Tuesday, June 23, 2020


 ब्रेन बाइट्स 
जीवनको ‘लक्ष्य’
ओम बानियाँ

मानिसको जीवनमा लक्ष्यको ठूलो महत्व छ । त्यो किनभने जो जसले जीवनमा लक्ष्य बनाउँछ, ऊ नै लक्ष्यमा पुग्न सक्दछ । लक्ष्यविहीन त जहाँको तहीँ नै रहन्छ । त्यसैले त मार्टिन लुथर किंग (जुनियर)ले भनेका छन्ः “यदि मानिसले आफ्नो जीवनमा कुनै महान् उद्देश्यकालागि मरिमेट्ने संकल्प गर्दैन भने उसको जीवन नै वेकार हुन्छ ।” मार्टिनको यस भनाइ जति मनोवैज्ञानिक छ, त्यत्ति नै सत्य छ । वास्तवमा ‘लक्ष्य’ भनेको जीवनको आधार हो । त्यसैले हरेक मानिसले मानवीय जीवनलाई सार्थक बनाउन बेलैमा जीवनको एउटा महान् लक्ष्य बनाउन आवश्यक छ ।

मानिसको जीवनमा लक्ष्यको यत्ति ठूलो महत्व छ । तर नेपालका अधिकांश युवा लक्ष्यविहीन छन् । त्यसैले जीवनमा केही गर्न हरेक युवाले जीवनको लक्ष्य बनाउनु जरुरी छ । तर ख्याल गर्नु पर्ने कुरा के भने केवल इच्छा गर्नु लक्ष्य होइन, लक्ष्य त अर्जुनले देखेको चराको आँखा हो । अतः लक्ष्य प्राप्त गर्न लक्ष्यमा अर्जुनदृष्टि साधेर बुद्धिविवेक लगाएर महेनतकासाथ अगाडि बढ्नुपर्छ । 

कुनै पनि महान् कार्य पूरा गर्न मेहनतको कुनै विकल्प छैन । अथक मेहनत बिना कुनै पनि मानिसले आफ्नो जीवनको महान् उद्देश्य प्राप्त गर्न सक्दैनन् । कडा परिश्रम बिना कुनै पनि विद्यार्थीले एसएलसी वा कुनै पनि परीक्षामा ८०, ९० प्रतिशत अंक कटाउन सक्दैनन् । तर यहाँ मननयोग्य कुरा के भने मेहनतका नाममा मुढे मेहनतको कुनै अर्थ हुँदैन । जस्तो कि ठूलो ढुंगा गुल्टाउन छ भने थुप्रै मानिसहरु जम्मा गरेर जबरजस्ती दिनभरि लगाएर ढुंगा गुल्टाउन खोज्नु मूर्खता हो भने उत्तोलक(लिभर)को प्रयोग गरेर एकैछिनमा सजिलै ढुंगा गुल्टाउनु बुद्धिमानी हो । 

बुद्धि विद्याले बढ्छ । विद्यार्थीको पहिलो कर्तव्य भनेको पनि विद्या आर्जन गर्नु हो अर्थात् सम्बन्धित विषय पढेर, सिकेर त्यसमा अधिकतम सफलता प्राप्त गर्नु हो । त्यसैले विद्यार्थी सधैँ सिक्न इच्छुक, जिज्ञासु हुनुपर्दछ, कहिल्यै पनि आफ्नो कर्तव्यबाट विमुख हुनुहुँदैन । विद्यार्थीले विद्या ग्रहण गर्ने र त्यसलाई सही ढंगले, सही ठाउँमा, सही समयमा प्रयोग गर्न सक्नुपर्दछ । यदि पढेको विषय बुझिएन अर्थात् समझमा आएन भने पढेको कुनै अर्थ हँुदैन । शाब्दिक अर्थमा भन्ने हो भने जुन शब्द वा वस्तु जुन स्वरूपमा छ, त्यसरी नै जान्नुलाई बुझ्नु भनिन्छ । जस्तो कि क्यामेराको सामुन्नेको विद्यमान वस्तु तस्विरमा जस्ताको तस्तै देखिन्छ । समझ वा बुझाइले अध्ययन प्रक्रियामा ज्यादै महत्वपुर्ण भुमिका खेल्दछ ।

