Wednesday, July 1, 2020

ब्रेन बाइट्स 
मुभि, मानव र मस्तिष्क
ओम बानियाँ

न् १९०३ मा बनेको चलचित्र ‘द गे्रट टे«न रबरी’ लाई पहिलो चलचित्र मान्ने हो भने विश्व चलचित्र संसारले अहिले ११७ वर्ष पार गरेको छ । यस अवधीमा लाखौँ चलचित्रहरू बनिसकेका छन् । तर ती मध्य आँैलामा गन्न सकिने चलचित्रहरू मात्र कालजयी भएका छन् । नयाँ पिंढीका बौद्धिक दर्शकहरूको मनमस्तिष्कमा समेत अझैँ जीवित छन् । वास्तवमा यस्ता चलचित्रहरूले कुनै देशको सयौं राजदूतहरूले भन्दा पनि बढी काम गरेका छन् । आकिरो कुरोसुवाको कालजयि जापानीज चलचित्र रशोमनले विश्वभरि नै जापानी झण्डालाई फर्फरायो । अझ पनि रसोमनले जापानलाई चिनाउँछ । 


सन् १९५५ मा निर्मित भारतमा निर्मित बंगाली चलचित्र ‘पाथर पाञ्चाली’ ले पनि विश्वको ध्यान तान्यो । पाथर पाञ्चालीका कारण नै भारतलाई लाखौं विदेशी दर्शकहरूले सत्यजित रेको देश भनेर सम्झिन थाले । वास्तवमा भारतका कुनै राजदूतले गर्न नसकेको कार्य सत्यजित रेको चलचित्र पाथर पाञ्चालीले ग¥यो । लोकतान्त्रिक मुलुक भारत र तत्कालिन कम्यूनिष्ट मुलुक रूसको आपसी सम्बन्ध प्रगाढ बनाउन पनि भारतीय चलचित्रहरूको ठूलो भूमिका रहेको जगजाहेर नै छ । उति वेला राज कपूर तथा नरगिस दत्तका चलचित्रहरू रूसमा ज्यादै नै लोकप्रिय हुने गर्थे रे । अझ पनि भारतलाई रसियनहरूले राज कपूर तथा नरगिसको देश भनेर चिन्ने गर्छन् । भारतीयहरूलाई न्यानो माया गर्छन् । मानव मनमस्तिष्कमा चलचित्रको प्रभाव कति र कस्तो हुन्छ भन्ने कुरा यसैबाट प्रष्ट हुन्छ ।


हो, मानव मनमस्तिष्कमा चलचित्रको प्रभाव ज्यादै अद्भूत हुने गर्छ । चलचित्रले दर्शकको मनमस्तिष्कलाई मात्र होइन कि चलचित्रमा अभिनय गर्ने कलाकारहरुको मनमस्तिष्कमा समेत गहिरो प्रभाव पार्दछ । यस्तो प्रभाव सकारात्मक तथा नकारात्मक दुवै हुने गर्छ । त्यसैले नै सृजनशिल हातहरूले मन र मुटुको तारताम्य मिलाएर मानवीय संवेदनशिलताको गहिराइमा गोता लगाइ मानव–मानव बीचको अन्तर्सम्बन्ध, त्यो सम्बन्ध भित्रको माया–ममता, प्रेम–भाइचाराको साथै स्वार्थ, अहंकार, वितृष्णा, अन्याय, अत्याचार, भ्रष्टचार, शोषण, तथा थिचोमिचोहरूलाई मौलिक र सटीकरूपमा पर्दामा उर्ताछन् भने निश्चितरूपमा यस्ता चलचित्रहरूले मानिसहरूको मन र मुटुलाई छुन्छन् । मस्तिष्कमा बस्छन् । र, नै त कालजयी बन्छन् । कालजयी चलचित्रले त कुनै देशको राजदूतले गर्न नसक्ने कार्य गर्छन्, गरिरहेका छन् ।


तर, नेपाली चलचित्रको कथा–व्यथा ज्यादै विचित्रको छ । नेपालको चलचित्र बजार त हिन्दी सिनेमा उद्योगद्धारा बेस्सरी थिचिएको छ, किचिएको छ । त्यहीमाथि नेपाली सिनेकर्मीहरूमा चोर प्रवृत्ति हाबी छ । वास्तवमा भन्ने हो भने अधिकांश नेपाली चलचित्र हिन्दी चलचित्रका नेपाली संस्करण नै हुन् । यो कुरा राजेश हमाल जस्ता बौद्धिक कलाकारहरूले स्वीकारेका पनि छन् । त्यसैले त नेपाल चलचित्र प्राविधिक संघद्वारा महानायकको उपाधि पाएका राजेश हमालले भन्ने गर्छन्, मैले अहिलेसम्म उल्लेखनीय एउटा पनि चलचित्र खेल्न पाएको छैन । नेपाली चलचित्र जगतका महानायकको यो भनाइबाट नेपाली चलचित्रको स्तर कस्तो रहेछ भन्ने स्वतः प्रष्ट हुन्छ । त्यसैले त नेपाली चलचित्र जगत ५० वर्षको उमेरमा पनि नेपालको लोकतन्त्रझै भएको छ, कहिल्यै उठ्न सकेको छैन । 

हिजोआजका जति पनि नेपाली सिनेकर्मीहरू छन्, ती सबै प्रायः हिन्दी चलचित्रहरू हेरेर नै हुर्के बढेका हुन् । हिन्दी चलचित्रहरूबाट नै उनीहरूले धेरै कुराहरू सिकेका हुन् । च्यानल टीभीमा पनि हिन्दी चलचित्र तथा कार्यक्रम हेर्नेहरूको संख्या नेपालमा धेरै छ । त्यसैले नेपाली मनमस्तिष्कमा हिन्दी चलचित्रको प्रभाव पर्नु कुनै अनौठो कुरा होइन । वास्तवमा हामी धार्मिक–सांस्कृतिक तथा राजनीति सबै कुराबाट प्रभावित छौँ । तर हिन्दी चलचित्रहरू एक से एक राम्रा पनि छन्, त्यत्ति नै खराब पनि छन् । धेरै हिन्दी चलचित्रहरू पनि हलिउड र दक्षिण भारतीय भाषाका चलचित्रहरूको नक्कल गरेर बनाउने गरिन्छ । तर उहिलेका हिन्दी चलचित्रहरू अहिलेका भन्दा धेरै राम्रा थिए ।

 २०२२ सालमा हिरासिंह खत्रीको निर्देशिनमा बनेको आमा (२००७ सालमा भारतबाट नेपाली भाषाको चलचित्र सत्य हरिशचन्द्र बनेको थियो ।) लाई पहिलो नेपाली चलचित्र मान्ने हो भने नेपाली चलचित्रले पनि ५२ वर्ष पार गरिसकेको छ । यस अवधिमा हजारौँ नेपाली चलचित्रहरू बनिसकेका छन् । तर नेपालमा एउटा पनि कालजयी चलचित्र बन्न सकिरहेका छैन । करिब एक दशक पहिला डोल्पेली भाषाको ‘क्याराभान’ बन्यो । यो चलचित्रले नेपालको डोल्पालाई अमेरिका तथा युरोपका देशहरूमा पुरायो । विश्व चर्चित भयो । तर विडम्बना के भने यो फ्रान्सिली निर्देशक एरिक भ्यालीको फिल्म बनेर रह्यो ।


वर्षौ पहिला निर्देशक प्रताप सुब्बाले एउटा सार्थक प्रयास गरेका थिए, परालको आगो बनाएर ! तर त्यसपछि उनले परालको आगोहरू बनाउन सकेनन् । चट्याङ बनाए । भीष्म प्रतिज्ञा बनाए । कहीँ अँध्यारो कहीँ उज्यालो बनाए । र, आफैँ अँध्यारोमा हराए । अर्का निर्देशक नीर शाहले वासुदेव बनाएर ठÒलो प्रशंसा बटुलेका थिए । तर उनले बासुदेवबाट कमाएको बौद्धिक साख २५ वसन्तमा लिलामी गराए । वसन्तीबाट उनले आफ्नो घुमेको प्रतिष्ठा पुनर्जीवित गरे । 

हो, निर शाहसँग चलचित्र निर्माणको राम्रो ज्ञान छ, क्षमता पनि छ । निर शाह राम्रा कलाकार हुन् । तर त्यो भन्दा राम्रा निर्देशक हुन् । त्यसैले उनले मिनी स्कर्ट लगाई नाइटो देखाएर चलचित्र हिट गराउन खोज्ने रेखा थापाहरूको चलचित्रहरूमा हल्काफुल्का भुमिकाहरूमा अभिनय गरेर आफ्नो श्रम र समय नष्ट गर्नु भन्दा राम्रो टिम बनाएर, गहन अध्ययन तथा अनुसंधान गरेर स्तरीय नेपाली चलचित्रको निर्माणमा आफ्नो ज्ञान, सीप र क्षमतलाई सदुपयोग गर्नु नै नेपाली चलचित्र जगतकालागि सार्थक योगदान ठहरिनेछ । 

अर्का वरिष्ट निर्देशक तुलसी घिमिरेका तीन–तीन नेपालीहरूले रजत जयन्ती नै मनाए । तर उनको दक्षिणा मात्र बौद्धिक मनमस्तिकमा बस्यो । दक्षिणाले तुलसी घिमिरेलाई नाम पनि दियो । दाम पनि दियो । तर करिव १०–१५ वर्ष पूर्व निर्देशक तुलसी घिमिरेले पहाड बनाउने कुरा गर्दै थिए । त्यसताका तुलसी घिमिरेले भनेका नै थिए, “पहाड मेरो ड्रिम प्रोजेक्ट हो । यो अति नै रिस्की पनि छ । पहाड बनाएपछि ममा चलचित्र बनाउने तिर्खा बाँकी रहन्छ वा रहँदैन भन्न सक्दिनँ । टीमसँग कुरा चलिरहेको छ । श्रावणलाई भनिदिएको छु, पहाडले ठूलो आर्थिक घाटा पनि पु¥याउन सक्दछ ! तर यसले थुप्रै अन्तर्राष्ट्रिय पुरस्कारहरू जित्ने छ ।” 

तर यत्तिका वर्ष बितिसक्दा पनि पहाड पर्दामा देखिएन । बरु तुलसी घिमिरेका मितज्यु, रहर, बलिदान, दर्पण छाँया, दुई किनारा, देश तथा दृष्टिकोणहरू देखिए, पहाड भने देखिएन् । दक्षिणा तथा बलिदान जस्ता कृतिहरूले गर्दा तुलसी घिमिरेबाट केही आशा गर्न त सकिन्छ । तर अब त तुलसी थाकिसके जस्तो छ । निश्चितरूमा दक्षिणा, बासुदेव, परालको आगो, बसन्ती, नुमाफुङ, मसान तथा उमा आदि राम्रो प्रयास हुन् । तर यतिले पुग्दैन । मन र मुटु जोडेर बौद्धिक मस्तिष्कले सोच्ने हो भने सृजनशिल हातहरूका लागि नेपाली सिनेमा संसारमा केही गर्न सक्ने धेरै सम्भावाना छ । स्तरीय नेपाली सिनेमाका लागि बजार नभएको पनि होइन । राम्रा नेपाली सिनेमाले ८, १० करोडको बजार बनाउन कुनै गाह्रो पनि छैन । 


