Saturday, May 16, 2020

ब्रेन बाइट्स 

सुनको कचौरामा भिख माग्ने देश 
ओम बानियाँ 

मैले चिनेजानेका एक जना ६८ वर्षीय कृषक छन् रुपन्देहीमा । पक्की सडकसँग जोडिएको एक बिगाह जमीन छ, उनी र उनको परिवारसँग । यस जमीनको वर्तमान बजार मुल्य कम्तिमा पनि २० करोड छ । वर्षैदेखि उनी उक्त खेतमा परंपरागत रुपमा खेतीपाती गदै आएका छन् । गाई, भैंसी, बाख्रा तथा कुखुरा पनि पालेका छन् । तर, उनलाई सधैं परिवार पाल्न धौधौ छ । उनले मीठोमसिनो खाएको र राम्रो लगाएको साहेद कुनै छिमेकीले देखेका छन । पैसाको अभावमा नै उनले छोराछोरीहरुलाई सार्वजनिक विद्यालयमा पढाए । कान्छो छोराले बाहेक अरुले १० कक्षा पनि उत्र्तिण गर्न सकेनन् । विज्ञान लिएर पढेको कान्छो छोराले १२ कक्षा राम्रै अंक ल्याएर उत्तिर्ण गरेको भएता पनि एमबीबीएसको छात्रवृत्तिमा नाम निकाल्न सकेनन् । साथीहरु ऋणधन गरेर तथा कसैले जग्गा बेचेर बंगलादेश तथा चीन पढ्न गएता पनि उनका बाले भने उनलाई पैसा खर्च गरेर बाहिर पढ्न पठाएनन् । आफन्तहरुले एकदुई कठ्ठा खेत बेचेर भएपनि छोरालाई एमबीबीएस नै पढाउन सल्लाह दिएता पनि उनले कुनै वास्ता गरेनन् । आफुले पढ्न चाहेको विषय पढ्न नपाएपछि उनको छोराले बीएससी वा अन्य कुनै विषय पढ्न रुचि देखाएनन् । बिस्तारै उनी डिप्रेस्ड हुन थाले । हुनत उनले अहिले एक प्राइभेट स्कुलमा विज्ञान विषय पढाउँछन् । तर, उनको जीवनमा कुनै रंग छैन, कुनै रमाइलो छैन ।  उनको माइलो छोरा तथा दुई बुहारीहरुले खेतपाती गर्छन् भने जेठो छोरो दिल्लीमा मजदुरी गर्छन् । माल पाएर पनि चाल नपाएका लोभी बुढाले आफुले पनि दुःख पाए, बुढी तथा छोराछोरीहरुलाई पनि खुब दुःख दिए भन्छन्, आफन्त, चिनेजानेका मानिसहरु र छिमेकीहरुले । 

उनी मात्र होइनन्, यसरी माल पाएर पनि चाल नपाएका मानिसहरु थुप्रै छन् नेपालमा ।  ठीक यसरी नै नेपाली राजनीतिले पनि माल पाएर चाल पाएको छैन । 



नेपाल गरीब छैन । नेपाल गरीब मुलुक पनि होइन । अपार प्राकृतिक साधानस्रोतहरुले धनी भएर पनि त्यसको समोचित सदुपयोग गर्न नसकेको अविकसित देश हो, नेपाल । त्यसैले त जान्नेबुझ्नेको माँझमा नेपाल सुनको कचौरामा भिख माग्नेहरुको देश कहलिएको छ । नेपाली भुगोललाई राम्रोसँग बुझ्नु भएका स्व. डा. हर्क गुरुङले पटक–पटक यही भन्नुहुन्थ्यो, ‘नेपाल नचिन्नु नै नेपालीको अभिषाप हो ।’ वास्तवमा नेपालमा गणतन्त्र नआएर वा संघीयता नभएर नेपालले प्रगति गर्न नसकेको होइन, हर्क गुरुङले भनेझै नेपाल चिन्न नसक्नाले नै नेपालको प्रगति र समृद्धि हुन नसेकेको हो । गणतन्त्र, संघीयता वा थरिथरिका वाद र व्यावस्था त राजनीतिक बाहना मात्र हुन् ।

धनी छ नेपालः
नेपाल प्राकृतिक साधनस्रोतले निकै धनी छ । बहुुजाति, बहुभाषी, बहुसंस्कृति तथा जैविक विविधताको पनि धनी छ । वास्तवमा नेपाल सयौं जातजाती, भाषाभाषी तथा अनेक परंपरा र संस्कृतिहरूले भरिएको संसारकै अनुपम र सुन्दर देश हो । प्रकृतिले सुन्दर नगरीका रूपमा सिंगारिहिएको यो देश नेपाल हिमाल–पहाड–तराइ, पाखा–पखेरा, छाँगा–छहरा, वनजड्डल, डाँफे–मुनाल र लेखबेंसीले शोभायमान छ । बहुुजाति, बहुभाषी, बहुसंस्कृति तथा जैविक विविधताको यो देशमा अनेकौ धर्म, भाषा र संस्कृतिहरू अपनाउने यावत् जातजातिहरू सदियौंदेखि हातमा हात गाँसी मिलेर बसेका छन् । यस्तो सामाजिक सद्भाव संसारमा बिरल्लै देख्न पाइन्छ । समाजिक सद्भाव र आपसी एकता, अनुशासित र इमानदार नागरिकले पनि धनी छ नेपाल । त्यसैले नेपाल संसारकै सुन्दर, शान्त र समृद्धिशाली राष्ट्र बन्न सक्ने प्रचुर संभावना छ । नेपालको विकास र समृद्धि सम्भव छ । 

