Friday, July 3, 2020

ब्रेन बाइट्स

नोबेल फोरमको रमाइलो यात्रा
ओम बानियाँ

अक्टुवर ७ तारिख, २०१९ । शरीर क्रिया विज्ञान वा मेडिसिनको नोबेल पुरस्कारको घोषणाको दिन । म, भान्जा कुशलसँग  स्वीडेनको स्टोकहोम स्थिति विश्वप्रसिद्ध विश्वविद्यालय कारोलिन्स्का इंष्टिच्युट र त्यसै अन्तर्गतको नोबेल फोरम हेर्ने उत्साह र उमंगका साथ घरबाट निस्कियौ । बसबाट मास्त्रा स्टेसनमा पुग्यौ । मास्त्राबाट रेलमा अनि फेरि बसमा कारोलिन्स्का इंष्टिच्युटको गेटमा पुग्यौ । 


सबै भन्दा नोबल फोरम जाने, अनि कारोलिन्स्का इंष्टिच्युटको क्लिनिकल न्युरोसाइन्स, क्लिनिक साइकोलोजि डिभिजन लगायतका ठाउँहरुमा पुग्ने योजना थियो मेरो । हामी हिँड्दै, हाँस्दै, फोटोहरु खिच्दै, नेपालमा यस्ता विश्वविद्यालयहरु भएको भए कति वैज्ञानिक पैदा हुन्थ्ये भन्दै नोबल फोरमतिर लाग्यौ । फोटोहरु पनि खिच्यौ । अब हामी नोबेल फोरमको ठीक अगाडि थियौं । 



यो त्यही ठाउँ हो जहाँ क्रिया विज्ञान वा मेडिसिनका नोबेल पुरस्कार दिने गरिन्छ । 


विश्वप्रसिद्ध नोबेल पुरस्कारको प्रशासनिक कार्य नोबेल फाउण्डेसनले गर्दछ भने हरेक नोबेल पुरस्कार अलग अलग समितिद्धारा प्रदान गरिन्छ । रोयल स्वीडिस अकाडेमी अफ साइन्सेजले भौतिक शास्त्र, रसायन शास्त्र तथा अर्थशास्त्रको विजेता छनौट गर्छ भने कारोलिन्स्का इंष्टिच्युटका नोबेल असेम्बेलीले शरीर क्रिया विज्ञान वा मेडिसिनको नोबेल पुरस्कार छनौट गर्दछ ।  त्यही नै हामीले William G. Kaelin Jr., Sir Peter J. Ratcliffe and Gregg L. Semenza तीन वैज्ञानिकहरुले संयुक्तरुपमा यस वर्षको क्रिया विज्ञान वा मेडिसिनका नोबेल पुरस्कार प्राप्त गरेको सुन्यौ । 


नोबेल फोरम बाहिरबाट हेर्दा सामान्य देखिएता पनि भित्र भने शानदार छ, निकै आकर्षण । नोबल फोरम घुम्दै गर्दा मेरो मनमा पटक पटक एउटा प्रश्न उठिरह्यो, नेपालीहरुले नोबेल पाएको कहिले सुन्न पाइने हो ? विज्ञान प्रविधिको विकासमा नेपाल सरकारलाई कहिल्यै बालमतलव भएन । आविस्कार केन्द्र खोलेर महाविर पुन लागेका छन्, तर यस्तो महान कार्यप्रति पनि सरकारको सौतनी व्यवहार छ । 


नोबेल पुरस्कार विश्वको सर्वोच्च पुरस्कार हो । यस पुरस्कारको स्थापना सन् १८९५ मा स्विडेनका महान् वैज्ञानिक तथा विस्फोटक पदार्थ डाइनेमाइटका आविष्कारक अल्फ्रेड नोबेलको नाममा भएको हो । अल्फ्रेड नोबेलको स्मरणमा सन् १९०१ मा नोबेल फाउण्डेशनद्वारा सुरु गरिएको यस पुरस्कार भौतिक शास्त्र, रसायन शास्त्र, साहित्य, शान्ति, क्रिया विज्ञान तथा चिकित्सा र अर्थशास्त्र क्षेत्रमा प्रदान गरिन्छ । पुरस्कारको रूपमा प्रमाणपत्रको साथमा १२ लाख अमेरिकी डलर प्रदान गरिन्छ ।  