हामीसँग ‘स्तरीय सिनेमा’ बनाउने कथावस्तुहरूको कुनै कमी छैन । हामीसँग भीमसेन थापाको विषय छ । अंग्रेज युद्धको विषय छ । गौतम बुद्धको विषय छ । नेपाल एकीकरणको विषय छ । कोतपर्वको विषय छ । जंग बहादुरको विषय छ । चार शहीहदको विषय छ । वी.पी. कोइरालाको विषय छ । यी अन्तर्राष्ट्रिय चाँसोका विषय हुन सक्छन् । त्यसैले यस्ता विषयहरूलाई सस्ता हातहरूबाट लिलामी हुन दिनु हुँदैन । 

२०४६ सालको जनआन्दोलनका कमाण्डर स्वर्गीय गणेशमान सिंहको जीवनमा आधारित चलचित्र ‘वीर गणेशमान’ विषय राम्रो थियो । तर सस्ता हातहरूले गर्दा वीर गणेशमान नेपाल भित्र नै चल्न सकेन । वास्तवमा गणेशमान सिंह फाउण्डेशनले झारा टार्ने काम मात्र ग¥यो । कुशल सष्ट्रालाई सुम्पिएर गणेशमान सिंहको कथाब्यथालाई पर्दामा सजिव पार्नु पथ्र्यो । तर त्यही हुन सकेन । त्यसैले जुन नियति वीर गणेशमानले भोग्नु प¥यो, त्यो नियति वी.पी कोइराला आदिले भोग्न नपरोस् । वी.पी कोइरालाई नेपाली राजदूत सिनेमा बनाउनुपर्छ । र, नेपाल भित्र मात्रै होइन अन्तर्राष्ट्रिय बजारमा पु¥याउनुपर्छ ।

आँटे पछि नहुने केही छैन । कालजयी सिनेमा बनाउन ठूलो लगानी गर्नुपर्छ भन्ने छैन । सानो बजेटमा पनि राम्रो सिनेमा निमार्ण गर्न सकिन्छ । सत्यजित रेले ‘पाथर पाञ्चाली’मा करोडौं लगानी गरेका थिएनन् । तत्कालिन समयमा एउटा नेपाली सिनेमाको बजेटमा नै ‘पाथर पाञ्चाली’ बनाएका थिए । सानो बजेटको ‘पाथर पाञ्चाली’मा सत्यजित रेले भारतीय सिनेमाको सृजनशिलता र श्रेष्ठताको नमूनाको छाप छोड्न सफल भएका थिए । सा“च्चै, यो सिनेमामा सत्यजित रेले पुरोहित हरिहर रायको छाप्रो भित्रको दुःख, पीडा, वेदना र छटपटीलाई सजीवताका साथ पर्दामा उतारेका छन् । बालक अप्पु र दुर्गाले पहिलो पटक रेल देख्दाको दृश्य तथा गरीबीका कारण हरिहरले घर छोडेर जाँदा घरमा सर्प पसेको दृश्य ज्यादै नै मनोवैज्ञानिक तथा हृदयस्पर्शी छन् । 

यो कुरा सचेत निर्देशकहरूले बुझ्नुपर्छ । नेपालका बौद्धिक जगतले नेपाली चलचित्र निर्देशकहरूबाट यही अपेक्षा गरेका छन् । तर विडम्बना के भने अधिकांश राम्रा निर्देशकहरू पनि हिजोआज प्रियंका कार्कीहरूको नाइटो र कम्मरकै वरिपरि क्यामरा घुमारहेका छन् ।  एकतााका लूट र चपली हाईट हिट भएपछि त यौन मनोविज्ञानको नाममा घिनलाग्दा चलचित्रहरु निर्माणको होडनै चलेको थियो । तर अधिकांश यस्ता चलचित्रहरुले बक्स अफिसमा पानी पनि भन्न नसकेपछि यो लहड रोकिएको छ । अहिले आएर हल्काफल्का हास्य सिनेमाहरुले बजार तताएका छन् । तर उहिलेदेखि नै अधिकांश चलचित्रकर्मीको ध्यान स्तरीय चलचित्र निर्माणतिर भन्दा पनि बिकाउ चिलचित्रतिर केन्द्रित छ । त्यसैले त नेपालमा ‘नुमाफुङ’ बने पनि ‘पाथर पाञ्चाली’ बन्न सकेका छैनन्  । नेपाली चलचित्रहरूले नेपाली मन जित्न सकेका छैनन् ।

 पुछारमाः 
चलचित्र संसारको सबै भन्दा शक्तिशाली साहित्य हो । शैक्षिक प्रविधि पनि हो । मुवि मेडिसिन पनि हो । चलचित्रले मनोचिकित्साको कार्य गर्दछ । वास्तवमा चलचित्रमा दर्शकलाई सम्मोहित बनाएर उसको मनमस्तिष्क नै पुनस्र्मंरचना गर्ने समाथ्र्य हुन्छ। त्यसैले चलचित्रको उचित प्रयोग गर्नुपर्छ। चलचित्रले सीधैँ मानिसको मनमुटु छुन्छ भन्ने तथ्य आत्मसात् गरेर चलचित्रकर्मीहरूले मेहनत गरेर स्तरीय नेपाली चलचित्रहरू निर्माण गर्नुपर्छ । सकारात्मक सन्देश, राष्ट्रिय एकता तथा अखण्डलाई केन्द्रमा राखेर दर्शकलाई मनोरञ्जनका साथसाथै उत्प्रेरित गर्ने खालका चलचित्रहरू निर्माण गर्नु नै हरेक चलचित्रकर्मीको धर्म हो । नायकनायिकाको घिनलाग्दो चुम्बन। जबरजस्ती लादेको बेडसिन। नायिकाको नंग शरीर । अर्थ न बर्थको आइटम गीत । तथा मुक्कामुक्कीलाई केन्द्रमा राखेर चलचित्रहरु बनाउनु कत्ति पनि ठीक होइन । यस्ता चलचित्रहरूले ढिलोचाँडो समाजलाई भष्ट्र र नष्ट पार्न नै सगाउ पुराउँछ। चलचित्रको यो मनोविज्ञानलाई सरकारले पनि राम्रोसँग बुझ्नुपर्छ र चलचित्रकर्मीलाई स्तरीय चलचित्रहरु निर्माण गर्न प्रोत्साहित गर्ने तथा बजारु चलचित्रहरुलाई निरुत्साहित गर्ने नीति अख्तियार गर्नुपर्छ । 











Sunday, June 28, 2020

ब्रेन बाइट्सः
असार १५: दही-चिउरा
ओम बानियाँ 

ज असार १५ राष्ट्रिय धान दिवस । २०६१ सालमा कृषि मन्त्रालयले किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले मुलुकभरि असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको हो । यस वर्षको नारा ‘धान उत्पादनमा वृद्धि–आत्मनिर्भरता र समृद्धि  । राष्ट्रिय धान दिवस कृषि क्षेत्रसँग सम्वन्धित संघ संस्थाले विभिन्न कार्यक्रम गरि मनाउँदै आएका छन् । यस दिनलाई रोपाई महोत्सवका ?पमा समेत मनाउने गरिन्छ । मानो रोपेर मुरी फलाउने दिनका ?पमा ?पमा यस दिन अधिकांस स्थानमा रोपाई गरि धान दिवस मनाउने गरिन्छ । कृषि मन्त्रालयलसहित विभिन्न कृषि क्षेत्रमा काम गर्ने संघसंस्थाले धान रोपाई गरि यो दिवस मनाउने गर्दछन् । खेतमा रोपाई गरि दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका ?पमा समेत लिने गरिन्छ । वर्षायाम हिलाम्य भएको शरीरमा उर्जा दिने भएकाले दही च्युरा खाने चलन रहेको विज्ञहरू बताउँछन् ।

स्वास्थ्यवद्र्धक दही-चिउरा 



असार १५ धान दिवस मात्र होइन दही चिउरा खाने दिन पनि हो । आजको दिनलाई किसानहरुले विशेष रुपमा दही चिउरा खाने पर्वको रुपमा पनि मनाउँछन् । ग्रामिण क्षेत्रमा रोपाइ गर्ने किसान मात्रै होइन रोपाइ नगर्ने शहरीयाहरु पनि आज दही चिउरा खाएर यो दिनलाई दही चिउरा खाने विषेश दिनको रुपमा मनाएको पाइन्छ । सामाजिक सञ्जाल पनि आज दही चिउराका पोष्टहरुले भरिएको छ । दही चिउरा खादा मिठो मात्र होइन यसले स्वास्थ्यका लागि पनि निकै फाइदा पु¥याउछ । दहीमा चिउरा मिसाएर खाँदा कार्बोहाइड्रेड, प्रोटिन, क्याल्सियम, भिटामिन प्राप्त हुन्छ । दही चिउराले शक्ति प्रदान गर्छ । दही चिउराले मांशपेसी बलियो बनाउँछ । रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । पखाला लागेको समयमा दही खानु उपयुक्त हुन्छ । समष्टिमा भन्नु पर्दा दही चिउरा मिश्रण पोशिलो र स्वास्थ्यवद्र्धक मानिन्छ ।
 

सरकारले असार १५ लाई धान दिवसका रुपमा मनाउदै आएपनि धान दिवसमा देखावटिपना बढी छ । आम किसानमाँझ आधुनिक कृषि प्रविधि अझै पुग्न नसकेका कारण खेतीयोग्य जमिन भएर पनि धान उत्पादनमा वृद्वि हुन सकेको छैन ।

धान दिवस मनाउने तरिका: 
धान दिवस बिभिन्न प्रकारले मनाउने गरिन्छ । सरकारले सरकारी तवरबाट यो दिवसलाई मनाउँछ भने ग्रामिण भेकमा किसानह?ले आफ्नै तरिकाले मनाउँछन् । असार १५ का दिन एक पटक हिलो टेक्नु भन्ने मान्यता छ । यस दिन रोपाइलाई पर्वको ?पमा मनाइने हुँदा खेतको हिलामा पसेर असारे गीत गाउँदै धान रोप्ने गरिन्छ । हलगो?ले हिल्याएको हिलोमा छुपुछुपु धान रोपेर आपसमा रमाउँदै रोपाहार र बाउसेह? एकापसमा हिलो छ्यापाछ्याप गरी हिलो खेलेर अन्न उब्जाउने माटोलाई माया गर्छन् र गीतका भाकामार्फत् आपसमा माया पिरती समेत साट्ने गर्छन ।


