Friday, July 24, 2020

ब्रेन बाइट्स 

उहिलेका, अहिलेका र गणतन्त्र नेपालका चलचित्र 
ओम बानियाँ

क जना मजदुरको साइकल चोरिन्छ, जुन साइकल उसको जीविका चलाउने एक मात्र साधान हो । त्यही साइकलको मद्धतबाट नै उसले रोमको ठाउँ–ठाउँमा गएर पोष्टर टाँस्ने गर्दथ्यो । उसले प्रहरीमा रिर्पोट गर्छ, तर प्रहरीले समेत चोरिएको साइकल भेटाउन सक्दैन । ऊ निराश भएर घर फर्किन्छ । तर बाटोमा उसले साइकल चोरलाई देख्छ र समातेर प्रहरी कार्यालयमा पु¥याउँछ । तर प्रमाण नभएको कारण देखाइ प्रहरीले चोरलाई छोडिदिन्छ । हातमा आएको चोरलाई पनि प्रहरीले छोडिदिए पछि ज्यादै निराश भएको मजदुर र उसको छोरो एउटा रंगशाला नजिकै बसिरहेका हुन्छन् । त्यसैबेला उसकोे नजर एउटा साइकलमा पर्दछ । मजदुर लोभिन्छ । साइकल चोरेर भाग्न लाग्दा रंगेहात समातिन्छ । तर साइकल मालिकले त्यो मजदुरको अनुहारमा विवशता र निर्दोषताको भाव देख्दछ । र, उसलाई छोडिदिन्छ । अब त्यो मजदुर चोर पनि पहिलाको पेसेवर चोर जस्तै स्वतन्त्र हुन्छ । यो कथा चलचित्र द बाइसकल थीव्स्को हो ।


द बाइसकल थीव्स् इटालीका महान् निर्देशक बितेरियो डे–सीकाद्वारा निर्देशित कालजयी चलचित्र हो । वास्तवमा पर्दामा कोरिएको डे–सीकाको यो अमर आवाज हो । त्यसैले त यो आवाज ६० वर्षपछि पनि उत्तिकै जोडदार छ । वास्तवमा डे–सीकाले नै चलचित्र संसारमा नवयथार्थवादको वीजारोपण गरेका थिए । तर डे–सीकाको यो धारले कुनै राजनीति सिद्धान्तको प्रतिपादन वा पक्षपोषण गरेन, बरू मानवीय मुल्य र मान्यताहरूमाथि मानिसलाई संवेदनशिलता र सचेतपुर्वक सोच्न बाद्य तुल्यायो । उनले एक पटक भनेका थिएः “हामी किन एउटी स्त्रीले एकजोर जुत्ता किन्दै गरेको विषयमााथि फिल्म बनाउन सक्दैनौ ?” त्यसैले त डे–सीकाले थुप्रै राम्रा सार्थक चलचित्रहरू बनाए, बाइसकल थीव्स् मात्र होइन कि डे–सीकाको शु शाइन पनि त्यत्तिकै उत्कृष्ट चलचित्र हो ।


सन् १९६० मा शु शाइनको प्रदर्शनको बेलामा सिटीजन केन बनाउने महान् निर्देशक अर्सन वेल्सले भनेका थिएः “हालै म शु शाइन हेर्न दौडिँदै गएँ । तर त्यहाँ क्यामेरा हरायो, पर्दा पनि हरायो, त्यहाँ त फगत एउटा जीवन थियो, जीवन ।” डे–सीकाको यो नवयथार्थवादी आवाजको धारलाई धेरैले सह्राए, धेरैले पछाए पनि । ओस्कर पुरस्कारद्वारा सम्मानित भारतका महान् निर्देशक सत्यजीत रे भनेका नै थिएः “मैले चलचित्र निर्माणको विधि सन् १९३०, ४०, ५०का अमेरिकन चलचित्रहरूबाट सिकेँ । त्यसपछि गंभिर चलचित्रतिर आकृष्ट भएँ– जस्तो कि डे–सीका, उनीहरू हर दृष्टिकोणमा मेरा गुरू हुन्, पथप्रदर्शक हुन् । मैले उनीहरूबाटै सिकेँ । कतिपय सिकेका कुराहरू मैले मेरो मस्तिष्कको पछिल्लो भागमा लुकाई राखेँ, जुन मैले सम्भवतः मेरा चलचित्रहरूमा देखाएको छु ।” त्यसैले त उनले विश्व चलचित्र जगतलाई पाथर पाञ्चाली जस्तो कालजयी बंगाली चलचित्र दिए । यस चलचित्रका हरेक दृश्यहरू यथार्थ, सजीव र हृदय छुने खालका छन् । अप्पु र दुर्गाले पहिलो पटक रेल देख्दाको दृश्यको भाव र जुम्लाका नेपाली बालबालिकाले पहिलो पल्ट मोटर देखेको वास्तविक भाव कताकता मिल्न जान्छ ।


नेपालको कथा–व्यथा ज्यादै विचित्रको छ । नेपालमा त भारतीय हिन्दी चलचित्रहरूको ज्यादै ठुलो बोलवाला छ । यस्तो बोलवालाले गर्दा नै नेपाली चलचित्र जगत ६० वर्षको उमेरमा पनि उही नेपालको लोकतन्त्रझैं भएको छ, कहिल्यै उठ्न सक्ने होइन । धेरै पहिला, ५५ सालतिर एकाध महिना माओवादीहरूले हिन्दी चलचित्रलाई नेपालमा प्रतिबन्ध नै लगाएका थिए, तर त्यो प्रतिबन्ध हात्ती आयो हात्ती आयो फुस्सा नै भयो । मजाको कुरा के भने प्रचण्ड नै हिन्दी चलचित्रका किरो रहेछन् । त्यसो त नेपाली मस्तिष्कमा हिन्दी चलचित्रको प्रभाव पर्नु कुनै अनौठो होइन, वास्तवमा हामी धार्मिक–सांस्कृतिक तथा राजनीति सबै कुराबाट प्रभावित छौँ । तर हिन्दी चलचित्रहरू एक से एक राम्रा पनि छन्, त्यत्ति नै खराब पनि छन् । उहिलेका हिन्दी चलचित्रहरू अहिलेका भन्दा धेरै राम्रा थिए ।

भारतमा हिन्दी चलचित्रको इतिहास हेर्ने हो सय वर्षको अवधीमा दसौँ हजार हिन्दी चलचित्रहरू बनेका छन् । सय वर्षका दसौँ हजार चलचित्रहरू मध्ये उत्कृष्ट दस हिन्दी चलचित्रहरूको मात्र नाउँ लिनु पर्दा  मदर ईण्डिया, दो बिगा जमीन, दोस्ती, शोले, आनन्द, क्रान्ति, अन्धा कानुन, मैं आजाद हूँ, क्रान्तिवीर तथा हिन्दुस्थानीको नाउँ लिन सकिन्छ । नरगिस दत्तको प्रमुख भूमिका रहेको मदर इण्डिया तथा बलराज साहनीको माष्टर पीस् दो बिगा जमीन जस्ता कालजयी हिन्दी चलचित्रहरू एक पटक हेर्नै पर्ने चलचित्रहरू हुन् । मदर इण्डियामा नरगिसले जमीनदारबाट सताइएकी एक गरीब किसान कि विधुवाको जीवन्त अभिनयलाई पर्दामा उतारेकी छिन् । उनले बाँच्नको लागि संर्घष गर्छिन्, नारी अस्मिता जोगाउन संघर्ष गर्छिन्, आफैं हलो जोत्छिन् र दुई स–साना छोरालाई बोकेर नै जमीनमा दस नङ्ग्रा खियाउँछिन् । छोराहरू ठूला भएपछि जमीनदारहरूको शोषण र अत्याचारको बिरूद्धमा लड्छन् । ठुलो छोरो राजेन्द्र कुमार कानुनको बाटोबाट अगाडि बढ्न खोज्दछ । तर कान्छो छोरो सनिल दत्त खुनको बदला खुनको बाटोमा अगाडि बढ्छ । एक दिन जमीनदारको छोरीलाई नै जबर्जस्ती अपहरण गर्न खोज्छ । त्यो देखेर नरगिसले उसलाई छोडिदिन चेतावनी दिन्छिन् । तर ऊ जमीनदारीकी छोरीले लिएर भाग्न थाल्छ, नरगिसले एउटी नारीमाथि छोराको बलमिचाइँ सहन सक्दिनन्, बन्दुक उठाउँछिन्, आफ्नै छोरामाथि गोली चलाउँछिन् । ऊ भुइँमा ढल्छ ।


मदर इण्डिया एउटा महान् सामाजीक चलचित्र हो । तर अहिलेको जमानामा यस्तो चलचित्रको आसा गर्न बेकार नै छ । त्यो किनभने अहिले त अभिनय प्रर्दशन होइन कि अंग प्रदर्शनको जमाना आएको छ । नाङ्गो नाचले पर्दामा धुम मच्चाएको छ । वास्तवमा जताततै फ्युजनको जमाना पो आएको छः संगीतमा फ्युजन, गीतमा फ्युजन, चलचित्रमा फ्युजन, राजनीतिमा फ्युजन । तर यो फ्युजनको लहडले जनतालाई नै कन्फ्युजन बनाइदिएको छ । वास्तवमा नेपालको राजनीतिमा फ्युजनको नाउँमा र गीत–संगीतमा रिमिक्स र नयाँपनको नाउँमा नांगो नाच नै भएको छ । त्यसैले त जसले जे गरे पनि भएकै छ । 

हो, चलचित्र हेर्ने कुरा खराब होइन, यदि खराब हो भने कथा, उपन्यास वा किताब पढ्ने कुरा पनि खराब हो । चलचित्रको सम्बन्धमा हामीले के बुझ्न जरूरी छ भने राम्रा चलचित्रले मानिसलाई मनोरञ्जन मात्र होइन कि ज्ञान दिन्छ, विज्ञान दिन्छ, कथा दिन्छ, गीत दिन्छ, संगीत दिन्छ, परम्परा र संस्कृति दिन्छ, जीवनमा अघि बढ्ने उत्प्र्रेरणा दिन्छ । यो आँखाबाट सीधैँ मस्तिष्कमा पुग्दछ ।  त्यसो त नेपाली चलचित्र आरम्भ नै विज्ञापनबाट भएको हो, शाही सत्ताको विज्ञापनबाट । राजा महेन्द्रले देहरादुनबाट झिकाएका हिरासिंह खत्रीको निर्देशनमा वि.स. २०२२ सालमा पहिलो नेपाली चलचित्र आमा बन्यो । तर आमा लगायत हिजो आज भोलि, परिवर्तन, मनको बाँध, कुमारी तथा २५ वसन्त (२०४५) आदि जस्ता चलचित्रहरू केवल शाही चलचित्रहरू सावित भए । यी चलचित्रहरूमा राजतन्त्र र पंचायती व्यवस्थाको स्तुती बाहेक अरू के नै छ र ? पंचायती व्यवस्थाले २५ वर्ष पार गरेको उपलक्ष्यमा बनाइएको २५ वसन्तको प्रदर्शन ताका त दर्शक भन्दा प्रहरी र कर्मचारीको उपस्थिति ठुलो थियो । तर २५ वसन्तको दुर्भाग्य के भने नीर शाहले नायक बनाएका हरिहर शर्मा यथार्थमा खलनायक सावित भए भने बम पड्काउने मदनदास श्रेष्ठ जनताको नजरमा एकाएक नायक बने । पंचायती व्यवस्थाको विज्ञापन गर्न बनाइएको यो चलचित्रले उल्टो पंचायती व्यवस्थाप्रति जनआस्थाको आन्द्राभँुडी नै देखाइदियो । त्यसको एक वर्षपछि त पंचायती व्यवस्थाले नै उत्तानो टाङ लगायो । वास्तवमा यस्ता स्तुति गानका चलचित्रहरूको कहीँ कतै कुनै भविष्य छैन । पैसा तिरीतिरी पर्दामा पार्टीको विज्ञापन हेर्न को पो जान्छन् ? जनताको आवाज भनेर मात्र हुन्छ र ? त्यसो त नेपालमा केही राम्रा चलचित्रहरु नबनेका होइन, बनेका छन् । कतिपय चलचित्रकर्मीहरु नेपाली चलचित्र जगतलाई गुणस्तरीय बनाउन लागिपरेका छन् । नयाँ नयाँ प्रयोगहरु पनि गरिरहेका छन् । 



मानव मन मस्तिष्कमा चलचित्रको अमिट छाप पर्दछ । त्यो छापले मानिसको आचार–विचार नै प्रभावित पारिरहेको हुन्छ । त्यसैले चलचित्र निर्माण गर्दा चित्रकर्मी एकदम सचेत र संवेदनशिल हुनु पर्दछ । यसको व्यापारलाई मात्र होइन कि समाज र राष्ट्रमा यसले पार्ने प्रभावको बारेमा समेत गम्भिर हुनु पर्दछ । त्यसैले चलचित्रमा राष्ट्र, राष्ट्रियता र देशको अखण्डतामा आँच आउने एक दृश्य वा एउटा संवाद पनि राख्नु हँुदैन । अब लोकतान्त्रिक गणतन्त्र नेपाललाई बलियो र समृद्धिशाली बनाउन चलचित्रकर्मीहरूले अझ ठुलो भुमिका निभाउनुपर्दछ । लोकतन्त्रको केन्द्रमा रहेर नेपाली माटोको चलचित्र बनाउनु पर्दछ । नेपाली चलचित्रकर्मीहरूबाट गणतन्त्र नेपालले यही अपेक्षा गरेको छ । 






