Thursday, June 25, 2020

मनोवैज्ञानिक कथा 
राजुको काले
ओम बानियाँ


धेरै पहिलाको कुरा हो । भर्खरै एसएलसी परीक्षा सकिएको थियो । छिमेकी हजुरबा बित्नुभयो । उहाँको पार्थीव शरीर आँगनमा राखिएको थियो । उहाँले सानैदेखि पालेको काले कुकुर गहभरि आँसु लिई कुइँकुइँ गर्दै घुमिरहेको थियो । मानिसहरुले उसलाई धुरधुर धपाउँदै थिए । मैले पढेको थिएँ, कुकुर निकै इन्टेलिजेन्ट र इमान्दार हुन्छ भन्ने । तर पनि मानिसले कुकुरलाई किन यसरी हेलाँ गर्छन् भन्ने मेरो कलिलो मस्तिष्कमा एउटा गम्भिर प्रश्न खडा भयो । अनायश मैले कागजमा कोरेँ, राजुको काले । 
 --------------
‘चिरविर चिरविर चराहरु कराउन थालेका थिए । अँध्यारोलाई चिर्दै उज्यालो हँुदै थियो । गौरी काखीमा गाग्री च्यापेर बाहिर निक्लिइन् । पीढीमा सुतेको काले कुइँकुइँ गर्दै गौरीको पछि पछि लाग्यो । बलराम हलोजुवा काँधमा बोकेर गोरु खेत्दै वारीतिर हिँडे । राजु भने मस्त निद्रामा थियो । गौरी पानी लिएर घर फर्किन् र चुल्होचौकामा जोतिइन् । 
  --------------
काले राजु नजिकै गयो र थचक्क बसेर भोक भोक गर्न थाल्यो । अँगेनामा आगो सल्काउँदै गौरी चिच्याइन्ः राजु उठ् भन्या कति सुतेको ? राजु आँखा मिज्दै उठ्यो । र, कालेको टाउको सुम्सुमायो । काले कुइँकुइँ गर्दै राजुको हात चाट्न थाल्यो । राजु दौडिँदै आँगनमा गयो । काले पनि उफ्रिदै पछिपछि लाग्यो । राजु कालेमाथि चढेर हट हट गर्न थाल्यो ।
   --------------
राजु र कालेको दोस्ती पनि अनौठो थियो । दुबैमा स्वार्थ बिनाको प्रेम थियो । उनी दुईको उमेर पनि एकै थियो । जुन दिन राजु जन्मिएको थियो, त्यहीं दिन काले । काले जनवार भएकाले ४ वर्षमा नै राजुलाई बोक्न सक्ने एक लक्का जवान भयो । तर राज बालककै थियो ।
  --------------
यसरी नै रमाइलोसँग दिन बित्दै थियो । राजु अचानक बिरामी भयो । बलराम र गौरीले ठाउँ ठाउँमा लगेर उपचार गरे, झारफुक, धामीझाँक्री सबथोक गरे । तर, राजुको रोग बीसको उन्नाइस भएन । राजुले खाना छोडयो, उठ्न नसक्ने भयो । राजु थला परयो । आफ्नो एक मात्र छोरा यसरी थलिएपछि बलराम र गौरी निकै चिन्तित थिए । काले त झन बिहाल थियो । काले राजु नजिकै बसेको छ, उसका आँखाभरि टिलपिल आँसु छन् । 
  --------------
