Sunday, June 28, 2020

ब्रेन बाइट्सः
असार १५: दही-चिउरा
ओम बानियाँ 

ज असार १५ राष्ट्रिय धान दिवस । २०६१ सालमा कृषि मन्त्रालयले किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले मुलुकभरि असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको हो । यस वर्षको नारा ‘धान उत्पादनमा वृद्धि–आत्मनिर्भरता र समृद्धि  । राष्ट्रिय धान दिवस कृषि क्षेत्रसँग सम्वन्धित संघ संस्थाले विभिन्न कार्यक्रम गरि मनाउँदै आएका छन् । यस दिनलाई रोपाई महोत्सवका ?पमा समेत मनाउने गरिन्छ । मानो रोपेर मुरी फलाउने दिनका ?पमा ?पमा यस दिन अधिकांस स्थानमा रोपाई गरि धान दिवस मनाउने गरिन्छ । कृषि मन्त्रालयलसहित विभिन्न कृषि क्षेत्रमा काम गर्ने संघसंस्थाले धान रोपाई गरि यो दिवस मनाउने गर्दछन् । खेतमा रोपाई गरि दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका ?पमा समेत लिने गरिन्छ । वर्षायाम हिलाम्य भएको शरीरमा उर्जा दिने भएकाले दही च्युरा खाने चलन रहेको विज्ञहरू बताउँछन् ।

स्वास्थ्यवद्र्धक दही-चिउरा 



असार १५ धान दिवस मात्र होइन दही चिउरा खाने दिन पनि हो । आजको दिनलाई किसानहरुले विशेष रुपमा दही चिउरा खाने पर्वको रुपमा पनि मनाउँछन् । ग्रामिण क्षेत्रमा रोपाइ गर्ने किसान मात्रै होइन रोपाइ नगर्ने शहरीयाहरु पनि आज दही चिउरा खाएर यो दिनलाई दही चिउरा खाने विषेश दिनको रुपमा मनाएको पाइन्छ । सामाजिक सञ्जाल पनि आज दही चिउराका पोष्टहरुले भरिएको छ । दही चिउरा खादा मिठो मात्र होइन यसले स्वास्थ्यका लागि पनि निकै फाइदा पु¥याउछ । दहीमा चिउरा मिसाएर खाँदा कार्बोहाइड्रेड, प्रोटिन, क्याल्सियम, भिटामिन प्राप्त हुन्छ । दही चिउराले शक्ति प्रदान गर्छ । दही चिउराले मांशपेसी बलियो बनाउँछ । रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । पखाला लागेको समयमा दही खानु उपयुक्त हुन्छ । समष्टिमा भन्नु पर्दा दही चिउरा मिश्रण पोशिलो र स्वास्थ्यवद्र्धक मानिन्छ ।
 

सरकारले असार १५ लाई धान दिवसका रुपमा मनाउदै आएपनि धान दिवसमा देखावटिपना बढी छ । आम किसानमाँझ आधुनिक कृषि प्रविधि अझै पुग्न नसकेका कारण खेतीयोग्य जमिन भएर पनि धान उत्पादनमा वृद्वि हुन सकेको छैन ।

धान दिवस मनाउने तरिका: 
धान दिवस बिभिन्न प्रकारले मनाउने गरिन्छ । सरकारले सरकारी तवरबाट यो दिवसलाई मनाउँछ भने ग्रामिण भेकमा किसानह?ले आफ्नै तरिकाले मनाउँछन् । असार १५ का दिन एक पटक हिलो टेक्नु भन्ने मान्यता छ । यस दिन रोपाइलाई पर्वको ?पमा मनाइने हुँदा खेतको हिलामा पसेर असारे गीत गाउँदै धान रोप्ने गरिन्छ । हलगो?ले हिल्याएको हिलोमा छुपुछुपु धान रोपेर आपसमा रमाउँदै रोपाहार र बाउसेह? एकापसमा हिलो छ्यापाछ्याप गरी हिलो खेलेर अन्न उब्जाउने माटोलाई माया गर्छन् र गीतका भाकामार्फत् आपसमा माया पिरती समेत साट्ने गर्छन ।


असारे मासको दबदबे हिलो छि मलाई घिन लाग्यो,
पातली नानीलाई फरिया किन्दा छ बिस रिन लाग्यो ।
खडेरीले फाटेको यो मन असारमै जोडौँला,
लाठे बनी आउ कान्छा, सँगै पिरती गाँसौँला ।।


रोपाइ गरेर थाकेको अवस्थामा पोषिलो र शीतलता प्रदान गर्ने खाद्य परिकार दही चिउरा र अचारको खाजा खाने गरिन्छ । नेपाली समाजमा पूर्वीय परिकार दही चिउरा असारमा र साउनमा खीर भन्ने गरिन्छ । असार १५ वर्षकै सबैभन्दा लामो दिन मानिने हुँदा हिलोमा गाइने असारे गीतले नेपाली समाजमा आजदेखि दिन छोटा र रात लामा हुने हुँदा हिउँदको शु?वात भयो भन्ने गरिन्छ ।

छुपु र छुपु धान नै रोपौँ हातैको बर्माले,
झ्यालमा बस्ने ज्यान थियो मेरो दिएन कर्मले ।
पुर्वकी दिदी, पश्चिमकी बहिनी भेट हुन्छ भनेर,
पटुकी कसी, घुम ओढी आएँ रोपार बनेर ।।


