Tuesday, May 12, 2020

ब्रेन बाइट्स

ज्ञानको मनोविज्ञान
ओम बानियाँ

आचार्य चाणक्यले भनेका छन्ः “ज्ञानेन हीनाः पशुभिः समानाः अर्थात् ज्ञानरहित मानिस पशु समान हो ।” त्यसैले जीवनमा सफलता प्राप्त गर्न मात्र होइन कि पशुभन्दा माथि उठ्न पनि मानिसले ज्ञान प्राप्त गर्नु पर्दछ । तर ज्ञान प्राप्त गर्न भने सजिलो छैन । त्यो किन भने ज्ञानको नाउँमा मिथ्या ज्ञान पनि हात लाग्न सक्दछ । जुन कुरा जे जस्तो छ, त्यसलाई त्यसरी नै जान्नु ज्ञान हो । अन्यथा जान्नु वा जे जस्तो छ, त्यो त्यसरी नजान्नु मिथ्या ज्ञान हो । त्यसैले जसले ज्ञान दिन्छ, त्यो विद्या हो । जसले मिथ्या ज्ञान दिन्छ, त्यो अविद्या हो । विद्या अनेकौं हुन्छन्, जस्तैः विज्ञान, गणित, वाणिज्य, आयूर्वेद, ज्योतिष, भूगोल, इतिहास तथा संगीत इत्यादि । विद्या ज्ञानको माध्यम हो, जसरी बाल्टीले कुवा भित्रको पानी झिक्न मद्धत गर्दछ, ठीक त्यसरी नै विद्याले मानिसभित्रको ज्ञान बाहिर झिक्न मद्धत गर्दछ ।



स्याउको रूखबाट स्याउ खस्यो । आइज्याक न्यूटनलाई गुरूत्वाकर्षणको ज्ञान अवगत भयो । न्यूटनले स्याउ खसेको देख्नु पूर्व पनि स्याउहरू भुइँमा खसिरहेका थिए । गुरूत्वाकर्षणको ज्ञान अन्य मन–मस्तिष्कहरू भित्र पनि थियो । तर स्याउले न्यूटनको मस्तिष्क भित्रको त्यो ज्ञानलाई स्मृतिमा प्रकट गरायो । त्यसैले सधैं याद राख्नु पर्ने एउटा कुरा के भने ज्ञान भन्ने कुरा बाहिर कहीं कतै छैन, मानिसभित्र नै छ । वास्तवमा मानिस ज्ञानको भण्डार हो, ज्ञानको महासागर नै हो । तर योे ज्ञान अधिकांश मानिसलाई छैन । त्यसैले त मानिसहरू बाहिर–बाहिर भट्किरहेका छन् । वास्तवमा ज्ञान बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड भएको छ ।

योगशास्त्रका अनुसार यस सृष्टिमा साना–ठूला ८४ लाख प्राणीहरू छन् । तर सृष्टिका हजारौं–हजार प्राणीहरू मध्ये मानिस शारीरिकरूपले निकै कमजोर छ । मानिस चरा जस्तो उड्न सक्दैन, चितुवाझैं दौडिँन सक्दैन, घोडाझैँ हिनहिनाउन सक्दैन, माछाझैँ पौडिन सक्दैन, बाँदरझैँ रूखमा चढ्न र हामफाल्न सक्दैन । मानिसको खुट्टा न त हात्तिको जस्तो बलियो छ न त पंजा भालुका जस्ता दह्रो छ । मानिसको आँखा न त चिलका जस्तो तेजिलो छ  न  त शरीर गैंडाको जस्तो बलियो र कडा छ, एउटा सानो किराले टोकेर पनि मानिस ठहरै मर्न सक्दछ । तर मानिससँग ती हजारौं–हजार प्राणीहरूको भन्दा ठूलो सम्पत्ति छ, त्यो हो मानिसको मस्तिष्क र सोच्न सक्ने शक्ति । मानिसको यही सम्पत्तिले गर्दा नै मानिस हात्तीमाथि चढेर हिँड्छ, मदोन्मत्त घोडालाई लगाममा बाध्छ, जंगलको राजा सिंहलाई नै खोरमा हालेर उसको तमासा हेर्दछ । वास्तवमा मानिसले आफ्नो वातावरण आफैँ तयार गर्दछ । तर मानिस वाहेकका प्राणीहरूले आफ्नो वातावरण आफैँ तयार गर्न सक्दैनन्., त्यसैले त उनीहरूलाई प्रकृति अनुसार हिँड्नु पर्दछ, मानिसको हलोमा नारिनु पर्दछ, मानिसको लगाममा बाँधिनु पर्दछ । तर मानिसहरूमा पनि सबै मानिसहरूले आफ्नो वातावरण आफै तयार गर्न सक्दैनन्, त्यसैले त यस्ता मानिसहरू पनि टाठा–बाठाको हलोमा नारिनु पर्दछ, बाँदरझैँ उनीहरूको तालमा नाच्नु पर्दछ । 


