । गुरूत्वाकर्षणको ज्ञान अन्य मन–मस्तिष्कहरू भित्र पनि थियो । तर स्याउले न्यूटनको मस्तिष्क भित्रको त्यो ज्ञानलाई स्मृतिमा प्रकट गरायो । त्यसैले सधैं याद राख्नु पर्ने एउटा कुरा के भने ज्ञान भन्ने कुरा बाहिर कहीं कतै छैन, मानिसभित्र नै छ । वास्तवमा मानिस ज्ञानको भण्डार हो, ज्ञानको महासागर नै हो । तर योे ज्ञान अधिकांश मानिसलाई छैन । त्यसैले त मानिसहरू बाहिर–बाहिर भट्किरहेका छन् । वास्तवमा ज्ञान बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड भएको छ ।

योगशास्त्रका अनुसार यस सृष्टिमा साना–ठूला ८४ लाख प्राणीहरू छन् । तर सृष्टिका हजारौं–हजार प्राणीहरू मध्ये मानिस शारीरिकरूपले निकै कमजोर छ । मानिस चरा जस्तो उड्न सक्दैन, चितुवाझैं दौडिँन सक्दैन, घोडाझैँ हिनहिनाउन सक्दैन, माछाझैँ पौडिन सक्दैन, बाँदरझैँ रूखमा चढ्न र हामफाल्न सक्दैन । मानिसको खुट्टा न त हात्तिको जस्तो बलियो छ न त पंजा भालुका जस्ता दह्रो छ । मानिसको आँखा न त चिलका जस्तो तेजिलो छ  न  त शरीर गैंडाको जस्तो बलियो र कडा छ, एउटा सानो किराले टोकेर पनि मानिस ठहरै मर्न सक्दछ । तर मानिससँग ती हजारौं–हजार प्राणीहरूको भन्दा ठूलो सम्पत्ति छ, त्यो हो मानिसको मस्तिष्क र सोच्न सक्ने शक्ति । मानिसको यही सम्पत्तिले गर्दा नै मानिस हात्तीमाथि चढेर हिँड्छ, मदोन्मत्त घोडालाई लगाममा बाध्छ, जंगलको राजा सिंहलाई नै खोरमा हालेर उसको तमासा हेर्दछ । वास्तवमा मानिसले आफ्नो वातावरण आफैँ तयार गर्दछ । तर मानिस वाहेकका प्राणीहरूले आफ्नो वातावरण आफैँ तयार गर्न सक्दैनन्., त्यसैले त उनीहरूलाई प्रकृति अनुसार हिँड्नु पर्दछ, मानिसको हलोमा नारिनु पर्दछ, मानिसको लगाममा बाँधिनु पर्दछ । तर मानिसहरूमा पनि सबै मानिसहरूले आफ्नो वातावरण आफै तयार गर्न सक्दैनन्, त्यसैले त यस्ता मानिसहरू पनि टाठा–बाठाको हलोमा नारिनु पर्दछ, बाँदरझैँ उनीहरूको तालमा नाच्नु पर्दछ । 


महान् वैज्ञानिक आर्किमिडिजले भनेका छन्ः “मलाई पर्याप्त लामो एउटा उत्तोलक र पर्याप्त बलियो एउटा ओट देऊ । मैले एक हातले नै विश्व हल्लाइदिन सक्छु ।” आर्किमिडिजले मानवीय सामथ्र्य असीमित छ भन्ने तथ्य थाहा पाएर नै उपर्युक्त कुरा व्यक्त गरेका हुन् । हुन पनि यो ब्रह्माण्डमा मानिसले गर्न नसक्ने कुनै कुरा छैन । जुन कुरा हिजो असम्भव लाग्थ्यो, आज त्यो सम्भव भएको छ । आज असम्भव लाग्ने कुरा भोलि सम्भव हुनेछ, यो निश्चित छ । त्यो किनभने मानव मस्तिष्क शक्तिको कुनै सीमा छैन ।  त्यसैले मानवका लागि सबै कुरा सम्भव छ । वेदमा भनिएको नै छः अहं ब्रह्मास्मि अर्थात् म नै ब्रह्म हँु, तत् त्वमसि अर्थात् त्यो भगवान् भन्नु नै तिमी हौँ, अयमात्मा ब्रह्म अर्थात् यो आत्मा नै ब्रह्म हो तथा सर्वं खल्विदं ब्रह्म अर्थात् यो सबै नै ब्रह्म हो । यो नै सबै भन्दा ठूलो ज्ञान हो । यो ज्ञान जसलाई हुन्छ, उसले अवश्य नै सफलताको शिखरमा पाइला टेक्न सक्दछ । 
अज्ञान

एकादेशको कथा हो । त्यस देशका दयालु राजा शिकार खेल्न जंगलतिर जाँदै थिए । बाटोमा एक गरीब लोहारसँग भेट भयो । लोहारको दरिद्रतामाथि राजालाई दया जाग्यो । राजाले त्यो लोहारलाई करीब एक बिघा जमीनमा फैलिएको जंगल नै बक्सिस दिए । र, आफ्नो बाटो लागे । जंगल पाएर लोहार औधी खुसी भयो । समय बित्दै गयो । करीब दश वर्षपछि त्यही बाटो हिँड्दा राजाको त्यो लोहारसँग पुनः भेट भयो । उस्तै झुपडी, उस्तै दरिद्रता, लोहारलाई देखेर राजा अचम्म परे । अनि लोहारलाई सोधेः “मैले तिमीलाई त्यत्रो जंगल नै दिएको थिए । तर तिमी त जस्ताको तस्तै छौ ? तिमीले त्यो जंगल के ग¥यो हँ ?” लोहारले दुवै हात जोड्दै भन्योः “महाराज १ हजूरले बक्सिस दिएको त्यो जंगलले मेरो जीवनयापनमा निकै सजिलो भएको थियो । मलाई गोल बनाउने काठको समस्या भएन । त्यही जंगलबाट काठ ल्याउँथे र गोल बनाउँथे । अब त जंगल पनि सकिनै आट्यो ।” लोहारको कुरा सुनेर राजाले दुवै हातले टाउको समाए । लोहार वाल्ल प¥यो ।


भारत बिहारका एक होनहार प्रतिभा तथागत अवतार तुलसीलाई हेर्नुहोस् । किशोर तथागत तुलसी भारतका एक वरिष्ट अनुसन्धानकर्ता तथा वैज्ञानिक हुन्, अहिले उनले भारतको बैंलोर स्थिति प्रख्यात शैक्षिक संस्था—इण्डियन इन्स्टिच्युट अफ् साइन्सबाट क्वान्टम कम्प्युटिंगमा विद्यावारिधि गरेर त्यही अध्यापन गर्दैछन् । त्यसोे त तथागत तुलसीले गिनीज बुक अफ् वल्र्ड रिकर्डमा हैट्ट्रिक गरेका छन्—९ वर्ष ६ महिनाको उमेरमा उनले मेट्रिक परीक्षा उत्तीर्ण गरे भने ११ वर्ष २ महिनामा स्नातक र १२ वर्ष २ महिनाको उमेरमा स्नातकोत्तर (भौतिक शास्त्र) परीक्षा उत्तीर्ण गरेर तीनवटा विश्व रिकर्ड राखेका छन्, स्वयं यो अर्को रिर्कड हो । वाल्यकालमै अहं ब्रह्मास्मिको ज्ञान पाएका तुलसीले मानिसको लागि कुनै कुरा असम्भव छैन भन्छन् । वास्तवमा अज्ञान अँध्यारो हो, ज्ञान उज्यालो हो । अज्ञान मृत्यु हो, ज्ञान जीवन हो । त्यसैले मानिसलाई सबैभन्दा पहिला जीवनमा आफ्नो लक्ष्यको ज्ञान हुनु पर्दछ । यदि लक्ष्यको ज्ञान भएन भने आखिर जाने कहाँ ? 