यस वर्षको नियम 

तर यस वर्ष भने कोरानाका कारण २५ जनाभन्दा बढी रोपार र लाठे भेला हुन नपाइने नियम बनाएको छ । २५ जना भन्दा बढी मानिस भेला हुनुपर्ने भए साना साना समूह बनाई रोपाइँ गर्नुपर्ने नियम बनाइएको छ । यद्यपि २५ भन्दा बढी रोपारबाट रोपाइँ गर्नुपर्ने भए एक अर्का बीचको दूरी ६ फिट कायम राख्नुपर्ने भएको छ ।

भाते संस्कृति:

धान नेपालको प्रमुख खाद्यान्न बाली पनि हो । हालको जनसङ्ख्या (झण्डै तीन करोड) जनतालाई पु¥याउन ६० लाख मेट्रिक टन धानको आवश्यकता पर्छ । तर नेपालको उत्पादन भने जम्मा ५५÷५६ लाख मेट्रिक टनमा सीमित रहेको छ । बढ्दो जनसंख्या, आधुनिक कृषिको अभाव तथा नेपालीह?को भातै मात्र खाने ‘भाते‘ संस्कृतिका कारण चामलको आयातमा वृद्धि हँदै गएको छ । हाल नेपालले प्रतिवर्ष ? ३० अर्बको चामल आयात गर्दै आएको छ । नेपालीको क्रयशक्तिमा भएको बढोत्तरीका कारण पनि मसिना तथा बास्मती चामलको आयातमा वृद्धि हँुदै गएको तथ्याङ्क छ । 


विश्वमा खाद्य सुरक्षाको दृष्टिकोणबाट धान महत्वपूर्ण अन्न बाली हो । झण्डै चार अर्ब जनसङ्ख्याको आधारभूत खाद्यान्न चामल हो । धानको नेपालमा आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा समेत महत्व छ । नेपालमा १३० जातका धानका बीउ सिफारिस भइसकेका छन् । धानको वैज्ञानिक नाम ओराइजा सटाइवा हो । धान गै्रमिनी (घाँस) प्रजाति अन्तर्गतको बाली हो । 

स्वास्थ्यलाई ठीक राख्न टलक्क टल्किने सेतो चामल खान बन्द गर्नुपर्छ, खैरो चामल खान शुरु गर्नुपर्छ । स्वास्थ्यका लागि कालो चामल र रातो चामल पनि उत्तिकै लाभदायक हुन्छ । जुम्ली मार्सी चामल पनि रातो चामल हो । बजारमा पोलिस नगरेको चामल पनि पाइन्छ, ब्राउन राइस पनि पाइन्छ साथै पोलिश नगरेको उसिना चामल पनि पाइन्छ, खोजेर खानुपर्छ । बजार पाइने यस्ता चामलहरु अलि महंगा हुन्छन् । त्यसैले कृषकहरुले आफुले खाने खैरो चामल आफै तयार गरी उपयोगमा ल्यान सक्छन् । साधारणतया दुई प्रकारको स्वचालित मेसिनमा धान कुटिन्छ । एउटा हुलर टाइप (भुस निकाल्ने) र सेलर कम पोलिसर टाइप (भुस निकाल्ने तथा परिष्कृत गर्ने)। पौष्टिक तत्वको दृष्टिले पछिल्लो विधि निकै हानिकारक छ किनभने यसप्रकारको मेसिनबाट धान कुट्दा त्यसमा पौष्टिक तत्वको ठूलो मात्रामा क्षति हुन्छ । गाउँमा अझै पनि हातले ढिकीमा कुट्ने प्रचलन आम छ । मिलमा कुटेको धानको तुलनामा ढिकीमा कुटेको चामलमा धेरै पौष्टिक तत्व रहन्छ ।


नेपालीहरुमा भाते संस्कृति छ । अधिकांश नेपालीहरुले बिहान भात, बेलुकी पनि भात र खाजामा पनि चामल कै परिकारहरु बढी खाने गर्छन् । यो संस्कृति पनि ठीक होइन, चामलको भात मात्र नखाएर गहुँ, जौ, मकै, कोदो तथा फापर आदिका परिकारहरु पनि खाने बानी बसाल्नु पर्छ ।





Saturday, June 27, 2020

 ब्रेन बाइट्स:

आहा ! कट्कटिया किताब

पढेर पनि जानिन्छ, परेर पनि जानिन्छ । तर पढेर धेरैलाई परेको जानिन्छ, परेर आफुलाई परेको मात्र जानिन्छ । 

ओम बानियाँ

लेज पढ्ने बेलाको कुरा हो । एक दिन आमाले मैले पर्दैन–पर्दैन भन्दा पनि कति  पुरानै पेन्ट घिर्साछस् भन्दै पेन्ट किन्न एक हजार रूपैयाँ दिनुभयो । शनिवारको दिन म पेन्ट किन्न बजारतिर गए, सारा फैन्सी स्टोरहरू चहारे तर ८–९ सयको पेन्ट किन्न मेरो हात थरथरी काम्यो, किन्नै सकिनँ । सानैदेखि मलाई कपडामा पैसा हाल्नु भनेको फोकटमा पैसा खेर फाल्नु जस्तो लाग्थ्यो । त्यसैले या त आमाले या त दिदीहरूले ल्याइदिएको कपडाहरू नै मैले लगाउने गर्थे । फेरि अर्को दिन पनि म बजार गएँ, पेन्टको दाम सोधे, तर फेरि पनि पेन्ट किन्न सकिनँ । त्यो पैसा थपक्क राखेँ । 

