Saturday, July 11, 2020

ब्रेन बाइट्स

कुकुर मात्र कुकुर होइन
 घर बाहिर गएका आफ्नो मालिक कुन बेला घर फर्किन्छन् भन्ने कुरा कुकुरलाई थाहा हुन्छ ।
ओम बानियाँ 
 कुकुर एक इमान्दार जनवार हो । मानिसको साथी हो । मानिसको रक्षक हो । प्राचिन कालदेखि कुकुरले घरको रेखदेख तथा चोरडाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ । अपराधीहरू पत्ता लगाउने, अध्ययन–अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ । त्यसैगरी कुकुरले कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ । यिनै गुणहरुका कारण मानिसहरुले कुकुर पाल्ने गरेको देखिन्छ । जंगली अवस्थामा रहँदादेखि नै मानिसले कुकुर पाल्न थालेको विश्वास गरिन्छ । शिकारदेखि घरको सुरक्षा गर्ने काम होस् वा विभिन्न तरिकाले मनोरञ्जन प्रदान गर्ने काम होस् कुकुरले मानिसलाई सधैं साथ दिँदै आएको छ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ । यही गुणको कदर गरेर मानिसले कुकुरप्रति सम्मान गर्दै वर्षको एकदिन भए पनि कुकुरको पूजा गर्न थालेका हुन् । हाम्रा पौराणिक गाथाहरूमा पनि कुकुरसँग जोडिएका अनेकौं प्रसंगहरु छन् । 


धेरैले कुकुरलाई अति मन पराउँछन् । घरमा कुकुर पाल्नु कतिपयको सोख हुन्छ । कतिपय सुरक्षाका लागि कुकुर पाल्छन् । घरपालुवा जनवारमध्ये कुकुर धेरै प्रिय हुने गर्दछ । समय परिवर्तन भएसँगै विभिन्न प्रजातिका कुकुर पाइन्छन् । पछिल्ला दिनमा नेपाली भन्दा पनि विदेशी कुकुर नै धेरै देखिन्छन् । कुकुरका फाइदा धेरै छन् । कुकुरले मानिसको स्वास्थ्यमा समेत फाइदा गर्ने एक अनुसन्धानले सार्वजनिक गरेको छ । केही समय अगाडि गरिएको अनुसन्धानले कुकुर पाल्नुका फाइदा सार्वजनिक गरेको हो । 

 कुकुर पाल्नुका फाइदा
अमेरिकाको बार्कपोस्टले कुकुर पाल्नुका फाइदा सार्वजनिक गरेको हो । जस्तैः मुड राम्रो बनाउन साथ दिन्छ । बच्चामा हुनसक्ने छालाको रोग जोगाउन सहयोग गर्छ । कार्डियोभास्कुलर रोगको जोखिमबाट जोगाउछ । मानिसलाई स्वास्थ्य दैनिकीतर्फ सधै प्रोत्साहित गर्छ । मानिसलाई सक्रिय बनाउछ, । हृदयघात हुनबाट जोगाउछ । कुकुर पालिएको घरका बालबालिका चलाख हुन्छन् । घरमै कुकुर भएपछि परिवारले सुरक्षित महसुस गर्छन् । दिक्कलाग्दो वातावरण सिर्जना हुनबाट टाढै राख्छ । जोखिममा कुकुरले जीवन बचाउन साथ दिन्छ ।कुकुरको मूल विशेषता यही हो कि यो भुक्न सक्छ, आक्रमण गर्न सक्छ । कुकुर स्वामीभक्त पनि हुन्छ । स्वामीको लागि ज्यानै दिने कुकुरहरू पनि पाइन्छन् ।


कुकुरका झन्डै सात सय एक विशुद्ध प्रजातिहरू पाइन्छन् । मिस्कट र भुस्याहा जाति–प्रजाति भने थुप्रै हुन्छन् । हजारौं । झन्डै दुई सय पचास प्रजातिका कुकुरहरू घरमा पाल्नका लागि योग्य मानिन्छन् । अफगान हाउन्ड, अकिता, अलास्कन मलाउमट, अस्ट्रेलियन कैटल, अस्ट्रेलियन केल्पी, अस्ट्रेलियन सिल्की टेरियर, एल्सेसियन, बीगल, बेल्जियन सेर्फड, जर्मन सेर्फड, ब्लड हाउन्ड, बक्सर, ब्रिटिस बुलडग, शिहुआहुवा, जर्मन प्वाइन्टर, डोवरम्यान, ल्याबराडोर प्यापिलन, माल्टेज, पमेरियन, पुडल, साइबेरियन हस्की, तिब्बती स्पानियल, गोल्डन रिट्रिवर, ग्रेट डेन, आइरिस सेटर, आइरिस वुल्फहाउन्डजस्ता प्रजातिका कुकुरहरू विश्वका सर्वा्धिक लोकप्रिय प्रजातिहरू मानिन्छन् । बोर्डर कोली, पुडल र गोल्डन रिट्रिवर सबैभन्दा समझदार कुकुर मानिन्छन् । अफगान हाउन्ड भने सबैभन्दा मूर्ख र ल्वाँदे कुकुर मानिन्छ । संसारको सबैभन्दा सानो र हलुंगो कुकुर शिहुआहुआ हो र सबैभन्दा ठूलो र गरुंगो कुकुर वुल्फहाउन्ड हो । 


कुकुरहरूको सबैभन्दा महत्वपूर्ण अंग भनेको नाक र कान हो । कुकुरको आँखा निकै कमजोर हुन्छ । यसले रङहरू चिन्न र छुट्याउन सक्दैन । अर्थात् कलर ब्लाइन्ड हुन्छ । यसले केवल ब्ल्याक एन्ड ह्वाइट मात्र देख्नसक्छ । त्यसैले कुकुरको सुघ्ने र सुन्ने शक्ति गजबको हुन्छ । स्वामीको गन्ध र बोली यसले गजबले चिन्छ । केही कुकुरहरू त स्वामीको कार, जुत्ता, पोशाक, बन्दुक पनि चिन्दछन् । कुकुरहरूको सुन्ने क्षमता मान्छेको भन्दा बढी हुन्छ । सँुघ्ने क्षमता त झन् एक हजार गुना नै बढी हुन्छ । त्यसैले त भनिन्छ, स्थिति र परिस्थिति यसले निकै चाँडै ठम्याउन सक्छ । र, त्यही परिस्थितिअनुसार स्वामीभक्ति गर्न सक्छ । कुकुरको अध्ययन अनुसंधान गर्ने वैज्ञानिकका अनुसार बाहिर गएका आफ्नो मालिक कुन बेला घर फर्किन्छन् भन्ने कुरा कुकुरलाई थाहा हुन्छ ।  (लेखक मनोविद् तथा मेमोरी ल्याब प्रमुख हुन् ।) 



Wednesday, July 8, 2020

सिनेम्याटिक्स

मुभी, मस्तिष्क र महानायक
ओम बानियाँ

मुभि अर्थात् सिनेमा (चलचित्र) मनोरंजनको एक सशक्त माध्यम हो । संसारमा मनोरंजनका लागि यस माध्यमलाई उपयोग गर्नेको संख्या निकै धेरै छ । सिनेमा महिलापुरुष, बालबालिका, युवायुवती तथा बृद्धबृद्धा तथा मजदुरदेखि अरवपति आदि सबैका माँझ उत्तिकै लोकप्रिय छ । नेपालमा पनि चलचित्रमा रमाउनेहरु कम छैनन् । तर, नेपालमा नेपाली सिनेमामा भन्दा हिन्दी सिनेमामा रमाउनेहरु बढी छन् । त्यसो त केही वर्ष यता नेपाली सिनेमाको बजार पनि बढ्दै छ । नेपाली सिनेमाहरु पनि उल्लेखनीयरुपमा निर्माण हुँदै छन् ।