धेरैलाई थाहा नै भएको कुरा हो, न्युटनले गुरूत्वाकर्षणको नियम पत्ता लगाए, अनि चर्चित भए । आइन्स्टाइनले सापेक्षतावादको सिद्धान्त पत्ता लगाए, अनि विश्वप्रसिद्ध भए । राइट दाजुभाइले जहाज बनाए, अनि विश्वविख्यात भए । बिल गेट्सले कम्प्युटरलाई परिमार्जित गर्दै लगे, अनि संसारकै धनाढय व्यक्ति भए ।  भारतका मोहनदास करमचन्द गान्धीले कसैले नगरेको नयाँ काम गरे, शान्तिले भारतमा क्रान्ति ल्याए, अनि महात्मा गान्धी भए । भारतकै स्वामी रामदेवले काम त उही गरे, तर नयाँ तरिकाले योग सिकाए, अनि रातरात लोकप्रिय भए । त्यसैले तपाईंले पनि ज्ञानको यो भाषा बुझ्नुहोस्, आविस्कार गर्न सक्नु हुदैन भने हातमा बाँधेर नबस्नुहोस्, भएका कुरालाई समय सापेक्षित परिमार्जित गर्नुहोस् । गान्धीलेझैँ नयाँ काम गर्न सक्नु हुँदैन भने काम उही गर्नुहोस्, तर रामदेवलेझैँ फरक ढंगले गर्नुहोस् । यो नै मस्तिष्क ऊर्जा बढाउने ज्ञानको भाषा हो । 




Saturday, May 9, 2020

हेल्थ फर्स्ट 

ब्रेन, ब्युटि र बेसार  
ओम बानियाँ 

हिजो आज अधिकांश मानिसहरुले ब्रेनलाई भन्दा ब्युटिलाई महत्व दिने गरेका छन् । अनुहारलाई राम्रो गराउन खास गरी महिलाहरुले अनेक प्रकारका महंगा सौंदर्य प्रसाधनहरु प्रयोग गर्ने गर्छन् । तर जबसम्म मानिस स्वास्थ्य हँुदैन, उसको ब्रेनले ठीकसँग कार्य गर्दैन, तबसम्म उसको मनमा शान्ति आउँदैन, अनुहारमा कान्ति आउँदैन । वास्तवमा हेल्दी बोडी हेल्दी बे्रन भएको मानिस नै ब्युटिफुल देखिन्छन् । यसका लागि मानिसहरुले महंगा–महंगा बजारिया टनिक तथा सौंदर्य प्रसाधनहरु प्रयोग गर्न आवश्यक छैन, बेसार जस्ता स्वास्थ्यवद्र्धक तथा सौंदर्यवद्र्धक प्राकृतिक पदार्थहरु ठीक ढंगबाट प्रयोग गरे पुग्दछ ।


के हो बेसारः
नेपालमा सदियौंदेखि मसला र औषधिको रुपमा उपयोग हँुदै आएको एक चर्चित कन्दमूल हो, बेसार (टरमरिक) । जिन्जिबेरसी परिवारको यस कन्दमूलको वानस्पतिक नाम हो, करक्यूमा लोन्गा । विशेष गरी दक्षिणी तथा दक्षिण पूर्वी एसियाको यस कन्दमूल पछिल्लो समय अनेक वैज्ञानिक अनुसंधानका कारण आज विश्वभर लोकप्रिय हुँदै गएको छ । त्यसो त परापूर्व कालदेखि नै नेपालको अधिकांश भुभागहरुमा खेती गरिने यस बेसारको गुणहरूका वारेमा आयुर्वेदमा पर्याप्त वर्णन पाइन्छ ।

सुपर स्पाइसः
बेसार मसलाहरुको राजा हो । यस वनस्पति पौष्टिक तथा औषधीय गुणहरुले भरिएका कारण नै दैनिक रुपमा उपयोग गर्न वैदिक ऋषिमुनीहरुले यसलाई भान्छामा ल्याएका हुन् । बेसारमा हुने कुर्कुमिन नामक जैविक रसायनका कारण नै बेसार पहेँलो देखिएको हो । यस रसायनमा विभिन्न औषधीय तत्व पाइन्छ । पौष्टिक तत्वहरूको रूपमा बेसारमा भिटामिन ए, केही मात्रामा भिटामिन बि, बि २, सि र क्यालोरीः ३९० क्यालोरी प्रति एक सयग्राममा पाइन्छ भने क्याल्सियम, फस्फोरस, फलाम आदि जस्ता खनिज प्रचुर मात्रामा पाइन्छ । बेसारले हाम्रो भोजनलाई रंग दिएर आकर्षक त अवश्य बनाउँछ नै । यसको अतिरिक्त शरीरलाई विशेष पौष्टिक तत्वहरू पनि प्रदान गर्छ । 

ब्रेन फुड बेसारः
बेसार एक निकै प्रभावकारी एन्टीअक्सिडेन्ट हो र यसको नियमित प्रयोगले शरीरमा उत्पादन हुने फ्रीरेडिकल्सलाई निस्क्रिय पार्दछ । यसले रगतमा कोलेस्टेरोलको मात्रालाई बढ्न दिँदैन र उच्च रक्तचाप तथा ह्दय सम्बन्धी रोगहरुलाई नियन्त्रण गर्छ । बेसारले रक्त संचारलाई प्रभावकारी बनाउने हुँदा बे्रन लगायत शरीरका हरेक अंगहरुलाई स्वस्थ बनाउन सहयोग गर्छ । स्मरणशक्ति बढाउँछ । मुलकुरो यसले अल्जाइमर जस्तो घातक बिर्सिने रोगको रोकथाम गर्छ । बेसार सेवन गर्ने मानिसहरुको तुलनामा बेसार सेवन नगर्ने मानिसहरु बढी अल्जाइमरको शिकार भएको तथ्यांकहरुले देखाएको छन् ।

औषधि हो बेसार
बेसार बहुउपयोगी औषधीय गुण भएको वनस्पति हो । बेसारमा पोलिफेनोल वर्गको एक केमिकल पाइन्छ, जसलाई कर्कुमिन भनिन्छ । बितेका २० वर्षमा कर्कुमिन सम्बन्धी धेरै अनुसन्धानहरु भएका छन् । विशेष गरेर क्यान्सर नियन्त्रण, हृदय रोग तथा बाथ रोगहरुको सम्बन्धमा पबमेडमा मात्रै कर्कुमिन सम्बन्धी करिब ११ सय भन्दा बढी वैज्ञानिक अनुसन्धानका रिपोर्टहरु प्रकाशित भएका छन् । वैज्ञानिक अनुसंधानका अनुसार कर्कुमिनले क्यान्सर नियन्त्रण वा त्यसको अनियन्त्रित विकास हुनबाट बचाउँछ । कर्कुमिन मलाशय, पेट, मुख र स्तन क्यान्सरको विरुद्धमा लड्ने गर्दछ । कर्कुमिनको अर्को महत्वपूर्ण प्रयोग हृदय सम्बधी रोगलाई नियन्त्रण वा उपचार गर्नमा रहेको छ । कर्कुमिन बाथको पनि अचूक औषधि मानिन्छ । यो दुखाइ नियन्त्रणको शक्तिशाली पदार्थ हो । कर्कुमिन दुखाईसँग सम्बन्धित इन्जायमलाई दबाउने काम गर्दछ भन्ने गहिरो अनुसन्धान गर्नेहरुको राय छ। आचार्य चरकले बेसारलाई कुष्ठ र लुतो हटाउने, विष नष्ट गर्ने गुणयुक्त मानेका छन् । यस्तै आचार्य सुश्रुतले श्वास रोग, खोकी, रक्तपित्त, आँखा रोग, कुष्ठ र प्रमेहलगायत निर्मूल गर्न बेसारलाई प्रभावकारी मानेका छन् भने अमेरिकास्थित पेन्सिलभेनिया विश्वविद्यालय, मेडिकल सेन्टरका डा. अमोन ए नान्जीले प्रमाणित गरेका छन् भने बेसार नियमित खाँदा रक्सीले कलेजोलाई पुराउने क्षतिसमेत कम हुन्छ । क्यानाडाको टोरन्टो जनरल अस्पतालका अनुसन्धानकर्ताहरूले जनरल अफ क्लिनिकल इन्भेस्टिगेसनमा प्रकाशन गरेको प्रतिवेदनअनुसार बेसारले हार्ट फेल हुनबाट बचाउँछ, क्षतिग्रस्त मुटुलाई थप नोक्सान हुनबाट रोक्छ । बेसार प्राकृतिक रक्तशोधक हो । यसले रगत संचलान राम्रो गर्छ । आर्टरिजलाई मजबुत बनाउँछ । खराब कोलेस्टोरललाई घटाउँछ । यसमा पाइने एन्टीमाइक्रोबाइलका कारण यसले कलेजो डेटक्स गर्छ, वाइल उत्पादन बढाउँछ । 