एक महिनापछि म पढाइको सिलसिलामा दिल्ली गएँ । त्यसताका दिल्लीमा विश्वपुस्तक मेला लागेको थियो । त्यो थाहा भएपछि अर्को दिन नै म पुस्तक मेलामा गएँ । किताबै किताबको त्यो महासागरमा मेरो पहिलो नजर एउटा किताबमाथि प¥यो, त्यो किताबको नाम थियो, ‘पोलिटिकल साइकोलोजी एण्ड सोशल डीफेन्स’ । मैले किताब समाएँ, मूल्य सोधेँ र तुरुन्त वालिटबाट ५ सय निकालेर दिएँ । 

‘पुरानो कोट लगाऊ, नयाँ किताब किन ।’ थारोको यो भनाइ मैले कलिलो उमेरमा नै धेरै पटक धेरैको मुखबाट सुनेको हुँ । साहेद यसैको प्रभावले होला, मैले सानैदेखि नै लुगाफाटाहरूलाई भन्दा पत्रपत्रिका तथा किताबहरूलाई प्राथमिकता दिन्थे । स्कुल पढ्दादेखि नै नास्ताको पैसा बचाएर अंग्रेजी पत्रिका विज्डम्, स्क्रीन्, हिन्दी प्रत्रिकाः विज्ञान–प्रगति, नोरोगधाम, आविस्कार, मायापुरी, लोटपोट तथा मधुमुस्कान तथा नेपाली फिल्मी पत्रिका कामना आदि जस्ता पत्रपत्रिकाहरू खोजिखोजि किन्ने गर्थें । एक पटक एस.एल.सी.को परीक्षापछि पोखरा जाने क्रममा नारायणगढमा कामना पत्रिका किन्न बसबाट ओर्लिदा बस नै छुटेको थियो । अलि ठुलो भएपछि पत्रपत्रिकाहरूको साथै किताबहरू पनि किन्न थालेँ  । 


‘पोलिटिकल साइकोलोजी एण्ड सोशल डीफेन्स’ पुस्तक मेलामा मैले किनेको पहिलो किताब हो । जी.बी. लोनद्वारा लिखित ‘पोलिटिकल साइकोलोजी एण्ड सोशल डीफेन्स’ एकदम चर्चित र मलाई ज्यादै मन परेको किताब त होइन, तर यो सम्भवत् राजनीतिक मनोविज्ञानको पहिलो किताब हो । त्यो भन्दा पनि यो एक दुर्लभ किताब हो । मैले यो किताब दुईतीन पटक दोहो¥याएर पढेको थिएँ । मकहाँ आउने र त्यो किताब देख्ने धेरैले त्यो किताब पढे । यसरी पढ्दा–पढ्दै एक दिन त्यो किताब काठमाडौँबाट एक जना साथीले कसले लग्यो–लग्यो भन्दै बेपत्ता पारे । मैले त्यो किताब धेरै खोजेँ । तर कतै पाइनँ । एउटा किताबका लागि घर–घरमा गएर छापा मार्ने कुरा पनि भएन । नयाँ पेन्ट किन्ने पैसाले किनेको त्यो किताब बेपत्ता भएकोमा मलाई निकै मनखत लाग्यो । 

केही वर्ष पहिला मलाई त्यो किताब फेरि किनेर पढ्न मन लाग्यो । अनि मैले काठमाडौँका पिलग्रिम बुक्स, एकताबुक्स तथा रत्नपुस्तक भण्डार आदिलाई त्यो किताब मगाउन भनेँ तर त्यो किताब कतैबाट आएन । अमेरिका तथा बेलायतका पुस्तक पसलहरूमा पनि त्यो किताब भेटिएन । विश्वकै ठुलो अन्लाइन किताब विक्रेता, एमाजोन डट कममा पनि त्यो किताब छैन । यसको मतलव के भने त्यो किताबको नयाँ संस्करण निस्किएको छैन । पुरानाप्रतिहरू कहाँ–कहाँ छन्, धेरै किताब विक्रेताहरूलाई थाहा छैन ।


पुस्तक पसलमा, इन्टरनेटमा आफ्नो रुचीको विषयका नयाँ नयाँ कट्कटिया किताबहरु देख्नासाथ मेरो मनमस्तिष्कमा ‘आहा’ को आनन्द छाउँछ, मलाई ति किताबहरु किनु किनु लाग्छ । मन परेका किताबहरू किन्न मेरो हात कहिल्यै काम्दैनन् । पैसा छ भने जतिसुुकै महंगो किताब किन्न पनि म पछि पर्दिनँ । त्यसो त म बुकवर्म होइन, त्यति धेरै किताबहरू किन्ने मान्छे पनि होइन, मैले भन्दा सयौँ गुण बढी किताबहरू किन्ने मानिसहरू पनि छन् नेपालमा हजारौं ? मेरो बुबाका साथी, जंगबहादुर शाह (विश्वामित्रका लेखक) नै हुनुहुन्छ, सिद्धनगर, बुटवलमा । 