मुभि र मस्तिष्कः
चाहे नेपाली सिनेमाहरु हुन्, चाहे हिन्दी सिनेहरु हुन् वा अन्य भाषाका सिनेमाहरु हुन्, सिनेमाको प्रमुख उद्देश्य भनेको नै दर्शकलाई मनोरंजन दिनु हो । तर, सिनेमाको दायरा केवल मनोरंजनमा मात्र सीमित छैन । व्यापक र विस्तृत छ । सिनेमामा त दर्शकलाई सम्मोहित बनाएर मनमस्तिष्क नै पुनस्र्मंरचना गर्ने समाथ्र्य हुन्छ । त्यसैले सिनेमाले मानिसलाई मनोरंजन दिने, सोचविचारमा परिर्वतन ल्याउने मात्र होइन, समाजीक तथा राजनीतिक क्रान्ति ल्याउन सक्दछ । हुन पनि हो मानव मनमस्तिष्कमा सिनेमाको अद्भूत प्रभाव पर्छ । राम्रा सिनेमाहरुले दर्शकलाई २—३ घण्टा यसरी बाँध्दछ कि दर्शक पर्दामा हराउँछन् । सम्ववत् मानिस यसरी र यत्तिबेर एकाग्रचित्त अन्य कुनै चिजमा हुँदैनन् । त्यसैले त किताबको पाठ याद नहुने विद्यार्थीलाई पनि सिनेमाको एक—एक सम्वाद र दृश्यहरु याद हुन्छन् । 

प्रायः दर्शकलाई थाहा हुन्छ, सिनेमा एक नाटक हो, कलाकारहरुको अभिनय हो, सत्य घटना होइन, तर पनि सिनेमा हेर्ने क्रममा उसले सिनेमालाई सत्य घटना नै ठान्छ, सक्कली कथा नै मान्छ, अनि ऊ कथासँगै हाँस्छ, रुन्छ, खुसीले उफ्रिन्छ । साँच्चै मुभिले मानिसको मनमा म्याजिक नै पैदा गरिदिन्छ । सिनेमा यस्तो साहित्य हो, जसलाई हेर्न, सुन्न र अनुभव गर्न सकिन्छ । त्यो किनभने दर्शकले सिनेमा हेरेका मात्र हुँदैन, सम्वाद र गीत सुनेका पनि हुन्छन्, सिनेमाको कथाको बगाइसँगै आफुलाई कलाकारको अभिनयमा समाहित पनि गरेका हुन्छन् । सिनेमाको कतिपय प्रभाव प्रत्यक्ष नै अनुभव हुन्छ भने अधिकांश प्रभाव मानिसको अवचेतन मनमा गएर बस्छ । अवचेतन मन, मानिसको त्यो मन हो, जसले मानिसको संसारलाई हेर्ने दृष्टिकोण, आचारविचार र उसको व्यक्तित्व निर्माणमा महत्वपुर्ण भूमिका निभाउँछ । त्यसैले सिनेमालाई शिक्षा प्रदान गर्न, जनचेतना जगाउन तथा मेडिसिनका रुपमा पनि उपयोगमा ल्याउन सकिन्छ । दर्शकलाई मनोरंजन प्रदान गर्ने मुल उद्देश्यले बनाइएका यस्ता सिनेमाहरुलाई शिक्षा प्रदान गर्नका लागि, जनचेतना जगाउनका लागि तथा मेडिसिनका रुपमा उपयोग गरिँदै आएको प्रशस्त उदाहरणहरु छन् । 


मानव मनमस्तिष्कमा सिनेमाको प्रभाव सकारात्मक तथा नकारात्मक दुवै हुने गर्छ । अधिकांश समाजशास्त्री तथा मनोवैज्ञानिकहरु चल्तीका सिनेमाहरु हत्याहिंसा र नग्नतामा केन्द्र हुने हुनाले समाजमा सिनेमाको सकारात्मक भन्दा नकारात्मक प्रभाव बढी पर्ने कुरा बताउँछन् । त्यसो त कतिपय सिनेकर्मीहरुले नागरिकले सकारात्मक संदेश दिने मुल उद्देश्य लिएर सिनेमाहरु निर्माण गरेको पनि पाइन्छ ।जोसँग क्षमता र कल्पनाशिलता हुँदैन, ऊ सिनेमामा जबरजस्ती अनावश्यक हत्याहिंसा तथा नग्न दृश्यहरुको सहारा लिएर सिनेमा हिट गराउने आशामा हुन्छ । तर, यस्ता दृश्यहरु राख्दैमा सिनेमाहरु हिट हुने कुनै ग्यारेन्टी हुँदैन । एक्सन र ग्यामरलाई कलात्मक ढंगबाट पर्दामा उर्तान पनि निर्दशकीय सीप चाहिन्छ । यो कुरा सिनेकर्मीहरुले बुझ्नुपर्छ । र, आफ्नो सामाजिक दायित्वलाई केन्द्रमा राखेर सृजनशिल मन र मस्तिष्कको तारताम्य मिलाएर मानवीय संवेदनशिलताको गहिराइमा गोता लगाइ मानव–मानव बीचको अन्तर्सम्बन्ध, त्यो सम्बन्ध भित्रको माया–ममता, प्रेम–भाइचाराको साथै स्वार्थ, अहंकार, वितृष्णा, अन्याय, अत्याचार, भ्रष्टचार, शोषण तथा थिचोमिचोहरूलाई मौलिक र सटीकरूपमा पर्दामा उतार्ने दिशामा अग्रसर हुनुपर्छ ।

कुनै बेला इटालीयन सिनेमा द बाइसकल थीव्स्का महान् निर्देशक बितेरियो डे–सीकाले भनेका थिएः “हामी किन एउटी स्त्रीले एकजोर जुत्ता किन्दै गरेको विषयमााथि सिनेमा बनाउन सक्दैनौ ?” त्यसैले त डे–सीकाले थुप्रै राम्रा सार्थक सिनेमाहरू बनाए, बाइसकल थीव्स् मात्र होइन कि डे–सीकाको शÒ शाइन पनि त्यत्तिकै उत्कृष्ट सिनेमा हो । सन् १९६० मा शु शाइनको प्रदर्शनको बेलामा सिटीजन केन बनाउने महान् निर्देशक अर्सन वेल्सले भनेका थिएः “हालै म शु शाइन हेर्न दौडिँदै गएँ । तर त्यहाँ क्यामेरा हरायो, पर्दा पनि हरायो, त्यहाँ त फगत एउटा जीवन थियो, जीवन ।”

कालजयी सिनेमा बनाउन ठूलो लगानी गर्नुपर्छ भन्ने छैन । सानो बजेटमा पनि राम्रो सिनेमा निमार्ण गर्न सकिन्छ । सत्यजित रेले ‘पाथर पाञ्चाली’मा करोडौं लगानी गरेका थिएनन् । तत्कालिन समयमा एउटा नेपाली सिनेमाको बजेटमा नै ‘पाथर पाञ्चाली’ बनाएका थिए । सानो बजेटको ‘पाथर पाञ्चाली’मा सत्यजित रेले भारतीय सिनेमाको सृजनशिलता र श्रेष्ठताको नमूनाको छाप छोड्न सफल भएका थिए । साँच्चै, यो सिनेमामा सत्यजित रेले पुरोहित हरिहर रायको छाप्रो भित्रको दुःख, पीडा, वेदना र छटपटीलाई सजीवताका साथ पर्दामा उतारेका छन् । यस चलचित्रका हरेक दृश्यहरू यथार्थ, सजीव र हृदय छुने खालका छन् । बालक अप्पु र दुर्गाले पहिलो पटक रेल देख्दाको दृश्य तथा गरीबीका कारण हरिहरले घर छोडेर जाँदा घरमा सर्प पसेको दृश्य ज्यादै नै मनोवैज्ञानिक तथा हृदयस्पर्शी छन् । अप्पÒ र दुर्गाले पहिलो पटक रेल देख्दाको दृश्यको भाव र जुम्लाका नेपाली बालबालिकाले पहिलो पल्ट मोटर देखेको वास्तविक भाव कताकता मिल्न जान्छ ।

