Saturday, May 30, 2020

हेल्थ फर्स्ट 

धुम्रपानबाट मुक्ती 
ओम बानियाँ

विश्वमा धुम्रपान गर्नेको संख्या ठूलो छ । एक सर्वेक्षणका अनुसार विश्वका करिब १ अरब ३० करोड मानिसले धूम्रपान तथा सुर्तीजन्य पदार्थहरुको सेवन गर्दछन् । अफ्रिकाका २९ प्रतिशत पुरूष तथा ४ प्रतिशत महिलाले चुरोट पिउँछन् । अमेरिकाका ३५ प्रतिशत पुरुष तथा २२ प्रतिशत महिलाले चुरोट पिउँछन् । यूरोपका ४६ प्रतिशत पुरूष तथा २६ प्रतिशत महिलाले चुरोट पिउँछन् । दक्षिण एसियाका ४४ प्रतिशत पुरूष तथा ४ प्रतिशत महिलाले चुरोट पिउँछन् भने नेपालका ४९ प्रतिशत पुरूष तथा २९ प्रतिशत महिलाले चुरोटबिँडी पिउँछन् । २०६९ सालको तथ्यांक अनुसार नेपालमा प्रत्येक दिन धुम्रपान र सुर्तीजन्य पदार्थको सेवनबाट ४४ जनाको ज्यान जाने गर्दछ । र, यस्ता पदार्थको सेवनका कारण उत्पन्न हुने रोगका कारण उपचारमा वार्षिक १६ अर्व रुपैयां खर्च भइरहेको छ । वास्तमा यो आँकाडा निकै डरलाग्दो हो । 


धुम्रपान के हो ?
साधारण शब्दमा सुर्ती तथा सुर्तीजन्य पदार्थको सेवन गर्नुलाई धुम्रपान गर्नु भनिन्छ । धुम्रपानमा प्रयोग हुने प्रमुख पदार्थ भनेको नै सुर्ती हो । सुर्ती निकोटियाना प्रजातिको घाँसे बिरुवा हो । सुर्तीको पातलाई सुकाएर नशाको रुपमा प्रयोग गर्ने प्रचलन प्राचिनकालदेखिको हो । सुर्ती तथा सुर्तीजन्य पदार्थको प्रयोग विधिलाई धुम्रयुक्त र धुम्ररहित गरी दुई वर्गमा बाँडिएको छ । चुरोटबिँडी, चिलिम, सिगार तथा हुक्का जस्ता सुर्तीको प्रयोग विधि धुम्रपानीय विधि हुन भने सुर्ती, खैनी, पान, गुट्खा, पानमसला, क्रिमयुक्त सुर्ती, सुर्ती भिजाएको पानी तथा सुर्तीमिश्रित अन्य पदार्थको सेवन चाही धुम्रपानरहित सेवनका विधि हुन् । नेपालमा यि दुवै विधिद्धारा सुर्तीको सेवन गर्ने गरिन्छ ।

धुम्रपानको लतः

धुम्रपान र सुर्तीजन्य पदार्थको सेवन शुरु गर्दा प्रायः कसैले पनि जिन्दगीभरि सेवन गर्छु भने शुरु गर्दैनन् । तर यसको सेवन गर्न थालेपछि निकोटिनले मानिसलाई मोहनी लगाउँछ र मानिस धुम्रपानको लत फस्छ । निकोटिन लिने बानी परेपछि शरीरले सदैव निकोटिन खोजिरहन्छ । धुम्रपान गरेको ५ सेकेण्डभित्र निकोटिन मस्तिष्कमा पुग्छ, अनि त्यसको गहिरो प्रभाव २५ मिनेटमै सकिन्छ । प्रभाव सकिने बित्तिकै शरीरले पुनः थप मात्रा माग्छ, त्यो भनेको फेरि धुम्रपान गर्न मन लाग्नु हो । यसरी धुम्रपान गर्न थालेको १ महिनामा निकोटिन लिने बानी बस्छ । त्यसपछि शरीरले छिनछिनमा निकोटिन खोजिराख्छ । परिणाम स्वरुप व्यक्ति धुम्रपानको अम्मली बन्न पुग्दछ । 


धुम्रपान र स्वास्थ्यः 
धुम्रपानले आर्थिक समस्या निम्त्याउनुको साथै अनेक स्वास्थ्य समस्याहरु पैदा गर्छ । चुरोटले चुरोट पिउने व्यक्तीलाई मात्र हानी गर्दैन कि चुरोट पिउनेको साथ रहनेहरूलाई समेत हानी पु¥याउँछ । एक अध्ययनका अनुसार धुम्रपान गर्ने व्यक्तिले तान्ने चुरोटको धुवाँ (मेनस्ट्रीम स्मोक) र धुम्रपान नगर्ने, तर धुम्रपान गर्नेहरूका साथ रहनेहरूले सास फेर्दा लिने धुवाँ (साइडस्ट्रीम स्मोक)को दुष्प्रभाव समान भेटियो । चुरोट–बीँडीमा दुई प्रकारका प्रमुख विषालु तत्वहरू, निकोटिन र कार्बन मनोक्साइड हुन्छन् । यी तत्वहरूले शरीरलाई थुप्रै हानी–नोक्सानी पु¥याउनको साथै रगतमा नोरेड्रिनालीन जस्ता रसायनहरूको मात्र बढाउँछन् । एक प्रयोगका अनुसार दुईवटा चुरोट पिउँदा ८–१० मी.मी. रक्तचाप वृद्धि हुन्छ भने त्यो वृद्धि १६ मिनेटसम्म रहिरहन्छ । बे्रन स्टो«कको एउटा प्रमुख कारण धुम्रपान नै हो । धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले अनेक प्रकारका स्वास्थ्य समस्याहरु पैदा गर्न सक्छ । मुख, गिजा, सासनली तथा फोक्सोको क्यान्सर, ल्युकेमिया, पेट, मृगौला, प्यानक्रियाज, आन्द्रा, मुत्रथैली र पाठेघरको क्यान्सरको सम्भावना बढाउँछ । त्यस्तै मुटु तथा रक्तनलीसँग सम्बन्धित रोग, स्ट्रोक, अन्धोपन, गिजा सुन्निने, दमखोकी, न्युमोनिया, अनिद्रा, अपच तथा मानसिक रोगहरुको खतरा बढेर जान्छ । गर्भवतीले धुम्रपान गरेमा अपांग तथा मृत बच्चा जन्मने सम्भावना रहन्छ । 

धुम्रपानबाट मुक्तीः


 धुम्रपानको सेवनबाट कुनै लाभ नहुने र यसले असरै असर मात्र गर्ने हुनाले धुम्रपानको सेवन नगर्नु तथा सेवन गर्ने तुरुन्त यसलाई छोड्नु नै बुद्धिमानी हुन्छ । धुम्रपानको सेवनबाट के कस्ता स्वास्थ्य समस्याहरु देखा हुन्छन्, यसले कसरी पारिवारिक, सामाजिक तथा आर्थिक समस्या पैदा गर्छ र यसको लत कसरी बस्छ भन्ने कुरा जानकारी भएको खण्डमा यसबाट मुक्त हुन सकिन्छ । हो, धुम्रपानको लतबाट मुक्ती पाउन गाह्रो भएता पनि असम्भव छैन । कतिपय मानिसले आफैं धुम्रपान छोडेको उदाहरणहरु पनि देख्न सकिन्छ । तर, धुम्रपान तथा सुर्तीजन्य पदार्थहरु छोड्न दृढसंकल्पको आवश्यकता पर्छ । यस्ता पदार्थहरु छोड्दा टाउको दुख्ने, जिउ काप्ने, छटपटि लाग्ने, औडाहा हुने, चक्कर लाग्ने, पसिना आउने, छाती तथा पेटमा भारीपन बढ्ने, निद्रा नलाग्ने, आत्तिने, टोलाउने, स्मरणशक्ति ह्रास हुने आदि जस्ता लक्षणहरु देखा पर्न सक्छन् । यस्ता लक्षणहरु देखिनासाथ अम्मलीले पुनः यस्ता पदार्थहरु सेवन गर्न थाल्छन् । त्यसैले धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनबाट मुक्ती प्राप्त गर्न मनोचिकित्सकको परामर्श लिनु उचित हुन्छ । मनोचिकित्सकले विभिन्न किसिमका मनोवैज्ञानिक तथा व्यावहारिक पद्धति तथा औषधिद्धारा मानिसलाई धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनबाट मुक्त पार्न महत्वपुर्ण भुमिका निभाउँछन् ।

पुछारमाः
एक जना चुरोटको अम्मली चुरोट कसरी छोड्न सकिन्छ भन्ने परामर्श लिन मनोचिकित्सककहाँ गएछन् र सोधेछन्, ‘डा. साब, कति कोशिश गरें तर चुरोट छोड्न सकिनँ । चुरोट छोड्ने कुनै उपाय छ ?’ ‘उपाय छ । एकदम सरल उपाय छ । एक पटक तपाईंले कसरी चुरोट पिउनु हुन्छ, देखाउनुहोस् त ?’ मनोचिकित्सकले भनेछन् । अनि उसले चुरोट सल्काएर पिउन थालेछ । त्यो देखेर मनोचिकित्सकले पुनः भनेछन्ः ‘औंलाले त्यसरी च्यापेपछि कसरी छुट्छ र चुरोट ? एक पटक औंला धोल्लो बनाउनुहोस् त ।’ उनले चुरोट च्याप्पेको औंला धोल्लो बनाए, चुरोट भुइँमा खस्यो । मनोचिकित्सक मुसुक्क हाँस्दै भने, ‘छुट्यो कि छुटेन चुरोट ?’ (लेखक साइकोथेरापिष्ट हुन् ।)

 


Friday, May 29, 2020

हेल्थ फर्स्ट 

ब्रेनफूड 'बदाम'
 ओम बानियाँ  

दाम (आलमण्ड) प्राकृतिको दिव्य उपहार हो । पौष्टिकताको पावरहाउस हो । यो खाँदा मिठो हुनुका साथै पोषिलो तथा स्वास्थ्यको लागि लाभदायक पनि उत्तिकै छ । नेपाली समाजमा यसलाई हाडे बदाम तथा मधेशी बदाम पनि भन्ने गरिन्छ । बदाम मध्यम खालको रुखमा फल्ने फल हो । यसका फलहरू भने दुई भागमा विभाजित मखमली दाना भएका र कडा खोलयुक्त हुन्छन् । यसैभित्रको गुदीलाई बदाम भनिन्छ । यही गुदी र गुदीबाट आउने तेललाई विभिन्न औषधीय प्रयोजनका लागि समेत प्रयोगमा ल्याइन्छ ।


ब्रेनफूड बदामः

बदाम मस्तिष्कलाई पोषण दिने स्रोतको रूपमा प्रख्यात छ । ३० ग्राम बदाममा १७० क्यालोरी, १४ ग्राम बोसो (मोनोसेचरेटः ९ तथा पोलीः ५, तथा सेचरेटः १ तथा कोला ० ), ६ ग्राम प्रोटिन, ५ ग्राम काब्रो, ४ ग्राम फाइबर तथा १ ग्राम चिनी हन्छ । बदाममा प्रशस्त मात्रामा भिटामिन तथा मिनरलस हुन्छ । भिटामिन ई, जिंक, आइरन, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, ओमेगा ३ फ्याटी एसिड प्रशस्त मात्रामा पाइने भएकोले मुटु र मस्तिष्कलागि निकै उपयोगी मानिन्छ । बदाम स्वादिलो तथा स्वास्थ्यको लागि समेत अति लाभदायक मानिन्छ । बिशेषगरि बदाम स्मरणशक्ति बढाउनको लागि प्रयोग हुन्छ र यसले स्मरण शक्ति बढाउन मद्धत समेत गर्दछ । यसमा रहेको सम्पूर्ण पौष्टिक तत्वहरु प्राप्त गर्न यो बदामलाई रात भरी भिजाएर खाँदा  बढी लाभदायक हुन्छ । यसरी भिजाएको बदाम  स्वास्थ्यको दृष्टिकोणबाट पनि अनेकौँ फाइदा दायक हुन्छ र पाचन प्रक्रियालाई समेत यसले ठिक राख्दछ ।  रात भरी भिजाएर बिहान त्यसको खैरो बोक्रा फालेर बदामको सेवन गर्नाले साना बिद्यार्थीलाई निकै लाभदायक हुन्छ भने सुगरका बिरामीहरुको सुगर तथा इन्सुलिनको मात्रा नियन्त्रण गर्न समेत सहयोग गर्दछ । यसले मानिसलाई सुगर हुनबाट समेत रक्षा गर्दछ ।  


आई टनिकः
 आयुर्वेदमा दिनहु २ ओटा मधेसी बदाम खानेलाई कुनै पनि आँखाको समस्या नहुने जनाइएको छ तथा आँखाको क्षमतालाई महत्वपूर्ण सहयोग पुर्याउछ । बदामको तेल मीठो र शीतलता प्रदान गर्ने खालको हुनुको साथै यसमा मांसपेशीहरूलाई बाउँडिनबाट बचाउने क्षमता हुन्छ । बदामलाई सिधै खानुको साथै चकलेट, केक, तेल, औषधि बनाएर पनि उपभोग गरिन्छ ।

गर्भवतीको टनिकः
बदाम अत्यन्तै पोषिलो हुने भएकाले गर्भवती महिलाहरूका लागि एकदमै उपयुक्त शक्तिको स्रोत मानिन्छ । अझ प्रभावकारी नतिजाको लागि बदामलाई दूधमा भिजाएर एकचिम्टी केसर मिलाई प्रत्येक दिन खाँदा आमा तथा बच्चा दुवैलाई भरपूर पोषण मिल्छ ।