ब्युटिफुल बेसारः
बेसार सौंदर्यवद्धक पनि छ । छाला स्वास्थ्यका लागि बेसार निकै गुणकारी मानिन्छ । त्यसैले वैदिक संस्कृतिमा यसलाई उवटनको रुपमा प्रयोग गर्दै आएको पाइन्छ । बेसारको उचित उपयोग गर्ने हो भने महंगा र हानीकारक रसायनयुक्त सौंदर्य प्रसाधानको कुनै आवश्यकता पर्दैन । 

बेसारको फेसमास्कः
एक चम्चा बेसन, आधा चम्चा बेसार, दुई चम्चा दही तथा आधा चम्चा मह लिने र राम्रोसँग मिसाउने । अब प्राकृतिक फेसमास्क तयार भयो । यसलाई हप्ताको २ पटक अनुहारमा लगाउने र १५ मिनेटपछि धुने । यो पेस्टलाई शरीरमा पनि लगाउन सकिन्छ । यसरी बेसारको प्रयोग गर्ने हो भने अनुहार सफा र उज्जालो हुन्छ । बजारमा पाइने महंगा पेसप्याकले भन्दा निकै फाइदा गर्छ । यदि अनुहारमा दागधब्बा तथा डण्डिफोर छ भने त्यहाँ पनि यो पेस्ट लगाउन सकिन्छ । 

कालो तथा घना कपालः
कपाल झर्ने, फुल्ने तथा चाया पर्ने समस्या छ भने बेसार एक समाधान हुन सक्दछ । यसका लागि दुई चम्चा नरिवलको तेलमा आधा चम्चा बेसार मिसाउने र कपालको जरोमा राम्रोसँग लगाउने । अनि आधा घण्टा पछि कपाल धुने । एक महिनामा नै सकारात्मक परिणाम देखा पर्छ । 

दाँतको दवाइः
एक चिम्टी बेसार, एक चिम्टी सिधेनून अलिकति तोरीको तेलमा मिसाउने । प्राकृतिक तुथपेस्ट तयार भयो । यो भन्दा उत्तम तुथपेस्ट संसारमा छैन । दिनहँु यस पेस्टले ब्रस गर्ने र औंलामा यो पेस्ट लगाएर गिजा मसाज गर्ने हो भने दाँत चम्किलो र बलियो हुन्छ । गिजा मजबुत हुन्छ । दाँत र गिजाका रोगहरु निर्मुल हुन्छन् ।

बेसारको सेवन र कोरोना  

बेसार यति गुणकारी छ कि दिनहुँ यसको सेवन तथा प्रयोग गर्नु स्वास्थ्य र सौंदर्यका दृष्टिकोणले निकै उत्तम छ । एक व्यस्क मानिसले दिनहँु लगभग २ ग्राम जति बेसार सेवन गर्न सक्छन् । त्यसैले दिनहुँ १–२ चम्चा बेसार दूध वा पानीसँग लिन संकोच मान्नु पर्दैन । यसको कुनै  प्रतिप्रभाव हुँदैन । तर बेसार शुद्ध र गुणस्तरीय चाहीँ हुनुपर्दछ ।  कोरोना संक्रमणबाट बच्न बिहानबेलुकी ५, ५ ग्राम बेसार तातो पानीसँग सेवन गर्ने तथा कोभिड १९ भएको खण्डमा ५, ५ ग्राम बेसार दिनको तीन पटक तातोपानीसँग सेवन गर्ने । 




गोल्डन वाटरः
एक गिलास मनतातो पानीमा आधा चम्चा बेसार अलिकति मरिचको धूलो मिसाउने र बिहान खाली पेट यो पेय पिउने । आधा घण्टा कुनै कुरा सेवन नगर्ने । यस पेयमा आधा चम्चा कागतीको रस तथा एक चम्चा मह पनि मिसाउन सकिन्छ ।  
गोल्डन मिल्कः
एक गिलास दूःधलाई उमाल्ने र मनतातो भएपछि त्यसमा आधा चम्चा बेसार हालेर घोल्ने र सुत्ने बेलामा पिउने । दूःधमा बेसारका साथै आधा चम्चा बदामको तेल वा ३ बदामको पेस्ट, आधा चँम्चा नरिवलको तेल, आधा दालचिनी तथा सकुमेलको धूलो तथा एक चम्चा मह हालेर पिउन सकिन्छ । 

पुछारमाः
बेसार मानिसको प्राकृतिक तथा स्वभाविक आहार हो । र, यसलाई हाम्रा पुर्खाहरुले सेवन गर्दै आएको हँुदा यसलाई कलेजोले स्वभाविकरुपमा ग्रहण गर्छ । उचित मात्रामा बेसारको सेवन गर्दा यसले ब्रेन र बोडीलाई फाइदा नै फाइदा गर्छ, तनमनलाई स्वस्थ र मजबुत बनाउँछ । त्यसैले बेसारलाई दालतरकारी आदिमा प्रयोग गरेर सेवन गर्नुको साथै शुद्ध बेसार करिब आधा एक चम्चा बिहान(बेलुकी दुध वा पानीसंग लिने गरौं, अनि रोग मुक्त होऊँ । (लेखक साइकोथेरापिष्ट तथा पोषणविद हुन् ।)

Friday, May 8, 2020

हेल्थ फर्स्ट 

मनको ऐनामा मान्छे
ओम बानियाँ     

कुनै पनि मानिसले आफ्नो रुपरङ, बोलीचाली, आफुले गरेको व्यवहार, उसलाई समाजले हेर्ने दृष्ट्रिकोण तथा आफ्नै सोच आदिबाट आफ्नो व्यक्तित्व निर्माण गर्छ । मानिस जतिसुकै सुन्दर तथा तेजस्वी भएता पनि प्रायः उसले आफ्नो रुपरङ र व्यवहारमा कुनै न कुनै खोट देख्दछ । एक पटक एक टीभी पत्रकारले हिन्दी फिल्मकी सुन्दर अभिनेत्री प्रियंका चोपडालाई सोधेका थिए, तपाईलाई आफ्नो कुन अंग मन पर्दैन ? जवाफमा प्रियंकाले आफ्नो ओठ यस्तो नभइदिएको भए राम्रो हुन्थ्यो जस्तो लाग्छ भनेकी थिइन । हो, भारतीय अभिनेत्री प्रियंका चोपडालाई मात्र होइन कि नेपालकी सुन्दर अभिनेत्री प्रियंका कार्की हुन् कि भारतकी ड्रिम गर्ल हेमा मालिनी हुन् वा कैटरिना कैफ वा सलमान खानलाई सोधे पनि आफ्नो कुनै न कुनै अंग मन नपर्ने कुरा बताउने छन् । सेलिब्रेटीले मात्र होइन कि अरुलाई सुन्दर लाग्ने आम महिलापुरुषहरुले पनि यस्तै कुरा बताउएको पाइन्छ ।