महानायकको मस्तिष्क:
राजेश हमाल, नेपाली चलचित्र जगतको एक बहुचर्चित नाम हो । वि.स. २०२० सालमा जन्मिएका राजेश हमालले अंग्रेजी साहित्यमा स्नातकत्तोर गरे पछि आफ्ना कुटनीतिज्ञ (राजदुत)बाबु–एच.बी. हमालको चाहना विपरित आज भन्दा पच्चिस वर्ष पहिला नेपाली चलचित्र जगतमा प्रवेश गरेका थिए । उनको पहिलो चलचित्र ‘युगदेखि युगसम्म’ हो । यस चलचित्रका निर्देशक उनका आफ्नै मामा, दीपक रायमाझी हुन् । राजेशको पहिलो सिनेमा ‘युगदेखि युगसम्म’ सुपरहिट भएता पनि उनको दोस्रो सिनेमा ‘भाग्यरेखा’ को शुटिङका बेलामा मामा–भाञ्जा बीच बिबाद भएपछि राजेश हमाल भाग्य रेखाबाट निकालिएका थिए । र, उनको ठाउँ अभिनेता रविन्द्र खड्काले लिएका थिए । त्यसबेला पत्रपत्रिकाका अनुसार उनकै निर्देशक मामा दीपक रायमाझीले भन्दै हिँडेका थिए रे, ‘राजेशलाई एक्टिंग नै आउँदैन ।’ 


तर, समयसँगै राजेशले गोपीकृष्णा, देउता तथा सीमाना जस्ता सिनेमाहरू मार्फत् आफ्नो बलियो उपस्थिति देखाए । नेपाली सिने उद्योगमा रहदै आएको अभिनेता शिव श्रेष्ठ र भुवन केसीको बर्चश्वलाई चुनौती दिँदै आफुलाई नेपालको नम्बर एक नायक अर्थात् महानायकको रूपमा स्थापित गर्न सफल भए । कुनै बेला नेपाली चलचित्र उद्योमा राजेशको वर्चश्व यति थियो कि राजेश बिनाको नेपाली चलचित्र नै प्रर्दशन हुँदैन्थ्यो, यता पनि राजेश हमाल, उता पनि राजेश हमाल, जुन सिनेमा हलमा पनि राजेश हमाल । निर्माता निर्देश राजेशलाई लिएर फिल्म बनाउन तथा नायिकाहरु उनीसँग अभिनय गर्न मरिहत्ते गर्थे । 

राजेशले पच्चिस वर्षको दौरानमा उनले ३ सय भन्दा बढी नेपाली सिनेमाहरूमा अभिनय गरे । पच्चिस बर्षदेखि नेपाली सिनेमा उद्योगमा एकछत्र राज गर्ने यी महानायक अहिले पनि ‘बक्स अफिसका हट केक’ मानिन्छन् । तर, सयौं नेपाली सिनेमाहरुमा अनेक प्रकारका चरित्रहरुमा दमदार अभिनय गरेर दर्शकमाँझ महानायकको उपाधि पाएका राजेश हमालले भन्ने गर्छन्, ‘मैले अहिलेसम्म उल्लेखनीय एउटा पनि सिनेमा खेल्न पाएको छैन ।’ हुन पनि हो, अभिनेता राजेश हमालको प्रतिभालाई सही सदुपयोग गरिएको देखिएको छैन । यसमा स्वयं राजेश हमालको पनि कमिकमजोरी रहेको छ । राजेशको पहिलो कमजोरी हो, उनले गुणस्तरलाई भन्दा संख्यालाई महत्व दिए । भ्याएसम्म जस्तो पनि सिनेमा गर्दै गए । तर, अब नेपाली सिनेमाका महानायकले नेपाली सिनेमाको स्तरीयतालाई कसरी बढाउन सकिन्छ भन्नेतिर ध्यान दिनु जरुरी छ । उनले हल्काफुल्का सिनेमा होइन कि दर्शकमाँझ अमिट छाप छोड्ने र आफुले गर्व गर्न सक्ने सिनेमाहरु खेल्नुपर्छ ।

पुछारमाः 

हो, सिनेमा हेर्ने कुरा खराब होइन, यदि खराब हो भने कथा, उपन्यास वा किताब पढ्ने कुरा पनि खराब हो । सिनेमाको सम्बन्धमा हामीले के बुझ्न जरूरी छ भने राम्रा सिनेमाले मानिसलाई मनोरञ्जन मात्र होइन कि ज्ञान दिन्छ, विज्ञान दिन्छ, कथा दिन्छ, गीत दिन्छ, संगीत दिन्छ, परम्परा र संस्कृति दिन्छ, जीवनमा अघि बढ्ने उत्प्र्रेरणा दिन्छ । यो आँखा र कानबाट सीधैँ मनमस्तिष्कमा पुग्दछ । अतः सिनेमाको यो मनोविज्ञानलाई सिनेकर्मीले मात्र होइन कि सरकारले पनि राम्रोसँग बुझ्नुपर्छ र सिनेकर्मीहरुलाई स्तरीय सिनेमा निर्माण गर्न प्रोत्साहित गर्ने तथा बजारु चलचित्रलाई निरुत्साहित गर्ने नीति अख्तियार गर्नुपर्छ ।  (५ वर्ष पहिला राजधानी दैनिकको सौजन्यमा प्रकाशित लेख। )
( मैले राजेश हमाल एक कुशल अभिनेता हुन् त भन्दिनँ ! तर अहिले पनि उनि नायकका नायक महानायक हुन् !)

हेल्थ फर्स्ट 

महिला, मन र मनोरोग
ओम बानियाँ

महिला र पुरुषको शारीरिक बनौट तथा रुपरंग भिन्न भिन्न हुन्छ । शारीरिक बनौट तथा रुपरंगले मात्र होइन, मानसिक र भावनात्मक रुपमा पनि महिला र पुरुषमा भिन्नता हुन्छ । आम महिला पुरुषको तुलनामा शारीरिक तथा मानसिक रुपमा कोमल तथा भावनात्मक रुपमा संवेदनशिल, भावुक र दयालु प्रकृतिका हुन्छन् । महिलाको मनमस्तिष्कमा विद्यमान यस्ता गुणहरुका कारण नै महिला सृष्टिकी जननी भएकी हुन् । दया, माया, ममता र कोमलताकी समुद्र भएकी हुन् । आफ्ना सन्तानलाई हुर्काउन तथा परिवार तथा समाजलाई एकताबद्ध गराउन महिलाका यस्ता गुणहरुले अहम भूमिका निभाउँछन् । तर कहिँलेकाही महिलाको कोमलता र भावुकता जस्ता गुणहरु स्वयं उनीहरुका लागि नै समस्या पनि बन्ने गर्छन् । 


गोधुलि समय थियो । उत्तरबाट सिरेसिरे हावा चलिरहेको थियो । नजिकैको रुखमा बसेको कोइलीले सुरिलो ‘गीत’ गाइरहेको थियो । मौसम सारै नै मनमोहक थियो । तर ज्योति (नाम परिवर्तन) का आँखा चाहीँ घरि हातको घडीतिर त घरी सडकतिर दौडिँरहेका थिए । उनको मन ब्याकुल थियो, छटपटि बढिरहेको थियो । उनले बेलाबेलामा मोबाइल थिच्थिन् । तर जति पटक मोबाइल थिच्दा पनि तँपाईले सम्पर्क गर्न खोजेको मोबाइल व्यस्त छ, पुनः सम्र्पक गर्नुहोला भन्ने आवाज आउँथ्यो । त्यो आवाज सुन्ने बित्तिकै उनले भुइँमा खुट्टा बर्जाथिन् । अनि फेरि सडकतिर नजर दौडाउँथिन् । बिस्तारै साँझ पर्न थाल्यो । यत्रतत्रबाट झ्याउँकीरीहरू ‘झ्याउँझ्याउँ गर्न थाले । उनले फेरि घडी हेरिन् । अनि उनी रिसले आगो हुँदै आफ्नो बाटो लागिन् । मुलबाटोमा पुगेपछि उनले घर फर्किन टैक्सी रोक्न के खोज्दै थिइन् कि एकाएक उनको नजर केही अगाडि प¥योः जीवन मोटरबाइक पछाडि ‘केटी’ राखेर सर्र हुइकिँदै थियो । त्यो दृश्य आँखामा पर्नासाथ ज्योतिलाई आफुले टेकेको जमीन भाँसिए जस्तो लाग्यो । एक्कासी झाँगाबाट खसे जस्तो र धड्कन रोकिए जस्तो भयो । उनी फटाफट टैक्सी चढेर घर गईन् । सरासर कोठामा पसेर बिछ्यौनामा मुढोझैँ पल्टिएर डाँको छोडेर रुन थालिन् । रुदा–रुदा आँसु रित्तिए । उनको मन फाट्यो, तन टुट्यो । उनलाई यो सारा संसार नै स्वार्थी र बेइमानी लाग्न थाल्यो । यसरी नै दिनहरू बित्दै गए । उनलाई खाना रुचि हुन छोड्यो । निद्रा लाग्न छोड्यो । उनी दुब्लाउँदै गइन् । उनको सोच्ने शक्ति तथा आत्मविश्वास घट्न थाल्यो । उनले आफुलाई नितान्त एक्लो र असहाय महसुस गर्न थालिन् । 


