Wednesday, July 8, 2020

सिनेम्याटिक्स

मुभी, मस्तिष्क र महानायक
ओम बानियाँ

मुभि अर्थात् सिनेमा (चलचित्र) मनोरंजनको एक सशक्त माध्यम हो । संसारमा मनोरंजनका लागि यस माध्यमलाई उपयोग गर्नेको संख्या निकै धेरै छ । सिनेमा महिलापुरुष, बालबालिका, युवायुवती तथा बृद्धबृद्धा तथा मजदुरदेखि अरवपति आदि सबैका माँझ उत्तिकै लोकप्रिय छ । नेपालमा पनि चलचित्रमा रमाउनेहरु कम छैनन् । तर, नेपालमा नेपाली सिनेमामा भन्दा हिन्दी सिनेमामा रमाउनेहरु बढी छन् । त्यसो त केही वर्ष यता नेपाली सिनेमाको बजार पनि बढ्दै छ । नेपाली सिनेमाहरु पनि उल्लेखनीयरुपमा निर्माण हुँदै छन् ।

मुभि र मस्तिष्कः
चाहे नेपाली सिनेमाहरु हुन्, चाहे हिन्दी सिनेहरु हुन् वा अन्य भाषाका सिनेमाहरु हुन्, सिनेमाको प्रमुख उद्देश्य भनेको नै दर्शकलाई मनोरंजन दिनु हो । तर, सिनेमाको दायरा केवल मनोरंजनमा मात्र सीमित छैन । व्यापक र विस्तृत छ । सिनेमामा त दर्शकलाई सम्मोहित बनाएर मनमस्तिष्क नै पुनस्र्मंरचना गर्ने समाथ्र्य हुन्छ । त्यसैले सिनेमाले मानिसलाई मनोरंजन दिने, सोचविचारमा परिर्वतन ल्याउने मात्र होइन, समाजीक तथा राजनीतिक क्रान्ति ल्याउन सक्दछ । हुन पनि हो मानव मनमस्तिष्कमा सिनेमाको अद्भूत प्रभाव पर्छ । राम्रा सिनेमाहरुले दर्शकलाई २—३ घण्टा यसरी बाँध्दछ कि दर्शक पर्दामा हराउँछन् । सम्ववत् मानिस यसरी र यत्तिबेर एकाग्रचित्त अन्य कुनै चिजमा हुँदैनन् । त्यसैले त किताबको पाठ याद नहुने विद्यार्थीलाई पनि सिनेमाको एक—एक सम्वाद र दृश्यहरु याद हुन्छन् । 

प्रायः दर्शकलाई थाहा हुन्छ, सिनेमा एक नाटक हो, कलाकारहरुको अभिनय हो, सत्य घटना होइन, तर पनि सिनेमा हेर्ने क्रममा उसले सिनेमालाई सत्य घटना नै ठान्छ, सक्कली कथा नै मान्छ, अनि ऊ कथासँगै हाँस्छ, रुन्छ, खुसीले उफ्रिन्छ । साँच्चै मुभिले मानिसको मनमा म्याजिक नै पैदा गरिदिन्छ । सिनेमा यस्तो साहित्य हो, जसलाई हेर्न, सुन्न र अनुभव गर्न सकिन्छ । त्यो किनभने दर्शकले सिनेमा हेरेका मात्र हुँदैन, सम्वाद र गीत सुनेका पनि हुन्छन्, सिनेमाको कथाको बगाइसँगै आफुलाई कलाकारको अभिनयमा समाहित पनि गरेका हुन्छन् । सिनेमाको कतिपय प्रभाव प्रत्यक्ष नै अनुभव हुन्छ भने अधिकांश प्रभाव मानिसको अवचेतन मनमा गएर बस्छ । अवचेतन मन, मानिसको त्यो मन हो, जसले मानिसको संसारलाई हेर्ने दृष्टिकोण, आचारविचार र उसको व्यक्तित्व निर्माणमा महत्वपुर्ण भूमिका निभाउँछ । त्यसैले सिनेमालाई शिक्षा प्रदान गर्न, जनचेतना जगाउन तथा मेडिसिनका रुपमा पनि उपयोगमा ल्याउन सकिन्छ । दर्शकलाई मनोरंजन प्रदान गर्ने मुल उद्देश्यले बनाइएका यस्ता सिनेमाहरुलाई शिक्षा प्रदान गर्नका लागि, जनचेतना जगाउनका लागि तथा मेडिसिनका रुपमा उपयोग गरिँदै आएको प्रशस्त उदाहरणहरु छन् । 