कलेजमा कलेज सुन्दरीको रुपमा चर्चित १९ वर्षीय साक्षीले पनि आफ्नो सुन्दरतामा केही कमिकमजोरी रहेको बताउँछिन् । उनी भन्छिन्, मेरो नाक यस्तो नभइदिएको भए राम्रो हुने थियो । तर उनका साथीहरुले उनको नाक झन राम्रो भएको बताउँछन् । साक्षी जस्तै सुन्दरी बास्नालाई आफ्नो ओठ मन पर्दैन भने युवा विद्यार्थी राज बस्नेतलाई आफ्नो होचो कद अलि खडकिएको छ । त्यसो त उनी ५ फिट ६ इन्च अग्ला छन् । अतः यसरी प्रायः हरेक मानिसले आफ्नो शरीरिक रुपरंगप्रति कुनै न कुनै रुपमा कमीकमजोरी भेट्छन् । यो सामान्य कुरा हो । यसले मानिसको दैनिक जीवनमा कुनै असर गर्दैन । तर कतिपय मानिसहरूका लागि यो एक जटिल समस्या बन्दछ र यसले मनोरोगको रुप धारण गर्छ । यस्तो मनोरोगलाई आफ्नो रुपरंग मन नपर्ने विकृति (बडि डिसमोर्फिक डिसअर्डर), छोटकरीमा बीडीडी भनिन्छ ।

बीडीडी के हो ?
मनोचिकित्साका अनुसार आफ्नो रुपरंग मन नपर्ने विकृति (बीडीडी) एक प्रकारको मानसिक रोग हो । यदि कुनै व्यक्ति आफ्नो रुपरंगका कारण चिन्तित भएर उसको दैनिक जीवन नै प्रभावित हुन्छ भने त्यसलाई आफ्नो शरीर मन नपर्ने मनोविकृति (बीडीडी) भनिन्छ । यस्तो मानसिक रोगबाट पीडित मानिसलाई विशेष गरेर आफ्नो अनुहार, नाक, ओठ, मुख, आँखा, त्वचा, दाँत, शरीरको ढाँचा, स्तन, छाती, लिंग आदि मन पर्दैन । यस मनोवैज्ञानिक रोगबाट पीडित व्यक्तिले आफ्नो शरीरमा खास गरी अनुहार (जस्तै नाक ठूलो, लामो, ओठ नमिलेको आदि) विकृत भएको (आशंकाको) कल्पनाचित्र बनाएको हुन्छ, तर यस्तो विकृति अन्य मानिसले खासै नोटिस गरेका हुँदैनन् । बीडीडीलाई पहिला डिस्मोर्फोफोबिया (कुरुपताको भय) भनिन्थ्यो । यस्ता रोगीहरूले आफ्नो समस्या समाधानार्थ पटक–पटक छाला रोग विशेषज्ञ, प्लाष्टिक सर्जन, दंतरोग विशेषज्ञहरूलाई भेट्ने गर्छन् । कतिपयले त पटक–पटक प्लाष्टिक सर्जरी पनि गराउने गर्छन् । यस समस्याले उग्ररुप लियो भने रोगी सामाजिक फोबियाबाट पीडित हुन सक्छन् । अनि आफ्नो पेशा, नोकरी वा स्कूल नै छोडेर घरमा घुटघुट आँसु पिएर कैद जस्तो जीवन बाँच्न बाद्य हुन्छन् । बीडीडी तुलनात्मक रुपमा महिलामा बढी देखा पर्छ । 

कृतिका २५ वर्षीय अविवाहित युवती हुन् । उनी जति सुन्दर छिन्, त्यत्ति नै प्रतिभाशाली पनि छिन् । उनले २३ वर्षको उमेरमा विशिष्ट श्रेणीमा एमएस्सी गरेपछि एक चर्चित कलेजमा पढाउन थालेकी थिइन् । आफ्नो पेशाप्रति दक्ष्य हुँदाहुँदै पनि उनलाई कलेज पढाइन निकै डिस्ट्रेसफुल भैरहेको थियो । त्यसैले ६ महिना जति पढाएर कृतिकाले कलेज छोडिन् । त्यत्ति चर्चित कलेजको त्यो आर्कषण जागिर छोड्नु पर्ने कारण थियो, उनको नाक । कृतिकालाई आफ्नो नाक कत्ति पनि मन पर्दैन्थ्यो । उनलाई आफ्नो नाक लामो, चुच्चो र सुघाको जस्तो लाग्थ्यो । कलेजमा होस् वा सार्वजनिक ठाउँहरूमा होस्, मानिसहरू हाँसे भने उनको नाक हेरेर गिल्ला गरेझैं लाग्थ्यो । यसैले उनी सार्वजनिक ठाउँहरूमा पनि कमै जान्थिन् । जानै पर्ने अवस्थामा घण्टौं ऐना हरेर नाकलाई मेकअपले ढाक्ने प्रयास गर्थिन् । तर पनि उनी सन्तुष्टि हुदैन्थिन् । उनको मनमा प्रायः आफ्नो नाक सुघाको जस्तो नभइदिएको भए कति राम्रो हुने थियो भन्ने कुरा खेलिरहन्थ्यो । उनले मौका पाउनसाथ ऐनामा आफ्नो नाक हेर्दिन् । नाक देखेर उनलाई निकै हीनताबोध हुन्थ्यो । दिनप्रति दिन उनको स्टे«स पनि बढ्दै गएको थियो । उनी निकै उदास र निराश थिइन्  । यसै कारणले गर्दा उनी आफ्नो पेशाप्रति दक्ष्य हुँदाहुँदै पनि राम्रो सफलता प्राप्त गर्न सकेकी थिइनन् । छोरीको यस्तो अवस्था देखेर कृतिकाका बाआमाले उनलाई प्लाष्टिक सर्जरी गर्न सल्लाह दिए । कृतिकाले विदेश गएर प्लाष्टिक सर्जरी गराइन् । तर प्लाष्टिक सर्जरीपछि उनलाई आफ्नो नाक निकै सानो जस्तो लाग्न थाल्यो । प्लाष्टिक सर्जरीपछि पनि उनको समस्यामा कुनै कमी आएन । यसरी नै दिन बित्दै गएको थियो, एक दिन एक चिकित्सक साथीको सल्लाहमा उनी साइकोलोजी क्लिनमा गइन् । साइकोलोजिस्टले उनी बीडीडीबाट ग्रस्त भएको बताए । अनि कग्निटिभ बिहाभियर थेरापीद्वारा उनको उपचार शुरु गरे, १२ चिकित्सा सत्रमा नै उनी चमात्कारिक रुपमा ठीक भइन् । अहिले उनी कलेजमा प्राध्यापक छिन् ।   



