Friday, July 24, 2020

ब्रेन बाइट्स 

उहिलेका, अहिलेका र गणतन्त्र नेपालका चलचित्र 
ओम बानियाँ

क जना मजदुरको साइकल चोरिन्छ, जुन साइकल उसको जीविका चलाउने एक मात्र साधान हो । त्यही साइकलको मद्धतबाट नै उसले रोमको ठाउँ–ठाउँमा गएर पोष्टर टाँस्ने गर्दथ्यो । उसले प्रहरीमा रिर्पोट गर्छ, तर प्रहरीले समेत चोरिएको साइकल भेटाउन सक्दैन । ऊ निराश भएर घर फर्किन्छ । तर बाटोमा उसले साइकल चोरलाई देख्छ र समातेर प्रहरी कार्यालयमा पु¥याउँछ । तर प्रमाण नभएको कारण देखाइ प्रहरीले चोरलाई छोडिदिन्छ । हातमा आएको चोरलाई पनि प्रहरीले छोडिदिए पछि ज्यादै निराश भएको मजदुर र उसको छोरो एउटा रंगशाला नजिकै बसिरहेका हुन्छन् । त्यसैबेला उसकोे नजर एउटा साइकलमा पर्दछ । मजदुर लोभिन्छ । साइकल चोरेर भाग्न लाग्दा रंगेहात समातिन्छ । तर साइकल मालिकले त्यो मजदुरको अनुहारमा विवशता र निर्दोषताको भाव देख्दछ । र, उसलाई छोडिदिन्छ । अब त्यो मजदुर चोर पनि पहिलाको पेसेवर चोर जस्तै स्वतन्त्र हुन्छ । यो कथा चलचित्र द बाइसकल थीव्स्को हो ।


द बाइसकल थीव्स् इटालीका महान् निर्देशक बितेरियो डे–सीकाद्वारा निर्देशित कालजयी चलचित्र हो । वास्तवमा पर्दामा कोरिएको डे–सीकाको यो अमर आवाज हो । त्यसैले त यो आवाज ६० वर्षपछि पनि उत्तिकै जोडदार छ । वास्तवमा डे–सीकाले नै चलचित्र संसारमा नवयथार्थवादको वीजारोपण गरेका थिए । तर डे–सीकाको यो धारले कुनै राजनीति सिद्धान्तको प्रतिपादन वा पक्षपोषण गरेन, बरू मानवीय मुल्य र मान्यताहरूमाथि मानिसलाई संवेदनशिलता र सचेतपुर्वक सोच्न बाद्य तुल्यायो । उनले एक पटक भनेका थिएः “हामी किन एउटी स्त्रीले एकजोर जुत्ता किन्दै गरेको विषयमााथि फिल्म बनाउन सक्दैनौ ?” त्यसैले त डे–सीकाले थुप्रै राम्रा सार्थक चलचित्रहरू बनाए, बाइसकल थीव्स् मात्र होइन कि डे–सीकाको शु शाइन पनि त्यत्तिकै उत्कृष्ट चलचित्र हो ।


सन् १९६० मा शु शाइनको प्रदर्शनको बेलामा सिटीजन केन बनाउने महान् निर्देशक अर्सन वेल्सले भनेका थिएः “हालै म शु शाइन हेर्न दौडिँदै गएँ । तर त्यहाँ क्यामेरा हरायो, पर्दा पनि हरायो, त्यहाँ त फगत एउटा जीवन थियो, जीवन ।” डे–सीकाको यो नवयथार्थवादी आवाजको धारलाई धेरैले सह्राए, धेरैले पछाए पनि । ओस्कर पुरस्कारद्वारा सम्मानित भारतका महान् निर्देशक सत्यजीत रे भनेका नै थिएः “मैले चलचित्र निर्माणको विधि सन् १९३०, ४०, ५०का अमेरिकन चलचित्रहरूबाट सिकेँ । त्यसपछि गंभिर चलचित्रतिर आकृष्ट भएँ– जस्तो कि डे–सीका, उनीहरू हर दृष्टिकोणमा मेरा गुरू हुन्, पथप्रदर्शक हुन् । मैले उनीहरूबाटै सिकेँ । कतिपय सिकेका कुराहरू मैले मेरो मस्तिष्कको पछिल्लो भागमा लुकाई राखेँ, जुन मैले सम्भवतः मेरा चलचित्रहरूमा देखाएको छु ।” त्यसैले त उनले विश्व चलचित्र जगतलाई पाथर पाञ्चाली जस्तो कालजयी बंगाली चलचित्र दिए । यस चलचित्रका हरेक दृश्यहरू यथार्थ, सजीव र हृदय छुने खालका छन् । अप्पु र दुर्गाले पहिलो पटक रेल देख्दाको दृश्यको भाव र जुम्लाका नेपाली बालबालिकाले पहिलो पल्ट मोटर देखेको वास्तविक भाव कताकता मिल्न जान्छ ।