मानव मनमस्तिष्कमा सिनेमाको प्रभाव सकारात्मक तथा नकारात्मक दुवै हुने गर्छ । अधिकांश समाजशास्त्री तथा मनोवैज्ञानिकहरु चल्तीका सिनेमाहरु हत्याहिंसा र नग्नतामा केन्द्र हुने हुनाले समाजमा सिनेमाको सकारात्मक भन्दा नकारात्मक प्रभाव बढी पर्ने कुरा बताउँछन् । त्यसो त कतिपय सिनेकर्मीहरुले नागरिकले सकारात्मक संदेश दिने मुल उद्देश्य लिएर सिनेमाहरु निर्माण गरेको पनि पाइन्छ ।जोसँग क्षमता र कल्पनाशिलता हुँदैन, ऊ सिनेमामा जबरजस्ती अनावश्यक हत्याहिंसा तथा नग्न दृश्यहरुको सहारा लिएर सिनेमा हिट गराउने आशामा हुन्छ । तर, यस्ता दृश्यहरु राख्दैमा सिनेमाहरु हिट हुने कुनै ग्यारेन्टी हुँदैन । एक्सन र ग्यामरलाई कलात्मक ढंगबाट पर्दामा उर्तान पनि निर्दशकीय सीप चाहिन्छ । यो कुरा सिनेकर्मीहरुले बुझ्नुपर्छ । र, आफ्नो सामाजिक दायित्वलाई केन्द्रमा राखेर सृजनशिल मन र मस्तिष्कको तारताम्य मिलाएर मानवीय संवेदनशिलताको गहिराइमा गोता लगाइ मानव–मानव बीचको अन्तर्सम्बन्ध, त्यो सम्बन्ध भित्रको माया–ममता, प्रेम–भाइचाराको साथै स्वार्थ, अहंकार, वितृष्णा, अन्याय, अत्याचार, भ्रष्टचार, शोषण तथा थिचोमिचोहरूलाई मौलिक र सटीकरूपमा पर्दामा उतार्ने दिशामा अग्रसर हुनुपर्छ ।

कुनै बेला इटालीयन सिनेमा द बाइसकल थीव्स्का महान् निर्देशक बितेरियो डे–सीकाले भनेका थिएः “हामी किन एउटी स्त्रीले एकजोर जुत्ता किन्दै गरेको विषयमााथि सिनेमा बनाउन सक्दैनौ ?” त्यसैले त डे–सीकाले थुप्रै राम्रा सार्थक सिनेमाहरू बनाए, बाइसकल थीव्स् मात्र होइन कि डे–सीकाको शÒ शाइन पनि त्यत्तिकै उत्कृष्ट सिनेमा हो । सन् १९६० मा शु शाइनको प्रदर्शनको बेलामा सिटीजन केन बनाउने महान् निर्देशक अर्सन वेल्सले भनेका थिएः “हालै म शु शाइन हेर्न दौडिँदै गएँ । तर त्यहाँ क्यामेरा हरायो, पर्दा पनि हरायो, त्यहाँ त फगत एउटा जीवन थियो, जीवन ।”

कालजयी सिनेमा बनाउन ठूलो लगानी गर्नुपर्छ भन्ने छैन । सानो बजेटमा पनि राम्रो सिनेमा निमार्ण गर्न सकिन्छ । सत्यजित रेले ‘पाथर पाञ्चाली’मा करोडौं लगानी गरेका थिएनन् । तत्कालिन समयमा एउटा नेपाली सिनेमाको बजेटमा नै ‘पाथर पाञ्चाली’ बनाएका थिए । सानो बजेटको ‘पाथर पाञ्चाली’मा सत्यजित रेले भारतीय सिनेमाको सृजनशिलता र श्रेष्ठताको नमूनाको छाप छोड्न सफल भएका थिए । साँच्चै, यो सिनेमामा सत्यजित रेले पुरोहित हरिहर रायको छाप्रो भित्रको दुःख, पीडा, वेदना र छटपटीलाई सजीवताका साथ पर्दामा उतारेका छन् । यस चलचित्रका हरेक दृश्यहरू यथार्थ, सजीव र हृदय छुने खालका छन् । बालक अप्पु र दुर्गाले पहिलो पटक रेल देख्दाको दृश्य तथा गरीबीका कारण हरिहरले घर छोडेर जाँदा घरमा सर्प पसेको दृश्य ज्यादै नै मनोवैज्ञानिक तथा हृदयस्पर्शी छन् । अप्पÒ र दुर्गाले पहिलो पटक रेल देख्दाको दृश्यको भाव र जुम्लाका नेपाली बालबालिकाले पहिलो पल्ट मोटर देखेको वास्तविक भाव कताकता मिल्न जान्छ ।