सुन्दरताको मानकः

सुन्दरता र कुरुपताको परिभाषा हरेक समाज र संस्कृतिमा अलग–अलग हुन सक्दछ । एक संस्ृकतिमा कुरुप मानिने मानिस अर्को संस्कृतिमा सुन्दर लाग्न सक्दछ । अतः सुन्दरता र कुरुपता हरेक समाज र संस्कृतिमा स्थापित मादण्डले निर्धारण गर्छ । जस्तो कि ठूलो अनुहार पेरुमा कुरुप मानिन्छ । छोटो घाँटी बर्मामा र ठूलो खुट्टा चिनमा कुरुप मानिन्छ । प्रायः ठूलो ओठ धेरै ठाउँमा राम्रो मानिदैन । तर अफ्रिकामा सुन्दर मानिन्छ । 

बीडीडीका दुस्परिणामः
दीर्घ बीडीडीले मानसिक तथा शारीरिक रुपमा थुप्रै दुष्परिणमहरू निम्ताउँछ । बीडीडीका कारण पैदा हुने प्रमुख दुष्परिणामा निम्नलिखित हुन सक्दछ । दुश्चिंता तथा डिप्रेसन । सामाजिक फोबिया । धूम्रपान तथा माद्यक पदार्थको सेवन । इटिंग डिसअर्डर । अब्सेसिव कम्पलसिव डिसअर्डर (ओसीडी) । आफ्नो पेशा तथा स्कूल जान कठिनाइ । पारिवारिक सम्बन्धमा कमी । अनावश्यक कस्मेटिकको बढ्दो प्रयोग । पटक–पटक प्लाष्टिक सर्जरी । आत्मविश्वासमा कमी । एकलकाँटे जीवन । पटक–पटक अस्पतालमा भर्ना । आत्महत्याको विचार वा प्रयत्न ।  अन्य मानसिक रोगहरू ।
माइकल ज्याक्सनको मुहार

बीडीडी मानसिक रोग हो । बीडीडीले थुप्रै दुष्परिणामहरू पैदा गर्छ । यसले मानिसको प्रतिभालाई खुम्चाएर राख्नुको साथै जीवन नै जेल जस्तो बनाउन सक्दछ । प्रसिद्ध मोडल शोयला हेर्शेले बीडीडीका कारण नै आत्महत्याको प्रयत्न गरेकी थिइन् । भनिन्छ, प्रसिद्ध पप गायक माइकल ज्याक्सन पनि बीडीडीबाट पीडित थिए । त्यसैले उनले पटक–पटक प्लाष्टिक सर्जरी गराएका थिए भन्ने कतिपय विशेषज्ञहरूको भनाइ छ । तर यस कुराको अपौचारिक रुपमा पुष्टि हुन सकेको छैन ।


बीडीडीका कारणः
बीडीडीका वारेमा थुप्रै अध्ययन–अनुसंधानहरू भएता पनि यसको कारणात्मक पक्षहरूमा अझै पर्याप्त अध्ययन–अनुसंधान गर्न बाँकी नै छ । साधारणतया जैवरासायनिक कारण तथा आनुवांशिक कारणहरूले गर्दा बीडीडी देखा पर्ने भएता पनि मनोसामाजिक कारण बीडीडी पैदा गर्ने प्रमुख कारण हो । त्यो किनभने सामाजिक वातावरण, जीवनको कटु अनुभव तथा संस्कृतिका कारणले गर्दा नै अधिकांश बीडीडी पैदा हुन्छन् । कग्निटिभ मोडलका अनुसार आफ्नो नकारात्मक आत्मछवि तथा बाल्यकालमा अरुले गरेको खिसिटिउँरीको कटु अनुभव आदि बीडीडीका प्रमुख कारणहरू हुन् । बीडीडी खासगरी बाल्यकाल तथा किशोरावस्थामा पैदा हुन्छ । मनोसामाजिक कारण स्वयं बीडीडीको एक कारण मात्र नभएर यसले अनुवाशिंक तथा जैविक कारणहरूलाई जमीन प्रदान गर्ने तथा मलजल हाल्ने कार्य समेत गर्छ । जस्तो कि सुख्खा जमीनमा जतिसुकै पोटिलो बीउ पनि उम्रिदैन । तर पानी परेर जमीन चिसो भयो भने बीउ टुसाउँछ । यसैगरी कहिलेकाहीँ बीडीडी प्रमुख डिप्रेसन, डिल्युजन डिसअर्डर, समाजिक फोबिया तथा अन्य मानसिक रोगहरूसँग पनि देखा पर्न सक्दछ । 

बीडीडीको उपचारः
बीडीडी एक मनोवैज्ञानिक रोग भएकाले मनको पुनसर्रंचना बिना बीडीडीको उपचार प्रायः सम्भव हुँदैन । त्यसैले बीडीडीको सर्वोत्तम उपचार भनेको नै मनोवैज्ञानिक चिकित्सा (साइकोथेरापी) हो । कग्निटिभ थेरापी, बिहाभिहर थेरापी तथा कग्नििटिभ बिहाभियर थेरापी(सीबीटी) बीडीडीको निकै प्रभावशाली उपचार विधि हुन् । कग्निटिभ थेरापीद्वारा रोगीको नकारात्मक सोच र विश्वास सकारात्मक बनाउने कार्य गरिन्छ भने बिहाभियर थेरापीद्वरा रोगीको व्यवहार ठीक पार्ने कार्य गरिन्छ । (लेखक साइकोथेरापिस्ट हुन्। )






Wednesday, May 6, 2020

हेल्थ फर्स्ट 

बुद्ध मेडिसिन 
ओम बानियाँ 

नेपालको तराई लुम्बिनीमा शाक्य सम्राट् महाराजा शुद्धोदन र रानी मायादेवीको कोखबाट जन्मेका बुद्धको नाम सिद्धार्थ गौतम हो । राजकुमार सिद्धार्थ युवा अवस्थामा नै श्रीमति, छोरा, बाबुआमा तथा राजपाठ छोडेर रोग तथा दुःख–कष्टको कारण र त्यसबाट छुटकारा पाउने उपायको खोजीमा निक्लेका हुन् । घुम्दाघुम्दै उनी भारतको गयामा पुगे । अनि सिद्धार्थ गौतमले पिपलको रुखमुनि बसी ध्यान गर्न थाले । उनले पद्मासनमा बसेर केवल सास आवगमनको ध्यान गरे । मनको गहिराइमा डुबुल्की मार्दै गए । उनी विचारको उद्गममा पुगे । उनलाई दुःख–कष्टको कारण र यसबाट छुटकारा कसरी प्राप्त हुन्छ भन्ने कुराको आत्मबोध भयो । सिद्धार्थ गौतम महात्मा बुद्ध भए । 


गौतम बुद्ध दार्शनिक होइनन् । मेटाफिजिक्स तथा स्वर्ग नर्कका बारेमा पनि उनलाई कुनै रुचि थिएन । उनलाई परमात्मा र परलोक सिद्ध गर्नु पनि थिएन । उनको रुचि मानिसको मनोविज्ञानमा थियो, मानिसको रोग र रोगको उपचारमा थियो । मानिस किन दुःखी हुन्छ ? मानिसको रोग के हो ? मानिसको रोग कसरी पैदा हुन्छ ? रोगको कारण र उपचार के हो ? यही नै बुद्धका मौलिक प्रश्नहरु हुन् । बुद्ध पहिलो व्यक्ति थिए, जसले परमात्माको बिना ध्यान गर्ने विधि दिए । बुद्धले ध्यानका लागि परमात्माको कुनै आश्यकता ठानेनन् । परमात्माको मात्र होइन, आत्माको धारणालाई समेत ध्यानको लागि आवश्यक ठानेनन् । बुद्धले भने, ध्यान त स्वास्थ्य हो । तिमी स्वस्थ्य हुन सक्छौ । स्वस्थ भएपछि तिमीले जे खोज्न चाहन्छौ, खोज्न सक्दछौ । म तिमीलाई रोग मुक्त गर्न आएको हु । बुद्धले संसारलाई एक स्वास्थ्य शास्त्र दिएका छन् । संवत् उनी मानवजातिका पहिलो मनोवैज्ञानिक हुन् । कग्निटिभ साइकोथेरापिष्ट (मनोचिकित्सक) हुन् । 

