Wednesday, July 8, 2020

हेल्थ फर्स्ट 

महिला, मन र मनोरोग
ओम बानियाँ

हिला र पुरुषको शारीरिक बनौट तथा रुपरंग भिन्न भिन्न हुन्छ । शारीरिक बनौट तथा रुपरंगले मात्र होइन, मानसिक र भावनात्मक रुपमा पनि महिला र पुरुषमा भिन्नता हुन्छ । आम महिला पुरुषको तुलनामा शारीरिक तथा मानसिक रुपमा कोमल तथा भावनात्मक रुपमा संवेदनशिल, भावुक र दयालु प्रकृतिका हुन्छन् । महिलाको मनमस्तिष्कमा विद्यमान यस्ता गुणहरुका कारण नै महिला सृष्टिकी जननी भएकी हुन् । दया, माया, ममता र कोमलताकी समुद्र भएकी हुन् । आफ्ना सन्तानलाई हुर्काउन तथा परिवार तथा समाजलाई एकताबद्ध गराउन महिलाका यस्ता गुणहरुले अहम भूमिका निभाउँछन् । तर कहिँलेकाही महिलाको कोमलता र भावुकता जस्ता गुणहरु स्वयं उनीहरुका लागि नै समस्या पनि बन्ने गर्छन् । 


गोधुलि समय थियो । उत्तरबाट सिरेसिरे हावा चलिरहेको थियो । नजिकैको रुखमा बसेको कोइलीले सुरिलो ‘गीत’ गाइरहेको थियो । मौसम सारै नै मनमोहक थियो । तर ज्योति (नाम परिवर्तन) का आँखा चाहीँ घरि हातको घडीतिर त घरी सडकतिर दौडिँरहेका थिए । उनको मन ब्याकुल थियो, छटपटि बढिरहेको थियो । उनले बेलाबेलामा मोबाइल थिच्थिन् । तर जति पटक मोबाइल थिच्दा पनि तँपाईले सम्पर्क गर्न खोजेको मोबाइल व्यस्त छ, पुनः सम्र्पक गर्नुहोला भन्ने आवाज आउँथ्यो । त्यो आवाज सुन्ने बित्तिकै उनले भुइँमा खुट्टा बर्जाथिन् । अनि फेरि सडकतिर नजर दौडाउँथिन् । बिस्तारै साँझ पर्न थाल्यो । यत्रतत्रबाट झ्याउँकीरीहरू ‘झ्याउँझ्याउँ गर्न थाले । उनले फेरि घडी हेरिन् । अनि उनी रिसले आगो हुँदै आफ्नो बाटो लागिन् । मुलबाटोमा पुगेपछि उनले घर फर्किन टैक्सी रोक्न के खोज्दै थिइन् कि एकाएक उनको नजर केही अगाडि प¥योः जीवन मोटरबाइक पछाडि ‘केटी’ राखेर सर्र हुइकिँदै थियो । त्यो दृश्य आँखामा पर्नासाथ ज्योतिलाई आफुले टेकेको जमीन भाँसिए जस्तो लाग्यो । एक्कासी झाँगाबाट खसे जस्तो र धड्कन रोकिए जस्तो भयो । उनी फटाफट टैक्सी चढेर घर गईन् । सरासर कोठामा पसेर बिछ्यौनामा मुढोझैँ पल्टिएर डाँको छोडेर रुन थालिन् । रुदा–रुदा आँसु रित्तिए । उनको मन फाट्यो, तन टुट्यो । उनलाई यो सारा संसार नै स्वार्थी र बेइमानी लाग्न थाल्यो । यसरी नै दिनहरू बित्दै गए । उनलाई खाना रुचि हुन छोड्यो । निद्रा लाग्न छोड्यो । उनी दुब्लाउँदै गइन् । उनको सोच्ने शक्ति तथा आत्मविश्वास घट्न थाल्यो । उनले आफुलाई नितान्त एक्लो र असहाय महसुस गर्न थालिन् । 


घटनालाई हेर्ने दृष्टिकोण(सोच)ले कसरी मÒड (मनस्थिति) निर्माण गर्छ र नकारात्मक मनस्थिति केही दिनसम्म कायमै रहेको खण्डमा त्यसले कसरी डिप्रेसनको रुप लिन्छ भन्ने यो एक दृष्टान्त हो । 

डिप्रेसन एक मनोवैज्ञानिक रोग हो । कतिपयले यसलाई भावनाको क्यान्सर पनि भन्ने गर्छन् । त्यो किनभने डिप्रेसनबाट भावुक प्रकृतिका मानिसहरु बढी प्रभावित हुने गर्छन् । पुरुषको तुलनामा महिलाहरु बढी संवेदनशील र भावुक हुने हुनाले डिप्रेसनबाट महिलाहरु नै बढी प्रभावित हुने गर्छन् । डिप्रेसनको प्रमुख लक्षण भनेको नै उदासिनता (खिन्नता) र कुनै कुराप्रति अभिरुचि नलाग्नु हो । त्यसो त आधुनिक गलाकाट प्रतिस्पर्धाको युगमा हरेक मानिसलाई आफ्नो जीवनको कुनै न कुनै क्षणमा उदासी (डिप्रेसन)को कटुअनुभव हुनेगर्छ । जब मानिसको जीवनमा कठिनाइ, असफलता, कुण्ठा तथा तीब्र तनाव उत्पन हुन्छ, तब व्यक्ति डिप्रेसनको सागरमा डुब्न पुग्दछ । तर अधिकांश यस्तो उदासी केही छिनमा वा एकदुई दिनमा नै ठीक हुन्छ । मानिस पुर्वावस्थामा नै फर्किन्छ र पुनः दैनिक जीवनमा रमाउनथाल्छ । तर दुईतीन हप्तासम्म यस्तो उदासी रहिरह्यो भने त्यो क्लिनिकल डिप्रेसन हुनसक्दछ । 