गहभरि आँसु लिएर टुलुटुलु राजुलाई हेरिरहेको काले एकाएका आत्तियो । भोक भोक गर्दै राजु वरिपरि घुम्न थाल्यो । दौडिँदै भकारो सोर्दै गरेको बलराम निर पुग्यो, भाँडा माज्दै गरेकी गौरी वरिपरि घुम्न थाल्यो । राजुले एकतमासले खोक्न थाल्यो । काले हत्तारिदै राजुनिर पुगेर कुइँकुइँ गर्न थाल्यो । बलराम तथा गौरी आत्तिदै राजुनिर आए । राजुले खोक्दा खोक्दा रगत बान्ता गर्यो । गौरीले राजुलाई समाइन् । राजु स्थिर भयो । ‘राजु राजु मेरो छोरा १ तिमीलाई के भयो ?’ गौरी राजुलाई अँगालोमा हालेर रुन थालिन् । गौरीको चित्कार गाउँभरि फैलियो । गाउँलेहरु जम्मा भए । राजु गौरीको काखमा थियो । काले र बलराम रोइरहेका थिए ।
  --------------
गाउँका महिलाहरुले गौरीलाई सम्झाउन थाले । पुरुषहरुले बलरामलाई । तर कालेलाई सम्झाउने त्यहाँ कोही थिएनन् । उल्टो गाउँलेहरुले कालेलाई धुरधुर गर्दै त्यहाँबाट पर लखेटदै थिए । साथीको मृत्युले घायल भएको काले गोठतिर गएर बलिन्धारा आँसु रुन थाल्यो । 
  --------------
सतिगति गर्न राजुको पार्थिव शरीर लिएर मानिसहरु जंगलतिर लागे । काले पनि पछिपछि लाग्यो । काले पछि पछि आएको देखेर मानिसहरुले उसलाई खेद्न थाले । तर काले लुकी लुकी पछि पछि लाग्यो । एउटा युवकले ठुलो ढुंगा टिपेर कालेमाथि प्रहार गर्यो । कालेको टाउकोमा बज्रियो । काले रन्थनिएर कुइँकुइँ वरिपरि घुम्न थाल्यो । अनि थच्चक भुईंमा बस्यो । 
  --------------
शवयात्रीहरु जंगलतिर पस्दै थिए । कालेले उनीहरुलाई हेरिहरको थियो । जंगलमा पुगे पछि केही युवकहरुले खाल्डो खन्न थाले । घायल काले लुरुलुरु त्यही पुग्यो । कालेलाई देखेपछि एक युवकले भन्यो, ‘हेर त १ यो कुकुर यहाँ पनि आयो ।’ पाका मानिसले भने, ‘लखेट त्यसलाई । कतै लाश छोला ?’ युवकले ढुंगाले हान्दै धुरधुर धपायो । काले सालको रुखको ओझलमा गएर बस्यो । 
  --------------
खाल्डो तयार भयो । शबलाई खाल्डोमा राखे । बलराम डाँको छोडेर रुन थाले । काले धर्धरी रुन थाल्यो । शबलाई खाल्डोमा पुरेपछि गाउँलेहरु घरतिर फर्के । गाउँलेहरु अलिपर पुगेपछि काले दौढिँदै राजुको शव पुरेको ठाउँमा गयो । कुइँकुइँ गर्दै घुम्न थाल्यो । एक तमासले कराउन थाल्यो ।
  --------------
मानिसहरुले कालेलाई शब पुरेको ठाउँमा देखेपछि दौडिदै आए । र, चारैतिरबाट कालेलाई आक्रमण गरे । काले रताम्मे भई भुइँमा पल्टियो । राजुको शवतिर हेरी अन्तिम सास लियो । काले मरेको देखेपछि एउटा पाका मानिसले युवकलाई भने, ‘मर्यो अब । खोल्सातिर लगेर फालिदेऔं ।’ युवकहरुले डोरीले कालेलाई बाँधे र लतार्दै खोल्सातिर लगेर फालिदिए । अनि आफ्नो बाटो लागे ।
  --------------

छिनभरमा नै आकशाबाट गिद्धहरु ओर्लिए । तछाडमछाड गर्दै कालेको चोक्टाचोक्टा लुछ्न थाले ।’ (यो कथा मैले कक्षा १० मा अध्ययनरत हुँदा लेखेको हँु ।)



1 comment:

  1. निकै मार्मिक कथा । पशुहरुको पनि संवेदना हुन्छ भन्ने सार रहेछ ।

    ReplyDelete