Friday, June 19, 2020

ब्रेन बाइट्स 

पेरिसका रमाइला पाँच दिन 
ओम बानियाँ 
इफल टावरको फेदमा रहेको काउण्टरमा एक घण्टाको पर्खाइपछि बल्ल हाम्रो पालो आयो । हामी लिफ्टद्धारा बिस्तारै टावरमाथि चढ्यौ । आइफल टावरमाथि बजार रहेछः क्याफे, बार, आइसक्रिम सपदेखि रेष्टुरेन्टसम्म, ग्यालरिदेखि म्युजियमसम्मको सुबिधाले पर्यटकहरुको ठूलो भिडलाई आकर्षित गरिरहेको थियो । आइफल टाबरको सबैभन्दा माथि सँसारभरिका झन्डाहरु र राजधानीको एरियल डिस्टेन्स लेखिएको रहेछ । आइफल टाबर चडनेहरुले संझनाकालागि त्यहाँका फलामे पिलर र भित्ताहरुमा आफ्ना नाम र मिति लेखेको देखियो । फ्रेन्च टेलिविजन र रेडियोले आइफल टावरको चुचुरोलाई एन्टिनाको रुपमा प्रयोग गरेकाछन्। उक्त एन्टेना सहितको टावरको उचाइ ३२४ मिटर रहेको छ । आइफल टावर साँझमा हेर्दा रमाइलो देखिने कारण त्यसमा जडिएका चम्किला बत्तीहरू रहेछन् । सुन्दर टावरलाई रातीमा समेत चम्काइ राख्न छ हजार वाटका ठूला ४ फ्लूड लाइटहरू र जेनन बल्बहरू घुम्ने गरि जडान गरिएका छन्, जसले पुरै पेरिसमाथि उज्ज्यालो छर्छन् । ३ सय २४ मिटर अग्लो आइफल टावरबाट उतिबेला हामीले पढ्दै आएको विश्वको सुन्दर शहर, सारा पेरिस देखिंदो रहेछ । हिजोसम्म कितावका पानाहरुमा, रोमान्चकता र काल्पनामा मात्र सिमित रहेको आइफल टावर आज हाम्रा आँखा अगाडि थियो । आइफल टावरबाट देखिएको मनमोहक पेरिस शहरले हामी सबैलाई मन्त्रमुग्ध बनाएको थियो, सबै पर्यटकहरु दृश्य हेर्न र फोटो खिच्न व्यस्त थिए । 


फ्रान्सको पेरिसमा रहेको आइफल टावर विश्वकै एक महत्वपूर्ण पर्यटकीय गन्तव्य हो, यस विश्व प्रसिद्ध टावरलाई हेर्न विश्व भरका मन्छेको त्यहाँ धुइँचो हुने गर्द छ । हरेक वर्षमा ६० लाख भन्दा बढी विदेशी पर्यटकहरू पुग्ने गर्दछन् । यो विश्वको मानवनिर्मित ७ आश्चर्यमध्येको एक आश्चर्य हो । धेरैलाई सुन्दा अचम्म लाग्न सक्छ, यो टावरमाथि कुनैबेला जर्मनीका तानाशाह हिटलरले कब्जा गरेका थिए ।गुस्ताव आइफलले निर्माण गरेको यो टावरको निर्माणमा २ वर्षभन्दा बढी समय लागेको थियो । यसलाई फ्रान्सको संस्कृतिको प्रतिक मानिन्छ । सन् १८८९ मा निर्माण सम्पन्न भएको यो टावरले १ सय ३० वर्ष सफलतापूर्वक पार गरेको छ । जब आइफल टावर निर्माण भयो, त्यतिबेला यो टावर संसारकै अग्लो संरचना थियो । 


हामी केही क्षण टावरको शिखरमा रमाएपछि तल झर्यौ । घाम लागे पनि चिसो हावा चलेको थियो । केही फोटोहरु खिचेपछि हामी आइफल टावरको कम्पाउण्ड बाहिर निस्किर्यौ । बाहिर सडकको किनारामा आइफल टावर बेच्नेहरुको बाक्लो घुइँचो थियो । एउटा कालेले बुबाले ढाका टोपी लगाएको देखेर होला, नेपालीमा भन्यो, नमस्ते १ यो लिनुहोस् आइफल टावर २० युरोमा । हामीले हिन्दी बोल्ने त युरोपमा धेरै देखेका थियौं, तर आइफल टावरमा नेपाली पनि बोल्ने अफ्रिकन मुलको काले देखेर हामी अचम्म पर्यौ । मैले भनँे चाहिँदैन । ऊ हाम्रो पछि पछि आयो, १५ युरो दिनुहोस् । भिनाज्युले भन्नुभयो, १० युरोमा दिने हो ? हुन्छ भन्दै उसले दियो । 