भारतका पूर्व प्रधानमन्त्री लालबहादुर शास्त्री सन् १९०४ मा एक गरीब परिवारमा जन्मिएका थिए । उनी पढाइमा निकै तेज थिए । वास्तवमा लालबहादुर किताबको किरो नै थिए । लालबहादुर घरमा बत्ती थिएन । त्यसैले उनी घर नजिकैको रेलवे प्लेटफर्मको बत्तीमा बसेर पढ्ने गर्थे । पढ्दा उनी किताबको हरफहरूमा यति एकाग्र हुन्थे कि उनलाई रेल आए गएको पत्तै हँुदैन्थ्यो । त्यसैले पनि शास्त्रीको स्मरणशक्ति निकै तेज थियो । भारतरत्न लालबहादुर जति पढाइलेखाइमा तेज थिए, त्यत्ति नै स्वाभिमानी र आत्मविश्वासका धनी थिए । उनले एक पटक भनेका नै थिएः “मेरो कद सानो भए पनि मेरो आत्मविश्वास ठूलो छ ।” 

भर्खरै भर्खरै बनारस पढ्न आउँदा एक दिन लालबहादुर साथीहरूसँग मेला हेर्न नदितिर गएछन् । तर उनीसँग डुङ्गा चढ्ने पैसा थिएन, साथीसँग पैसा मागेर डुङ्गा चढ्नु भन्दा पौडिएर नै उनी नदि पारी गएछन् । वास्तवमा लालबहादुर शास्त्री सानैदेखि एक अव्वल, स्वाभिमानी  तथा आत्मविश्वासी विद्यार्थी थिए । त्यसैले त उनले भारतको इतिहासमा आफ्नो नाम स्वर्ण अक्षरले लेखाउन सफल भए । 


हो, विश्वासले यथार्थ सृजना गर्छ । कुनै पनि कार्य योजनामा विश्वासको महत्वपूर्ण भूमिका हुन्छ, विश्वास बिना सफलता प्राप्त हँुदैन । त्यो किनभने विश्वासले नै मानिसलाई सफलतातिर अघि बढ्ने ऊर्जा दिन्छ, उत्साह दिन्छ, अटूट निष्ठा दिन्छ । त्यसैले नै विश्वासको जीत हुन्छ ।

त्यसैले याद राख्नुस्ः
यदि तपाईलाई विश्वास छ, तपाई सफल हुनुहुने छ ।
यदि तपाईलाई विश्वास छ, तपाई निर्भिक हुनुहुने छ ।
यदि तपाईलाई विश्वास छ, तपाई लोकप्रिय बन्नुहुने छ ।
यदि तपाइलाई विश्वास छ, तपाई निश्चितरूपमा लक्ष्यमा पुग्नुहुने छ ।


विश्वास त दृढसड्ढल्पको जरो नै हो । विश्वास बिना त दृढसड्ढल्पको कल्पना नै गर्न सकिँदैन । यहां अर्को मननयोग्य कुरा के भने दृढसड्ढल्प भनेको डीङ हाँक्नु होइन, धाक लगाउनु होइन, फाइँफुट्टी गर्नु पनि होइन । भेडोझैँ बिना सोचबिचार एकोहोरो हिँड्नु पनि होइन । आवेगमा हल्ला बोल्नु पनि होइन । सरल शब्दमा भन्नुपर्दा दृढसड्ढल्प भनेको गर वा मरको प्रण हो ।