केही समय यता नेपालमा पनि किताब पढ्नेहरुको संख्या निकै पढेको छ । यो ज्यादै खुसीको कुरा हो । तर धेरै व्यक्तिहरूले किताब पढ्न त चाहन्छन्, किनेर होइन, मागेर । जोसँग प्रशस्त पैसा छ, ऊ पनि किताब भिक मागरे पढ्न लाज मान्दैनन् । जाँडरक्सी आदिमा जति पनि पैसा खर्च गर्ने, तर किताब किन्न हात कमाउने र राम्रा किताबहरु देखेपछि मागेर बेपत्ता बनाउने बानी ठीक होइन । यस्ता डकैत प्रवृत्तिका पढ्नदासहरुका कारण मेरो घरको पुस्तकालयबाट थुप्रै किताबहरु गायब भएका छन् । कतिपय किताबहरु त दुईतीन पटक गायब भएर मैले ती किताबहरु पटक—पटक किनेको छु ।

मैले देशविदेशबाट थुप्रै किताब किताबहरु ल्याउँछु, मगाउँछु । जहाँ गए पनि मैले झोलाभरि नयाँ कट्कटिया किताबहरु नै बोकेर आउँछु । दसैंतिहारको सुन्दर हरियाली मौसममा अरुहरु चंगा, पिंग, दारु, जुवातास र घुमघाम रमाइरहँदा घरको लाइब्रेरीमा बसेर नयाँ कट्कटिया किताब पढ्ने र नयाँ किताब लेख्ने मेरो पुरानो रुटिन हो । किताब लेख्न किताब तथा जर्नलहरु पढ्नुको विकल्प छैन । 


निकै वर्ष पहिला आइन्सटाइनको मस्तिष्क अध्ययन गर्ने प्रसिद्ध स्नायुवैज्ञानिक तथा बेस्टसेलर किताब, म्याजिक ट्री अफ द माइण्ड कि लेखिका, प्रा. डा. मरियन डाइमण्डले मलाई भनेकी थिइन्, ओम, तिमीले किताब लेख्न चाहन्छौ भने त्यस विषयसँग सम्बन्धि कम्तिमा पनि सयवटा किताबहरु गहनरुपमा पढ्, जतिसकिन्छ, जर्नलहरु हेर र लेख्न बस । प्रा. डाइमण्डले मलाई दिएको किताब लख्ने यो फार्मुला मलाई निकै मन परको छ । त्यसैले विगत दश वर्षदेखि मैले यस गुरुमन्त्रलाई पछाउँदै आएको छु । त्यसैले पनि आफुलाई चाहिएको र पढ्न मन लागेको किताब किन्न मैले कुनै कन्जुसाइँ गर्दिनँ ।  मैले पुरानो पेन्ट लगाउँछु, नयाँ किताब किन्छु, थोत्रो साइकल तथा मोटरसाइकल चढ्छु, आफुलाई मन परेको किताब किन्छु । धेरै पटक त मैले ईबुकवालालाई ‘मेमोरी फर्मुला’ नै बेचेर किताबहरू किनेको छु । 


पुछारमाः
हो, ज्ञान आर्जन गर्नकालागि किताब पढ्न आवश्यक छ । वास्तवमा भन्ने हो भने सेक्सपियरले भनेझैं मानिसको वास्तविक पढाइ त केलज तथा विश्वविद्यालयको पढाइ सकिएपछि शुरु हुन्छ । त्यसैले जुनसुकै पेशाव्यावसाय अपनाए पनि पढ्न कदापि नछोड्नु हुँदैन । त्यो किनभने केही नयाँ गर्न पढ्नै पर्छ । अगि बढ्न पढ्नै पर्छ । नपढी कुनै पनि क्षेत्रमा राम्रोसँग अगाडि बढ्न सकिँदैन । त्यसैले पढेर भन्दा परेर जानिन्छ भन्ने भ्रममा बस्नु ठीक छैन । यस लोकोक्तीप्रति मेरो पुर्ण सहमति छैन । वास्तवमा यो लोकोक्ती पुर्णसत्य छैन, अर्धसत्य छ । त्यो किनभने पढेर पनि जानिन्छ, परेर पनि जानिन्छ । तर पढेर धेरैलाई परेको जानिन्छ, परेर आफुलाई परेको मात्र जानिन्छ । त्यसैले पढाइको यो महत्वलाई हृदगंम् गर्दै दसैंतिहार जस्ता चार्डपर्वहरुमा, खाली समयमा जुवातास तथा सामाजिक संजालमा मात्रै नारिनु भन्दा त्यो मुल्यवान समयलाई किताबमय बनाउनु उचित हुन्छ । दसैंतिहारमा, अन्य चाडपर्वमा, जन्मदिनमा, विवाह तथा पास्नी आदिमा कट्कटिया नोट तथा लुगाफाटा दिनु भन्दा नयाँ कट्कटिया किताब दिन सुनमा सुगन्ध छरे जस्तो हुन्छ, मेरो बिचारमा । (२०७० सालमा नागरिक दैनिकमा प्रकाशित लेख ।)


सम्पर्क: https://www.ucl.ac.uk/pals/research/clinical-educational-and-health-psychology/research-groups/international-cognitive-19