महानायकको मस्तिष्क:
राजेश हमाल, नेपाली चलचित्र जगतको एक बहुचर्चित नाम हो । वि.स. २०२० सालमा जन्मिएका राजेश हमालले अंग्रेजी साहित्यमा स्नातकत्तोर गरे पछि आफ्ना कुटनीतिज्ञ (राजदुत)बाबु–एच.बी. हमालको चाहना विपरित आज भन्दा पच्चिस वर्ष पहिला नेपाली चलचित्र जगतमा प्रवेश गरेका थिए । उनको पहिलो चलचित्र ‘युगदेखि युगसम्म’ हो । यस चलचित्रका निर्देशक उनका आफ्नै मामा, दीपक रायमाझी हुन् । राजेशको पहिलो सिनेमा ‘युगदेखि युगसम्म’ सुपरहिट भएता पनि उनको दोस्रो सिनेमा ‘भाग्यरेखा’ को शुटिङका बेलामा मामा–भाञ्जा बीच बिबाद भएपछि राजेश हमाल भाग्य रेखाबाट निकालिएका थिए । र, उनको ठाउँ अभिनेता रविन्द्र खड्काले लिएका थिए । त्यसबेला पत्रपत्रिकाका अनुसार उनकै निर्देशक मामा दीपक रायमाझीले भन्दै हिँडेका थिए रे, ‘राजेशलाई एक्टिंग नै आउँदैन ।’ 


तर, समयसँगै राजेशले गोपीकृष्णा, देउता तथा सीमाना जस्ता सिनेमाहरू मार्फत् आफ्नो बलियो उपस्थिति देखाए । नेपाली सिने उद्योगमा रहदै आएको अभिनेता शिव श्रेष्ठ र भुवन केसीको बर्चश्वलाई चुनौती दिँदै आफुलाई नेपालको नम्बर एक नायक अर्थात् महानायकको रूपमा स्थापित गर्न सफल भए । कुनै बेला नेपाली चलचित्र उद्योमा राजेशको वर्चश्व यति थियो कि राजेश बिनाको नेपाली चलचित्र नै प्रर्दशन हुँदैन्थ्यो, यता पनि राजेश हमाल, उता पनि राजेश हमाल, जुन सिनेमा हलमा पनि राजेश हमाल । निर्माता निर्देश राजेशलाई लिएर फिल्म बनाउन तथा नायिकाहरु उनीसँग अभिनय गर्न मरिहत्ते गर्थे । 

राजेशले पच्चिस वर्षको दौरानमा उनले ३ सय भन्दा बढी नेपाली सिनेमाहरूमा अभिनय गरे । पच्चिस बर्षदेखि नेपाली सिनेमा उद्योगमा एकछत्र राज गर्ने यी महानायक अहिले पनि ‘बक्स अफिसका हट केक’ मानिन्छन् । तर, सयौं नेपाली सिनेमाहरुमा अनेक प्रकारका चरित्रहरुमा दमदार अभिनय गरेर दर्शकमाँझ महानायकको उपाधि पाएका राजेश हमालले भन्ने गर्छन्, ‘मैले अहिलेसम्म उल्लेखनीय एउटा पनि सिनेमा खेल्न पाएको छैन ।’ हुन पनि हो, अभिनेता राजेश हमालको प्रतिभालाई सही सदुपयोग गरिएको देखिएको छैन । यसमा स्वयं राजेश हमालको पनि कमिकमजोरी रहेको छ । राजेशको पहिलो कमजोरी हो, उनले गुणस्तरलाई भन्दा संख्यालाई महत्व दिए । भ्याएसम्म जस्तो पनि सिनेमा गर्दै गए । तर, अब नेपाली सिनेमाका महानायकले नेपाली सिनेमाको स्तरीयतालाई कसरी बढाउन सकिन्छ भन्नेतिर ध्यान दिनु जरुरी छ । उनले हल्काफुल्का सिनेमा होइन कि दर्शकमाँझ अमिट छाप छोड्ने र आफुले गर्व गर्न सक्ने सिनेमाहरु खेल्नुपर्छ ।

पुछारमाः 

हो, सिनेमा हेर्ने कुरा खराब होइन, यदि खराब हो भने कथा, उपन्यास वा किताब पढ्ने कुरा पनि खराब हो । सिनेमाको सम्बन्धमा हामीले के बुझ्न जरूरी छ भने राम्रा सिनेमाले मानिसलाई मनोरञ्जन मात्र होइन कि ज्ञान दिन्छ, विज्ञान दिन्छ, कथा दिन्छ, गीत दिन्छ, संगीत दिन्छ, परम्परा र संस्कृति दिन्छ, जीवनमा अघि बढ्ने उत्प्र्रेरणा दिन्छ । यो आँखा र कानबाट सीधैँ मनमस्तिष्कमा पुग्दछ । अतः सिनेमाको यो मनोविज्ञानलाई सिनेकर्मीले मात्र होइन कि सरकारले पनि राम्रोसँग बुझ्नुपर्छ र सिनेकर्मीहरुलाई स्तरीय सिनेमा निर्माण गर्न प्रोत्साहित गर्ने तथा बजारु चलचित्रलाई निरुत्साहित गर्ने नीति अख्तियार गर्नुपर्छ ।  (५ वर्ष पहिला राजधानी दैनिकको सौजन्यमा प्रकाशित लेख। )
( मैले राजेश हमाल एक कुशल अभिनेता हुन् त भन्दिनँ ! तर अहिले पनि उनि नायकका नायक महानायक हुन् !)

No comments:

Post a Comment