बुद्धले भन्छन्, जस्तो सोच्चौ, तिमी त्यस्तै हुन्छौं ।’ यो वैज्ञानिक तथ्य हो । त्यो किनभने कुनै पनि मानिसको व्यक्तित्व उसको सोच, बोलीचाली, उसले गर्ने व्यवहार तथा उसलाई समाजले कसरी हेर्छ भन्ने उसको दृष्ट्रिकोण आदिबाट निर्माण हुन्छ । प्रसिद्ध मनोचिकित्सक आरुन बेकको कग्निटिभ मोडलका अनुसार चिन्ता तथा डिप्रेसन जस्ता मानसिक समस्याहरुको प्रमुख कारण भनेको नै मानिसको सोच हो । यस मोडलका अनुसार नकारात्मक र अतार्कीक सोचले नै डिप्रेसन लगायतका मानसिक रोगहरू पैदा गर्छ । अधिकांश मनोवैज्ञानिक समस्याहरु पनि गलत सोचका कारण नै पैदा हुन्छन् । त्यसैले यस्ता रोग तथा समस्याहरूबाट मुक्त हुनकालागि अतार्कीक तथा नकारात्मक सोच हटाएर तार्कीक सकारात्मक सोच स्थापित गर्न जरुरी हुन्छ । यो नै वैज्ञानिक उपचार पद्धति हो ।

उचित र तार्कीक विचारहरूमा मनमस्तिष्क पुनर्संरचना गर्ने सामथ्र्य हुन्छ । अंगुलिमाललाई नै हेर्नुहोस् । एउटा विचारले ऊ हत्यारा भएको थियो, बुद्धको अर्को विचारले ऊ एकैछिनमा भिक्षु भयो । साइकोथेरापीको एक विधि, संज्ञानात्मक मनोचिकित्सा (कग्निटिभ थेरापी)ले गर्ने पनि यही हो । आधुनिक मनोविज्ञानले यस कुरालाई स्वीकार गर्दै छ कि बौद्ध दर्शनमा जुन जुन तत्वहरु छन्, ती आधुनिक चिकित्सा विज्ञानको करीब छन् । त्यसैले बौद्ध ज्ञान र बौद्ध मनोविज्ञानलाई आजको परिप्रेक्ष्यमा कसरी प्रभावकारी बनाउन सकिन्छ, यसकुराप्रति विशेष शोधको आवश्यकता छ । बौद्ध मनोविज्ञानले नकारात्मक तथा अनैतिक कार्य गर्दा व्यक्ति भित्र कुन कुन मनोवैज्ञानिक तत्वहरु उपस्थित हुन्छन्, सकारात्मक व्यक्तित्व कसरी निर्माण हुन्छ, यस बारेमा बिस्तारपुर्वक प्रकाश पारेको छ । चित्तका बारेमा गौतम बुद्धले बहुत गम्भिर उपदेश दिएका छन् ।  मानिसको मन चंचल छ । अनुशासनहीन छ । मनका कारण नै मानिस अशान्त र दुःखीत छ । बुद्ध मनोविज्ञान सुख र शान्तिप्राप्त गर्नका लागि अनुशासनहीन मनलाई नियन्त्रण गर्ने विज्ञान हो । यदि मानिसले यस विज्ञानलाई ठीकसँग बुझेर प्रयोगमा ल्याउने हो भने मानिसको मन प्राकृतिक स्वरुपमा आउँछ र मानिस भावनात्मक अज्ञानताहरु र त्यसले स्वत ल्याउने दुःखबाट मुक्त हुन सक्दछ । 

बौद्ध मनोविज्ञानका अनुसार मानिसको शरीरमा विद्यमान पंचइन्द्रियहरुले मनमस्तिष्कलाई निरन्तर रुपले सुचनाहरु उपलब्ध गराउँदछ । फलस्वरुप विभिन्न प्रकारका अनुभवहरु उत्पन्न हुन्छन् । शारीरिक तथा मानसिक अनुभवहरुद्वारा भौतिक संसारप्रति अनुराग जाग्दछ । यही अनुरागका कारण नै मन अशान्त हुन्छ । दुःखीत हुन्छ । मानिसको दैनिक जीवन नै खलबलिन पुग्दछ । अनि मानिस अशान्त र दुःखी मात्र होइन कि रोगी पनि बन्न पुग्दछ ।  त्यसैले मानिसको जीवनलाई खलबलाउने हतासा र निराशाहरुलाई सामना गर्ने प्रयास गर्नका लागि बुद्ध मनोविज्ञानले ठुलो सहायता पुराउन सक्दछ ।  ध्यान बुद्ध मनोविज्ञानको महत्वपुर्ण पक्ष हो । बुद्धले ध्यानलाई नै बढी महत्व दिएका छन् । त्यो किनभने ध्यानले मनलाई नियन्त्रण मात्र गर्दैन कि मन भित्रको सत्य कुरा देखाइदिन्छ । जसरी आँखाले संसारिक कुराहरु देखिन्छ, त्यसरी नै ध्यानले मन भित्रका सकारात्मक कुराहरु, नकारात्मक कुराहरु, सबै फोहोरमैलाहरु देखाइदिन्छ । 

ओशो
विपश्सना ध्यानको सरलतम विधि हो । बुद्ध विपश्सनाद्वारा नै बुद्धत्व प्राप्त गरेका थिए । विपश्सनाद्धारा जति मानिसले ज्ञान प्राप्त गरे, त्यत्ति अन्य कुनै ध्यान विधिद्धारा गरेका छैनन् । विपश्सना ध्यान विधिहरुको पनि विधि हो । यस विधिद्धारा हजारौं मानिसहरुलाई फाइदा भयो, भएको छ । विपश्सनाको अर्थ हो, सासको निरिक्षण गर्नु । सासलाई हेर्नु । ओशोे अगाडि भन्छन्ः तिमीले सासलाई देख्न सक्यौ भने विचारलाई पनि देख्न सक्छौ । सास र विचारको सम्बन्धको यो खोज बुद्धको हो । सास विचारको शारीरिक हिस्सा हो । विचार शरीरको मानसिक हिस्सा हो । यो एउटै सिक्काका दुई पाटा हुन् । बुद्ध नै पहिलो व्यक्ति हुन्, जसले शरीर तथा मनलाई एक इकाईका रुपमा लिए । बद्धले भने, मानिस साइकोसोमैटिक, मनोशारीरिक घटना हो । मानिसको स्वास्थ्यमा यो मनोशारीरिक घटनाको महत्वपुर्ण भुमिका छ ।

स्नायुविज्ञानले हालै एउटा क्रान्तिकारी खोज गरेको छ । त्यो के भने मानिसको मस्तिष्कको विकास एक निश्चित अविधिसम्म मात्र हुने भएता पनि मानिसको जीवनभरि नै मस्तिष्क परिर्वतनका लागि सधैँ तत्पर रहन्छ । त्यसैले ८ वर्षको बालकको मात्र होइन कि ८० वर्षको बुद्धबुद्धाको मस्तिष्क पनि परिवर्तन हुन सक्दछ । जस्तो कि जब गर्भधारण हुन्छ, भु्रण बन्ने प्रक्रियासँगै मस्तिष्कको विकास दूर्त गतिमा अगाडि बढ्छ । र, मानिसको बाल्यकालमा नै मस्तिष्कको उच्चतम विकास हुन्छ । एक वर्षको बालकको मस्तिष्कमा नै सबै भन्दा बढी न्यूरोनहरू हुन्छन् । तर मानव मस्तिष्कमा एक असाधारण र अद्भुत लचकताको गुण हुन्छ, त्यो गुणलाई स्नायुविज्ञानको भाषामा न्यूरोप्ल्यास्टिसिटि भनिन्छ । मस्तिष्कको यही गुणका कारण नै मानिसको जीवनभरि नै मस्तिष्क पुनर्संरचना सम्भव हुन्छ ।