हर्ट टनिकः

बदामले हृदयलाई स्वास्थ्य राख्न मदत गर्छ । मुटुका रोगीहरुलाई बदाम ठुलो औषधि साबित हुन्छ । किन भने यसमा पाइने प्रसस्त एन्टीअक्सिडेन्टले कोलस्ट्रोलकोअक्सिकरणलाई रोक्न मदत गर्दछ, जसले हृदयलाई स्वास्थ्य राख्नलाई सहयोग गर्नुका साथै हृदयको सम्पूर्ण प्रणालीमा हुनसक्ने कुनै पनि नोक्सानीबाट सुरक्षा प्रदान गर्दछ । ब्लडप्रेशरको रोगीहरुको लागि पनि लाभदायक हुन्छ । जर्नल फ्री रेडिकल रिसर्चमा प्रकाशित एउटा अध्ययन अनुसार, वैज्ञानिकहरुले पत्ता लगाएका छन्, बदाम सेवन गर्ने मानिसहरुको रगतमा अल्फा टोकोपÞmेरलको मात्रामा वृद्धि हुन्छ र यसले ब्लड प्रेसरलाई नियन्त्रित राख्न सहयोग गर्दछ । त्यस अध्ययनमा ३० देखि ७० बर्ष उमेरका मनिसहरुले नियमित रुपमा बदाम सेवन गर्ने हरुको ब्लड प्रेसर समेत घटाउन सहयोग गरेको भेटियो । प्राय धेरै मानिसहरुमा कोलस्ट्रोल बढेर बिभिन्न समस्या देखिन थालेको छ। कोलस्ट्रोल बढेर मुटुका धमनीमा समस्या उत्पन्न भइ हृदय रोगको चपेटामा पुगिन्छ । तर यो बदाम ले मुटुको लागि राम्रो कोलस्ट्रोल को मात्रामा वृद्धि गरेर खराब कोलस्ट्रोल लाई घटाउनमा समेत यसले सहयोग गर्दछ । 

हेमोग्लोबिनको स्रोतः
बदाममा हुने उच्च मात्राको ताम्र तथा लौहपदार्थले रगतमा हेमोग्लोबिन बढाउन सहयोग गर्छ । पिसेको बदामलाई दूधमा पकाएर बनाएको खीरलाई शरीरमा शीतलता प्रदान गर्ने, थकान मेटाउने तथा दिमागलाई सुचारु राख्ने प्रभावकारी पदार्थ मानिन्छ ।

स्लिमः
प्रायः युवतीका लागि बढी वजन तनावको विषय हुने गर्छ । स्लिम शरीरलाई सुन्दरताको पर्याय मानिन थालिएपछि कैयन युवतीहरू अनावश्यक डाइटिङ गरेरै दुब्लाउन प्रयत्न गरिरहेका हुन्छन् । उनीहरूका लागि खुसीको कुरा, शरीरको तौल कम गर्न दिनहुँ हाडे बदामको सेवन गर्दा फाइदा पुग्ने देखिएको छ । अमेरिकाको पेन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूद्वारा ५२ जनामा गरिएको यस अध्ययनलाई जर्नल अफ अमेरिकन हर्ट एसोसिएसनले सार्वजनिक गरेको छ । अध्ययन अनुसार दिनहुँ ४२ ग्राम हाडे बदाम खानाले पेटको बोसोको मात्रामा कमी ल्याउनुका साथै हृदयरोगको खतरासमेत कम गर्छ । पेटमा जमेको बोसो मुटु रोगको कारक मानिन्छ । अध्ययनको निचोड अनुसार सामान्य आहारको सट्टा हाडे बदाम सेवन गर्नेहरूमा मोटोपना कम हुनु को साथै मुटु रोगको जोखिमसमेत कम देखिएको थियो ।

बदाम सेवन गर्ने विधि


बदाम बिभिन्न तरिकाले खान सकिन्छ । तर बदाम भिजाएर खान सर्वोत्तम हुन्छ । राती आबश्यक बदाम सफा पानीमा भिजाएर राख्ने । बिहान बदामको बोक्रा हटाई मजासग चपाएर खाने । अझ बदाम ओख्खरसंग सेबन गर्दा बढी फाइदाजनक हुन्छ । दिमागी कार्य गर्ने मानिसहरुले ब्रेकफास्टमा भिजाएको बदाम, ओख्खर, छोडा, किशमिश, अंजिर, अमला तथा चना आदिको नास्ता खान निकै उपयोगी हुन्छ । यसैगरी बिहान ३,४ बदाम भिजाउने राती सुत्ने बेलामा बोक्रा हटाएर लेप बनाइ दुधमा मिसाएर पिउने ।

पुछारमाः
बिश्वमै अत्यन्त महंगो मानिने हाडे बदामको बजार विश्व भरिनै निकै नै राम्रो छ । नेपालमा यसको माग बढ्दो छ । तर माग अनसार यसको उत्पदान हन सकेको छैन । नेपालले प्रत्येक बर्ष रु. ५० करोडभन्दा बढिको मधेसी बदाम खरिद गर्ने गर्दछ । नेपालको भौगोलिक परिवेश बदाम खेतीलाई अत्याधिक उपयुक्त मानिन्छ । यहा ६०० मिटर भन्दा माथि करिब ३५०० मिटरसम्मका पाखाबारीमा समेत मधेसी बदाम खेती गर्न सकिन्छ । तराइको बाजो जमिन तथा पहाडि क्षेत्रका यस्ता प्रयोगहिन पाखाबारीहरुमा मधेसी बदाम लगाएर नेपाललाई मधेसी बदामको उधोगको रुपमा बिकास गर्न सकिन्छ। यो खेतीलाई सामुदायिक वनमा जंगली प्रविधिबाट खेती गरेर पनि आम्दानी लिन सकिन्छ। यो पहाडि इलाकाको घाम लाग्ने पारिलो पाखामा राम्रो खेती भएता पनि ६ घण्टा सम्म घाम लाग्ने सबै पहाडि इलाकामा यसको खेती गर्न सकिन्छ । पानी नलाग्ने पाखाहरु वा बर्षे पानीको भर पर्नु पर्ने टारहरुमा पनि मधेसी बदामको खेती गर्न सकिन्छ । यसको खेतीबाट मनग्य आम्दानी लिन सकिन्छ ।

Thursday, May 28, 2020

ब्रेन बाइट्स 

राजनीति, डाह र डर 
 ओम बानियाँ

डाह वा ईष्र्या मानिसको एक सामान्य भावना हो । यो भावना हरेक मानिसमा कुनै न कुनै रुपमा विद्यमान हुने गर्छ । फरक यति हो, कुनै व्यक्तिमा यो भावना निकै बढी हुन्छ भने कुनै व्यक्तिमा अलि कम हन्छ । कतिपयले यस्तो भावनालाई आफु भित्र लुकाएर राख्ने प्रयास गर्छन् भने अधिकांशले प्रत्यक्षपरोक्षरुपमा बोली र व्यबहारद्धारा व्यक्त गर्छन् । त्यसो त लुकाएर राख्न खोज्नेहरुले पनि पुर्णरुपमा लुकाउन असमर्थ हुन्छन् । 


डाहको मनोविज्ञानः


डाह वा ईष्र्या डर र क्रोधको संयुक्त रुप हो । अर्थात् डाहमा डर पनि हुन्छ, क्रोध पनि हुन्छ । जब कुनै व्यक्तिले आफुलाई पहिलादेखि नै प्राप्त अनुरागमा वास्तविक वा काल्पनिक कमी महसुस गर्छ भने उसमा डाह वा ईष्र्या संवेग उत्पन्न हुन्छ । जुन व्यक्तिमा डाह उत्पन्न हुन्छ, उसलाई उसको ठाउँ अर्को व्यक्तिले लिने डर हुन्छ । वास्तवमा हाड हिनमनोवृतिको उपज हो । मानिसमा यस्तो मनोवृति बाल्यकालदेखि नै देखा पर्छ । बालबालिकाले डाहको अभिव्यक्ति प्रतिद्धन्द्धिलाई पिटेर, टोकेर वा कुनै प्रतिस्पर्धामा हराउने कोशिश गरेर गर्छन् । तर पाका मानिसहरुले डाहको अभिव्यक्ती परोक्षरुपमा गर्छन् । हिन्दी फिल्म थ्री इडिइट्स मा एउटा निकै मनोवैज्ञानिक र सटीक सम्वाद छ, आफुसँग मिल्ने साथी परीक्षामा फेल भयो भने दुःख लाग्छ, तर साथीले आफुले भन्दा बढी अंक ल्यायो भने त्यो भन्दा बढी दुःख लाग्छ । वास्तवमा यो सम्वादले मानिसको मनोविज्ञानलाई दर्साउँछ । 


कुनै गाउँमा निकै मिल्ने साथीहरु थिए, हिन्दी फिल्म शोलेका जय र विरु जस्तै । कागतालीले उनको नाम पनि जय र विरु नै थियो । एक दिन घुमघाम गर्न जय जंगलतिर गएको थियो । अकस्मात् उसले आफ्नो अगाडि बनदेवी प्रकट भएको देख्यो । सपना हो कि बिपना उसले ठम्माउन सकेन, तर पनि उसले हात जोडेर बनदेविलाई ढोग गर्यो । बनदेवि मुसुक्क हाँसेर भनिन्, जय ! म तिमी दुईको मित्रता देखेर निकै प्रसन्न छु । वास्तवमा तिमीहरु मित्रताको एक उदाहरण हौं । यसै खुसीमा म तिमीलाई तीन वटा वरदानहरु दिन चाहन्छु । अब तिमी घर जाउ र मलाई सम्झेर तीन वटा वरदानहरु माग, तत्काल नै ती वरदानहरु पुरा हुने छन् । तर, एउटा कुरा के भने तिमीले जे जे माग्ने छौ, त्यसको दोब्बर तिम्रो अभिन्न साथी विरुलाई प्राप्त हुने छ ।’ बनदेविको कुरा सुनेर जय निकै खुसी भयो । बनदेविलाई धन्यवाद दिँदै घरतिर दौडियो । आफ्नो पुरानो घरदेखेपछि उसले हात जोडेर प्रार्थना गर्यो, बनदेवि, मलाई आलिशान घर दिनुस् । जयको प्रार्थना भुईमा खस्न नपाउँदै पुरानो घरको ठाउँमा एउटा विशाल घर खडा भयो । जय निकै खुसी भयो । अनि उसले सोच्यो, यो भव्य महलमा कैटरिना कैप जस्ती सुन्दरी भए झन् कति मजा आउने थियो । उसले सोच्ने बित्तिकै बार्दलीमा बसेकी एक सुन्दरीले बोलाएको देख्यो ।अनि ऊ रोमान्चित हुँदै बार्दलीतिर लाग्यो । त्यसैबेला सिढीको झ्यालबाट अचानक उसको नजर विरुको घरतिर पर्यो । विरुको पुरानो घरको ठाउँमा दुई भव्य महलहरु खडा थिए । महल अगाडिको लनमा बसेर विरुले दुई सुन्दरीहरुसँग मस्ति गर्दै थियो । त्यो दृश्य देखेर जयको सास फुल्यो । फुटुमा धुँवा पुतपुत्तायो । ऊ एकाएक करायो, बनदेवि मेरो एउटा आँखा फोडिदिनुस् ।

राजनीति, डाह र डरः

डाह र डरको भावना हरेक मानिसमा विद्यमान हुन्छन् । कुनै पनि मानिस पुर्णरुपमा अइष्र्यालु र निडर हुँदैनन् । तर राजनीतिमा डाह र डर दुवै बढी हुन्छ । धेरैलाई अझ पनि सम्झना रहेको हुनुपर्छ । माधव नेपाल प्रधानमन्त्री हुँदा तत्कालिन एमालेका अध्यक्ष झलनाथलाई नै सबै भन्दा बढी जलन भएको प्रष्ट देखिन्थ्यो । झलनाथ प्रधानमन्त्री भएपछि माधव र ओलीलाई पनि त्यत्ति नै जलन भएको थियो । सुशील कोइराला प्रधानमन्त्री हुँदा सबै भन्दा बढी डाह र डर देउवालाई भएको सहजै अनुमान गर्न सकिन्थ्यो । अहिले यस्तो डाह र डर प्रचण्ड र माधव नेपालमा भएको हुनुपर्छ । काँग्रेस र नेकपाको मात्र कुरा होइन, ठुला नेताहरुको मात्र कुरा होइन, हरेक स्थानिय नेता वा कार्यकर्ताहरुमा पनि यस्तो भावना देखिन्छ । 


राजनीतिमा डर र जीतः

हिन्दी फिल्म रेसको पर्दामा सैफअलि खानले शिर ठाडो पारेर आफ्नो प्रतिद्धन्द्धीलाई गौरवसाथ भन्छः “तुम्ने कभी जिता नही, क्योंकि तुम्ने हमेसा हरानेको सोच्ते हो । मैने कभी हारा नही, क्योंकि मैन हमेसा जित्नेको सोच्ता हुँ ।” यो सम्वाद एक पटक गहिरेर सोच्नुहोस् त ? कति मनोवैज्ञानिक छ यो सम्वाद, कति सत्य र सटीक छ यो सम्वाद । तैल कहिल्लै जितिनस्, किनकी तैल सधैँ मलाई हराउन सोचिस् । मैले कहिल्यै हारिन् किनकी मैले सधैँ जित्न सोचे ।’ वास्तवमा जित्न सोच्नेले, जित्न खोज्नेले नै सधैँ जित्छ । हराउन सोच्नेले, हराउन खोज्नेले कहिल्यै जितैन, सधैँ हार्दछ । त्यो किन भने जित्न सोच्नेले जित्ने सोच्छ, सधैँ जितलाई हेर्छ, तर हराउन खोज्नेले आफ्नो जितको बारेमा होइन कि सधैँ अर्काको हारको बारेमा सोच्छ, सधैँ उसलाई हराउन खोज्दछ । अनि हराउन खोज्ने आफैँ हार्छ, जित्न खोज्नेले नै जित्छ । 

मानसिक समस्याः
 डाह र डर समान्य भावना हो । तर कहिलेकाहीं यो भावना अनेक कारणले असमान्य हुन पुग्दछ । असामान्य डाह र डर मानसिक समस्या हो । यस्तो अवस्था विभिन्न किसिमका मनोवैज्ञानिक रोगहरुका कारण पनि देखा पर्न सक्दछ । असामान्य डाह र डरले मानिसको दैनिक जीवनयापनमा नै अवरोध सिर्जना गर्ने हुनाले यसको उपचार आवश्यक छ । डाह तथा नकारात्मक डरको भावना जति कम भयो, त्यत्ति नै मानिसको जीवन सफल हुन्छ, राजनीति पनि । (लेखक साइकोथेरापिष्ट हुन् ।)


