Friday, May 29, 2020

हेल्थ फर्स्ट 

ब्रेनफूड 'बदाम'
 ओम बानियाँ  

दाम (आलमण्ड) प्राकृतिको दिव्य उपहार हो । पौष्टिकताको पावरहाउस हो । यो खाँदा मिठो हुनुका साथै पोषिलो तथा स्वास्थ्यको लागि लाभदायक पनि उत्तिकै छ । नेपाली समाजमा यसलाई हाडे बदाम तथा मधेशी बदाम पनि भन्ने गरिन्छ । बदाम मध्यम खालको रुखमा फल्ने फल हो । यसका फलहरू भने दुई भागमा विभाजित मखमली दाना भएका र कडा खोलयुक्त हुन्छन् । यसैभित्रको गुदीलाई बदाम भनिन्छ । यही गुदी र गुदीबाट आउने तेललाई विभिन्न औषधीय प्रयोजनका लागि समेत प्रयोगमा ल्याइन्छ ।


ब्रेनफूड बदामः

बदाम मस्तिष्कलाई पोषण दिने स्रोतको रूपमा प्रख्यात छ । ३० ग्राम बदाममा १७० क्यालोरी, १४ ग्राम बोसो (मोनोसेचरेटः ९ तथा पोलीः ५, तथा सेचरेटः १ तथा कोला ० ), ६ ग्राम प्रोटिन, ५ ग्राम काब्रो, ४ ग्राम फाइबर तथा १ ग्राम चिनी हन्छ । बदाममा प्रशस्त मात्रामा भिटामिन तथा मिनरलस हुन्छ । भिटामिन ई, जिंक, आइरन, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, ओमेगा ३ फ्याटी एसिड प्रशस्त मात्रामा पाइने भएकोले मुटु र मस्तिष्कलागि निकै उपयोगी मानिन्छ । बदाम स्वादिलो तथा स्वास्थ्यको लागि समेत अति लाभदायक मानिन्छ । बिशेषगरि बदाम स्मरणशक्ति बढाउनको लागि प्रयोग हुन्छ र यसले स्मरण शक्ति बढाउन मद्धत समेत गर्दछ । यसमा रहेको सम्पूर्ण पौष्टिक तत्वहरु प्राप्त गर्न यो बदामलाई रात भरी भिजाएर खाँदा  बढी लाभदायक हुन्छ । यसरी भिजाएको बदाम  स्वास्थ्यको दृष्टिकोणबाट पनि अनेकौँ फाइदा दायक हुन्छ र पाचन प्रक्रियालाई समेत यसले ठिक राख्दछ ।  रात भरी भिजाएर बिहान त्यसको खैरो बोक्रा फालेर बदामको सेवन गर्नाले साना बिद्यार्थीलाई निकै लाभदायक हुन्छ भने सुगरका बिरामीहरुको सुगर तथा इन्सुलिनको मात्रा नियन्त्रण गर्न समेत सहयोग गर्दछ । यसले मानिसलाई सुगर हुनबाट समेत रक्षा गर्दछ ।  


आई टनिकः
 आयुर्वेदमा दिनहु २ ओटा मधेसी बदाम खानेलाई कुनै पनि आँखाको समस्या नहुने जनाइएको छ तथा आँखाको क्षमतालाई महत्वपूर्ण सहयोग पुर्याउछ । बदामको तेल मीठो र शीतलता प्रदान गर्ने खालको हुनुको साथै यसमा मांसपेशीहरूलाई बाउँडिनबाट बचाउने क्षमता हुन्छ । बदामलाई सिधै खानुको साथै चकलेट, केक, तेल, औषधि बनाएर पनि उपभोग गरिन्छ ।

गर्भवतीको टनिकः
बदाम अत्यन्तै पोषिलो हुने भएकाले गर्भवती महिलाहरूका लागि एकदमै उपयुक्त शक्तिको स्रोत मानिन्छ । अझ प्रभावकारी नतिजाको लागि बदामलाई दूधमा भिजाएर एकचिम्टी केसर मिलाई प्रत्येक दिन खाँदा आमा तथा बच्चा दुवैलाई भरपूर पोषण मिल्छ ।

हर्ट टनिकः

बदामले हृदयलाई स्वास्थ्य राख्न मदत गर्छ । मुटुका रोगीहरुलाई बदाम ठुलो औषधि साबित हुन्छ । किन भने यसमा पाइने प्रसस्त एन्टीअक्सिडेन्टले कोलस्ट्रोलकोअक्सिकरणलाई रोक्न मदत गर्दछ, जसले हृदयलाई स्वास्थ्य राख्नलाई सहयोग गर्नुका साथै हृदयको सम्पूर्ण प्रणालीमा हुनसक्ने कुनै पनि नोक्सानीबाट सुरक्षा प्रदान गर्दछ । ब्लडप्रेशरको रोगीहरुको लागि पनि लाभदायक हुन्छ । जर्नल फ्री रेडिकल रिसर्चमा प्रकाशित एउटा अध्ययन अनुसार, वैज्ञानिकहरुले पत्ता लगाएका छन्, बदाम सेवन गर्ने मानिसहरुको रगतमा अल्फा टोकोपÞmेरलको मात्रामा वृद्धि हुन्छ र यसले ब्लड प्रेसरलाई नियन्त्रित राख्न सहयोग गर्दछ । त्यस अध्ययनमा ३० देखि ७० बर्ष उमेरका मनिसहरुले नियमित रुपमा बदाम सेवन गर्ने हरुको ब्लड प्रेसर समेत घटाउन सहयोग गरेको भेटियो । प्राय धेरै मानिसहरुमा कोलस्ट्रोल बढेर बिभिन्न समस्या देखिन थालेको छ। कोलस्ट्रोल बढेर मुटुका धमनीमा समस्या उत्पन्न भइ हृदय रोगको चपेटामा पुगिन्छ । तर यो बदाम ले मुटुको लागि राम्रो कोलस्ट्रोल को मात्रामा वृद्धि गरेर खराब कोलस्ट्रोल लाई घटाउनमा समेत यसले सहयोग गर्दछ । 

