Wednesday, May 6, 2020

हेल्थ फर्स्ट 

बुद्ध मेडिसिन 
ओम बानियाँ 

नेपालको तराई लुम्बिनीमा शाक्य सम्राट् महाराजा शुद्धोदन र रानी मायादेवीको कोखबाट जन्मेका बुद्धको नाम सिद्धार्थ गौतम हो । राजकुमार सिद्धार्थ युवा अवस्थामा नै श्रीमति, छोरा, बाबुआमा तथा राजपाठ छोडेर रोग तथा दुःख–कष्टको कारण र त्यसबाट छुटकारा पाउने उपायको खोजीमा निक्लेका हुन् । घुम्दाघुम्दै उनी भारतको गयामा पुगे । अनि सिद्धार्थ गौतमले पिपलको रुखमुनि बसी ध्यान गर्न थाले । उनले पद्मासनमा बसेर केवल सास आवगमनको ध्यान गरे । मनको गहिराइमा डुबुल्की मार्दै गए । उनी विचारको उद्गममा पुगे । उनलाई दुःख–कष्टको कारण र यसबाट छुटकारा कसरी प्राप्त हुन्छ भन्ने कुराको आत्मबोध भयो । सिद्धार्थ गौतम महात्मा बुद्ध भए । 


गौतम बुद्ध दार्शनिक होइनन् । मेटाफिजिक्स तथा स्वर्ग नर्कका बारेमा पनि उनलाई कुनै रुचि थिएन । उनलाई परमात्मा र परलोक सिद्ध गर्नु पनि थिएन । उनको रुचि मानिसको मनोविज्ञानमा थियो, मानिसको रोग र रोगको उपचारमा थियो । मानिस किन दुःखी हुन्छ ? मानिसको रोग के हो ? मानिसको रोग कसरी पैदा हुन्छ ? रोगको कारण र उपचार के हो ? यही नै बुद्धका मौलिक प्रश्नहरु हुन् । बुद्ध पहिलो व्यक्ति थिए, जसले परमात्माको बिना ध्यान गर्ने विधि दिए । बुद्धले ध्यानका लागि परमात्माको कुनै आश्यकता ठानेनन् । परमात्माको मात्र होइन, आत्माको धारणालाई समेत ध्यानको लागि आवश्यक ठानेनन् । बुद्धले भने, ध्यान त स्वास्थ्य हो । तिमी स्वस्थ्य हुन सक्छौ । स्वस्थ भएपछि तिमीले जे खोज्न चाहन्छौ, खोज्न सक्दछौ । म तिमीलाई रोग मुक्त गर्न आएको हु । बुद्धले संसारलाई एक स्वास्थ्य शास्त्र दिएका छन् । संवत् उनी मानवजातिका पहिलो मनोवैज्ञानिक हुन् । कग्निटिभ साइकोथेरापिष्ट (मनोचिकित्सक) हुन् । 

बुद्धले भन्छन्, जस्तो सोच्चौ, तिमी त्यस्तै हुन्छौं ।’ यो वैज्ञानिक तथ्य हो । त्यो किनभने कुनै पनि मानिसको व्यक्तित्व उसको सोच, बोलीचाली, उसले गर्ने व्यवहार तथा उसलाई समाजले कसरी हेर्छ भन्ने उसको दृष्ट्रिकोण आदिबाट निर्माण हुन्छ । प्रसिद्ध मनोचिकित्सक आरुन बेकको कग्निटिभ मोडलका अनुसार चिन्ता तथा डिप्रेसन जस्ता मानसिक समस्याहरुको प्रमुख कारण भनेको नै मानिसको सोच हो । यस मोडलका अनुसार नकारात्मक र अतार्कीक सोचले नै डिप्रेसन लगायतका मानसिक रोगहरू पैदा गर्छ । अधिकांश मनोवैज्ञानिक समस्याहरु पनि गलत सोचका कारण नै पैदा हुन्छन् । त्यसैले यस्ता रोग तथा समस्याहरूबाट मुक्त हुनकालागि अतार्कीक तथा नकारात्मक सोच हटाएर तार्कीक सकारात्मक सोच स्थापित गर्न जरुरी हुन्छ । यो नै वैज्ञानिक उपचार पद्धति हो ।