महान् वैज्ञानिक आर्किमिडिजले भनेका छन्ः “मलाई पर्याप्त लामो एउटा उत्तोलक र पर्याप्त बलियो एउटा ओट देऊ । मैले एक हातले नै विश्व हल्लाइदिन सक्छु ।” आर्किमिडिजले मानवीय सामथ्र्य असीमित छ भन्ने तथ्य थाहा पाएर नै उपर्युक्त कुरा व्यक्त गरेका हुन् । हुन पनि यो ब्रह्माण्डमा मानिसले गर्न नसक्ने कुनै कुरा छैन । जुन कुरा हिजो असम्भव लाग्थ्यो, आज त्यो सम्भव भएको छ । आज असम्भव लाग्ने कुरा भोलि सम्भव हुनेछ, यो निश्चित छ । त्यो किनभने मानव मस्तिष्क शक्तिको कुनै सीमा छैन ।  त्यसैले मानवका लागि सबै कुरा सम्भव छ । वेदमा भनिएको नै छः अहं ब्रह्मास्मि अर्थात् म नै ब्रह्म हँु, तत् त्वमसि अर्थात् त्यो भगवान् भन्नु नै तिमी हौँ, अयमात्मा ब्रह्म अर्थात् यो आत्मा नै ब्रह्म हो तथा सर्वं खल्विदं ब्रह्म अर्थात् यो सबै नै ब्रह्म हो । यो नै सबै भन्दा ठूलो ज्ञान हो । यो ज्ञान जसलाई हुन्छ, उसले अवश्य नै सफलताको शिखरमा पाइला टेक्न सक्दछ । 
अज्ञान

एकादेशको कथा हो । त्यस देशका दयालु राजा शिकार खेल्न जंगलतिर जाँदै थिए । बाटोमा एक गरीब लोहारसँग भेट भयो । लोहारको दरिद्रतामाथि राजालाई दया जाग्यो । राजाले त्यो लोहारलाई करीब एक बिघा जमीनमा फैलिएको जंगल नै बक्सिस दिए । र, आफ्नो बाटो लागे । जंगल पाएर लोहार औधी खुसी भयो । समय बित्दै गयो । करीब दश वर्षपछि त्यही बाटो हिँड्दा राजाको त्यो लोहारसँग पुनः भेट भयो । उस्तै झुपडी, उस्तै दरिद्रता, लोहारलाई देखेर राजा अचम्म परे । अनि लोहारलाई सोधेः “मैले तिमीलाई त्यत्रो जंगल नै दिएको थिए । तर तिमी त जस्ताको तस्तै छौ ? तिमीले त्यो जंगल के ग¥यो हँ ?” लोहारले दुवै हात जोड्दै भन्योः “महाराज १ हजूरले बक्सिस दिएको त्यो जंगलले मेरो जीवनयापनमा निकै सजिलो भएको थियो । मलाई गोल बनाउने काठको समस्या भएन । त्यही जंगलबाट काठ ल्याउँथे र गोल बनाउँथे । अब त जंगल पनि सकिनै आट्यो ।” लोहारको कुरा सुनेर राजाले दुवै हातले टाउको समाए । लोहार वाल्ल प¥यो ।


भारत बिहारका एक होनहार प्रतिभा तथागत अवतार तुलसीलाई हेर्नुहोस् । किशोर तथागत तुलसी भारतका एक वरिष्ट अनुसन्धानकर्ता तथा वैज्ञानिक हुन्, अहिले उनले भारतको बैंलोर स्थिति प्रख्यात शैक्षिक संस्था—इण्डियन इन्स्टिच्युट अफ् साइन्सबाट क्वान्टम कम्प्युटिंगमा विद्यावारिधि गरेर त्यही अध्यापन गर्दैछन् । त्यसोे त तथागत तुलसीले गिनीज बुक अफ् वल्र्ड रिकर्डमा हैट्ट्रिक गरेका छन्—९ वर्ष ६ महिनाको उमेरमा उनले मेट्रिक परीक्षा उत्तीर्ण गरे भने ११ वर्ष २ महिनामा स्नातक र १२ वर्ष २ महिनाको उमेरमा स्नातकोत्तर (भौतिक शास्त्र) परीक्षा उत्तीर्ण गरेर तीनवटा विश्व रिकर्ड राखेका छन्, स्वयं यो अर्को रिर्कड हो । वाल्यकालमै अहं ब्रह्मास्मिको ज्ञान पाएका तुलसीले मानिसको लागि कुनै कुरा असम्भव छैन भन्छन् । वास्तवमा अज्ञान अँध्यारो हो, ज्ञान उज्यालो हो । अज्ञान मृत्यु हो, ज्ञान जीवन हो । त्यसैले मानिसलाई सबैभन्दा पहिला जीवनमा आफ्नो लक्ष्यको ज्ञान हुनु पर्दछ । यदि लक्ष्यको ज्ञान भएन भने आखिर जाने कहाँ ? 

धेरैलाई थाहा नै भएको कुरा हो, न्युटनले गुरूत्वाकर्षणको नियम पत्ता लगाए, अनि चर्चित भए । आइन्स्टाइनले सापेक्षतावादको सिद्धान्त पत्ता लगाए, अनि विश्वप्रसिद्ध भए । राइट दाजुभाइले जहाज बनाए, अनि विश्वविख्यात भए । बिल गेट्सले कम्प्युटरलाई परिमार्जित गर्दै लगे, अनि संसारकै धनाढय व्यक्ति भए ।  भारतका मोहनदास करमचन्द गान्धीले कसैले नगरेको नयाँ काम गरे, शान्तिले भारतमा क्रान्ति ल्याए, अनि महात्मा गान्धी भए । भारतकै स्वामी रामदेवले काम त उही गरे, तर नयाँ तरिकाले योग सिकाए, अनि रातरात लोकप्रिय भए । त्यसैले तपाईंले पनि ज्ञानको यो भाषा बुझ्नुहोस्, आविस्कार गर्न सक्नु हुदैन भने हातमा बाँधेर नबस्नुहोस्, भएका कुरालाई समय सापेक्षित परिमार्जित गर्नुहोस् । गान्धीलेझैँ नयाँ काम गर्न सक्नु हुँदैन भने काम उही गर्नुहोस्, तर रामदेवलेझैँ फरक ढंगले गर्नुहोस् । यो नै मस्तिष्क ऊर्जा बढाउने ज्ञानको भाषा हो । 




No comments:

Post a Comment