हेमोग्लोबिनको स्रोतः
बदाममा हुने उच्च मात्राको ताम्र तथा लौहपदार्थले रगतमा हेमोग्लोबिन बढाउन सहयोग गर्छ । पिसेको बदामलाई दूधमा पकाएर बनाएको खीरलाई शरीरमा शीतलता प्रदान गर्ने, थकान मेटाउने तथा दिमागलाई सुचारु राख्ने प्रभावकारी पदार्थ मानिन्छ ।

स्लिमः
प्रायः युवतीका लागि बढी वजन तनावको विषय हुने गर्छ । स्लिम शरीरलाई सुन्दरताको पर्याय मानिन थालिएपछि कैयन युवतीहरू अनावश्यक डाइटिङ गरेरै दुब्लाउन प्रयत्न गरिरहेका हुन्छन् । उनीहरूका लागि खुसीको कुरा, शरीरको तौल कम गर्न दिनहुँ हाडे बदामको सेवन गर्दा फाइदा पुग्ने देखिएको छ । अमेरिकाको पेन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूद्वारा ५२ जनामा गरिएको यस अध्ययनलाई जर्नल अफ अमेरिकन हर्ट एसोसिएसनले सार्वजनिक गरेको छ । अध्ययन अनुसार दिनहुँ ४२ ग्राम हाडे बदाम खानाले पेटको बोसोको मात्रामा कमी ल्याउनुका साथै हृदयरोगको खतरासमेत कम गर्छ । पेटमा जमेको बोसो मुटु रोगको कारक मानिन्छ । अध्ययनको निचोड अनुसार सामान्य आहारको सट्टा हाडे बदाम सेवन गर्नेहरूमा मोटोपना कम हुनु को साथै मुटु रोगको जोखिमसमेत कम देखिएको थियो ।

बदाम सेवन गर्ने विधि


बदाम बिभिन्न तरिकाले खान सकिन्छ । तर बदाम भिजाएर खान सर्वोत्तम हुन्छ । राती आबश्यक बदाम सफा पानीमा भिजाएर राख्ने । बिहान बदामको बोक्रा हटाई मजासग चपाएर खाने । अझ बदाम ओख्खरसंग सेबन गर्दा बढी फाइदाजनक हुन्छ । दिमागी कार्य गर्ने मानिसहरुले ब्रेकफास्टमा भिजाएको बदाम, ओख्खर, छोडा, किशमिश, अंजिर, अमला तथा चना आदिको नास्ता खान निकै उपयोगी हुन्छ । यसैगरी बिहान ३,४ बदाम भिजाउने राती सुत्ने बेलामा बोक्रा हटाएर लेप बनाइ दुधमा मिसाएर पिउने ।

पुछारमाः
बिश्वमै अत्यन्त महंगो मानिने हाडे बदामको बजार विश्व भरिनै निकै नै राम्रो छ । नेपालमा यसको माग बढ्दो छ । तर माग अनसार यसको उत्पदान हन सकेको छैन । नेपालले प्रत्येक बर्ष रु. ५० करोडभन्दा बढिको मधेसी बदाम खरिद गर्ने गर्दछ । नेपालको भौगोलिक परिवेश बदाम खेतीलाई अत्याधिक उपयुक्त मानिन्छ । यहा ६०० मिटर भन्दा माथि करिब ३५०० मिटरसम्मका पाखाबारीमा समेत मधेसी बदाम खेती गर्न सकिन्छ । तराइको बाजो जमिन तथा पहाडि क्षेत्रका यस्ता प्रयोगहिन पाखाबारीहरुमा मधेसी बदाम लगाएर नेपाललाई मधेसी बदामको उधोगको रुपमा बिकास गर्न सकिन्छ। यो खेतीलाई सामुदायिक वनमा जंगली प्रविधिबाट खेती गरेर पनि आम्दानी लिन सकिन्छ। यो पहाडि इलाकाको घाम लाग्ने पारिलो पाखामा राम्रो खेती भएता पनि ६ घण्टा सम्म घाम लाग्ने सबै पहाडि इलाकामा यसको खेती गर्न सकिन्छ । पानी नलाग्ने पाखाहरु वा बर्षे पानीको भर पर्नु पर्ने टारहरुमा पनि मधेसी बदामको खेती गर्न सकिन्छ । यसको खेतीबाट मनग्य आम्दानी लिन सकिन्छ ।

1 comment:

  1. अति उपयोगी आलेख
    सर्वगुण सम्पन्न बदाम खाओेैंं स्वस्थ बनौं,मन र मस्तिष्क रिचार्ज गरौं। बदाम खेतीलाई व्यवसायीकरण गरौं ।

    ReplyDelete