Saturday, June 27, 2020

 ब्रेन बाइट्स:

आहा ! कट्कटिया किताब

पढेर पनि जानिन्छ, परेर पनि जानिन्छ । तर पढेर धेरैलाई परेको जानिन्छ, परेर आफुलाई परेको मात्र जानिन्छ । 

ओम बानियाँ

लेज पढ्ने बेलाको कुरा हो । एक दिन आमाले मैले पर्दैन–पर्दैन भन्दा पनि कति  पुरानै पेन्ट घिर्साछस् भन्दै पेन्ट किन्न एक हजार रूपैयाँ दिनुभयो । शनिवारको दिन म पेन्ट किन्न बजारतिर गए, सारा फैन्सी स्टोरहरू चहारे तर ८–९ सयको पेन्ट किन्न मेरो हात थरथरी काम्यो, किन्नै सकिनँ । सानैदेखि मलाई कपडामा पैसा हाल्नु भनेको फोकटमा पैसा खेर फाल्नु जस्तो लाग्थ्यो । त्यसैले या त आमाले या त दिदीहरूले ल्याइदिएको कपडाहरू नै मैले लगाउने गर्थे । फेरि अर्को दिन पनि म बजार गएँ, पेन्टको दाम सोधे, तर फेरि पनि पेन्ट किन्न सकिनँ । त्यो पैसा थपक्क राखेँ । 

एक महिनापछि म पढाइको सिलसिलामा दिल्ली गएँ । त्यसताका दिल्लीमा विश्वपुस्तक मेला लागेको थियो । त्यो थाहा भएपछि अर्को दिन नै म पुस्तक मेलामा गएँ । किताबै किताबको त्यो महासागरमा मेरो पहिलो नजर एउटा किताबमाथि प¥यो, त्यो किताबको नाम थियो, ‘पोलिटिकल साइकोलोजी एण्ड सोशल डीफेन्स’ । मैले किताब समाएँ, मूल्य सोधेँ र तुरुन्त वालिटबाट ५ सय निकालेर दिएँ । 

‘पुरानो कोट लगाऊ, नयाँ किताब किन ।’ थारोको यो भनाइ मैले कलिलो उमेरमा नै धेरै पटक धेरैको मुखबाट सुनेको हुँ । साहेद यसैको प्रभावले होला, मैले सानैदेखि नै लुगाफाटाहरूलाई भन्दा पत्रपत्रिका तथा किताबहरूलाई प्राथमिकता दिन्थे । स्कुल पढ्दादेखि नै नास्ताको पैसा बचाएर अंग्रेजी पत्रिका विज्डम्, स्क्रीन्, हिन्दी प्रत्रिकाः विज्ञान–प्रगति, नोरोगधाम, आविस्कार, मायापुरी, लोटपोट तथा मधुमुस्कान तथा नेपाली फिल्मी पत्रिका कामना आदि जस्ता पत्रपत्रिकाहरू खोजिखोजि किन्ने गर्थें । एक पटक एस.एल.सी.को परीक्षापछि पोखरा जाने क्रममा नारायणगढमा कामना पत्रिका किन्न बसबाट ओर्लिदा बस नै छुटेको थियो । अलि ठुलो भएपछि पत्रपत्रिकाहरूको साथै किताबहरू पनि किन्न थालेँ  । 


