Friday, May 15, 2020

ब्रेन बाइट्स 
माइण्ड अफ मुम्बइ डब्बावाला 
ओम बानियाँ 

भागदौड र भिडभाडले सास लिन पनि मुश्किल हुने मुम्बई सहरका २ लाख सरकारी तथा गैरसरकारी कर्मचारीहरुको लाइफलाइन हुन्,  मुम्बइ डब्बावाला ।  मुम्बइ डब्बावाला एक यस्तो संगठन हो, जसका कामदारहरुले १२८ वर्षदेखि ठीक समयमा उचित तरिकाले कर्मचारीका परिवारले घरमै पकाएको खानाको डब्बा घरदेखि अफिससम्म र खाली डब्बा पुनः घरसम्म पुराइदिने पुण्य कार्य गर्दै आएका छन् । आफ्नो पेशाप्रतिको ईमानदारीता, कर्तव्यनिष्ठता र चुस्ततुरुस्त व्यावस्थापनका कारण अहिले मुम्बइ डब्बावालाहरु संसारभर चर्चित छन् । भारतको अहमदावाद स्थित विश्वप्रसिद्ध म्यानेजमेन्ट युनिभर्ससिटी, आईआईएममा यसका वारेमा केस स्टेडी हुने गर्छ । मुम्बइ डब्बावालाहरुलाई देशविदेशमा समेत बोलाउने गरिन्छ । यसै सिलसिलामा नूतन टिफिन कम्पनीका अध्यक्ष रघुनाथ केन्या, इटाली, अमेरिका, बेलायत तथा नाइजेरिया सहित अनेक देशहरुको भ्रमण गरेका छन् । 


देशविदेशका अनेक संस्था तथा टिभी च्यानलहरुले डब्बावालाहरुको कार्यशैली तथा व्यावस्थापनको सम्बन्धमा थुप्रै डक्युमेन्ट्री बनाएका छन् । बीबीसी, डिस्कवरी तथा नेसनल जियोग्राफिक च्यानलले डब्बावालको बारेमा बनाएको डक्युमेन्ट्री निकै लोकप्रिय पनि भएका छन् । सन् २०१३ मा प्रर्दशित हिन्दी फिल्म लन्चबक्स पनि मुम्बइ डब्बावालाबाट प्रभावित छ ।   

सेतो कुर्ता पाइजामा, गान्धी टोपी, घाँटीमा रुद्राक्षको माला तथा कोल्हापुरी चप्पल लगाएर काम गर्ने अधिकांश डब्बावाला वारकारी समुदायका छन्, जसले विट्ठल भगवानमाथि आस्था राख्छन् । मुम्बइ डब्बावालाको आर्दश वाक्य छ, अन्नपुर्णा देवोभवः अर्थात भोजन उपलब्ध गराउने व्यक्ति देवताको जस्तै हुन् । यही निश्वार्थ भावना र कार्यशैलीका कारण डब्बावालाहरु देशविदेशमा चर्चित छन् । त्यसैले डब्बावालाहरुलाई मुम्बइको लाइफलाइन पनि भन्ने गरिन्छ ।

डब्बामा मायाः 
मुम्बइ डब्बावालाको विषयमा विद्यावारीधि गर्ने मोटिभेसनल स्पीकर डा. पवन अग्रवालले डब्बावालाको कार्यशैली, ईमान्दारीता र व्यावस्थापकीय क्षमताका बारेमा अनेक रोचक तथ्यहरु वाहिर ल्याएका छन् । उनी भन्छन्, मुम्बइ डब्बावालाहरुले घरदेखि अफिससम्म खाना मात्र होइन परिवारको माया पनि पुराउने गरेका छन् । एक प्रसंगमा उनी भन्छन्ः एक पटक पतिपत्नीको बीच ठाकठुक परेछ । एंग्री पति अब आफु कहिल्यै घर नफर्किने भन्दै अफिस गएछन् । सधैंझैं साढे नौ बजे खानाको डब्बा लिन डब्बावाला आएछ । पत्नीले डब्बा दिइछन् । बिहानका एंग्री योंगमैन दिउँसोसम्म हंग्री योंगमैन भैसकेका थिए । डब्बा हातमा पर्नासाथ उनले डब्बा खोलेछन् । डब्बा भित्र एक म्यासेज थियो, प्रिय पतिदेव, आई एम सरी । खाना निकै मीठो छ । खानु होला । आई लभ यु । पति भावविभोर भएर खाना खाएछन् र सिनेमाका दुई वटा टिकट किनेर खाली डब्बामा हालेर आई लभ यु टु म्यासेज लेखेर घर पठाइदिए छन् ।