घटनालाई हेर्ने दृष्टिकोण(सोच)ले कसरी मÒड (मनस्थिति) निर्माण गर्छ र नकारात्मक मनस्थिति केही दिनसम्म कायमै रहेको खण्डमा त्यसले कसरी डिप्रेसनको रुप लिन्छ भन्ने यो एक दृष्टान्त हो । 

डिप्रेसन एक मनोवैज्ञानिक रोग हो । कतिपयले यसलाई भावनाको क्यान्सर पनि भन्ने गर्छन् । त्यो किनभने डिप्रेसनबाट भावुक प्रकृतिका मानिसहरु बढी प्रभावित हुने गर्छन् । पुरुषको तुलनामा महिलाहरु बढी संवेदनशील र भावुक हुने हुनाले डिप्रेसनबाट महिलाहरु नै बढी प्रभावित हुने गर्छन् । डिप्रेसनको प्रमुख लक्षण भनेको नै उदासिनता (खिन्नता) र कुनै कुराप्रति अभिरुचि नलाग्नु हो । त्यसो त आधुनिक गलाकाट प्रतिस्पर्धाको युगमा हरेक मानिसलाई आफ्नो जीवनको कुनै न कुनै क्षणमा उदासी (डिप्रेसन)को कटुअनुभव हुनेगर्छ । जब मानिसको जीवनमा कठिनाइ, असफलता, कुण्ठा तथा तीब्र तनाव उत्पन हुन्छ, तब व्यक्ति डिप्रेसनको सागरमा डुब्न पुग्दछ । तर अधिकांश यस्तो उदासी केही छिनमा वा एकदुई दिनमा नै ठीक हुन्छ । मानिस पुर्वावस्थामा नै फर्किन्छ र पुनः दैनिक जीवनमा रमाउनथाल्छ । तर दुईतीन हप्तासम्म यस्तो उदासी रहिरह्यो भने त्यो क्लिनिकल डिप्रेसन हुनसक्दछ । 


अतः उपर्युक्त लक्षणहरूबाट ज्योति पनि प्रमुख डिप्रेसनबाट पीडित भएको प्रष्ट हुन्छ । यस्तो डिप्रेसनलाई रियाक्टिभ डिप्रेसन भनिन्छ । यदि यस्ता लक्षणहरू दुई वर्ष भन्दा बढी समयसम्म देखा पर्छन् भने त्यसलाई जीर्ण डिप्रेसन (डिस्थिमिक डिसअर्डर) भनिन्छ । 

हो, मानिससँग नै मन छ । त्यसैले त मानिसको मन टुट्छ । र, टुटेको मनस्थितिले नै डिप्रेसन लगायतका मनोवैज्ञानिक समस्याहरू पैदा गर्छ । मानिसको यो मन अन्याय, अत्याचार, शोषण तथा थिचोमिचोका कारण पनि टुट्छ । कहिलेकाहीँ सानातिना कुराहरूले पनि यो मन सिसाझैं फुट्छ । सधैँ नमस्कार गर्ने मान्छेले कुनै दिन भुलेर नमस्कार नगर्दा नै यो मन फाट्छ । कसैले नदेखेर नमस्कार नर्फकाउँदा पनि यो मन फाट्छ । सँगै उभिएका दुई जना मध्ये एकलाई बस्ने आग्रह गर्ने तर अर्कोलाई केही नभन्ने हो भने पनि उसको यो मन धरत्तै फाट्छ । कति संवेदनशील र भावुक छ हगि मानिसको यो मन ? अझ महिलाको मन ?


प्रायः अतार्किक र नकारात्मक सोचले नै मानिसको मन फाट्छ, मुड बिग्रिन्छ । धेरैलाई थाहा भएको कुरा हो, मानिसको मनमा दुई सोचहरू हुन्छन्,  एउटा हो, सकारात्मक सोच र अर्को हो, नकारात्मक सोच । यहाँ मनन योग्य कुरा के हो भने मानिसको मनमस्तिष्क, शरीर र व्यवहारमा सोचको ज्यादै ठूलो प्रभाव पर्छ । यथार्थमा यही सोचकै आधारमा नै मानिसको आचारण र व्यवहार हुने गर्छ । त्यो किन भने जुन सोच बारम्बार मनमा आउँछ, त्यो संकल्प बन्छ । र, त्यही संकल्प नै मस्तिष्कमा सम्बद्ध हुन्छ । मनमस्तिष्कमा घटेको यही घटनाले नै जन्माउँछ, दुई संसार, फूलको आँखामा फूलै संसार, काँडाको संसारमा काँडै संसार ।

तर सोचको मनोविज्ञानलाई हेर्ने हो भने आममानिसमा कुनै एक सोच हुँदैन । दुवै सोच हुन्छ, फूल सोच पनि हुन्छ, काँडा सोच पनि हुन्छ । त्यसैले कहिले उनीहरू काँडा सोचमा हुन्छन् त कहिले फूल सोचमा हुन्छन् । त्यसैले त अधिकांश मानिस जहिले पनि दिग्भ्रमित हुन्छन् । के ठीक के बेठीक छुट्टाउन सक्दैनन् । अनि धेरै पटक आफैँले आफ्नो मुड बिगार्छन्, मन फटाउँछन् । ज्योतिलाई नै हेर्नुहोस् । ज्योतिले वास्तविकता के हो भन्ने बुझ्दै नबुझी बेकारमा आफ्नो मन फटालेर डिप्रेसनको रोगी बन्न पुगेकी छिन् । यसको मुल कारण उनको नकारात्मक र अतार्कीक सोच हो । त्यो किनभने जीवनको बाइकपछाडि बसेकी ‘त्यो केटी’ जीवनकी आफ्नै बैनी वा नातेदार बैनी पनि हुन सक्छे वा छिमेकी पनि हुन सक्छे ? सहकर्मी पनि हुन सक्छे ? होइन र ? 

यदि त्यो केटी जीवनकी ‘नयां प्रेमीका’ नै हो भने पनि त्यत्ति सारै मन फटालेर के हुन्छ र ? जति यो मन फटाल्यो त्यत्ति नै यो मन झन्–झन् फाट्दै जान्छ । अनि मानिस ‘जिउँदो लास’ बन्न पुग्दछ । त्यसैले यसरी नकारात्मक मुड बनाएर ज्योतिलेझैं मन फटालेकाहरूले बुझ्नुहोस्, जीवन गए, गौरव आउँछन् । गौरव गए, सलोन आउँछन् । सलोन गए, अनमोल आउँछन् । यो नै फाटेको मन टाल्ने सर्वोत्तम उपाय हो । तार्किक र सकारात्मक सोच नै जीवनको सच्चा सारथि हो । (लेखक स्नायुमनोविद् तथा मेमोरी ल्याब प्रमुख हुन् ।) 

सम्पर्क:


Sunday, July 5, 2020

ब्रेन बाइट्स

कुकुरको ‘पुच्छर’
ओम बानियाँ

एकादेशको एउटा जंगलमा एकजना बाबा बस्दथे । उनी खुसी भए भने भक्तहरूलाई एउटा भुत प्रकट गरिदिन्थे । त्यो भुतले जे मागे पनि पु¥यादिन्थ्यो । एक दिन एउटा निर्धन किसानलाई पनि बाबाले भुत प्रकट गरिदिँदै भने,  “वत्स, यो भुतलाई एकक्षण पनि खाली बस्न नदिनु, काममा लगाइरहनु । यदि यो खाली भयो भने तिमीलाई नै खाइदिनेछ, बुझ्यौ ?” किसानले बुझें भन्दै भुत लिएर घर गए । भुतसँग एउटा भव्य घर मागे । एकै क्षणमा घर तयार भयो । खेत मागे । कार मागे । गरगहना मागे । उनले माग्दै गए । भुतले एकैछिनमा त्यो पुरा गर्दै गयो । 