Tuesday, May 26, 2020

ब्रेन बाइट्स 

औषधि हो, पानी 
ओम बानियाँ 

पानी प्रकृतिको एक महत्वपूर्ण अंग हो । जीवजन्तुहरूका लागि प्रकृतिको अमूल्य वरदान हो । वास्तवमा पानी अमृत हो । भोजन बिना मानिस एक–दुई महिना पनि बाँच्न सक्दछ तर पानी बिना मानिस केही दिन पनि बाँच्न सक्दैन । मानिसलाई मात्र होइन कि पृथ्वीका सबै जीवजन्तु तथा वनस्पतिहरूलाई बाँच्न पानी आवश्यक पर्दछ । पृथ्वीमा पानीको कुनै कमी छैन । पृथ्वीको तीन चौथाइ भाग पानी नै पानीले भरिएको छ । जति पानी पृथ्वीमा विद्यमान छ, त्यति नै पानी मानिसको शरीरमा छ । मानिसको शरीरमा ७५ प्रतिशत पानी छ । तर मानिसका सबै अंगहरूमा बराबर पानी छैन । कुनै अंगमा बढी पानी छ त कुनै अंगमा कम पानी छ । आँखामा ९८.७ प्रतिशत पानी छ त हड्डीमा २५ प्रतिशत पानी छ । त्यस्तै गरी फोक्सोमा ७९ प्रतिशत पानी छ । मुटुमा ७९.५ प्रतिशत पानी छ । रगतमा ८० प्रतिशत पानी छ । शरीरको सबै भन्दा महत्वपूर्ण अंग मस्तिष्कमा ९० प्रतिशत पानी छ । 


पानी दुई भाग हाड्रोजन र एक भाग अक्सिजन मिलेर बनेको हुन्छ । पानीलाई औषधिको रूपमा पनि प्रयोग गर्न सकिन्छ । पानीमा औषधीय गुणहरू भएकाले नै पानीलाई जलचिकित्साको रूपमा विकसित गरिएको छ । पाचनतन्त्रका रोगहरूका लागि त पानी रामवाण औषधि हो । यसका साथै शरीरका अन्य थुप्रै रोगहरू पनि पानीद्वारा ठीक हुुने गर्छन् । यति मात्र होइन, मानिसको स्मरणशक्तिमा पानीले महत्वपूर्ण भूमिका खेल्दछ । पानीको समुुचित प्रयोग गरेर मानिसले आफ्नो स्मरणशक्ति तेज गराउन सक्दछ । 

पानी र स्मरणशक्ति

पानी र स्मरणशक्तिको सहसम्बन्धको बारेमा लिडस युनिर्वसिटीका डा. ट्रेवोर ब्रोक्लेबैंकले एउटा अध्ययन गरेका थिए । सो अध्ययनले के प्रष्ट पा¥यो भने जुन विद्यार्थीले दिनको ८ गिलास पानी पिउँथे, उनीहरूको स्मरणशक्ति निकै राम«ो थियो । यस्ता विद्यार्थीले परीक्षामा पनि राम्रो अंक प्राप्त गरेका थिए । पानीको यो महत्वलाई ध्यानमा राखेर दिनको कमितमा पनि २ लिटर अर्थात् ८ गिलास पानी पिउन ज्यादै उत्तम हुन्छ । तर अधिकांश मानिसहरूले एक त यतिको मात्रामा पानी पिउँदैनन् अर्को एक–दुई गिलास पानी पिए पनि खाना खाने बेलामा पिउँछन्, जसले फाइदा होइन कि हानी गर्दछ । 



अत: तन–मनलाई स्वस्थ राख्ने र स्मरणशक्ति बढाउन सहयोग पुर्याउन पानी पिउने सर्वोत्तम विधि यस प्रकार छ– 

    बिहान उठ्ने बित्तिकै मुख कुल्ला गरेर ७ वटा तुलसीको पातहरू चपाएर खाने र एक गिलास पानीमा एक चम्चा मह र आधा चम्चा कागतीको रस हालेर–घोलेर पिउने । त्यसपछि बाथरूम गएर दिसा–पिसाप गर्ने, अनि स्नान गरेर शरीर शुद्धि  गर्ने । यदि कब्जियत छ, दिसा खलास हँुदैन भने एक–दुई गिलास मनतातो पानी पिएर चर्पी जाने गर्नुपर्दछ ।

    खाना खानु भन्दा आधा–एक घण्टा अगाडि–पछाडि पानी पिउन हँुदैन । खाना खाने बेलामा पानी पिउनै परेमा एक–दुई घुट भन्दा बढी पानी नपिउने । खानासँग प्रशस्त मात्रामा सागपातहरू खाने । सागपातहरूमा प्रशस्त मात्रामा पानी हुनुको साथै रेशाहरू हुन्छन्, जसले पाचनक्रियामा सहयोग गर्दछ ।

    प्रत्येक घण्टा–घण्टामा चुस्कि लिँदै एक–एक गिलास शुद्ध पानी पिउने ।

    घरबाट बाहिर निस्किंदा एक गिलास पानी पिएर निस्किने, जहाँ पायो त्यहीँको पानी  नपिउने । किनेर भए पनि शुद्ध पानी पिउने । सलाद आदि धुनका लागि सफा पानी प्रयोग गर्ने । खाना खानु भन्दा पहिला तथा खाना खाइसकेपछि राम्रोसँग हात धुने बानी बसाल्ने ।

    पढ्दा–लेख्दा (वा कुनै कार्य गर्दा) थकाइ लागेमा सफा पानीले  हात–खुट्टा तथा अनुहार धुने । त्यसपछि एक गिलास पानी चुस्कि लिँदै पिउने । अनि दुवै हात र     खट्टालाई एक–डेढ फिट फिँजाएर, हत्केलाहरू मास्तिर फर्काएर लम्पसार शिथिल     भएर सुत्ने ।     मनलाई श्वास–प्रश्वासमा लयबद्ध गरिदिने । २१ बाट १ सम्म उल्टो     गन्ति गर्दै आउने र १ मा आएपछि पढेको पाठलाई मनको पर्दामा सरसर्ती हेर्ने । र, मनमनै २१ पटक दोहो¥याउने‘.......(शीर्षक)को     पाठ मैले राम्रोसँग बुझेको छ ।     ....(शीर्षक) सम्झने बित्तिकै यसको पूरा पाठ मलाई याद हुनेछ ।’ केही क्षणपछि     उठ्ने र पठन–पाठनतिर लाग्ने । यसरी पढ्ने हो     भने पढेको पाठ सजिलै याद हुने गर्दछ । 

यसरी पानीको सदुुपयोग गर्ने हो भने पानी मन–मस्तिष्क र स्मरणशक्तिको प्रचण्ड ऊर्जा बन्न पुग्दछ । प्रयोग गरेर त हेर्नुहोस् ।

पानीद्धारा माइन्ड प्रोग्रामिंग    


पानीलाई माइण्ड प्रोग्रामिंगका लागि पनि प्रयोग गर्न सकिन्छ । यस विधिका जनक जोस सिल्भा हुन् । राती सुत्न भन्दा पहिला एक गिलास पानी दुवै हातले समाउने, गिलास सिसाको हुनुपर्छ । अब आफले कस्तो माइण्ड प्रोग्रामिंग गर्ने हो, त्यो कल्पना गर्दै आधा गिलास पानी पिउने । जस्तो कि १० कक्षाको कुनै विद्यार्थीले अगामि परीक्षामा बोर्ड फस्र्ट हुने लक्ष्य बनाएका छन् भने बोर्ड फस्र्ट भएको कल्पना गर्दै आधा गिलास पानी पिउने । बाँकी पानी ढाकेर राख्ने । अनि बिहान उठेपछि त्यो पानी पिउने । यसरी यो विधि कुनै पनि समस्याको समाधान खोज्न पनि प्रयोग गर्न सकिन्छ । 

 अन्तमा:
पानी मानिसको लागि ऊर्जा हो, औषधि हो । तर त्यही पानी अशुद्ध भयो भने त्यो पानी जहर जस्तै हो । त्यसैले त अधिकांश रोगहरू दूषित पानीकै कारण हुने गर्छन् । त्यसैले आफ्ना जनतालाई शुद्ध र पर्याप्त पानी उपलब्ध गराउन राज्यको कर्तब्य हो । तर नेपाल जस्तो जलशक्तिको धनी देशको बिडम्बना के भने यहाँका अधिकांश जनताले शुद्ध पिउने पानी पाएका छैनन् । नेपालको धेरै ठाउँहरुमा पानीको हाहाकार नै छ । नेपालमा शुद्ध पिउने पानी, शिक्षा र स्वास्थ्यलाई सर्वसुलभ बनाउन विकास आवश्यक छ । (लेखक मनोविद् तथा मेमोरी ल्याब प्रमुख हुन् ।)


Sunday, May 24, 2020

ब्रेन बाइट्स 

मोनोमेनाइकल पागलपन
ओम बानियाँ 

प्रायः हरेक मानिसहरुले सपना देख्छन् । जीवनमा यो गर्छु, त्यो गर्छु भन्ने कल्पना गर्छन् । अनेक इच्छा र आकांक्षाहरु राख्छन् । तर अधिकांश मानिसहरुको सपना सपना नै रहन्छ, बिपना हुन सक्दैन । उनीहरुले सोचे जस्तो जीवन हँुदैन । किन ? यसको एउटा मनोवैज्ञानिक कारण छ, त्यो हो जीवनको स्पष्ट लक्ष्य र लक्ष्य प्राप्तिका लागि मोनोमेनाइकल पागलपनको अभाव । मोनोमेनाइकल पागलपन रोग होइन, भोक हो । अब्सेस्न होइन, प्यासन हो । क्रोध होइन, संकल्प हो । कमजोरी होइन, शक्ति हो । आँटेको कार्य पुरा नभएसम्म मानिसको तनमनलाई तताइराख्ने एक अदभूत मानसिक उर्जा हो । त्यसैले मानिसले यस ऊर्जा सदुपयोग गरेर जस्तोसुकै महान कार्य तथा जस्तोसुकै विराट लक्ष्य प्राप्त गर्न सक्दछन् । यो सिद्धान्त होइन, प्राक्टिकल कुरा हो ।


मानोमेनाइकल पागलपनको प्रमुख विशेषता के हो भने यसले मानिसको सम्पुर्ण मानसिक शक्तिलाई एक दिशामा फोकस गराउँछ । जब समस्त मानसिक शक्ति एक दिशामा अर्थात् लक्ष्यतर्फ फोकस हुन्छ तब लक्ष्य बाहेक अरु केही देखिँदैन । त्यस्तो अवस्थामा व्यक्तिमा लक्ष्य प्राप्त गर्न यति तीब्र इच्छा पैदा हुन्छ कि जसले मानिसलाई लक्ष्यको दिशामा अगाडि बढाउँछ र लक्ष्यमा पुराउँछ । असम्भवलाई सम्भव बनाइदिन्छ । त्यसैले त मनमस्तिष्कमा स्पष्ट लक्ष्य र लक्ष्यप्रति मोनोमेनाइकल पागलपना छ भने मानिसले लक्ष्य जतिसुकै विशाल किन नहोस्, एक न एक दिन अवश्य त्यो लक्ष्य प्राप्त गरेर नै छोड्छन् ।  

हो, मोनोमेनाइकल पागलहरु नै लक्ष्य पुग्छन् । जिद्धी मानिसहरुले नै इतिहास बनाउँछन् । बुद्धिमान मानिसले त इतिहास पढ्छन् । होक्छन् । इतिहासको तर्कवितकर्क तथा लेखाजोखा गर्नमा नै सारा समय बिताउँछन् । वास्तवमा संसारमा दुई थरिका मानिसहरु हुन्छन्, एक थरिले इतिहास रच्छन्, अर्को थरिले इतिहास रट्छन् । इतिहास साक्षी छ । संसारमा जति पनि महान कार्यहरु भए, ठूल्ठुला आविस्कारहरु भए या कुनै ठुलो खोज भयो या ठूल्ठुला यूद्धहरु जितायो या कुनै ठुलो साम्राज्य खडा भयो यसको पछाडि एक शक्ति थियो जसले यो सब गर्न उत्प्रेरित गरिरहयो, त्यो शक्ति हो, मोनोमेनाइकल पागलपना ।  त्यसैले जीवनमा कुनै महान कार्य गर्नु छ, सफलता प्राप्त गर्नु छ, या इतिहास रच्नु छ भने लक्ष्यप्रति मोनोमेनाइकल हुन आवश्यक छ । यसको कुनै विकल्प छैन । 

भारतका मोहनदास करमचन्द गान्धी दक्षिण अफ्रिकामा रेलमा यात्रा गरिरहेका थिए । काले भनेर गोरेहरूले उनलाई रेलबाट बाहिर फ्याँकिदिए । त्यसैबेला गान्धीले मुठी कसे । क्रोधलाई संकल्प बनाए । अनि गोरेहरूलाई भारतबाटै फ्याँकिदिने प्रतिज्ञा गरे । साम्राज्यवादी अंग्रेजहरूको पञ्जाबाट भारतलाई आजाद गर्न सत्य र अहिंसाको बलियो हतियार उठाए । गान्धीको मोनोमेनाइकल पागलपना अगाडि २ सय वर्षदेखि शासनरत साम्राज्यवादी अंग्रेजहरूको केही जोड चलेन । अन्ततः अंग्रेजहरू गान्धी सामु झुके र आफ्ना झिटीझाम्टी बोकेर बेलायत फर्के । सन् १९४७ मा भारत आजाद भयो । 



 मोनोमेनाइकल मस्तिष्क जिद्धी हुन्छ । हठी हुन्छ । तर भावनात्मक समर्थताले परिपूर्ण हुन्छ । यस्तो मस्तिष्क लक्ष्यप्रति यति स्पष्ट हुन्छ कि अर्जुनलेझै चराका आँखा देख्छ । केवल चराको आँखा देख्छ । झिनामसिना कराहरुमा कहिल्यै अल्झिदैन । बाधा अडचन र असफतासँग कत्ति पनि डराउँदैन । लक्ष्यको बाटोमा कसैको सामु घुँडा टेक्दैन । यस्तो मस्तिष्क मानसिकरुपमा यति मजबुत हुन्छ कि जे गर्नु छ, त्यो पुरा नगर्दासम्म प्रयास गरिरहन्छ । प्रयत्न गरिरहन्छ । अन्ततः घुँडा टेकाउन खोज्नेहरुलाई घुँडा टेकाउँछ । 

