Wednesday, June 17, 2020

ब्रेन बाइट्स

आहा ! बिपीको सपना
ओम बानियाँ 

दौ २६ गते रातीको ८ः३० बजे हामी स्टोकहोमको अलरण्डा एअरपोर्टबाट झिलिमिली सफा र शान्त शहरलाई चिर्दै सिगटुना नगरपालिकाको मास्त्रातर्फ लाग्यौ । दिदीको घरमा पुग्दा रातको करिब ९ बजिसकेको थियो । दिनभरिको हवाइ उडानले निकै थाकेका थियौ । खाना खाइवरि छिट्टै सुत्यौ ।


बिहान आमाबुबा, दिदी, भान्जा र म बाहिरतिर घुम्न निस्कियौ । भदौको पहिलो सातामा पनि त्यहाँ चिसो बढिसकेको थियो । घाम लागेपनि सिर्रर चिसो हावा चलेको थियो । दिदीले भन्दाभन्दै पनि मैले कान छोप्ने टोपी नलगाएकोले कान केही चिसो भयो । दिदीको घर नजिकै एउटा सानो सुन्दर पार्क थियो । अलि अगाडि प्राथमिक स्कुल थियो । आहा १ कति राम्रो स्कुल । स्कुल देखेर हामी मन्त्रमुग्ध भयौ । स्कुलबाट २ सय मिटर अगाडि एउटा सार्वजनिक व्यायाम पार्क थियो । म र भान्जा केही क्षण व्यायाममा रमायौ । बुबा झुलामा बस्नुभयो । आमाले हल्लाइदिनु भयो । भान्जा हाँस्न थाले । अलि अगाडि अर्को स्कुल थियो । ५ सय मिटर अगाडि लाइट सहितको भव्य स्टेडियम थियो । स्टेडियम भित्र ससना केटाकेटीदेखि बुढापाकाहरु समेत आआफ्नो रुचिका खेलहरु खेलिरहेका थिए । एउटा सानो वस्तीमा समेत यत्रो स्टेडियम देख्दा हामी दंग पर्यौ । फेरि अर्को स्कुल आयो । भान्जाले भने, यो जिम्निासियम (स्कुल ) हो । यहाँ ११, १२ कक्षाको पढाइ हुन्छ । यत्रतत्र सानाठुला स्कुलहरु देख्दा लाग्थ्यो, स्वीडेनमा वस्तीहरु भन्दा स्कुलहरु बढि छन् ।

दिदी, आमा र बुवा: मास्त्रा सेन्टरमा 

हामी छोटो पैतल यात्रामा थियो । सुन्दर, सफा र टलक्क टल्किने सडक । सडक किनारमा फूलेका फलेका अनेक थरिका बोटविरुवा । ठाउँ ठाउँमा उस्तै उस्तै चिटिक्क परेका घर र रमणीय पार्कसहितको सून्दर बस्तिहरु छिचल्दै हामी मास्त्रा सेन्र्टम अर्थात मास्त्रा सेन्टरको बजारमा पुग्यौ । सपिंग गर्यौ । र, अर्को बाटो घुम्दै घर पर्कियौ । गाउँको सानो बाटोमा पनि सडक बत्ति थियो । गाउँको भित्री बाटो, जहाँ ट्राफिक लाइट छैन, त्यहाँ मानिसले बाटो काट्दा टाढै गाडी रोकिदिने अनुशासित चालक देखेर हामी दंग पर्यौ ।

बाटोमै राजदरवार

अर्को दिन राजधानी स्टोकहोम घुम्ने योजना बन्यो । बिहान खाइबरि दिदी र ठूलो भान्जा कुशल टे«नमा र भिनाजु, आमाबबा, कान्छा भान्जा क्रिशल र म कारमा निक्लियौ । पहिला हामी ड्रोटिंगिंगहम प्यालेस घुम्यौ । यो निकै प्रसिद्ध पर्यटकीय क्षेत्र हो । त्यहाँबाट हामी पार्लियामेन्ट हाउस तथा राज दरवार पुग्यौ । स्वीडेनको राजदरवार देख्दा अनौठो लाग्यो । दरवार चारैचिर न त गोली गठ्ठासहित सैनिक तैनाथ थिए, न त प्रहरी थिए । दरवार सडकको किनारमा थियो । नजिकैबाट गाडीहरु हिँडिरहेका थिए । दरवार र पार्लियामेन्ट हाउस फन्को लगाए पछि हामी मुख्य बजारतिर लाग्यौ । बजारका घरहरु पनि टम्म मिलेका दाँत जस्ता । सफासुग्घर फराकिलो बाटो । न कतै प्रहरी न त कतै भिडभाड र हल्लागुल्ला । अनि जनजीवन चाही स्वाचालित रुपमा चलेको जस्तो देखिन्थ्यो


स्वीडेनका सडक मात्र होइन, रेल तथा बस स्टेसन, सपिंग मल, कार्यालय सबै अपांगमैत्रि देखियो । बुझ्दा स्वास्थ्य र शिक्षा सबैको पहुँच रहेको थाहा भयो । विद्यार्थी, बालक, सुत्केरी तथा बेरोजगारी भत्ताको व्यावस्था रहेछ । सबै भन्दा महत्वपुर्ण कुरा के भने यहाँ कुनै पनि मेधावी विद्यार्थी पैसाको कारण आफुले चाहेको विषय पढाइबाट बंचित हुनु पर्दैन । हेरेँ, मैले त विपीको प्रजातान्त्रिक समाजवाद यहाँ पो लागु भएको देखेँ । यदि नेपाली काँग्रेसका नेताहरुले विपीको सिद्धान्त अनुसार कार्य गरेको भए, अहिले नेपाल स्वीडेनको बाटोमा अगि बढ्ने थियो । र, अहिलेसम्म नेपाल सुन्दर, शान्त र समृद्ध भैसकेको हुने थियो । 