सडक किनारमा परिस शहर घुमाउने बिग बस तथा पेरिस टुकटुकहरु थिए । आमाबुबा, दिदीभिनाज्यु र म, हामी पाँच जना थियौं । मैले टुकटुक रोजँे । अनि हामी पेरिस भ्रमणको पहिलो दिन पेरिस टुकटुकमा केही महत्वपुर्ण ठाउँहरु घुम्ने योजना बनाऔं । टुकटुक अगाडि बढ्यो, टुकटुकवाला निकै मस्त व्यक्ति थियो । उनले फ्रान्सको इतिहास बताउँदै टुकटुक कुदाउन थाल्यो । फराकिलो सडकका दायाँवायाँ लामबद्ध कटिङ्ग मिलाइएका रुखहरु,  कलात्मक घरहरू, ठाउँठाउँमा सुन्दर बागबगैचाहरू, फराकिला चोक र गल्लीहरूमा बनाइएका विशाल स्मारक र पार्कहरू, जता हेर्यो उतै फोटो खिचूँ खिचूँ लाग्ने मनमोहक दृश्यहरुमा पौडी खेल्दै  र धेरै रमाइला चोक, आकर्षक मोनुमेन्ट र सुन्दर पार्कहरुलाई छिचोल्द टुकटुक हुइँकिरहेको थियो । 

लगभग तीन किमिको दूरीपछि हामी ऐतिहासिक कला र सँस्कृतिले सजिएको भब्य संग्रालय लूब्र दरबारको परिसरमा पुग्यौ । हामीसँग समय थोरै हेर्नुपर्ने सिङ्गै बिशाल कला संग्रालय । लामो भिडमा लामबद्धभएर हामी पालो आफ्नो पर्खियौ, मोनालिसालाई भेट्ने रोमान्चकासाथ । कलाकृतिको राजधानी मानिने पेरिस र त्यसको मुटु लुब्र दरवार । पर्यटकहरुको एउटा ठूलो भिड क्यामेरा र मुवि क्यामेरा चलाउन ब्यस्त देखिन्थे । हामी मोनालिसालाई भेट्नेहरुको भिडतिर लाग्यौ । हिजोसम्म कौतुहलता र कल्पनाको मोनालिसा, किताबका पानाहरुमा, पोस्टकार्डहरुमा सिमित मोनालिसाको बिम्ब आज आँखा अगाडिको थियो । हेर्दा सामान्य नै लाग्ने यस चित्रका कति प्रति पोस्टकार्ड बने, कति प्रति तस्बिर बने त्यो सँख्याले करोड नाग्ला । धेरै लेखिए र लेख्दै छन् अझै मोनालिसाका फ्यानहरु । लियोनार्दो दा भिन्ची अमर छन् मोनालिसासँगै ।


लुब्र दरवारको घुमाइ सकेर हामी खानाको बन्दोबस्त तिर लाग्यो । आमाबुबा शाकाहारी भएकाले इण्डियन वा नेपाली रेष्टुराँको आवश्यक थियो, टुकटुकवालाले नेपाली रेष्टुराँको बारेमा बतायो, अनि हामी काठमाडौं रेस्टुराँमा गयौ । दालभात खार्यौ ।

पेरिसमा धेरै आफन्तहरु थिए, साथीहरु थिए, तर आफन्त तथा साथीहरुको घरमा बस्नु भन्दा होटलमा बस्न ठीक ठानेर बेलायतमा बस्ने भाइले आइफल टावर नजिकै ५ दिनका लागि एक अपार्टमेन्ट बुक गरिदिएको थियो । बबाले नेपाली रुपैयाँमा हिसाब गर्नुभयो, ५ दिनको डेढ लाख रुपैयाँ । दिदी हाँस्दै भन्नुभयो, बुबा यसरी नेपालीमा हिसाब गर्ने हो भने त यहाँ न केही किन्न सकिन्छ, न कतै घुम्न सकिन्छ । हिजो राती एअरपोर्टबाट आउँदा टैक्सीले १०० युरो लिएको थियो, त्यसको नेपाली १३ हजार जति हुन्छ ।

