Tuesday, May 19, 2020

हेल्थ फर्स्ट 

सुपरफूड 'लौका'
ओम बानियाँ
लौका, अनेक औषधीय गुणहरुले भरिपुर्ण एक चिरपरिचित लहरे वनस्पति हो । यस दिव्य वनस्पतिको फल प्राचिनकालदेखि नै तरकारीका रुपमा प्रयोग हँुदै आएको छ । लौकाको वनस्पतिक नाम लैजिनेरिया सिसेरिया हो । यो कुकुरबिटेसी परिवारमा पर्दछ । लौकालाई अंग्रेजीमा बोटल गुअर्ड भनिन्छ । लौका स्वास्थ्यका लागि निकै फाइदाजनक छ । यसका साथै लौका औषधि पनि हो । यसको फल, बीज, पात तथा जरा औषधिका रुपमा प्रयोग गरिन्छ । त्यसैले यो सस्तो र शर्वसुलभ सुपर फुड हो ।लौका धेरै थरीका हुन्छन् । आयुर्वेदमा लौकाका दुई प्रजातिहरु उल्लेख गरिएको छ, एक मधुर (मिठो) रसवाला र अर्को तितो रसवाला । साधारणतया मधुर रसवाला लौका तरकारीका रुपमा र तितो रसवाला लौका औषधीका रुपमा प्रयोग गरिन्छ । मिठो लौकाको प्रकृति मधुर, चिसो, कप तथा पित्त दोष हटाउने तथा वातकारक मानिन्छ । तितो रसवाला लौका चिकित्सकको सल्लाह बिना उपयोग गर्नु हँुदैन । 


पोषणको पावरहाउसः
लौका सजिलै पच्ने अनेक भिटामिन्स तथा मिनरल्सयुक्त तरकारी हो । १०० ग्राम लौकामा निम्नलिखित पोषक तत्वहरु पाइन्छ । 
पानीः                       ९६.० प्रतिशत

प्रोटिनः                     ०.२ प्रतिशत
चिल्लोः                     ०.१ प्रतिशत
खनिजः                    ०.५ प्रतिशत
रेशाः                        ०.६ प्रतिशत
कार्बोहाइडे«ट्सः      २.५ प्रतिशत
खनिज तथा भिटामिन्सः
क्याल्सियमः              २० मिलीग्राम
फस्फोरसः                १० मिलीग्राम
फलामः                     ०.७ मिलिग्राम
भिटामिन सीः             १० मिलिग्राम 
यसको अतिरिक्त भिटामिन्स बी कम्पलेक्स, भिटामीन के, भिटामीन ए, भिटामीन ई, फोलेट र म्याग्नीज जस्ता खनिज पदार्थहरु पनि पाइन्छन् । लौका भिटामीन सीको एउटा मुख्य स्रोत नै हो । २५० ग्राम लौकाबाट २५ मिलिग्राम भिटामीन सी प्राप्त गर्न सकिन्छ । यो भनेको हामीलाई एक दिनमा चाहिने भिटामीन सी को लगभग आधा भाग हो । 
 
लौकाको फाइदाः
लौका गर्मीयामको सुपरफुड हो । लौका सेवनले गर्मीको थकानबाट जोगाउँछ, शरीरलाई चिसो र ताजा राख्दछ । गर्मी महिनामा धेरै पसिना आउने भएकाले शरीरमा घटेको पानी भरपाइ गर्ने काम पनि यसले गर्छ । लौकाले शरीरभित्रको फोहोरलाई झाडु लगाउने मात्र नभई नाकबाट रगत आउने, डण्डीफोर आउने र अल्सर जस्ता रोगविरुद्ध लड्नको लागि पनि सहयोग पु¥याउँछ ।  लौकामा एण्टीअक्सिडेन्ट पनि हुने हुनाले यसले हाम्रो शरीरको कोषहरुलाई खराब हुनबाट जोगाउँछ, रगतमा कोलेस्ट्रोलको मात्रालाई ठीक गर्छ, र मस्तिष्कको कार्य सञ्चालनमा पनि सहयोग गर्दछ । यति मात्र होइन, भिटामीन सी र यसमा पाइने जिंकले चाउरीपना र बुढ्यौलीपनाबाट पनि जोगाउँछ । र, यही जिंकले नशा बलियो बनाउने र रुघाखोकीबाट सुरक्षा दिन्छ । यसमा पाइने भिटामीन बी ले कपाल फुल्न दिँदैन । लौका पचाउन एकदम नै सजिलो हुने भएकाले गर्मी महिनाको लागि यो अत्यन्तै उपयुक्त तरकारी हो । लौकामा हुने फाइबरले पाचन प्रक्रिया सजिलो बनाउने भएकाले कब्जियत, पाइल्स, पेट ढुस्स हुने, वाकवाकी लाग्ने आदि जस्ता समस्याहरुबाट मुक्ति दिन्छ । लौकामा हुने पानी र फाइबरले आन्द्रा सफा राख्न र पाचनमा सजिलो बनाउन सहयोग गर्छ । 


ब्रेन टनिकः 
मस्तिष्कलाई स्वस्थ राख्नका लागि लौकाको सेवन एक राम्रो र सस्तो उपाय हो । लौकामा प्रशस्त मात्रामा हुने कोलिनले मस्तिष्कको कार्यशक्ति बढाउन र मानसिक तनाव र डिप्रेसनजस्ता समस्याहरुबाट पनि मुक्ति दिन्छ । लौकाको सेवनले मनलाई शान्ति र शरीरलाई आराम दिलाउँछ ।