Thursday, June 25, 2020

मनोवैज्ञानिक कथा 
राजुको काले
ओम बानियाँ


धेरै पहिलाको कुरा हो । भर्खरै एसएलसी परीक्षा सकिएको थियो । छिमेकी हजुरबा बित्नुभयो । उहाँको पार्थीव शरीर आँगनमा राखिएको थियो । उहाँले सानैदेखि पालेको काले कुकुर गहभरि आँसु लिई कुइँकुइँ गर्दै घुमिरहेको थियो । मानिसहरुले उसलाई धुरधुर धपाउँदै थिए । मैले पढेको थिएँ, कुकुर निकै इन्टेलिजेन्ट र इमान्दार हुन्छ भन्ने । तर पनि मानिसले कुकुरलाई किन यसरी हेलाँ गर्छन् भन्ने मेरो कलिलो मस्तिष्कमा एउटा गम्भिर प्रश्न खडा भयो । अनायश मैले कागजमा कोरेँ, राजुको काले । 
 --------------
‘चिरविर चिरविर चराहरु कराउन थालेका थिए । अँध्यारोलाई चिर्दै उज्यालो हँुदै थियो । गौरी काखीमा गाग्री च्यापेर बाहिर निक्लिइन् । पीढीमा सुतेको काले कुइँकुइँ गर्दै गौरीको पछि पछि लाग्यो । बलराम हलोजुवा काँधमा बोकेर गोरु खेत्दै वारीतिर हिँडे । राजु भने मस्त निद्रामा थियो । गौरी पानी लिएर घर फर्किन् र चुल्होचौकामा जोतिइन् । 
  --------------
काले राजु नजिकै गयो र थचक्क बसेर भोक भोक गर्न थाल्यो । अँगेनामा आगो सल्काउँदै गौरी चिच्याइन्ः राजु उठ् भन्या कति सुतेको ? राजु आँखा मिज्दै उठ्यो । र, कालेको टाउको सुम्सुमायो । काले कुइँकुइँ गर्दै राजुको हात चाट्न थाल्यो । राजु दौडिँदै आँगनमा गयो । काले पनि उफ्रिदै पछिपछि लाग्यो । राजु कालेमाथि चढेर हट हट गर्न थाल्यो ।
   --------------
राजु र कालेको दोस्ती पनि अनौठो थियो । दुबैमा स्वार्थ बिनाको प्रेम थियो । उनी दुईको उमेर पनि एकै थियो । जुन दिन राजु जन्मिएको थियो, त्यहीं दिन काले । काले जनवार भएकाले ४ वर्षमा नै राजुलाई बोक्न सक्ने एक लक्का जवान भयो । तर राज बालककै थियो ।
  --------------
यसरी नै रमाइलोसँग दिन बित्दै थियो । राजु अचानक बिरामी भयो । बलराम र गौरीले ठाउँ ठाउँमा लगेर उपचार गरे, झारफुक, धामीझाँक्री सबथोक गरे । तर, राजुको रोग बीसको उन्नाइस भएन । राजुले खाना छोडयो, उठ्न नसक्ने भयो । राजु थला परयो । आफ्नो एक मात्र छोरा यसरी थलिएपछि बलराम र गौरी निकै चिन्तित थिए । काले त झन बिहाल थियो । काले राजु नजिकै बसेको छ, उसका आँखाभरि टिलपिल आँसु छन् । 
  --------------
गहभरि आँसु लिएर टुलुटुलु राजुलाई हेरिरहेको काले एकाएका आत्तियो । भोक भोक गर्दै राजु वरिपरि घुम्न थाल्यो । दौडिँदै भकारो सोर्दै गरेको बलराम निर पुग्यो, भाँडा माज्दै गरेकी गौरी वरिपरि घुम्न थाल्यो । राजुले एकतमासले खोक्न थाल्यो । काले हत्तारिदै राजुनिर पुगेर कुइँकुइँ गर्न थाल्यो । बलराम तथा गौरी आत्तिदै राजुनिर आए । राजुले खोक्दा खोक्दा रगत बान्ता गर्यो । गौरीले राजुलाई समाइन् । राजु स्थिर भयो । ‘राजु राजु मेरो छोरा १ तिमीलाई के भयो ?’ गौरी राजुलाई अँगालोमा हालेर रुन थालिन् । गौरीको चित्कार गाउँभरि फैलियो । गाउँलेहरु जम्मा भए । राजु गौरीको काखमा थियो । काले र बलराम रोइरहेका थिए ।
  --------------
गाउँका महिलाहरुले गौरीलाई सम्झाउन थाले । पुरुषहरुले बलरामलाई । तर कालेलाई सम्झाउने त्यहाँ कोही थिएनन् । उल्टो गाउँलेहरुले कालेलाई धुरधुर गर्दै त्यहाँबाट पर लखेटदै थिए । साथीको मृत्युले घायल भएको काले गोठतिर गएर बलिन्धारा आँसु रुन थाल्यो । 
  --------------
सतिगति गर्न राजुको पार्थिव शरीर लिएर मानिसहरु जंगलतिर लागे । काले पनि पछिपछि लाग्यो । काले पछि पछि आएको देखेर मानिसहरुले उसलाई खेद्न थाले । तर काले लुकी लुकी पछि पछि लाग्यो । एउटा युवकले ठुलो ढुंगा टिपेर कालेमाथि प्रहार गर्यो । कालेको टाउकोमा बज्रियो । काले रन्थनिएर कुइँकुइँ वरिपरि घुम्न थाल्यो । अनि थच्चक भुईंमा बस्यो । 
  --------------
शवयात्रीहरु जंगलतिर पस्दै थिए । कालेले उनीहरुलाई हेरिहरको थियो । जंगलमा पुगे पछि केही युवकहरुले खाल्डो खन्न थाले । घायल काले लुरुलुरु त्यही पुग्यो । कालेलाई देखेपछि एक युवकले भन्यो, ‘हेर त १ यो कुकुर यहाँ पनि आयो ।’ पाका मानिसले भने, ‘लखेट त्यसलाई । कतै लाश छोला ?’ युवकले ढुंगाले हान्दै धुरधुर धपायो । काले सालको रुखको ओझलमा गएर बस्यो । 
  --------------
खाल्डो तयार भयो । शबलाई खाल्डोमा राखे । बलराम डाँको छोडेर रुन थाले । काले धर्धरी रुन थाल्यो । शबलाई खाल्डोमा पुरेपछि गाउँलेहरु घरतिर फर्के । गाउँलेहरु अलिपर पुगेपछि काले दौढिँदै राजुको शव पुरेको ठाउँमा गयो । कुइँकुइँ गर्दै घुम्न थाल्यो । एक तमासले कराउन थाल्यो ।
  --------------
मानिसहरुले कालेलाई शब पुरेको ठाउँमा देखेपछि दौडिदै आए । र, चारैतिरबाट कालेलाई आक्रमण गरे । काले रताम्मे भई भुइँमा पल्टियो । राजुको शवतिर हेरी अन्तिम सास लियो । काले मरेको देखेपछि एउटा पाका मानिसले युवकलाई भने, ‘मर्यो अब । खोल्सातिर लगेर फालिदेऔं ।’ युवकहरुले डोरीले कालेलाई बाँधे र लतार्दै खोल्सातिर लगेर फालिदिए । अनि आफ्नो बाटो लागे ।
  --------------