असारे मासको दबदबे हिलो छि मलाई घिन लाग्यो,
पातली नानीलाई फरिया किन्दा छ बिस रिन लाग्यो ।
खडेरीले फाटेको यो मन असारमै जोडौँला,
लाठे बनी आउ कान्छा, सँगै पिरती गाँसौँला ।।


रोपाइ गरेर थाकेको अवस्थामा पोषिलो र शीतलता प्रदान गर्ने खाद्य परिकार दही चिउरा र अचारको खाजा खाने गरिन्छ । नेपाली समाजमा पूर्वीय परिकार दही चिउरा असारमा र साउनमा खीर भन्ने गरिन्छ । असार १५ वर्षकै सबैभन्दा लामो दिन मानिने हुँदा हिलोमा गाइने असारे गीतले नेपाली समाजमा आजदेखि दिन छोटा र रात लामा हुने हुँदा हिउँदको शु?वात भयो भन्ने गरिन्छ ।

छुपु र छुपु धान नै रोपौँ हातैको बर्माले,
झ्यालमा बस्ने ज्यान थियो मेरो दिएन कर्मले ।
पुर्वकी दिदी, पश्चिमकी बहिनी भेट हुन्छ भनेर,
पटुकी कसी, घुम ओढी आएँ रोपार बनेर ।।


यस वर्षको नियम 

तर यस वर्ष भने कोरानाका कारण २५ जनाभन्दा बढी रोपार र लाठे भेला हुन नपाइने नियम बनाएको छ । २५ जना भन्दा बढी मानिस भेला हुनुपर्ने भए साना साना समूह बनाई रोपाइँ गर्नुपर्ने नियम बनाइएको छ । यद्यपि २५ भन्दा बढी रोपारबाट रोपाइँ गर्नुपर्ने भए एक अर्का बीचको दूरी ६ फिट कायम राख्नुपर्ने भएको छ ।

भाते संस्कृति:

धान नेपालको प्रमुख खाद्यान्न बाली पनि हो । हालको जनसङ्ख्या (झण्डै तीन करोड) जनतालाई पु¥याउन ६० लाख मेट्रिक टन धानको आवश्यकता पर्छ । तर नेपालको उत्पादन भने जम्मा ५५÷५६ लाख मेट्रिक टनमा सीमित रहेको छ । बढ्दो जनसंख्या, आधुनिक कृषिको अभाव तथा नेपालीह?को भातै मात्र खाने ‘भाते‘ संस्कृतिका कारण चामलको आयातमा वृद्धि हँदै गएको छ । हाल नेपालले प्रतिवर्ष ? ३० अर्बको चामल आयात गर्दै आएको छ । नेपालीको क्रयशक्तिमा भएको बढोत्तरीका कारण पनि मसिना तथा बास्मती चामलको आयातमा वृद्धि हँुदै गएको तथ्याङ्क छ । 


विश्वमा खाद्य सुरक्षाको दृष्टिकोणबाट धान महत्वपूर्ण अन्न बाली हो । झण्डै चार अर्ब जनसङ्ख्याको आधारभूत खाद्यान्न चामल हो । धानको नेपालमा आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा समेत महत्व छ । नेपालमा १३० जातका धानका बीउ सिफारिस भइसकेका छन् । धानको वैज्ञानिक नाम ओराइजा सटाइवा हो । धान गै्रमिनी (घाँस) प्रजाति अन्तर्गतको बाली हो । 

स्वास्थ्यलाई ठीक राख्न टलक्क टल्किने सेतो चामल खान बन्द गर्नुपर्छ, खैरो चामल खान शुरु गर्नुपर्छ । स्वास्थ्यका लागि कालो चामल र रातो चामल पनि उत्तिकै लाभदायक हुन्छ । जुम्ली मार्सी चामल पनि रातो चामल हो । बजारमा पोलिस नगरेको चामल पनि पाइन्छ, ब्राउन राइस पनि पाइन्छ साथै पोलिश नगरेको उसिना चामल पनि पाइन्छ, खोजेर खानुपर्छ । बजार पाइने यस्ता चामलहरु अलि महंगा हुन्छन् । त्यसैले कृषकहरुले आफुले खाने खैरो चामल आफै तयार गरी उपयोगमा ल्यान सक्छन् । साधारणतया दुई प्रकारको स्वचालित मेसिनमा धान कुटिन्छ । एउटा हुलर टाइप (भुस निकाल्ने) र सेलर कम पोलिसर टाइप (भुस निकाल्ने तथा परिष्कृत गर्ने)। पौष्टिक तत्वको दृष्टिले पछिल्लो विधि निकै हानिकारक छ किनभने यसप्रकारको मेसिनबाट धान कुट्दा त्यसमा पौष्टिक तत्वको ठूलो मात्रामा क्षति हुन्छ । गाउँमा अझै पनि हातले ढिकीमा कुट्ने प्रचलन आम छ । मिलमा कुटेको धानको तुलनामा ढिकीमा कुटेको चामलमा धेरै पौष्टिक तत्व रहन्छ ।


नेपालीहरुमा भाते संस्कृति छ । अधिकांश नेपालीहरुले बिहान भात, बेलुकी पनि भात र खाजामा पनि चामल कै परिकारहरु बढी खाने गर्छन् । यो संस्कृति पनि ठीक होइन, चामलको भात मात्र नखाएर गहुँ, जौ, मकै, कोदो तथा फापर आदिका परिकारहरु पनि खाने बानी बसाल्नु पर्छ ।





Saturday, June 27, 2020

 ब्रेन बाइट्स:

आहा ! कट्कटिया किताब

पढेर पनि जानिन्छ, परेर पनि जानिन्छ । तर पढेर धेरैलाई परेको जानिन्छ, परेर आफुलाई परेको मात्र जानिन्छ । 

ओम बानियाँ

लेज पढ्ने बेलाको कुरा हो । एक दिन आमाले मैले पर्दैन–पर्दैन भन्दा पनि कति  पुरानै पेन्ट घिर्साछस् भन्दै पेन्ट किन्न एक हजार रूपैयाँ दिनुभयो । शनिवारको दिन म पेन्ट किन्न बजारतिर गए, सारा फैन्सी स्टोरहरू चहारे तर ८–९ सयको पेन्ट किन्न मेरो हात थरथरी काम्यो, किन्नै सकिनँ । सानैदेखि मलाई कपडामा पैसा हाल्नु भनेको फोकटमा पैसा खेर फाल्नु जस्तो लाग्थ्यो । त्यसैले या त आमाले या त दिदीहरूले ल्याइदिएको कपडाहरू नै मैले लगाउने गर्थे । फेरि अर्को दिन पनि म बजार गएँ, पेन्टको दाम सोधे, तर फेरि पनि पेन्ट किन्न सकिनँ । त्यो पैसा थपक्क राखेँ । 

एक महिनापछि म पढाइको सिलसिलामा दिल्ली गएँ । त्यसताका दिल्लीमा विश्वपुस्तक मेला लागेको थियो । त्यो थाहा भएपछि अर्को दिन नै म पुस्तक मेलामा गएँ । किताबै किताबको त्यो महासागरमा मेरो पहिलो नजर एउटा किताबमाथि प¥यो, त्यो किताबको नाम थियो, ‘पोलिटिकल साइकोलोजी एण्ड सोशल डीफेन्स’ । मैले किताब समाएँ, मूल्य सोधेँ र तुरुन्त वालिटबाट ५ सय निकालेर दिएँ । 

‘पुरानो कोट लगाऊ, नयाँ किताब किन ।’ थारोको यो भनाइ मैले कलिलो उमेरमा नै धेरै पटक धेरैको मुखबाट सुनेको हुँ । साहेद यसैको प्रभावले होला, मैले सानैदेखि नै लुगाफाटाहरूलाई भन्दा पत्रपत्रिका तथा किताबहरूलाई प्राथमिकता दिन्थे । स्कुल पढ्दादेखि नै नास्ताको पैसा बचाएर अंग्रेजी पत्रिका विज्डम्, स्क्रीन्, हिन्दी प्रत्रिकाः विज्ञान–प्रगति, नोरोगधाम, आविस्कार, मायापुरी, लोटपोट तथा मधुमुस्कान तथा नेपाली फिल्मी पत्रिका कामना आदि जस्ता पत्रपत्रिकाहरू खोजिखोजि किन्ने गर्थें । एक पटक एस.एल.सी.को परीक्षापछि पोखरा जाने क्रममा नारायणगढमा कामना पत्रिका किन्न बसबाट ओर्लिदा बस नै छुटेको थियो । अलि ठुलो भएपछि पत्रपत्रिकाहरूको साथै किताबहरू पनि किन्न थालेँ  । 


‘पोलिटिकल साइकोलोजी एण्ड सोशल डीफेन्स’ पुस्तक मेलामा मैले किनेको पहिलो किताब हो । जी.बी. लोनद्वारा लिखित ‘पोलिटिकल साइकोलोजी एण्ड सोशल डीफेन्स’ एकदम चर्चित र मलाई ज्यादै मन परेको किताब त होइन, तर यो सम्भवत् राजनीतिक मनोविज्ञानको पहिलो किताब हो । त्यो भन्दा पनि यो एक दुर्लभ किताब हो । मैले यो किताब दुईतीन पटक दोहो¥याएर पढेको थिएँ । मकहाँ आउने र त्यो किताब देख्ने धेरैले त्यो किताब पढे । यसरी पढ्दा–पढ्दै एक दिन त्यो किताब काठमाडौँबाट एक जना साथीले कसले लग्यो–लग्यो भन्दै बेपत्ता पारे । मैले त्यो किताब धेरै खोजेँ । तर कतै पाइनँ । एउटा किताबका लागि घर–घरमा गएर छापा मार्ने कुरा पनि भएन । नयाँ पेन्ट किन्ने पैसाले किनेको त्यो किताब बेपत्ता भएकोमा मलाई निकै मनखत लाग्यो । 

केही वर्ष पहिला मलाई त्यो किताब फेरि किनेर पढ्न मन लाग्यो । अनि मैले काठमाडौँका पिलग्रिम बुक्स, एकताबुक्स तथा रत्नपुस्तक भण्डार आदिलाई त्यो किताब मगाउन भनेँ तर त्यो किताब कतैबाट आएन । अमेरिका तथा बेलायतका पुस्तक पसलहरूमा पनि त्यो किताब भेटिएन । विश्वकै ठुलो अन्लाइन किताब विक्रेता, एमाजोन डट कममा पनि त्यो किताब छैन । यसको मतलव के भने त्यो किताबको नयाँ संस्करण निस्किएको छैन । पुरानाप्रतिहरू कहाँ–कहाँ छन्, धेरै किताब विक्रेताहरूलाई थाहा छैन ।