वजन घटाउनः
लौकाको सेवनले तौल घटाउन पनि मद्दत गर्छ । तौल घटाउनका लागि व्यायाम गरेपछि दिनहुँ १०० ग्राम लौकाको रस सेवन गर्नुपर्छ । १०० ग्राम लौकाको रसले शरीरलाई १५ क्यालोरी मात्र दिन्छ । लौकालाई ससाना टुक्राहरुमा काटी उमालेर बिरेनुन छर्केर पनि सेवन गर्न सकिन्छ । लौकामा पाइने भिटामिन, खनिज र फाइबरले शरीरलाई उचित पोषण प्रदान गर्छ । शरीरको मेटाबोलिज्म बढाउँछ । कब्जियत हटाउँछ, पाचनक्रिया ठीक राख्दछ । अतः नियमितरुपमा व्यायामका साथ बिहान खाली पेट लौकाको रस सेवन गर्ने हो भने केही दिनमा नै पक्का वजन घट्छ ।

मुटुको रोग र उच्चरक्तचापः
लौका हर्ट टनिक हो । यसले मुटुलाई स्वस्थ राख्न निकै महत्वपुर्ण भुमिका निभाउँछ । एक अध्ययनका अनुसार बिहान खाली पेट २०० ग्राम लौकाको रस नियमित रुपमा ३ महिना सेवन गर्ने हो भने कोलेस्ट्रोल घट्छ । बीपी सामान्य हुन्छ । हृदयका अन्य समास्याहरु पनि हट्छन् र मुटु स्वस्थ र मजबुत हुन्छ । 

मधुमेहीको फुडः

अनेक अध्ययनबाट प्रमाणित भएको छ कि लौकाले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्न उल्लेखनीय भुमिका निभाउँछ । लौका मधुमेहीका लागि निकै उपयुक्त छ । त्यसैले मधुमेहीले लौका तरकारी वा लौकाका अन्य परिकार तथा लौका रस सेवन गर्न निकै उपयोगी हुन्छ । मुटुको समस्या, हाई बीपी तथा मधुमेहका विरामीले २०० ग्राम लौका रसमा ६ बेलपत्र, ७ तुलसी पत्र र ५ पुदिनाको पातको रस मिसाएर बिहान खाली पेट सेवन गर्ने हो भने निकै फाइदा हुन्छ ।

लिभर टनिकः 
लिभर अर्थात कलेजो शरीरको दोस्रो मस्तिष्क हो । कलेजोको लागि पनि लौका अत्यन्तै फाइदाजनक छ । विषादीको अत्यधिक सेवन हुने हुनाले हाम्रो कलेजो सबैभन्दा बढी मारमा पर्ने गर्दछ । आयुर्वेदले लौकाको सेवनले कलेजोको कार्यप्रणालीमा सहयोग गर्ने र सुन्निन नदिने भएकाले कलेजोको लागि यसको प्रयोगमा विशेष जोड दिन्छ । लौकाले शरीर शुद्धि गर्ने कार्य गर्दछ । 

लौका सेवन विधिः 

लौकालाई अनेक तरिकाले सेवन गर्न सकिन्छ । गर्मीयामभरि यसको तरकारी खानु निकै फाइदाजनक हुन्छ । लौकालाई अन्य तरकारीसँग मिसाइ पकाएर तथा उसिनेर पनि सेवन गर्न सकिन्छ । औषधीय फाइदा लिन लौकाको जुस बनाएर सेवन गर्न सकिन्छ । मधुमेहका बिरामीहरुको चिनीको मात्रा र ब्लड प्रेसर सन्तुलनमा राख्न पनि लौकाको जुसको प्रयोग गर्न सकिन्छ । पिसाब नलीमा संक्रमण भएका तथा युरिक एसिड भएकाहरुका लागि यो झनै फाइदाजनक छ ।

जुस बनाउने विधिः

जुस बनाउनका लागि ४०० ग्राम लौका ताछ्ने, टुक्राटुक्रा बनाएर काट्ने र ब्लेण्डरमा ब्लेण्ड गर्ने । जुस तयार भयो । सामान्यतया लौकाको साधा जुस सेवन गर्न उपयुक्त हुन्छ ।  तर, यस रसमा आवश्यकता अनुसार एक चिम्टी मरिचको धुलो, अलिकति बिरेनुन र ७ तुलसी पत्र र ५ पुदिनाको पातको रस मिसाउन सकिन्छ । अझ एक आधा चम्चा अदुवाको रस तथा एक चम्चा कागतीको रस पनि लौकाको जुस पिउन सकिन्छ । रोगोपचारका लागि रोग अनुसार अन्य पदार्थहरु पनि मिसाउन सकिन्छ । लौकाको जुस सेवन गर्ने सबैभन्दा उपयुक्त समय भनेको बिहान खाली पेटमा हो ।  



सावधानीः तितो लौका रस र किटनाशक औषधि हालेको लौकाको रस सेवन गर्नु हुँदैन । बीपी लो हुनेले पनि लौकाको रस सेवन गर्नु हुँदैन । गम्भिर प्रकृतिका विरामीहरुले आफु खुसी लौकाको रस सेवन गर्नु हुँदैन । (लेखक साइकोथेरापिष्ट तथा पोषणविद् हुन् ।) 




No comments:

Post a Comment