वाल्टर डेविसको खुट्टा पोलियोले ग्रस्त थियो । उनी राम्रोसँग हिँड्न पनि सक्दैन्थे । तर डेविसकी आमाले डेविसको राम्रोसँग पालनपोषण गरिन् । आमाको अथक प्रयास र उत्प्रेरणाले गर्दा डेविस बिस्तारै हिँड्न सक्ने भए । बिस्तारै–बिस्तारै अभ्यास गर्दागर्दै दौडिन सक्ने भए । एक दिन डेविसले हाईजम्प अभ्यास गरिरहेका केटाकेटीहरूलाई देखे । अचानक उनको मनमा एउटा विश्वास आयो, के मैले पनि हाईजम्प गर्न सक्दिनँ र ? डेविसले ती केटाकेटीहरू जस्तै आफूलाई पूर्णनिरोगी ठाने । र, विश्वाससाथ दृढसंकल्प गरेः ‘मैले हाईजम्पमा विश्वकीर्तिमान् कायम गर्नेछु ।’ उनको कुरा सुनेर साथीसंगी तथा छिमेकीहरुले उनलाई पागल भन्ने गर्थे । उनले आफुलाई पागल नै ठाने । आफ्नो लक्ष्यमा अर्जुनको आँखा गाडेर उनले दिनरात हाईजम्प प्राक्टिस गर्दै गए । असम्भवलाई सम्भव बनाउने एउटा गजबको आत्मविश्वास, दह्रो संकल्प र कडा मेहनतले अभ्यास गर्दै गए । अनि त डेविसको पागलपनले रंग ल्यायो । उनी ६ फिट ११ इन्च हाईजम्प गर्न सफल भए । सन् १९५२को ओलम्पिकमा उनले ६ फिट ८ १÷४ इन्च नागेर गोल्ड मेडल जिते । अनि सन् १९५३ मा ६ फिट ११ १÷२ इन्च नाघेर वाल्टर डेविस विश्वच्याम्पियन बने ।



वैज्ञानिकरुपमा नै प्रमाणित भएको छ कि मानिसको मनमस्तिष्कमा असीमित शक्ति हुन्छ । यदि मानिस लक्ष्यप्रति जति दत्तचित्त हुन्छ, उति नै उसको शक्ति समाथ्र्य बढ्छ । अनि नदिझैं सुस्साउँदै लक्ष्यतर्फ बढ्छ । नदी त्यसै नदी हँुदैन । झरना र ससाना कुलेसाहरूले गर्दा नै नदी विशाल हुँदै जान्छ । नदीको जलप्रवाह पनि बढ्दै जान्छ । अनि चट्टानलाई तोड्दै, पहाड फोड्दै नदी कर्णालीझैँ सुस्साउँदै समुन्द्रसम्म पुग्न सक्छ । नदीको गन्तव्य समुन्द्र नै हो । तर, यदि नदी ससाना कुलेसाहरू तथा खोला–नालाहरूमा बाँडिदै गयो भने के समुन्द्रसम्म पुग्न सक्छ ? पक्कै पुग्दैन । जीवनको दौडमा पनि यही सिद्धान्त लागु हुन्छ । त्यसैले जीवनमा कुनै महान् कार्य गर्नु छ भने अनगिन्ती इच्छा र चाहनाहरू पछि भेडादौड दौडिनु हँुदैन । दृढसड्ढल्प लिएर अर्जुनलेझैं लक्ष्यमा तीर साध्नुपर्छ ।

दृढसड्ढल्प भनेको मानसिक अठोट हो । मनको आँट हो । आफ्नो काममा पुरापुर विश्वासकासाथ लाग्ने, लक्ष्यबाट जस्तोसुकै विषमपरिस्थितिमा पनि विचलित नहुने विचारको गहराइबाट निस्केको हिम्मत हो । यस्तो प्रतिज्ञा जति मनको गराइ अर्थात् एकीकृत क्षेत्रबाट उर्लिन्छ, त्यत्ति नै हिमालझैँ दृढरहिरहन्छ । दृढसड्ढल्पको प्राविधिक पक्षलाई हेर्ने हो भने दृढसड्ढल्पमा तीन तत्वहरू निहित हुन्छन् । ती हुन्ः ऊर्जा, बुद्धि तथा विश्वास । त्यसैले कुनै सड्ढल्प दृढसड्ढल्प हुनका लागि पर्याप्त ऊर्जा, सद्बुद्धि र विश्वास आवश्यक हुन्छ । विश्वास त दृढसड्ढल्पको जरो नै हो । विश्वास बिना त दृढसड्ढल्पको कल्पना नै गनै सकिँदैन । त्यसैले दृढसड्ढल्प भनेको डीङ हाँक्नु होइन, धाक लगाउनु होइन, फाइँफुट्टी गर्नु पनि होइन । भेडोझैँ बिना सोचबिचार एकोहोरो हिँड्नु पनि होइन । आवेगमा हल्ला बोल्नु तथा डुङ्ग्री पिटनु पनि होइन । सरल शब्दमा भन्नुपर्दा दृढसड्ढल्प भनेको गर वा मरको प्रण हो । यस्तो प्रण सिर्फ मोनोमेनाइकल पागलहरुले गर्न सक्दछन् । 


गोर्खा राज्य बिस्तार गरी सिंगो नेपाल राष्ट्र बनाउने पृथ्वीनारायण शाह मोनोमेनाइकल पागल हुन् । शान्तिपूर्ण आन्दोलनद्धारा भारतबाट अंग्रेजहरु खेद्ने महात्मा गान्धी पनि मोनोमेनाइकल पागल हुन् । स्वतन्त्रताको लडाइँमा २७ वर्ष जेल बस्ने नेल्सन मण्डेला पनि मोनोमेनाइकल पागल हुन् । न्यायका लागि ३ सय २९ दिन अनसनमा बसेर अनसनमै प्राण त्याग्ने नन्दप्रसाद अधिकारी र ४ वर्षदेखि अनसन बस्ने गंगामाया अधिकारी पनि मोनोमेनाइकल पागल हुन् । सत्याग्रहको माध्यमबाट भष्ट्रचार विरुद्ध लड्ने भारतका अन्ना हजारे तथा स्वास्थ्य शिक्षामा सुधारका लागि मेडिकल माफियाका बिरुद्ध लड्ने लड्ने नेपालका डा. गोबिन्द केसी पनि मोनोमेनाइक पागल हुन् । यसर्थमा डा. गोबिन्द केसीलाई कसैले पागल भन्छन् भने उनीहरुले ठीक भनेका छन् ।

अन्तमाः
मानिस एक्लै जन्मिन्छन्, एक्लै मर्छन्, तर बाँचुन्जेल एक्लो हुँदैनन् । यदि मानिसले सफा र पुरा मनले कुनै कुरा चिताउँछन् र यसप्रति मोनोमेनाइकल हुन्छन् भने चिताएको त्यो कुरा पुरा गराउन व्यक्ति भित्रको आन्तरिक शक्ति मात्र होइन, ब्रह्माण्डका सम्पूर्ण सकारात्मक शक्तिहरु पनि एकजुट भएर उसलाई सगाउँछन् । यसतर्फ जीवनमा सफलता प्राप्त गर्न चाहनेहरुको ध्यान जान आवश्यक छ । (लेखक साइकोथेरापिष्ट तथा मेमोरी क्लिनिक प्रमुख हुन् ।)


Thursday, May 21, 2020

हेल्थ फर्स्ट 


कोरोना रोकथाममा होमियोप्याथी
ओम बानियाँ
विश्वमा अनेक प्रकारका चिकित्सा पद्धतिहरु छन् । यस्ता चिकित्सा पद्धतिहरु मध्य होमियोप्याथिक चिकित्सा पद्धति पनि एक प्रमुख चिकित्सा पद्धती हो । जर्मनीका डा. क्रिश्चियन फ्रेडरिक श्यामुएल हनिम्यानले प्रतिपादन गरेको यस उपचार पद्धति अहिले संसारभरि प्रचलनमा आएको छ । होमियोप्याथिक उपचार जर्मनीबाट सुरु भई ब्रिटेन, फ्रान्स हुँदै भारतमा आएको थियो । त्यसपछि भारत हुँदै पाकिस्तान, बङ्गलादेश, श्रीलका र नेपाल भित्रिएको हो । नेपालमा यो पद्धति राणाकालमै भित्रिए पनि सरकारी स्तरमा वि. स. २०१० मा मात्र सुरुवात भएको हो ।  विश्व स्वास्थ्य सगंठन (डब्लु.एच.ओ.) को एक सर्बेक्षण अनुसार एलोप्याथी पछिको दोश्रो चिकित्सा पद्धति होमियोप्याथी हो ।



होमियोप्याथी शब्द युनानि भाषाको दुई शब्दहरु (Homois) यानि सदृश्य (similar) र पैथोज (pathos) अर्थात रोग (suffering) मिलेर बनेको हो । यसको अर्थ हो सदृश रोग चिकित्सा । जसअनुसार जुन औषधीय पदार्थ एउटा स्वस्थ्य मानिसमा प्रयोग गर्नले जुन प्रकारको रोगका लक्षणहरु उत्पन्न हुन्छ । उही औषधिले त्यस्तै प्रकारका लक्षण युक्त भएका रोगीलाई सुक्ष्म रुपमा सेवन गराउनले आरोग्य प्रदान गर्दछ । यो प्रकृतिक सिद्धान्त समानताले समानताको उपचार मा आधारित छ । होमियोप्याथी नै एकमात्र चिकित्सा पद्धति हो जसको दर्शन एवं सिद्धान्त निश्चित छ । यसमा रोगीको आचार, विचार, व्यवहार, शारीरिक बनावटदेखि लिएर उसको मनोभावना एवं व्यक्तित्व समेतलाई मध्यनजर राख्दै औषधि छनोट गरिन्छ । सिमलिमम (समान) औषधिको सेवनलै नै बिरामीलाई पूर्ण स्वास्थ बनाउँछ । भनिन्छ हरेक रोगहरुको उपचार होमियोप्याथी छ । 

चर्चामा आर्सेनिकम अल्बम

अहिले होमियोप्याथिक औषधि  आर्सेनिकम अल्बम ३० सी विश्वभरि चर्चामा  छ । होमियोेप्याथिक विशेषज्ञहरुले यसलाई कोभिड १९ को प्रभावकारी औषधिको रुपमा लिएका छन् । आर्सेनिकम अल्बम ३० सी को लक्षणहरु कोभिड १९ को लक्षणहरुसँग धेरै मेल खाने र यस औषधिले मानिसको रोग प्रतिरोधात्मक क्षमता पनि बढाउने भएकाले कोरोना भाइरस संक्रमणको रोकथाम र कोभिड १९ को उपचारमा निकै प्रभावकारी मानिएको छ । इजरालयल र भारतमा कोभिड–१९ बाट सङ्क्रमित ६ हजारमा परीक्षण गरिँदा ११ जनामा मात्र सङ्क्रमण दोहोरिएको देखियो । रोग प्रतिरोधात्मक क्षमता बढाई कोरोना संक्रमण रोकथाम गर्नाका लागि बिहान खाली पेट ‘आर्सेनिकम अल्बम ३० सी को एक-एक खुराक तीन दिन सेवन गर्ने र यदि कोरोना संक्रमण रहिरहेमा एक महिना पछि पुनः तीन खुराक दिनु पर्ने हुन्छ ।  तर कोभिड १९ को उपचारका लागि भने यस औषधिका साथै लक्षणहरु अन्य औषधिहरु पनि प्रयोग गर्नु पर्ने हुन्छ । यो औषधि निकै सस्तो छ । यसको कुनै साइड इफेक्ट पनि छैन ।  हाल यस औषधिलाई विभिन्न संघसंस्थाहरुले नेपालमा निःशुल्क वितरण गरेका छन् । यस कार्यलाई व्यापक बनाउनु पर्यो र हरेक नेपालीहरुको घर घरमा पराउनु पर्यो ।

जब कुनै रोगहरुको उपचारमा वैकल्पिक चिकित्साको कुरा आउँछ । तब-तब रिसर्च तथा एभिडेन्सको कुरा उठ्ने गर्छ । अहिले पनि होमियोप्याथिक औषधिले कोभिड १९ रोकथाम गर्छ भन्ने के प्रमाण छ भन्ने प्रश्न पनि उठिरहेको छ । कोभिड १९ को सवालमा एलोप्याथीसँग पनि कुनै रिसर्च तथा एभिडेन्स छैन, अमेरिकी राष्ट्रपतिदेखि लिएर ठुला-ठुला वैज्ञानिक तथा चिकित्सकरुले समेत कोभिड १९ को रोकथामको नाममा मलेरियाको औषधि खाएका छन् ।  अत: मलेरियाको औषधिले कोभिड १९ रोकथाम र उपचार गर्ने प्रमाण के छ ?