Wednesday, July 22, 2020

ब्रेन बाइट्स

भान्जासँग बुद्धको मामाघर
ओम बानियाँ

र्सादको दिन भए पनि आकाश सफा थियो । मैले आफ्नो काम सकाएर विदेशबाट आएका दिदी र भान्जालाई साँझ ४ बजे गौतम बुद्धको मामाघर देवदेह नगरपालिकाको देवदह घुमाउने योजना बनाएको थिएँ । भान्जाको रुचि पनि देवदह घुम्ने थियो । दिदी पटक पटक गौतम बुद्धको जन्मस्थल लुम्बिनी, उनको पिता राजा शुद्धोधनको दरबार तिलौराकोटमा जानु भएको भएता पनि बुद्धको मामाघर देवदह जानु भएको थिएन । तर भान्जा भने यस अघि १४ र १६ वर्षको उमेरमा मसँग देवदह गएका थिएँ । रामग्राम पनि गएका थिए । 


१४ वर्षको उमेरमा पहिलो पटक उनी देवदह पुग्दा खिन्न भएका थिए । त्यो किनभने बुद्धको मामाघर निकै उपेक्षित अवस्थामा थियोे । पार्क, मन्दिर, कुवा तथा पोखरीको कुनै स्याहारसंभार थिएन । त्यसबेला भान्जाले मलाई भनेका थिए, ‘मामा १ मैले पैसा कमाए भने देवदहको विकासमा सहयोग गर्ने छु ।’ हामीलाई जस्तै उनलाई पनि बुद्धको जन्मथलो लुम्बिनीसँगै बुद्धको मामाघर देबदहको पनि विकास होस् भन्ने चाहना थियो । त्यसैले उनी हरेक पटक नेपाल आउँदा देवदहको केही विकास भयो कि भन्ने हेर्न चाहन्थे । तर, दुई वर्ष अघि दोस्रो पटक पुनः देवदह पुग्दा देवदह जस्ताको तस्तै थियो । बरु पार्क, प्राचिन कुवा र पोखरीमा फोहोर बढेको थियो । 

४ बजे नास्ता खाइवरी भान्जालाई गाडी निकाल्न भनेँ । १८ वर्षिय भान्जालाई गाडी चलाउन निकै रुचि छ । सोही कारण उनले नेपालमा गाडी चलाउने परमिट समेत ल्याएर आएका छन् । भान्जाले गाडी निकाले । हेमा दिदी, बुहारी जुना, भाइकी छोरी सुषमा, छोरा सुशान्त अनि म, सबै गाडीमा चढेपछि भान्जा सुबृतले कार अगाडि बढाए । सडकमा पोखिएको पानी उछिट्टाउँदै कार अगाडि बढ्यो । मैले भनेँ, ‘पहिला हिलपार्क जाऔं । अनि देवदह जाऊला ।’ दिदीले भन्नु भयो, पहिला देवदह जाऔं, फर्किदा हिलपार्क पसौला । मैले दिदीको कुरामा सहमती जनाएँ । गाडी बुटवलबाट महेन्द्र लोकमार्ग हुँदै देवदहतिर हुँक्कियो । 

सिद्धार्थ लोकमार्गमा भन्दा महेन्द्र लोकमार्गमा ट्राफिक चाप कम थियो । भान्जाले कारको गति बढाउँदै थिए, सुशान्त रमाउँदै थियो । हामी भने बेलाबेलामा भान्जालाई गाडीको गति कम गर्न सतर्क गर्दै थियौं । केही छिनमा गाडी शितलनगर पुग्यो । र, मैले भान्जालाई गाडी दाँयातिर मोड्न भनेँ । भान्जाले त्यसै गरे । अनि गाडी लोकमार्ग छोडेर भवानीपुरतिर बढ्यो । भान्जाले सडकमा रमाइरहेका हाँसका बथानहरुलाई जोगाउँदै भने, मामा ! यो सडक पहिला आउँदा कच्ची थियो होइन ? मैले सडकमा हिँडिरहेका बाख्रा धपाउँदै भनेँ, अँ । पहिला आउँदा यो सडक कच्ची थियो । जे होस् बुद्धको मामाघर जाने यो सडक पक्की त बने छ । तर शिवपुरबाट आउने बाटो चाहीँ अझ पनि कच्ची नै छ ।

भान्जाले कार रोके । कार बुद्धको मामाघरको गेटमा थियो । भान्जा कारबाट उत्रिएर भने, बुद्धको मामाघर त अहिले पनि उस्तै छ । हामी गेट भित्र फस्यौ । सानो पार्कमा स्थानीय मानिसले घाँस काटिरहेका थिए । सानो मन्दिर नजिकै स्कुले केटाहरु गुच्चा खेल्दै थिए । दिदी, बुहारी तथा भाइकी छोरी सुषमाले फोटो खिच्न थाले । पार्कको चारैतिर हेरेपछि भान्जालाई मैले भनेँ, भान्जा, यहाँ एउटा सानो परिवर्तन त भएछ, भन्न सक्छौ ? भान्जाले चारैतिर नजर दौडाएपछि भने, यो अशोक पिलर थिएन, अहिले छ ।


भान्जाको बोली भुइँमा खस्न नपाउँदै कुच्चा खेल्दै गरेको फुच्चेले भन्यो, पिलर त पहिल्यै थियो, फलामको बार मात्र पछि लगाएको हो । मैले भनेँ, साँच्चै हो ? उसले भन्यो, कस्तो नपत्याएको । एक बित्ताको टुपीवाला त्यो फुच्चे अन्य बालबालिका भन्दा शारीरिक बनावटमा मात्र होइन, बोलीचालीका हिसाबले पनि निकै फरक थियो । मैले सुनेको थिएँ, फोटोमा देखेको थिएँ, देवदेहको ठुलो रुख । तर मलाई त्यो रुख कहाँनिर छ भन्ने थाहा थिएन । अनि मैले भुरैहरु मध्यको ठुलो केटोलाई सोधेँ, यहाँ ठुलो रुख कहाँनिर छ ? मेरो आवाज सुन्ने बित्तिकै भुराहरु एकसाथ बोले, अलि अघि गएपछि दायाँतिर जानुस्, त्यही छ पकडी बृक्ष । मैले सोधेँ, तिमीहरुलाई थाहा छ, त्यो रुख कति वर्ष पुरानो हो ? त्यही टुप्पीवाला फुच्चे बोल्यो, १ सय ८० वर्ष पुरानो । 


मैले हाँस्दै भनेँ, तिमीलाई कसरी थाहा भयो, तिमी त १० वर्षका छौ । उसले गुच्चा समाउँदै भन्यो, सामान्य ज्ञानमा त्यहीं लेखेको छ । मैले उसलाई समाउँदै भनें, अरे तिमी त जीके मास्टर नै रहेछौ । कति कक्षामा पढ्छौ ? ‘६ कक्षामा ।’ ‘५ कक्षामा कति अंक ल्याएका थियौं ?’ ‘९५ प्रतिशत ।’ ‘अनि पढेर के गर्ने हो ?’ ‘इच्छा त डाक्टर बन्ने छ । तर, पढ्न पाइएला जस्तो छैन ।’ किन ?’ ‘डाक्टर पढ्न ५०, ६० लाख लाग्छ रे, त्यत्रो पैसा त हाम्रो र अंकलहरुको सबै सम्पत्ति बेचेपनि हुँदैन ।’त्यो फुच्चेको कुराले मलाई स्तब्ध बनायो । त्यो मेधावी फुच्चे बाहुन भएकाले कोटा पनि पाउँदैन । ऊ ठुलो धनराशी खर्च गरेर मेडिसिन पनि पढ्न सक्दैन । हाम्रो नेपालमा यस्ता मेधावी विद्यार्थीको भविष्य के होला ? मैले सोधेँ, डाक्टर गोबिन्द केसीको आन्दोलन थाहा छ ?’ उसले भन्यो, थाहा छ । बाबा भन्दै हुनुहुन्थ्यो, गोबिन्द केसीको आन्दोलन सफल भयो भने हामी जस्ता गरीबका छोराछोरीहरुले पनि मेडिसिन पढ्ने औसर पाउँछौ रे ।’ उसले अगाडि भन्यो, मैले डाक्टर पढ्न पाए भने यही आएर काम गर्छु । पैसा कमाए भने यो बुद्धको मामाघर पनि राम्रो बनाउँछु ।’ 

मैले भान्जातिर हेरें । भान्जा पनि मुसुक्क हाँसे । भान्जाले पनि पहिलो चोटि यहाँ आउँदा बुद्धको मामाघर देखेर पैसा कमाए भने बुद्धको मामाघर पनि राम्रो बनाउँछु भनेका थिए ।


आकाश खैरो बादलले ढाकिएको थियो । तर पानी परेको थिएन । हामी गाडीमा चढ्यौ । गाडीबाट मैले बुद्धको मामाघरलाई निहालेँ । किन होला, यति महत्वपुर्ण स्थानलाई सरकारले महत्व नदिएको ? गाडी अगाडि बढ्यो । र, पकडी बृक्ष जाने बाटो लेखिएको सानो बोर्ड नजिकै रोकियो । बाटो सानो छ । कच्ची छ । खाल्टाखुल्टी परेको छ । भान्जालाई सन्देह लाग्यो, यो बाटोमा कार जान्छ कि जाँदैन । अनि म कारबाट उत्रिएँ । मैले उताबाट आउँदै गरेको एक जोगी जस्तो मानिसलाई देखेँ । सोधें । ‘पकडी बृक्ष हेर्न आएको । यो बाटो कस्तो छ ? गाडी जान्छ ?’ उसले भन्यो, ‘जान्छ । मजाले जान्छ ।’ भान्जाले गाडी अगाडि बढाए । तर बाटो उसले भने जस्तो थिएन । एक ठाउँमा त धन्नै कार ‘पानीजहाज’ भएको थियो । बल्लतल्ल गाडी पकडी बृक्षको गेटमा पुग्यो । हाम्रो आँखा अगाडि एउटा विशाल बृक्ष थियो । साँच्चै यति ठुलो बृक्ष हामीले कहिल्यै देखेका थिएनौं । सबैका मोबाइल क्यामेराहरु क्लिक क्लिक क्लिक गर्न थाले । मैले गार्डलाई सोधेँ, यो रुख कति वर्ष पुरानो हो ?’ उनले भने, बुद्धको पालाको भन्छन् ।’ ‘यसको मतलब २५, २६ सय वर्ष पुरानो ?’ मलाई विश्वास लागेन । यो रुखको बारेमा त्यहाँ कतै उल्लेख थिएन । जे होस् यो रुख निकै पुरानो हो र यो निकै विशाल छ । हेर्न लायक छ । कसैले यस रुखलाई दक्षिण एसियाको सबैभन्दा ठुला रुख पनि भनेका छन् ।

गेटबाट बाहिर निक्लिदै गर्दा सुशान्त मम्मीलाई लिएर चिसो किन्न गयो । बाफ रे बाफ ! सत्तरी रुपैयाँको फेन्टालाई सय रुपैयाँ रे ? २५ रुपैयाँको फु्रटीलाई ४० रुपैयाँ रे ? लोकमार्गको धार्के, रामनगरमा जस्तै यहाँ पनि लुट । मैले पसले साहुनीलाई भनेँ, यसरी नठग्नुहोस् । कारवाहीमा पर्नु होला । साहुनी अलि हच्चिकिइन् । जस्तोसुकै लुट गर्न पनि छुट भएको नेपालमा यिनलाई कारबाही गर्न यहाँ को आउँला ? म मनमनै हाँस्दै कारमा चडेँ । कार हिलपार्कको बाटो सोझियो । 

 (२०१७ मा नागरिक दैनिकमा प्रकाशित लेख। )
(नेपालमा मुख्यतः गौतम बुद्धका तीन महत्वपूर्ण स्थलहरु छन् । पहिलो उनी जन्मेको लुम्बिनी, दोस्रो उनले आफ्नो सकृय २९ बर्ष बिताएको कपिलबस्तु र तेस्रो उनको मामाघर तथा ससुराली कोलिय राज्य । उतीबेला यी क्षेत्रहरु दुई राज्य अन्तरगत पर्दथे । ‘गौतम बुद्धका बुवा शुद्धोधन शाक्य गणराज्य अन्तरगतको कपिलबस्तुका राजा थिए भने त्यसपूर्व दानव नदि (जो तिनाउ नदिभन्दा थोरै पश्चिमतर्फ छ) पारी र नारायणी नदिभन्दा पश्चिमपट्टि कोलिय गणराज्य अन्तरगतको दुई राज्यहरु क्रमशः देवदह र रामग्राम उल्लेख छ’, बरिष्ठ पुरातत्वविद् तथा बुद्धअध्ययनकर्ता तारानन्द मिश्र बताउँछन् ।)




