Thursday, June 4, 2020


हेल्थ फर्स्ट 

माछा-मासु र स्वास्थ्य 
ओम बानियाँ

माछामासु मानिसको प्राकृतिक आहार होइन । तर पौष्टिकता दृष्टिकोणले पोषिलो खाना भने हो । माछामासुबाट मानिसले अनेक प्रकारका पौष्टिक तत्वहरु पाउँछन् । तर आवश्यक भन्दा बढी माछामासु खाएमा यसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्दछ । त्यसैले स्वस्थ व्यक्तिले पनि कस्तो प्रकारको मासु कति खाँदा उपयुक्त हुन्छ भन्ने कुरामा विचार पु¥याउनुपर्छ । यदि माछामासुको सेवनमा होसियारी नअपनाउने हो भने मासुकै कारण सर्यौ प्रकारका रोगहरुको संक्रमणको खतरा हुन सक्छन् । रोगी पशु तथा फोहोर स्थानमा बध गरेको मासुमा विभिन्न रोगका किटाणुको संक्रमण हुन्छ र त्यस्तो मासु राम्ररी नपकाइकन खाँदा मानिसमा रोगको जोखिम बढि हुन्छ । धेरै दिनसम्म फ्रिजमा राखेको बासी माछामासु पनि खानका लागि जोखिमर्पूण हुन्छ । धेरै घिउतेल तथा मसला हालेर पकाएको मासुले मुटु बिर्गान सक्दछ । पोलेको मासु, छोयला, सुकुटी लगायतका परिकारहरुले पेटको क्यान्सर लगायतका खतराहरु बढाउन सक्दछ ।



सामान्यतया स्वस्थ मानिसले ठीक्क मात्रामा स्वस्थ माछामासु खाँदा शरीरलाई पोषण गर्ने भएता पनि मृगौला, मुटु तथा कलेजोका रोगीहरुले मासु सेवन गर्नु निकै हानिकारक हुन्छ । दशैमा माछामासुको साथै मदिरा, बिभिन्न प्रकारका मिठाइ, दही, पनिर तथा घिउतेल पनि बढि खाइने हुँदा यस्ता पदार्थहरुले मुटुलाई समेत हानी पुग्न सक्दछ । त्यसैले माछामासुका साथै अन्य परिकारहरुको सेवनमा सावधानी अपनाउने र अरु समयमा जस्तै चाडबाडमा पनि सन्तुलित भोजन गर्ने, रातो मासु भन्दा सेतो मासु सेवन गर्ने हो भने खानपानका कारण देखा पर्ने स्वास्थ्य समस्याहरु कम हुन्छन् । 

रातो मासुः 

खसी, बोका, राँगा, बँदेल तथा भेडा आदिको मासु रातो मासु हो । रातो मासुमा प्रोटिनका साथै फ्याट्टी एसिड पनि प्रशस्त मात्रामा हुन्छ । मासुमा भएको कोलेस्टेरोलले भन्दा यसमा भएको फ्याट्टी एसिडले स्वास्थ्यलाई बढी खराब गर्छ । त्यो किनभने शरीरभित्र कोलेस्टेरोल फ्याट्टी एसिडसँग मिलेपछि मात्र खराब चिल्लो बन्छ । त्यसैले मासु खाँदा चिल्लोमा विशेष ध्यान दिनुपर्छ । वयष्क तथा वृद्धहरुमा साधारणतया बढी स्वास्थ्य समस्या देखिने हुनाले रातो मासु खाँदा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । कतिपय समुदायमा आफ्नो परंपरा र धार्मिक मान्यता अनुसार रातो मासुलाई नै विशेष प्राथमिकता दिएको पाइन्छ । यस्तो स्थितिमा सकेसम्म कम परिमाण प्रयोग गर्नुपर्छ । चाडपर्वमा पनि बिहानबेलुकी गरेर २ सय ग्राम भन्दा बढी मासु खानु ठीक हुदैन । मासु कम खाने र पकाउने विधिमा समेत विचार पु¥याउनुपर्ने हुन्छ । सकेसम्म मासुलाई बोसो निकालेर थोरै मात्र तेलको प्रयोग गरी पकाउनु राम्रो हुन्छ । मासुलाई उसिनेर पकाउँदा चिल्लो पदार्थको परिमाण कम हुन सक्छ ।