Tuesday, May 19, 2020

हेल्थ फर्स्ट 

सुपरफूड 'लौका'
ओम बानियाँ
लौका, अनेक औषधीय गुणहरुले भरिपुर्ण एक चिरपरिचित लहरे वनस्पति हो । यस दिव्य वनस्पतिको फल प्राचिनकालदेखि नै तरकारीका रुपमा प्रयोग हँुदै आएको छ । लौकाको वनस्पतिक नाम लैजिनेरिया सिसेरिया हो । यो कुकुरबिटेसी परिवारमा पर्दछ । लौकालाई अंग्रेजीमा बोटल गुअर्ड भनिन्छ । लौका स्वास्थ्यका लागि निकै फाइदाजनक छ । यसका साथै लौका औषधि पनि हो । यसको फल, बीज, पात तथा जरा औषधिका रुपमा प्रयोग गरिन्छ । त्यसैले यो सस्तो र शर्वसुलभ सुपर फुड हो ।लौका धेरै थरीका हुन्छन् । आयुर्वेदमा लौकाका दुई प्रजातिहरु उल्लेख गरिएको छ, एक मधुर (मिठो) रसवाला र अर्को तितो रसवाला । साधारणतया मधुर रसवाला लौका तरकारीका रुपमा र तितो रसवाला लौका औषधीका रुपमा प्रयोग गरिन्छ । मिठो लौकाको प्रकृति मधुर, चिसो, कप तथा पित्त दोष हटाउने तथा वातकारक मानिन्छ । तितो रसवाला लौका चिकित्सकको सल्लाह बिना उपयोग गर्नु हँुदैन । 


पोषणको पावरहाउसः
लौका सजिलै पच्ने अनेक भिटामिन्स तथा मिनरल्सयुक्त तरकारी हो । १०० ग्राम लौकामा निम्नलिखित पोषक तत्वहरु पाइन्छ । 
पानीः                       ९६.० प्रतिशत

प्रोटिनः                     ०.२ प्रतिशत
चिल्लोः                     ०.१ प्रतिशत
खनिजः                    ०.५ प्रतिशत
रेशाः                        ०.६ प्रतिशत
कार्बोहाइडे«ट्सः      २.५ प्रतिशत
खनिज तथा भिटामिन्सः
क्याल्सियमः              २० मिलीग्राम
फस्फोरसः                १० मिलीग्राम
फलामः                     ०.७ मिलिग्राम
भिटामिन सीः             १० मिलिग्राम 
यसको अतिरिक्त भिटामिन्स बी कम्पलेक्स, भिटामीन के, भिटामीन ए, भिटामीन ई, फोलेट र म्याग्नीज जस्ता खनिज पदार्थहरु पनि पाइन्छन् । लौका भिटामीन सीको एउटा मुख्य स्रोत नै हो । २५० ग्राम लौकाबाट २५ मिलिग्राम भिटामीन सी प्राप्त गर्न सकिन्छ । यो भनेको हामीलाई एक दिनमा चाहिने भिटामीन सी को लगभग आधा भाग हो । 
 
लौकाको फाइदाः
लौका गर्मीयामको सुपरफुड हो । लौका सेवनले गर्मीको थकानबाट जोगाउँछ, शरीरलाई चिसो र ताजा राख्दछ । गर्मी महिनामा धेरै पसिना आउने भएकाले शरीरमा घटेको पानी भरपाइ गर्ने काम पनि यसले गर्छ । लौकाले शरीरभित्रको फोहोरलाई झाडु लगाउने मात्र नभई नाकबाट रगत आउने, डण्डीफोर आउने र अल्सर जस्ता रोगविरुद्ध लड्नको लागि पनि सहयोग पु¥याउँछ ।  लौकामा एण्टीअक्सिडेन्ट पनि हुने हुनाले यसले हाम्रो शरीरको कोषहरुलाई खराब हुनबाट जोगाउँछ, रगतमा कोलेस्ट्रोलको मात्रालाई ठीक गर्छ, र मस्तिष्कको कार्य सञ्चालनमा पनि सहयोग गर्दछ । यति मात्र होइन, भिटामीन सी र यसमा पाइने जिंकले चाउरीपना र बुढ्यौलीपनाबाट पनि जोगाउँछ । र, यही जिंकले नशा बलियो बनाउने र रुघाखोकीबाट सुरक्षा दिन्छ । यसमा पाइने भिटामीन बी ले कपाल फुल्न दिँदैन । लौका पचाउन एकदम नै सजिलो हुने भएकाले गर्मी महिनाको लागि यो अत्यन्तै उपयुक्त तरकारी हो । लौकामा हुने फाइबरले पाचन प्रक्रिया सजिलो बनाउने भएकाले कब्जियत, पाइल्स, पेट ढुस्स हुने, वाकवाकी लाग्ने आदि जस्ता समस्याहरुबाट मुक्ति दिन्छ । लौकामा हुने पानी र फाइबरले आन्द्रा सफा राख्न र पाचनमा सजिलो बनाउन सहयोग गर्छ । 


ब्रेन टनिकः 
मस्तिष्कलाई स्वस्थ राख्नका लागि लौकाको सेवन एक राम्रो र सस्तो उपाय हो । लौकामा प्रशस्त मात्रामा हुने कोलिनले मस्तिष्कको कार्यशक्ति बढाउन र मानसिक तनाव र डिप्रेसनजस्ता समस्याहरुबाट पनि मुक्ति दिन्छ । लौकाको सेवनले मनलाई शान्ति र शरीरलाई आराम दिलाउँछ ।

वजन घटाउनः
लौकाको सेवनले तौल घटाउन पनि मद्दत गर्छ । तौल घटाउनका लागि व्यायाम गरेपछि दिनहुँ १०० ग्राम लौकाको रस सेवन गर्नुपर्छ । १०० ग्राम लौकाको रसले शरीरलाई १५ क्यालोरी मात्र दिन्छ । लौकालाई ससाना टुक्राहरुमा काटी उमालेर बिरेनुन छर्केर पनि सेवन गर्न सकिन्छ । लौकामा पाइने भिटामिन, खनिज र फाइबरले शरीरलाई उचित पोषण प्रदान गर्छ । शरीरको मेटाबोलिज्म बढाउँछ । कब्जियत हटाउँछ, पाचनक्रिया ठीक राख्दछ । अतः नियमितरुपमा व्यायामका साथ बिहान खाली पेट लौकाको रस सेवन गर्ने हो भने केही दिनमा नै पक्का वजन घट्छ ।

मुटुको रोग र उच्चरक्तचापः
लौका हर्ट टनिक हो । यसले मुटुलाई स्वस्थ राख्न निकै महत्वपुर्ण भुमिका निभाउँछ । एक अध्ययनका अनुसार बिहान खाली पेट २०० ग्राम लौकाको रस नियमित रुपमा ३ महिना सेवन गर्ने हो भने कोलेस्ट्रोल घट्छ । बीपी सामान्य हुन्छ । हृदयका अन्य समास्याहरु पनि हट्छन् र मुटु स्वस्थ र मजबुत हुन्छ । 

मधुमेहीको फुडः

अनेक अध्ययनबाट प्रमाणित भएको छ कि लौकाले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्न उल्लेखनीय भुमिका निभाउँछ । लौका मधुमेहीका लागि निकै उपयुक्त छ । त्यसैले मधुमेहीले लौका तरकारी वा लौकाका अन्य परिकार तथा लौका रस सेवन गर्न निकै उपयोगी हुन्छ । मुटुको समस्या, हाई बीपी तथा मधुमेहका विरामीले २०० ग्राम लौका रसमा ६ बेलपत्र, ७ तुलसी पत्र र ५ पुदिनाको पातको रस मिसाएर बिहान खाली पेट सेवन गर्ने हो भने निकै फाइदा हुन्छ ।

लिभर टनिकः 
लिभर अर्थात कलेजो शरीरको दोस्रो मस्तिष्क हो । कलेजोको लागि पनि लौका अत्यन्तै फाइदाजनक छ । विषादीको अत्यधिक सेवन हुने हुनाले हाम्रो कलेजो सबैभन्दा बढी मारमा पर्ने गर्दछ । आयुर्वेदले लौकाको सेवनले कलेजोको कार्यप्रणालीमा सहयोग गर्ने र सुन्निन नदिने भएकाले कलेजोको लागि यसको प्रयोगमा विशेष जोड दिन्छ । लौकाले शरीर शुद्धि गर्ने कार्य गर्दछ । 

लौका सेवन विधिः 

लौकालाई अनेक तरिकाले सेवन गर्न सकिन्छ । गर्मीयामभरि यसको तरकारी खानु निकै फाइदाजनक हुन्छ । लौकालाई अन्य तरकारीसँग मिसाइ पकाएर तथा उसिनेर पनि सेवन गर्न सकिन्छ । औषधीय फाइदा लिन लौकाको जुस बनाएर सेवन गर्न सकिन्छ । मधुमेहका बिरामीहरुको चिनीको मात्रा र ब्लड प्रेसर सन्तुलनमा राख्न पनि लौकाको जुसको प्रयोग गर्न सकिन्छ । पिसाब नलीमा संक्रमण भएका तथा युरिक एसिड भएकाहरुका लागि यो झनै फाइदाजनक छ ।

जुस बनाउने विधिः

जुस बनाउनका लागि ४०० ग्राम लौका ताछ्ने, टुक्राटुक्रा बनाएर काट्ने र ब्लेण्डरमा ब्लेण्ड गर्ने । जुस तयार भयो । सामान्यतया लौकाको साधा जुस सेवन गर्न उपयुक्त हुन्छ ।  तर, यस रसमा आवश्यकता अनुसार एक चिम्टी मरिचको धुलो, अलिकति बिरेनुन र ७ तुलसी पत्र र ५ पुदिनाको पातको रस मिसाउन सकिन्छ । अझ एक आधा चम्चा अदुवाको रस तथा एक चम्चा कागतीको रस पनि लौकाको जुस पिउन सकिन्छ । रोगोपचारका लागि रोग अनुसार अन्य पदार्थहरु पनि मिसाउन सकिन्छ । लौकाको जुस सेवन गर्ने सबैभन्दा उपयुक्त समय भनेको बिहान खाली पेटमा हो ।  



सावधानीः तितो लौका रस र किटनाशक औषधि हालेको लौकाको रस सेवन गर्नु हुँदैन । बीपी लो हुनेले पनि लौकाको रस सेवन गर्नु हुँदैन । गम्भिर प्रकृतिका विरामीहरुले आफु खुसी लौकाको रस सेवन गर्नु हुँदैन । (लेखक साइकोथेरापिष्ट तथा पोषणविद् हुन् ।) 




Saturday, May 16, 2020

ब्रेन बाइट्स 

सुनको कचौरामा भिख माग्ने देश 
ओम बानियाँ 

मैले चिनेजानेका एक जना ६८ वर्षीय कृषक छन् रुपन्देहीमा । पक्की सडकसँग जोडिएको एक बिगाह जमीन छ, उनी र उनको परिवारसँग । यस जमीनको वर्तमान बजार मुल्य कम्तिमा पनि २० करोड छ । वर्षैदेखि उनी उक्त खेतमा परंपरागत रुपमा खेतीपाती गदै आएका छन् । गाई, भैंसी, बाख्रा तथा कुखुरा पनि पालेका छन् । तर, उनलाई सधैं परिवार पाल्न धौधौ छ । उनले मीठोमसिनो खाएको र राम्रो लगाएको साहेद कुनै छिमेकीले देखेका छन । पैसाको अभावमा नै उनले छोराछोरीहरुलाई सार्वजनिक विद्यालयमा पढाए । कान्छो छोराले बाहेक अरुले १० कक्षा पनि उत्र्तिण गर्न सकेनन् । विज्ञान लिएर पढेको कान्छो छोराले १२ कक्षा राम्रै अंक ल्याएर उत्तिर्ण गरेको भएता पनि एमबीबीएसको छात्रवृत्तिमा नाम निकाल्न सकेनन् । साथीहरु ऋणधन गरेर तथा कसैले जग्गा बेचेर बंगलादेश तथा चीन पढ्न गएता पनि उनका बाले भने उनलाई पैसा खर्च गरेर बाहिर पढ्न पठाएनन् । आफन्तहरुले एकदुई कठ्ठा खेत बेचेर भएपनि छोरालाई एमबीबीएस नै पढाउन सल्लाह दिएता पनि उनले कुनै वास्ता गरेनन् । आफुले पढ्न चाहेको विषय पढ्न नपाएपछि उनको छोराले बीएससी वा अन्य कुनै विषय पढ्न रुचि देखाएनन् । बिस्तारै उनी डिप्रेस्ड हुन थाले । हुनत उनले अहिले एक प्राइभेट स्कुलमा विज्ञान विषय पढाउँछन् । तर, उनको जीवनमा कुनै रंग छैन, कुनै रमाइलो छैन ।  उनको माइलो छोरा तथा दुई बुहारीहरुले खेतपाती गर्छन् भने जेठो छोरो दिल्लीमा मजदुरी गर्छन् । माल पाएर पनि चाल नपाएका लोभी बुढाले आफुले पनि दुःख पाए, बुढी तथा छोराछोरीहरुलाई पनि खुब दुःख दिए भन्छन्, आफन्त, चिनेजानेका मानिसहरु र छिमेकीहरुले । 

उनी मात्र होइनन्, यसरी माल पाएर पनि चाल नपाएका मानिसहरु थुप्रै छन् नेपालमा ।  ठीक यसरी नै नेपाली राजनीतिले पनि माल पाएर चाल पाएको छैन । 



नेपाल गरीब छैन । नेपाल गरीब मुलुक पनि होइन । अपार प्राकृतिक साधानस्रोतहरुले धनी भएर पनि त्यसको समोचित सदुपयोग गर्न नसकेको अविकसित देश हो, नेपाल । त्यसैले त जान्नेबुझ्नेको माँझमा नेपाल सुनको कचौरामा भिख माग्नेहरुको देश कहलिएको छ । नेपाली भुगोललाई राम्रोसँग बुझ्नु भएका स्व. डा. हर्क गुरुङले पटक–पटक यही भन्नुहुन्थ्यो, ‘नेपाल नचिन्नु नै नेपालीको अभिषाप हो ।’ वास्तवमा नेपालमा गणतन्त्र नआएर वा संघीयता नभएर नेपालले प्रगति गर्न नसकेको होइन, हर्क गुरुङले भनेझै नेपाल चिन्न नसक्नाले नै नेपालको प्रगति र समृद्धि हुन नसेकेको हो । गणतन्त्र, संघीयता वा थरिथरिका वाद र व्यावस्था त राजनीतिक बाहना मात्र हुन् ।

धनी छ नेपालः
नेपाल प्राकृतिक साधनस्रोतले निकै धनी छ । बहुुजाति, बहुभाषी, बहुसंस्कृति तथा जैविक विविधताको पनि धनी छ । वास्तवमा नेपाल सयौं जातजाती, भाषाभाषी तथा अनेक परंपरा र संस्कृतिहरूले भरिएको संसारकै अनुपम र सुन्दर देश हो । प्रकृतिले सुन्दर नगरीका रूपमा सिंगारिहिएको यो देश नेपाल हिमाल–पहाड–तराइ, पाखा–पखेरा, छाँगा–छहरा, वनजड्डल, डाँफे–मुनाल र लेखबेंसीले शोभायमान छ । बहुुजाति, बहुभाषी, बहुसंस्कृति तथा जैविक विविधताको यो देशमा अनेकौ धर्म, भाषा र संस्कृतिहरू अपनाउने यावत् जातजातिहरू सदियौंदेखि हातमा हात गाँसी मिलेर बसेका छन् । यस्तो सामाजिक सद्भाव संसारमा बिरल्लै देख्न पाइन्छ । समाजिक सद्भाव र आपसी एकता, अनुशासित र इमानदार नागरिकले पनि धनी छ नेपाल । त्यसैले नेपाल संसारकै सुन्दर, शान्त र समृद्धिशाली राष्ट्र बन्न सक्ने प्रचुर संभावना छ । नेपालको विकास र समृद्धि सम्भव छ । 