Monday, July 20, 2020

ब्रेन बाइट्स 

बिपीको ‘राष्ट्रियता’

ओम बानियाँ

नेपाली राजनीतिक इतिहासका शिखर पुरुष बिपी कोइराला एक प्रजातन्त्रवादी राजनेता मात्र थिएनन्, त्यत्ति नै राष्ट्रवादी पनि थिए । राष्ट्रियताको सवालमा बिपीले निकै गंभिर र दुरदर्शी विचारहरु व्यक्त गरेका छन् । बिपीले भनेका छन्ः ‘एकीकरणपछि नेपालले एउटा आधुनिक भूगोल निर्धारित ग¥यो, एउटा देश गठन भयो, यस निर्धारित सीमानामा बस्ने अनेकौ धर्म, भाषा र संस्कृतिहरू अपनाउने यावत् जातजातिहरूको, एउटा देश, नेपालको उदय त भयो, तर बहुुजाति, बहुभाषी, बहुसंस्कृति तथा जैविक विविधताको यो देश ती सबै जातजातिहरूको साझा फूलवारी हुन सकेन, एक राष्ट्र बन्न सकेन । शरीरको ढाँचा खडा त भयो, त्यसमा आत्मा प्रवेश हुन सकेन, फ्रेम बनाइयो तर तस्विर राखिएन, भाँडो कुदियो, तर त्यसभित्र राखिने तत्व राखिएन । तसर्थ नेपालको राष्ट्रियताको इतिहासमा १८१६ पछिको काललाई, नेपाली भाषाको विकासलाई छोडेर मरुभुमिको युग भने पनि हुन्छ ।’ 


बिपीको बिचार प्रष्ट थियो । प्रजातान्त्रिक शासन व्यावस्थाले नै नेपाललाई सबै जातजातीहरुको फुलवारी बनाउने उनको दावी थियो । त्यसैले त बिपी आफ्नो अन्तिम साससम्म नेपालमा प्रजातन्त्र स्थापना गर्ने लडाइँ लडिरहे । कहिल्यै थाकेनन् । कहिल्यै हारेनन् । उनका लागि प्रजातन्त्र निर्विकल्प थियो । राष्ट्र, राष्ट्रियता र प्रजातन्त्र अन्योन्याश्रित भएको जनाउँदै वीपीले भनेका नै थिएः “प्रजातन्त्र बिना देश रहदैन । प्रजातन्त्र नभइकन वर्तमान युगमा राष्ट्रियता संभव छैन । विकास पनि संभव छैन । जस्तै राष्ट्रियता र प्रजातन्त्र अन्योन्याश्रित छ उस्तै राष्ट्रियता, आर्थिक विकास र प्रजातन्त्र तीनै एउटा अर्कोमा आश्रित छन् ।....देश भन्नुहोस् चाहे राष्ट्र भन्नुहोस्, त्यो भूगोल होइन, माटो होइन । त्यो यथार्थमा जनता हो । जुन कुराले जनताको हित हुन्छ त्यही कुरो देश हितको कुरो हो ।’



बिपीले राष्ट्रियता, आर्थिक विकास र प्रजातन्त्रलाई पनि एक अर्कोमा आश्रित ठानेका छन् । हुन पनि हो, आर्थिक विकास बिना न त राष्ट्रियता मजबुत हुन्छ न त प्रजातन्त्र दिगो हुन्छ । त्यो किनभने कुनै पनि नागरिक भोको पेट र नांगो आङले राष्ट्रियताको माला जपेर बस्न सक्दैन ।

एउटा हिन्दी फिल्म छ, ‘चक्रब्युह’ । जसका नायक राजेश खन्ना प्रहरीबाट बच्न भाग्दै हिँडेको हुन्छ । भाग्दाभाग्दै राती एउटा गाउँमा पुग्दछ । भोकतिर्खाले बिल्लीबाठ राजेश एउटा घरमा पस्छ । घरमा बुढाबुढी मात्र हुन्छन् । खेतमा गाई पसेको थाहा पाएपछि बुढो खेततिर दौडिँन्छ ।अब घरमा बुढाकी तरुनी पत्नी मात्र हुन्छे । जवान राजेश खन्नालाई देखेपछि बुढाकी तरुनी पत्नीले काम भावनाले उसलाई आफुतिर आकर्षित गर्न खोज्छे । राजेश बिस्तारै ऊतिर बढ्छ । बुढाकी पत्नी निकै कामोत्तेजित हुन्छे । राजेश ऊ नजिकै पुग्छ र झटपट अगाडि राखेको भातको भड्डु उठाएर कपाकप भात खाना थाल्छ । गाँसबासकपास मानिसको पहिलो आवश्यकता हो । यही घासबासकपास लागि नै पचासौं लाख नेपाली युवाहरु रोजगारीका लागि विदेश गएका छन् । विकसित राष्ट्रमा पुगेका थुप्रै नेपालीहरुले विदेशी नागरिकता समेत लिएका छन् । के अमेरिका, बेलायत तथा अष्ट्रेलिया आदि जस्ता राष्ट्रहरुको नागरिकता लिने नेपालीहरुलाई नेपालको माया नभएको हो र ? 


बिपीले भनेका छन्ः राष्ट्रियता माटो होइन, जनताको सामुहिक भावना (विचार) हो । राष्ट्रियताको बिवेचनामा सर्वप्रथम तत्व र अन्तिम तत्व पनि जनता हो । राष्ट्रियता जनताको सामुहिक मनोभावनालाई लक्षित गर्ने शब्द हो । सामूहिक रूपबाट समयमा आइपर्ने व्यापक समस्याहरूको समाधानमा लाग्नु पर्दा सहज किसिमले उत्पन्न हुने जनभावना नै राष्ट्रियता हो । राष्ट्रियताको यस परिभाषामा तीन तत्व सामेल छन्—जनताका व्यापक समस्या, त्यसको समाधानको सामूहिक प्रयत्न र त्यस प्रयत्नबाट सहज किसिमले उत्पन्न हुने भावनात्मक एकता । अर्को शब्दमा राष्ट्रियता भन्नाले लक्षित गर्ने तत्वहरुः (१.) जनता (२.) तिनका अगाडि उपस्थित भएका समस्याहरु (३.) ती समस्याहरुको सबैले मिलेर समाधान गर्ने दिशापट्टीको सामुहिक प्रयत्न र (४.) त्यस प्रयत्नमा अनुभव गरेको एकताका भावना । यसरी राष्ट्रियताको विचार गर्दा भुगोलको भुमिका गौण भएर जान्छ । ”


बिपीले अगाडि भनेका छन्ः ‘‘राष्ट्रियताको भावनात्मक विकास एउटै विचारधाराको प्रचारले हुँदैन, त्यो विकासको क्रम द्वन्द्वात्मक हुन्छ । विचारको संघर्ष राष्ट्रिय हितका सम्बन्धमा मतभिन्नताबाट निस्केको त्यो सामुहिक निर्णयको फराकिलो शिलाखण्डमा राष्ट्रियतको भावना गहिरिँदै, बाक्लिदै र फराकिलो हुँदै दृढतर हुँदै जान्छ ।’

२०३३ सालमा बिपी राष्ट्र र राष्ट्रियताका लागि नै आफ्नो ज्यान हत्केलामा राखेर नेपाल र्फिर्कएका थिए । बिपीको मेलमिलापको नीति कसैको विरुद्धमा थिएन । यो त राष्ट्र र राष्ट्रियतालाई कमजोर हुन नदिन बिपीले चालेको एक ऐतिहासिक कदम थियो ।  बिपी भनेका थिएः ‘हिजोसम्म हाम्रो संघर्ष जनताको प्रजातान्त्रिक अधिकारको निम्ति मात्र थियो । त्यसो हुनाले हामीले प्रजातान्त्रिक पक्षमा मात्र बढी जोड दियौं । आज यसमा एउटा नयाँ आयाम थपिएको छ । नेपाली कांग्रेसलाई आज दोहोरो जिम्मेवारी आई परेको छ । यो दोस्रो जिम्मेवारी हो, देशको अस्तित्वको रक्षा गर्ने ।’

हिले पनि नेपाली काँग्रेसको मात्र होइन, सम्पुर्ण राजनीतिक दलहरुको काँधमा दोहोरी जिम्मेवारी नै आई परेको छ । पहिलो हो, देशको अस्तित्वको रक्षा गर्ने । दोस्रो हो, एकजुट भएर दु्रत आर्थिक विकासतिर अगि बढ्ने । देशको आर्थिक विकास बिना न त लोकतन्त्र संस्थागत हुन्छ, न त नेपाली राष्ट्रियता मजबुत हुन्छ । त्यसैले नेपाल राष्ट्र र नेपाली राष्ट्रियतालाई जोगाउने हो भने राजनीतिक दलहरु भारत, चिन वा पश्चिमाहरुको ईशारामा होइन कि जनताको सामुहिक भावना अनुसार देशको अस्तित्वको रक्षा गर्दै आर्थिक विकासमा कम्मर कसेर लाग्नु नै इमान्दारी राजनीति हो । 
 जय होस् ।

Saturday, July 18, 2020

 हेल्थ फर्स्ट:

आयुर्वेद, आहार र आरोग्य 
ओम बानिायाँ

धुनिक समाजमा रोगहरु यसरी बढेका छन् कि रोग नै नलागेका मानिसहरु भेट्न नै गाह्रो छ । यसरी मानिसलाई रोगहरुले आक्रमण गर्नुको एक प्रमुख कारण मानिसहरुको अप्राकृतिक जीवनशैली हो भन्ने कुरामा दुई मत छैन । प्राकृतिक नियम विपरितको खानपान तथा आचरणका कारण नै मानिसलाई मधुमेह, हृदयरोग, ब्लडप्रेसर, थाइरोडिज्म, मोटोपना, लिभर सिरोसिस, ग्यास्टिक, अल्सर तथा क्यान्सर जस्ता खतरनाक रोगहरुले गाँजेको कुरा आधुनिक चिकित्सा विज्ञानले पनि स्वीकार गरेको छ । तर अधिकांश मानिसहरु यस तथ्यप्रति गम्भिर नभइ रोगहरुबाट छुटकारा पाउने आशामा घरि यो त घरि त्यो हस्पिटलहरु धाउने गरेका छन् । 


आयूर्वेद भन्छ, यदि मानिसको खानपिन ठीक भएन भने औषधिले पनि काम गर्दैन । यदि खानपिन ठीक भयो भने औषधिको आवश्यक पर्दैन । यदि मानिसले उचित र प्राकृतिक आहारबिहार (लाइफ स्टायल) अपनाउने हो भने मानिस रोगहरुबाट बच्ने मात्र होइन, पूर्णस्वास्थ्य लाभ प्राप्त गर्न सक्छन् । शरीरका लागि आहारको महत्वलाई दर्शाउँदै चरकसंहिता(सूत्र ११÷३२ )–मा भनिएको छः “त्रय उपस्तम्भा इति–आहारः स्वप्नो ब्रह्मचर्यमिति ।” (अर्थात आहार, निद्रा तथा ब्रह्मचर्यको पालनाः यी शरीरका तीन उपस्तम्भ हुन् । यिनै स्तम्भमा नै शरीररूपी भवन अडेको छ ।) यसै गरी छांदोग्य उपनिषद् भनिएको छः “आहार शुद्रौ सत्वशुद्धिः सत्व शुद्धौं धु्रवा स्मृतिः । स्मृतिलाभै सर्वग्रंथीनँं विप्रमोक्षः ।।” (आहार शुद्ध भयो भने सत्व शुद्धी हुन्छ । सत्व शुद्धि भयो भने धु्रव स्मृति प्राप्ति हुन्छ । स्मृतिको प्राप्तिले सम्पूर्ण ग्रन्थीहरू खुल्छन् ।) । आयूर्वेदको यस भनाई अहिले वैज्ञानिकरुपमा पनि पुष्टि भएको छ ।

आहार के हो ?
साधारण शब्दमा भन्ने हो भने भोजनलाई आहार भनिन्छ । तर, आयूर्वेदिक दृष्टिकोणले आहारको अर्थ व्यापक छ । मुख र जिब्रोले लिने खाद्य पदार्थहरु मात्र आहार होइनन्  । आहारको वास्तविक अर्थ हुन्छ, बाहिरको चिज शरीर भित्र लिनु । जेसुकै कुरा पनि हामीले बाहिरबाट भित्र लिन्छौं भने त्यो आहार हो । भोजन आहार हो, जसलाई हामीले मुख र जिब्रोद्वारा भित्र लिन्छौं । तर आँखाद्वारा पनि हामीले बाहिरको दृश्यहरू भित्र लिन्छौं । दृश्य पनि आहार नै हो । कानले लिने आवाज, त्वचाले लिने स्पर्श तथा मनले सीधै ग्रहण गर्ने विचार र कल्पना पनि आहार नै हो । विचारको आहार त यति शक्तिशाली छ, जसले मानिसको बे्रनबोडीको रसायनिक संरचनालाई तुरुन्त परिवर्तन गरिदिन्छ । त्यसैले त मनोविज्ञान भन्छ, जस्तो सोच्छौ, त्यस्तै हुन्छौ । त्यसैले रोगहरुबाट छुटकारा पाउन, निरोग र स्वस्थ जीवन जिउन आयुर्वेद र मनोविज्ञानको यस धारणालाई हृदयांम गर्दै सात्विक र सन्तुलित भोजनका साथै आफ्नो आचारविचार पनि ठीक राख्नु अति आवश्यक हुन्छ । 