सेतो मासुः

सेतो मासु भन्नाले कुखृुरा, परेवा, हाँस तथा चराचुरंगीहरुको मासु भन्ने बुझिन्छ । यस प्रकारको मासु प्रोटिनको उत्तम स्रोत हुनुको साथै रातो मासुको दाँजोमा चिल्लो पदार्थ कम हुन्छ । चराको प्रकार, कुन अंगको मासु, पकाउने विधि अनुसार चिल्लोको मात्रा फरक फरक हुन्छ । टर्कीको छातीको छाला नभएको मासुमा १८ प्रतिशत चिल्लो हुन्छ भने सोही भागको कुखुराको छाला रहित मासुमा २४ प्रतिशत चिल्लो हुन्छ । यसैगरी छालासहित कुखुराको खुट्टा, पखेटा, साप्रोमा चिल्लो पदार्थ, कोलेस्टेरोल र क्यालोरीको मात्रा बढी हुन्छ । छाला निकालेको मासुलाई कम तेलमा पकाउदा निकाल्दा फ्याटी एसिड कम हुन्छ । ग्रिल, बेकगरी मासु पकाएको छ भने खानेबेला मात्र छाला निकाल्दा राम्रो हुन्छ । किनकि छालाले मासु नरम राख्नुका साथै फ्याटी एसिड पनि कम हुन्छ । तर हाँस, कुखुरा तथा अन्य चराचुरुंगीहरुको मासु प्रयोग गरी बनाएको ससेस, हटडग पनि स्वस्थकर हुँदैनन् ।

चराचुरुंगीहरुको मासुमा रातो मासुको तुलनामा चिल्लो पदार्थ कम हुने भएता पनि सबै चराचुरुंगीहरुको मासु एकनाशको हुँदैन । चराचुरुंगीहरुको आकार प्रकार अनुसार चिल्लोपनाको प्रतिशत पनि फरक फरक हुन्छ । जस्तो कि कुखुरा र टर्कीको मासुमा झन्डै त्यति नै चिल्लो हुन्छ भने हाँसको मासुमा चिल्लो बढी हुन्छ । जबकि अस्ट्रिच, इमु र परेवाको मासुमा चिल्लो, कोलेस्टेरोल र क्यालोरी समेत कम हुन्छ । साधारणतया रातो मासुको तुलनामा सेतो मासु स्वस्थकर मानिन्छ । तर सेतो मासु पकाउने विधि र खाने मात्रा ठीक भएन भने सेतो मासुले पनि स्वास्थ्यलाई असर गर्छ ।


माछा उत्तमः 
पौष्टिक र स्वास्थ्यको दृष्टिकोेणले मासु भन्दा माछा झन् पोषिलो हुन्छ । यसमा चिल्लो तथा फ्याटी एसिडको परिमाण कम हुनुको साथै प्रोटिन र भिटामिन जस्ता अति आवश्यक तत्वहरु प्रशस्त हुन्छ । खासगरी यसमा भिटामिन बी१, बी३, बी६ र भिटामिन डी प्रशस्त हुनुको साथै फसफोरस, आयोडिन, सेलिनियम, पोटासियम जस्ता खनिज तत्वहरु पनि हुन्छन् । यस बाहेक माछामा शरीरलाई अति आवश्यक तत्व ओमेगा थ्री फ्याट्टि एसिड पनि प्रशस्त हुन्छ, जसले रगतमा असल प्रकारको कोलेस्टेरोल बढाएर नराम्रो वा खराब कोलेस्टेरोल कम गरी मुटु स्वस्थ राख्न मद्दत गर्छ । ठूलो र मोटो खालको माछामा फ्याटी एसिड बढी हुन्छ भने सानो र मसिनो माछामा कम हुन्छ । यहाँ अर्को उल्लेखनीय कुरा के भने जुन आहार मुटुकालागि उपयुक्त हुन्छ, त्यो आहार मस्तिष्कका लागि पनि उपयुक्त हुन्छ । यही कारणले माछालाई बे्रन फुड्स, सुपर फुड्स भन्ने गरिन्छ । त्यसैले सकिन्छ भने हप्ताको दुईचोटि खानामा माछा, खासगरी, म्याकेरल, हेरिङ, सार्डिनेज, टुना तथा सालमन समावेश गर्दा राम्रो हुन्छ । त्यसो त बदाम(आलमन्ड), जैतूनको तेल तथा आलसको तेलमा पनि प्रशस्त मात्रामा ओमेगा थ्री फ्याट्टि एसिड पाइन्छ ।  मासुको तुलनामा माछा श्रेष्ठ भएता पनि यदि माछा काट्दा, पखाल्दा र पकाउँदा सावधानी अपनाइएन भने स्वास्थ्यका लागि हानिकारक हुन्छ । माछा पनि बढी सेवन गर्नु हुँदैन । एक पटकमा सय ग्राम माछा खानु उचित हुन्छ । 