मस्तिष्कको यही विशेषताका कारणले नै सिद्धार्थ गौतम महात्मा बुद्ध बनेको हुन् । त्यो किनभने बुद्ध जन्मिदै महात्मा बुद्ध भएर जन्मेका थिएनन्, अन्य मानिसको जस्तै मस्तिष्क लिएर जन्मिएका थिए । तर बुद्धले मनद्वारा, ध्यानद्वारा मस्तिष्कलाई यसरी परिवर्तन गरेकी विश्व नै परिवर्तन भयो । राजकुमार छँदा सिद्धार्थ गौतमको मस्तिष्क जस्तो थियो, बुद्धत्व प्राप्त भएपछि उनको मस्तिष्क अर्कै भयो । बुद्ध जन्मिनु भन्दा पहिला विश्व जस्तो थियो, बुद्धको दर्शनपछि विश्व अर्कै भयो । त्यो किनभने मनले मस्तिष्कको पुनर्संरचना गर्न सक्दछ, जब मस्तिष्क परिर्वतन हुन्छ, मानिसको जीवन नै परिवर्तन हुन सक्दछ, मानिस बुद्ध बन्न सक्दछ, मानिस बुद्धिमान्, ज्ञानवान् र जागरुक बन्न सक्दछ ।


ध्यान मस्तिष्क पुनर्संरचनाको एक मनोवैज्ञानिक विधि हो । ध्यानले केवल आनन्द, प्रेम तथा विवेकको मनःस्थिति मात्र स्थापित गर्दैन कि मानिसको चेतना आयामलाई बढाएर अतिचेतनाको स्थितिमा पु¥याउँछ । अतिचेतनाको मनस्थिति नै सृजनशील बुद्धिको महासागर हो । त्यहाँबाट पैदा भएका हरेक विचार नै सृजनशील र दूरदर्शी प्रकृतिका हुन्छन् । कुनै गम्भिर विषयमा निर्णय गर्नु पर्दा बुढापाकाहरूले शान्त मनले सोचर निर्णय गर भन्नुको अर्थ पनि यही हो । लोभ–लालच, घृणा–तृष्णा, आग्रह–पूर्वाग्रह, ईष्र्या–द्वेश, आवेग–उन्माद तथा रिस–राग आदि जस्ता मनोविकारहरूले नै मानिसको मनलाई अशान्त बनाउँछ, प्रदुषित बनाउँछ । यस्तो अशान्त र प्रदुषित मनबाट सधैँ गलत र घातक विचार नै उत्पन्न हुने गर्छ । 

मनलाई शान्त बनाउन सबै भन्दा पहिला लोभ, घृणा, स्वार्थ र बदलाको भावनाहरू त्याग्नुपर्छ । मनबाट यस्ता कुभावनाहरू हटेपछि मात्र मन शान्त र स्थिर हुन्छ । मन जति शान्त र निर्मल हुन्छ, विचार पनि त्यत्ति नै सृजनशील, दूरदर्शी र शक्तिशाली हुन्छ । त्यसैले त मानिसले शान्त मनभित्र सानो परिर्वतन मात्र गर्छ भने पनि मानिसको मस्तिष्कमा ठूलो परिर्वतन देखा पर्छ । मस्तिष्कमा भएको यस्तो परिवर्तनले व्यवहारमा ठूलो छलाङ लगाउँछ । त्यसैले हरेक मानिसले आफ्नो मनलाई प्रशिक्षण दिएर वा मनशक्तिको उपयोग गरेर आनन्द, खुसी, प्रेम र विवेकपूर्ण जीवनका लागि आफ्नो मस्तिष्क रिवायरिंग गर्नुपर्छ, पुनर्संरचना गर्नुपर्छ ।तर ध्यान गर्नुको मतलव आँखा बन्द गरी पलेँटि कसेर बस्नु मात्र होइन । ध्यानको परिभाषा व्यापक छ । हिँडदा, बस्दा, खाँदा, पिउँदा तथा कुनै पनि दैनिक क्रियाकलापहरु गर्दा चेतनशील (माइन्डफुलनेस) हुनु नै ध्यान हो । यही नै बुद्धको स्वास्थ्य शास्त्र हो । (लेखक मनोविद् हुन् ।)  












Monday, May 4, 2020

ब्रेन बाइट्स

ध्यानको मनोविज्ञान 
ओम बानियाँ 

ध्यान के हो ? ध्यानं निर्विषयं मनः अर्थात् मन (विचार) रहित अवस्था नै ध्यान हो । ध्यानको अवस्थामा मन हुँदैन, अमन हुन्छ । त्यसैले शब्दिक अर्थमा भन्नु पर्दा अमनको अवस्था नै ध्यान हो । ध्यानको अर्थ ज्यादै गहन र व्यापक छ, व्यवहारमा कुनै कार्य एकाग्रपर्वक गर्नुलाई ध्यान भनिन्छ । जस्तो कि शिक्षकहरूले विद्यार्थीलाई भन्ने गर्दछन्ः ध्यान दिएर पढ । ए १ तेरो ध्यान कहाँ छ ? त्यसैले व्यवहारमा एकाग्रता नै ध्यान हो । वसन्त कुमार शर्मा नेपालको नेपाली शब्द सागरमा ध्यानको अर्थ यस्तो छ, अद्वितीय वा अलभ्य वस्तुप्रति एकत्व भएर लाग्ने काम, त्यस्तो चित्त वृत्ति, चिन्तना, विचार मग्नता, कुनै एक चिजमा मन तल्लीन तुल्याएर लाग्ने काम वा भाव अवस्था, विचार गर्ने वा स्वीकार गर्ने मानसिक शक्ति, स्मृति, तल्लीनता, एकाग्रता, योगदर्शन अनुसार समाधिको पर्व अंग वा स्थिति ।

योगदर्शनका स्रष्टा महर्षि पतञ्जलिका अनुसार ध्यान योगको चौथो अंग हो । पतञ्जलि योगदर्शनमा उल्लेख छः “तत्र प्रत्ययैकतानता ध्यानम् ।।२।।” केवल ध्येय विषयको एउटै वृत्तिको प्रवाह रहनु, बीचमा अरू कनै वृत्ति नउठ्नु ध्यान हो । यस तथ्यबाट प्रष्ट हुन्छः

    अमन (स्टेट अफ नोमाइण्ड)को स्थितिमा रहनु ध्यान हो ।
    कार्यवृत्ति(वर्किङ स्टेट) मा काम गर्नु पनि ध्यान हो ।
    अध्ययन वृत्ति(लर्निङ स्टेट)मा पढ्नु पनि ध्यान हो ।

