Thursday, June 18, 2020

ब्रेन बाइट्स

बाल्टिक सागरको सौंदर्य
ओम बानियाँ 

०७६ साल भाद्र ३१ गते । पानीजहाज आफ्नै रफ्तारमा, बाल्टिक सागरमा गुडिरहेको थियो, स्टोकहोमको समुन्द्रीतटबाट फिनल्याण्डको हेलसिन्कीतर्फ । हाम्रो क्याबिन दोस्रो तल्लामा थियो । बाल्टिक सागरको सौंदर्य हेर्न हामी लिफ्टबाट दसौं तल्लामा गयौं । दसौं तल्लाबाट सिढी मार्फत एघारौं तल्लामा गयौं ।


आहा ! बाल्टिक सागर ! बाल्टिक सागरको सौंदर्यले मेरो मनमस्तिष्कमा आनन्दको वर्षा भयो । मेरा आँखा मन्त्रमुग्ध चारैतिर रमाउन थाले । जहाजको छतमा चिनियाहरुको एक ग्रुप पनि थियो । उनीहरु पनि रोमान्चित हुँदै क्लिक क्लिक फोटो खिचिरहेका थिए । अलि अलि अंग्रेजी बोल्ने एक चिनिया महिलाले मलाई फोटो खिचिदिन अनुरोध गरिन् । मैले उनको जोडीको केही फोटोहरु खिचिदिएँ । उनले सोधिन, कहाँबाट आएको ? मैले भनेँ, नेपालबाट । उनको अनुहारमा खुसीको लहर दौडियो, उनले खुसी हँुदै भनिन्, नेपाल निकै सुन्दर छ, पोहोर मात्र हामी काठमाडौं, पोखरा र लुम्बिनी गएका थियौं ।मलाई पनि किन हो कुन्नी चिनियाहरु भेटिदा आफ्नै टोलका छिमेकीहरु भेटिए जस्तो लाग्यो । केही वर्ष यता चिनिया पर्यटकहरुको ओहिरो विश्वभरि छ । युरोप यात्राको दौरान स्वीडेन, फिनल्याण्ड, स्वीजरल्याण्ड, फ्रान्स, स्टोनिया, नर्वे, जर्मन तथा बेलायत जताततै चिनियाहरु देखिए । नेपालमा पनि चिनियाहरु आउने गर्छन् । तर जुन हिसाबमा नेपाल आउनु पर्ने हो त्यो हिसाबमा आउने गरेका छैनन्, कमजोरी नेपाल सरकारको हो । त्यसैले छिटो भन्दा छिटो नेपाल सरकारले बढी भन्दा बढी चिनिया पर्यटकहरु नेपाल भित्राउने ठोस योजना बनाउनुपर्छ । 


जल, जंगल, जडीबुटी तथा पर्यटन नै नेपालको विकासको स्रोत हो । यी प्राकृतिक स्रोतको उचित सदुपयोग गरेर नै नेपाल समृद्ध बन्न सक्दछ । तर जति सरकार आए गए, सबै सरकारको ध्यान यत्तापट्टि होइन, भिखमा नै केन्द्रित छ । भिख मागेर सडक बनाउने रे ? मिख मागेर पुल बनाउने ? भिख मागेर रेल कुदाउने रे ? भिख मागेर सडकको खाल्डो पुर्ने रे ? भिख भिख भिख सरकारको दिमागमा भिख बाहेक बाँकी केही छैन । भिख मागरे पनि कोही धनी भएको छ र ?

चिसो हावाको सिरोटोले हानिरहेको थियो, आमाबबा चिसो भयो भन्दै तल क्याबिनतिर जानु भयो । म र भान्जा छतमा नै थियांै, मेरा आँखा अझै अगाएका थिएनन् । घरि यताको दृश्यमा त घरि उताको दृश्यमा नाचिरहेका थिए । रात छिप्पिदै गयो, अनि हामी पनि तल झर्यौ ।

