Monday, July 20, 2020

ब्रेन बाइट्स 

बिपीको ‘राष्ट्रियता’

ओम बानियाँ

नेपाली राजनीतिक इतिहासका शिखर पुरुष बिपी कोइराला एक प्रजातन्त्रवादी राजनेता मात्र थिएनन्, त्यत्ति नै राष्ट्रवादी पनि थिए । राष्ट्रियताको सवालमा बिपीले निकै गंभिर र दुरदर्शी विचारहरु व्यक्त गरेका छन् । बिपीले भनेका छन्ः ‘एकीकरणपछि नेपालले एउटा आधुनिक भूगोल निर्धारित ग¥यो, एउटा देश गठन भयो, यस निर्धारित सीमानामा बस्ने अनेकौ धर्म, भाषा र संस्कृतिहरू अपनाउने यावत् जातजातिहरूको, एउटा देश, नेपालको उदय त भयो, तर बहुुजाति, बहुभाषी, बहुसंस्कृति तथा जैविक विविधताको यो देश ती सबै जातजातिहरूको साझा फूलवारी हुन सकेन, एक राष्ट्र बन्न सकेन । शरीरको ढाँचा खडा त भयो, त्यसमा आत्मा प्रवेश हुन सकेन, फ्रेम बनाइयो तर तस्विर राखिएन, भाँडो कुदियो, तर त्यसभित्र राखिने तत्व राखिएन । तसर्थ नेपालको राष्ट्रियताको इतिहासमा १८१६ पछिको काललाई, नेपाली भाषाको विकासलाई छोडेर मरुभुमिको युग भने पनि हुन्छ ।’ 


बिपीको बिचार प्रष्ट थियो । प्रजातान्त्रिक शासन व्यावस्थाले नै नेपाललाई सबै जातजातीहरुको फुलवारी बनाउने उनको दावी थियो । त्यसैले त बिपी आफ्नो अन्तिम साससम्म नेपालमा प्रजातन्त्र स्थापना गर्ने लडाइँ लडिरहे । कहिल्यै थाकेनन् । कहिल्यै हारेनन् । उनका लागि प्रजातन्त्र निर्विकल्प थियो । राष्ट्र, राष्ट्रियता र प्रजातन्त्र अन्योन्याश्रित भएको जनाउँदै वीपीले भनेका नै थिएः “प्रजातन्त्र बिना देश रहदैन । प्रजातन्त्र नभइकन वर्तमान युगमा राष्ट्रियता संभव छैन । विकास पनि संभव छैन । जस्तै राष्ट्रियता र प्रजातन्त्र अन्योन्याश्रित छ उस्तै राष्ट्रियता, आर्थिक विकास र प्रजातन्त्र तीनै एउटा अर्कोमा आश्रित छन् ।....देश भन्नुहोस् चाहे राष्ट्र भन्नुहोस्, त्यो भूगोल होइन, माटो होइन । त्यो यथार्थमा जनता हो । जुन कुराले जनताको हित हुन्छ त्यही कुरो देश हितको कुरो हो ।’



बिपीले राष्ट्रियता, आर्थिक विकास र प्रजातन्त्रलाई पनि एक अर्कोमा आश्रित ठानेका छन् । हुन पनि हो, आर्थिक विकास बिना न त राष्ट्रियता मजबुत हुन्छ न त प्रजातन्त्र दिगो हुन्छ । त्यो किनभने कुनै पनि नागरिक भोको पेट र नांगो आङले राष्ट्रियताको माला जपेर बस्न सक्दैन ।

एउटा हिन्दी फिल्म छ, ‘चक्रब्युह’ । जसका नायक राजेश खन्ना प्रहरीबाट बच्न भाग्दै हिँडेको हुन्छ । भाग्दाभाग्दै राती एउटा गाउँमा पुग्दछ । भोकतिर्खाले बिल्लीबाठ राजेश एउटा घरमा पस्छ । घरमा बुढाबुढी मात्र हुन्छन् । खेतमा गाई पसेको थाहा पाएपछि बुढो खेततिर दौडिँन्छ ।अब घरमा बुढाकी तरुनी पत्नी मात्र हुन्छे । जवान राजेश खन्नालाई देखेपछि बुढाकी तरुनी पत्नीले काम भावनाले उसलाई आफुतिर आकर्षित गर्न खोज्छे । राजेश बिस्तारै ऊतिर बढ्छ । बुढाकी पत्नी निकै कामोत्तेजित हुन्छे । राजेश ऊ नजिकै पुग्छ र झटपट अगाडि राखेको भातको भड्डु उठाएर कपाकप भात खाना थाल्छ । गाँसबासकपास मानिसको पहिलो आवश्यकता हो । यही घासबासकपास लागि नै पचासौं लाख नेपाली युवाहरु रोजगारीका लागि विदेश गएका छन् । विकसित राष्ट्रमा पुगेका थुप्रै नेपालीहरुले विदेशी नागरिकता समेत लिएका छन् । के अमेरिका, बेलायत तथा अष्ट्रेलिया आदि जस्ता राष्ट्रहरुको नागरिकता लिने नेपालीहरुलाई नेपालको माया नभएको हो र ? 