के हो सात्विक भोजनः 
भोजनको उद्देश्य शरीरलाई पोषण दिनु हो । वास्तवमा भोजन शरीरको इन्धन हो । भोजनबाट नै मानिसलाई कार्य गर्ने ऊर्जा मिल्दछ । त्यसैले सदैव सात्विक र सन्तुलित भोजन गर्नुपर्छ । भोजन जीवन स्थिर राख्नको लागि गर्नुपर्छ, स्वादको लागि होइन । गरिष्ट र चट्पटे अमिलो, रूक्ष तथा बोत्तल, डिब्बा र पकेटका मृत भोजन आदि सेवन गर्नुहुँदैन । प्राकृतिक स्वरुपका हितकर र परिमित भोजन गर्नुपर्छ । सन्तुलित भोजन त्यो हो, जसमा प्रोटिन, भिटामिन, कार्वाेहाइडे«ट तथा खनिज पदार्थहरू उपलब्ध हुन्छन् । गहुँ, जौ, मुँग, मकै आदि अन्न, लौका, फर्सी, करेला, टमाटर, काँक्रो, आलु, मुला आदि तरकारी, सिमी, बोडी, चना, भटमास, केराउ आदि गेडागुडी तथा हरियो सागपात र फलफूलहरू आदि जस्ता अमृत खाद्यपदार्थ सात्विक भोजन हुन् । अमृत खाद्यपदार्थ भन्नाले यस्ता जीवित खाद्यपदार्थ हुन्, जुन उम्रिन सक्दछन् । जस्तै गहुँ जौ, मुँग, मकै तथा फलफूलहरू । 


अतः स्वस्थ शरीरका लागि जंकफुड्स तथा फास्टफुड्स जस्ता मृत खानेकुराहरु होइन, अमृत खाद्यपदार्थ शुद्ध र सफासँग, त्यसको प्राकृतिक स्वरूप र गुण नष्ट नहुने गरी पकाएर, ठीक समयमा, न धेरै न थोरै, ठीक्क मात्रामा, सही ढंग र शुद्धभावनाले आरामसँग बसेर खुब चपाइ–चपाइ खानाको स्वाद लिएर (आयुर्वेदका अनुसार एक गा“सलाई बत्तीस पटक चपाइ) ग्रहण गर्नुपर्छ । यसरी एकाग्रचित्त भएर भोजन गरेको खण्डमा पाचनप्रणाली उचित तरिकाले आफ्नो कार्य गर्न समर्थ हुन्छ । 

मानिसको शरीरमा ७० प्रतिशत पानी हुने हुँदा दिनभरिको खानामा तीन चौथाइ फलपूmल तथा सागपात जस्ता रसद्धार पदार्थ र केवल एक चौथाई गहु, जौं तथा चामल जस्ता अन्न हुनुपर्छ । दिनभरिमा कम्तिमा पनि आठ गिलास पानी पिउने गर्नुपर्छ । तर भोजनका साथ पानी पिउनु हुदैन । तर, भोजन भन्दा आधा घण्टा पहिला र एक घण्टा पछि पानी पिउन सकिन्छ । भोजन टसमस हुने गरी खानु हुदैन । भोजन पकाएको तीन घण्टा भित्र सेवन गर्नुपर्छ । भोजन पहिला बन्दगोपी, काँक्रो, मुला, सलगम, गाँजार, लहसुन तथा प्याज आदिको सलाद खानु सुनमा सुगन्ध थपे जस्तो हुन्छ । यहाँ मनन गर्नु पर्ने अर्को कुरा के भने यदि कुनै रोग लागेको छ भने रोग अनुसार भोजन सेवन गर्न आवश्यक हुन्छ । त्यो किनभने सेवन योग्य (पथ्य) भोजन खाने तथा सेवन गर्न नहुने (अपथ्य) भोजन नखाने हो भने रोग छिटो निको हुन्छ । तर भोजनमा लापरवाही गर्ने हो भने रोग ठीक हुन गाह्रो मात्र होइन, झन गम्भिर हुन सक्दछ । यसै गरी शिशु, बालक, विद्यार्थी, मजदुर, कर्मचारी, जवान, पौढ, महिला, गर्भवति तथा सुत्केरीको भोजन र भोजनको मात्रा पनि फरक फरक हुने हुँदा सोही अनुसार भोजन गर्नु गराउनुपर्छ । यो नै शरीरलाई पोस्ने र स्वास्थ्य रक्षा गर्ने अचुक उपाय हो ।

के हो शुभाचरणः

निरोगी र स्वस्थ रहनका लागि उचित भोजन भएर मात्र पुग्दैन,  उचित दिनचर्या तथा शुभाचरणको पालना गर्न पनि त्यत्ति नै आवश्यक हुन्छ । त्यो किनभने दिनचर्या नियमित भएन भने शरीर चुस्त–दुरुस्त तथा सशक्त हुदैन, खाए पिएको पच्दैन । भोजनबाट शरीरले जुन पौष्टिकता प्राप्त गर्नुपर्ने हो त्यो प्राप्त गर्न सक्दैन । जसले गर्दा शरीर रोगी तथा कमजोर हुन्छ । जीवनशैलीको सम्बन्धमा एडिसनले भनेका नै छन्ः “मैले आजसम्म यस्तो व्यक्ति देखेको छैन, जो प्रतिदिन सबेरै उठ्छ, सकारात्मक विचार गर्छ, ईमानदारीसाथ मेहनत गर्छ र पनि दुर्भाग्यको शिकायत गर्ने गर्छ ।” यो भनाइ एकदम वैज्ञानिक छ । त्यसैले आरोग्य जीवनका लागि सात्विक भोजनका साथै प्राकृतिक दिनचर्या तथा शुभविचार राख्न अत्यन्तै जरुरी छ । 


चर्चित हिन्दी फिल्म तारे जमीन परमा एक दृश्य छ, जसमा अभिनेता आमिर खानले भन्छन्ः सोलोमन आइल्याण्डका आदिवासीहरुले रुख काँट्दैनन् । उनीहरु रुखको वरिपरि एककठ्ठा भएर घण्टौसम्म रुखलाई तथानाम गाली गर्छन् । खुब गाली गर्छन् । केही हप्तापछि रुख सुखेर आफैं ढल्छ । धेरैलाई यो कुरा साहदै विश्वास लाग्ला । प्रत्यक्ष देख्ने आममानिसले यसलाई दैविक चमत्कार भन्ने गर्छन् । तर यो कुरा सही र प्रमाणिक हो । यस सम्बन्धमा अनेक विद्धानहरुको आ–आफ्नो तर्क छ । तर वैज्ञानिक डा. बू्रस लिप्टनको अनुसार यो कुनै चमत्कार नभएर विचार शक्तिको कमाल हो । 

मनोविज्ञान भन्छ, मानिसको विचारले नै मानिसको जीवन बनाउँछ । मानिसको जीवन बिर्गाछ । मानिसलाई स्वस्थ बनाउँछ । मानिसलाई रोगी बनाउँछ । जब व्यक्तिले नकारात्मक भावनाहरु अवचेतन मनमा दबाएर राख्दछ, बाहिर निक्लने बाटो दिदैन, तब शरीरको रासायनिक प्रक्रिया विषाक्र हुन्छ, अनि तनाब, चिन्ता, हृदय रोग तथा अल्सर आदि जस्ता रोगहरु पैदा हुन्छन् । वास्तवमा रोगहरुको जरो भनेको नै अवचेतनमा दबेर रहेको नकारात्मक भावना हो । 

दि बाइलोजी अफ बिलिफका लेखक डा. ब्रुस लिप्टनका अनुसार जब सोलोमन आइल्याण्डका मानिसहरु रुखलाई गाली दिन्छन्, तब रुखको माइण्डले नकरात्मक तथा खतरनाक विचारहरुलाई इन्स्टल गर्छ । जसका कारण रुखको मोलेकुलर संरचना बिग्रन्छ । अनि रुख सुकेर ढल्छ । यस कुराको पुष्टि क्वान्टम फिजिक्सले पनि गर्छ । यही कुरा मानिसमा पनि लागु हुन्छ । बारम्बार एकै कुरा दोहोराउनाले मनमस्तिष्कको संरचना नै परिवर्तन हुन्छ । २५ सय वर्ष पहिला महात्मा बुद्धले भनेका नै थिए, तिमीले जस्तो सोचका थियौ, त्यस्तै भएका छौ । त्यसैले स्वस्थ जीवनका लागि भोजन मात्र ठीक भएर हुदैन मानिसको आचारविचार पनि ठीक हुनुपर्छ ।

संक्षेपमा भन्नु पर्दा हरेक दिन आफ्नो उमेर र शारीरिक क्षमता अनुसार कुनै न कुनै शारीरिक कार्यहरु गर्ने, दैनिक २, ४ किलोमिटर हिड्ने वा दौडिंने, ध्यान, प्राणायाम तथा आसन वा व्यायाम गर्ने, लेखपढ गर्ने, गहिरो निद्रा सुत्ने, सन्तुलित पौष्टिक आहार सेवन गर्ने, सकरात्मक सोच, आशा र विश्वास राख्ने, सक्रियपुर्वक समाजिक कार्यहरुमा लाग्नु स्वस्थ र दीर्घायु रहने सरल उपायहरु हुन् ।  (लेखक साइकोथेरापिष्ट तथा मेमोरी ल्याब प्रमुख हुन् ।)


Thursday, July 16, 2020

ब्रेन बाइट्स

हरियाली साउन: बोलबम मनोविज्ञान
 ओम बानियाँ

साउन । उपवासको महिना । बोलबमको महिना । गेरु बस्त्रको महिना भक्तिको महिना । जसै साउन सुरु हुन्छ, फेसन बजारको रंग गेरुमय हुन्छ । साउन महिनामा हरियो, रातो, पहेँलो चुरापोते, मेहन्दी र पहिरनमा सजिने गर्छन् नेपाली महिला । यस महिनामा भगवान शिवका नाममा व्रत बस्नेहरू पनि धेरै छन् । शिवलाई हरियो, रातो र पहेँलो रङ मन पर्ने भएकाले उनलाई खुशी बनाउन महिलाहरूले ती रङका पहिरन र चुरापोते लगाउने गरेको विश्वास धेरैको छ । नेपालको शहरबजारमा मात्र होइन गाउँहरुमा समेत अहिले साउने फेसनले छोएको छ । फुटपाथका ठेलागाडादेखि ठूला मल हरियो, रातो, पहेँलो रङले सजिएका छन् । सबैतिर साउनकै लागि विशेष सामान राखिएका छन् । हरियो, पहेँलो, रातो रङका कपडा, चुरापोते, नेलपोलिस सबै साउन केन्द्रित छन् । पाका महिलाले धार्मिक विश्वास साथ साउनलाई विशेष मान्ने गरे पनि आधुनिक महिलाले विशुद्ध फेसनका दृष्टिले यसलाई हेर्ने गरेका छन् । 


हरियाली साउनः
साउन महिना हरियालीको महिना हो । यस महिना चारैतिर हरियाली, रंगविरंगी फूल, सप्तरंगी इन्द्रेणीको मौसम पनि हो । प्रकृतिको यहि सप्तरंगी पृष्टभूमीसँग मिल्नेगरी यस महिनामा महिलाहरु रंगीचंगी फेसनमा सजिने गर्छन् । साउनको फेसनमा हरियो, रातो र पहेंलो रंगको कम्बिनेसन मिलाइन्छ । चाहे साडी, कुर्तामा होस् वा चुरामा, यी तीन रंगको संयोजन हुन्छ । साउनमा लगाइने यस्तो रंग अर्थपूर्ण छ । हरियो रंगलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको र पहेंलोलाई पवित्रताको प्रतिक मानिन्छ । चुरा, पोते, मेहेन्दी लगाउनुको सामाजिक महत्व पनि छ । खासगरी अन्नवाली लगाइसकेपछिको यो फुर्सदिलो समयमा शृंगारको छुटै महत्व हुन्छ । हातमा लगाइने प्राकृतिक मेहेन्दीको औषधीय गुण पनि हुन्छ । यसले हातलाई आकर्षक देखाउने मात्र नभई, चोटपटक पनि निको हुने बताइन्छ ।


रंग र ब्रेनः
रंगहरुले मानिसको मनमस्तिष्कलाई कसरी प्रभावित पार्दछ भन्ने विषयमा थुप्रै अध्ययन अनुसन्धानहरु भएका छन् । अनुसंधानबाट पुष्टि पनि भएको छ कि हरेक रंगहरुमा मानिसलाई शारीरिक, मानसिक तथा भावनात्मकरुपमा प्रभावित पार्ने विशेषताहरु निहित हुन्छन् । रंगहरुका आआफ्नै गुण, धर्म र विशेषताहरु हुन्छन् । जस्तो कि रातो रंग प्रेम, उत्तेजना र क्रान्तिको प्रतिक हो । पहेँलो रंग बुद्धिको प्रतिक हो । निलो रंग सत्य र आशाको प्रतिक हो । हरियो रंग आशा, समृद्धि तथा बुद्धिको प्रतिक हो । गुलावी रंग दयाको प्रतिक हो । यसै गरी सेतो रंग शुद्धता, सत्ता र शान्तिको प्रतिक हो । अनि कालो रंग अँध्यारो, तिरस्कार तथा तमस बुद्धिको प्रतिक हो ।  

