Friday, May 8, 2020

हेल्थ फर्स्ट 

मनको ऐनामा मान्छे
ओम बानियाँ     

कुनै पनि मानिसले आफ्नो रुपरङ, बोलीचाली, आफुले गरेको व्यवहार, उसलाई समाजले हेर्ने दृष्ट्रिकोण तथा आफ्नै सोच आदिबाट आफ्नो व्यक्तित्व निर्माण गर्छ । मानिस जतिसुकै सुन्दर तथा तेजस्वी भएता पनि प्रायः उसले आफ्नो रुपरङ र व्यवहारमा कुनै न कुनै खोट देख्दछ । एक पटक एक टीभी पत्रकारले हिन्दी फिल्मकी सुन्दर अभिनेत्री प्रियंका चोपडालाई सोधेका थिए, तपाईलाई आफ्नो कुन अंग मन पर्दैन ? जवाफमा प्रियंकाले आफ्नो ओठ यस्तो नभइदिएको भए राम्रो हुन्थ्यो जस्तो लाग्छ भनेकी थिइन । हो, भारतीय अभिनेत्री प्रियंका चोपडालाई मात्र होइन कि नेपालकी सुन्दर अभिनेत्री प्रियंका कार्की हुन् कि भारतकी ड्रिम गर्ल हेमा मालिनी हुन् वा कैटरिना कैफ वा सलमान खानलाई सोधे पनि आफ्नो कुनै न कुनै अंग मन नपर्ने कुरा बताउने छन् । सेलिब्रेटीले मात्र होइन कि अरुलाई सुन्दर लाग्ने आम महिलापुरुषहरुले पनि यस्तै कुरा बताउएको पाइन्छ ।


कलेजमा कलेज सुन्दरीको रुपमा चर्चित १९ वर्षीय साक्षीले पनि आफ्नो सुन्दरतामा केही कमिकमजोरी रहेको बताउँछिन् । उनी भन्छिन्, मेरो नाक यस्तो नभइदिएको भए राम्रो हुने थियो । तर उनका साथीहरुले उनको नाक झन राम्रो भएको बताउँछन् । साक्षी जस्तै सुन्दरी बास्नालाई आफ्नो ओठ मन पर्दैन भने युवा विद्यार्थी राज बस्नेतलाई आफ्नो होचो कद अलि खडकिएको छ । त्यसो त उनी ५ फिट ६ इन्च अग्ला छन् । अतः यसरी प्रायः हरेक मानिसले आफ्नो शरीरिक रुपरंगप्रति कुनै न कुनै रुपमा कमीकमजोरी भेट्छन् । यो सामान्य कुरा हो । यसले मानिसको दैनिक जीवनमा कुनै असर गर्दैन । तर कतिपय मानिसहरूका लागि यो एक जटिल समस्या बन्दछ र यसले मनोरोगको रुप धारण गर्छ । यस्तो मनोरोगलाई आफ्नो रुपरंग मन नपर्ने विकृति (बडि डिसमोर्फिक डिसअर्डर), छोटकरीमा बीडीडी भनिन्छ ।

बीडीडी के हो ?
मनोचिकित्साका अनुसार आफ्नो रुपरंग मन नपर्ने विकृति (बीडीडी) एक प्रकारको मानसिक रोग हो । यदि कुनै व्यक्ति आफ्नो रुपरंगका कारण चिन्तित भएर उसको दैनिक जीवन नै प्रभावित हुन्छ भने त्यसलाई आफ्नो शरीर मन नपर्ने मनोविकृति (बीडीडी) भनिन्छ । यस्तो मानसिक रोगबाट पीडित मानिसलाई विशेष गरेर आफ्नो अनुहार, नाक, ओठ, मुख, आँखा, त्वचा, दाँत, शरीरको ढाँचा, स्तन, छाती, लिंग आदि मन पर्दैन । यस मनोवैज्ञानिक रोगबाट पीडित व्यक्तिले आफ्नो शरीरमा खास गरी अनुहार (जस्तै नाक ठूलो, लामो, ओठ नमिलेको आदि) विकृत भएको (आशंकाको) कल्पनाचित्र बनाएको हुन्छ, तर यस्तो विकृति अन्य मानिसले खासै नोटिस गरेका हुँदैनन् । बीडीडीलाई पहिला डिस्मोर्फोफोबिया (कुरुपताको भय) भनिन्थ्यो । यस्ता रोगीहरूले आफ्नो समस्या समाधानार्थ पटक–पटक छाला रोग विशेषज्ञ, प्लाष्टिक सर्जन, दंतरोग विशेषज्ञहरूलाई भेट्ने गर्छन् । कतिपयले त पटक–पटक प्लाष्टिक सर्जरी पनि गराउने गर्छन् । यस समस्याले उग्ररुप लियो भने रोगी सामाजिक फोबियाबाट पीडित हुन सक्छन् । अनि आफ्नो पेशा, नोकरी वा स्कूल नै छोडेर घरमा घुटघुट आँसु पिएर कैद जस्तो जीवन बाँच्न बाद्य हुन्छन् । बीडीडी तुलनात्मक रुपमा महिलामा बढी देखा पर्छ । 