अब किसानसँग माग्ने कुनै कुरा थिएन । किसान डरले थर्थरी काम्न थाल्यो । भुत दाह्रा किट्दै किसानतिर लम्कियो । किसानलाई ज्यान जोगाउन फसाद भयो । किसान हार–गुहार गर्दै बाबाकहाँ पुगे । हक्कानिदै आएको किसानलाई देखेर बाबाले भने, “वत्स, मैले भुत त प्रकट गर्न सक्दछु । तर यसलाई मार्न वा रोक्न सक्दिनँ ।” बाबाको कुरा सुनेर किसान झनै रूनकराउन थाल्यो । त्यसै वखत बाबाको नजर अलि पल्तिर हिँडिरहेको एउटा कुकुरमाथि प¥यो । बाबाले किसानलाई भने, “वत्स, एउटा उपाय छ ।” किसानको शरीरमा ज्यान आयो, “कस्तो उपाय बाबा ?” बाबा बोले, “भुतलाई ऊ त्यो कुकुरको पुच्छर सीधा बनाउने काममा लगाऊ ।” 

अनि किसानले बाबाले भनेझैँ भुतलाई कुकुर पुच्छर सिधा बनाउने काम अह्राए । भुत कुकुरको पुच्छर सीधा बनाउने काममा लाग्यो । भुतले दुवै हातले तानेर पुच्छर सीधा बनाउँथ्यो र देखाउँथ्यो । तर हात छोड्ने बित्तिकै पुच्छर बाङ्गै हुन्थ्यो । फेरि सीधा बनाउँथ्यो, फेरि उस्तै हुन्थ्यो । सबै कुरा एकैछिनमा गर्न सक्ने सामथ्र्यको त्यो भुत कुकुरको पुच्छर सीधा बनाउने काममा अल्झिरह्यो । त्यसपछि किसान ढुक्क भएर घरतिर लाग्यो । 

कुकुरको पुच्छर कुकुरको पुच्छर हो । यो कहिल्लै सीधा हँुदैन । बाह्र वर्ष ढुङ्ग्रोमा हाले पनि सीधा हँुदैन । २४ वर्ष ढुङ्ग्रोमा हाले पनि सीधा हँुदैन । ४८ वर्ष ढुङ्ग्रोमा हाले पनि सीधा हँुदैन । हिजो पनि कुकुरको पुच्छर बाङ्गो थियो । आज पनि बाङ्गै छ । र, भोलि पनि बाङ्गै रहनेछ । यसलाई सीधा बनाउने एउटै उपाय छ । त्यो हो, माथीको बोधकथाको भुतलेझैँ पुच्छरलाई समाएर बस्ने । तर यो काम सधैँभरि कसले गर्न सक्दछ र ? त्यसैले त हरेक कुकुरको पुच्छर बाङ्गै छ ।

कुकुरको मात्र होइन कि हाम्रो यो नेपालका राजनीतिक दलहरूको पुच्छर पनि बाङ्गो छ । नेकपा, काँग्रेस, माओवादी, राप्रपा तथा राजपा आदि–आदि कसको पुच्छर सीधा छ र ? कसैले पनि मेरो पार्टी राम्रो तेरो पार्टी खराब नभने हुन्छ । पार्टीको मात्र होइन शिर्ष नेताहरुको अनुहार हेर्नुहोस् । सबैको अनुहार पनि उस्तै बाङ्गो छ ।


देश समस्यै समस्याहरुको भुमरीमा परेको छ । तर नेताहरुका बिच सत्ताको लागि भीषण लडाइँ छ । सत्ता उन्मादले डामेको साँढे जस्तो भएका केपी ओलीलाई देश भन्दा कुर्सी प्यारो छ । प्रचण्डमाधवलाई पनि कुर्सी नै चाहिएको छ । चुनाव जितेका प्रचण्डमाधवको के कुरा गर्ने चुनाव हारेका बामदेवलाई पनि १ मिनेटका लागि भए पनि प्रधानमन्त्री नै चाहिएको छ ! मस्त सुतेका देउवा अहिले उठेका छन् । उनको मुखमा र्याल आउन थालिसकेको छ ! के थाहा उनका ज्योतिषले भनेझैं उनी पाँचौ पटक प्रधानमन्त्री बन्न सक्ने छन् ? देउवाओली मिलेर एमसिसी पास गर्न सक्ने छन् !

अनि प्रचण्डहरुले सडकमा टायर बाल्न थाल्ने छन् !
अनि बामदेव ?

अन्तमाः  



देश अक्षमहरुको हातमा छ । ओली गएर प्रचण्ड आए पनि माधव आए पनि वा देउवाओलीको गठबन्धन बने पनि केही हुनेवाला छैन । त्यो किनभने जस्तोसुकै परिस्थितिमा पनि समस्याहरूको निक्र्याैल निकाली देश समृद्धशाली बनाउन मस्तिष्कमा भावनात्मक बुद्धिमत्ता, हृदयमा इमानदारीता तथा काँधमा जिम्मेवारी भएको एक सक्षम नेतृत्व आवश्यक छ । त्यसैले जुन व्यक्तिसँग भावनात्मक बुद्धिमत्ता तथा बौद्धिक स्मरणशक्ति कम छ, त्यो व्यक्ति नेता बन्नु नै हुदैन । नागरिकले यस्ता व्यक्तिलाई नेता मान्नु नै हँुदैन । त्यो किनभने यदि नेतासंग इमानदारीता भएन भने राजनीति बेइमान हुन्छ, राजनीतिमा अपराधिकरण बढ्छ, राष्ट्रियता कमजोर हुन्छ, देशको स्थिति सुकेनाशेले खाएको विरामी जस्तो हुन्छ । अर्को शब्दमा भन्ने हो भने देशको स्थिति नेपालको जस्तो हुन्छ । 












Friday, July 3, 2020

ब्रेन बाइट्स

नोबेल फोरमको रमाइलो यात्रा
ओम बानियाँ

अक्टुवर ७ तारिख, २०१९ । शरीर क्रिया विज्ञान वा मेडिसिनको नोबेल पुरस्कारको घोषणाको दिन । म, भान्जा कुशलसँग  स्वीडेनको स्टोकहोम स्थिति विश्वप्रसिद्ध विश्वविद्यालय कारोलिन्स्का इंष्टिच्युट र त्यसै अन्तर्गतको नोबेल फोरम हेर्ने उत्साह र उमंगका साथ घरबाट निस्कियौ । बसबाट मास्त्रा स्टेसनमा पुग्यौ । मास्त्राबाट रेलमा अनि फेरि बसमा कारोलिन्स्का इंष्टिच्युटको गेटमा पुग्यौ । 


सबै भन्दा नोबल फोरम जाने, अनि कारोलिन्स्का इंष्टिच्युटको क्लिनिकल न्युरोसाइन्स, क्लिनिक साइकोलोजि डिभिजन लगायतका ठाउँहरुमा पुग्ने योजना थियो मेरो । हामी हिँड्दै, हाँस्दै, फोटोहरु खिच्दै, नेपालमा यस्ता विश्वविद्यालयहरु भएको भए कति वैज्ञानिक पैदा हुन्थ्ये भन्दै नोबल फोरमतिर लाग्यौ । फोटोहरु पनि खिच्यौ । अब हामी नोबेल फोरमको ठीक अगाडि थियौं । 