पुस्तक पसलमा, इन्टरनेटमा आफ्नो रुचीको विषयका नयाँ नयाँ कट्कटिया किताबहरु देख्नासाथ मेरो मनमस्तिष्कमा ‘आहा’ को आनन्द छाउँछ, मलाई ति किताबहरु किनु किनु लाग्छ । मन परेका किताबहरू किन्न मेरो हात कहिल्यै काम्दैनन् । पैसा छ भने जतिसुुकै महंगो किताब किन्न पनि म पछि पर्दिनँ । त्यसो त म बुकवर्म होइन, त्यति धेरै किताबहरू किन्ने मान्छे पनि होइन, मैले भन्दा सयौँ गुण बढी किताबहरू किन्ने मानिसहरू पनि छन् नेपालमा हजारौं ? मेरो बुबाका साथी, जंगबहादुर शाह (विश्वामित्रका लेखक) नै हुनुहुन्छ, सिद्धनगर, बुटवलमा । 

केही समय यता नेपालमा पनि किताब पढ्नेहरुको संख्या निकै पढेको छ । यो ज्यादै खुसीको कुरा हो । तर धेरै व्यक्तिहरूले किताब पढ्न त चाहन्छन्, किनेर होइन, मागेर । जोसँग प्रशस्त पैसा छ, ऊ पनि किताब भिक मागरे पढ्न लाज मान्दैनन् । जाँडरक्सी आदिमा जति पनि पैसा खर्च गर्ने, तर किताब किन्न हात कमाउने र राम्रा किताबहरु देखेपछि मागेर बेपत्ता बनाउने बानी ठीक होइन । यस्ता डकैत प्रवृत्तिका पढ्नदासहरुका कारण मेरो घरको पुस्तकालयबाट थुप्रै किताबहरु गायब भएका छन् । कतिपय किताबहरु त दुईतीन पटक गायब भएर मैले ती किताबहरु पटक—पटक किनेको छु ।

मैले देशविदेशबाट थुप्रै किताब किताबहरु ल्याउँछु, मगाउँछु । जहाँ गए पनि मैले झोलाभरि नयाँ कट्कटिया किताबहरु नै बोकेर आउँछु । दसैंतिहारको सुन्दर हरियाली मौसममा अरुहरु चंगा, पिंग, दारु, जुवातास र घुमघाम रमाइरहँदा घरको लाइब्रेरीमा बसेर नयाँ कट्कटिया किताब पढ्ने र नयाँ किताब लेख्ने मेरो पुरानो रुटिन हो । किताब लेख्न किताब तथा जर्नलहरु पढ्नुको विकल्प छैन । 


निकै वर्ष पहिला आइन्सटाइनको मस्तिष्क अध्ययन गर्ने प्रसिद्ध स्नायुवैज्ञानिक तथा बेस्टसेलर किताब, म्याजिक ट्री अफ द माइण्ड कि लेखिका, प्रा. डा. मरियन डाइमण्डले मलाई भनेकी थिइन्, ओम, तिमीले किताब लेख्न चाहन्छौ भने त्यस विषयसँग सम्बन्धि कम्तिमा पनि सयवटा किताबहरु गहनरुपमा पढ्, जतिसकिन्छ, जर्नलहरु हेर र लेख्न बस । प्रा. डाइमण्डले मलाई दिएको किताब लख्ने यो फार्मुला मलाई निकै मन परको छ । त्यसैले विगत दश वर्षदेखि मैले यस गुरुमन्त्रलाई पछाउँदै आएको छु । त्यसैले पनि आफुलाई चाहिएको र पढ्न मन लागेको किताब किन्न मैले कुनै कन्जुसाइँ गर्दिनँ ।  मैले पुरानो पेन्ट लगाउँछु, नयाँ किताब किन्छु, थोत्रो साइकल तथा मोटरसाइकल चढ्छु, आफुलाई मन परेको किताब किन्छु । धेरै पटक त मैले ईबुकवालालाई ‘मेमोरी फर्मुला’ नै बेचेर किताबहरू किनेको छु । 


पुछारमाः
हो, ज्ञान आर्जन गर्नकालागि किताब पढ्न आवश्यक छ । वास्तवमा भन्ने हो भने सेक्सपियरले भनेझैं मानिसको वास्तविक पढाइ त केलज तथा विश्वविद्यालयको पढाइ सकिएपछि शुरु हुन्छ । त्यसैले जुनसुकै पेशाव्यावसाय अपनाए पनि पढ्न कदापि नछोड्नु हुँदैन । त्यो किनभने केही नयाँ गर्न पढ्नै पर्छ । अगि बढ्न पढ्नै पर्छ । नपढी कुनै पनि क्षेत्रमा राम्रोसँग अगाडि बढ्न सकिँदैन । त्यसैले पढेर भन्दा परेर जानिन्छ भन्ने भ्रममा बस्नु ठीक छैन । यस लोकोक्तीप्रति मेरो पुर्ण सहमति छैन । वास्तवमा यो लोकोक्ती पुर्णसत्य छैन, अर्धसत्य छ । त्यो किनभने पढेर पनि जानिन्छ, परेर पनि जानिन्छ । तर पढेर धेरैलाई परेको जानिन्छ, परेर आफुलाई परेको मात्र जानिन्छ । त्यसैले पढाइको यो महत्वलाई हृदगंम् गर्दै दसैंतिहार जस्ता चार्डपर्वहरुमा, खाली समयमा जुवातास तथा सामाजिक संजालमा मात्रै नारिनु भन्दा त्यो मुल्यवान समयलाई किताबमय बनाउनु उचित हुन्छ । दसैंतिहारमा, अन्य चाडपर्वमा, जन्मदिनमा, विवाह तथा पास्नी आदिमा कट्कटिया नोट तथा लुगाफाटा दिनु भन्दा नयाँ कट्कटिया किताब दिन सुनमा सुगन्ध छरे जस्तो हुन्छ, मेरो बिचारमा । (२०७० सालमा नागरिक दैनिकमा प्रकाशित लेख ।)


सम्पर्क: https://www.ucl.ac.uk/pals/research/clinical-educational-and-health-psychology/research-groups/international-cognitive-19

Thursday, June 25, 2020

मनोवैज्ञानिक कथा 
राजुको काले
ओम बानियाँ


धेरै पहिलाको कुरा हो । भर्खरै एसएलसी परीक्षा सकिएको थियो । छिमेकी हजुरबा बित्नुभयो । उहाँको पार्थीव शरीर आँगनमा राखिएको थियो । उहाँले सानैदेखि पालेको काले कुकुर गहभरि आँसु लिई कुइँकुइँ गर्दै घुमिरहेको थियो । मानिसहरुले उसलाई धुरधुर धपाउँदै थिए । मैले पढेको थिएँ, कुकुर निकै इन्टेलिजेन्ट र इमान्दार हुन्छ भन्ने । तर पनि मानिसले कुकुरलाई किन यसरी हेलाँ गर्छन् भन्ने मेरो कलिलो मस्तिष्कमा एउटा गम्भिर प्रश्न खडा भयो । अनायश मैले कागजमा कोरेँ, राजुको काले । 
 --------------
‘चिरविर चिरविर चराहरु कराउन थालेका थिए । अँध्यारोलाई चिर्दै उज्यालो हँुदै थियो । गौरी काखीमा गाग्री च्यापेर बाहिर निक्लिइन् । पीढीमा सुतेको काले कुइँकुइँ गर्दै गौरीको पछि पछि लाग्यो । बलराम हलोजुवा काँधमा बोकेर गोरु खेत्दै वारीतिर हिँडे । राजु भने मस्त निद्रामा थियो । गौरी पानी लिएर घर फर्किन् र चुल्होचौकामा जोतिइन् । 
  --------------
काले राजु नजिकै गयो र थचक्क बसेर भोक भोक गर्न थाल्यो । अँगेनामा आगो सल्काउँदै गौरी चिच्याइन्ः राजु उठ् भन्या कति सुतेको ? राजु आँखा मिज्दै उठ्यो । र, कालेको टाउको सुम्सुमायो । काले कुइँकुइँ गर्दै राजुको हात चाट्न थाल्यो । राजु दौडिँदै आँगनमा गयो । काले पनि उफ्रिदै पछिपछि लाग्यो । राजु कालेमाथि चढेर हट हट गर्न थाल्यो ।
   --------------
राजु र कालेको दोस्ती पनि अनौठो थियो । दुबैमा स्वार्थ बिनाको प्रेम थियो । उनी दुईको उमेर पनि एकै थियो । जुन दिन राजु जन्मिएको थियो, त्यहीं दिन काले । काले जनवार भएकाले ४ वर्षमा नै राजुलाई बोक्न सक्ने एक लक्का जवान भयो । तर राज बालककै थियो ।
  --------------
यसरी नै रमाइलोसँग दिन बित्दै थियो । राजु अचानक बिरामी भयो । बलराम र गौरीले ठाउँ ठाउँमा लगेर उपचार गरे, झारफुक, धामीझाँक्री सबथोक गरे । तर, राजुको रोग बीसको उन्नाइस भएन । राजुले खाना छोडयो, उठ्न नसक्ने भयो । राजु थला परयो । आफ्नो एक मात्र छोरा यसरी थलिएपछि बलराम र गौरी निकै चिन्तित थिए । काले त झन बिहाल थियो । काले राजु नजिकै बसेको छ, उसका आँखाभरि टिलपिल आँसु छन् । 
  --------------
गहभरि आँसु लिएर टुलुटुलु राजुलाई हेरिरहेको काले एकाएका आत्तियो । भोक भोक गर्दै राजु वरिपरि घुम्न थाल्यो । दौडिँदै भकारो सोर्दै गरेको बलराम निर पुग्यो, भाँडा माज्दै गरेकी गौरी वरिपरि घुम्न थाल्यो । राजुले एकतमासले खोक्न थाल्यो । काले हत्तारिदै राजुनिर पुगेर कुइँकुइँ गर्न थाल्यो । बलराम तथा गौरी आत्तिदै राजुनिर आए । राजुले खोक्दा खोक्दा रगत बान्ता गर्यो । गौरीले राजुलाई समाइन् । राजु स्थिर भयो । ‘राजु राजु मेरो छोरा १ तिमीलाई के भयो ?’ गौरी राजुलाई अँगालोमा हालेर रुन थालिन् । गौरीको चित्कार गाउँभरि फैलियो । गाउँलेहरु जम्मा भए । राजु गौरीको काखमा थियो । काले र बलराम रोइरहेका थिए ।
  --------------
गाउँका महिलाहरुले गौरीलाई सम्झाउन थाले । पुरुषहरुले बलरामलाई । तर कालेलाई सम्झाउने त्यहाँ कोही थिएनन् । उल्टो गाउँलेहरुले कालेलाई धुरधुर गर्दै त्यहाँबाट पर लखेटदै थिए । साथीको मृत्युले घायल भएको काले गोठतिर गएर बलिन्धारा आँसु रुन थाल्यो । 
  --------------
सतिगति गर्न राजुको पार्थिव शरीर लिएर मानिसहरु जंगलतिर लागे । काले पनि पछिपछि लाग्यो । काले पछि पछि आएको देखेर मानिसहरुले उसलाई खेद्न थाले । तर काले लुकी लुकी पछि पछि लाग्यो । एउटा युवकले ठुलो ढुंगा टिपेर कालेमाथि प्रहार गर्यो । कालेको टाउकोमा बज्रियो । काले रन्थनिएर कुइँकुइँ वरिपरि घुम्न थाल्यो । अनि थच्चक भुईंमा बस्यो । 
  --------------
शवयात्रीहरु जंगलतिर पस्दै थिए । कालेले उनीहरुलाई हेरिहरको थियो । जंगलमा पुगे पछि केही युवकहरुले खाल्डो खन्न थाले । घायल काले लुरुलुरु त्यही पुग्यो । कालेलाई देखेपछि एक युवकले भन्यो, ‘हेर त १ यो कुकुर यहाँ पनि आयो ।’ पाका मानिसले भने, ‘लखेट त्यसलाई । कतै लाश छोला ?’ युवकले ढुंगाले हान्दै धुरधुर धपायो । काले सालको रुखको ओझलमा गएर बस्यो । 
  --------------
खाल्डो तयार भयो । शबलाई खाल्डोमा राखे । बलराम डाँको छोडेर रुन थाले । काले धर्धरी रुन थाल्यो । शबलाई खाल्डोमा पुरेपछि गाउँलेहरु घरतिर फर्के । गाउँलेहरु अलिपर पुगेपछि काले दौढिँदै राजुको शव पुरेको ठाउँमा गयो । कुइँकुइँ गर्दै घुम्न थाल्यो । एक तमासले कराउन थाल्यो ।
  --------------
मानिसहरुले कालेलाई शब पुरेको ठाउँमा देखेपछि दौडिदै आए । र, चारैतिरबाट कालेलाई आक्रमण गरे । काले रताम्मे भई भुइँमा पल्टियो । राजुको शवतिर हेरी अन्तिम सास लियो । काले मरेको देखेपछि एउटा पाका मानिसले युवकलाई भने, ‘मर्यो अब । खोल्सातिर लगेर फालिदेऔं ।’ युवकहरुले डोरीले कालेलाई बाँधे र लतार्दै खोल्सातिर लगेर फालिदिए । अनि आफ्नो बाटो लागे ।
  --------------

