Wednesday, July 22, 2020

ब्रेन बाइट्स

भान्जासँग बुद्धको मामाघर
ओम बानियाँ

र्सादको दिन भए पनि आकाश सफा थियो । मैले आफ्नो काम सकाएर विदेशबाट आएका दिदी र भान्जालाई साँझ ४ बजे गौतम बुद्धको मामाघर देवदेह नगरपालिकाको देवदह घुमाउने योजना बनाएको थिएँ । भान्जाको रुचि पनि देवदह घुम्ने थियो । दिदी पटक पटक गौतम बुद्धको जन्मस्थल लुम्बिनी, उनको पिता राजा शुद्धोधनको दरबार तिलौराकोटमा जानु भएको भएता पनि बुद्धको मामाघर देवदह जानु भएको थिएन । तर भान्जा भने यस अघि १४ र १६ वर्षको उमेरमा मसँग देवदह गएका थिएँ । रामग्राम पनि गएका थिए । 


१४ वर्षको उमेरमा पहिलो पटक उनी देवदह पुग्दा खिन्न भएका थिए । त्यो किनभने बुद्धको मामाघर निकै उपेक्षित अवस्थामा थियोे । पार्क, मन्दिर, कुवा तथा पोखरीको कुनै स्याहारसंभार थिएन । त्यसबेला भान्जाले मलाई भनेका थिए, ‘मामा १ मैले पैसा कमाए भने देवदहको विकासमा सहयोग गर्ने छु ।’ हामीलाई जस्तै उनलाई पनि बुद्धको जन्मथलो लुम्बिनीसँगै बुद्धको मामाघर देबदहको पनि विकास होस् भन्ने चाहना थियो । त्यसैले उनी हरेक पटक नेपाल आउँदा देवदहको केही विकास भयो कि भन्ने हेर्न चाहन्थे । तर, दुई वर्ष अघि दोस्रो पटक पुनः देवदह पुग्दा देवदह जस्ताको तस्तै थियो । बरु पार्क, प्राचिन कुवा र पोखरीमा फोहोर बढेको थियो । 

४ बजे नास्ता खाइवरी भान्जालाई गाडी निकाल्न भनेँ । १८ वर्षिय भान्जालाई गाडी चलाउन निकै रुचि छ । सोही कारण उनले नेपालमा गाडी चलाउने परमिट समेत ल्याएर आएका छन् । भान्जाले गाडी निकाले । हेमा दिदी, बुहारी जुना, भाइकी छोरी सुषमा, छोरा सुशान्त अनि म, सबै गाडीमा चढेपछि भान्जा सुबृतले कार अगाडि बढाए । सडकमा पोखिएको पानी उछिट्टाउँदै कार अगाडि बढ्यो । मैले भनेँ, ‘पहिला हिलपार्क जाऔं । अनि देवदह जाऊला ।’ दिदीले भन्नु भयो, पहिला देवदह जाऔं, फर्किदा हिलपार्क पसौला । मैले दिदीको कुरामा सहमती जनाएँ । गाडी बुटवलबाट महेन्द्र लोकमार्ग हुँदै देवदहतिर हुँक्कियो । 

सिद्धार्थ लोकमार्गमा भन्दा महेन्द्र लोकमार्गमा ट्राफिक चाप कम थियो । भान्जाले कारको गति बढाउँदै थिए, सुशान्त रमाउँदै थियो । हामी भने बेलाबेलामा भान्जालाई गाडीको गति कम गर्न सतर्क गर्दै थियौं । केही छिनमा गाडी शितलनगर पुग्यो । र, मैले भान्जालाई गाडी दाँयातिर मोड्न भनेँ । भान्जाले त्यसै गरे । अनि गाडी लोकमार्ग छोडेर भवानीपुरतिर बढ्यो । भान्जाले सडकमा रमाइरहेका हाँसका बथानहरुलाई जोगाउँदै भने, मामा ! यो सडक पहिला आउँदा कच्ची थियो होइन ? मैले सडकमा हिँडिरहेका बाख्रा धपाउँदै भनेँ, अँ । पहिला आउँदा यो सडक कच्ची थियो । जे होस् बुद्धको मामाघर जाने यो सडक पक्की त बने छ । तर शिवपुरबाट आउने बाटो चाहीँ अझ पनि कच्ची नै छ ।