डिब्बावालाको शुरुवातः 
सन् १८९० तिरको समाजमा बिहान उठेर आफ्ना कर्मचारी पतीलाई टिफिन बनाएर अफिस पठाउन निकै गाह्रो थियो । उति बेला आज जस्तो भान्छामा नै ग्याँस र पानी आदि थिएन ।  कर्मचारी र उनका परिवारको यो समस्यालाई बुझेर नै महादेव हाव्जीले घरको खाना अफिससम्म पुराउने उद्देश्यले नुतन टिफिन कम्पनी मार्फत सन् १८९० मा डब्बावालाको शुरुवात गरेका थिए । जब नुतन टिफिन कम्पनीका महादेवले डब्बा घरबाट अफिस पुराउने कार्यको शुरुवात गरेका थिए त्यसबेला अंग्रेज तथा फारसी समुदायका १०० जना जति ग्राहकहरु थिए । त्यो संख्या क्रमशः बढ्दै गएर आज २ लाख भन्दा माथि पुगेको छ । रघनुाथ मेडगे ३५ वर्षदेखि यस संस्थाका अध्यक्ष छन् । र, अहिले डब्बावालाको संख्या लगभग ५ हजार छ ।  यी ५ हजार डब्बावालाहरुले मुम्बइकोे ६ वटा कार्यालयहरु मार्फत् २ लाख कर्मचारीहरुको घरबाट अफिसमा खाना पुराउने कार्य गर्दै आएका छन् । 

डब्बावाला माइण्डः

डब्बावालाको रुपमा काम गर्न कुनै शैक्षिक योग्यताको आवश्यकता पर्दैन । अशिक्षित तथा पाका व्यक्ति पनि डब्बावाला बन्न सक्छन् । अहिलेका डब्बावालाहरु औसत ८ कक्षा पढेका र औषत ५५ वर्ष उमेरका छन् । तर उनीहरुको टाइम म्यानेजमेन्ट र मेमोरी गजबको छ । कतिपय धेरै पढेका कर्मचारीहरु ठीक समयमा अफिस पुग्न सक्दैनन् । तर मुसालधारे वर्षा होस् वा प्रचण्ड गर्मी वा ट्राफिक जाम डब्बावाला सधैं ठीक समयमा डब्बा लिएर अफिस पुग्छन् । कतिपय कर्मचारीहरुले आफ्नै घरबाट पठाएको डब्बा चिन्न सक्दैनन् । तर डब्बावालाहरुले सम्बन्धित व्यक्तिको डब्बा पुराउन कुनै गल्ती गर्दैनन् । पछिल्लो १२८ वर्षको इतिहासमा डब्बावाला कहिल्यै लेट भएका छैनन् । उनीहरु काम १०० प्रतिशत परफेक्ट छ । त्यसैले डब्बावालालाई सिक्स सिग्मा रेटिगं मिलेको छ । जसको अर्थ हन्छ, ६ मिलियन ट्रांससेक्सनमा गल्ती हुने सम्भवना केवल एक हुन्छ । सामान्यतया संकेतको आधारमा नै डब्बावालाहरुको नेटर्वक चल्छ । उमेर, शिक्षा तथा अनुभव जति भए पनि हरेक डब्बावालाको आय उतिनै छ । ९ देखि १० हजार मासिक कमाइ । वर्षमा एक पटक एक महिनाको तलब बराबर बोनस मिल्दछ ।

सजिलौ छैन कामः
डब्बावालाको काम त्यति सजिलो छैन । प्रचण्ड गर्मी होस् वा मुसलधारे वर्षा, खुट्टा राख्ने ठाउँ नहुने लोकल टे«नमा कोच्चिएर होस् वा साइकल कुदाएर होस्, एक डब्बावालाले हरेक दिन ६० देखि ७० किलोमिटर यात्रा गर्नुपर्दछ । एक डब्बा ग्राहकसम्म ६ हात भएर पुग्दछ । खाली डब्बा पनि त्यसरी नै घर फर्किन्छ । खाना ३ घण्टा भित्र कार्यालय पुग्दछ । सप्लाईका लागि डब्बावालाहरुले साइकल तथा लोकल टे«न प्रयोग गर्छन् । डब्बावालाको रुपमा कार्य गर्न केही नियमहरुको पालना गर्न जरुरी छ । जस्तैः कामको सयममा नशापानी गर्न सख्त मनाही छ । डब्बावालाले सेतो गान्धी टोपी लगाउन आवश्यक छ । बिना पूर्वसचना विदा मिल्दैन । हमेसा साथमा आई कार्ड राख्न आवश्यक छ । कसैले नियम उलंगन गरेमा एक हजार फाइन हुन्छ ।
 

पुछारमाः
अतः ५ हजार डब्बावालाहरुले २ लाख खानाका डब्बाहरु निश्चित समयमा ठीक तरिकाले ठीक ठाउँमा पुराउनु भन्दा ठूलो प्रवन्ध अर्को के हुन सक्दछ ? यो ठुल्ठुला बिजनेश गुरुका लागि पनि चकित पार्ने कुरा हो । वास्तवमा मुम्बइ डब्बावाला उचित व्यावस्थापनको एक उदाहरण हो । त्यसैले त मुम्बइ डब्बावालाहरुको कार्यशैली तथा व्यावस्थापनले ठुल्ठुल्ला उद्योगीव्यावसायी, स्कोलर, समाजसेवी देखि राजकुमार चाल्र्सको समेत ध्यान खिच्न सफल भएको छ ।  डब्बावालाको व्यावस्थापनाको यति प्रसशां हुनुको पहिलो कारण हो, समय व्यावस्थापन (टाइम म्यानेजमेन्ट), दोस्रो हो अनुशासन तथा तेस्रो हो, कामप्रतिको लगााव ।  (लेखक मनोविद् हुन् ।)


                        

No comments:

Post a Comment