नेपालको कथा–व्यथा ज्यादै विचित्रको छ । नेपालमा त भारतीय हिन्दी चलचित्रहरूको ज्यादै ठुलो बोलवाला छ । यस्तो बोलवालाले गर्दा नै नेपाली चलचित्र जगत ६० वर्षको उमेरमा पनि उही नेपालको लोकतन्त्रझैं भएको छ, कहिल्यै उठ्न सक्ने होइन । धेरै पहिला, ५५ सालतिर एकाध महिना माओवादीहरूले हिन्दी चलचित्रलाई नेपालमा प्रतिबन्ध नै लगाएका थिए, तर त्यो प्रतिबन्ध हात्ती आयो हात्ती आयो फुस्सा नै भयो । मजाको कुरा के भने प्रचण्ड नै हिन्दी चलचित्रका किरो रहेछन् । त्यसो त नेपाली मस्तिष्कमा हिन्दी चलचित्रको प्रभाव पर्नु कुनै अनौठो होइन, वास्तवमा हामी धार्मिक–सांस्कृतिक तथा राजनीति सबै कुराबाट प्रभावित छौँ । तर हिन्दी चलचित्रहरू एक से एक राम्रा पनि छन्, त्यत्ति नै खराब पनि छन् । उहिलेका हिन्दी चलचित्रहरू अहिलेका भन्दा धेरै राम्रा थिए ।

भारतमा हिन्दी चलचित्रको इतिहास हेर्ने हो सय वर्षको अवधीमा दसौँ हजार हिन्दी चलचित्रहरू बनेका छन् । सय वर्षका दसौँ हजार चलचित्रहरू मध्ये उत्कृष्ट दस हिन्दी चलचित्रहरूको मात्र नाउँ लिनु पर्दा  मदर ईण्डिया, दो बिगा जमीन, दोस्ती, शोले, आनन्द, क्रान्ति, अन्धा कानुन, मैं आजाद हूँ, क्रान्तिवीर तथा हिन्दुस्थानीको नाउँ लिन सकिन्छ । नरगिस दत्तको प्रमुख भूमिका रहेको मदर इण्डिया तथा बलराज साहनीको माष्टर पीस् दो बिगा जमीन जस्ता कालजयी हिन्दी चलचित्रहरू एक पटक हेर्नै पर्ने चलचित्रहरू हुन् । मदर इण्डियामा नरगिसले जमीनदारबाट सताइएकी एक गरीब किसान कि विधुवाको जीवन्त अभिनयलाई पर्दामा उतारेकी छिन् । उनले बाँच्नको लागि संर्घष गर्छिन्, नारी अस्मिता जोगाउन संघर्ष गर्छिन्, आफैं हलो जोत्छिन् र दुई स–साना छोरालाई बोकेर नै जमीनमा दस नङ्ग्रा खियाउँछिन् । छोराहरू ठूला भएपछि जमीनदारहरूको शोषण र अत्याचारको बिरूद्धमा लड्छन् । ठुलो छोरो राजेन्द्र कुमार कानुनको बाटोबाट अगाडि बढ्न खोज्दछ । तर कान्छो छोरो सनिल दत्त खुनको बदला खुनको बाटोमा अगाडि बढ्छ । एक दिन जमीनदारको छोरीलाई नै जबर्जस्ती अपहरण गर्न खोज्छ । त्यो देखेर नरगिसले उसलाई छोडिदिन चेतावनी दिन्छिन् । तर ऊ जमीनदारीकी छोरीले लिएर भाग्न थाल्छ, नरगिसले एउटी नारीमाथि छोराको बलमिचाइँ सहन सक्दिनन्, बन्दुक उठाउँछिन्, आफ्नै छोरामाथि गोली चलाउँछिन् । ऊ भुइँमा ढल्छ ।


मदर इण्डिया एउटा महान् सामाजीक चलचित्र हो । तर अहिलेको जमानामा यस्तो चलचित्रको आसा गर्न बेकार नै छ । त्यो किनभने अहिले त अभिनय प्रर्दशन होइन कि अंग प्रदर्शनको जमाना आएको छ । नाङ्गो नाचले पर्दामा धुम मच्चाएको छ । वास्तवमा जताततै फ्युजनको जमाना पो आएको छः संगीतमा फ्युजन, गीतमा फ्युजन, चलचित्रमा फ्युजन, राजनीतिमा फ्युजन । तर यो फ्युजनको लहडले जनतालाई नै कन्फ्युजन बनाइदिएको छ । वास्तवमा नेपालको राजनीतिमा फ्युजनको नाउँमा र गीत–संगीतमा रिमिक्स र नयाँपनको नाउँमा नांगो नाच नै भएको छ । त्यसैले त जसले जे गरे पनि भएकै छ । 