वैज्ञानिक अल्फ्रेड नोबेलले अनेकौ आविस्कारहरु गरे । उनले गरेका ३५५ आविष्कारहरू मध्य सन् १८६७ मा गरेको डायनामाइटको आविष्कार प्रमुख हो । नोबेललाई डायनामाइट तथा यस प्रकारका विज्ञानका विध्वंसक शक्तिहरूको बारेमा पुरै ज्ञान थियो । सन् १८९६ को डिसेम्बर १० मा देहान्त हुँदा उनका कुनै उत्तराधिकारी थिएनन् । उनले आफ्नो शेषपछि सम्पति कसैलाई दिन चाहेनन् । सन् १८९५ मा उनले एक इच्छापत्र तयार पार्न लगाएर आफ्नो सम्पत्तिबाट अक्षयकोष स्थापना गरे । उक्त कोषबाट प्राप्त आम्दानीबाट नै पुरस्कार प्रदान गर्ने व्यवस्था मिलाइयो । 


नोबेल फाउंडेशनको स्थापना २९ जून १९०० मा भएको हो र १९०१ देखि नोबेल पुरस्कार दिन थालिएको हो । अर्थशास्त्रको क्षेत्रमा नोबेल पुरस्कारको शुरुवात सन् १९६८ देखि गरियो । शान्तितर्फको पुरस्कार नर्वेको ओस्लोमा र अन्य पुरस्कारहरु स्वीडेनको स्टोकहोममा प्रदान गरिन्छ । 

 नोबेलको स्थापना कसरी हुन गयो ! 
कुरा सन् १८८८ विहानको हो । अल्फ्रेड नोबेलले अखबार पढ्दै थिए, अचानक उनको नजर शोक संदेश कोलोममा पर्यो । उनले त्यहाँ आफ्नो नाम देखेर हैरान भए । गल्तीले अखबारले उनको भाइको मृत्युको खबरको ठाउँमा उनको निधन छापेको थियो । अल्फ्रेडले शोक संदेश ध्यान दिएर पढे, त्यहाँ लेखिएको थियो, मृत्युको सौदागारको मृत्यु । यो खबर पढेर अल्फ्रेड नोबेल निकै दुःखी भए किनकी उनले नै डायनामाइटको आविस्कार गरेका थिए । यस खबरले उनको जीवन नै परिवर्तन गरिदियो । अनि उनले विश्व शान्ति तथा समाज कल्याणको लागि कामहरु गर्न थाले । आफ्नो मृत्युपछि आफ्नो शारा सम्पत्ति विश्व शान्ति, साहित्य, भौतिक शास्त्र, चिकित्सा शास्त्र तथा अर्थ शास्त्रको क्षेत्रमा अग्रणी कार्य गर्नेहरुलाई पुरस्कार प्रदान गर्नका लागि दान गरिदिए ।   


नोबेल फोरमबाट हामी कारोलिन्स्का इंष्टिच्युटको विशाल पुस्तकालय हेर्न गयौ । चिटिक्क परेका भवनहरु, मिलाएर रोपिएका रुख र पूmलहरु, टलक्क टल्किने बाटाहरु । प्रकृतिलाई महत्व दिई गरिएको विकास देखेर म दंग थिए । हामी हस्पिटलतिर लाग्यौ । छोटो समयमा के के हेर्ने हो ? दिउँसोको दुई बज्नै आँटेको थियो अनि हामी न्युरोसाइन्स तथा क्लिनिक साइकोलोजि डिभिजनतिर लाग्यौ । 


म क्लिनिकल साइकोलोजि डिभिजन अगाडिको प्रतिक्षालयमा, भान्जासँग एनजाइटिको उपचार र मुल्यांकनको अनुसंधानमा लागेका प्रो. डा. इरिक हेडमैनको समुह र क्लिनिकल कग्निसनको रिसर्च गु्रप एम्ली होल्म्सको समुहलाई भेट्ने उत्साहपुर्ण प्रतिक्षामा थिएँ । (लेखक साइकोथेरापिष्ट तथा मेमोरी ल्याब प्रमुख हुन् । )
क्रमशः
सम्पर्कः https://www.ucl.ac.uk/pals/research/clinical-educational-and-health-psychology/research-groups/international-cognitive-19

No comments:

Post a Comment