बिपीले भनेका छन्ः राष्ट्रियता माटो होइन, जनताको सामुहिक भावना (विचार) हो । राष्ट्रियताको बिवेचनामा सर्वप्रथम तत्व र अन्तिम तत्व पनि जनता हो । राष्ट्रियता जनताको सामुहिक मनोभावनालाई लक्षित गर्ने शब्द हो । सामूहिक रूपबाट समयमा आइपर्ने व्यापक समस्याहरूको समाधानमा लाग्नु पर्दा सहज किसिमले उत्पन्न हुने जनभावना नै राष्ट्रियता हो । राष्ट्रियताको यस परिभाषामा तीन तत्व सामेल छन्—जनताका व्यापक समस्या, त्यसको समाधानको सामूहिक प्रयत्न र त्यस प्रयत्नबाट सहज किसिमले उत्पन्न हुने भावनात्मक एकता । अर्को शब्दमा राष्ट्रियता भन्नाले लक्षित गर्ने तत्वहरुः (१.) जनता (२.) तिनका अगाडि उपस्थित भएका समस्याहरु (३.) ती समस्याहरुको सबैले मिलेर समाधान गर्ने दिशापट्टीको सामुहिक प्रयत्न र (४.) त्यस प्रयत्नमा अनुभव गरेको एकताका भावना । यसरी राष्ट्रियताको विचार गर्दा भुगोलको भुमिका गौण भएर जान्छ । ”


बिपीले अगाडि भनेका छन्ः ‘‘राष्ट्रियताको भावनात्मक विकास एउटै विचारधाराको प्रचारले हुँदैन, त्यो विकासको क्रम द्वन्द्वात्मक हुन्छ । विचारको संघर्ष राष्ट्रिय हितका सम्बन्धमा मतभिन्नताबाट निस्केको त्यो सामुहिक निर्णयको फराकिलो शिलाखण्डमा राष्ट्रियतको भावना गहिरिँदै, बाक्लिदै र फराकिलो हुँदै दृढतर हुँदै जान्छ ।’

२०३३ सालमा बिपी राष्ट्र र राष्ट्रियताका लागि नै आफ्नो ज्यान हत्केलामा राखेर नेपाल र्फिर्कएका थिए । बिपीको मेलमिलापको नीति कसैको विरुद्धमा थिएन । यो त राष्ट्र र राष्ट्रियतालाई कमजोर हुन नदिन बिपीले चालेको एक ऐतिहासिक कदम थियो ।  बिपी भनेका थिएः ‘हिजोसम्म हाम्रो संघर्ष जनताको प्रजातान्त्रिक अधिकारको निम्ति मात्र थियो । त्यसो हुनाले हामीले प्रजातान्त्रिक पक्षमा मात्र बढी जोड दियौं । आज यसमा एउटा नयाँ आयाम थपिएको छ । नेपाली कांग्रेसलाई आज दोहोरो जिम्मेवारी आई परेको छ । यो दोस्रो जिम्मेवारी हो, देशको अस्तित्वको रक्षा गर्ने ।’

हिले पनि नेपाली काँग्रेसको मात्र होइन, सम्पुर्ण राजनीतिक दलहरुको काँधमा दोहोरी जिम्मेवारी नै आई परेको छ । पहिलो हो, देशको अस्तित्वको रक्षा गर्ने । दोस्रो हो, एकजुट भएर दु्रत आर्थिक विकासतिर अगि बढ्ने । देशको आर्थिक विकास बिना न त लोकतन्त्र संस्थागत हुन्छ, न त नेपाली राष्ट्रियता मजबुत हुन्छ । त्यसैले नेपाल राष्ट्र र नेपाली राष्ट्रियतालाई जोगाउने हो भने राजनीतिक दलहरु भारत, चिन वा पश्चिमाहरुको ईशारामा होइन कि जनताको सामुहिक भावना अनुसार देशको अस्तित्वको रक्षा गर्दै आर्थिक विकासमा कम्मर कसेर लाग्नु नै इमान्दारी राजनीति हो । 
 जय होस् ।

No comments:

Post a Comment