छिनभरमा नै आकशाबाट गिद्धहरु ओर्लिए । तछाडमछाड गर्दै कालेको चोक्टाचोक्टा लुछ्न थाले ।’ (यो कथा मैले कक्षा १० मा अध्ययनरत हुँदा लेखेको हँु ।)



Tuesday, June 23, 2020


 ब्रेन बाइट्स 
जीवनको ‘लक्ष्य’
ओम बानियाँ

मानिसको जीवनमा लक्ष्यको ठूलो महत्व छ । त्यो किनभने जो जसले जीवनमा लक्ष्य बनाउँछ, ऊ नै लक्ष्यमा पुग्न सक्दछ । लक्ष्यविहीन त जहाँको तहीँ नै रहन्छ । त्यसैले त मार्टिन लुथर किंग (जुनियर)ले भनेका छन्ः “यदि मानिसले आफ्नो जीवनमा कुनै महान् उद्देश्यकालागि मरिमेट्ने संकल्प गर्दैन भने उसको जीवन नै वेकार हुन्छ ।” मार्टिनको यस भनाइ जति मनोवैज्ञानिक छ, त्यत्ति नै सत्य छ । वास्तवमा ‘लक्ष्य’ भनेको जीवनको आधार हो । त्यसैले हरेक मानिसले मानवीय जीवनलाई सार्थक बनाउन बेलैमा जीवनको एउटा महान् लक्ष्य बनाउन आवश्यक छ ।

मानिसको जीवनमा लक्ष्यको यत्ति ठूलो महत्व छ । तर नेपालका अधिकांश युवा लक्ष्यविहीन छन् । त्यसैले जीवनमा केही गर्न हरेक युवाले जीवनको लक्ष्य बनाउनु जरुरी छ । तर ख्याल गर्नु पर्ने कुरा के भने केवल इच्छा गर्नु लक्ष्य होइन, लक्ष्य त अर्जुनले देखेको चराको आँखा हो । अतः लक्ष्य प्राप्त गर्न लक्ष्यमा अर्जुनदृष्टि साधेर बुद्धिविवेक लगाएर महेनतकासाथ अगाडि बढ्नुपर्छ । 

कुनै पनि महान् कार्य पूरा गर्न मेहनतको कुनै विकल्प छैन । अथक मेहनत बिना कुनै पनि मानिसले आफ्नो जीवनको महान् उद्देश्य प्राप्त गर्न सक्दैनन् । कडा परिश्रम बिना कुनै पनि विद्यार्थीले एसएलसी वा कुनै पनि परीक्षामा ८०, ९० प्रतिशत अंक कटाउन सक्दैनन् । तर यहाँ मननयोग्य कुरा के भने मेहनतका नाममा मुढे मेहनतको कुनै अर्थ हुँदैन । जस्तो कि ठूलो ढुंगा गुल्टाउन छ भने थुप्रै मानिसहरु जम्मा गरेर जबरजस्ती दिनभरि लगाएर ढुंगा गुल्टाउन खोज्नु मूर्खता हो भने उत्तोलक(लिभर)को प्रयोग गरेर एकैछिनमा सजिलै ढुंगा गुल्टाउनु बुद्धिमानी हो । 

बुद्धि विद्याले बढ्छ । विद्यार्थीको पहिलो कर्तव्य भनेको पनि विद्या आर्जन गर्नु हो अर्थात् सम्बन्धित विषय पढेर, सिकेर त्यसमा अधिकतम सफलता प्राप्त गर्नु हो । त्यसैले विद्यार्थी सधैँ सिक्न इच्छुक, जिज्ञासु हुनुपर्दछ, कहिल्यै पनि आफ्नो कर्तव्यबाट विमुख हुनुहुँदैन । विद्यार्थीले विद्या ग्रहण गर्ने र त्यसलाई सही ढंगले, सही ठाउँमा, सही समयमा प्रयोग गर्न सक्नुपर्दछ । यदि पढेको विषय बुझिएन अर्थात् समझमा आएन भने पढेको कुनै अर्थ हँुदैन । शाब्दिक अर्थमा भन्ने हो भने जुन शब्द वा वस्तु जुन स्वरूपमा छ, त्यसरी नै जान्नुलाई बुझ्नु भनिन्छ । जस्तो कि क्यामेराको सामुन्नेको विद्यमान वस्तु तस्विरमा जस्ताको तस्तै देखिन्छ । समझ वा बुझाइले अध्ययन प्रक्रियामा ज्यादै महत्वपुर्ण भुमिका खेल्दछ ।

भारतका पूर्व प्रधानमन्त्री लालबहादुर शास्त्री सन् १९०४ मा एक गरीब परिवारमा जन्मिएका थिए । उनी पढाइमा निकै तेज थिए । वास्तवमा लालबहादुर किताबको किरो नै थिए । लालबहादुर घरमा बत्ती थिएन । त्यसैले उनी घर नजिकैको रेलवे प्लेटफर्मको बत्तीमा बसेर पढ्ने गर्थे । पढ्दा उनी किताबको हरफहरूमा यति एकाग्र हुन्थे कि उनलाई रेल आए गएको पत्तै हँुदैन्थ्यो । त्यसैले पनि शास्त्रीको स्मरणशक्ति निकै तेज थियो । भारतरत्न लालबहादुर जति पढाइलेखाइमा तेज थिए, त्यत्ति नै स्वाभिमानी र आत्मविश्वासका धनी थिए । उनले एक पटक भनेका नै थिएः “मेरो कद सानो भए पनि मेरो आत्मविश्वास ठूलो छ ।” 

भर्खरै भर्खरै बनारस पढ्न आउँदा एक दिन लालबहादुर साथीहरूसँग मेला हेर्न नदितिर गएछन् । तर उनीसँग डुङ्गा चढ्ने पैसा थिएन, साथीसँग पैसा मागेर डुङ्गा चढ्नु भन्दा पौडिएर नै उनी नदि पारी गएछन् । वास्तवमा लालबहादुर शास्त्री सानैदेखि एक अव्वल, स्वाभिमानी  तथा आत्मविश्वासी विद्यार्थी थिए । त्यसैले त उनले भारतको इतिहासमा आफ्नो नाम स्वर्ण अक्षरले लेखाउन सफल भए । 


हो, विश्वासले यथार्थ सृजना गर्छ । कुनै पनि कार्य योजनामा विश्वासको महत्वपूर्ण भूमिका हुन्छ, विश्वास बिना सफलता प्राप्त हँुदैन । त्यो किनभने विश्वासले नै मानिसलाई सफलतातिर अघि बढ्ने ऊर्जा दिन्छ, उत्साह दिन्छ, अटूट निष्ठा दिन्छ । त्यसैले नै विश्वासको जीत हुन्छ ।

त्यसैले याद राख्नुस्ः
यदि तपाईलाई विश्वास छ, तपाई सफल हुनुहुने छ ।
यदि तपाईलाई विश्वास छ, तपाई निर्भिक हुनुहुने छ ।
यदि तपाईलाई विश्वास छ, तपाई लोकप्रिय बन्नुहुने छ ।
यदि तपाइलाई विश्वास छ, तपाई निश्चितरूपमा लक्ष्यमा पुग्नुहुने छ ।


विश्वास त दृढसड्ढल्पको जरो नै हो । विश्वास बिना त दृढसड्ढल्पको कल्पना नै गर्न सकिँदैन । यहां अर्को मननयोग्य कुरा के भने दृढसड्ढल्प भनेको डीङ हाँक्नु होइन, धाक लगाउनु होइन, फाइँफुट्टी गर्नु पनि होइन । भेडोझैँ बिना सोचबिचार एकोहोरो हिँड्नु पनि होइन । आवेगमा हल्ला बोल्नु पनि होइन । सरल शब्दमा भन्नुपर्दा दृढसड्ढल्प भनेको गर वा मरको प्रण हो ।

तपाईलाई थाहा नै छ, ‘खेतमा जुन बाली रोपिन्छ, त्यही बाली नै भित्रायाउन सकिन्छ ।’ खेतमा धानको बीउ रोप्यौं भने धान नै फल्छ, गहुँ फल्न सक्दैन । त्यसैले धान फलाउन धान नै रोप्नुपर्छ, गहँु फलाउन गहुँ । प्रकृतिको यो सार्वलौकिक नियम ठीक यसै प्रकारले मानवीय जीवनमा पनि लागु हुन्छ । मानिसको मनमस्तिष्क पनि एक प्रकारको खेत नै त हो । जहाँ जस्तो विचारको खेती गरिन्छ, उत्पादन त्यस्तै हुने गर्छ । यदि विफलताको विचार रोपिन्छ भने विफलताको मनोवृत्ति नै उम्रिन्छ । हुर्किन्छ । फुल्छ । फल्छ । तर विफलताको विचारबाट सफलता उत्पादन हुन सक्दैन । त्यसैले विफलताको विचारबाट सफलताको आशा गर्नु भनेको सिमीको बीज रोपेर स्याउको आशा गर्नु जस्तै हो । के यो सम्भव छ ? 