तर किन भएन विकासः
हो, प्राकृतिक साधनस्रोतले यति धनी हँुदा पनि नेपालको विकास हुन सकेन । प्रगति हुन सकेन । पछिल्लो ३०, ४० वर्षमा नेपाल भन्दा निकै गरीब र कमजोर देशहरुले समेत आर्थिक विकासको अकाश छँदै गर्दा नेपाल भने जहाँको तहीं छ । यसरी नेपालको प्रगति हुन नसक्नुको मख्य कारण हो,  नेपालको असक्षम राजनीति । विकास र समृद्धिका नाममा नेपालमा अनेक राजनीतिक प्रयोगहरु भए । पंचायती व्यावस्था आयो, ३० वर्ष शासन गर्यो । बहुदलीय पजातन्त्र, १३ वर्ष शासन गर्यौ । पुनः सक्रिय राजतन्त्र आयो । र, अहिले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र छ । तर नेपालमा जुनतन्त्र आए पनि नेपालको राजनीति इमानदार, दूरदर्शी र सक्षम हुन सकेन । आफ्नै खुट्टामा उभिन सकेन, सकिरहेको छैन । 


हो, हरेक पार्टीका नेताहरुले नेपालको विकास र समृद्धिका ठूल्ठूला कुरा गर्छन् । सिंहझै गर्जिएर आकाशको तारा झार्ने भाषण ठोक्छन् । तर कुन विकास किन कसरी कहिले गर्ने भन्ने योजनाप्रति उनीहरुको कुनै चाँसो छैन । ज्ञान पनि छैन । वास्तवमा नेपाली राजनीतिमा कन्ट्री फस्र्टको भावना नै छैन । नेपाली राजनीति पार्टी फस्र्ट, गुट फस्र्टको भावनाले ओतप्रोत छ । पछिल्लो ३० वर्षको इतिहास पल्टाउने हो भने नेपाली राजनीतिले देशको भन्दा पनि आफ्नो पार्टीको, आफ्नो र आफ्नो गुटको हित र विकास गरेको देखिन्छ । कुनै पनि देशमा राजनीतिक नेतृत्व यस कारण आवश्यक हुन्छ कि मानिसहरु जहाँ पुग्न चाहन्छन्, त्यहाँ पुग्न सकिरहेका हुँदैनन् । पुग्ने चाहना छ, तर पुग्न सकेका छैनन् । तब नेताको आवश्यकता हुन्छ ।  नेतृत्वको आवश्यकता हुन्छ ।  एक व्यक्ति नेता तब हुन्छ, जसले आफ्नो व्यक्तिगत सीमाहरु भन्दा अगाडि बढेर सोच्दछ, महसुस गर्छ, कार्य गर्छ । वास्तवमा नेतृत्व भनेको कार्य गर्ने वा असम्भव जस्तो देखिने कार्यलाई सम्भव बनाउने विज्ञान हो । तर नेपालमा यसको ठीक उल्टो छ । जसले कामकाज रोक्दछ, भत्काउँछ, बिर्गाछ, उही नेता बन्दछ । यदि कुनै व्यक्तिले कामकाज ठप्प पार्न सक्दछ, चक्काजाम गर्न सक्दछ, नेपाल बन्द गर्न सक्दछ । त्यही व्यक्ति नेपालमा नेता बन्दछ । यो नै नेपालको दुर्भाग्य हो ।  

यसरी बन्छ नेपालः
कुनै पनि देश समृद्धशाली हुन देशमा विद्यमान साधानस्रोतहरुको अधिकतम सदुपयोग गर्न आवश्यक छ । त्यसैले नेपाललाई समृद्धशाली बनाउनका लागि नेपालमा विद्यमान प्राकृतिक साधानस्रोतहरु जस्तै जल, जंगल, जमीन, जडीबुटि, डाँडाकाडा, हिमाल र प्राकृतिक सुन्दरतालाई ठीक ढंगबाट उपयोगमा ल्याउनुपर्छ । विकासका दुई आधार स्तम्भः स्वास्थ्य र शिक्षामा पर्याप्त लगानी गरेर स्वास्थ्य र शिक्षालाई सर्वशुलभ बनाउनुपर्छ । राज्यले कुनै पनि नेपाली नागरिकले आफ्नो बौद्धिक क्षमता अनुसार आफुले चाहेको विषय पढ्न पाउने तथा उचित औषधोपचार पाएर मर्न नपर्ने वातावरण सृजना गर्नुपर्छ । त्यो किनभने देशलाई विकासपथमा अगाडि बढाउन स्वस्थ र शिक्षित नागरिकहरु उत्साहजनक सहभागिता आवश्यक हुन्छ । शिक्षा तथा स्वास्थ्यलाई शर्वसुलभ बनाउनका लागि हरेक गाउँपालिकामा तथा नगरपालिकामा एक वा त्यो भन्दा धेरै सामान्य चिकित्सक(जीपी) सहितको निःशुल्क स्वास्थ्य केन्द्र, हरेक जिल्लामा सबै विभागहरु भएको सुविधासम्पन्न जिल्ला अस्पताल र हरेक प्रदेशमा कम्ति पनि दुई वटा सुपर विशेषज्ञ सेवा सहितका ठुला अस्पतालहरु तथा १४ वटा सबै संकायहरु भएको अन्तर्राष्ट्रिय स्तरका विश्वविद्यालय तथा आवश्यकता अनुसार विद्यालय तथा क्याम्पसहरु स्थापना गर्नुपर्छ । विकासनिर्माणमा जनसहभागिता गराएर गाउँदेखि नै विकासको लहर ल्याउनुपर्छ । उजाड पहाडलाई हरियाली बनाउनु पर्छ । विकासको मेरुदण्ड मानिने यातयात सुविधाका लागि आवश्यक सडकमार्गहरु, पुर्वपरिश्चम रेलमार्ग तथा कम्तिमा पनि तीन वटा अन्तर्राष्ट्रिय एअरपोर्टहरु बनाउनुपर्छ । खेलकुदको विकासका लागि पाँच वटा अन्तर्राष्ट्रिय स्तरको रंगशाला तथा हरेक शहरमा राष्ट्रिय स्तरको रंगशाला बनाउनुपर्छ । ठाउँ ठाउँमा पार्कहरु निर्माण गर्नुपर्छ । स्वदेशी उद्योगहरुलाई प्रोत्साहित गर्ने, गाउँ गाउँमा बैंकिंग सेवा पुराएर सम्पुर्ण आर्थिक कारोबारहरु बैंक मार्फत् गर्ने वातावरण तयार गर्नुपर्छ ।

सबै गाउँपालिका तथा नगरपालिकामा विद्युतीय सुशासन स्थापना गरी जन्म, मृत्यु, बसाइसराइ, पारिवारिक तथा सम्पत्ति विवरण, पेशा व्यावसाय तथा स्वदेश वा विदेशमा नागरिकले गर्दै आएको कामधन्दा तथा नोकरीको तथा नेपालमा कामधन्दा तथा नोकरी गर्न आउने विदेशीहरुको विवरण सम्बन्धित ग्रामपालिका तथा नगरपालिमा अनिवार्य पंजिकृत तथा अद्यावधि गर्ने व्यावस्था गर्नुपर्छ । यस्तो व्यावस्थाले भष्ट्रचार नियन्त्रणमा समेत सहयोग पुराउँछ । नेपाली राजनीतिले यसरी काम गर्ने हो भने केही वर्षमा नै नेपाल बन्छ । तर ओली, प्रचण्ड तथा शेरबहादुरहरुले नेपाल बनाउन सक्दैनन् । त्यो किनभने नेपाल बनाउन नेपाल चिन्न सक्ने एक समर्थ राजनीतिक नेतृत्वको आवश्यकता छ । 


कस्तो हुन्छ समर्थ नेतृत्वः
आफ्नो क्षमता र अरुको मनस्थितिको पहिचान गर्न सक्ने, जस्तोसुकै प्रतिकुल परिस्थितिहरुमा पनि होशह्वास नछोड्ने, कठिनाइहरुमा औसरहरु खोज्न सक्ने, निर्दिष्ट उद्देश्य पुरा गर्नका लागि उद्देश्यमा अर्जुनदृष्टि साधी आफू र आफ्नो टीमलाई उत्प्रेरित गर्न सक्ने तथा आफ्नो र मानवीय अन्तर्सम्बन्धको भावनाहरूको तालमेल गर्नसक्ने खÒबी भएको इमानदार, दुरदर्शी र साहसी नेतृत्व नै समर्थ नेतृत्व हो ।

पुछारमाः
अतः समर्थ नेतृत्वको लोकतान्त्रिक सरकारले दरो अठोट र संकल्प लिएर, ५० वर्ष र १०० वर्षमा नेपाललाई कस्तो बनाउने हो भन्ने दुरदृष्टिका साथ ५ वर्षीय, १० वर्षीय तथा १५ वर्षीय विकासको गुरुयोजना बनाएर यसरी काम गर्यो भने नेपाल बन्छ, अवश्य नेपाल बन्छ, १०, १५ वर्ष भित्रमा नै नेपाल संसारकै एक सुन्दर, शान्त र समृद्धशाली राष्ट्र हुन्छ । तर यसको लागि एक सक्षम नेतृत्व आवश्यक छ । (लेखक मनोविद् हुन् ।) केही वर्ष अगाडि नागरिक दैनिकमा प्रकाशित लेख । 

 


Friday, May 15, 2020

ब्रेन बाइट्स 
माइण्ड अफ मुम्बइ डब्बावाला 
ओम बानियाँ 

भागदौड र भिडभाडले सास लिन पनि मुश्किल हुने मुम्बई सहरका २ लाख सरकारी तथा गैरसरकारी कर्मचारीहरुको लाइफलाइन हुन्,  मुम्बइ डब्बावाला ।  मुम्बइ डब्बावाला एक यस्तो संगठन हो, जसका कामदारहरुले १२८ वर्षदेखि ठीक समयमा उचित तरिकाले कर्मचारीका परिवारले घरमै पकाएको खानाको डब्बा घरदेखि अफिससम्म र खाली डब्बा पुनः घरसम्म पुराइदिने पुण्य कार्य गर्दै आएका छन् । आफ्नो पेशाप्रतिको ईमानदारीता, कर्तव्यनिष्ठता र चुस्ततुरुस्त व्यावस्थापनका कारण अहिले मुम्बइ डब्बावालाहरु संसारभर चर्चित छन् । भारतको अहमदावाद स्थित विश्वप्रसिद्ध म्यानेजमेन्ट युनिभर्ससिटी, आईआईएममा यसका वारेमा केस स्टेडी हुने गर्छ । मुम्बइ डब्बावालाहरुलाई देशविदेशमा समेत बोलाउने गरिन्छ । यसै सिलसिलामा नूतन टिफिन कम्पनीका अध्यक्ष रघुनाथ केन्या, इटाली, अमेरिका, बेलायत तथा नाइजेरिया सहित अनेक देशहरुको भ्रमण गरेका छन् । 


देशविदेशका अनेक संस्था तथा टिभी च्यानलहरुले डब्बावालाहरुको कार्यशैली तथा व्यावस्थापनको सम्बन्धमा थुप्रै डक्युमेन्ट्री बनाएका छन् । बीबीसी, डिस्कवरी तथा नेसनल जियोग्राफिक च्यानलले डब्बावालको बारेमा बनाएको डक्युमेन्ट्री निकै लोकप्रिय पनि भएका छन् । सन् २०१३ मा प्रर्दशित हिन्दी फिल्म लन्चबक्स पनि मुम्बइ डब्बावालाबाट प्रभावित छ ।   

सेतो कुर्ता पाइजामा, गान्धी टोपी, घाँटीमा रुद्राक्षको माला तथा कोल्हापुरी चप्पल लगाएर काम गर्ने अधिकांश डब्बावाला वारकारी समुदायका छन्, जसले विट्ठल भगवानमाथि आस्था राख्छन् । मुम्बइ डब्बावालाको आर्दश वाक्य छ, अन्नपुर्णा देवोभवः अर्थात भोजन उपलब्ध गराउने व्यक्ति देवताको जस्तै हुन् । यही निश्वार्थ भावना र कार्यशैलीका कारण डब्बावालाहरु देशविदेशमा चर्चित छन् । त्यसैले डब्बावालाहरुलाई मुम्बइको लाइफलाइन पनि भन्ने गरिन्छ ।

डब्बामा मायाः 
मुम्बइ डब्बावालाको विषयमा विद्यावारीधि गर्ने मोटिभेसनल स्पीकर डा. पवन अग्रवालले डब्बावालाको कार्यशैली, ईमान्दारीता र व्यावस्थापकीय क्षमताका बारेमा अनेक रोचक तथ्यहरु वाहिर ल्याएका छन् । उनी भन्छन्, मुम्बइ डब्बावालाहरुले घरदेखि अफिससम्म खाना मात्र होइन परिवारको माया पनि पुराउने गरेका छन् । एक प्रसंगमा उनी भन्छन्ः एक पटक पतिपत्नीको बीच ठाकठुक परेछ । एंग्री पति अब आफु कहिल्यै घर नफर्किने भन्दै अफिस गएछन् । सधैंझैं साढे नौ बजे खानाको डब्बा लिन डब्बावाला आएछ । पत्नीले डब्बा दिइछन् । बिहानका एंग्री योंगमैन दिउँसोसम्म हंग्री योंगमैन भैसकेका थिए । डब्बा हातमा पर्नासाथ उनले डब्बा खोलेछन् । डब्बा भित्र एक म्यासेज थियो, प्रिय पतिदेव, आई एम सरी । खाना निकै मीठो छ । खानु होला । आई लभ यु । पति भावविभोर भएर खाना खाएछन् र सिनेमाका दुई वटा टिकट किनेर खाली डब्बामा हालेर आई लभ यु टु म्यासेज लेखेर घर पठाइदिए छन् ।