फेसबुकका कारण पेरिसमा बस्ने आफन्त, छिमेकी तथा साथीहरुले हामी पेरिस आएका थाहा पाए, सबैले आआफ्नो घर बोलाउन थाले । साँझ पख हामी टे«न मार्फत पार्वती मल्लको घरमा रातीको खाना खान गयौं । बुढा आमाबालाई धेरै दौडधुप गर्न गाह्रो थियो, चाहेर पनि धेरै आफन्त तथा साथीभाइलाई भेट्न सकेनौं । कतिपय साथी तथा छिमेकीहरु खोज्दै हामीलाई भेट्न आए ।  


पेरिसमा हाम्रो बसाइ ५ दिनको थियो । ५ दिनमा पेरिस हेरिसक्नु पर्ने भएकाले अर्को दिन बिग बसको खुला छतमा बसेर सुन्दर शहर पेरिस हेर्न निक्लियौं ।  छतमा गोराहरुको बीचमा हामी मात्र नेपाली थियौ । सडकमा पेरिसका सबै पर्यटकीय स्थलहरुलाई समेटने गरि बसहरु कुदिरहेका थिए । बसको अडियो सिस्टमबाट हरेक ठाऊँको बारेमा दिइएको जानकारीले हामीलाई रोमान्चित बनाइरहेको थियो । जति घुमेपनि घुमिरहूँ जस्तो लाग्ने पेरिसलाई दिनभरि खुला बसको छतबाट हेर्दे हामीहरु साँझ फर्कियौ ।

तेस्रो दिन हामी मेट्रो टे«न र सार्वजनिक बसमा घुम्यौं । चौथो दिन पेरिसमा कार्यरत छिमेकी भाइ कृष्णा पराजुली र बहिनी पार्वती मल्लसँग कतै पैदल त कतै बसमा दिनभरि घुम्यौ । पाँचौ दिन फेरि त्यही टुकटुकवाला केटो आयो । फरर्र अंग्रेजी र फ्रेन्च बोल्ने त्यो रोमानियन केटो हामीसँग निकै प्रभावित भएको थियो । केही वर्ष पहिला ऊ नेपाल घुम्न गएको रहेछ । फेरि पनि उसको नेपाल आउने इच्छा रहेछ । त्यसदिन पनि हामी उसैको टुकटुकमा घुम्यौ । तर त्यस दिन उसले पहिलो दिनको भन्दा आधा पैसा कम लियो । 


बेलायत, स्वीडेन, फ्रान्स, नर्बे, जर्मन, स्वीजरलैण्ड तथा फिनल्याण्ड आदि देशहरुमा रोमानियनहरु खुब देखिन्छन् । सडकमा भिख माग्ने रोमानियनहरु पनि थुप्रै छन् । भिनाज्यु हाँस्दै टुकटुकवालालाई भन्नुभयो, तिमीहरुकोतिर त भिख माग्न नजाने बिहे गर्ने केटी नै पाइँदैन रे हो ? ऊ केही बोलेन, खिस्स हाँस्यो मात्र ।

२०, २५ वर्ष पहिला हाम्रो नेपालमा कुनै पनि नेपालीले भिख मागेको देखिदैन्थ्यो । नेपालीहरुले भिख मागेर खानु भन्दा मर्न निको ठान्थे । भिख माग्न बिहार र युपीतिरबाट आउँथे । तर अहिले अनेक बहाना बनाएर भिख माग्ने संख्या बढ्दै गएको छ । सरकार नै अन्तर्राष्ट्रिय नामुद भिखारी भएपछि भिखारीको संख्या यसरी बढ्नु कुनै अनौठो कुरा भएन ।

२ बजेतिर हामी आइफल टावर नजिकै रहेको अपार्टमेन्टमा आयौं । नजिकैको सपिंग मलबाट केही खरिदारी गरी स्वीडेन फर्किने तयारी गर्न थाल्यौ । साँझ ६ बजेको फलाइट थियो । अनि ३ बजे नै टैक्सी लिएर आइफल टावरलाई बिदा गर्दैै एअरपोर्टतर्फ लाग्यौ । क्रमश:
 Watch This Video!
https://www.facebook.com/om.baniya.3/videos/1426678394150471/?t=11


               

No comments:

Post a Comment