Thursday, July 16, 2020

ब्रेन बाइट्स

हरियाली साउन: बोलबम मनोविज्ञान
 ओम बानियाँ

साउन । उपवासको महिना । बोलबमको महिना । गेरु बस्त्रको महिना भक्तिको महिना । जसै साउन सुरु हुन्छ, फेसन बजारको रंग गेरुमय हुन्छ । साउन महिनामा हरियो, रातो, पहेँलो चुरापोते, मेहन्दी र पहिरनमा सजिने गर्छन् नेपाली महिला । यस महिनामा भगवान शिवका नाममा व्रत बस्नेहरू पनि धेरै छन् । शिवलाई हरियो, रातो र पहेँलो रङ मन पर्ने भएकाले उनलाई खुशी बनाउन महिलाहरूले ती रङका पहिरन र चुरापोते लगाउने गरेको विश्वास धेरैको छ । नेपालको शहरबजारमा मात्र होइन गाउँहरुमा समेत अहिले साउने फेसनले छोएको छ । फुटपाथका ठेलागाडादेखि ठूला मल हरियो, रातो, पहेँलो रङले सजिएका छन् । सबैतिर साउनकै लागि विशेष सामान राखिएका छन् । हरियो, पहेँलो, रातो रङका कपडा, चुरापोते, नेलपोलिस सबै साउन केन्द्रित छन् । पाका महिलाले धार्मिक विश्वास साथ साउनलाई विशेष मान्ने गरे पनि आधुनिक महिलाले विशुद्ध फेसनका दृष्टिले यसलाई हेर्ने गरेका छन् । 


हरियाली साउनः
साउन महिना हरियालीको महिना हो । यस महिना चारैतिर हरियाली, रंगविरंगी फूल, सप्तरंगी इन्द्रेणीको मौसम पनि हो । प्रकृतिको यहि सप्तरंगी पृष्टभूमीसँग मिल्नेगरी यस महिनामा महिलाहरु रंगीचंगी फेसनमा सजिने गर्छन् । साउनको फेसनमा हरियो, रातो र पहेंलो रंगको कम्बिनेसन मिलाइन्छ । चाहे साडी, कुर्तामा होस् वा चुरामा, यी तीन रंगको संयोजन हुन्छ । साउनमा लगाइने यस्तो रंग अर्थपूर्ण छ । हरियो रंगलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको र पहेंलोलाई पवित्रताको प्रतिक मानिन्छ । चुरा, पोते, मेहेन्दी लगाउनुको सामाजिक महत्व पनि छ । खासगरी अन्नवाली लगाइसकेपछिको यो फुर्सदिलो समयमा शृंगारको छुटै महत्व हुन्छ । हातमा लगाइने प्राकृतिक मेहेन्दीको औषधीय गुण पनि हुन्छ । यसले हातलाई आकर्षक देखाउने मात्र नभई, चोटपटक पनि निको हुने बताइन्छ ।


रंग र ब्रेनः
रंगहरुले मानिसको मनमस्तिष्कलाई कसरी प्रभावित पार्दछ भन्ने विषयमा थुप्रै अध्ययन अनुसन्धानहरु भएका छन् । अनुसंधानबाट पुष्टि पनि भएको छ कि हरेक रंगहरुमा मानिसलाई शारीरिक, मानसिक तथा भावनात्मकरुपमा प्रभावित पार्ने विशेषताहरु निहित हुन्छन् । रंगहरुका आआफ्नै गुण, धर्म र विशेषताहरु हुन्छन् । जस्तो कि रातो रंग प्रेम, उत्तेजना र क्रान्तिको प्रतिक हो । पहेँलो रंग बुद्धिको प्रतिक हो । निलो रंग सत्य र आशाको प्रतिक हो । हरियो रंग आशा, समृद्धि तथा बुद्धिको प्रतिक हो । गुलावी रंग दयाको प्रतिक हो । यसै गरी सेतो रंग शुद्धता, सत्ता र शान्तिको प्रतिक हो । अनि कालो रंग अँध्यारो, तिरस्कार तथा तमस बुद्धिको प्रतिक हो ।  