अस्ट्रिचको मासु

केही वर्ष यता आम नेपालीहरुको खानामा समावेश भएको मासु हो, अस्ट्रिचको मासु । अस्ट्रिचको मासु अन्य पशुपंक्षीको तुलनामा केही महंगो भएता पनि बढी स्वादिलो र स्वास्थ्यवद्र्धक हुने अध्ययनले देखाएको छ । अस्ट्रिचको मासुमा प्रोटिन्स, भिटामिन्स तथा मिनरल्सको मात्रा अन्य पशुपंक्षीको तुलनामा बढी हुन्छ भने बोसोको मात्रा कम हुन्छ । तर ओमेगा थ्री फ्याट्टी एसिड र ओमेगा सिक्स फ्याट्टी एसिडको मात्रा भने बढी हुन्छ । त्यसैगरी भिटाभिन्स बी१, बी२, बी५, बी६, बी१२ तथा भिटामिन्स ई र सेलिनियमको मात्रा पनि बढी हुन्छ । जुन तत्वहरु मस्तिष्क, मुटु र शरीरका अन्य अंगहरुका लागि निकै पोसिलो र स्वास्थ्यवद्र्धक मानिन्छ ।  मासु जस्तै अस्ट्रिचको अण्डाको अन्डा पनि स्वादिलो, पोसिलो र स्वास्थ्यवद्र्धक मानिन्छ । यो प्रोटिन्सको प्रमुख स्रोत हो भने यसमा शरीरका लागि हानीकारक मानिने सेचुरेटेट फ्याट्स र कोलेस्ट्रोलको मात्रा भने कम हुन्छ । कुखुराको अन्डाको तुलनामा यसको अन्डामा सोडियमको मात्रा पनि कम हुन्छ । अस्ट्रिचको एउटा अन्डा कुखुराको २४ वटा अन्डा बराबर हुन्छ ।

पुछारमाः
 अतः रातो मासुको तुलनामा सेतो मासु, सेतो मासुमा पनि अस्ट्रिच तथा इमुको मासु उत्तम हुन्छ भने माछा सर्वश्रेष्ठ हुन्छ । तर, अस्वस्थ माछा तथा माछा पकाउने विधि ठीक भएन भने माछाले पनि स्वास्थ्यलाई असर गर्छ । स्वस्थ खसीबोका, राँगा तथा कुखुरा लगायतको मासु प्रेसर कुकरमा झोलिलो बनाएर मज्जाले पकाएर खानु उपयुक्त हुन्छ । बढि मासु खानु स्वास्थ्यका लागि राम्रो मानिँदैन भने धेरै दिनसम्म फ्रिजमा राखेको वा भुटेर वा सुकुटी बनाएर राखेको मासु पनि संक्रमित हुने जोखिम भएकाले खानु राम्रो मानिदैन । त्यसैले दसैंतिहार जस्ता चाडपर्वमा होस् वा अन्य समयमा मासु खाँदा उपर्युक्त कुराहरुमा ध्यान दिएको खण्डमा माछामासु शरीरका लागि पौष्टिक आहार बन्ने छ । (लेखक साइकोथेरापिस्ट तथा पोशणविद् हुन् ।)


No comments:

Post a Comment