‘पोलिटिकल साइकोलोजी एण्ड सोशल डीफेन्स’ पुस्तक मेलामा मैले किनेको पहिलो किताब हो । जी.बी. लोनद्वारा लिखित ‘पोलिटिकल साइकोलोजी एण्ड सोशल डीफेन्स’ एकदम चर्चित र मलाई ज्यादै मन परेको किताब त होइन, तर यो सम्भवत् राजनीतिक मनोविज्ञानको पहिलो किताब हो । त्यो भन्दा पनि यो एक दुर्लभ किताब हो । मैले यो किताब दुईतीन पटक दोहो¥याएर पढेको थिएँ । मकहाँ आउने र त्यो किताब देख्ने धेरैले त्यो किताब पढे । यसरी पढ्दा–पढ्दै एक दिन त्यो किताब काठमाडौँबाट एक जना साथीले कसले लग्यो–लग्यो भन्दै बेपत्ता पारे । मैले त्यो किताब धेरै खोजेँ । तर कतै पाइनँ । एउटा किताबका लागि घर–घरमा गएर छापा मार्ने कुरा पनि भएन । नयाँ पेन्ट किन्ने पैसाले किनेको त्यो किताब बेपत्ता भएकोमा मलाई निकै मनखत लाग्यो । 

केही वर्ष पहिला मलाई त्यो किताब फेरि किनेर पढ्न मन लाग्यो । अनि मैले काठमाडौँका पिलग्रिम बुक्स, एकताबुक्स तथा रत्नपुस्तक भण्डार आदिलाई त्यो किताब मगाउन भनेँ तर त्यो किताब कतैबाट आएन । अमेरिका तथा बेलायतका पुस्तक पसलहरूमा पनि त्यो किताब भेटिएन । विश्वकै ठुलो अन्लाइन किताब विक्रेता, एमाजोन डट कममा पनि त्यो किताब छैन । यसको मतलव के भने त्यो किताबको नयाँ संस्करण निस्किएको छैन । पुरानाप्रतिहरू कहाँ–कहाँ छन्, धेरै किताब विक्रेताहरूलाई थाहा छैन ।


पुस्तक पसलमा, इन्टरनेटमा आफ्नो रुचीको विषयका नयाँ नयाँ कट्कटिया किताबहरु देख्नासाथ मेरो मनमस्तिष्कमा ‘आहा’ को आनन्द छाउँछ, मलाई ति किताबहरु किनु किनु लाग्छ । मन परेका किताबहरू किन्न मेरो हात कहिल्यै काम्दैनन् । पैसा छ भने जतिसुुकै महंगो किताब किन्न पनि म पछि पर्दिनँ । त्यसो त म बुकवर्म होइन, त्यति धेरै किताबहरू किन्ने मान्छे पनि होइन, मैले भन्दा सयौँ गुण बढी किताबहरू किन्ने मानिसहरू पनि छन् नेपालमा हजारौं ? मेरो बुबाका साथी, जंगबहादुर शाह (विश्वामित्रका लेखक) नै हुनुहुन्छ, सिद्धनगर, बुटवलमा । 

केही समय यता नेपालमा पनि किताब पढ्नेहरुको संख्या निकै पढेको छ । यो ज्यादै खुसीको कुरा हो । तर धेरै व्यक्तिहरूले किताब पढ्न त चाहन्छन्, किनेर होइन, मागेर । जोसँग प्रशस्त पैसा छ, ऊ पनि किताब भिक मागरे पढ्न लाज मान्दैनन् । जाँडरक्सी आदिमा जति पनि पैसा खर्च गर्ने, तर किताब किन्न हात कमाउने र राम्रा किताबहरु देखेपछि मागेर बेपत्ता बनाउने बानी ठीक होइन । यस्ता डकैत प्रवृत्तिका पढ्नदासहरुका कारण मेरो घरको पुस्तकालयबाट थुप्रै किताबहरु गायब भएका छन् । कतिपय किताबहरु त दुईतीन पटक गायब भएर मैले ती किताबहरु पटक—पटक किनेको छु ।

मैले देशविदेशबाट थुप्रै किताब किताबहरु ल्याउँछु, मगाउँछु । जहाँ गए पनि मैले झोलाभरि नयाँ कट्कटिया किताबहरु नै बोकेर आउँछु । दसैंतिहारको सुन्दर हरियाली मौसममा अरुहरु चंगा, पिंग, दारु, जुवातास र घुमघाम रमाइरहँदा घरको लाइब्रेरीमा बसेर नयाँ कट्कटिया किताब पढ्ने र नयाँ किताब लेख्ने मेरो पुरानो रुटिन हो । किताब लेख्न किताब तथा जर्नलहरु पढ्नुको विकल्प छैन । 