बोलबम मनोविज्ञानः
बोलबमको असली अर्थ हो, शिवको मन्त्र जप्नु । यसरी शिवको मन्त्र उच्चारण गर्नुको पनि फाइदा छ भनिन्छ । जब हामी मन्त्रोच्चारण गर्छौ, त्यसले पैदा गर्ने तरंगले शरीरमा उर्जा मिल्छ । बोलबमले सात्विक जीवनशैलीतर्फ डोर्होयाउँछ । किनभने, बोलबम हिँड्नेले तामासिक जीवनशैली पूर्णत त्याग्नुपर्छ । खानपान र जीवनशैलीदेखि पहिरनसम्ममा सर्तक हुनुपर्छ । सादा एवं सुपाच्य खानेकुरा खानु वा उपवास बस्नुपर्ने चलन छ, बोलबममा । बोलबम हिँड्नुलाई काँवरीया भनिन्छ । उनीहरुले काँधमा बोक्ने बाँसको भाटालाई का“वर भनिन्छ, जसको दुई छेउमा घैला झुन्ड्याएर त्यसमा पानी भरेर नजिकको शिवालयमा पुराइन्छ । उक्त पानी शिवलिंगमा चढाइन्छ । त्यससँगै वेलपत्र, कुशको फूल, शमीको पात, नीलकमल तथा धतुराको फूलले पूजा गरिन्छ ।


बोलबमको सांकेतिक अर्थ हो, पानी र सृष्टिको महत्वलाई दर्शाउनु । चराचर जगत पानीमै आश्रति छ । पानीको अभावमा सृष्टि संभव छैन । शिवलिंगलाई सृष्टिको प्रतिक पनि मानिन्छ । के पनि भनिन्छ भने, अविरल पानीको स्रोत भएको स्थानबाट सुख्खा स्थानमा पानीले सिंचित गर्नुपर्ने प्रतिकात्मक सन्देश दिइएको हो यो । यसलाई यौनसँग पनि जोडेर व्याख्या गरिएको छ । यसबेला मानिसमा कामवासना बढ्छ । यसलाई नियन्त्रण गर्नुपर्छ भन्ने संकेतको रुपमा पनि शिवलिंगमा पानी चढाइएको मानिन्छ । 

यो भनाइलाई साउनमा महिलाहरुले हातभरी लगाउने चुरा र मेहेन्दीसँग पनि जोडिन्छ । साउन महिनाभर चुरा लगाउनुको कारण पुरुष एवं पतिमा बढ्दो कामवासना नियन्त्रण गर्नु हो भन्ने गरिएको छ । तर धार्मिक कथन अलि फरक छ । धार्मिक कथन अनुसार विषपानका कारण शिव भगवानको कण्ठ नीलो भयो । भगवान शिवले समुन्द्र मन्थन गर्दा निस्किएको कालकुट नामक विषलाई आफ्नो कण्ठमा समाहित गरेर सृष्टिको रक्षा गरेका थिए । त्यसरी आफ्नो कण्ठमा समाहित गरेको विषको जलन शान्त पार्नका लागि देवी देवताले उनलाई जल अर्पण गरे ।

पुछारमाः
मानिसको जीवनमा रंंगको ठूलो महत्व छ । त्यो किनभने मानिसको जीवन नै रंगीन हुन्छ । बेरंग जीवन अर्थात् रंग बिनाको जीवन मानिसले सहजपूर्वक जीउन सक्दैन । जीवनमा रंग भएन भने मानिस उदास, निराश र बैचन हुन्छ । दिउँसै चारैतिर निस्पष्ट अँध्यारो देख्छ । उसको आशा मर्छ । विश्वास मर्छ । चाहना मर्छ । उसलाई कुनै कुराप्रति पनि रमाइलो लाग्दैन । मानिस जिउँदो लास जस्तो हुन्छ ।

 तर जीवनमा रंग भयो भने मानिस खुसी हुन्छ । प्रसन्न हुन्छ । दुःखमा पनि सुखको आशा गर्छ । अँध्यारो पछिको उज्यालोको पर्खाइमा हुन्छ । कालो बादलमा पनि चाँदीको घेरा देख्छ । त्यसैले मनोवैज्ञानिक रुपमा पनि मानिसको जीवनमा रंगको ठूलो महत्व छ । जीवनमा रंगको यही महत्वलाई हृदयांम गरेर नै हाम्रा पूर्वजहरुले चाढपर्व, जात्रा तथा उत्सवहरुको आबिस्कार गरेका हुन् । हिजोआज जीवनलाई रंगीन बनाउने अनेक माध्यमहरु छन् । कोही फुटबल तथा क्रिकेट आदि जस्ता खेलहरु खेलेर तथा हेरेर रमाइलो मनाइरहेका हुन्छन् । कोही फिल्म हेरेर, संगीत सुनेर, कोही दोहोरी गाएर, कोही भोजभतेर गरेर, कोही मेला र जात्रा सजाएर त कोही मायाप्रीति गाँसेर जीवनमा रंग छर्ने कार्य गरिरहेका हुन्छन् । हरियो तथा गेरुवा पहिरनमा साउनको शिव उत्सव मनाउनुको मनोविज्ञान पनि जीवनलाई रंगीन बनाउनु नै हो । 







(नागरिक दैनिकमाप्रकाशित लेख )

Saturday, July 11, 2020

ब्रेन बाइट्स

कुकुर मात्र कुकुर होइन
 घर बाहिर गएका आफ्नो मालिक कुन बेला घर फर्किन्छन् भन्ने कुरा कुकुरलाई थाहा हुन्छ ।
ओम बानियाँ 
 कुकुर एक इमान्दार जनवार हो । मानिसको साथी हो । मानिसको रक्षक हो । प्राचिन कालदेखि कुकुरले घरको रेखदेख तथा चोरडाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ । अपराधीहरू पत्ता लगाउने, अध्ययन–अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ । त्यसैगरी कुकुरले कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ । यिनै गुणहरुका कारण मानिसहरुले कुकुर पाल्ने गरेको देखिन्छ । जंगली अवस्थामा रहँदादेखि नै मानिसले कुकुर पाल्न थालेको विश्वास गरिन्छ । शिकारदेखि घरको सुरक्षा गर्ने काम होस् वा विभिन्न तरिकाले मनोरञ्जन प्रदान गर्ने काम होस् कुकुरले मानिसलाई सधैं साथ दिँदै आएको छ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ । यही गुणको कदर गरेर मानिसले कुकुरप्रति सम्मान गर्दै वर्षको एकदिन भए पनि कुकुरको पूजा गर्न थालेका हुन् । हाम्रा पौराणिक गाथाहरूमा पनि कुकुरसँग जोडिएका अनेकौं प्रसंगहरु छन् । 


धेरैले कुकुरलाई अति मन पराउँछन् । घरमा कुकुर पाल्नु कतिपयको सोख हुन्छ । कतिपय सुरक्षाका लागि कुकुर पाल्छन् । घरपालुवा जनवारमध्ये कुकुर धेरै प्रिय हुने गर्दछ । समय परिवर्तन भएसँगै विभिन्न प्रजातिका कुकुर पाइन्छन् । पछिल्ला दिनमा नेपाली भन्दा पनि विदेशी कुकुर नै धेरै देखिन्छन् । कुकुरका फाइदा धेरै छन् । कुकुरले मानिसको स्वास्थ्यमा समेत फाइदा गर्ने एक अनुसन्धानले सार्वजनिक गरेको छ । केही समय अगाडि गरिएको अनुसन्धानले कुकुर पाल्नुका फाइदा सार्वजनिक गरेको हो । 

 कुकुर पाल्नुका फाइदा
अमेरिकाको बार्कपोस्टले कुकुर पाल्नुका फाइदा सार्वजनिक गरेको हो । जस्तैः मुड राम्रो बनाउन साथ दिन्छ । बच्चामा हुनसक्ने छालाको रोग जोगाउन सहयोग गर्छ । कार्डियोभास्कुलर रोगको जोखिमबाट जोगाउछ । मानिसलाई स्वास्थ्य दैनिकीतर्फ सधै प्रोत्साहित गर्छ । मानिसलाई सक्रिय बनाउछ, । हृदयघात हुनबाट जोगाउछ । कुकुर पालिएको घरका बालबालिका चलाख हुन्छन् । घरमै कुकुर भएपछि परिवारले सुरक्षित महसुस गर्छन् । दिक्कलाग्दो वातावरण सिर्जना हुनबाट टाढै राख्छ । जोखिममा कुकुरले जीवन बचाउन साथ दिन्छ ।कुकुरको मूल विशेषता यही हो कि यो भुक्न सक्छ, आक्रमण गर्न सक्छ । कुकुर स्वामीभक्त पनि हुन्छ । स्वामीको लागि ज्यानै दिने कुकुरहरू पनि पाइन्छन् ।


कुकुरका झन्डै सात सय एक विशुद्ध प्रजातिहरू पाइन्छन् । मिस्कट र भुस्याहा जाति–प्रजाति भने थुप्रै हुन्छन् । हजारौं । झन्डै दुई सय पचास प्रजातिका कुकुरहरू घरमा पाल्नका लागि योग्य मानिन्छन् । अफगान हाउन्ड, अकिता, अलास्कन मलाउमट, अस्ट्रेलियन कैटल, अस्ट्रेलियन केल्पी, अस्ट्रेलियन सिल्की टेरियर, एल्सेसियन, बीगल, बेल्जियन सेर्फड, जर्मन सेर्फड, ब्लड हाउन्ड, बक्सर, ब्रिटिस बुलडग, शिहुआहुवा, जर्मन प्वाइन्टर, डोवरम्यान, ल्याबराडोर प्यापिलन, माल्टेज, पमेरियन, पुडल, साइबेरियन हस्की, तिब्बती स्पानियल, गोल्डन रिट्रिवर, ग्रेट डेन, आइरिस सेटर, आइरिस वुल्फहाउन्डजस्ता प्रजातिका कुकुरहरू विश्वका सर्वा्धिक लोकप्रिय प्रजातिहरू मानिन्छन् । बोर्डर कोली, पुडल र गोल्डन रिट्रिवर सबैभन्दा समझदार कुकुर मानिन्छन् । अफगान हाउन्ड भने सबैभन्दा मूर्ख र ल्वाँदे कुकुर मानिन्छ । संसारको सबैभन्दा सानो र हलुंगो कुकुर शिहुआहुआ हो र सबैभन्दा ठूलो र गरुंगो कुकुर वुल्फहाउन्ड हो । 


कुकुरहरूको सबैभन्दा महत्वपूर्ण अंग भनेको नाक र कान हो । कुकुरको आँखा निकै कमजोर हुन्छ । यसले रङहरू चिन्न र छुट्याउन सक्दैन । अर्थात् कलर ब्लाइन्ड हुन्छ । यसले केवल ब्ल्याक एन्ड ह्वाइट मात्र देख्नसक्छ । त्यसैले कुकुरको सुघ्ने र सुन्ने शक्ति गजबको हुन्छ । स्वामीको गन्ध र बोली यसले गजबले चिन्छ । केही कुकुरहरू त स्वामीको कार, जुत्ता, पोशाक, बन्दुक पनि चिन्दछन् । कुकुरहरूको सुन्ने क्षमता मान्छेको भन्दा बढी हुन्छ । सँुघ्ने क्षमता त झन् एक हजार गुना नै बढी हुन्छ । त्यसैले त भनिन्छ, स्थिति र परिस्थिति यसले निकै चाँडै ठम्याउन सक्छ । र, त्यही परिस्थितिअनुसार स्वामीभक्ति गर्न सक्छ । कुकुरको अध्ययन अनुसंधान गर्ने वैज्ञानिकका अनुसार बाहिर गएका आफ्नो मालिक कुन बेला घर फर्किन्छन् भन्ने कुरा कुकुरलाई थाहा हुन्छ ।  (लेखक मनोविद् तथा मेमोरी ल्याब प्रमुख हुन् ।) 



Wednesday, July 8, 2020

सिनेम्याटिक्स

मुभी, मस्तिष्क र महानायक
ओम बानियाँ

मुभि अर्थात् सिनेमा (चलचित्र) मनोरंजनको एक सशक्त माध्यम हो । संसारमा मनोरंजनका लागि यस माध्यमलाई उपयोग गर्नेको संख्या निकै धेरै छ । सिनेमा महिलापुरुष, बालबालिका, युवायुवती तथा बृद्धबृद्धा तथा मजदुरदेखि अरवपति आदि सबैका माँझ उत्तिकै लोकप्रिय छ । नेपालमा पनि चलचित्रमा रमाउनेहरु कम छैनन् । तर, नेपालमा नेपाली सिनेमामा भन्दा हिन्दी सिनेमामा रमाउनेहरु बढी छन् । त्यसो त केही वर्ष यता नेपाली सिनेमाको बजार पनि बढ्दै छ । नेपाली सिनेमाहरु पनि उल्लेखनीयरुपमा निर्माण हुँदै छन् ।