तर किन भएन विकासः
हो, प्राकृतिक साधनस्रोतले यति धनी हँुदा पनि नेपालको विकास हुन सकेन । प्रगति हुन सकेन । पछिल्लो ३०, ४० वर्षमा नेपाल भन्दा निकै गरीब र कमजोर देशहरुले समेत आर्थिक विकासको अकाश छँदै गर्दा नेपाल भने जहाँको तहीं छ । यसरी नेपालको प्रगति हुन नसक्नुको मख्य कारण हो,  नेपालको असक्षम राजनीति । विकास र समृद्धिका नाममा नेपालमा अनेक राजनीतिक प्रयोगहरु भए । पंचायती व्यावस्था आयो, ३० वर्ष शासन गर्यो । बहुदलीय पजातन्त्र, १३ वर्ष शासन गर्यौ । पुनः सक्रिय राजतन्त्र आयो । र, अहिले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र छ । तर नेपालमा जुनतन्त्र आए पनि नेपालको राजनीति इमानदार, दूरदर्शी र सक्षम हुन सकेन । आफ्नै खुट्टामा उभिन सकेन, सकिरहेको छैन । 


हो, हरेक पार्टीका नेताहरुले नेपालको विकास र समृद्धिका ठूल्ठूला कुरा गर्छन् । सिंहझै गर्जिएर आकाशको तारा झार्ने भाषण ठोक्छन् । तर कुन विकास किन कसरी कहिले गर्ने भन्ने योजनाप्रति उनीहरुको कुनै चाँसो छैन । ज्ञान पनि छैन । वास्तवमा नेपाली राजनीतिमा कन्ट्री फस्र्टको भावना नै छैन । नेपाली राजनीति पार्टी फस्र्ट, गुट फस्र्टको भावनाले ओतप्रोत छ । पछिल्लो ३० वर्षको इतिहास पल्टाउने हो भने नेपाली राजनीतिले देशको भन्दा पनि आफ्नो पार्टीको, आफ्नो र आफ्नो गुटको हित र विकास गरेको देखिन्छ । कुनै पनि देशमा राजनीतिक नेतृत्व यस कारण आवश्यक हुन्छ कि मानिसहरु जहाँ पुग्न चाहन्छन्, त्यहाँ पुग्न सकिरहेका हुँदैनन् । पुग्ने चाहना छ, तर पुग्न सकेका छैनन् । तब नेताको आवश्यकता हुन्छ ।  नेतृत्वको आवश्यकता हुन्छ ।  एक व्यक्ति नेता तब हुन्छ, जसले आफ्नो व्यक्तिगत सीमाहरु भन्दा अगाडि बढेर सोच्दछ, महसुस गर्छ, कार्य गर्छ । वास्तवमा नेतृत्व भनेको कार्य गर्ने वा असम्भव जस्तो देखिने कार्यलाई सम्भव बनाउने विज्ञान हो । तर नेपालमा यसको ठीक उल्टो छ । जसले कामकाज रोक्दछ, भत्काउँछ, बिर्गाछ, उही नेता बन्दछ । यदि कुनै व्यक्तिले कामकाज ठप्प पार्न सक्दछ, चक्काजाम गर्न सक्दछ, नेपाल बन्द गर्न सक्दछ । त्यही व्यक्ति नेपालमा नेता बन्दछ । यो नै नेपालको दुर्भाग्य हो ।  