छिनभरमा नै आकशाबाट गिद्धहरु ओर्लिए । तछाडमछाड गर्दै कालेको चोक्टाचोक्टा लुछ्न थाले ।’ (यो कथा मैले कक्षा १० मा अध्ययनरत हुँदा लेखेको हँु ।)



Tuesday, June 23, 2020


 ब्रेन बाइट्स 
जीवनको ‘लक्ष्य’
ओम बानियाँ

मानिसको जीवनमा लक्ष्यको ठूलो महत्व छ । त्यो किनभने जो जसले जीवनमा लक्ष्य बनाउँछ, ऊ नै लक्ष्यमा पुग्न सक्दछ । लक्ष्यविहीन त जहाँको तहीँ नै रहन्छ । त्यसैले त मार्टिन लुथर किंग (जुनियर)ले भनेका छन्ः “यदि मानिसले आफ्नो जीवनमा कुनै महान् उद्देश्यकालागि मरिमेट्ने संकल्प गर्दैन भने उसको जीवन नै वेकार हुन्छ ।” मार्टिनको यस भनाइ जति मनोवैज्ञानिक छ, त्यत्ति नै सत्य छ । वास्तवमा ‘लक्ष्य’ भनेको जीवनको आधार हो । त्यसैले हरेक मानिसले मानवीय जीवनलाई सार्थक बनाउन बेलैमा जीवनको एउटा महान् लक्ष्य बनाउन आवश्यक छ ।

मानिसको जीवनमा लक्ष्यको यत्ति ठूलो महत्व छ । तर नेपालका अधिकांश युवा लक्ष्यविहीन छन् । त्यसैले जीवनमा केही गर्न हरेक युवाले जीवनको लक्ष्य बनाउनु जरुरी छ । तर ख्याल गर्नु पर्ने कुरा के भने केवल इच्छा गर्नु लक्ष्य होइन, लक्ष्य त अर्जुनले देखेको चराको आँखा हो । अतः लक्ष्य प्राप्त गर्न लक्ष्यमा अर्जुनदृष्टि साधेर बुद्धिविवेक लगाएर महेनतकासाथ अगाडि बढ्नुपर्छ । 

कुनै पनि महान् कार्य पूरा गर्न मेहनतको कुनै विकल्प छैन । अथक मेहनत बिना कुनै पनि मानिसले आफ्नो जीवनको महान् उद्देश्य प्राप्त गर्न सक्दैनन् । कडा परिश्रम बिना कुनै पनि विद्यार्थीले एसएलसी वा कुनै पनि परीक्षामा ८०, ९० प्रतिशत अंक कटाउन सक्दैनन् । तर यहाँ मननयोग्य कुरा के भने मेहनतका नाममा मुढे मेहनतको कुनै अर्थ हुँदैन । जस्तो कि ठूलो ढुंगा गुल्टाउन छ भने थुप्रै मानिसहरु जम्मा गरेर जबरजस्ती दिनभरि लगाएर ढुंगा गुल्टाउन खोज्नु मूर्खता हो भने उत्तोलक(लिभर)को प्रयोग गरेर एकैछिनमा सजिलै ढुंगा गुल्टाउनु बुद्धिमानी हो । 