डिब्बावालाको शुरुवातः 
सन् १८९० तिरको समाजमा बिहान उठेर आफ्ना कर्मचारी पतीलाई टिफिन बनाएर अफिस पठाउन निकै गाह्रो थियो । उति बेला आज जस्तो भान्छामा नै ग्याँस र पानी आदि थिएन ।  कर्मचारी र उनका परिवारको यो समस्यालाई बुझेर नै महादेव हाव्जीले घरको खाना अफिससम्म पुराउने उद्देश्यले नुतन टिफिन कम्पनी मार्फत सन् १८९० मा डब्बावालाको शुरुवात गरेका थिए । जब नुतन टिफिन कम्पनीका महादेवले डब्बा घरबाट अफिस पुराउने कार्यको शुरुवात गरेका थिए त्यसबेला अंग्रेज तथा फारसी समुदायका १०० जना जति ग्राहकहरु थिए । त्यो संख्या क्रमशः बढ्दै गएर आज २ लाख भन्दा माथि पुगेको छ । रघनुाथ मेडगे ३५ वर्षदेखि यस संस्थाका अध्यक्ष छन् । र, अहिले डब्बावालाको संख्या लगभग ५ हजार छ ।  यी ५ हजार डब्बावालाहरुले मुम्बइकोे ६ वटा कार्यालयहरु मार्फत् २ लाख कर्मचारीहरुको घरबाट अफिसमा खाना पुराउने कार्य गर्दै आएका छन् । 

डब्बावाला माइण्डः

डब्बावालाको रुपमा काम गर्न कुनै शैक्षिक योग्यताको आवश्यकता पर्दैन । अशिक्षित तथा पाका व्यक्ति पनि डब्बावाला बन्न सक्छन् । अहिलेका डब्बावालाहरु औसत ८ कक्षा पढेका र औषत ५५ वर्ष उमेरका छन् । तर उनीहरुको टाइम म्यानेजमेन्ट र मेमोरी गजबको छ । कतिपय धेरै पढेका कर्मचारीहरु ठीक समयमा अफिस पुग्न सक्दैनन् । तर मुसालधारे वर्षा होस् वा प्रचण्ड गर्मी वा ट्राफिक जाम डब्बावाला सधैं ठीक समयमा डब्बा लिएर अफिस पुग्छन् । कतिपय कर्मचारीहरुले आफ्नै घरबाट पठाएको डब्बा चिन्न सक्दैनन् । तर डब्बावालाहरुले सम्बन्धित व्यक्तिको डब्बा पुराउन कुनै गल्ती गर्दैनन् । पछिल्लो १२८ वर्षको इतिहासमा डब्बावाला कहिल्यै लेट भएका छैनन् । उनीहरु काम १०० प्रतिशत परफेक्ट छ । त्यसैले डब्बावालालाई सिक्स सिग्मा रेटिगं मिलेको छ । जसको अर्थ हन्छ, ६ मिलियन ट्रांससेक्सनमा गल्ती हुने सम्भवना केवल एक हुन्छ । सामान्यतया संकेतको आधारमा नै डब्बावालाहरुको नेटर्वक चल्छ । उमेर, शिक्षा तथा अनुभव जति भए पनि हरेक डब्बावालाको आय उतिनै छ । ९ देखि १० हजार मासिक कमाइ । वर्षमा एक पटक एक महिनाको तलब बराबर बोनस मिल्दछ ।

सजिलौ छैन कामः
डब्बावालाको काम त्यति सजिलो छैन । प्रचण्ड गर्मी होस् वा मुसलधारे वर्षा, खुट्टा राख्ने ठाउँ नहुने लोकल टे«नमा कोच्चिएर होस् वा साइकल कुदाएर होस्, एक डब्बावालाले हरेक दिन ६० देखि ७० किलोमिटर यात्रा गर्नुपर्दछ । एक डब्बा ग्राहकसम्म ६ हात भएर पुग्दछ । खाली डब्बा पनि त्यसरी नै घर फर्किन्छ । खाना ३ घण्टा भित्र कार्यालय पुग्दछ । सप्लाईका लागि डब्बावालाहरुले साइकल तथा लोकल टे«न प्रयोग गर्छन् । डब्बावालाको रुपमा कार्य गर्न केही नियमहरुको पालना गर्न जरुरी छ । जस्तैः कामको सयममा नशापानी गर्न सख्त मनाही छ । डब्बावालाले सेतो गान्धी टोपी लगाउन आवश्यक छ । बिना पूर्वसचना विदा मिल्दैन । हमेसा साथमा आई कार्ड राख्न आवश्यक छ । कसैले नियम उलंगन गरेमा एक हजार फाइन हुन्छ ।
 

पुछारमाः
अतः ५ हजार डब्बावालाहरुले २ लाख खानाका डब्बाहरु निश्चित समयमा ठीक तरिकाले ठीक ठाउँमा पुराउनु भन्दा ठूलो प्रवन्ध अर्को के हुन सक्दछ ? यो ठुल्ठुला बिजनेश गुरुका लागि पनि चकित पार्ने कुरा हो । वास्तवमा मुम्बइ डब्बावाला उचित व्यावस्थापनको एक उदाहरण हो । त्यसैले त मुम्बइ डब्बावालाहरुको कार्यशैली तथा व्यावस्थापनले ठुल्ठुल्ला उद्योगीव्यावसायी, स्कोलर, समाजसेवी देखि राजकुमार चाल्र्सको समेत ध्यान खिच्न सफल भएको छ ।  डब्बावालाको व्यावस्थापनाको यति प्रसशां हुनुको पहिलो कारण हो, समय व्यावस्थापन (टाइम म्यानेजमेन्ट), दोस्रो हो अनुशासन तथा तेस्रो हो, कामप्रतिको लगााव ।  (लेखक मनोविद् हुन् ।)


                        

Tuesday, May 12, 2020

ब्रेन बाइट्स

ज्ञानको मनोविज्ञान
ओम बानियाँ

आचार्य चाणक्यले भनेका छन्ः “ज्ञानेन हीनाः पशुभिः समानाः अर्थात् ज्ञानरहित मानिस पशु समान हो ।” त्यसैले जीवनमा सफलता प्राप्त गर्न मात्र होइन कि पशुभन्दा माथि उठ्न पनि मानिसले ज्ञान प्राप्त गर्नु पर्दछ । तर ज्ञान प्राप्त गर्न भने सजिलो छैन । त्यो किन भने ज्ञानको नाउँमा मिथ्या ज्ञान पनि हात लाग्न सक्दछ । जुन कुरा जे जस्तो छ, त्यसलाई त्यसरी नै जान्नु ज्ञान हो । अन्यथा जान्नु वा जे जस्तो छ, त्यो त्यसरी नजान्नु मिथ्या ज्ञान हो । त्यसैले जसले ज्ञान दिन्छ, त्यो विद्या हो । जसले मिथ्या ज्ञान दिन्छ, त्यो अविद्या हो । विद्या अनेकौं हुन्छन्, जस्तैः विज्ञान, गणित, वाणिज्य, आयूर्वेद, ज्योतिष, भूगोल, इतिहास तथा संगीत इत्यादि । विद्या ज्ञानको माध्यम हो, जसरी बाल्टीले कुवा भित्रको पानी झिक्न मद्धत गर्दछ, ठीक त्यसरी नै विद्याले मानिसभित्रको ज्ञान बाहिर झिक्न मद्धत गर्दछ ।



स्याउको रूखबाट स्याउ खस्यो । आइज्याक न्यूटनलाई गुरूत्वाकर्षणको ज्ञान अवगत भयो । न्यूटनले स्याउ खसेको देख्नु पूर्व पनि स्याउहरू भुइँमा खसिरहेका थिए । गुरूत्वाकर्षणको ज्ञान अन्य मन–मस्तिष्कहरू भित्र पनि थियो । तर स्याउले न्यूटनको मस्तिष्क भित्रको त्यो ज्ञानलाई स्मृतिमा प्रकट गरायो । त्यसैले सधैं याद राख्नु पर्ने एउटा कुरा के भने ज्ञान भन्ने कुरा बाहिर कहीं कतै छैन, मानिसभित्र नै छ । वास्तवमा मानिस ज्ञानको भण्डार हो, ज्ञानको महासागर नै हो । तर योे ज्ञान अधिकांश मानिसलाई छैन । त्यसैले त मानिसहरू बाहिर–बाहिर भट्किरहेका छन् । वास्तवमा ज्ञान बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड भएको छ ।

योगशास्त्रका अनुसार यस सृष्टिमा साना–ठूला ८४ लाख प्राणीहरू छन् । तर सृष्टिका हजारौं–हजार प्राणीहरू मध्ये मानिस शारीरिकरूपले निकै कमजोर छ । मानिस चरा जस्तो उड्न सक्दैन, चितुवाझैं दौडिँन सक्दैन, घोडाझैँ हिनहिनाउन सक्दैन, माछाझैँ पौडिन सक्दैन, बाँदरझैँ रूखमा चढ्न र हामफाल्न सक्दैन । मानिसको खुट्टा न त हात्तिको जस्तो बलियो छ न त पंजा भालुका जस्ता दह्रो छ । मानिसको आँखा न त चिलका जस्तो तेजिलो छ  न  त शरीर गैंडाको जस्तो बलियो र कडा छ, एउटा सानो किराले टोकेर पनि मानिस ठहरै मर्न सक्दछ । तर मानिससँग ती हजारौं–हजार प्राणीहरूको भन्दा ठूलो सम्पत्ति छ, त्यो हो मानिसको मस्तिष्क र सोच्न सक्ने शक्ति । मानिसको यही सम्पत्तिले गर्दा नै मानिस हात्तीमाथि चढेर हिँड्छ, मदोन्मत्त घोडालाई लगाममा बाध्छ, जंगलको राजा सिंहलाई नै खोरमा हालेर उसको तमासा हेर्दछ । वास्तवमा मानिसले आफ्नो वातावरण आफैँ तयार गर्दछ । तर मानिस वाहेकका प्राणीहरूले आफ्नो वातावरण आफैँ तयार गर्न सक्दैनन्., त्यसैले त उनीहरूलाई प्रकृति अनुसार हिँड्नु पर्दछ, मानिसको हलोमा नारिनु पर्दछ, मानिसको लगाममा बाँधिनु पर्दछ । तर मानिसहरूमा पनि सबै मानिसहरूले आफ्नो वातावरण आफै तयार गर्न सक्दैनन्, त्यसैले त यस्ता मानिसहरू पनि टाठा–बाठाको हलोमा नारिनु पर्दछ, बाँदरझैँ उनीहरूको तालमा नाच्नु पर्दछ । 


महान् वैज्ञानिक आर्किमिडिजले भनेका छन्ः “मलाई पर्याप्त लामो एउटा उत्तोलक र पर्याप्त बलियो एउटा ओट देऊ । मैले एक हातले नै विश्व हल्लाइदिन सक्छु ।” आर्किमिडिजले मानवीय सामथ्र्य असीमित छ भन्ने तथ्य थाहा पाएर नै उपर्युक्त कुरा व्यक्त गरेका हुन् । हुन पनि यो ब्रह्माण्डमा मानिसले गर्न नसक्ने कुनै कुरा छैन । जुन कुरा हिजो असम्भव लाग्थ्यो, आज त्यो सम्भव भएको छ । आज असम्भव लाग्ने कुरा भोलि सम्भव हुनेछ, यो निश्चित छ । त्यो किनभने मानव मस्तिष्क शक्तिको कुनै सीमा छैन ।  त्यसैले मानवका लागि सबै कुरा सम्भव छ । वेदमा भनिएको नै छः अहं ब्रह्मास्मि अर्थात् म नै ब्रह्म हँु, तत् त्वमसि अर्थात् त्यो भगवान् भन्नु नै तिमी हौँ, अयमात्मा ब्रह्म अर्थात् यो आत्मा नै ब्रह्म हो तथा सर्वं खल्विदं ब्रह्म अर्थात् यो सबै नै ब्रह्म हो । यो नै सबै भन्दा ठूलो ज्ञान हो । यो ज्ञान जसलाई हुन्छ, उसले अवश्य नै सफलताको शिखरमा पाइला टेक्न सक्दछ । 
अज्ञान

एकादेशको कथा हो । त्यस देशका दयालु राजा शिकार खेल्न जंगलतिर जाँदै थिए । बाटोमा एक गरीब लोहारसँग भेट भयो । लोहारको दरिद्रतामाथि राजालाई दया जाग्यो । राजाले त्यो लोहारलाई करीब एक बिघा जमीनमा फैलिएको जंगल नै बक्सिस दिए । र, आफ्नो बाटो लागे । जंगल पाएर लोहार औधी खुसी भयो । समय बित्दै गयो । करीब दश वर्षपछि त्यही बाटो हिँड्दा राजाको त्यो लोहारसँग पुनः भेट भयो । उस्तै झुपडी, उस्तै दरिद्रता, लोहारलाई देखेर राजा अचम्म परे । अनि लोहारलाई सोधेः “मैले तिमीलाई त्यत्रो जंगल नै दिएको थिए । तर तिमी त जस्ताको तस्तै छौ ? तिमीले त्यो जंगल के ग¥यो हँ ?” लोहारले दुवै हात जोड्दै भन्योः “महाराज १ हजूरले बक्सिस दिएको त्यो जंगलले मेरो जीवनयापनमा निकै सजिलो भएको थियो । मलाई गोल बनाउने काठको समस्या भएन । त्यही जंगलबाट काठ ल्याउँथे र गोल बनाउँथे । अब त जंगल पनि सकिनै आट्यो ।” लोहारको कुरा सुनेर राजाले दुवै हातले टाउको समाए । लोहार वाल्ल प¥यो ।


भारत बिहारका एक होनहार प्रतिभा तथागत अवतार तुलसीलाई हेर्नुहोस् । किशोर तथागत तुलसी भारतका एक वरिष्ट अनुसन्धानकर्ता तथा वैज्ञानिक हुन्, अहिले उनले भारतको बैंलोर स्थिति प्रख्यात शैक्षिक संस्था—इण्डियन इन्स्टिच्युट अफ् साइन्सबाट क्वान्टम कम्प्युटिंगमा विद्यावारिधि गरेर त्यही अध्यापन गर्दैछन् । त्यसोे त तथागत तुलसीले गिनीज बुक अफ् वल्र्ड रिकर्डमा हैट्ट्रिक गरेका छन्—९ वर्ष ६ महिनाको उमेरमा उनले मेट्रिक परीक्षा उत्तीर्ण गरे भने ११ वर्ष २ महिनामा स्नातक र १२ वर्ष २ महिनाको उमेरमा स्नातकोत्तर (भौतिक शास्त्र) परीक्षा उत्तीर्ण गरेर तीनवटा विश्व रिकर्ड राखेका छन्, स्वयं यो अर्को रिर्कड हो । वाल्यकालमै अहं ब्रह्मास्मिको ज्ञान पाएका तुलसीले मानिसको लागि कुनै कुरा असम्भव छैन भन्छन् । वास्तवमा अज्ञान अँध्यारो हो, ज्ञान उज्यालो हो । अज्ञान मृत्यु हो, ज्ञान जीवन हो । त्यसैले मानिसलाई सबैभन्दा पहिला जीवनमा आफ्नो लक्ष्यको ज्ञान हुनु पर्दछ । यदि लक्ष्यको ज्ञान भएन भने आखिर जाने कहाँ ? 