भान्जाले कार रोके । कार बुद्धको मामाघरको गेटमा थियो । भान्जा कारबाट उत्रिएर भने, बुद्धको मामाघर त अहिले पनि उस्तै छ । हामी गेट भित्र फस्यौ । सानो पार्कमा स्थानीय मानिसले घाँस काटिरहेका थिए । सानो मन्दिर नजिकै स्कुले केटाहरु गुच्चा खेल्दै थिए । दिदी, बुहारी तथा भाइकी छोरी सुषमाले फोटो खिच्न थाले । पार्कको चारैतिर हेरेपछि भान्जालाई मैले भनेँ, भान्जा, यहाँ एउटा सानो परिवर्तन त भएछ, भन्न सक्छौ ? भान्जाले चारैतिर नजर दौडाएपछि भने, यो अशोक पिलर थिएन, अहिले छ ।


भान्जाको बोली भुइँमा खस्न नपाउँदै कुच्चा खेल्दै गरेको फुच्चेले भन्यो, पिलर त पहिल्यै थियो, फलामको बार मात्र पछि लगाएको हो । मैले भनेँ, साँच्चै हो ? उसले भन्यो, कस्तो नपत्याएको । एक बित्ताको टुपीवाला त्यो फुच्चे अन्य बालबालिका भन्दा शारीरिक बनावटमा मात्र होइन, बोलीचालीका हिसाबले पनि निकै फरक थियो । मैले सुनेको थिएँ, फोटोमा देखेको थिएँ, देवदेहको ठुलो रुख । तर मलाई त्यो रुख कहाँनिर छ भन्ने थाहा थिएन । अनि मैले भुरैहरु मध्यको ठुलो केटोलाई सोधेँ, यहाँ ठुलो रुख कहाँनिर छ ? मेरो आवाज सुन्ने बित्तिकै भुराहरु एकसाथ बोले, अलि अघि गएपछि दायाँतिर जानुस्, त्यही छ पकडी बृक्ष । मैले सोधेँ, तिमीहरुलाई थाहा छ, त्यो रुख कति वर्ष पुरानो हो ? त्यही टुप्पीवाला फुच्चे बोल्यो, १ सय ८० वर्ष पुरानो । 


मैले हाँस्दै भनेँ, तिमीलाई कसरी थाहा भयो, तिमी त १० वर्षका छौ । उसले गुच्चा समाउँदै भन्यो, सामान्य ज्ञानमा त्यहीं लेखेको छ । मैले उसलाई समाउँदै भनें, अरे तिमी त जीके मास्टर नै रहेछौ । कति कक्षामा पढ्छौ ? ‘६ कक्षामा ।’ ‘५ कक्षामा कति अंक ल्याएका थियौं ?’ ‘९५ प्रतिशत ।’ ‘अनि पढेर के गर्ने हो ?’ ‘इच्छा त डाक्टर बन्ने छ । तर, पढ्न पाइएला जस्तो छैन ।’ किन ?’ ‘डाक्टर पढ्न ५०, ६० लाख लाग्छ रे, त्यत्रो पैसा त हाम्रो र अंकलहरुको सबै सम्पत्ति बेचेपनि हुँदैन ।’त्यो फुच्चेको कुराले मलाई स्तब्ध बनायो । त्यो मेधावी फुच्चे बाहुन भएकाले कोटा पनि पाउँदैन । ऊ ठुलो धनराशी खर्च गरेर मेडिसिन पनि पढ्न सक्दैन । हाम्रो नेपालमा यस्ता मेधावी विद्यार्थीको भविष्य के होला ? मैले सोधेँ, डाक्टर गोबिन्द केसीको आन्दोलन थाहा छ ?’ उसले भन्यो, थाहा छ । बाबा भन्दै हुनुहुन्थ्यो, गोबिन्द केसीको आन्दोलन सफल भयो भने हामी जस्ता गरीबका छोराछोरीहरुले पनि मेडिसिन पढ्ने औसर पाउँछौ रे ।’ उसले अगाडि भन्यो, मैले डाक्टर पढ्न पाए भने यही आएर काम गर्छु । पैसा कमाए भने यो बुद्धको मामाघर पनि राम्रो बनाउँछु ।’ 

मैले भान्जातिर हेरें । भान्जा पनि मुसुक्क हाँसे । भान्जाले पनि पहिलो चोटि यहाँ आउँदा बुद्धको मामाघर देखेर पैसा कमाए भने बुद्धको मामाघर पनि राम्रो बनाउँछु भनेका थिए ।