निकै वर्ष पहिला आइन्सटाइनको मस्तिष्क अध्ययन गर्ने प्रसिद्ध स्नायुवैज्ञानिक तथा बेस्टसेलर किताब, म्याजिक ट्री अफ द माइण्ड कि लेखिका, प्रा. डा. मरियन डाइमण्डले मलाई भनेकी थिइन्, ओम, तिमीले किताब लेख्न चाहन्छौ भने त्यस विषयसँग सम्बन्धि कम्तिमा पनि सयवटा किताबहरु गहनरुपमा पढ्, जतिसकिन्छ, जर्नलहरु हेर र लेख्न बस । प्रा. डाइमण्डले मलाई दिएको किताब लख्ने यो फार्मुला मलाई निकै मन परको छ । त्यसैले विगत दश वर्षदेखि मैले यस गुरुमन्त्रलाई पछाउँदै आएको छु । त्यसैले पनि आफुलाई चाहिएको र पढ्न मन लागेको किताब किन्न मैले कुनै कन्जुसाइँ गर्दिनँ ।  मैले पुरानो पेन्ट लगाउँछु, नयाँ किताब किन्छु, थोत्रो साइकल तथा मोटरसाइकल चढ्छु, आफुलाई मन परेको किताब किन्छु । धेरै पटक त मैले ईबुकवालालाई ‘मेमोरी फर्मुला’ नै बेचेर किताबहरू किनेको छु । 


पुछारमाः
हो, ज्ञान आर्जन गर्नकालागि किताब पढ्न आवश्यक छ । वास्तवमा भन्ने हो भने सेक्सपियरले भनेझैं मानिसको वास्तविक पढाइ त केलज तथा विश्वविद्यालयको पढाइ सकिएपछि शुरु हुन्छ । त्यसैले जुनसुकै पेशाव्यावसाय अपनाए पनि पढ्न कदापि नछोड्नु हुँदैन । त्यो किनभने केही नयाँ गर्न पढ्नै पर्छ । अगि बढ्न पढ्नै पर्छ । नपढी कुनै पनि क्षेत्रमा राम्रोसँग अगाडि बढ्न सकिँदैन । त्यसैले पढेर भन्दा परेर जानिन्छ भन्ने भ्रममा बस्नु ठीक छैन । यस लोकोक्तीप्रति मेरो पुर्ण सहमति छैन । वास्तवमा यो लोकोक्ती पुर्णसत्य छैन, अर्धसत्य छ । त्यो किनभने पढेर पनि जानिन्छ, परेर पनि जानिन्छ । तर पढेर धेरैलाई परेको जानिन्छ, परेर आफुलाई परेको मात्र जानिन्छ । त्यसैले पढाइको यो महत्वलाई हृदगंम् गर्दै दसैंतिहार जस्ता चार्डपर्वहरुमा, खाली समयमा जुवातास तथा सामाजिक संजालमा मात्रै नारिनु भन्दा त्यो मुल्यवान समयलाई किताबमय बनाउनु उचित हुन्छ । दसैंतिहारमा, अन्य चाडपर्वमा, जन्मदिनमा, विवाह तथा पास्नी आदिमा कट्कटिया नोट तथा लुगाफाटा दिनु भन्दा नयाँ कट्कटिया किताब दिन सुनमा सुगन्ध छरे जस्तो हुन्छ, मेरो बिचारमा । (२०७० सालमा नागरिक दैनिकमा प्रकाशित लेख ।)


सम्पर्क: https://www.ucl.ac.uk/pals/research/clinical-educational-and-health-psychology/research-groups/international-cognitive-19

No comments:

Post a Comment