मुभि र मस्तिष्कः
चाहे नेपाली सिनेमाहरु हुन्, चाहे हिन्दी सिनेहरु हुन् वा अन्य भाषाका सिनेमाहरु हुन्, सिनेमाको प्रमुख उद्देश्य भनेको नै दर्शकलाई मनोरंजन दिनु हो । तर, सिनेमाको दायरा केवल मनोरंजनमा मात्र सीमित छैन । व्यापक र विस्तृत छ । सिनेमामा त दर्शकलाई सम्मोहित बनाएर मनमस्तिष्क नै पुनस्र्मंरचना गर्ने समाथ्र्य हुन्छ । त्यसैले सिनेमाले मानिसलाई मनोरंजन दिने, सोचविचारमा परिर्वतन ल्याउने मात्र होइन, समाजीक तथा राजनीतिक क्रान्ति ल्याउन सक्दछ । हुन पनि हो मानव मनमस्तिष्कमा सिनेमाको अद्भूत प्रभाव पर्छ । राम्रा सिनेमाहरुले दर्शकलाई २—३ घण्टा यसरी बाँध्दछ कि दर्शक पर्दामा हराउँछन् । सम्ववत् मानिस यसरी र यत्तिबेर एकाग्रचित्त अन्य कुनै चिजमा हुँदैनन् । त्यसैले त किताबको पाठ याद नहुने विद्यार्थीलाई पनि सिनेमाको एक—एक सम्वाद र दृश्यहरु याद हुन्छन् । 

प्रायः दर्शकलाई थाहा हुन्छ, सिनेमा एक नाटक हो, कलाकारहरुको अभिनय हो, सत्य घटना होइन, तर पनि सिनेमा हेर्ने क्रममा उसले सिनेमालाई सत्य घटना नै ठान्छ, सक्कली कथा नै मान्छ, अनि ऊ कथासँगै हाँस्छ, रुन्छ, खुसीले उफ्रिन्छ । साँच्चै मुभिले मानिसको मनमा म्याजिक नै पैदा गरिदिन्छ । सिनेमा यस्तो साहित्य हो, जसलाई हेर्न, सुन्न र अनुभव गर्न सकिन्छ । त्यो किनभने दर्शकले सिनेमा हेरेका मात्र हुँदैन, सम्वाद र गीत सुनेका पनि हुन्छन्, सिनेमाको कथाको बगाइसँगै आफुलाई कलाकारको अभिनयमा समाहित पनि गरेका हुन्छन् । सिनेमाको कतिपय प्रभाव प्रत्यक्ष नै अनुभव हुन्छ भने अधिकांश प्रभाव मानिसको अवचेतन मनमा गएर बस्छ । अवचेतन मन, मानिसको त्यो मन हो, जसले मानिसको संसारलाई हेर्ने दृष्टिकोण, आचारविचार र उसको व्यक्तित्व निर्माणमा महत्वपुर्ण भूमिका निभाउँछ । त्यसैले सिनेमालाई शिक्षा प्रदान गर्न, जनचेतना जगाउन तथा मेडिसिनका रुपमा पनि उपयोगमा ल्याउन सकिन्छ । दर्शकलाई मनोरंजन प्रदान गर्ने मुल उद्देश्यले बनाइएका यस्ता सिनेमाहरुलाई शिक्षा प्रदान गर्नका लागि, जनचेतना जगाउनका लागि तथा मेडिसिनका रुपमा उपयोग गरिँदै आएको प्रशस्त उदाहरणहरु छन् । 


मानव मनमस्तिष्कमा सिनेमाको प्रभाव सकारात्मक तथा नकारात्मक दुवै हुने गर्छ । अधिकांश समाजशास्त्री तथा मनोवैज्ञानिकहरु चल्तीका सिनेमाहरु हत्याहिंसा र नग्नतामा केन्द्र हुने हुनाले समाजमा सिनेमाको सकारात्मक भन्दा नकारात्मक प्रभाव बढी पर्ने कुरा बताउँछन् । त्यसो त कतिपय सिनेकर्मीहरुले नागरिकले सकारात्मक संदेश दिने मुल उद्देश्य लिएर सिनेमाहरु निर्माण गरेको पनि पाइन्छ ।जोसँग क्षमता र कल्पनाशिलता हुँदैन, ऊ सिनेमामा जबरजस्ती अनावश्यक हत्याहिंसा तथा नग्न दृश्यहरुको सहारा लिएर सिनेमा हिट गराउने आशामा हुन्छ । तर, यस्ता दृश्यहरु राख्दैमा सिनेमाहरु हिट हुने कुनै ग्यारेन्टी हुँदैन । एक्सन र ग्यामरलाई कलात्मक ढंगबाट पर्दामा उर्तान पनि निर्दशकीय सीप चाहिन्छ । यो कुरा सिनेकर्मीहरुले बुझ्नुपर्छ । र, आफ्नो सामाजिक दायित्वलाई केन्द्रमा राखेर सृजनशिल मन र मस्तिष्कको तारताम्य मिलाएर मानवीय संवेदनशिलताको गहिराइमा गोता लगाइ मानव–मानव बीचको अन्तर्सम्बन्ध, त्यो सम्बन्ध भित्रको माया–ममता, प्रेम–भाइचाराको साथै स्वार्थ, अहंकार, वितृष्णा, अन्याय, अत्याचार, भ्रष्टचार, शोषण तथा थिचोमिचोहरूलाई मौलिक र सटीकरूपमा पर्दामा उतार्ने दिशामा अग्रसर हुनुपर्छ ।

कुनै बेला इटालीयन सिनेमा द बाइसकल थीव्स्का महान् निर्देशक बितेरियो डे–सीकाले भनेका थिएः “हामी किन एउटी स्त्रीले एकजोर जुत्ता किन्दै गरेको विषयमााथि सिनेमा बनाउन सक्दैनौ ?” त्यसैले त डे–सीकाले थुप्रै राम्रा सार्थक सिनेमाहरू बनाए, बाइसकल थीव्स् मात्र होइन कि डे–सीकाको शÒ शाइन पनि त्यत्तिकै उत्कृष्ट सिनेमा हो । सन् १९६० मा शु शाइनको प्रदर्शनको बेलामा सिटीजन केन बनाउने महान् निर्देशक अर्सन वेल्सले भनेका थिएः “हालै म शु शाइन हेर्न दौडिँदै गएँ । तर त्यहाँ क्यामेरा हरायो, पर्दा पनि हरायो, त्यहाँ त फगत एउटा जीवन थियो, जीवन ।”

कालजयी सिनेमा बनाउन ठूलो लगानी गर्नुपर्छ भन्ने छैन । सानो बजेटमा पनि राम्रो सिनेमा निमार्ण गर्न सकिन्छ । सत्यजित रेले ‘पाथर पाञ्चाली’मा करोडौं लगानी गरेका थिएनन् । तत्कालिन समयमा एउटा नेपाली सिनेमाको बजेटमा नै ‘पाथर पाञ्चाली’ बनाएका थिए । सानो बजेटको ‘पाथर पाञ्चाली’मा सत्यजित रेले भारतीय सिनेमाको सृजनशिलता र श्रेष्ठताको नमूनाको छाप छोड्न सफल भएका थिए । साँच्चै, यो सिनेमामा सत्यजित रेले पुरोहित हरिहर रायको छाप्रो भित्रको दुःख, पीडा, वेदना र छटपटीलाई सजीवताका साथ पर्दामा उतारेका छन् । यस चलचित्रका हरेक दृश्यहरू यथार्थ, सजीव र हृदय छुने खालका छन् । बालक अप्पु र दुर्गाले पहिलो पटक रेल देख्दाको दृश्य तथा गरीबीका कारण हरिहरले घर छोडेर जाँदा घरमा सर्प पसेको दृश्य ज्यादै नै मनोवैज्ञानिक तथा हृदयस्पर्शी छन् । अप्पÒ र दुर्गाले पहिलो पटक रेल देख्दाको दृश्यको भाव र जुम्लाका नेपाली बालबालिकाले पहिलो पल्ट मोटर देखेको वास्तविक भाव कताकता मिल्न जान्छ ।

महानायकको मस्तिष्क:
राजेश हमाल, नेपाली चलचित्र जगतको एक बहुचर्चित नाम हो । वि.स. २०२० सालमा जन्मिएका राजेश हमालले अंग्रेजी साहित्यमा स्नातकत्तोर गरे पछि आफ्ना कुटनीतिज्ञ (राजदुत)बाबु–एच.बी. हमालको चाहना विपरित आज भन्दा पच्चिस वर्ष पहिला नेपाली चलचित्र जगतमा प्रवेश गरेका थिए । उनको पहिलो चलचित्र ‘युगदेखि युगसम्म’ हो । यस चलचित्रका निर्देशक उनका आफ्नै मामा, दीपक रायमाझी हुन् । राजेशको पहिलो सिनेमा ‘युगदेखि युगसम्म’ सुपरहिट भएता पनि उनको दोस्रो सिनेमा ‘भाग्यरेखा’ को शुटिङका बेलामा मामा–भाञ्जा बीच बिबाद भएपछि राजेश हमाल भाग्य रेखाबाट निकालिएका थिए । र, उनको ठाउँ अभिनेता रविन्द्र खड्काले लिएका थिए । त्यसबेला पत्रपत्रिकाका अनुसार उनकै निर्देशक मामा दीपक रायमाझीले भन्दै हिँडेका थिए रे, ‘राजेशलाई एक्टिंग नै आउँदैन ।’ 


तर, समयसँगै राजेशले गोपीकृष्णा, देउता तथा सीमाना जस्ता सिनेमाहरू मार्फत् आफ्नो बलियो उपस्थिति देखाए । नेपाली सिने उद्योगमा रहदै आएको अभिनेता शिव श्रेष्ठ र भुवन केसीको बर्चश्वलाई चुनौती दिँदै आफुलाई नेपालको नम्बर एक नायक अर्थात् महानायकको रूपमा स्थापित गर्न सफल भए । कुनै बेला नेपाली चलचित्र उद्योमा राजेशको वर्चश्व यति थियो कि राजेश बिनाको नेपाली चलचित्र नै प्रर्दशन हुँदैन्थ्यो, यता पनि राजेश हमाल, उता पनि राजेश हमाल, जुन सिनेमा हलमा पनि राजेश हमाल । निर्माता निर्देश राजेशलाई लिएर फिल्म बनाउन तथा नायिकाहरु उनीसँग अभिनय गर्न मरिहत्ते गर्थे । 

राजेशले पच्चिस वर्षको दौरानमा उनले ३ सय भन्दा बढी नेपाली सिनेमाहरूमा अभिनय गरे । पच्चिस बर्षदेखि नेपाली सिनेमा उद्योगमा एकछत्र राज गर्ने यी महानायक अहिले पनि ‘बक्स अफिसका हट केक’ मानिन्छन् । तर, सयौं नेपाली सिनेमाहरुमा अनेक प्रकारका चरित्रहरुमा दमदार अभिनय गरेर दर्शकमाँझ महानायकको उपाधि पाएका राजेश हमालले भन्ने गर्छन्, ‘मैले अहिलेसम्म उल्लेखनीय एउटा पनि सिनेमा खेल्न पाएको छैन ।’ हुन पनि हो, अभिनेता राजेश हमालको प्रतिभालाई सही सदुपयोग गरिएको देखिएको छैन । यसमा स्वयं राजेश हमालको पनि कमिकमजोरी रहेको छ । राजेशको पहिलो कमजोरी हो, उनले गुणस्तरलाई भन्दा संख्यालाई महत्व दिए । भ्याएसम्म जस्तो पनि सिनेमा गर्दै गए । तर, अब नेपाली सिनेमाका महानायकले नेपाली सिनेमाको स्तरीयतालाई कसरी बढाउन सकिन्छ भन्नेतिर ध्यान दिनु जरुरी छ । उनले हल्काफुल्का सिनेमा होइन कि दर्शकमाँझ अमिट छाप छोड्ने र आफुले गर्व गर्न सक्ने सिनेमाहरु खेल्नुपर्छ ।

पुछारमाः 

हो, सिनेमा हेर्ने कुरा खराब होइन, यदि खराब हो भने कथा, उपन्यास वा किताब पढ्ने कुरा पनि खराब हो । सिनेमाको सम्बन्धमा हामीले के बुझ्न जरूरी छ भने राम्रा सिनेमाले मानिसलाई मनोरञ्जन मात्र होइन कि ज्ञान दिन्छ, विज्ञान दिन्छ, कथा दिन्छ, गीत दिन्छ, संगीत दिन्छ, परम्परा र संस्कृति दिन्छ, जीवनमा अघि बढ्ने उत्प्र्रेरणा दिन्छ । यो आँखा र कानबाट सीधैँ मनमस्तिष्कमा पुग्दछ । अतः सिनेमाको यो मनोविज्ञानलाई सिनेकर्मीले मात्र होइन कि सरकारले पनि राम्रोसँग बुझ्नुपर्छ र सिनेकर्मीहरुलाई स्तरीय सिनेमा निर्माण गर्न प्रोत्साहित गर्ने तथा बजारु चलचित्रलाई निरुत्साहित गर्ने नीति अख्तियार गर्नुपर्छ ।  (५ वर्ष पहिला राजधानी दैनिकको सौजन्यमा प्रकाशित लेख। )
( मैले राजेश हमाल एक कुशल अभिनेता हुन् त भन्दिनँ ! तर अहिले पनि उनि नायकका नायक महानायक हुन् !)