आकाश खैरो बादलले ढाकिएको थियो । तर पानी परेको थिएन । हामी गाडीमा चढ्यौ । गाडीबाट मैले बुद्धको मामाघरलाई निहालेँ । किन होला, यति महत्वपुर्ण स्थानलाई सरकारले महत्व नदिएको ? गाडी अगाडि बढ्यो । र, पकडी बृक्ष जाने बाटो लेखिएको सानो बोर्ड नजिकै रोकियो । बाटो सानो छ । कच्ची छ । खाल्टाखुल्टी परेको छ । भान्जालाई सन्देह लाग्यो, यो बाटोमा कार जान्छ कि जाँदैन । अनि म कारबाट उत्रिएँ । मैले उताबाट आउँदै गरेको एक जोगी जस्तो मानिसलाई देखेँ । सोधें । ‘पकडी बृक्ष हेर्न आएको । यो बाटो कस्तो छ ? गाडी जान्छ ?’ उसले भन्यो, ‘जान्छ । मजाले जान्छ ।’ भान्जाले गाडी अगाडि बढाए । तर बाटो उसले भने जस्तो थिएन । एक ठाउँमा त धन्नै कार ‘पानीजहाज’ भएको थियो । बल्लतल्ल गाडी पकडी बृक्षको गेटमा पुग्यो । हाम्रो आँखा अगाडि एउटा विशाल बृक्ष थियो । साँच्चै यति ठुलो बृक्ष हामीले कहिल्यै देखेका थिएनौं । सबैका मोबाइल क्यामेराहरु क्लिक क्लिक क्लिक गर्न थाले । मैले गार्डलाई सोधेँ, यो रुख कति वर्ष पुरानो हो ?’ उनले भने, बुद्धको पालाको भन्छन् ।’ ‘यसको मतलब २५, २६ सय वर्ष पुरानो ?’ मलाई विश्वास लागेन । यो रुखको बारेमा त्यहाँ कतै उल्लेख थिएन । जे होस् यो रुख निकै पुरानो हो र यो निकै विशाल छ । हेर्न लायक छ । कसैले यस रुखलाई दक्षिण एसियाको सबैभन्दा ठुला रुख पनि भनेका छन् ।

गेटबाट बाहिर निक्लिदै गर्दा सुशान्त मम्मीलाई लिएर चिसो किन्न गयो । बाफ रे बाफ ! सत्तरी रुपैयाँको फेन्टालाई सय रुपैयाँ रे ? २५ रुपैयाँको फु्रटीलाई ४० रुपैयाँ रे ? लोकमार्गको धार्के, रामनगरमा जस्तै यहाँ पनि लुट । मैले पसले साहुनीलाई भनेँ, यसरी नठग्नुहोस् । कारवाहीमा पर्नु होला । साहुनी अलि हच्चिकिइन् । जस्तोसुकै लुट गर्न पनि छुट भएको नेपालमा यिनलाई कारबाही गर्न यहाँ को आउँला ? म मनमनै हाँस्दै कारमा चडेँ । कार हिलपार्कको बाटो सोझियो । 

 (२०१७ मा नागरिक दैनिकमा प्रकाशित लेख। )
(नेपालमा मुख्यतः गौतम बुद्धका तीन महत्वपूर्ण स्थलहरु छन् । पहिलो उनी जन्मेको लुम्बिनी, दोस्रो उनले आफ्नो सकृय २९ बर्ष बिताएको कपिलबस्तु र तेस्रो उनको मामाघर तथा ससुराली कोलिय राज्य । उतीबेला यी क्षेत्रहरु दुई राज्य अन्तरगत पर्दथे । ‘गौतम बुद्धका बुवा शुद्धोधन शाक्य गणराज्य अन्तरगतको कपिलबस्तुका राजा थिए भने त्यसपूर्व दानव नदि (जो तिनाउ नदिभन्दा थोरै पश्चिमतर्फ छ) पारी र नारायणी नदिभन्दा पश्चिमपट्टि कोलिय गणराज्य अन्तरगतको दुई राज्यहरु क्रमशः देवदह र रामग्राम उल्लेख छ’, बरिष्ठ पुरातत्वविद् तथा बुद्धअध्ययनकर्ता तारानन्द मिश्र बताउँछन् ।)




No comments:

Post a Comment