भोक लाग्यो । आमाबुबा शुद्ध शाकाहारी भएकाले खानाको समस्या थियो । जहाजमा शुद्ध शाकाहारी भोजन पाउने कुरै थिएन । त्यसैले हामीले घरबाटै रोटीतरकारी ल्याएर आएका थियौं । जहाजमा खाना ल्याउन पुर्ण बन्देज छ । त्यो कुरा हामीलाई पहिल्यै थाहा थियो । तर पनि दिदीले लिएर जाऔं, अनुरोध गरौलाँ, लग्न दियो भने दियो, नदिए फाल्देला भन्दै रोटीतरकारी आदि बनाएर झोलामा हाल्नु भएको थियो । जहाज चढ्ने बेलामा चेकजाँचमा हामी लाइनमा थियौं । झोलाको चेक जाँच भयो, पुरुष कर्मचारीले महिला कर्मचारीतिर हेर्दै स्वीडिसमा भन्यो, झोलामा खाना छ । भान्जाले बुझे । महिलाले मेरो पासपोर्ट हेरिन् । र, अंग्रेजी भनिन्, तपाईंहरु नेपालबाट आएको हो ? नेपाल धेरै सुन्दर छ । भिनाजुले फ्याट्ट भन्नु भयो, हाम्रा बाआमा शाकाहारी हो । त्यसैले खाना लिएर आएको हौं । ऊ मुसुक्क हाँसी र भनी, शाकाहारी खाना धेरै राम्रो । ऊ हामीसँग धेरै कुरा गर्न चाहन्थी । तर, ऊ ड्युटीमा थिई, तर पनि हात हल्लाउँदै हामीलाई बिदा गरी । 


आमाबुबा धेरै पहिलादेखि नै शाकाहारी हो । हुन पनि शाकाहारी खाना नै मानिसको प्राकृतिक आहार हो । माछामासु मानिसको स्वभाविक आहार होइन । मानिसको शरीरको बनौट, दाँत, नंग्रा, छाला, आन्द्रा र पाचन क्रियाका कुनै पनि अंग मांसाहार पचाउन सक्ने प्रकृतिका नै छैनन् । मांसाहारका फाइदा भन्दा बेफाइदा धेरै हुदाहुदै पनि स्वादका कारण माछामासु त्याग्न सकेको छैन मानिसले । मांसाहारको धेरै बेफाइदाहरु छन् । मांसाहार सेवनले हृदयाघात, कोलेस्ट्रोल, उच्च रक्तचाप, कलेजो, पेट तथा आन्द्राको क्यान्सर बढेको, मानिसमा क्रोधी, स्वार्थी एवं हिंस्रक, अस्तव्यस्त र तनावपूर्ण लक्षण बढ्दै गएको अनेक अध्ययनले देखाएको छ । मासु मात्र होइन, दुःध र दुग्धजन्य पदार्थहरु पनि मानिसलाई फाइदाजनक छैनन् । एक त अहिले शुद्ध दुःध नै पाइँदैन, अर्को कुरा दुःध बालक, श्रमिक तथा खेलाडीहरुको लागि मात्र उत्तम छ । शारीरिक श्रम कम गर्ने मानिसलाई उपयुक्त छैन । त्यसैले स्वस्थ रहन जनवारजन्य पदार्थ होइन, वनस्पतिजन्य खाद्यपदार्थ (प्लान्ट बेस्ड फुड) सेवन गर्नुपर्छ । माछा, मासु र अण्डाको ठाउँमा चना, भटमास, बदाम तथा ओख्खर, गाईभैंसीको दुःधको ठाउँमा नरिवलको दुःध सेवन गर्नु उत्तम हुन्छ ।

वास्तवमा स्वस्थ रहन तथा रोगहरुबाट मुक्त हुन अमृत खाद्यपदार्थलाई सम्पूर्णरुपमा (होलसम फुड) खानुपर्छ । प्रकृतिले कहिल्यै गल्ति गर्दैन । तर मानिसले प्राकृति खाद्यपदार्थलाई विकृत बनाएर गल्तिगरेका छन् । प्रकृतिले उखु, मकै तथा खजुर बनाएको छ । तर मानिसले चिनी बनाएका छन् । त्यसैले स्वस्थ रहन राइस होइन, ब्राउन राइस, चिनी होइन, भेली, आलुचिप्स होइन, आलु, पाउरोटी होइन, सुक्का रोटी, पकौडा होइन, अंकुरित चना आदि खाने गर्नुपर्छ ।