यो त्यही ठाउँ हो जहाँ क्रिया विज्ञान वा मेडिसिनका नोबेल पुरस्कार दिने गरिन्छ । 


विश्वप्रसिद्ध नोबेल पुरस्कारको प्रशासनिक कार्य नोबेल फाउण्डेसनले गर्दछ भने हरेक नोबेल पुरस्कार अलग अलग समितिद्धारा प्रदान गरिन्छ । रोयल स्वीडिस अकाडेमी अफ साइन्सेजले भौतिक शास्त्र, रसायन शास्त्र तथा अर्थशास्त्रको विजेता छनौट गर्छ भने कारोलिन्स्का इंष्टिच्युटका नोबेल असेम्बेलीले शरीर क्रिया विज्ञान वा मेडिसिनको नोबेल पुरस्कार छनौट गर्दछ ।  त्यही नै हामीले William G. Kaelin Jr., Sir Peter J. Ratcliffe and Gregg L. Semenza तीन वैज्ञानिकहरुले संयुक्तरुपमा यस वर्षको क्रिया विज्ञान वा मेडिसिनका नोबेल पुरस्कार प्राप्त गरेको सुन्यौ । 


नोबेल फोरम बाहिरबाट हेर्दा सामान्य देखिएता पनि भित्र भने शानदार छ, निकै आकर्षण । नोबल फोरम घुम्दै गर्दा मेरो मनमा पटक पटक एउटा प्रश्न उठिरह्यो, नेपालीहरुले नोबेल पाएको कहिले सुन्न पाइने हो ? विज्ञान प्रविधिको विकासमा नेपाल सरकारलाई कहिल्यै बालमतलव भएन । आविस्कार केन्द्र खोलेर महाविर पुन लागेका छन्, तर यस्तो महान कार्यप्रति पनि सरकारको सौतनी व्यवहार छ । 


नोबेल पुरस्कार विश्वको सर्वोच्च पुरस्कार हो । यस पुरस्कारको स्थापना सन् १८९५ मा स्विडेनका महान् वैज्ञानिक तथा विस्फोटक पदार्थ डाइनेमाइटका आविष्कारक अल्फ्रेड नोबेलको नाममा भएको हो । अल्फ्रेड नोबेलको स्मरणमा सन् १९०१ मा नोबेल फाउण्डेशनद्वारा सुरु गरिएको यस पुरस्कार भौतिक शास्त्र, रसायन शास्त्र, साहित्य, शान्ति, क्रिया विज्ञान तथा चिकित्सा र अर्थशास्त्र क्षेत्रमा प्रदान गरिन्छ । पुरस्कारको रूपमा प्रमाणपत्रको साथमा १२ लाख अमेरिकी डलर प्रदान गरिन्छ ।  


वैज्ञानिक अल्फ्रेड नोबेलले अनेकौ आविस्कारहरु गरे । उनले गरेका ३५५ आविष्कारहरू मध्य सन् १८६७ मा गरेको डायनामाइटको आविष्कार प्रमुख हो । नोबेललाई डायनामाइट तथा यस प्रकारका विज्ञानका विध्वंसक शक्तिहरूको बारेमा पुरै ज्ञान थियो । सन् १८९६ को डिसेम्बर १० मा देहान्त हुँदा उनका कुनै उत्तराधिकारी थिएनन् । उनले आफ्नो शेषपछि सम्पति कसैलाई दिन चाहेनन् । सन् १८९५ मा उनले एक इच्छापत्र तयार पार्न लगाएर आफ्नो सम्पत्तिबाट अक्षयकोष स्थापना गरे । उक्त कोषबाट प्राप्त आम्दानीबाट नै पुरस्कार प्रदान गर्ने व्यवस्था मिलाइयो । 


नोबेल फाउंडेशनको स्थापना २९ जून १९०० मा भएको हो र १९०१ देखि नोबेल पुरस्कार दिन थालिएको हो । अर्थशास्त्रको क्षेत्रमा नोबेल पुरस्कारको शुरुवात सन् १९६८ देखि गरियो । शान्तितर्फको पुरस्कार नर्वेको ओस्लोमा र अन्य पुरस्कारहरु स्वीडेनको स्टोकहोममा प्रदान गरिन्छ । 

 नोबेलको स्थापना कसरी हुन गयो ! 
कुरा सन् १८८८ विहानको हो । अल्फ्रेड नोबेलले अखबार पढ्दै थिए, अचानक उनको नजर शोक संदेश कोलोममा पर्यो । उनले त्यहाँ आफ्नो नाम देखेर हैरान भए । गल्तीले अखबारले उनको भाइको मृत्युको खबरको ठाउँमा उनको निधन छापेको थियो । अल्फ्रेडले शोक संदेश ध्यान दिएर पढे, त्यहाँ लेखिएको थियो, मृत्युको सौदागारको मृत्यु । यो खबर पढेर अल्फ्रेड नोबेल निकै दुःखी भए किनकी उनले नै डायनामाइटको आविस्कार गरेका थिए । यस खबरले उनको जीवन नै परिवर्तन गरिदियो । अनि उनले विश्व शान्ति तथा समाज कल्याणको लागि कामहरु गर्न थाले । आफ्नो मृत्युपछि आफ्नो शारा सम्पत्ति विश्व शान्ति, साहित्य, भौतिक शास्त्र, चिकित्सा शास्त्र तथा अर्थ शास्त्रको क्षेत्रमा अग्रणी कार्य गर्नेहरुलाई पुरस्कार प्रदान गर्नका लागि दान गरिदिए ।   


नोबेल फोरमबाट हामी कारोलिन्स्का इंष्टिच्युटको विशाल पुस्तकालय हेर्न गयौ । चिटिक्क परेका भवनहरु, मिलाएर रोपिएका रुख र पूmलहरु, टलक्क टल्किने बाटाहरु । प्रकृतिलाई महत्व दिई गरिएको विकास देखेर म दंग थिए । हामी हस्पिटलतिर लाग्यौ । छोटो समयमा के के हेर्ने हो ? दिउँसोको दुई बज्नै आँटेको थियो अनि हामी न्युरोसाइन्स तथा क्लिनिक साइकोलोजि डिभिजनतिर लाग्यौ । 


म क्लिनिकल साइकोलोजि डिभिजन अगाडिको प्रतिक्षालयमा, भान्जासँग एनजाइटिको उपचार र मुल्यांकनको अनुसंधानमा लागेका प्रो. डा. इरिक हेडमैनको समुह र क्लिनिकल कग्निसनको रिसर्च गु्रप एम्ली होल्म्सको समुहलाई भेट्ने उत्साहपुर्ण प्रतिक्षामा थिएँ । (लेखक साइकोथेरापिष्ट तथा मेमोरी ल्याब प्रमुख हुन् । )
क्रमशः
सम्पर्कः https://www.ucl.ac.uk/pals/research/clinical-educational-and-health-psychology/research-groups/international-cognitive-19

Wednesday, July 1, 2020

ब्रेन बाइट्स 
मुभि, मानव र मस्तिष्क
ओम बानियाँ

सन् १९०३ मा बनेको चलचित्र ‘द गे्रट टे«न रबरी’ लाई पहिलो चलचित्र मान्ने हो भने विश्व चलचित्र संसारले अहिले ११७ वर्ष पार गरेको छ । यस अवधीमा लाखौँ चलचित्रहरू बनिसकेका छन् । तर ती मध्य आँैलामा गन्न सकिने चलचित्रहरू मात्र कालजयी भएका छन् । नयाँ पिंढीका बौद्धिक दर्शकहरूको मनमस्तिष्कमा समेत अझैँ जीवित छन् । वास्तवमा यस्ता चलचित्रहरूले कुनै देशको सयौं राजदूतहरूले भन्दा पनि बढी काम गरेका छन् । आकिरो कुरोसुवाको कालजयि जापानीज चलचित्र रशोमनले विश्वभरि नै जापानी झण्डालाई फर्फरायो । अझ पनि रसोमनले जापानलाई चिनाउँछ । 