हो, चलचित्र हेर्ने कुरा खराब होइन, यदि खराब हो भने कथा, उपन्यास वा किताब पढ्ने कुरा पनि खराब हो । चलचित्रको सम्बन्धमा हामीले के बुझ्न जरूरी छ भने राम्रा चलचित्रले मानिसलाई मनोरञ्जन मात्र होइन कि ज्ञान दिन्छ, विज्ञान दिन्छ, कथा दिन्छ, गीत दिन्छ, संगीत दिन्छ, परम्परा र संस्कृति दिन्छ, जीवनमा अघि बढ्ने उत्प्र्रेरणा दिन्छ । यो आँखाबाट सीधैँ मस्तिष्कमा पुग्दछ ।  त्यसो त नेपाली चलचित्र आरम्भ नै विज्ञापनबाट भएको हो, शाही सत्ताको विज्ञापनबाट । राजा महेन्द्रले देहरादुनबाट झिकाएका हिरासिंह खत्रीको निर्देशनमा वि.स. २०२२ सालमा पहिलो नेपाली चलचित्र आमा बन्यो । तर आमा लगायत हिजो आज भोलि, परिवर्तन, मनको बाँध, कुमारी तथा २५ वसन्त (२०४५) आदि जस्ता चलचित्रहरू केवल शाही चलचित्रहरू सावित भए । यी चलचित्रहरूमा राजतन्त्र र पंचायती व्यवस्थाको स्तुती बाहेक अरू के नै छ र ? पंचायती व्यवस्थाले २५ वर्ष पार गरेको उपलक्ष्यमा बनाइएको २५ वसन्तको प्रदर्शन ताका त दर्शक भन्दा प्रहरी र कर्मचारीको उपस्थिति ठुलो थियो । तर २५ वसन्तको दुर्भाग्य के भने नीर शाहले नायक बनाएका हरिहर शर्मा यथार्थमा खलनायक सावित भए भने बम पड्काउने मदनदास श्रेष्ठ जनताको नजरमा एकाएक नायक बने । पंचायती व्यवस्थाको विज्ञापन गर्न बनाइएको यो चलचित्रले उल्टो पंचायती व्यवस्थाप्रति जनआस्थाको आन्द्राभँुडी नै देखाइदियो । त्यसको एक वर्षपछि त पंचायती व्यवस्थाले नै उत्तानो टाङ लगायो । वास्तवमा यस्ता स्तुति गानका चलचित्रहरूको कहीँ कतै कुनै भविष्य छैन । पैसा तिरीतिरी पर्दामा पार्टीको विज्ञापन हेर्न को पो जान्छन् ? जनताको आवाज भनेर मात्र हुन्छ र ? त्यसो त नेपालमा केही राम्रा चलचित्रहरु नबनेका होइन, बनेका छन् । कतिपय चलचित्रकर्मीहरु नेपाली चलचित्र जगतलाई गुणस्तरीय बनाउन लागिपरेका छन् । नयाँ नयाँ प्रयोगहरु पनि गरिरहेका छन् । 



मानव मन मस्तिष्कमा चलचित्रको अमिट छाप पर्दछ । त्यो छापले मानिसको आचार–विचार नै प्रभावित पारिरहेको हुन्छ । त्यसैले चलचित्र निर्माण गर्दा चित्रकर्मी एकदम सचेत र संवेदनशिल हुनु पर्दछ । यसको व्यापारलाई मात्र होइन कि समाज र राष्ट्रमा यसले पार्ने प्रभावको बारेमा समेत गम्भिर हुनु पर्दछ । त्यसैले चलचित्रमा राष्ट्र, राष्ट्रियता र देशको अखण्डतामा आँच आउने एक दृश्य वा एउटा संवाद पनि राख्नु हँुदैन । अब लोकतान्त्रिक गणतन्त्र नेपाललाई बलियो र समृद्धिशाली बनाउन चलचित्रकर्मीहरूले अझ ठुलो भुमिका निभाउनुपर्दछ । लोकतन्त्रको केन्द्रमा रहेर नेपाली माटोको चलचित्र बनाउनु पर्दछ । नेपाली चलचित्रकर्मीहरूबाट गणतन्त्र नेपालले यही अपेक्षा गरेको छ । 






No comments:

Post a Comment