खाना खाएपछि हामी जहाजको चौथो तल्लामा रहेको विशाल सपिंग कम्पेल्समा घुम्न थाल्यौ । ठुलो बजार थियो त्यस तल्ला भाटभटेनी भन्दा पनि ठुलो । पाचौं तल्लामा रेस्टँुरा थियो । अनि अर्को तल्लामा डान्स चलेको थियो, देशविदेशका सांस्कृतिक झाँकीसहितको । पर्यटकहरु बिन्दास थिए । खुब रमाइरहेका थिए । तर हामीलाई नाच हेरे निद्रा खराब गर्नु भन्दा क्याबिनमा आएर सुत्न नै ठीक लाग्यो । 

रातभरिको यात्रापछि बिहान उठेर दिसापिसाब तथा स्नान गरेपछि हामी कफी लिएर जहाजको बार्दलीमा बसेर बिहानको घाम ताप्दै स्टोनियाका दृश्यहरु हेर्न थाल्यौ । घाम शरीरका लागि नै निकै आवश्यक छ । मानिस विमार हुनुको पछाडिको एक प्रमुख कारण कपडाले शरीर पुरा ढाकेर पर्याप्त घाम नलिनु पनि हो । त्यसैले रोगबाट बच्न हरेक दिन आधा घण्टा घाम तात्नु निकै उपयोगी हुन्छ । बुझनु पर्ने कुरा के भने हरेक प्राणीको ऊर्जाको स्रोत भनेको नै घाम हो । हामीले अन्न तथा वनस्पति आदिबाट लिने ऊर्जा भनेको घामको ऊर्जा नै हो । 

सूर्य मास्तिर चढ्दै गए । बिहानको ८ बज्यो । अब हाम्रो गन्तब्य पुग्न २ घण्टा बाँकी थियो, बिस्तारै फिनल्याण्डको हेलसिन्की क्षितिजमा देखिन थाल्यो । अनि हामी जहाजको छतमा चढ्यौ । चिनियाहरु पहिल्यै छतमा आएर खुब रमाइरहेका थिए । 

१० बजे जहाज हेलसिन्की बन्दरगाहामा पुग्यो । हामी जहाजबाट उत्रियौ र होपअन होपअफ बसमा दिनभरि हेलसिन्की घुम्ने योजना बनायौं । आमाबुबा शाकाहारी भएकाले पहिला नै खानाको व्यावस्था गर्नु महत्वपुर्ण काम थियो । अनि गुगलमा नेपाली वा इण्डियन किचन खोज्न थाल्यौं ।  धेरै दौडधुपपछि गुल्मीका दम्पतीले खोलेको नेपाली किचन भेटायौं । हामीले त्यहाँ दालभातको स्वाद लियौं । बुबाले रोटीखानु भयो । एउटा अचम्मको कुरो के भने त्यहाँ खोइरेहरु पनि भातदाल खाना आउँदा रहेछन् । दाललाई सुपको रुपमा पिएको हामीले देख्यौं ।

फिनल्याण्डमा मेरो थुप्रै परिचितहरु थिए, ती मध्य न्युरोसाइकोलोजिष्ट प्रो.डा. रित्वा लाक्सोनेन एक हुन् । उनीबाट पनि न्युरोसाइकोलोजिकाबारेमा धेरै नयाँ कुराहरु सिक्दै आएको छु । उनी मार्फत नै मैले अक्टोबर २४, २५ गते हुन गइरहेको ३१ औं अन्तर्राष्ट्रिय साइक्याएट्री तथा मेन्टल हेल्थ सेमिनारको निम्तो पाएको थिएँ । हामी हेलसिन्की विश्वविद्यालय लगायतका प्रमुख ठाउँहरु सेनेट स्क्वायर, फिनिस आर्किपेलगो,  स्काइह्वील आदि घुम्यौं । 

फिनल्याण्डको भ्रमण पछि हामी पुनः पानीजहाजमा नै स्वीडेन फर्कियौं ।मलाई स्वीडेन र फिनल्याण्ड उस्तै उस्तै लाग्यो । दुवै शान्त, सुन्दर र समृद्ध । दुवै लोककल्याणकारी राज्य । तर स्वीडेन संवैधानिक राजतन्त्रात्मक मुलुक हो भने फिनल्याण्ड प्रधानमन्त्री कार्यकारी प्रमुख भएको गणतान्त्रिक मुलुक । क्रमशः 
 Baltic Sea In Video:



No comments:

Post a Comment