बुद्धि विद्याले बढ्छ । विद्यार्थीको पहिलो कर्तव्य भनेको पनि विद्या आर्जन गर्नु हो अर्थात् सम्बन्धित विषय पढेर, सिकेर त्यसमा अधिकतम सफलता प्राप्त गर्नु हो । त्यसैले विद्यार्थी सधैँ सिक्न इच्छुक, जिज्ञासु हुनुपर्दछ, कहिल्यै पनि आफ्नो कर्तव्यबाट विमुख हुनुहुँदैन । विद्यार्थीले विद्या ग्रहण गर्ने र त्यसलाई सही ढंगले, सही ठाउँमा, सही समयमा प्रयोग गर्न सक्नुपर्दछ । यदि पढेको विषय बुझिएन अर्थात् समझमा आएन भने पढेको कुनै अर्थ हँुदैन । शाब्दिक अर्थमा भन्ने हो भने जुन शब्द वा वस्तु जुन स्वरूपमा छ, त्यसरी नै जान्नुलाई बुझ्नु भनिन्छ । जस्तो कि क्यामेराको सामुन्नेको विद्यमान वस्तु तस्विरमा जस्ताको तस्तै देखिन्छ । समझ वा बुझाइले अध्ययन प्रक्रियामा ज्यादै महत्वपुर्ण भुमिका खेल्दछ ।

भारतका पूर्व प्रधानमन्त्री लालबहादुर शास्त्री सन् १९०४ मा एक गरीब परिवारमा जन्मिएका थिए । उनी पढाइमा निकै तेज थिए । वास्तवमा लालबहादुर किताबको किरो नै थिए । लालबहादुर घरमा बत्ती थिएन । त्यसैले उनी घर नजिकैको रेलवे प्लेटफर्मको बत्तीमा बसेर पढ्ने गर्थे । पढ्दा उनी किताबको हरफहरूमा यति एकाग्र हुन्थे कि उनलाई रेल आए गएको पत्तै हँुदैन्थ्यो । त्यसैले पनि शास्त्रीको स्मरणशक्ति निकै तेज थियो । भारतरत्न लालबहादुर जति पढाइलेखाइमा तेज थिए, त्यत्ति नै स्वाभिमानी र आत्मविश्वासका धनी थिए । उनले एक पटक भनेका नै थिएः “मेरो कद सानो भए पनि मेरो आत्मविश्वास ठूलो छ ।” 

भर्खरै भर्खरै बनारस पढ्न आउँदा एक दिन लालबहादुर साथीहरूसँग मेला हेर्न नदितिर गएछन् । तर उनीसँग डुङ्गा चढ्ने पैसा थिएन, साथीसँग पैसा मागेर डुङ्गा चढ्नु भन्दा पौडिएर नै उनी नदि पारी गएछन् । वास्तवमा लालबहादुर शास्त्री सानैदेखि एक अव्वल, स्वाभिमानी  तथा आत्मविश्वासी विद्यार्थी थिए । त्यसैले त उनले भारतको इतिहासमा आफ्नो नाम स्वर्ण अक्षरले लेखाउन सफल भए । 


हो, विश्वासले यथार्थ सृजना गर्छ । कुनै पनि कार्य योजनामा विश्वासको महत्वपूर्ण भूमिका हुन्छ, विश्वास बिना सफलता प्राप्त हँुदैन । त्यो किनभने विश्वासले नै मानिसलाई सफलतातिर अघि बढ्ने ऊर्जा दिन्छ, उत्साह दिन्छ, अटूट निष्ठा दिन्छ । त्यसैले नै विश्वासको जीत हुन्छ ।

त्यसैले याद राख्नुस्ः
यदि तपाईलाई विश्वास छ, तपाई सफल हुनुहुने छ ।
यदि तपाईलाई विश्वास छ, तपाई निर्भिक हुनुहुने छ ।
यदि तपाईलाई विश्वास छ, तपाई लोकप्रिय बन्नुहुने छ ।
यदि तपाइलाई विश्वास छ, तपाई निश्चितरूपमा लक्ष्यमा पुग्नुहुने छ ।


विश्वास त दृढसड्ढल्पको जरो नै हो । विश्वास बिना त दृढसड्ढल्पको कल्पना नै गर्न सकिँदैन । यहां अर्को मननयोग्य कुरा के भने दृढसड्ढल्प भनेको डीङ हाँक्नु होइन, धाक लगाउनु होइन, फाइँफुट्टी गर्नु पनि होइन । भेडोझैँ बिना सोचबिचार एकोहोरो हिँड्नु पनि होइन । आवेगमा हल्ला बोल्नु पनि होइन । सरल शब्दमा भन्नुपर्दा दृढसड्ढल्प भनेको गर वा मरको प्रण हो ।

तपाईलाई थाहा नै छ, ‘खेतमा जुन बाली रोपिन्छ, त्यही बाली नै भित्रायाउन सकिन्छ ।’ खेतमा धानको बीउ रोप्यौं भने धान नै फल्छ, गहुँ फल्न सक्दैन । त्यसैले धान फलाउन धान नै रोप्नुपर्छ, गहँु फलाउन गहुँ । प्रकृतिको यो सार्वलौकिक नियम ठीक यसै प्रकारले मानवीय जीवनमा पनि लागु हुन्छ । मानिसको मनमस्तिष्क पनि एक प्रकारको खेत नै त हो । जहाँ जस्तो विचारको खेती गरिन्छ, उत्पादन त्यस्तै हुने गर्छ । यदि विफलताको विचार रोपिन्छ भने विफलताको मनोवृत्ति नै उम्रिन्छ । हुर्किन्छ । फुल्छ । फल्छ । तर विफलताको विचारबाट सफलता उत्पादन हुन सक्दैन । त्यसैले विफलताको विचारबाट सफलताको आशा गर्नु भनेको सिमीको बीज रोपेर स्याउको आशा गर्नु जस्तै हो । के यो सम्भव छ ? 