कृतिका २५ वर्षीय अविवाहित युवती हुन् । उनी जति सुन्दर छिन्, त्यत्ति नै प्रतिभाशाली पनि छिन् । उनले २३ वर्षको उमेरमा विशिष्ट श्रेणीमा एमएस्सी गरेपछि एक चर्चित कलेजमा पढाउन थालेकी थिइन् । आफ्नो पेशाप्रति दक्ष्य हुँदाहुँदै पनि उनलाई कलेज पढाइन निकै डिस्ट्रेसफुल भैरहेको थियो । त्यसैले ६ महिना जति पढाएर कृतिकाले कलेज छोडिन् । त्यत्ति चर्चित कलेजको त्यो आर्कषण जागिर छोड्नु पर्ने कारण थियो, उनको नाक । कृतिकालाई आफ्नो नाक कत्ति पनि मन पर्दैन्थ्यो । उनलाई आफ्नो नाक लामो, चुच्चो र सुघाको जस्तो लाग्थ्यो । कलेजमा होस् वा सार्वजनिक ठाउँहरूमा होस्, मानिसहरू हाँसे भने उनको नाक हेरेर गिल्ला गरेझैं लाग्थ्यो । यसैले उनी सार्वजनिक ठाउँहरूमा पनि कमै जान्थिन् । जानै पर्ने अवस्थामा घण्टौं ऐना हरेर नाकलाई मेकअपले ढाक्ने प्रयास गर्थिन् । तर पनि उनी सन्तुष्टि हुदैन्थिन् । उनको मनमा प्रायः आफ्नो नाक सुघाको जस्तो नभइदिएको भए कति राम्रो हुने थियो भन्ने कुरा खेलिरहन्थ्यो । उनले मौका पाउनसाथ ऐनामा आफ्नो नाक हेर्दिन् । नाक देखेर उनलाई निकै हीनताबोध हुन्थ्यो । दिनप्रति दिन उनको स्टे«स पनि बढ्दै गएको थियो । उनी निकै उदास र निराश थिइन्  । यसै कारणले गर्दा उनी आफ्नो पेशाप्रति दक्ष्य हुँदाहुँदै पनि राम्रो सफलता प्राप्त गर्न सकेकी थिइनन् । छोरीको यस्तो अवस्था देखेर कृतिकाका बाआमाले उनलाई प्लाष्टिक सर्जरी गर्न सल्लाह दिए । कृतिकाले विदेश गएर प्लाष्टिक सर्जरी गराइन् । तर प्लाष्टिक सर्जरीपछि उनलाई आफ्नो नाक निकै सानो जस्तो लाग्न थाल्यो । प्लाष्टिक सर्जरीपछि पनि उनको समस्यामा कुनै कमी आएन । यसरी नै दिन बित्दै गएको थियो, एक दिन एक चिकित्सक साथीको सल्लाहमा उनी साइकोलोजी क्लिनमा गइन् । साइकोलोजिस्टले उनी बीडीडीबाट ग्रस्त भएको बताए । अनि कग्निटिभ बिहाभियर थेरापीद्वारा उनको उपचार शुरु गरे, १२ चिकित्सा सत्रमा नै उनी चमात्कारिक रुपमा ठीक भइन् । अहिले उनी कलेजमा प्राध्यापक छिन् ।   



सुन्दरताको मानकः

सुन्दरता र कुरुपताको परिभाषा हरेक समाज र संस्कृतिमा अलग–अलग हुन सक्दछ । एक संस्ृकतिमा कुरुप मानिने मानिस अर्को संस्कृतिमा सुन्दर लाग्न सक्दछ । अतः सुन्दरता र कुरुपता हरेक समाज र संस्कृतिमा स्थापित मादण्डले निर्धारण गर्छ । जस्तो कि ठूलो अनुहार पेरुमा कुरुप मानिन्छ । छोटो घाँटी बर्मामा र ठूलो खुट्टा चिनमा कुरुप मानिन्छ । प्रायः ठूलो ओठ धेरै ठाउँमा राम्रो मानिदैन । तर अफ्रिकामा सुन्दर मानिन्छ । 