तेञ्जिङ नोर्गे सेर्पा र एडमण्ड हिलारीले सगरमाथा आरोहण गर्नुपूर्व सगरमाथा चढ्ने प्रयासमा थुप्रै हिमाल आरोहीहरू सगरमाथाको फेदमा नै हराएका थिए, बेपत्ता भएका थिए । त्यसैले, त्यतिखेर सगरमाथा आरोहण अकासको फल मानिन्थ्यो, एउटा असम्भव कार्य ठानिन्थ्यो । तर तेञ्जिङ नोर्गे सेर्पा र एडमण्ड हिलारीले मानिसका लागि कुनै कार्य असम्भव छैन भन्ने मनोविज्ञान बुझे । र, सगरमाथाको शिखरलाई ‘अर्जुनदृष्टि‘–ले साध्दै दृढसंकल्पको मुठ्ठी कसे । अनि छाती फर्काउँदै सगरमाथाको शिखरतिर आफ्ना मजबुत पाइलाहरू चाले र २९ मई १९५३ का दिन ८ हजार ८ सय ४८ मिटर अग्लो, संसारको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा सबैभन्दा पहिला पाइला टेकेर ‘विजयको झण्डा’ गाडे । 


हेर्दाहेर्दै हिउँबाघहरूले तीन त्रिभुवन हल्लाइदिए, असम्भवलाई सम्भव बनाएर देखाइदिए । त्यसैले त सगरमाथा आरोहण अहिले सम्भव कार्य मानिएको छ । तर मानिसकालागि सबै कुरा सम्भव छ भनेर डोकोमा दूध दुहेर अडिँदैन । सगरमाथा आरोहणकालागि आरोहणको पूर्वाभ्यास गर्नुपर्छ । आत्मविश्वास, दृढ अठोट र आरोहणको पूर्वाभ्यास बिना कुनै श्यामे वा च्यामे सगरमाथा चढ्न सक्दैनन् । बुझ्नु पर्ने कुरा यही हो ।

याद राख्नुस्, महान् पर्वतारोही तेञ्जिङ नोर्गे सेर्पा र एडमण्ड हिलारी घुम्दाघुम्दै सगरमाथाको शिखरमा पुगेका होेइनन् । दृढसंकल्प, अथक मेहनत र लक्ष्यप्रतिको अटल विश्वासले नै सगरमाथाको शिखरमा पाइला टेकी ‘विजयको झण्डा’ फर्फराएका हुन् । त्यसैले जसले यो मनोविज्ञान बुझी आफ्नो निर्दिष्ट ‘लक्ष्य’ पूरा गर्ने दिशामा, पूरा तयारी गरेर, ‘अर्जुनदृष्टि’ साधेर, उच्च अठोटकासाथ आइपर्ने समस्याहरुलाई किनारा लगाउँदै अगाडि बढ्छ, ऊ अवश्य नै आफ्नो लक्ष्यमा पुग्दछ । यस कुरामा कुनै शंका छैन । (लेखक साइकोथेरापिष्ट तथा मेमोरी ल्याब प्रमुख हुन् ।)


Sunday, June 21, 2020

ब्रेन बाइट्स

टेल्सामा  नर्वे यात्रा
 ओम बानियाँ

०७६ सालको बडादसैं नजिकै आएको थियो । हाम्रो सम्पुर्ण परिवार स्वीडेनको मास्त्रा स्थित दिदीको घरमा दसैं मनाउन जम्मा भैसकेको थियो । मेरो नर्बे घुम्ने इच्छा थियो, भान्जाद्य सुबृत र कुशलको पनि । लण्डनबाट आएको भाइले अचानक कार्यक्रम बनायो । भाइले अनलाइनबाट नर्वेको ओस्लोमा बास बस्नको लागि अपार्टमेन्ट नै बुक गर्यो । अनि भाइ, म, दुई भान्जा र भिनाजु दिउँसो २ बजे टेल्सा कार लिएर स्वीडेनको स्टोकहोमबाट नर्बेतिर प्रस्थान गर्यौ, हाम्रो गन्तब्य थियो, ओस्लो ।


भान्जा सुबृतले गाडी हाँक्ने इच्छा गरे । नेपाल र भारतमा लेफ्ट ड्राइभ मात्र गरेको मलाई त्यहाँको सडकमा राइट ड्राइभ  गर्ने हिम्मत नै भएन । हुन त भान्जा सुबृतले लण्डनमा लेफ्ट ड्राइभ  नै गरेका थिए । तर उनी निकै सिपालु चालक थिए । भान्जा सानै उमेरका भएकाले भाइले भन्यो, खुल्ला बाटोमा तिमीले चलाऊ, पछि भिनाजुले चलाउनु हुन्छ । 

स्टोकहोमको मास्त्राबाट चिल्लो बाटोमा चिल्लो कार तुफान कुद्न थाल्यो । टमक्क मिलेका दाँत जस्ता आर्कषक घरहरु, पार्क, टलक्क टल्किने सफा सडक, ठाउँ ठाउँमा सडकको वरिपरि फूलवारीझै मिलाइका जंगल पार गर्दै हामी गन्तब्यतिर कुदिरहेका थियौं, १५० किलोमिटर प्रति घण्टाको स्पीडमा । कारको झ्यालबाट देखिएका मनोरम दृश्यहरु देखेर रमाइरहेका पनि थियौ । रोमान्च थियो । छुट्टै आनन्द थियो । 

करिब ५ घण्टाको यात्रापछि स्वीडेन र नर्वेको सीमाना आयो । सानैदेखि रक्सौल र सुनौली नाका देखेर हुर्केका हामीहरु त्यहाँको सीमाना नाका देखेर अचम्म पर्यौ । नाकामा न त प्रहरी छन्, न त कुनै कर्मचारी । साइनबोर्डमा लेखिएको छ, चेकजाँच गर्नु पर्ने समान भए, यो बाटो जानुहोस्, नपर्ने चाहीं यो बाटो । त्यो देखेर हामी सबै दंग पर्दै हाँस्यो । भिनाजुले भन्नुभयो, सुनौलीमा यस्तो भएको भए कति तस्करी हुने थियो है ?



बाटोमा हामीले धेरै नौलो कुराहरु देख्यौ । घाँस काट्दै गरेको स्वाचालित मेसिनहरु पनि देख्यौ । करिब ६ घण्टाको यात्रापछि हामी सूर्य नअस्ताउने देश भनेर चिनिएको नर्वेको राजधानी ओस्लो पुग्यौ । झमक्क रात परेको थियो । शारा ओस्लो शहर सुनशान थियो । सुनशान शहरलाई चिर्दै गाडी भने गन्तव्य खोजिमा थियो । गाडिमा जडित जीपीएसले यो बाटो जाऊ, यता मोड, फेरि उता मोड, अनि अघि जाउ भन्दै कारलाई ठीक अपार्टमेन्ट अगाडि खडा गर्यो । 

कारलाई पार्किगं गरेर हामी अपार्टमेन्ट भित्र पस्यौ । अपार्टमेन्ट स्वाचालित थियो । भाइले कम्प्युटरमा बुकिंग कोड हाल्यो । तर चाबी खुलेन ।  पटक पटक इरर देखायो । के भयो ? कसलाई सोध्ने ? हामी एकछिन रनभुल्ल भयौं । भान्जा सुबृतले पुनः अनलाइन बुकिंग हेरे । हत्तेरिका १ बुकिंग त सोमबारदेखिको पो रहेछ । भाइले अपार्टमेन्ट बुकिंग गर्दा आइतावारलाई सोमवार ठानेर बुकिंग पो गरेको रहेछ । हो । संझना शक्तिले मानिसलाई बेला बेलामा धोका दिन्छ । झुक्काउँछ । आफ्नो जीवनकालमा कुनै न कुनै बेला यसरी नझुक्कने मानिस साहेद कोही हँुदैनन् । प्रायः अनलाइन बुकिंग गर्दा यस्ता गल्तिहरु हुन्छन् । त्यसैले अनलाइन बुकिंग गर्दा सबै कुराहरु ध्यान पुराएर गर्न उचित हुन्छ । 

भाइ अलि टेन्स्ड भयो । हामीहरु चाहीँ दुःखी हाँसो हाँस्दै थियौं । भाइले कता कताबाट त्यस अपार्टमेन्टको व्यावस्थापकको फोन नं. भेटायो र सबै कुरा बतायो । उसले कोठाको व्यावस्था मिलाउने प्रयास गर्छु भन्यो । हामीले राहत महसुस गर्यौ । ओस्लोमा आफन्त तथा परिचित नेपाली तथा नर्वेजियनहरु पनि थिए । हामीलाई उनीहरुको निम्तो पनि थियो । तर, हामीलाई घरको पाहुना भन्दा होटलकै पाहुना हुन ठिक लाग्यो र स्वीडेनबाट नै अपार्टमेन्ट बुक गरेका थियौं ।

केही क्षणपछि भाइले फेरि फोन गर्यो । उताबाट कोठाहरु सबै प्याक भएकाले केही गर्न नसक्ने जवाफ पाएपछि रात काट्न त्यो चिसो रातमा हामी होटल खोज्न यत्रतत्र दौडियौं । धन्न नजिकै होटल भेटियो । तर, हाम्रो लागि निकै महंगो, एक रातको दुई कोठाको लगभग नेपाली ३० हजार नेपाली । उता २० हजार गयो, यता ३० हजार । मौसम पुस जस्तै चिसो थियो । निकै थकाइ लागेको थियो । अनि खाना खाइवरि हामी सिरक ओढेर ५० हजारको निद्रा सुत्यौं ।