यसरी बन्छ नेपालः
कुनै पनि देश समृद्धशाली हुन देशमा विद्यमान साधानस्रोतहरुको अधिकतम सदुपयोग गर्न आवश्यक छ । त्यसैले नेपाललाई समृद्धशाली बनाउनका लागि नेपालमा विद्यमान प्राकृतिक साधानस्रोतहरु जस्तै जल, जंगल, जमीन, जडीबुटि, डाँडाकाडा, हिमाल र प्राकृतिक सुन्दरतालाई ठीक ढंगबाट उपयोगमा ल्याउनुपर्छ । विकासका दुई आधार स्तम्भः स्वास्थ्य र शिक्षामा पर्याप्त लगानी गरेर स्वास्थ्य र शिक्षालाई सर्वशुलभ बनाउनुपर्छ । राज्यले कुनै पनि नेपाली नागरिकले आफ्नो बौद्धिक क्षमता अनुसार आफुले चाहेको विषय पढ्न पाउने तथा उचित औषधोपचार पाएर मर्न नपर्ने वातावरण सृजना गर्नुपर्छ । त्यो किनभने देशलाई विकासपथमा अगाडि बढाउन स्वस्थ र शिक्षित नागरिकहरु उत्साहजनक सहभागिता आवश्यक हुन्छ । शिक्षा तथा स्वास्थ्यलाई शर्वसुलभ बनाउनका लागि हरेक गाउँपालिकामा तथा नगरपालिकामा एक वा त्यो भन्दा धेरै सामान्य चिकित्सक(जीपी) सहितको निःशुल्क स्वास्थ्य केन्द्र, हरेक जिल्लामा सबै विभागहरु भएको सुविधासम्पन्न जिल्ला अस्पताल र हरेक प्रदेशमा कम्ति पनि दुई वटा सुपर विशेषज्ञ सेवा सहितका ठुला अस्पतालहरु तथा १४ वटा सबै संकायहरु भएको अन्तर्राष्ट्रिय स्तरका विश्वविद्यालय तथा आवश्यकता अनुसार विद्यालय तथा क्याम्पसहरु स्थापना गर्नुपर्छ । विकासनिर्माणमा जनसहभागिता गराएर गाउँदेखि नै विकासको लहर ल्याउनुपर्छ । उजाड पहाडलाई हरियाली बनाउनु पर्छ । विकासको मेरुदण्ड मानिने यातयात सुविधाका लागि आवश्यक सडकमार्गहरु, पुर्वपरिश्चम रेलमार्ग तथा कम्तिमा पनि तीन वटा अन्तर्राष्ट्रिय एअरपोर्टहरु बनाउनुपर्छ । खेलकुदको विकासका लागि पाँच वटा अन्तर्राष्ट्रिय स्तरको रंगशाला तथा हरेक शहरमा राष्ट्रिय स्तरको रंगशाला बनाउनुपर्छ । ठाउँ ठाउँमा पार्कहरु निर्माण गर्नुपर्छ । स्वदेशी उद्योगहरुलाई प्रोत्साहित गर्ने, गाउँ गाउँमा बैंकिंग सेवा पुराएर सम्पुर्ण आर्थिक कारोबारहरु बैंक मार्फत् गर्ने वातावरण तयार गर्नुपर्छ ।

सबै गाउँपालिका तथा नगरपालिकामा विद्युतीय सुशासन स्थापना गरी जन्म, मृत्यु, बसाइसराइ, पारिवारिक तथा सम्पत्ति विवरण, पेशा व्यावसाय तथा स्वदेश वा विदेशमा नागरिकले गर्दै आएको कामधन्दा तथा नोकरीको तथा नेपालमा कामधन्दा तथा नोकरी गर्न आउने विदेशीहरुको विवरण सम्बन्धित ग्रामपालिका तथा नगरपालिमा अनिवार्य पंजिकृत तथा अद्यावधि गर्ने व्यावस्था गर्नुपर्छ । यस्तो व्यावस्थाले भष्ट्रचार नियन्त्रणमा समेत सहयोग पुराउँछ । नेपाली राजनीतिले यसरी काम गर्ने हो भने केही वर्षमा नै नेपाल बन्छ । तर ओली, प्रचण्ड तथा शेरबहादुरहरुले नेपाल बनाउन सक्दैनन् । त्यो किनभने नेपाल बनाउन नेपाल चिन्न सक्ने एक समर्थ राजनीतिक नेतृत्वको आवश्यकता छ । 


कस्तो हुन्छ समर्थ नेतृत्वः
आफ्नो क्षमता र अरुको मनस्थितिको पहिचान गर्न सक्ने, जस्तोसुकै प्रतिकुल परिस्थितिहरुमा पनि होशह्वास नछोड्ने, कठिनाइहरुमा औसरहरु खोज्न सक्ने, निर्दिष्ट उद्देश्य पुरा गर्नका लागि उद्देश्यमा अर्जुनदृष्टि साधी आफू र आफ्नो टीमलाई उत्प्रेरित गर्न सक्ने तथा आफ्नो र मानवीय अन्तर्सम्बन्धको भावनाहरूको तालमेल गर्नसक्ने खÒबी भएको इमानदार, दुरदर्शी र साहसी नेतृत्व नै समर्थ नेतृत्व हो ।

पुछारमाः
अतः समर्थ नेतृत्वको लोकतान्त्रिक सरकारले दरो अठोट र संकल्प लिएर, ५० वर्ष र १०० वर्षमा नेपाललाई कस्तो बनाउने हो भन्ने दुरदृष्टिका साथ ५ वर्षीय, १० वर्षीय तथा १५ वर्षीय विकासको गुरुयोजना बनाएर यसरी काम गर्यो भने नेपाल बन्छ, अवश्य नेपाल बन्छ, १०, १५ वर्ष भित्रमा नै नेपाल संसारकै एक सुन्दर, शान्त र समृद्धशाली राष्ट्र हुन्छ । तर यसको लागि एक सक्षम नेतृत्व आवश्यक छ । (लेखक मनोविद् हुन् ।) केही वर्ष अगाडि नागरिक दैनिकमा प्रकाशित लेख । 

 


No comments:

Post a Comment