अतः उपर्युक्त लक्षणहरूबाट ज्योति पनि प्रमुख डिप्रेसनबाट पीडित भएको प्रष्ट हुन्छ । यस्तो डिप्रेसनलाई रियाक्टिभ डिप्रेसन भनिन्छ । यदि यस्ता लक्षणहरू दुई वर्ष भन्दा बढी समयसम्म देखा पर्छन् भने त्यसलाई जीर्ण डिप्रेसन (डिस्थिमिक डिसअर्डर) भनिन्छ । 

हो, मानिससँग नै मन छ । त्यसैले त मानिसको मन टुट्छ । र, टुटेको मनस्थितिले नै डिप्रेसन लगायतका मनोवैज्ञानिक समस्याहरू पैदा गर्छ । मानिसको यो मन अन्याय, अत्याचार, शोषण तथा थिचोमिचोका कारण पनि टुट्छ । कहिलेकाहीँ सानातिना कुराहरूले पनि यो मन सिसाझैं फुट्छ । सधैँ नमस्कार गर्ने मान्छेले कुनै दिन भुलेर नमस्कार नगर्दा नै यो मन फाट्छ । कसैले नदेखेर नमस्कार नर्फकाउँदा पनि यो मन फाट्छ । सँगै उभिएका दुई जना मध्ये एकलाई बस्ने आग्रह गर्ने तर अर्कोलाई केही नभन्ने हो भने पनि उसको यो मन धरत्तै फाट्छ । कति संवेदनशील र भावुक छ हगि मानिसको यो मन ? अझ महिलाको मन ?


प्रायः अतार्किक र नकारात्मक सोचले नै मानिसको मन फाट्छ, मुड बिग्रिन्छ । धेरैलाई थाहा भएको कुरा हो, मानिसको मनमा दुई सोचहरू हुन्छन्,  एउटा हो, सकारात्मक सोच र अर्को हो, नकारात्मक सोच । यहाँ मनन योग्य कुरा के हो भने मानिसको मनमस्तिष्क, शरीर र व्यवहारमा सोचको ज्यादै ठूलो प्रभाव पर्छ । यथार्थमा यही सोचकै आधारमा नै मानिसको आचारण र व्यवहार हुने गर्छ । त्यो किन भने जुन सोच बारम्बार मनमा आउँछ, त्यो संकल्प बन्छ । र, त्यही संकल्प नै मस्तिष्कमा सम्बद्ध हुन्छ । मनमस्तिष्कमा घटेको यही घटनाले नै जन्माउँछ, दुई संसार, फूलको आँखामा फूलै संसार, काँडाको संसारमा काँडै संसार ।

तर सोचको मनोविज्ञानलाई हेर्ने हो भने आममानिसमा कुनै एक सोच हुँदैन । दुवै सोच हुन्छ, फूल सोच पनि हुन्छ, काँडा सोच पनि हुन्छ । त्यसैले कहिले उनीहरू काँडा सोचमा हुन्छन् त कहिले फूल सोचमा हुन्छन् । त्यसैले त अधिकांश मानिस जहिले पनि दिग्भ्रमित हुन्छन् । के ठीक के बेठीक छुट्टाउन सक्दैनन् । अनि धेरै पटक आफैँले आफ्नो मुड बिगार्छन्, मन फटाउँछन् । ज्योतिलाई नै हेर्नुहोस् । ज्योतिले वास्तविकता के हो भन्ने बुझ्दै नबुझी बेकारमा आफ्नो मन फटालेर डिप्रेसनको रोगी बन्न पुगेकी छिन् । यसको मुल कारण उनको नकारात्मक र अतार्कीक सोच हो । त्यो किनभने जीवनको बाइकपछाडि बसेकी ‘त्यो केटी’ जीवनकी आफ्नै बैनी वा नातेदार बैनी पनि हुन सक्छे वा छिमेकी पनि हुन सक्छे ? सहकर्मी पनि हुन सक्छे ? होइन र ? 

यदि त्यो केटी जीवनकी ‘नयां प्रेमीका’ नै हो भने पनि त्यत्ति सारै मन फटालेर के हुन्छ र ? जति यो मन फटाल्यो त्यत्ति नै यो मन झन्–झन् फाट्दै जान्छ । अनि मानिस ‘जिउँदो लास’ बन्न पुग्दछ । त्यसैले यसरी नकारात्मक मुड बनाएर ज्योतिलेझैं मन फटालेकाहरूले बुझ्नुहोस्, जीवन गए, गौरव आउँछन् । गौरव गए, सलोन आउँछन् । सलोन गए, अनमोल आउँछन् । यो नै फाटेको मन टाल्ने सर्वोत्तम उपाय हो । तार्किक र सकारात्मक सोच नै जीवनको सच्चा सारथि हो । (लेखक स्नायुमनोविद् तथा मेमोरी ल्याब प्रमुख हुन् ।) 

सम्पर्क:


No comments:

Post a Comment