Monday, June 15, 2020

हेल्थ फर्स्ट

के मन्द विष हो सेतो चामल ?
ओम बानियाँ

चामल विश्वका जनसङ्ख्याको ६५ प्रतिशतभन्दा अधिक मानिसहरूको मुख्य खाद्य हो । नेपाल तथा भारतीय संस्कृतिमा यसको ठूलो महत्व छ । जन्मदेखि मृत्युसम्म यसको अस्तित्व सधैं रहेकै हुन्छ । चामल पकाएपछि भात, पलाउ, ब्रियानी र अन्य धेरै भोजनको रूपमा खाइन्छ । हिजोआज अधिकांशः नेपालीहरु दैनिक दुई छाक पोलिस लगाएर टिलिक्क टल्केको चामलको भात खान रुचाउँछन् । तर, पूर्ण रूपमा परिष्कृत गरिएको वा पोलिस हटाएको सेतो चामलको भात नियमित रूपमा खानाले फाइदा भन्दा हानी बढी गर्छ भन्ने धेरैलाई थाहा छैन । परिष्कृत गरिएका सेतो चामलको भातलाई त पोषणविद्हरुले मन्द विष भन्ने गर्छन् ।



चामलको प्रकृतिः
चामलको प्रकृति भनेको सेतो होइन, खैरो हो । धान छोडाएर हेर्ने हो भने सेतो होइन खैरो चामल देखिन्छ । यो नै असली चामल हो । यसैलाई नै ब्राउन राइस भनिन्छ । ब्राउन राइसको भात नै स्वास्थ्यका लागि निकै स्वस्थकर हुन्छ । तर हामी त चामलमा पाइने पौष्टिक तत्व सबै फालेर फुक्का काम नलाग्ने भात खाइरहेका छौं । पोलिस गरेर चामलको बाहिरको लेयर वा बाहिरी पत्रलाई ढुटो वा ब्रानको रुपमा फ्याकेर बाँकी रहेको कामै नलाग्ने सिम्पल कार्बाेहाइडेड मात्रै खाइरहेका छौं । यस्तो सेतो चामल र चिनीमा खासै फरक छैन । चिनीले गर्ने सबै हानी यही सेतो चामलले गरिरहेको हुन्छ ।

सेतो चामलको भातले मात्र होइन, कुनै पनि सिम्पल कार्बोहाइडेडले शरीरलाई हानी गर्छ चाहे त्यो चिनी होस् या मैदा होस् या यस्ता पदार्थ बनेका बिस्कुट, चाउचाउ, पाउरोटि तथा दुनोट आदि होस् । सेतो चिनी जस्तै पोलिस लगाएको सेतो चामल मन्दविष (स्लो पोइजन) सरह हो । त्यो किनभने यस्तो चामल सिम्पल सुगर हो । जसमा न त भिटामिन छ न त क्याल्सियम नै । सिम्पल सुगर पचाउन क्याल्सियम चाहिन्छ । तर, पोलिस लगाएको चामलको भातमा त क्याल्सियम झन्डै जिरो नै हुन्छ । त्यसपछि हड्डी तथा रगतको क्याल्सियम प्रयोग हुन्छ । जसले गर्दा हड्डीहरू कमजोर हुँदै जान्छन् । 


पोलिस लगाएको चामलमा शरीरलाई चाहिने भिटामिन पाइँदैन । त्यसकारण रोग संक्रमणको जोखिम हुन्छ । ग्याइसेमिक इन्डेक्स हेर्दा पोलिस लगाएको चामलले रगतमा सुगरको मात्रा चिनीले जस्तै ह्वात्तै बढाउँछ । जसले गर्दा शरीरमा इन्सुलिन बढ्छ, मोटोपन बढ्छ । त्यति मात्र होइन, यस्ताखाले सिम्पल सुगरले क्रोनिक डिजनरेटीभ डिजिज, हड्डी खिइने, मधुमेह, उच्च रक्तचाप, दांतका रोग, रक्तनलिका रोग देखि क्यान्सरको जोखिम समेत बढाउन सक्ने विज्ञानले प्रमाणित गरिसकेको छ । पछिल्ला अनुसन्धान हेर्ने हो भने पार्किन्सन्स, अल्जाइमर लगायतका नशाका रोगहरू पनि सिम्पल सुगरकै कारण हुने वा बढ्ने गरेको प्रमाणित भइसकेको छ । यस्ता रोगबाट बच्न चाहनेले सेतो चामलको भात, चिनी, मैदा, जंकफुड खान आजै छाड्नुपर्छ । 

