Saturday, July 11, 2020

ब्रेन बाइट्स

कुकुर मात्र कुकुर होइन
 घर बाहिर गएका आफ्नो मालिक कुन बेला घर फर्किन्छन् भन्ने कुरा कुकुरलाई थाहा हुन्छ ।
ओम बानियाँ 
 कुकुर एक इमान्दार जनवार हो । मानिसको साथी हो । मानिसको रक्षक हो । प्राचिन कालदेखि कुकुरले घरको रेखदेख तथा चोरडाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ । अपराधीहरू पत्ता लगाउने, अध्ययन–अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ । त्यसैगरी कुकुरले कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ । यिनै गुणहरुका कारण मानिसहरुले कुकुर पाल्ने गरेको देखिन्छ । जंगली अवस्थामा रहँदादेखि नै मानिसले कुकुर पाल्न थालेको विश्वास गरिन्छ । शिकारदेखि घरको सुरक्षा गर्ने काम होस् वा विभिन्न तरिकाले मनोरञ्जन प्रदान गर्ने काम होस् कुकुरले मानिसलाई सधैं साथ दिँदै आएको छ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ । यही गुणको कदर गरेर मानिसले कुकुरप्रति सम्मान गर्दै वर्षको एकदिन भए पनि कुकुरको पूजा गर्न थालेका हुन् । हाम्रा पौराणिक गाथाहरूमा पनि कुकुरसँग जोडिएका अनेकौं प्रसंगहरु छन् । 


धेरैले कुकुरलाई अति मन पराउँछन् । घरमा कुकुर पाल्नु कतिपयको सोख हुन्छ । कतिपय सुरक्षाका लागि कुकुर पाल्छन् । घरपालुवा जनवारमध्ये कुकुर धेरै प्रिय हुने गर्दछ । समय परिवर्तन भएसँगै विभिन्न प्रजातिका कुकुर पाइन्छन् । पछिल्ला दिनमा नेपाली भन्दा पनि विदेशी कुकुर नै धेरै देखिन्छन् । कुकुरका फाइदा धेरै छन् । कुकुरले मानिसको स्वास्थ्यमा समेत फाइदा गर्ने एक अनुसन्धानले सार्वजनिक गरेको छ । केही समय अगाडि गरिएको अनुसन्धानले कुकुर पाल्नुका फाइदा सार्वजनिक गरेको हो । 

 कुकुर पाल्नुका फाइदा
अमेरिकाको बार्कपोस्टले कुकुर पाल्नुका फाइदा सार्वजनिक गरेको हो । जस्तैः मुड राम्रो बनाउन साथ दिन्छ । बच्चामा हुनसक्ने छालाको रोग जोगाउन सहयोग गर्छ । कार्डियोभास्कुलर रोगको जोखिमबाट जोगाउछ । मानिसलाई स्वास्थ्य दैनिकीतर्फ सधै प्रोत्साहित गर्छ । मानिसलाई सक्रिय बनाउछ, । हृदयघात हुनबाट जोगाउछ । कुकुर पालिएको घरका बालबालिका चलाख हुन्छन् । घरमै कुकुर भएपछि परिवारले सुरक्षित महसुस गर्छन् । दिक्कलाग्दो वातावरण सिर्जना हुनबाट टाढै राख्छ । जोखिममा कुकुरले जीवन बचाउन साथ दिन्छ ।कुकुरको मूल विशेषता यही हो कि यो भुक्न सक्छ, आक्रमण गर्न सक्छ । कुकुर स्वामीभक्त पनि हुन्छ । स्वामीको लागि ज्यानै दिने कुकुरहरू पनि पाइन्छन् ।


कुकुरका झन्डै सात सय एक विशुद्ध प्रजातिहरू पाइन्छन् । मिस्कट र भुस्याहा जाति–प्रजाति भने थुप्रै हुन्छन् । हजारौं । झन्डै दुई सय पचास प्रजातिका कुकुरहरू घरमा पाल्नका लागि योग्य मानिन्छन् । अफगान हाउन्ड, अकिता, अलास्कन मलाउमट, अस्ट्रेलियन कैटल, अस्ट्रेलियन केल्पी, अस्ट्रेलियन सिल्की टेरियर, एल्सेसियन, बीगल, बेल्जियन सेर्फड, जर्मन सेर्फड, ब्लड हाउन्ड, बक्सर, ब्रिटिस बुलडग, शिहुआहुवा, जर्मन प्वाइन्टर, डोवरम्यान, ल्याबराडोर प्यापिलन, माल्टेज, पमेरियन, पुडल, साइबेरियन हस्की, तिब्बती स्पानियल, गोल्डन रिट्रिवर, ग्रेट डेन, आइरिस सेटर, आइरिस वुल्फहाउन्डजस्ता प्रजातिका कुकुरहरू विश्वका सर्वा्धिक लोकप्रिय प्रजातिहरू मानिन्छन् । बोर्डर कोली, पुडल र गोल्डन रिट्रिवर सबैभन्दा समझदार कुकुर मानिन्छन् । अफगान हाउन्ड भने सबैभन्दा मूर्ख र ल्वाँदे कुकुर मानिन्छ । संसारको सबैभन्दा सानो र हलुंगो कुकुर शिहुआहुआ हो र सबैभन्दा ठूलो र गरुंगो कुकुर वुल्फहाउन्ड हो । 


कुकुरहरूको सबैभन्दा महत्वपूर्ण अंग भनेको नाक र कान हो । कुकुरको आँखा निकै कमजोर हुन्छ । यसले रङहरू चिन्न र छुट्याउन सक्दैन । अर्थात् कलर ब्लाइन्ड हुन्छ । यसले केवल ब्ल्याक एन्ड ह्वाइट मात्र देख्नसक्छ । त्यसैले कुकुरको सुघ्ने र सुन्ने शक्ति गजबको हुन्छ । स्वामीको गन्ध र बोली यसले गजबले चिन्छ । केही कुकुरहरू त स्वामीको कार, जुत्ता, पोशाक, बन्दुक पनि चिन्दछन् । कुकुरहरूको सुन्ने क्षमता मान्छेको भन्दा बढी हुन्छ । सँुघ्ने क्षमता त झन् एक हजार गुना नै बढी हुन्छ । त्यसैले त भनिन्छ, स्थिति र परिस्थिति यसले निकै चाँडै ठम्याउन सक्छ । र, त्यही परिस्थितिअनुसार स्वामीभक्ति गर्न सक्छ । कुकुरको अध्ययन अनुसंधान गर्ने वैज्ञानिकका अनुसार बाहिर गएका आफ्नो मालिक कुन बेला घर फर्किन्छन् भन्ने कुरा कुकुरलाई थाहा हुन्छ ।  (लेखक मनोविद् तथा मेमोरी ल्याब प्रमुख हुन् ।) 



No comments:

Post a Comment