धेरैलाई थाहा नै भएको कुरा हो, न्युटनले गुरूत्वाकर्षणको नियम पत्ता लगाए, अनि चर्चित भए । आइन्स्टाइनले सापेक्षतावादको सिद्धान्त पत्ता लगाए, अनि विश्वप्रसिद्ध भए । राइट दाजुभाइले जहाज बनाए, अनि विश्वविख्यात भए । बिल गेट्सले कम्प्युटरलाई परिमार्जित गर्दै लगे, अनि संसारकै धनाढय व्यक्ति भए ।  भारतका मोहनदास करमचन्द गान्धीले कसैले नगरेको नयाँ काम गरे, शान्तिले भारतमा क्रान्ति ल्याए, अनि महात्मा गान्धी भए । भारतकै स्वामी रामदेवले काम त उही गरे, तर नयाँ तरिकाले योग सिकाए, अनि रातरात लोकप्रिय भए । त्यसैले तपाईंले पनि ज्ञानको यो भाषा बुझ्नुहोस्, आविस्कार गर्न सक्नु हुदैन भने हातमा बाँधेर नबस्नुहोस्, भएका कुरालाई समय सापेक्षित परिमार्जित गर्नुहोस् । गान्धीलेझैँ नयाँ काम गर्न सक्नु हुँदैन भने काम उही गर्नुहोस्, तर रामदेवलेझैँ फरक ढंगले गर्नुहोस् । यो नै मस्तिष्क ऊर्जा बढाउने ज्ञानको भाषा हो । 




Saturday, May 9, 2020

हेल्थ फर्स्ट 

ब्रेन, ब्युटि र बेसार  
ओम बानियाँ 

हिजो आज अधिकांश मानिसहरुले ब्रेनलाई भन्दा ब्युटिलाई महत्व दिने गरेका छन् । अनुहारलाई राम्रो गराउन खास गरी महिलाहरुले अनेक प्रकारका महंगा सौंदर्य प्रसाधनहरु प्रयोग गर्ने गर्छन् । तर जबसम्म मानिस स्वास्थ्य हँुदैन, उसको ब्रेनले ठीकसँग कार्य गर्दैन, तबसम्म उसको मनमा शान्ति आउँदैन, अनुहारमा कान्ति आउँदैन । वास्तवमा हेल्दी बोडी हेल्दी बे्रन भएको मानिस नै ब्युटिफुल देखिन्छन् । यसका लागि मानिसहरुले महंगा–महंगा बजारिया टनिक तथा सौंदर्य प्रसाधनहरु प्रयोग गर्न आवश्यक छैन, बेसार जस्ता स्वास्थ्यवद्र्धक तथा सौंदर्यवद्र्धक प्राकृतिक पदार्थहरु ठीक ढंगबाट प्रयोग गरे पुग्दछ ।


के हो बेसारः
नेपालमा सदियौंदेखि मसला र औषधिको रुपमा उपयोग हँुदै आएको एक चर्चित कन्दमूल हो, बेसार (टरमरिक) । जिन्जिबेरसी परिवारको यस कन्दमूलको वानस्पतिक नाम हो, करक्यूमा लोन्गा । विशेष गरी दक्षिणी तथा दक्षिण पूर्वी एसियाको यस कन्दमूल पछिल्लो समय अनेक वैज्ञानिक अनुसंधानका कारण आज विश्वभर लोकप्रिय हुँदै गएको छ । त्यसो त परापूर्व कालदेखि नै नेपालको अधिकांश भुभागहरुमा खेती गरिने यस बेसारको गुणहरूका वारेमा आयुर्वेदमा पर्याप्त वर्णन पाइन्छ ।

सुपर स्पाइसः
बेसार मसलाहरुको राजा हो । यस वनस्पति पौष्टिक तथा औषधीय गुणहरुले भरिएका कारण नै दैनिक रुपमा उपयोग गर्न वैदिक ऋषिमुनीहरुले यसलाई भान्छामा ल्याएका हुन् । बेसारमा हुने कुर्कुमिन नामक जैविक रसायनका कारण नै बेसार पहेँलो देखिएको हो । यस रसायनमा विभिन्न औषधीय तत्व पाइन्छ । पौष्टिक तत्वहरूको रूपमा बेसारमा भिटामिन ए, केही मात्रामा भिटामिन बि, बि २, सि र क्यालोरीः ३९० क्यालोरी प्रति एक सयग्राममा पाइन्छ भने क्याल्सियम, फस्फोरस, फलाम आदि जस्ता खनिज प्रचुर मात्रामा पाइन्छ । बेसारले हाम्रो भोजनलाई रंग दिएर आकर्षक त अवश्य बनाउँछ नै । यसको अतिरिक्त शरीरलाई विशेष पौष्टिक तत्वहरू पनि प्रदान गर्छ । 

ब्रेन फुड बेसारः
बेसार एक निकै प्रभावकारी एन्टीअक्सिडेन्ट हो र यसको नियमित प्रयोगले शरीरमा उत्पादन हुने फ्रीरेडिकल्सलाई निस्क्रिय पार्दछ । यसले रगतमा कोलेस्टेरोलको मात्रालाई बढ्न दिँदैन र उच्च रक्तचाप तथा ह्दय सम्बन्धी रोगहरुलाई नियन्त्रण गर्छ । बेसारले रक्त संचारलाई प्रभावकारी बनाउने हुँदा बे्रन लगायत शरीरका हरेक अंगहरुलाई स्वस्थ बनाउन सहयोग गर्छ । स्मरणशक्ति बढाउँछ । मुलकुरो यसले अल्जाइमर जस्तो घातक बिर्सिने रोगको रोकथाम गर्छ । बेसार सेवन गर्ने मानिसहरुको तुलनामा बेसार सेवन नगर्ने मानिसहरु बढी अल्जाइमरको शिकार भएको तथ्यांकहरुले देखाएको छन् ।

औषधि हो बेसार
बेसार बहुउपयोगी औषधीय गुण भएको वनस्पति हो । बेसारमा पोलिफेनोल वर्गको एक केमिकल पाइन्छ, जसलाई कर्कुमिन भनिन्छ । बितेका २० वर्षमा कर्कुमिन सम्बन्धी धेरै अनुसन्धानहरु भएका छन् । विशेष गरेर क्यान्सर नियन्त्रण, हृदय रोग तथा बाथ रोगहरुको सम्बन्धमा पबमेडमा मात्रै कर्कुमिन सम्बन्धी करिब ११ सय भन्दा बढी वैज्ञानिक अनुसन्धानका रिपोर्टहरु प्रकाशित भएका छन् । वैज्ञानिक अनुसंधानका अनुसार कर्कुमिनले क्यान्सर नियन्त्रण वा त्यसको अनियन्त्रित विकास हुनबाट बचाउँछ । कर्कुमिन मलाशय, पेट, मुख र स्तन क्यान्सरको विरुद्धमा लड्ने गर्दछ । कर्कुमिनको अर्को महत्वपूर्ण प्रयोग हृदय सम्बधी रोगलाई नियन्त्रण वा उपचार गर्नमा रहेको छ । कर्कुमिन बाथको पनि अचूक औषधि मानिन्छ । यो दुखाइ नियन्त्रणको शक्तिशाली पदार्थ हो । कर्कुमिन दुखाईसँग सम्बन्धित इन्जायमलाई दबाउने काम गर्दछ भन्ने गहिरो अनुसन्धान गर्नेहरुको राय छ। आचार्य चरकले बेसारलाई कुष्ठ र लुतो हटाउने, विष नष्ट गर्ने गुणयुक्त मानेका छन् । यस्तै आचार्य सुश्रुतले श्वास रोग, खोकी, रक्तपित्त, आँखा रोग, कुष्ठ र प्रमेहलगायत निर्मूल गर्न बेसारलाई प्रभावकारी मानेका छन् भने अमेरिकास्थित पेन्सिलभेनिया विश्वविद्यालय, मेडिकल सेन्टरका डा. अमोन ए नान्जीले प्रमाणित गरेका छन् भने बेसार नियमित खाँदा रक्सीले कलेजोलाई पुराउने क्षतिसमेत कम हुन्छ । क्यानाडाको टोरन्टो जनरल अस्पतालका अनुसन्धानकर्ताहरूले जनरल अफ क्लिनिकल इन्भेस्टिगेसनमा प्रकाशन गरेको प्रतिवेदनअनुसार बेसारले हार्ट फेल हुनबाट बचाउँछ, क्षतिग्रस्त मुटुलाई थप नोक्सान हुनबाट रोक्छ । बेसार प्राकृतिक रक्तशोधक हो । यसले रगत संचलान राम्रो गर्छ । आर्टरिजलाई मजबुत बनाउँछ । खराब कोलेस्टोरललाई घटाउँछ । यसमा पाइने एन्टीमाइक्रोबाइलका कारण यसले कलेजो डेटक्स गर्छ, वाइल उत्पादन बढाउँछ । 



ब्युटिफुल बेसारः
बेसार सौंदर्यवद्धक पनि छ । छाला स्वास्थ्यका लागि बेसार निकै गुणकारी मानिन्छ । त्यसैले वैदिक संस्कृतिमा यसलाई उवटनको रुपमा प्रयोग गर्दै आएको पाइन्छ । बेसारको उचित उपयोग गर्ने हो भने महंगा र हानीकारक रसायनयुक्त सौंदर्य प्रसाधानको कुनै आवश्यकता पर्दैन । 

बेसारको फेसमास्कः
एक चम्चा बेसन, आधा चम्चा बेसार, दुई चम्चा दही तथा आधा चम्चा मह लिने र राम्रोसँग मिसाउने । अब प्राकृतिक फेसमास्क तयार भयो । यसलाई हप्ताको २ पटक अनुहारमा लगाउने र १५ मिनेटपछि धुने । यो पेस्टलाई शरीरमा पनि लगाउन सकिन्छ । यसरी बेसारको प्रयोग गर्ने हो भने अनुहार सफा र उज्जालो हुन्छ । बजारमा पाइने महंगा पेसप्याकले भन्दा निकै फाइदा गर्छ । यदि अनुहारमा दागधब्बा तथा डण्डिफोर छ भने त्यहाँ पनि यो पेस्ट लगाउन सकिन्छ । 

कालो तथा घना कपालः
कपाल झर्ने, फुल्ने तथा चाया पर्ने समस्या छ भने बेसार एक समाधान हुन सक्दछ । यसका लागि दुई चम्चा नरिवलको तेलमा आधा चम्चा बेसार मिसाउने र कपालको जरोमा राम्रोसँग लगाउने । अनि आधा घण्टा पछि कपाल धुने । एक महिनामा नै सकारात्मक परिणाम देखा पर्छ । 

दाँतको दवाइः
एक चिम्टी बेसार, एक चिम्टी सिधेनून अलिकति तोरीको तेलमा मिसाउने । प्राकृतिक तुथपेस्ट तयार भयो । यो भन्दा उत्तम तुथपेस्ट संसारमा छैन । दिनहँु यस पेस्टले ब्रस गर्ने र औंलामा यो पेस्ट लगाएर गिजा मसाज गर्ने हो भने दाँत चम्किलो र बलियो हुन्छ । गिजा मजबुत हुन्छ । दाँत र गिजाका रोगहरु निर्मुल हुन्छन् ।

बेसारको सेवन र कोरोना  

बेसार यति गुणकारी छ कि दिनहुँ यसको सेवन तथा प्रयोग गर्नु स्वास्थ्य र सौंदर्यका दृष्टिकोणले निकै उत्तम छ । एक व्यस्क मानिसले दिनहँु लगभग २ ग्राम जति बेसार सेवन गर्न सक्छन् । त्यसैले दिनहुँ १–२ चम्चा बेसार दूध वा पानीसँग लिन संकोच मान्नु पर्दैन । यसको कुनै  प्रतिप्रभाव हुँदैन । तर बेसार शुद्ध र गुणस्तरीय चाहीँ हुनुपर्दछ ।  कोरोना संक्रमणबाट बच्न बिहानबेलुकी ५, ५ ग्राम बेसार तातो पानीसँग सेवन गर्ने तथा कोभिड १९ भएको खण्डमा ५, ५ ग्राम बेसार दिनको तीन पटक तातोपानीसँग सेवन गर्ने । 




गोल्डन वाटरः
एक गिलास मनतातो पानीमा आधा चम्चा बेसार अलिकति मरिचको धूलो मिसाउने र बिहान खाली पेट यो पेय पिउने । आधा घण्टा कुनै कुरा सेवन नगर्ने । यस पेयमा आधा चम्चा कागतीको रस तथा एक चम्चा मह पनि मिसाउन सकिन्छ ।  
गोल्डन मिल्कः
एक गिलास दूःधलाई उमाल्ने र मनतातो भएपछि त्यसमा आधा चम्चा बेसार हालेर घोल्ने र सुत्ने बेलामा पिउने । दूःधमा बेसारका साथै आधा चम्चा बदामको तेल वा ३ बदामको पेस्ट, आधा चँम्चा नरिवलको तेल, आधा दालचिनी तथा सकुमेलको धूलो तथा एक चम्चा मह हालेर पिउन सकिन्छ । 

पुछारमाः
बेसार मानिसको प्राकृतिक तथा स्वभाविक आहार हो । र, यसलाई हाम्रा पुर्खाहरुले सेवन गर्दै आएको हँुदा यसलाई कलेजोले स्वभाविकरुपमा ग्रहण गर्छ । उचित मात्रामा बेसारको सेवन गर्दा यसले ब्रेन र बोडीलाई फाइदा नै फाइदा गर्छ, तनमनलाई स्वस्थ र मजबुत बनाउँछ । त्यसैले बेसारलाई दालतरकारी आदिमा प्रयोग गरेर सेवन गर्नुको साथै शुद्ध बेसार करिब आधा एक चम्चा बिहान(बेलुकी दुध वा पानीसंग लिने गरौं, अनि रोग मुक्त होऊँ । (लेखक साइकोथेरापिष्ट तथा पोषणविद हुन् ।)