भोलिपल्ट बिहान झ्याल खोल्दा टलक्क घाम लागिरहेको थियो । घामको किरणले गर्दा रुखहरुबाट तप तप शितका थोपाहरु खसिरहेका थिए ।  बिहान ८ बजे ब्रेकफास्ट गरी हामी ओस्लो शहर घुम्न निस्कियौं । शहर शानदार छ । तर मानिसहरु भने निकै पातलो । स्टोकहोम भन्दा पनि पातलो । नेर्वेको जनसंख्या निकै कम छ । ३ लाख ८५ हजार २ सय ३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको नर्वेको जनसंख्या सिर्फ ५० लाख छ । तेल र ग्याँसका कारण नै नर्वे समृद्ध बनेको रहेछ । नेर्वेमा मजदुरको ज्याला पनि निकै रहेछ । नेपालबाट ओस्लो युनिभरसिटिमा पढ्न गएका विद्यार्थीहरुले समेत काम गरेर महिनाको तीनचार लाख कमाउँदा रहेछन् । नर्वेमा आइटी इन्जिनियरहरुका लागि त हिरा कटाइ छ । त्यसो त आम्दानीका आधारमा हरेक व्यक्तीले सरकारलाई निश्चित कर अनिवार्य तिर्नै पर्छ । यहाँ कर छलेर काम गर्ने तथा लगानी गर्ने भन्ने कल्पना नगरे हुन्छ । नर्वेमा स्थायी वसोवास गर्नेहरुका लागी सरकारले उसले आम्दानीबाट तिरेको कर पेन्सनको रुपमा बुढेसकालमा फिर्ता गर्ने रहेछ । 


ओस्लो घुम्ने क्रममा बाटोमा एकाध नेपालीहरु भेट्यौं । नर्वेमा कति नेपाली छन, त्यसको गैर आवासीय नेपाली संघ नर्बेसँग पनि एकिन तथ्यांक छैन । तीन हजारको हारहारीमा नेपाली रहेको अनुमान गरिन्छ । अधिकांश नेपालीहरु ओस्लोमा नै बस्ने गर्छन् । नर्वेमा खासगरी विद्यार्थी आउँछन् । । स्वीडेनमा जस्तै नर्वेमा पनि शिक्षा निशुल्क छ । पोर्चुगल लगायतका देशबाट पार्सपोर्ट बनाएर आउने नेपालीहरुको संख्या धेरै छ । नर्वे बसाई र आम्दानीको हिसाबले युरोपकै राम्रो मानिन्छ ।

सबै भन्दा पहिला हामी ओस्लो युनिभरसिटिको मनोविज्ञान विभागमा गयांै । प्रा. डा. म्यारियन स्लेरि तथा प्रा. डा. ज्यारेन ओल्सेनेरा मेरा पुराना परिचित हुन् । मेन्टल हेल्थ विषयका उनीहरु त्यहाँका हस्ती नै हुन् । उनीहरुले आफु मनोवैज्ञानिक समस्याहरुलाई मानसिक रोग मान्नुको पक्षमा आफुहरु नभएको बताउँछन् । मेडिसिनले मानसिक समस्यालाई झन जटिल बनाएको उनीहरु लगायत थुप्रै मनोवैज्ञानिक तथा मनोचिकत्सकहरुको पनि भनाइ छ । त्यस दिन ओस्लो युनिभरसिटि घुम्दाघुम्दै दिन सकियो ।


अर्को दिन हामी राज दरवार तथा किल्ला आदि हेर्ने योजनाका साथ निक्लियौ । नेर्वेको राजदरवार देखेर त म छक्क परें । एक समान्य मानिसको जस्तै घरमा राजारानी बस्दा रहेछन् । दरवार अगाडि नै मानिसहरु घुमिरहेका छन्, तीन चार सुरक्षाकर्मी छन् । पयर्टकहरुले  सुरक्षाकर्मीहरु फोटो खिचाइरहेका थिए । मलाई पनि फोटो खिच्ने रहर लाग्यो । मैले ढोका उभिएका सुरक्षाकर्मीसँग फोटो खिचाएँ । रोयल गार्डसँग फोटो खिच्दा एक प्रकारको आनन्द अनुभूति भयो । त्यो किनभने हाम्रोतिर उत्तिबेला दरवारमा तैनाथ शाही नेपाली सेनाले दरवारको गेटबाहिरबाट भित्रतिर हेर्न पनि दिदैन्थे । 


मलाई संसारको ठूलो स्कल्प्चर पार्क ओस्लोको नमूना केन्द्र लाग्यो । हामीहरु निकै बेर पार्कमा घुम्यौ, फोटोहरु खिच्यौ, भिडियोहरु बनायौं । रमायौं । पार्कमा रमाउन पाउँदा मलाई  निकै आनन्दको अनुभूति भयो ।



नर्वे राजतन्त्रात्मक देश हो । यहाँ सेरेमोनियल राजा छन् । राजा छन् भन्ने अधिकांशलाई थाहा छ । तर, राजा र राजपरिवार कहिल्यै समाचार बन्दैनन् । राजा र राजपरिवारले के गर्छन् कसो गर्छन् कसैलाई चाँसो छैन । राजा को हो, रानी को हो ? प्रधानमन्त्री को हो ? अधिकांश नागरिकहरुलाई खासै थाहा छैन । न त उनीहरु नेपालमा जस्तो गरी बारम्बार समाचार आइरहन्छन् । न त  उनीहरु रिबन काट्ने, केक काट्ने तथा पुस्तक विमोचन गर्ने जस्ता कार्यक्रमहरुमा जान्छन् ।  न त नागरिकले नेपालमा जस्तो पहुँच दिएर उनीहरुलाई सार्वजनिक कार्यक्रममा ल्याउँछन् । यसैले पनि नर्बेका राजनीतिक व्यक्तिहरुलाई मिडियाहरुमा बारम्बार देख्न नपाइनेरहेछ । बरु आवश्क परेका खण्डमा नागरिकले उनीहरुलाई सजिलै भेट्न पाउने रहेछन् । सदनमै गएर नागरिकले आवाज उठाउन ठाउँ रहेछ ।

भिनाज्यु भन्दै हुनुहुन्थ्यो, एक पटक नर्बेका एक मन्त्रीको समाचार छापियो । सार्वजनिक यातायात चढ्दा ट्राभल कार्ड नकिनेका मन्त्री चेकिंगमा परि जरिवाना तिरेको समाचार थियो त्यो ।  भिनाज्युको कुरा सुनेर मैले आफैलाई प्रश्न गरेँः ‘के नेपालमा त्यसरी मन्त्रीलाई कारवाही हुँदो हो ?’पहिलो कुरा त नेपालका मन्त्रीले सार्वजनिक सवारी चढेर कार्यालय जाने कल्पना समेत गर्दैनन् । दोस्रो कुरा नेपालमा करोडौ अरबौंको घोटला गर्ने मन्त्रीहरु छाती फुलाएर निर्धक्क हिँड्छन । मिडियाहरुमा आएर ठुलाठुला कुरा गर्छन । अनि यस्ता भ्रष्टचारहरुलाई जोगाउन प्रधानमन्त्री स्वयं न्यायाधीश भएर लाग्छन् । 
धन्य छ हाम्रो देश ।

नर्वेको भ्रमण निकै रोमान्चकारी र ज्ञानवद्र्धक भयो । भ्रमणले नयाँ ठाउँ देख्ने अवसर मात्र होइन कि निकै आनन्द पनि दिलायो । वास्तवमा नयाँ ठाउँको भ्रमण माइण्डबोडी हेल्थका लागि निकै फाइदाजनक हुन्छ । अझ दिनभरि खटेर मानसिक कार्य गर्नेहरुले त बेला बेलामा छोटो वा लामो भ्रमण गर्न जरुरी छ । 


घुम्ने ठाउँहरु अझ कति थिए कति ? दसैं टीका अर्को दिन थियो । त्यसैले दिउँसोको २ बजे ४ दिने नर्वेको रोमान्चकारी भ्रमण सकेर हामी पुनः स्वीडेन फर्कियौं, सर्र टेल्सा कारमा । मास्त्रा आइपुग्दा रातको १० बजिसकेको थियो । आमा तथा दिदीहरु भोलिको टीकाको तयारी गर्दै थिए । फ्रेस भएपछि मैले इमेल खोलेँ । एउटा इमेल प्रा. डा. एमी स्पेक्टरको थियो । अक्टुबर २८ मा लण्डन विश्वविद्यालयको मनोविज्ञान विभाग कि प्रा. डा. एमी स्पेक्टरले विकास गरेको सि.एस.टि (कग्निटिभ स्टेमुलेसन थेरापि)को रिफ्रेसमेन्ट प्रशिक्षणको निमन्त्रणा थियो । म यस सेन्टरको एक सदस्य समेत हुँ । क्रमशः 
सम्पर्कः
https://www.ucl.ac.uk/pals/research/clinical-educational-and-health-psychology/research-groups/international-cognitive-19 

Friday, June 19, 2020

ब्रेन बाइट्स 

पेरिसका रमाइला पाँच दिन 
ओम बानियाँ 
इफल टावरको फेदमा रहेको काउण्टरमा एक घण्टाको पर्खाइपछि बल्ल हाम्रो पालो आयो । हामी लिफ्टद्धारा बिस्तारै टावरमाथि चढ्यौ । आइफल टावरमाथि बजार रहेछः क्याफे, बार, आइसक्रिम सपदेखि रेष्टुरेन्टसम्म, ग्यालरिदेखि म्युजियमसम्मको सुबिधाले पर्यटकहरुको ठूलो भिडलाई आकर्षित गरिरहेको थियो । आइफल टाबरको सबैभन्दा माथि सँसारभरिका झन्डाहरु र राजधानीको एरियल डिस्टेन्स लेखिएको रहेछ । आइफल टाबर चडनेहरुले संझनाकालागि त्यहाँका फलामे पिलर र भित्ताहरुमा आफ्ना नाम र मिति लेखेको देखियो । फ्रेन्च टेलिविजन र रेडियोले आइफल टावरको चुचुरोलाई एन्टिनाको रुपमा प्रयोग गरेकाछन्। उक्त एन्टेना सहितको टावरको उचाइ ३२४ मिटर रहेको छ । आइफल टावर साँझमा हेर्दा रमाइलो देखिने कारण त्यसमा जडिएका चम्किला बत्तीहरू रहेछन् । सुन्दर टावरलाई रातीमा समेत चम्काइ राख्न छ हजार वाटका ठूला ४ फ्लूड लाइटहरू र जेनन बल्बहरू घुम्ने गरि जडान गरिएका छन्, जसले पुरै पेरिसमाथि उज्ज्यालो छर्छन् । ३ सय २४ मिटर अग्लो आइफल टावरबाट उतिबेला हामीले पढ्दै आएको विश्वको सुन्दर शहर, सारा पेरिस देखिंदो रहेछ । हिजोसम्म कितावका पानाहरुमा, रोमान्चकता र काल्पनामा मात्र सिमित रहेको आइफल टावर आज हाम्रा आँखा अगाडि थियो । आइफल टावरबाट देखिएको मनमोहक पेरिस शहरले हामी सबैलाई मन्त्रमुग्ध बनाएको थियो, सबै पर्यटकहरु दृश्य हेर्न र फोटो खिच्न व्यस्त थिए । 