हेल्थ फर्स्ट 

महिला, मन र मनोरोग
ओम बानियाँ

हिला र पुरुषको शारीरिक बनौट तथा रुपरंग भिन्न भिन्न हुन्छ । शारीरिक बनौट तथा रुपरंगले मात्र होइन, मानसिक र भावनात्मक रुपमा पनि महिला र पुरुषमा भिन्नता हुन्छ । आम महिला पुरुषको तुलनामा शारीरिक तथा मानसिक रुपमा कोमल तथा भावनात्मक रुपमा संवेदनशिल, भावुक र दयालु प्रकृतिका हुन्छन् । महिलाको मनमस्तिष्कमा विद्यमान यस्ता गुणहरुका कारण नै महिला सृष्टिकी जननी भएकी हुन् । दया, माया, ममता र कोमलताकी समुद्र भएकी हुन् । आफ्ना सन्तानलाई हुर्काउन तथा परिवार तथा समाजलाई एकताबद्ध गराउन महिलाका यस्ता गुणहरुले अहम भूमिका निभाउँछन् । तर कहिँलेकाही महिलाको कोमलता र भावुकता जस्ता गुणहरु स्वयं उनीहरुका लागि नै समस्या पनि बन्ने गर्छन् । 


गोधुलि समय थियो । उत्तरबाट सिरेसिरे हावा चलिरहेको थियो । नजिकैको रुखमा बसेको कोइलीले सुरिलो ‘गीत’ गाइरहेको थियो । मौसम सारै नै मनमोहक थियो । तर ज्योति (नाम परिवर्तन) का आँखा चाहीँ घरि हातको घडीतिर त घरी सडकतिर दौडिँरहेका थिए । उनको मन ब्याकुल थियो, छटपटि बढिरहेको थियो । उनले बेलाबेलामा मोबाइल थिच्थिन् । तर जति पटक मोबाइल थिच्दा पनि तँपाईले सम्पर्क गर्न खोजेको मोबाइल व्यस्त छ, पुनः सम्र्पक गर्नुहोला भन्ने आवाज आउँथ्यो । त्यो आवाज सुन्ने बित्तिकै उनले भुइँमा खुट्टा बर्जाथिन् । अनि फेरि सडकतिर नजर दौडाउँथिन् । बिस्तारै साँझ पर्न थाल्यो । यत्रतत्रबाट झ्याउँकीरीहरू ‘झ्याउँझ्याउँ गर्न थाले । उनले फेरि घडी हेरिन् । अनि उनी रिसले आगो हुँदै आफ्नो बाटो लागिन् । मुलबाटोमा पुगेपछि उनले घर फर्किन टैक्सी रोक्न के खोज्दै थिइन् कि एकाएक उनको नजर केही अगाडि प¥योः जीवन मोटरबाइक पछाडि ‘केटी’ राखेर सर्र हुइकिँदै थियो । त्यो दृश्य आँखामा पर्नासाथ ज्योतिलाई आफुले टेकेको जमीन भाँसिए जस्तो लाग्यो । एक्कासी झाँगाबाट खसे जस्तो र धड्कन रोकिए जस्तो भयो । उनी फटाफट टैक्सी चढेर घर गईन् । सरासर कोठामा पसेर बिछ्यौनामा मुढोझैँ पल्टिएर डाँको छोडेर रुन थालिन् । रुदा–रुदा आँसु रित्तिए । उनको मन फाट्यो, तन टुट्यो । उनलाई यो सारा संसार नै स्वार्थी र बेइमानी लाग्न थाल्यो । यसरी नै दिनहरू बित्दै गए । उनलाई खाना रुचि हुन छोड्यो । निद्रा लाग्न छोड्यो । उनी दुब्लाउँदै गइन् । उनको सोच्ने शक्ति तथा आत्मविश्वास घट्न थाल्यो । उनले आफुलाई नितान्त एक्लो र असहाय महसुस गर्न थालिन् । 


घटनालाई हेर्ने दृष्टिकोण(सोच)ले कसरी मÒड (मनस्थिति) निर्माण गर्छ र नकारात्मक मनस्थिति केही दिनसम्म कायमै रहेको खण्डमा त्यसले कसरी डिप्रेसनको रुप लिन्छ भन्ने यो एक दृष्टान्त हो । 

डिप्रेसन एक मनोवैज्ञानिक रोग हो । कतिपयले यसलाई भावनाको क्यान्सर पनि भन्ने गर्छन् । त्यो किनभने डिप्रेसनबाट भावुक प्रकृतिका मानिसहरु बढी प्रभावित हुने गर्छन् । पुरुषको तुलनामा महिलाहरु बढी संवेदनशील र भावुक हुने हुनाले डिप्रेसनबाट महिलाहरु नै बढी प्रभावित हुने गर्छन् । डिप्रेसनको प्रमुख लक्षण भनेको नै उदासिनता (खिन्नता) र कुनै कुराप्रति अभिरुचि नलाग्नु हो । त्यसो त आधुनिक गलाकाट प्रतिस्पर्धाको युगमा हरेक मानिसलाई आफ्नो जीवनको कुनै न कुनै क्षणमा उदासी (डिप्रेसन)को कटुअनुभव हुनेगर्छ । जब मानिसको जीवनमा कठिनाइ, असफलता, कुण्ठा तथा तीब्र तनाव उत्पन हुन्छ, तब व्यक्ति डिप्रेसनको सागरमा डुब्न पुग्दछ । तर अधिकांश यस्तो उदासी केही छिनमा वा एकदुई दिनमा नै ठीक हुन्छ । मानिस पुर्वावस्थामा नै फर्किन्छ र पुनः दैनिक जीवनमा रमाउनथाल्छ । तर दुईतीन हप्तासम्म यस्तो उदासी रहिरह्यो भने त्यो क्लिनिकल डिप्रेसन हुनसक्दछ । 


अतः उपर्युक्त लक्षणहरूबाट ज्योति पनि प्रमुख डिप्रेसनबाट पीडित भएको प्रष्ट हुन्छ । यस्तो डिप्रेसनलाई रियाक्टिभ डिप्रेसन भनिन्छ । यदि यस्ता लक्षणहरू दुई वर्ष भन्दा बढी समयसम्म देखा पर्छन् भने त्यसलाई जीर्ण डिप्रेसन (डिस्थिमिक डिसअर्डर) भनिन्छ । 

हो, मानिससँग नै मन छ । त्यसैले त मानिसको मन टुट्छ । र, टुटेको मनस्थितिले नै डिप्रेसन लगायतका मनोवैज्ञानिक समस्याहरू पैदा गर्छ । मानिसको यो मन अन्याय, अत्याचार, शोषण तथा थिचोमिचोका कारण पनि टुट्छ । कहिलेकाहीँ सानातिना कुराहरूले पनि यो मन सिसाझैं फुट्छ । सधैँ नमस्कार गर्ने मान्छेले कुनै दिन भुलेर नमस्कार नगर्दा नै यो मन फाट्छ । कसैले नदेखेर नमस्कार नर्फकाउँदा पनि यो मन फाट्छ । सँगै उभिएका दुई जना मध्ये एकलाई बस्ने आग्रह गर्ने तर अर्कोलाई केही नभन्ने हो भने पनि उसको यो मन धरत्तै फाट्छ । कति संवेदनशील र भावुक छ हगि मानिसको यो मन ? अझ महिलाको मन ?


प्रायः अतार्किक र नकारात्मक सोचले नै मानिसको मन फाट्छ, मुड बिग्रिन्छ । धेरैलाई थाहा भएको कुरा हो, मानिसको मनमा दुई सोचहरू हुन्छन्,  एउटा हो, सकारात्मक सोच र अर्को हो, नकारात्मक सोच । यहाँ मनन योग्य कुरा के हो भने मानिसको मनमस्तिष्क, शरीर र व्यवहारमा सोचको ज्यादै ठूलो प्रभाव पर्छ । यथार्थमा यही सोचकै आधारमा नै मानिसको आचारण र व्यवहार हुने गर्छ । त्यो किन भने जुन सोच बारम्बार मनमा आउँछ, त्यो संकल्प बन्छ । र, त्यही संकल्प नै मस्तिष्कमा सम्बद्ध हुन्छ । मनमस्तिष्कमा घटेको यही घटनाले नै जन्माउँछ, दुई संसार, फूलको आँखामा फूलै संसार, काँडाको संसारमा काँडै संसार ।

तर सोचको मनोविज्ञानलाई हेर्ने हो भने आममानिसमा कुनै एक सोच हुँदैन । दुवै सोच हुन्छ, फूल सोच पनि हुन्छ, काँडा सोच पनि हुन्छ । त्यसैले कहिले उनीहरू काँडा सोचमा हुन्छन् त कहिले फूल सोचमा हुन्छन् । त्यसैले त अधिकांश मानिस जहिले पनि दिग्भ्रमित हुन्छन् । के ठीक के बेठीक छुट्टाउन सक्दैनन् । अनि धेरै पटक आफैँले आफ्नो मुड बिगार्छन्, मन फटाउँछन् । ज्योतिलाई नै हेर्नुहोस् । ज्योतिले वास्तविकता के हो भन्ने बुझ्दै नबुझी बेकारमा आफ्नो मन फटालेर डिप्रेसनको रोगी बन्न पुगेकी छिन् । यसको मुल कारण उनको नकारात्मक र अतार्कीक सोच हो । त्यो किनभने जीवनको बाइकपछाडि बसेकी ‘त्यो केटी’ जीवनकी आफ्नै बैनी वा नातेदार बैनी पनि हुन सक्छे वा छिमेकी पनि हुन सक्छे ? सहकर्मी पनि हुन सक्छे ? होइन र ? 

यदि त्यो केटी जीवनकी ‘नयां प्रेमीका’ नै हो भने पनि त्यत्ति सारै मन फटालेर के हुन्छ र ? जति यो मन फटाल्यो त्यत्ति नै यो मन झन्–झन् फाट्दै जान्छ । अनि मानिस ‘जिउँदो लास’ बन्न पुग्दछ । त्यसैले यसरी नकारात्मक मुड बनाएर ज्योतिलेझैं मन फटालेकाहरूले बुझ्नुहोस्, जीवन गए, गौरव आउँछन् । गौरव गए, सलोन आउँछन् । सलोन गए, अनमोल आउँछन् । यो नै फाटेको मन टाल्ने सर्वोत्तम उपाय हो । तार्किक र सकारात्मक सोच नै जीवनको सच्चा सारथि हो । (लेखक स्नायुमनोविद् तथा मेमोरी ल्याब प्रमुख हुन् ।) 

सम्पर्क:


Sunday, July 5, 2020

ब्रेन बाइट्स

कुकुरको ‘पुच्छर’
ओम बानियाँ

कादेशको एउटा जंगलमा एकजना बाबा बस्दथे । उनी खुसी भए भने भक्तहरूलाई एउटा भुत प्रकट गरिदिन्थे । त्यो भुतले जे मागे पनि पु¥यादिन्थ्यो । एक दिन एउटा निर्धन किसानलाई पनि बाबाले भुत प्रकट गरिदिँदै भने,  “वत्स, यो भुतलाई एकक्षण पनि खाली बस्न नदिनु, काममा लगाइरहनु । यदि यो खाली भयो भने तिमीलाई नै खाइदिनेछ, बुझ्यौ ?” किसानले बुझें भन्दै भुत लिएर घर गए । भुतसँग एउटा भव्य घर मागे । एकै क्षणमा घर तयार भयो । खेत मागे । कार मागे । गरगहना मागे । उनले माग्दै गए । भुतले एकैछिनमा त्यो पुरा गर्दै गयो । 


अब किसानसँग माग्ने कुनै कुरा थिएन । किसान डरले थर्थरी काम्न थाल्यो । भुत दाह्रा किट्दै किसानतिर लम्कियो । किसानलाई ज्यान जोगाउन फसाद भयो । किसान हार–गुहार गर्दै बाबाकहाँ पुगे । हक्कानिदै आएको किसानलाई देखेर बाबाले भने, “वत्स, मैले भुत त प्रकट गर्न सक्दछु । तर यसलाई मार्न वा रोक्न सक्दिनँ ।” बाबाको कुरा सुनेर किसान झनै रूनकराउन थाल्यो । त्यसै वखत बाबाको नजर अलि पल्तिर हिँडिरहेको एउटा कुकुरमाथि प¥यो । बाबाले किसानलाई भने, “वत्स, एउटा उपाय छ ।” किसानको शरीरमा ज्यान आयो, “कस्तो उपाय बाबा ?” बाबा बोले, “भुतलाई ऊ त्यो कुकुरको पुच्छर सीधा बनाउने काममा लगाऊ ।” 