सन् १९५५ मा निर्मित भारतमा निर्मित बंगाली चलचित्र ‘पाथर पाञ्चाली’ ले पनि विश्वको ध्यान तान्यो । पाथर पाञ्चालीका कारण नै भारतलाई लाखौं विदेशी दर्शकहरूले सत्यजित रेको देश भनेर सम्झिन थाले । वास्तवमा भारतका कुनै राजदूतले गर्न नसकेको कार्य सत्यजित रेको चलचित्र पाथर पाञ्चालीले ग¥यो । लोकतान्त्रिक मुलुक भारत र तत्कालिन कम्यूनिष्ट मुलुक रूसको आपसी सम्बन्ध प्रगाढ बनाउन पनि भारतीय चलचित्रहरूको ठूलो भूमिका रहेको जगजाहेर नै छ । उति वेला राज कपूर तथा नरगिस दत्तका चलचित्रहरू रूसमा ज्यादै नै लोकप्रिय हुने गर्थे रे । अझ पनि भारतलाई रसियनहरूले राज कपूर तथा नरगिसको देश भनेर चिन्ने गर्छन् । भारतीयहरूलाई न्यानो माया गर्छन् । मानव मनमस्तिष्कमा चलचित्रको प्रभाव कति र कस्तो हुन्छ भन्ने कुरा यसैबाट प्रष्ट हुन्छ ।


हो, मानव मनमस्तिष्कमा चलचित्रको प्रभाव ज्यादै अद्भूत हुने गर्छ । चलचित्रले दर्शकको मनमस्तिष्कलाई मात्र होइन कि चलचित्रमा अभिनय गर्ने कलाकारहरुको मनमस्तिष्कमा समेत गहिरो प्रभाव पार्दछ । यस्तो प्रभाव सकारात्मक तथा नकारात्मक दुवै हुने गर्छ । त्यसैले नै सृजनशिल हातहरूले मन र मुटुको तारताम्य मिलाएर मानवीय संवेदनशिलताको गहिराइमा गोता लगाइ मानव–मानव बीचको अन्तर्सम्बन्ध, त्यो सम्बन्ध भित्रको माया–ममता, प्रेम–भाइचाराको साथै स्वार्थ, अहंकार, वितृष्णा, अन्याय, अत्याचार, भ्रष्टचार, शोषण, तथा थिचोमिचोहरूलाई मौलिक र सटीकरूपमा पर्दामा उर्ताछन् भने निश्चितरूपमा यस्ता चलचित्रहरूले मानिसहरूको मन र मुटुलाई छुन्छन् । मस्तिष्कमा बस्छन् । र, नै त कालजयी बन्छन् । कालजयी चलचित्रले त कुनै देशको राजदूतले गर्न नसक्ने कार्य गर्छन्, गरिरहेका छन् ।


तर, नेपाली चलचित्रको कथा–व्यथा ज्यादै विचित्रको छ । नेपालको चलचित्र बजार त हिन्दी सिनेमा उद्योगद्धारा बेस्सरी थिचिएको छ, किचिएको छ । त्यहीमाथि नेपाली सिनेकर्मीहरूमा चोर प्रवृत्ति हाबी छ । वास्तवमा भन्ने हो भने अधिकांश नेपाली चलचित्र हिन्दी चलचित्रका नेपाली संस्करण नै हुन् । यो कुरा राजेश हमाल जस्ता बौद्धिक कलाकारहरूले स्वीकारेका पनि छन् । त्यसैले त नेपाल चलचित्र प्राविधिक संघद्वारा महानायकको उपाधि पाएका राजेश हमालले भन्ने गर्छन्, मैले अहिलेसम्म उल्लेखनीय एउटा पनि चलचित्र खेल्न पाएको छैन । नेपाली चलचित्र जगतका महानायकको यो भनाइबाट नेपाली चलचित्रको स्तर कस्तो रहेछ भन्ने स्वतः प्रष्ट हुन्छ । त्यसैले त नेपाली चलचित्र जगत ५० वर्षको उमेरमा पनि नेपालको लोकतन्त्रझै भएको छ, कहिल्यै उठ्न सकेको छैन । 

हिजोआजका जति पनि नेपाली सिनेकर्मीहरू छन्, ती सबै प्रायः हिन्दी चलचित्रहरू हेरेर नै हुर्के बढेका हुन् । हिन्दी चलचित्रहरूबाट नै उनीहरूले धेरै कुराहरू सिकेका हुन् । च्यानल टीभीमा पनि हिन्दी चलचित्र तथा कार्यक्रम हेर्नेहरूको संख्या नेपालमा धेरै छ । त्यसैले नेपाली मनमस्तिष्कमा हिन्दी चलचित्रको प्रभाव पर्नु कुनै अनौठो कुरा होइन । वास्तवमा हामी धार्मिक–सांस्कृतिक तथा राजनीति सबै कुराबाट प्रभावित छौँ । तर हिन्दी चलचित्रहरू एक से एक राम्रा पनि छन्, त्यत्ति नै खराब पनि छन् । धेरै हिन्दी चलचित्रहरू पनि हलिउड र दक्षिण भारतीय भाषाका चलचित्रहरूको नक्कल गरेर बनाउने गरिन्छ । तर उहिलेका हिन्दी चलचित्रहरू अहिलेका भन्दा धेरै राम्रा थिए ।

 २०२२ सालमा हिरासिंह खत्रीको निर्देशिनमा बनेको आमा (२००७ सालमा भारतबाट नेपाली भाषाको चलचित्र सत्य हरिशचन्द्र बनेको थियो ।) लाई पहिलो नेपाली चलचित्र मान्ने हो भने नेपाली चलचित्रले पनि ५२ वर्ष पार गरिसकेको छ । यस अवधिमा हजारौँ नेपाली चलचित्रहरू बनिसकेका छन् । तर नेपालमा एउटा पनि कालजयी चलचित्र बन्न सकिरहेका छैन । करिब एक दशक पहिला डोल्पेली भाषाको ‘क्याराभान’ बन्यो । यो चलचित्रले नेपालको डोल्पालाई अमेरिका तथा युरोपका देशहरूमा पुरायो । विश्व चर्चित भयो । तर विडम्बना के भने यो फ्रान्सिली निर्देशक एरिक भ्यालीको फिल्म बनेर रह्यो ।


वर्षौ पहिला निर्देशक प्रताप सुब्बाले एउटा सार्थक प्रयास गरेका थिए, परालको आगो बनाएर ! तर त्यसपछि उनले परालको आगोहरू बनाउन सकेनन् । चट्याङ बनाए । भीष्म प्रतिज्ञा बनाए । कहीँ अँध्यारो कहीँ उज्यालो बनाए । र, आफैँ अँध्यारोमा हराए । अर्का निर्देशक नीर शाहले वासुदेव बनाएर ठÒलो प्रशंसा बटुलेका थिए । तर उनले बासुदेवबाट कमाएको बौद्धिक साख २५ वसन्तमा लिलामी गराए । वसन्तीबाट उनले आफ्नो घुमेको प्रतिष्ठा पुनर्जीवित गरे । 

हो, निर शाहसँग चलचित्र निर्माणको राम्रो ज्ञान छ, क्षमता पनि छ । निर शाह राम्रा कलाकार हुन् । तर त्यो भन्दा राम्रा निर्देशक हुन् । त्यसैले उनले मिनी स्कर्ट लगाई नाइटो देखाएर चलचित्र हिट गराउन खोज्ने रेखा थापाहरूको चलचित्रहरूमा हल्काफुल्का भुमिकाहरूमा अभिनय गरेर आफ्नो श्रम र समय नष्ट गर्नु भन्दा राम्रो टिम बनाएर, गहन अध्ययन तथा अनुसंधान गरेर स्तरीय नेपाली चलचित्रको निर्माणमा आफ्नो ज्ञान, सीप र क्षमतलाई सदुपयोग गर्नु नै नेपाली चलचित्र जगतकालागि सार्थक योगदान ठहरिनेछ । 

अर्का वरिष्ट निर्देशक तुलसी घिमिरेका तीन–तीन नेपालीहरूले रजत जयन्ती नै मनाए । तर उनको दक्षिणा मात्र बौद्धिक मनमस्तिकमा बस्यो । दक्षिणाले तुलसी घिमिरेलाई नाम पनि दियो । दाम पनि दियो । तर करिव १०–१५ वर्ष पूर्व निर्देशक तुलसी घिमिरेले पहाड बनाउने कुरा गर्दै थिए । त्यसताका तुलसी घिमिरेले भनेका नै थिए, “पहाड मेरो ड्रिम प्रोजेक्ट हो । यो अति नै रिस्की पनि छ । पहाड बनाएपछि ममा चलचित्र बनाउने तिर्खा बाँकी रहन्छ वा रहँदैन भन्न सक्दिनँ । टीमसँग कुरा चलिरहेको छ । श्रावणलाई भनिदिएको छु, पहाडले ठूलो आर्थिक घाटा पनि पु¥याउन सक्दछ ! तर यसले थुप्रै अन्तर्राष्ट्रिय पुरस्कारहरू जित्ने छ ।” 