उचित र तार्कीक विचारहरूमा मनमस्तिष्क पुनर्संरचना गर्ने सामथ्र्य हुन्छ । अंगुलिमाललाई नै हेर्नुहोस् । एउटा विचारले ऊ हत्यारा भएको थियो, बुद्धको अर्को विचारले ऊ एकैछिनमा भिक्षु भयो । साइकोथेरापीको एक विधि, संज्ञानात्मक मनोचिकित्सा (कग्निटिभ थेरापी)ले गर्ने पनि यही हो । आधुनिक मनोविज्ञानले यस कुरालाई स्वीकार गर्दै छ कि बौद्ध दर्शनमा जुन जुन तत्वहरु छन्, ती आधुनिक चिकित्सा विज्ञानको करीब छन् । त्यसैले बौद्ध ज्ञान र बौद्ध मनोविज्ञानलाई आजको परिप्रेक्ष्यमा कसरी प्रभावकारी बनाउन सकिन्छ, यसकुराप्रति विशेष शोधको आवश्यकता छ । बौद्ध मनोविज्ञानले नकारात्मक तथा अनैतिक कार्य गर्दा व्यक्ति भित्र कुन कुन मनोवैज्ञानिक तत्वहरु उपस्थित हुन्छन्, सकारात्मक व्यक्तित्व कसरी निर्माण हुन्छ, यस बारेमा बिस्तारपुर्वक प्रकाश पारेको छ । चित्तका बारेमा गौतम बुद्धले बहुत गम्भिर उपदेश दिएका छन् ।  मानिसको मन चंचल छ । अनुशासनहीन छ । मनका कारण नै मानिस अशान्त र दुःखीत छ । बुद्ध मनोविज्ञान सुख र शान्तिप्राप्त गर्नका लागि अनुशासनहीन मनलाई नियन्त्रण गर्ने विज्ञान हो । यदि मानिसले यस विज्ञानलाई ठीकसँग बुझेर प्रयोगमा ल्याउने हो भने मानिसको मन प्राकृतिक स्वरुपमा आउँछ र मानिस भावनात्मक अज्ञानताहरु र त्यसले स्वत ल्याउने दुःखबाट मुक्त हुन सक्दछ । 

बौद्ध मनोविज्ञानका अनुसार मानिसको शरीरमा विद्यमान पंचइन्द्रियहरुले मनमस्तिष्कलाई निरन्तर रुपले सुचनाहरु उपलब्ध गराउँदछ । फलस्वरुप विभिन्न प्रकारका अनुभवहरु उत्पन्न हुन्छन् । शारीरिक तथा मानसिक अनुभवहरुद्वारा भौतिक संसारप्रति अनुराग जाग्दछ । यही अनुरागका कारण नै मन अशान्त हुन्छ । दुःखीत हुन्छ । मानिसको दैनिक जीवन नै खलबलिन पुग्दछ । अनि मानिस अशान्त र दुःखी मात्र होइन कि रोगी पनि बन्न पुग्दछ ।  त्यसैले मानिसको जीवनलाई खलबलाउने हतासा र निराशाहरुलाई सामना गर्ने प्रयास गर्नका लागि बुद्ध मनोविज्ञानले ठुलो सहायता पुराउन सक्दछ ।  ध्यान बुद्ध मनोविज्ञानको महत्वपुर्ण पक्ष हो । बुद्धले ध्यानलाई नै बढी महत्व दिएका छन् । त्यो किनभने ध्यानले मनलाई नियन्त्रण मात्र गर्दैन कि मन भित्रको सत्य कुरा देखाइदिन्छ । जसरी आँखाले संसारिक कुराहरु देखिन्छ, त्यसरी नै ध्यानले मन भित्रका सकारात्मक कुराहरु, नकारात्मक कुराहरु, सबै फोहोरमैलाहरु देखाइदिन्छ । 

ओशो
विपश्सना ध्यानको सरलतम विधि हो । बुद्ध विपश्सनाद्वारा नै बुद्धत्व प्राप्त गरेका थिए । विपश्सनाद्धारा जति मानिसले ज्ञान प्राप्त गरे, त्यत्ति अन्य कुनै ध्यान विधिद्धारा गरेका छैनन् । विपश्सना ध्यान विधिहरुको पनि विधि हो । यस विधिद्धारा हजारौं मानिसहरुलाई फाइदा भयो, भएको छ । विपश्सनाको अर्थ हो, सासको निरिक्षण गर्नु । सासलाई हेर्नु । ओशोे अगाडि भन्छन्ः तिमीले सासलाई देख्न सक्यौ भने विचारलाई पनि देख्न सक्छौ । सास र विचारको सम्बन्धको यो खोज बुद्धको हो । सास विचारको शारीरिक हिस्सा हो । विचार शरीरको मानसिक हिस्सा हो । यो एउटै सिक्काका दुई पाटा हुन् । बुद्ध नै पहिलो व्यक्ति हुन्, जसले शरीर तथा मनलाई एक इकाईका रुपमा लिए । बद्धले भने, मानिस साइकोसोमैटिक, मनोशारीरिक घटना हो । मानिसको स्वास्थ्यमा यो मनोशारीरिक घटनाको महत्वपुर्ण भुमिका छ ।