अनि किसानले बाबाले भनेझैँ भुतलाई कुकुर पुच्छर सिधा बनाउने काम अह्राए । भुत कुकुरको पुच्छर सीधा बनाउने काममा लाग्यो । भुतले दुवै हातले तानेर पुच्छर सीधा बनाउँथ्यो र देखाउँथ्यो । तर हात छोड्ने बित्तिकै पुच्छर बाङ्गै हुन्थ्यो । फेरि सीधा बनाउँथ्यो, फेरि उस्तै हुन्थ्यो । सबै कुरा एकैछिनमा गर्न सक्ने सामथ्र्यको त्यो भुत कुकुरको पुच्छर सीधा बनाउने काममा अल्झिरह्यो । त्यसपछि किसान ढुक्क भएर घरतिर लाग्यो । 

कुकुरको पुच्छर कुकुरको पुच्छर हो । यो कहिल्लै सीधा हँुदैन । बाह्र वर्ष ढुङ्ग्रोमा हाले पनि सीधा हँुदैन । २४ वर्ष ढुङ्ग्रोमा हाले पनि सीधा हँुदैन । ४८ वर्ष ढुङ्ग्रोमा हाले पनि सीधा हँुदैन । हिजो पनि कुकुरको पुच्छर बाङ्गो थियो । आज पनि बाङ्गै छ । र, भोलि पनि बाङ्गै रहनेछ । यसलाई सीधा बनाउने एउटै उपाय छ । त्यो हो, माथीको बोधकथाको भुतलेझैँ पुच्छरलाई समाएर बस्ने । तर यो काम सधैँभरि कसले गर्न सक्दछ र ? त्यसैले त हरेक कुकुरको पुच्छर बाङ्गै छ ।

कुकुरको मात्र होइन कि हाम्रो यो नेपालका राजनीतिक दलहरूको पुच्छर पनि बाङ्गो छ । नेकपा, काँग्रेस, माओवादी, राप्रपा तथा राजपा आदि–आदि कसको पुच्छर सीधा छ र ? कसैले पनि मेरो पार्टी राम्रो तेरो पार्टी खराब नभने हुन्छ । पार्टीको मात्र होइन शिर्ष नेताहरुको अनुहार हेर्नुहोस् । सबैको अनुहार पनि उस्तै बाङ्गो छ ।


देश समस्यै समस्याहरुको भुमरीमा परेको छ । तर नेताहरुका बिच सत्ताको लागि भीषण लडाइँ छ । सत्ता उन्मादले डामेको साँढे जस्तो भएका केपी ओलीलाई देश भन्दा कुर्सी प्यारो छ । प्रचण्डमाधवलाई पनि कुर्सी नै चाहिएको छ । चुनाव जितेका प्रचण्डमाधवको के कुरा गर्ने चुनाव हारेका बामदेवलाई पनि १ मिनेटका लागि भए पनि प्रधानमन्त्री नै चाहिएको छ ! मस्त सुतेका देउवा अहिले उठेका छन् । उनको मुखमा र्याल आउन थालिसकेको छ ! के थाहा उनका ज्योतिषले भनेझैं उनी पाँचौ पटक प्रधानमन्त्री बन्न सक्ने छन् ? देउवाओली मिलेर एमसिसी पास गर्न सक्ने छन् !

अनि प्रचण्डहरुले सडकमा टायर बाल्न थाल्ने छन् !
अनि बामदेव ?

अन्तमाः  



देश अक्षमहरुको हातमा छ । ओली गएर प्रचण्ड आए पनि माधव आए पनि वा देउवाओलीको गठबन्धन बने पनि केही हुनेवाला छैन । त्यो किनभने जस्तोसुकै परिस्थितिमा पनि समस्याहरूको निक्र्याैल निकाली देश समृद्धशाली बनाउन मस्तिष्कमा भावनात्मक बुद्धिमत्ता, हृदयमा इमानदारीता तथा काँधमा जिम्मेवारी भएको एक सक्षम नेतृत्व आवश्यक छ । त्यसैले जुन व्यक्तिसँग भावनात्मक बुद्धिमत्ता तथा बौद्धिक स्मरणशक्ति कम छ, त्यो व्यक्ति नेता बन्नु नै हुदैन । नागरिकले यस्ता व्यक्तिलाई नेता मान्नु नै हँुदैन । त्यो किनभने यदि नेतासंग इमानदारीता भएन भने राजनीति बेइमान हुन्छ, राजनीतिमा अपराधिकरण बढ्छ, राष्ट्रियता कमजोर हुन्छ, देशको स्थिति सुकेनाशेले खाएको विरामी जस्तो हुन्छ । अर्को शब्दमा भन्ने हो भने देशको स्थिति नेपालको जस्तो हुन्छ । 












Friday, July 3, 2020

ब्रेन बाइट्स

नोबेल फोरमको रमाइलो यात्रा
ओम बानियाँ

अक्टुवर ७ तारिख, २०१९ । शरीर क्रिया विज्ञान वा मेडिसिनको नोबेल पुरस्कारको घोषणाको दिन । म, भान्जा कुशलसँग  स्वीडेनको स्टोकहोम स्थिति विश्वप्रसिद्ध विश्वविद्यालय कारोलिन्स्का इंष्टिच्युट र त्यसै अन्तर्गतको नोबेल फोरम हेर्ने उत्साह र उमंगका साथ घरबाट निस्कियौ । बसबाट मास्त्रा स्टेसनमा पुग्यौ । मास्त्राबाट रेलमा अनि फेरि बसमा कारोलिन्स्का इंष्टिच्युटको गेटमा पुग्यौ । 


सबै भन्दा नोबल फोरम जाने, अनि कारोलिन्स्का इंष्टिच्युटको क्लिनिकल न्युरोसाइन्स, क्लिनिक साइकोलोजि डिभिजन लगायतका ठाउँहरुमा पुग्ने योजना थियो मेरो । हामी हिँड्दै, हाँस्दै, फोटोहरु खिच्दै, नेपालमा यस्ता विश्वविद्यालयहरु भएको भए कति वैज्ञानिक पैदा हुन्थ्ये भन्दै नोबल फोरमतिर लाग्यौ । फोटोहरु पनि खिच्यौ । अब हामी नोबेल फोरमको ठीक अगाडि थियौं । 



यो त्यही ठाउँ हो जहाँ क्रिया विज्ञान वा मेडिसिनका नोबेल पुरस्कार दिने गरिन्छ । 


विश्वप्रसिद्ध नोबेल पुरस्कारको प्रशासनिक कार्य नोबेल फाउण्डेसनले गर्दछ भने हरेक नोबेल पुरस्कार अलग अलग समितिद्धारा प्रदान गरिन्छ । रोयल स्वीडिस अकाडेमी अफ साइन्सेजले भौतिक शास्त्र, रसायन शास्त्र तथा अर्थशास्त्रको विजेता छनौट गर्छ भने कारोलिन्स्का इंष्टिच्युटका नोबेल असेम्बेलीले शरीर क्रिया विज्ञान वा मेडिसिनको नोबेल पुरस्कार छनौट गर्दछ ।  त्यही नै हामीले William G. Kaelin Jr., Sir Peter J. Ratcliffe and Gregg L. Semenza तीन वैज्ञानिकहरुले संयुक्तरुपमा यस वर्षको क्रिया विज्ञान वा मेडिसिनका नोबेल पुरस्कार प्राप्त गरेको सुन्यौ । 


नोबेल फोरम बाहिरबाट हेर्दा सामान्य देखिएता पनि भित्र भने शानदार छ, निकै आकर्षण । नोबल फोरम घुम्दै गर्दा मेरो मनमा पटक पटक एउटा प्रश्न उठिरह्यो, नेपालीहरुले नोबेल पाएको कहिले सुन्न पाइने हो ? विज्ञान प्रविधिको विकासमा नेपाल सरकारलाई कहिल्यै बालमतलव भएन । आविस्कार केन्द्र खोलेर महाविर पुन लागेका छन्, तर यस्तो महान कार्यप्रति पनि सरकारको सौतनी व्यवहार छ । 


नोबेल पुरस्कार विश्वको सर्वोच्च पुरस्कार हो । यस पुरस्कारको स्थापना सन् १८९५ मा स्विडेनका महान् वैज्ञानिक तथा विस्फोटक पदार्थ डाइनेमाइटका आविष्कारक अल्फ्रेड नोबेलको नाममा भएको हो । अल्फ्रेड नोबेलको स्मरणमा सन् १९०१ मा नोबेल फाउण्डेशनद्वारा सुरु गरिएको यस पुरस्कार भौतिक शास्त्र, रसायन शास्त्र, साहित्य, शान्ति, क्रिया विज्ञान तथा चिकित्सा र अर्थशास्त्र क्षेत्रमा प्रदान गरिन्छ । पुरस्कारको रूपमा प्रमाणपत्रको साथमा १२ लाख अमेरिकी डलर प्रदान गरिन्छ ।  


वैज्ञानिक अल्फ्रेड नोबेलले अनेकौ आविस्कारहरु गरे । उनले गरेका ३५५ आविष्कारहरू मध्य सन् १८६७ मा गरेको डायनामाइटको आविष्कार प्रमुख हो । नोबेललाई डायनामाइट तथा यस प्रकारका विज्ञानका विध्वंसक शक्तिहरूको बारेमा पुरै ज्ञान थियो । सन् १८९६ को डिसेम्बर १० मा देहान्त हुँदा उनका कुनै उत्तराधिकारी थिएनन् । उनले आफ्नो शेषपछि सम्पति कसैलाई दिन चाहेनन् । सन् १८९५ मा उनले एक इच्छापत्र तयार पार्न लगाएर आफ्नो सम्पत्तिबाट अक्षयकोष स्थापना गरे । उक्त कोषबाट प्राप्त आम्दानीबाट नै पुरस्कार प्रदान गर्ने व्यवस्था मिलाइयो । 


नोबेल फाउंडेशनको स्थापना २९ जून १९०० मा भएको हो र १९०१ देखि नोबेल पुरस्कार दिन थालिएको हो । अर्थशास्त्रको क्षेत्रमा नोबेल पुरस्कारको शुरुवात सन् १९६८ देखि गरियो । शान्तितर्फको पुरस्कार नर्वेको ओस्लोमा र अन्य पुरस्कारहरु स्वीडेनको स्टोकहोममा प्रदान गरिन्छ । 

 नोबेलको स्थापना कसरी हुन गयो ! 
कुरा सन् १८८८ विहानको हो । अल्फ्रेड नोबेलले अखबार पढ्दै थिए, अचानक उनको नजर शोक संदेश कोलोममा पर्यो । उनले त्यहाँ आफ्नो नाम देखेर हैरान भए । गल्तीले अखबारले उनको भाइको मृत्युको खबरको ठाउँमा उनको निधन छापेको थियो । अल्फ्रेडले शोक संदेश ध्यान दिएर पढे, त्यहाँ लेखिएको थियो, मृत्युको सौदागारको मृत्यु । यो खबर पढेर अल्फ्रेड नोबेल निकै दुःखी भए किनकी उनले नै डायनामाइटको आविस्कार गरेका थिए । यस खबरले उनको जीवन नै परिवर्तन गरिदियो । अनि उनले विश्व शान्ति तथा समाज कल्याणको लागि कामहरु गर्न थाले । आफ्नो मृत्युपछि आफ्नो शारा सम्पत्ति विश्व शान्ति, साहित्य, भौतिक शास्त्र, चिकित्सा शास्त्र तथा अर्थ शास्त्रको क्षेत्रमा अग्रणी कार्य गर्नेहरुलाई पुरस्कार प्रदान गर्नका लागि दान गरिदिए ।   


नोबेल फोरमबाट हामी कारोलिन्स्का इंष्टिच्युटको विशाल पुस्तकालय हेर्न गयौ । चिटिक्क परेका भवनहरु, मिलाएर रोपिएका रुख र पूmलहरु, टलक्क टल्किने बाटाहरु । प्रकृतिलाई महत्व दिई गरिएको विकास देखेर म दंग थिए । हामी हस्पिटलतिर लाग्यौ । छोटो समयमा के के हेर्ने हो ? दिउँसोको दुई बज्नै आँटेको थियो अनि हामी न्युरोसाइन्स तथा क्लिनिक साइकोलोजि डिभिजनतिर लाग्यौ । 


म क्लिनिकल साइकोलोजि डिभिजन अगाडिको प्रतिक्षालयमा, भान्जासँग एनजाइटिको उपचार र मुल्यांकनको अनुसंधानमा लागेका प्रो. डा. इरिक हेडमैनको समुह र क्लिनिकल कग्निसनको रिसर्च गु्रप एम्ली होल्म्सको समुहलाई भेट्ने उत्साहपुर्ण प्रतिक्षामा थिएँ । (लेखक साइकोथेरापिष्ट तथा मेमोरी ल्याब प्रमुख हुन् । )
क्रमशः
सम्पर्कः https://www.ucl.ac.uk/pals/research/clinical-educational-and-health-psychology/research-groups/international-cognitive-19