बीडीडीका दुस्परिणामः
दीर्घ बीडीडीले मानसिक तथा शारीरिक रुपमा थुप्रै दुष्परिणमहरू निम्ताउँछ । बीडीडीका कारण पैदा हुने प्रमुख दुष्परिणामा निम्नलिखित हुन सक्दछ । दुश्चिंता तथा डिप्रेसन । सामाजिक फोबिया । धूम्रपान तथा माद्यक पदार्थको सेवन । इटिंग डिसअर्डर । अब्सेसिव कम्पलसिव डिसअर्डर (ओसीडी) । आफ्नो पेशा तथा स्कूल जान कठिनाइ । पारिवारिक सम्बन्धमा कमी । अनावश्यक कस्मेटिकको बढ्दो प्रयोग । पटक–पटक प्लाष्टिक सर्जरी । आत्मविश्वासमा कमी । एकलकाँटे जीवन । पटक–पटक अस्पतालमा भर्ना । आत्महत्याको विचार वा प्रयत्न ।  अन्य मानसिक रोगहरू ।
माइकल ज्याक्सनको मुहार

बीडीडी मानसिक रोग हो । बीडीडीले थुप्रै दुष्परिणामहरू पैदा गर्छ । यसले मानिसको प्रतिभालाई खुम्चाएर राख्नुको साथै जीवन नै जेल जस्तो बनाउन सक्दछ । प्रसिद्ध मोडल शोयला हेर्शेले बीडीडीका कारण नै आत्महत्याको प्रयत्न गरेकी थिइन् । भनिन्छ, प्रसिद्ध पप गायक माइकल ज्याक्सन पनि बीडीडीबाट पीडित थिए । त्यसैले उनले पटक–पटक प्लाष्टिक सर्जरी गराएका थिए भन्ने कतिपय विशेषज्ञहरूको भनाइ छ । तर यस कुराको अपौचारिक रुपमा पुष्टि हुन सकेको छैन ।


बीडीडीका कारणः
बीडीडीका वारेमा थुप्रै अध्ययन–अनुसंधानहरू भएता पनि यसको कारणात्मक पक्षहरूमा अझै पर्याप्त अध्ययन–अनुसंधान गर्न बाँकी नै छ । साधारणतया जैवरासायनिक कारण तथा आनुवांशिक कारणहरूले गर्दा बीडीडी देखा पर्ने भएता पनि मनोसामाजिक कारण बीडीडी पैदा गर्ने प्रमुख कारण हो । त्यो किनभने सामाजिक वातावरण, जीवनको कटु अनुभव तथा संस्कृतिका कारणले गर्दा नै अधिकांश बीडीडी पैदा हुन्छन् । कग्निटिभ मोडलका अनुसार आफ्नो नकारात्मक आत्मछवि तथा बाल्यकालमा अरुले गरेको खिसिटिउँरीको कटु अनुभव आदि बीडीडीका प्रमुख कारणहरू हुन् । बीडीडी खासगरी बाल्यकाल तथा किशोरावस्थामा पैदा हुन्छ । मनोसामाजिक कारण स्वयं बीडीडीको एक कारण मात्र नभएर यसले अनुवाशिंक तथा जैविक कारणहरूलाई जमीन प्रदान गर्ने तथा मलजल हाल्ने कार्य समेत गर्छ । जस्तो कि सुख्खा जमीनमा जतिसुकै पोटिलो बीउ पनि उम्रिदैन । तर पानी परेर जमीन चिसो भयो भने बीउ टुसाउँछ । यसैगरी कहिलेकाहीँ बीडीडी प्रमुख डिप्रेसन, डिल्युजन डिसअर्डर, समाजिक फोबिया तथा अन्य मानसिक रोगहरूसँग पनि देखा पर्न सक्दछ । 

बीडीडीको उपचारः
बीडीडी एक मनोवैज्ञानिक रोग भएकाले मनको पुनसर्रंचना बिना बीडीडीको उपचार प्रायः सम्भव हुँदैन । त्यसैले बीडीडीको सर्वोत्तम उपचार भनेको नै मनोवैज्ञानिक चिकित्सा (साइकोथेरापी) हो । कग्निटिभ थेरापी, बिहाभिहर थेरापी तथा कग्नििटिभ बिहाभियर थेरापी(सीबीटी) बीडीडीको निकै प्रभावशाली उपचार विधि हुन् । कग्निटिभ थेरापीद्वारा रोगीको नकारात्मक सोच र विश्वास सकारात्मक बनाउने कार्य गरिन्छ भने बिहाभियर थेरापीद्वरा रोगीको व्यवहार ठीक पार्ने कार्य गरिन्छ । (लेखक साइकोथेरापिस्ट हुन्। )






No comments:

Post a Comment