ध्यानको मनोविज्ञानः
मन र मस्तिष्क अलग अलग अंगहरु हुन् । मन मस्तिष्क जस्तो दृश्य छैन, अदृश्य छ । वास्तवमा मस्तिष्क हार्डवेयर हो भने मन सटवेयर हो । बे्रन बोस हो भने मन मालिक । तर ध्यानको अवस्थामा मन मालिक हँुदैन, या त मन नै हँुदैन या त मन दास हुन्छ वा एउटै कुरामा लागिरहन्छ । तपाईं अर्थात् तपाईंको चेतना मालिक हुन्छ । तपाई मालिक भएपछि मनलाई हलो जोताउन पनि सक्नुहुनेछ, किताब पढाउन पनि सक्नुहुनेछ, मनबाट टाढा परम चेतना (सपर कन्ससनेस)मा पनि पुग्न सक्नु हुनेछ । तर एउटा तथ्य प्रष्ट छ, कोही पनि मनको गाडी चढेर ध्यानमा पुग्न सक्दैनन्, पुग्छन् त विचार सागरमा पुग्छन्, स्मृतिको संग्रहमा जाकिन्छन् । यति मात्र कहाँ हो र ? मनले त निद्रामा पनि मानिसलाई सपना लोकमा पु¥याउँछ । यो अध्यानको अवस्था हो । यसको ठीक उल्टो स्थिति नै ध्यान हो । वास्तवा ध्यान सहज अवस्था हो, मन असहज अवस्था हो । मन आकाशको कालो बादल हो, ध्यान निलो आकाश हो । ध्यान स्वर्ग हो, मन नर्क हो । वास्तवमा मनदेखि माथि उठ्नु नै ध्यान हो ।

ध्यानको विधिः
भृकुटिमा होशलाई टिकाउनु ध्यानको एक सरल विधि हो । कुनै शब्द वा मन्त्रलाई मानसिकरूपमा उच्चारित गर्दै, विचार तरंगहरूलाई (भ्यालुसिटी अफ माइण्ड) कम गर्दै शून्य अवस्थामा पुग्नु पनि ध्यान हो । केही नगरी मौन बस्नु पनि ध्यान हो । ध्यानका सयौं विधिहरू छन् । विज्ञान भैरवतन्त्रमा ध्यानका ११२ विधिहरू उल्लेख छन् । विश्व चर्चित केही ध्यानका विधिहरू यस प्रकार छन्ः महर्षि महेश योगीको भावातीत ध्यान(टीएम) । श्री श्री रविशंकरको सुदर्शनक्रिया । ओशोको सक्रिय ध्यान । महात्मा बुद्धको विपश्यना ध्यान । डा. हरबर्ट बेंसनको द रिलेक्सेशन रिस्पोन्स आदि । 
  
ध्यानका फाइदाः
ध्यानका अनेक फाइदाहरु छन्, लाभै लाभहरू छन् । महर्षि महेश योगीले त भावातीत ध्यानद्वारा भावातीत चेतना(ट्रान्सिडेन्टल कन्ससनेस)मा सबै कुरा सम्भव हुने बताउँछन् । वास्तवमा ध्यानले मानिसलाई आफ्नो स्वाभाविक स्थिति (नर्मल लाइफ)मा पु¥याउँछ । तर संसारका ९९.९९ प्रतिशत मानिस आफ्नो सामान्य स्थितिमा जीउन सकेका छैनन् । त्यसैले त मानिसले आफ्नो मस्तिष्क शक्ति केवल ५–१० प्रतिशत सदुपयोग गर्न सकेका छन् । हुन त ध्यानको लक्ष्य भनेको परम चेतना (सुपर कन्ससनेस वा कस्मिक कन्ससनेस) को प्राप्ती हो, तर यो लामो प्रक्रिया हो । तर ध्यानले तुरून्तै फाइदा पनि दिन्छ, ध्यान गर्ने बित्तिकै मानिस गहन विश्राममा उत्रिन्छ, जब मानिसको मन–मस्तिष्कले विश्राम पाउँछ, शरीर पुनः रिचार्ज हुने गर्दछ । त्यसैले त महर्षी महेश योगीले भनेका नै छन्, हरेक  दिन ध्यान गरेर हेर, तिम्रो आन्तरिक शक्ति तथा मस्तिष्क शक्ति, दुवै अदभुतरूपमा बढ्ने छ । ध्यानद्वारा निश्चितरूपमा मानवीय सामथ्र्य बढ्छ नै, तर यसका थुपै्र स्वास्थ्य फाइदाहरू पनि छन् ।


ध्यानबाट शारीरिक, मानसिक तथा आध्यात्मिक लाभहरू प्राप्त हुन्छन् । ध्यान शारीरिक तथा मानसिक, थुप्रै रोगहरूको औषधि पनि हो । ध्यानबाट हुने केही लाभहरू यसप्रकार छन्ः तन–मनलाई गहन विश्राम प्राप्त हुन्छ । शारीरिक तथा मानसिक ऊर्जा बढ्दछ । मानिसले जीवन पर्यन्त ओजस्वी–तेजस्वी जीवन जिउन सक्दछ । स्नायु रसायनहरूको उत्पादन तथा क्रियाशिलता सन्तुलित हुन्छ । तनाव कम हुन्छ, चिन्ता तथा डिप्रेसन घट्दछ । राम्रो निद्रा लाग्दछ, जसले गर्दा बिहान उठ्दा शरीरमा एकदमै स्पूmर्ति आउँछ । आन्तरिक शान्ति, खुसी तथा आत्मविश्वास बढ्छ । सामाजिक सक्रियता बढ्छ, आपसी सम्बन्धहरू प्रगाढ हुन्छ । उमेर बढे पनि शरीर हट्टाकट्टा र जवान नै रहन्छ । शारीरिक तथा मानसिक, दुवै स्वास्थ्य ठीक रहन्छ । आन्तरिक संघर्षहरूबाट मुक्त समीकृत व्यक्तित्वको विकास गराउँछ । आत्मा–अनूभति गराउँछ । ध्यान मस्तिष्क शक्ति, स्मरणशक्ति तथा बौद्धिक शक्ति बढाउने सर्वोत्तम माध्यम हो । ध्यान नै ज्ञान हो । ध्यान बिना ज्ञान प्राप्त हुनै सक्दैन । यी कुराहरु वैज्ञानिकरुपमा नै पुष्टि भैसकेका छन् । 
ध्यानको शक्ति

ध्यानले मानिसलाई आफ्नो स्वाभाविक स्थिति (नर्मल लाइफ)मा पु¥याउँछ । तर संसारका ९९.९९ प्रतिशत मानिस आफ्नो सामान्य स्थितिमा जीउन सकेका छैनन् । त्यसैले त मानिसले आफ्नो मस्तिष्क शक्ति केवल ५–१० प्रतिशत सदुपयोग गर्न सकेका छन् । हुन त ध्यानको लक्ष्य भनेको परम चेतना (सपर कन्ससनेस वा कस्मिक कन्ससनेस) को प्राप्ती हो, तर यो लामो प्रक्रिया हो । तर ध्यानले तुरून्तै फाइदा पनि दिन्छ, ध्यान गर्ने बित्तिकै मानिस गहन विश्राममा उत्रिन्छ, जब मानिसको मन–मस्तिष्कले विश्राम पाउँछ, शरीर पुनः रिचार्ज हुने गर्दछ । त्यसैले त महर्षी महेश योगीले भनेका नै छन्, हरेक  दिन ध्यान गरेर हेर, तिम्रो आन्तरिक शक्ति तथा मस्तिष्क शक्ति, दुवै अदभुतरूपमा बढ्ने छ ।

पुछारमाः
अतः आधुनिक मानवीय जीवनमा ध्यानको ठूलो महत्व छ । ध्यानको यो महत्वलाई हृदयांग गर्दै हरेक दिन, बालबालिकादेखि बृद्धबृद्धाहरु सबैले, ध्यान गरेर ध्यानको ऊर्जालाई सदुपयोग गर्नु भनेको उच्च चेतनामा आनन्दमय जीवन जीउनु हो । त्यसैले योग–ध्यान गरौं, स्वस्थ र ज्ञानी बनौं । (लेखक मनोविद् हुन् ।)