स्वास्थ्य विकल्प


ब्राउन राइस सेतो चामलको सर्वोत्तम विकल्प हो । वास्तवमा सेतो चामल मन्दविष हो भने ब्राउन राइस सुपर फुड हो । त्यो किनभने सेतो चामलमा सिम्पल कोर्बोहाइडेट बाहेक अरु केही पाइँदैन भने ब्राउन राइसमा मानव शरीरलाई चाहिने अत्यावश्यक तत्वहरू पाइन्छन् । ब्राउन राइसमा संसारको सबैभन्दा उच्चस्तरको प्रोटिन, आवश्यक फ्याटी एसिड, भिटामिन बी कम्प्लेक्स, एन्टी अक्सिडेन्ट्स, क्याल्सीयम, आइरन लगायतका आवश्यक मिनरल्स आदि सबै ब्राउन राइसमै पाइन्छ । यसलाई अझै उसिना ब्राउन बनाउने हो भने त ग्लाइसेमिक इण्डेक्समा समेत सुधार भई मधुमेहको रोगीले समेत खान हुने बन्छ ।  स्वास्थ्यका लागि खैरो चामलक साथै मार्सी चामल तथा कालो चामल पनि उत्कृस्ट मनिन्छ। 



चामलको दानामा स्राव (सेतो च्यापच्यापे तरल पदार्थ) ७५ देखि ८० प्रतिशत हुन्छ । गहुँमा भन्दा धानमा प्रोटिनको मात्रा कम हुन्छ, तर यो उत्तम गुणको हुन्छ अनि गहुँको प्रोटिनभन्दा यसलाई शरीरले राम्रोसँग प्रयोग गर्छ । हातले वा ढिकीमा कुट्दा भिटामिन बी१–को कम मात्रामा क्षति हुन्छ भने चामलको मोठ भिटामिन बी १ मध्य मेसिनमा कुट्दा दुईतिहाई र उसिन्दा एकतिहाई भिटामिनको क्षति हुन्छ । बजारमा पोलिस नगरेको चामल पनि पाइन्छ, ब्राउन राइस पनि पाइन्छ साथै पोलिश नगरेको उसिना चामल पनि पाइन्छ, खोजेर खानुपर्छ । बजार पाइने यस्ता चामलहरु अलि महंगा हन्छन् । त्यसैले कृषकहरुले आफुले खाने ब्राउन राइस आफै तयार गरी उपयोगमा ल्यान सक्छन् । साधारणतया दुई प्रकारको स्वचालित मेसिनमा धान कुटिन्छ । एउटा हुलर टाइप (भुस निकाल्ने) र सेलर कम पोलिसर टाइप (भुस निकाल्ने तथा परिष्कृत गर्ने)। पौष्टिक तत्वको दृष्टिले पछिल्लो विधि निकै हानिकारक छ किनभने यसप्रकारको मेसिनबाट धान कुट्दा त्यसमा पौष्टिक तत्वको ठूलो मात्रामा क्षति हुन्छ । गाउँमा अझै पनि हातले ढिकीमा कुट्ने प्रचलन छ । मिलमा कुटेको धानको तुलनामा ढिकीमा कुटेको चामलमा धेरै पौष्टिक तत्व रहन्छ ।
के हो मार्सी चामल 

मार्सी धानको खेती विशेष गरी जुम्लामा हुने गर्छ । त्यो मार्सी धानबाट तयार गरिने चामल रातो रङ्गको हुने भएकाले यसलाई अंग्रेजीमा रेड राइस पनि भन्ने गरिन्छ । यो चामल हिमालको तल्लो भेग र उच्च पहाडी भेगमा फल्ने गर्छ । यो बिमारीहरुका लागि पनि स्वस्थ्यकर मानिन्छ । यो चामल खाँदा धेरै समय भोक नलाग्ने विशेषता समेत रहेको छ । मार्सी धानको उत्पत्ति नेपालमै भएको हो । अत्याधिक चिसो सहन सक्ने र पानीमा फल्ने भएकाले यसको नाम मार्सी राखेको विज्ञहरु बताउँछन् । यो जातको धानको खोस्टा केही कालो हुने र चामल रातो हुन्छ । संसारकै सबैभन्दा अग्लो ठाउँमा उत्पादन हुने यो धानको चामलमा उच्च परिमाणमा कार्बोहाइड्रेड पाइन्छ । विज्ञका अनुसार जुम्लामा फल्ने मार्सीमा आइरन, प्रोटिन, स्टार्च, सेलेनियमको मात्रा अरु धानको भन्दा धेरै हुन्छ । यो धानको चामल अरु भन्दा स्वस्थ्कर र स्वादिलोपनि हुने गर्छ ।

पुछारमाः
पहिला पहिला मानिसहरुले खैरो चामल नै खाने गर्थे । उति बेला नेपालीहरुले खाने चामल पनि कि त ढिकीमा कुटेको हन्थ्यो कि त हुलरमा कुटेको । आधुनिकीकरणसँग टलक्क टल्किने सेतो चामल आयो, रोगहरु पनि ल्यायो । त्यसैले स्वास्थ्यलाई ठीक राख्न आजैदेखि सेतो चामल खान बन्द गर्नुपर्छ, खैरो चामल खान शुरु गर्नुपर्छ । स्वास्थ्यका लागि कालो चामल र रातो चामल पनि उत्तिकै लाभदायक हुन्छ । जुम्ली मार्सी चामल पनि रातो चामल हो । (लेखक साइकोथेरापिस्ट तथा पोषणविद् हुन्। )











No comments:

Post a Comment