के छैन र नेपालमा ? नेपाल प्राकृति साधानस्रोतले निकै धनि छ । छैन त राजनीतिमा ईमान्दारिता । बेइमान राजनीतिका कारण नै प्राकृतिक साधनस्रोतले यति धनी हुँदा पनि नेपालको विकास हुन सकेन । प्रगति हुन सकेन । पछिल्लो ३०, ४० वर्षमा नेपाल भन्दा निकै गरीब र कमजोर देशहरुले समेत आर्थिक विकासको अकाश छुदै गर्दा नेपाल भने जहाँको तहीं छ । यसरी नेपालको प्रगति हुन नसक्नुको मख्य कारण हो,  नेपालको असक्षम राजनीति ।

दिदि- भिनाजु र  भान्जाहरू 

विकास र समृद्धिका नाममा नेपालमा अनेक राजनीतिक प्रयोगहरु भए । पंचायती व्यावस्था आयो, ३० वर्ष शासन गर्यो । बहुदलीय पजातन्त्र, १३ वर्ष शासन गर्यौ । पुनः सक्रिय राजतन्त्र आयो । र, अहिले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र छ । तर नेपालमा जुनतन्त्र आए पनि नेपालको राजनीति इमानदार, दूरदर्शी र सक्षम हुन सकेन । आफ्नै खुट्टामा उभिन सकेन, सकिरहेको छैन । 

हो, हरेक पार्टीका नेताहरुले नेपालको विकास र समृद्धिका ठूल्ठूला कुरा गर्छन् । सिंहझै गर्जिएर आकाशको तारा झार्ने भाषण ठोक्छन् । तर कुन विकास किन कसरी कहिले गर्ने भन्ने योजनाप्रति उनीहरुको कुनै चाँसो छैन । ज्ञान पनि छैन । वास्तवमा नेपाली राजनीतिमा कन्ट्री फस्र्टको भावना नै छैन । नेपाली राजनीति पार्टी फस्र्ट, गुट फस्र्टको भावनाले ओतप्रोत छ । पछिल्लो ३० वर्षको इतिहास पल्टाउने हो भने नेपाली राजनीतिले देशको भन्दा पनि आफ्नो पार्टीको, आफ्नो र आफ्नो गुटको हित र विकास गरेको देखिन्छ । 


फर्किदा कुशल भान्जा र म टे«नमा आयौ । हामी बसेको सिटको अलिपर एक जना महिला थिइन् । भान्जाले भने, मामा ऊ त्यो मन्त्री हो । यहाँ त मन्त्रीहरुलाई बस तथा रेल जस्ता सार्वजनिक सवारी साधानमा समेत यात्रा गरेको भेटिन्छ । पछि थाहा भयो एक समान्य कर्मचारी जस्तो गरि रेलमा यात्रा गर्ने ती महिला स्वीडेनकी शिक्षा मन्त्री अन्ना एकस्ट्रोम रहेछिन् ।
म दंग परेँ ।

तत्कालै मेरो मनमस्तिष्कमा एकाएक महगां चिल्ला गाडीहरुमा साइरन बजाउँदै लावालस्करसँगै हिँड्ने मन्त्री र तिनका झोलेहरु अनुहार नाच्न थाले । चित्रबहादुर केसीलाई सम्झेर हामीकहाँ पनि कोही त छन् नि भनेर मनलाई सानत्वना दिएँ ।

गाडी मास्त्रा स्टेसनमा रोकियो । मास्त्राबाट हामी ठुलो बसमा  घरतर्फ लाग्यौ।   
अन्तमा स्वीडेन संवैधानिक राजतन्त्रात्मक बहुदलिय प्रजातान्त्रिक मुलुक हो । उत्तरी धुर्वमा पर्ने हुनाले निकै जाडो छ । असोज कात्तिक महिनादेखि नै यहाँ बरफ पर्न थाल्छ । ४ बजे नै साँझ पर्छ । यस लोककल्याणकारी मुलुक २१ प्रशासनिक जिल्ला (काउंटी) र जिल्ला अन्तर्गत  नगरपालिका(कम्युन)मा बाँडिएको छ । क्रमशः 
 
https://www.facebook.com/om.baniya.3/videos/1442557149229262/




4 comments:

  1. 'चित्रबहादुर केसीलाई सम्झेर हामीकहाँ पनि कोही त छन् नि भनेर मनलाई सानत्वना दिएँ ।'
    चित्रबहादुर खाली लेख मा नै सीमित हुने भए। हामी ले वास्तवमै नेता चिन्न सकेका छैनौ ।

    ReplyDelete
  2. Yes ! हामी ले वास्तवमै नेता चिन्न सकेका छैनौ ।

    ReplyDelete
  3. दर्शन दाजी
    जनताले नै भोट दिएर जिताएर सत्तामा कुर्सिमा आसिन भएका माननियहरु फेरि जनता सामु आउदा किन सुरक्षाको खांचो परेको हुन्छ?किन जनता संगै डाराएका होलान?

    ReplyDelete
    Replies
    1. जनताको लागि काम नगर्नेहरु जनतासँग डराउँछन् ।

      Delete