फ्रान्सको पेरिसमा रहेको आइफल टावर विश्वकै एक महत्वपूर्ण पर्यटकीय गन्तव्य हो, यस विश्व प्रसिद्ध टावरलाई हेर्न विश्व भरका मन्छेको त्यहाँ धुइँचो हुने गर्द छ । हरेक वर्षमा ६० लाख भन्दा बढी विदेशी पर्यटकहरू पुग्ने गर्दछन् । यो विश्वको मानवनिर्मित ७ आश्चर्यमध्येको एक आश्चर्य हो । धेरैलाई सुन्दा अचम्म लाग्न सक्छ, यो टावरमाथि कुनैबेला जर्मनीका तानाशाह हिटलरले कब्जा गरेका थिए ।गुस्ताव आइफलले निर्माण गरेको यो टावरको निर्माणमा २ वर्षभन्दा बढी समय लागेको थियो । यसलाई फ्रान्सको संस्कृतिको प्रतिक मानिन्छ । सन् १८८९ मा निर्माण सम्पन्न भएको यो टावरले १ सय ३० वर्ष सफलतापूर्वक पार गरेको छ । जब आइफल टावर निर्माण भयो, त्यतिबेला यो टावर संसारकै अग्लो संरचना थियो । 


हामी केही क्षण टावरको शिखरमा रमाएपछि तल झर्यौ । घाम लागे पनि चिसो हावा चलेको थियो । केही फोटोहरु खिचेपछि हामी आइफल टावरको कम्पाउण्ड बाहिर निस्किर्यौ । बाहिर सडकको किनारामा आइफल टावर बेच्नेहरुको बाक्लो घुइँचो थियो । एउटा कालेले बुबाले ढाका टोपी लगाएको देखेर होला, नेपालीमा भन्यो, नमस्ते १ यो लिनुहोस् आइफल टावर २० युरोमा । हामीले हिन्दी बोल्ने त युरोपमा धेरै देखेका थियौं, तर आइफल टावरमा नेपाली पनि बोल्ने अफ्रिकन मुलको काले देखेर हामी अचम्म पर्यौ । मैले भनँे चाहिँदैन । ऊ हाम्रो पछि पछि आयो, १५ युरो दिनुहोस् । भिनाज्युले भन्नुभयो, १० युरोमा दिने हो ? हुन्छ भन्दै उसले दियो । 

सडक किनारमा परिस शहर घुमाउने बिग बस तथा पेरिस टुकटुकहरु थिए । आमाबुबा, दिदीभिनाज्यु र म, हामी पाँच जना थियौं । मैले टुकटुक रोजँे । अनि हामी पेरिस भ्रमणको पहिलो दिन पेरिस टुकटुकमा केही महत्वपुर्ण ठाउँहरु घुम्ने योजना बनाऔं । टुकटुक अगाडि बढ्यो, टुकटुकवाला निकै मस्त व्यक्ति थियो । उनले फ्रान्सको इतिहास बताउँदै टुकटुक कुदाउन थाल्यो । फराकिलो सडकका दायाँवायाँ लामबद्ध कटिङ्ग मिलाइएका रुखहरु,  कलात्मक घरहरू, ठाउँठाउँमा सुन्दर बागबगैचाहरू, फराकिला चोक र गल्लीहरूमा बनाइएका विशाल स्मारक र पार्कहरू, जता हेर्यो उतै फोटो खिचूँ खिचूँ लाग्ने मनमोहक दृश्यहरुमा पौडी खेल्दै  र धेरै रमाइला चोक, आकर्षक मोनुमेन्ट र सुन्दर पार्कहरुलाई छिचोल्द टुकटुक हुइँकिरहेको थियो । 

लगभग तीन किमिको दूरीपछि हामी ऐतिहासिक कला र सँस्कृतिले सजिएको भब्य संग्रालय लूब्र दरबारको परिसरमा पुग्यौ । हामीसँग समय थोरै हेर्नुपर्ने सिङ्गै बिशाल कला संग्रालय । लामो भिडमा लामबद्धभएर हामी पालो आफ्नो पर्खियौ, मोनालिसालाई भेट्ने रोमान्चकासाथ । कलाकृतिको राजधानी मानिने पेरिस र त्यसको मुटु लुब्र दरवार । पर्यटकहरुको एउटा ठूलो भिड क्यामेरा र मुवि क्यामेरा चलाउन ब्यस्त देखिन्थे । हामी मोनालिसालाई भेट्नेहरुको भिडतिर लाग्यौ । हिजोसम्म कौतुहलता र कल्पनाको मोनालिसा, किताबका पानाहरुमा, पोस्टकार्डहरुमा सिमित मोनालिसाको बिम्ब आज आँखा अगाडिको थियो । हेर्दा सामान्य नै लाग्ने यस चित्रका कति प्रति पोस्टकार्ड बने, कति प्रति तस्बिर बने त्यो सँख्याले करोड नाग्ला । धेरै लेखिए र लेख्दै छन् अझै मोनालिसाका फ्यानहरु । लियोनार्दो दा भिन्ची अमर छन् मोनालिसासँगै ।


लुब्र दरवारको घुमाइ सकेर हामी खानाको बन्दोबस्त तिर लाग्यो । आमाबुबा शाकाहारी भएकाले इण्डियन वा नेपाली रेष्टुराँको आवश्यक थियो, टुकटुकवालाले नेपाली रेष्टुराँको बारेमा बतायो, अनि हामी काठमाडौं रेस्टुराँमा गयौ । दालभात खार्यौ ।

पेरिसमा धेरै आफन्तहरु थिए, साथीहरु थिए, तर आफन्त तथा साथीहरुको घरमा बस्नु भन्दा होटलमा बस्न ठीक ठानेर बेलायतमा बस्ने भाइले आइफल टावर नजिकै ५ दिनका लागि एक अपार्टमेन्ट बुक गरिदिएको थियो । बबाले नेपाली रुपैयाँमा हिसाब गर्नुभयो, ५ दिनको डेढ लाख रुपैयाँ । दिदी हाँस्दै भन्नुभयो, बुबा यसरी नेपालीमा हिसाब गर्ने हो भने त यहाँ न केही किन्न सकिन्छ, न कतै घुम्न सकिन्छ । हिजो राती एअरपोर्टबाट आउँदा टैक्सीले १०० युरो लिएको थियो, त्यसको नेपाली १३ हजार जति हुन्छ ।

फेसबुकका कारण पेरिसमा बस्ने आफन्त, छिमेकी तथा साथीहरुले हामी पेरिस आएका थाहा पाए, सबैले आआफ्नो घर बोलाउन थाले । साँझ पख हामी टे«न मार्फत पार्वती मल्लको घरमा रातीको खाना खान गयौं । बुढा आमाबालाई धेरै दौडधुप गर्न गाह्रो थियो, चाहेर पनि धेरै आफन्त तथा साथीभाइलाई भेट्न सकेनौं । कतिपय साथी तथा छिमेकीहरु खोज्दै हामीलाई भेट्न आए ।  


पेरिसमा हाम्रो बसाइ ५ दिनको थियो । ५ दिनमा पेरिस हेरिसक्नु पर्ने भएकाले अर्को दिन बिग बसको खुला छतमा बसेर सुन्दर शहर पेरिस हेर्न निक्लियौं ।  छतमा गोराहरुको बीचमा हामी मात्र नेपाली थियौ । सडकमा पेरिसका सबै पर्यटकीय स्थलहरुलाई समेटने गरि बसहरु कुदिरहेका थिए । बसको अडियो सिस्टमबाट हरेक ठाऊँको बारेमा दिइएको जानकारीले हामीलाई रोमान्चित बनाइरहेको थियो । जति घुमेपनि घुमिरहूँ जस्तो लाग्ने पेरिसलाई दिनभरि खुला बसको छतबाट हेर्दे हामीहरु साँझ फर्कियौ ।

तेस्रो दिन हामी मेट्रो टे«न र सार्वजनिक बसमा घुम्यौं । चौथो दिन पेरिसमा कार्यरत छिमेकी भाइ कृष्णा पराजुली र बहिनी पार्वती मल्लसँग कतै पैदल त कतै बसमा दिनभरि घुम्यौ । पाँचौ दिन फेरि त्यही टुकटुकवाला केटो आयो । फरर्र अंग्रेजी र फ्रेन्च बोल्ने त्यो रोमानियन केटो हामीसँग निकै प्रभावित भएको थियो । केही वर्ष पहिला ऊ नेपाल घुम्न गएको रहेछ । फेरि पनि उसको नेपाल आउने इच्छा रहेछ । त्यसदिन पनि हामी उसैको टुकटुकमा घुम्यौ । तर त्यस दिन उसले पहिलो दिनको भन्दा आधा पैसा कम लियो । 


बेलायत, स्वीडेन, फ्रान्स, नर्बे, जर्मन, स्वीजरलैण्ड तथा फिनल्याण्ड आदि देशहरुमा रोमानियनहरु खुब देखिन्छन् । सडकमा भिख माग्ने रोमानियनहरु पनि थुप्रै छन् । भिनाज्यु हाँस्दै टुकटुकवालालाई भन्नुभयो, तिमीहरुकोतिर त भिख माग्न नजाने बिहे गर्ने केटी नै पाइँदैन रे हो ? ऊ केही बोलेन, खिस्स हाँस्यो मात्र ।

२०, २५ वर्ष पहिला हाम्रो नेपालमा कुनै पनि नेपालीले भिख मागेको देखिदैन्थ्यो । नेपालीहरुले भिख मागेर खानु भन्दा मर्न निको ठान्थे । भिख माग्न बिहार र युपीतिरबाट आउँथे । तर अहिले अनेक बहाना बनाएर भिख माग्ने संख्या बढ्दै गएको छ । सरकार नै अन्तर्राष्ट्रिय नामुद भिखारी भएपछि भिखारीको संख्या यसरी बढ्नु कुनै अनौठो कुरा भएन ।

२ बजेतिर हामी आइफल टावर नजिकै रहेको अपार्टमेन्टमा आयौं । नजिकैको सपिंग मलबाट केही खरिदारी गरी स्वीडेन फर्किने तयारी गर्न थाल्यौ । साँझ ६ बजेको फलाइट थियो । अनि ३ बजे नै टैक्सी लिएर आइफल टावरलाई बिदा गर्दैै एअरपोर्टतर्फ लाग्यौ । क्रमश:
 Watch This Video!
https://www.facebook.com/om.baniya.3/videos/1426678394150471/?t=11