स्नायुविज्ञानले हालै एउटा क्रान्तिकारी खोज गरेको छ । त्यो के भने मानिसको मस्तिष्कको विकास एक निश्चित अविधिसम्म मात्र हुने भएता पनि मानिसको जीवनभरि नै मस्तिष्क परिर्वतनका लागि सधैँ तत्पर रहन्छ । त्यसैले ८ वर्षको बालकको मात्र होइन कि ८० वर्षको बुद्धबुद्धाको मस्तिष्क पनि परिवर्तन हुन सक्दछ । जस्तो कि जब गर्भधारण हुन्छ, भु्रण बन्ने प्रक्रियासँगै मस्तिष्कको विकास दूर्त गतिमा अगाडि बढ्छ । र, मानिसको बाल्यकालमा नै मस्तिष्कको उच्चतम विकास हुन्छ । एक वर्षको बालकको मस्तिष्कमा नै सबै भन्दा बढी न्यूरोनहरू हुन्छन् । तर मानव मस्तिष्कमा एक असाधारण र अद्भुत लचकताको गुण हुन्छ, त्यो गुणलाई स्नायुविज्ञानको भाषामा न्यूरोप्ल्यास्टिसिटि भनिन्छ । मस्तिष्कको यही गुणका कारण नै मानिसको जीवनभरि नै मस्तिष्क पुनर्संरचना सम्भव हुन्छ ।

मस्तिष्कको यही विशेषताका कारणले नै सिद्धार्थ गौतम महात्मा बुद्ध बनेको हुन् । त्यो किनभने बुद्ध जन्मिदै महात्मा बुद्ध भएर जन्मेका थिएनन्, अन्य मानिसको जस्तै मस्तिष्क लिएर जन्मिएका थिए । तर बुद्धले मनद्वारा, ध्यानद्वारा मस्तिष्कलाई यसरी परिवर्तन गरेकी विश्व नै परिवर्तन भयो । राजकुमार छँदा सिद्धार्थ गौतमको मस्तिष्क जस्तो थियो, बुद्धत्व प्राप्त भएपछि उनको मस्तिष्क अर्कै भयो । बुद्ध जन्मिनु भन्दा पहिला विश्व जस्तो थियो, बुद्धको दर्शनपछि विश्व अर्कै भयो । त्यो किनभने मनले मस्तिष्कको पुनर्संरचना गर्न सक्दछ, जब मस्तिष्क परिर्वतन हुन्छ, मानिसको जीवन नै परिवर्तन हुन सक्दछ, मानिस बुद्ध बन्न सक्दछ, मानिस बुद्धिमान्, ज्ञानवान् र जागरुक बन्न सक्दछ ।


ध्यान मस्तिष्क पुनर्संरचनाको एक मनोवैज्ञानिक विधि हो । ध्यानले केवल आनन्द, प्रेम तथा विवेकको मनःस्थिति मात्र स्थापित गर्दैन कि मानिसको चेतना आयामलाई बढाएर अतिचेतनाको स्थितिमा पु¥याउँछ । अतिचेतनाको मनस्थिति नै सृजनशील बुद्धिको महासागर हो । त्यहाँबाट पैदा भएका हरेक विचार नै सृजनशील र दूरदर्शी प्रकृतिका हुन्छन् । कुनै गम्भिर विषयमा निर्णय गर्नु पर्दा बुढापाकाहरूले शान्त मनले सोचर निर्णय गर भन्नुको अर्थ पनि यही हो । लोभ–लालच, घृणा–तृष्णा, आग्रह–पूर्वाग्रह, ईष्र्या–द्वेश, आवेग–उन्माद तथा रिस–राग आदि जस्ता मनोविकारहरूले नै मानिसको मनलाई अशान्त बनाउँछ, प्रदुषित बनाउँछ । यस्तो अशान्त र प्रदुषित मनबाट सधैँ गलत र घातक विचार नै उत्पन्न हुने गर्छ । 

मनलाई शान्त बनाउन सबै भन्दा पहिला लोभ, घृणा, स्वार्थ र बदलाको भावनाहरू त्याग्नुपर्छ । मनबाट यस्ता कुभावनाहरू हटेपछि मात्र मन शान्त र स्थिर हुन्छ । मन जति शान्त र निर्मल हुन्छ, विचार पनि त्यत्ति नै सृजनशील, दूरदर्शी र शक्तिशाली हुन्छ । त्यसैले त मानिसले शान्त मनभित्र सानो परिर्वतन मात्र गर्छ भने पनि मानिसको मस्तिष्कमा ठूलो परिर्वतन देखा पर्छ । मस्तिष्कमा भएको यस्तो परिवर्तनले व्यवहारमा ठूलो छलाङ लगाउँछ । त्यसैले हरेक मानिसले आफ्नो मनलाई प्रशिक्षण दिएर वा मनशक्तिको उपयोग गरेर आनन्द, खुसी, प्रेम र विवेकपूर्ण जीवनका लागि आफ्नो मस्तिष्क रिवायरिंग गर्नुपर्छ, पुनर्संरचना गर्नुपर्छ ।तर ध्यान गर्नुको मतलव आँखा बन्द गरी पलेँटि कसेर बस्नु मात्र होइन । ध्यानको परिभाषा व्यापक छ । हिँडदा, बस्दा, खाँदा, पिउँदा तथा कुनै पनि दैनिक क्रियाकलापहरु गर्दा चेतनशील (माइन्डफुलनेस) हुनु नै ध्यान हो । यही नै बुद्धको स्वास्थ्य शास्त्र हो । (लेखक मनोविद् हुन् ।)  












No comments:

Post a Comment