तर यत्तिका वर्ष बितिसक्दा पनि पहाड पर्दामा देखिएन । बरु तुलसी घिमिरेका मितज्यु, रहर, बलिदान, दर्पण छाँया, दुई किनारा, देश तथा दृष्टिकोणहरू देखिए, पहाड भने देखिएन् । दक्षिणा तथा बलिदान जस्ता कृतिहरूले गर्दा तुलसी घिमिरेबाट केही आशा गर्न त सकिन्छ । तर अब त तुलसी थाकिसके जस्तो छ । निश्चितरूमा दक्षिणा, बासुदेव, परालको आगो, बसन्ती, नुमाफुङ, मसान तथा उमा आदि राम्रो प्रयास हुन् । तर यतिले पुग्दैन । मन र मुटु जोडेर बौद्धिक मस्तिष्कले सोच्ने हो भने सृजनशिल हातहरूका लागि नेपाली सिनेमा संसारमा केही गर्न सक्ने धेरै सम्भावाना छ । स्तरीय नेपाली सिनेमाका लागि बजार नभएको पनि होइन । राम्रा नेपाली सिनेमाले ८, १० करोडको बजार बनाउन कुनै गाह्रो पनि छैन । 


हामीसँग ‘स्तरीय सिनेमा’ बनाउने कथावस्तुहरूको कुनै कमी छैन । हामीसँग भीमसेन थापाको विषय छ । अंग्रेज युद्धको विषय छ । गौतम बुद्धको विषय छ । नेपाल एकीकरणको विषय छ । कोतपर्वको विषय छ । जंग बहादुरको विषय छ । चार शहीहदको विषय छ । वी.पी. कोइरालाको विषय छ । यी अन्तर्राष्ट्रिय चाँसोका विषय हुन सक्छन् । त्यसैले यस्ता विषयहरूलाई सस्ता हातहरूबाट लिलामी हुन दिनु हुँदैन । 

२०४६ सालको जनआन्दोलनका कमाण्डर स्वर्गीय गणेशमान सिंहको जीवनमा आधारित चलचित्र ‘वीर गणेशमान’ विषय राम्रो थियो । तर सस्ता हातहरूले गर्दा वीर गणेशमान नेपाल भित्र नै चल्न सकेन । वास्तवमा गणेशमान सिंह फाउण्डेशनले झारा टार्ने काम मात्र ग¥यो । कुशल सष्ट्रालाई सुम्पिएर गणेशमान सिंहको कथाब्यथालाई पर्दामा सजिव पार्नु पथ्र्यो । तर त्यही हुन सकेन । त्यसैले जुन नियति वीर गणेशमानले भोग्नु प¥यो, त्यो नियति वी.पी कोइराला आदिले भोग्न नपरोस् । वी.पी कोइरालाई नेपाली राजदूत सिनेमा बनाउनुपर्छ । र, नेपाल भित्र मात्रै होइन अन्तर्राष्ट्रिय बजारमा पु¥याउनुपर्छ ।

आँटे पछि नहुने केही छैन । कालजयी सिनेमा बनाउन ठूलो लगानी गर्नुपर्छ भन्ने छैन । सानो बजेटमा पनि राम्रो सिनेमा निमार्ण गर्न सकिन्छ । सत्यजित रेले ‘पाथर पाञ्चाली’मा करोडौं लगानी गरेका थिएनन् । तत्कालिन समयमा एउटा नेपाली सिनेमाको बजेटमा नै ‘पाथर पाञ्चाली’ बनाएका थिए । सानो बजेटको ‘पाथर पाञ्चाली’मा सत्यजित रेले भारतीय सिनेमाको सृजनशिलता र श्रेष्ठताको नमूनाको छाप छोड्न सफल भएका थिए । सा“च्चै, यो सिनेमामा सत्यजित रेले पुरोहित हरिहर रायको छाप्रो भित्रको दुःख, पीडा, वेदना र छटपटीलाई सजीवताका साथ पर्दामा उतारेका छन् । बालक अप्पु र दुर्गाले पहिलो पटक रेल देख्दाको दृश्य तथा गरीबीका कारण हरिहरले घर छोडेर जाँदा घरमा सर्प पसेको दृश्य ज्यादै नै मनोवैज्ञानिक तथा हृदयस्पर्शी छन् । 

यो कुरा सचेत निर्देशकहरूले बुझ्नुपर्छ । नेपालका बौद्धिक जगतले नेपाली चलचित्र निर्देशकहरूबाट यही अपेक्षा गरेका छन् । तर विडम्बना के भने अधिकांश राम्रा निर्देशकहरू पनि हिजोआज प्रियंका कार्कीहरूको नाइटो र कम्मरकै वरिपरि क्यामरा घुमारहेका छन् ।  एकतााका लूट र चपली हाईट हिट भएपछि त यौन मनोविज्ञानको नाममा घिनलाग्दा चलचित्रहरु निर्माणको होडनै चलेको थियो । तर अधिकांश यस्ता चलचित्रहरुले बक्स अफिसमा पानी पनि भन्न नसकेपछि यो लहड रोकिएको छ । अहिले आएर हल्काफल्का हास्य सिनेमाहरुले बजार तताएका छन् । तर उहिलेदेखि नै अधिकांश चलचित्रकर्मीको ध्यान स्तरीय चलचित्र निर्माणतिर भन्दा पनि बिकाउ चिलचित्रतिर केन्द्रित छ । त्यसैले त नेपालमा ‘नुमाफुङ’ बने पनि ‘पाथर पाञ्चाली’ बन्न सकेका छैनन्  । नेपाली चलचित्रहरूले नेपाली मन जित्न सकेका छैनन् ।

 पुछारमाः 
चलचित्र संसारको सबै भन्दा शक्तिशाली साहित्य हो । शैक्षिक प्रविधि पनि हो । मुवि मेडिसिन पनि हो । चलचित्रले मनोचिकित्साको कार्य गर्दछ । वास्तवमा चलचित्रमा दर्शकलाई सम्मोहित बनाएर उसको मनमस्तिष्क नै पुनस्र्मंरचना गर्ने समाथ्र्य हुन्छ। त्यसैले चलचित्रको उचित प्रयोग गर्नुपर्छ। चलचित्रले सीधैँ मानिसको मनमुटु छुन्छ भन्ने तथ्य आत्मसात् गरेर चलचित्रकर्मीहरूले मेहनत गरेर स्तरीय नेपाली चलचित्रहरू निर्माण गर्नुपर्छ । सकारात्मक सन्देश, राष्ट्रिय एकता तथा अखण्डलाई केन्द्रमा राखेर दर्शकलाई मनोरञ्जनका साथसाथै उत्प्रेरित गर्ने खालका चलचित्रहरू निर्माण गर्नु नै हरेक चलचित्रकर्मीको धर्म हो । नायकनायिकाको घिनलाग्दो चुम्बन। जबरजस्ती लादेको बेडसिन। नायिकाको नंग शरीर । अर्थ न बर्थको आइटम गीत । तथा मुक्कामुक्कीलाई केन्द्रमा राखेर चलचित्रहरु बनाउनु कत्ति पनि ठीक होइन । यस्ता चलचित्रहरूले ढिलोचाँडो समाजलाई भष्ट्र र नष्ट पार्न नै सगाउ पुराउँछ। चलचित्रको यो मनोविज्ञानलाई सरकारले पनि राम्रोसँग बुझ्नुपर्छ र चलचित्रकर्मीलाई स्तरीय चलचित्रहरु निर्माण गर्न प्रोत्साहित गर्ने तथा बजारु चलचित्रहरुलाई निरुत्साहित गर्ने नीति अख्तियार गर्नुपर्छ ।