तपाईलाई थाहा नै छ, ‘खेतमा जुन बाली रोपिन्छ, त्यही बाली नै भित्रायाउन सकिन्छ ।’ खेतमा धानको बीउ रोप्यौं भने धान नै फल्छ, गहुँ फल्न सक्दैन । त्यसैले धान फलाउन धान नै रोप्नुपर्छ, गहँु फलाउन गहुँ । प्रकृतिको यो सार्वलौकिक नियम ठीक यसै प्रकारले मानवीय जीवनमा पनि लागु हुन्छ । मानिसको मनमस्तिष्क पनि एक प्रकारको खेत नै त हो । जहाँ जस्तो विचारको खेती गरिन्छ, उत्पादन त्यस्तै हुने गर्छ । यदि विफलताको विचार रोपिन्छ भने विफलताको मनोवृत्ति नै उम्रिन्छ । हुर्किन्छ । फुल्छ । फल्छ । तर विफलताको विचारबाट सफलता उत्पादन हुन सक्दैन । त्यसैले विफलताको विचारबाट सफलताको आशा गर्नु भनेको सिमीको बीज रोपेर स्याउको आशा गर्नु जस्तै हो । के यो सम्भव छ ? 

तेञ्जिङ नोर्गे सेर्पा र एडमण्ड हिलारीले सगरमाथा आरोहण गर्नुपूर्व सगरमाथा चढ्ने प्रयासमा थुप्रै हिमाल आरोहीहरू सगरमाथाको फेदमा नै हराएका थिए, बेपत्ता भएका थिए । त्यसैले, त्यतिखेर सगरमाथा आरोहण अकासको फल मानिन्थ्यो, एउटा असम्भव कार्य ठानिन्थ्यो । तर तेञ्जिङ नोर्गे सेर्पा र एडमण्ड हिलारीले मानिसका लागि कुनै कार्य असम्भव छैन भन्ने मनोविज्ञान बुझे । र, सगरमाथाको शिखरलाई ‘अर्जुनदृष्टि‘–ले साध्दै दृढसंकल्पको मुठ्ठी कसे । अनि छाती फर्काउँदै सगरमाथाको शिखरतिर आफ्ना मजबुत पाइलाहरू चाले र २९ मई १९५३ का दिन ८ हजार ८ सय ४८ मिटर अग्लो, संसारको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा सबैभन्दा पहिला पाइला टेकेर ‘विजयको झण्डा’ गाडे । 


हेर्दाहेर्दै हिउँबाघहरूले तीन त्रिभुवन हल्लाइदिए, असम्भवलाई सम्भव बनाएर देखाइदिए । त्यसैले त सगरमाथा आरोहण अहिले सम्भव कार्य मानिएको छ । तर मानिसकालागि सबै कुरा सम्भव छ भनेर डोकोमा दूध दुहेर अडिँदैन । सगरमाथा आरोहणकालागि आरोहणको पूर्वाभ्यास गर्नुपर्छ । आत्मविश्वास, दृढ अठोट र आरोहणको पूर्वाभ्यास बिना कुनै श्यामे वा च्यामे सगरमाथा चढ्न सक्दैनन् । बुझ्नु पर्ने कुरा यही हो ।

याद राख्नुस्, महान् पर्वतारोही तेञ्जिङ नोर्गे सेर्पा र एडमण्ड हिलारी घुम्दाघुम्दै सगरमाथाको शिखरमा पुगेका होेइनन् । दृढसंकल्प, अथक मेहनत र लक्ष्यप्रतिको अटल विश्वासले नै सगरमाथाको शिखरमा पाइला टेकी ‘विजयको झण्डा’ फर्फराएका हुन् । त्यसैले जसले यो मनोविज्ञान बुझी आफ्नो निर्दिष्ट ‘लक्ष्य’ पूरा गर्ने दिशामा, पूरा तयारी गरेर, ‘अर्जुनदृष्टि’ साधेर, उच्च अठोटकासाथ आइपर्ने समस्याहरुलाई किनारा लगाउँदै अगाडि बढ्छ, ऊ अवश्य नै आफ्नो लक्ष्यमा पुग्दछ । यस कुरामा कुनै शंका छैन । (लेखक साइकोथेरापिष्ट तथा मेमोरी ल्याब प्रमुख हुन् ।)


No comments:

Post a Comment