बोलबम मनोविज्ञानः
बोलबमको असली अर्थ हो, शिवको मन्त्र जप्नु । यसरी शिवको मन्त्र उच्चारण गर्नुको पनि फाइदा छ भनिन्छ । जब हामी मन्त्रोच्चारण गर्छौ, त्यसले पैदा गर्ने तरंगले शरीरमा उर्जा मिल्छ । बोलबमले सात्विक जीवनशैलीतर्फ डोर्होयाउँछ । किनभने, बोलबम हिँड्नेले तामासिक जीवनशैली पूर्णत त्याग्नुपर्छ । खानपान र जीवनशैलीदेखि पहिरनसम्ममा सर्तक हुनुपर्छ । सादा एवं सुपाच्य खानेकुरा खानु वा उपवास बस्नुपर्ने चलन छ, बोलबममा । बोलबम हिँड्नुलाई काँवरीया भनिन्छ । उनीहरुले काँधमा बोक्ने बाँसको भाटालाई का“वर भनिन्छ, जसको दुई छेउमा घैला झुन्ड्याएर त्यसमा पानी भरेर नजिकको शिवालयमा पुराइन्छ । उक्त पानी शिवलिंगमा चढाइन्छ । त्यससँगै वेलपत्र, कुशको फूल, शमीको पात, नीलकमल तथा धतुराको फूलले पूजा गरिन्छ ।


बोलबमको सांकेतिक अर्थ हो, पानी र सृष्टिको महत्वलाई दर्शाउनु । चराचर जगत पानीमै आश्रति छ । पानीको अभावमा सृष्टि संभव छैन । शिवलिंगलाई सृष्टिको प्रतिक पनि मानिन्छ । के पनि भनिन्छ भने, अविरल पानीको स्रोत भएको स्थानबाट सुख्खा स्थानमा पानीले सिंचित गर्नुपर्ने प्रतिकात्मक सन्देश दिइएको हो यो । यसलाई यौनसँग पनि जोडेर व्याख्या गरिएको छ । यसबेला मानिसमा कामवासना बढ्छ । यसलाई नियन्त्रण गर्नुपर्छ भन्ने संकेतको रुपमा पनि शिवलिंगमा पानी चढाइएको मानिन्छ । 

यो भनाइलाई साउनमा महिलाहरुले हातभरी लगाउने चुरा र मेहेन्दीसँग पनि जोडिन्छ । साउन महिनाभर चुरा लगाउनुको कारण पुरुष एवं पतिमा बढ्दो कामवासना नियन्त्रण गर्नु हो भन्ने गरिएको छ । तर धार्मिक कथन अलि फरक छ । धार्मिक कथन अनुसार विषपानका कारण शिव भगवानको कण्ठ नीलो भयो । भगवान शिवले समुन्द्र मन्थन गर्दा निस्किएको कालकुट नामक विषलाई आफ्नो कण्ठमा समाहित गरेर सृष्टिको रक्षा गरेका थिए । त्यसरी आफ्नो कण्ठमा समाहित गरेको विषको जलन शान्त पार्नका लागि देवी देवताले उनलाई जल अर्पण गरे ।

पुछारमाः
मानिसको जीवनमा रंंगको ठूलो महत्व छ । त्यो किनभने मानिसको जीवन नै रंगीन हुन्छ । बेरंग जीवन अर्थात् रंग बिनाको जीवन मानिसले सहजपूर्वक जीउन सक्दैन । जीवनमा रंग भएन भने मानिस उदास, निराश र बैचन हुन्छ । दिउँसै चारैतिर निस्पष्ट अँध्यारो देख्छ । उसको आशा मर्छ । विश्वास मर्छ । चाहना मर्छ । उसलाई कुनै कुराप्रति पनि रमाइलो लाग्दैन । मानिस जिउँदो लास जस्तो हुन्छ ।

 तर जीवनमा रंग भयो भने मानिस खुसी हुन्छ । प्रसन्न हुन्छ । दुःखमा पनि सुखको आशा गर्छ । अँध्यारो पछिको उज्यालोको पर्खाइमा हुन्छ । कालो बादलमा पनि चाँदीको घेरा देख्छ । त्यसैले मनोवैज्ञानिक रुपमा पनि मानिसको जीवनमा रंगको ठूलो महत्व छ । जीवनमा रंगको यही महत्वलाई हृदयांम गरेर नै हाम्रा पूर्वजहरुले चाढपर्व, जात्रा तथा उत्सवहरुको आबिस्कार गरेका हुन् । हिजोआज जीवनलाई रंगीन बनाउने अनेक माध्यमहरु छन् । कोही फुटबल तथा क्रिकेट आदि जस्ता खेलहरु खेलेर तथा हेरेर रमाइलो मनाइरहेका हुन्छन् । कोही फिल्म हेरेर, संगीत सुनेर, कोही दोहोरी गाएर, कोही भोजभतेर गरेर, कोही मेला र जात्रा सजाएर त कोही मायाप्रीति गाँसेर जीवनमा रंग छर्ने कार्य गरिरहेका हुन्छन् । हरियो तथा गेरुवा पहिरनमा साउनको शिव उत्सव मनाउनुको मनोविज्ञान पनि जीवनलाई रंगीन बनाउनु नै हो । 







(नागरिक दैनिकमाप्रकाशित लेख )

No comments:

Post a Comment