तेञ्जिङ नोर्गे सेर्पा र एडमण्ड हिलारीले सगरमाथा आरोहण गर्नुपूर्व सगरमाथा चढ्ने प्रयासमा थुप्रै हिमाल आरोहीहरू सगरमाथाको फेदमा नै हराएका थिए, बेपत्ता भएका थिए । त्यसैले, त्यतिखेर सगरमाथा आरोहण अकासको फल मानिन्थ्यो, एउटा असम्भव कार्य ठानिन्थ्यो । तर तेञ्जिङ नोर्गे सेर्पा र एडमण्ड हिलारीले मानिसका लागि कुनै कार्य असम्भव छैन भन्ने मनोविज्ञान बुझे । र, सगरमाथाको शिखरलाई ‘अर्जुनदृष्टि‘–ले साध्दै दृढसंकल्पको मुठ्ठी कसे । अनि छाती फर्काउँदै सगरमाथाको शिखरतिर आफ्ना मजबुत पाइलाहरू चाले र २९ मई १९५३ का दिन ८ हजार ८ सय ४८ मिटर अग्लो, संसारको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा सबैभन्दा पहिला पाइला टेकेर ‘विजयको झण्डा’ गाडे । 


हेर्दाहेर्दै हिउँबाघहरूले तीन त्रिभुवन हल्लाइदिए, असम्भवलाई सम्भव बनाएर देखाइदिए । त्यसैले त सगरमाथा आरोहण अहिले सम्भव कार्य मानिएको छ । तर मानिसकालागि सबै कुरा सम्भव छ भनेर डोकोमा दूध दुहेर अडिँदैन । सगरमाथा आरोहणकालागि आरोहणको पूर्वाभ्यास गर्नुपर्छ । आत्मविश्वास, दृढ अठोट र आरोहणको पूर्वाभ्यास बिना कुनै श्यामे वा च्यामे सगरमाथा चढ्न सक्दैनन् । बुझ्नु पर्ने कुरा यही हो ।

याद राख्नुस्, महान् पर्वतारोही तेञ्जिङ नोर्गे सेर्पा र एडमण्ड हिलारी घुम्दाघुम्दै सगरमाथाको शिखरमा पुगेका होेइनन् । दृढसंकल्प, अथक मेहनत र लक्ष्यप्रतिको अटल विश्वासले नै सगरमाथाको शिखरमा पाइला टेकी ‘विजयको झण्डा’ फर्फराएका हुन् । त्यसैले जसले यो मनोविज्ञान बुझी आफ्नो निर्दिष्ट ‘लक्ष्य’ पूरा गर्ने दिशामा, पूरा तयारी गरेर, ‘अर्जुनदृष्टि’ साधेर, उच्च अठोटकासाथ आइपर्ने समस्याहरुलाई किनारा लगाउँदै अगाडि बढ्छ, ऊ अवश्य नै आफ्नो लक्ष्यमा पुग्दछ । यस कुरामा कुनै शंका छैन । (लेखक साइकोथेरापिष्ट तथा मेमोरी ल्याब प्रमुख हुन् ।)


Sunday, June 21, 2020

ब्रेन बाइट्स

टेल्सामा  नर्वे यात्रा
 ओम बानियाँ

०७६ सालको बडादसैं नजिकै आएको थियो । हाम्रो सम्पुर्ण परिवार स्वीडेनको मास्त्रा स्थित दिदीको घरमा दसैं मनाउन जम्मा भैसकेको थियो । मेरो नर्बे घुम्ने इच्छा थियो, भान्जाद्य सुबृत र कुशलको पनि । लण्डनबाट आएको भाइले अचानक कार्यक्रम बनायो । भाइले अनलाइनबाट नर्वेको ओस्लोमा बास बस्नको लागि अपार्टमेन्ट नै बुक गर्यो । अनि भाइ, म, दुई भान्जा र भिनाजु दिउँसो २ बजे टेल्सा कार लिएर स्वीडेनको स्टोकहोमबाट नर्बेतिर प्रस्थान गर्यौ, हाम्रो गन्तब्य थियो, ओस्लो ।


भान्जा सुबृतले गाडी हाँक्ने इच्छा गरे । नेपाल र भारतमा लेफ्ट ड्राइभ मात्र गरेको मलाई त्यहाँको सडकमा राइट ड्राइभ  गर्ने हिम्मत नै भएन । हुन त भान्जा सुबृतले लण्डनमा लेफ्ट ड्राइभ  नै गरेका थिए । तर उनी निकै सिपालु चालक थिए । भान्जा सानै उमेरका भएकाले भाइले भन्यो, खुल्ला बाटोमा तिमीले चलाऊ, पछि भिनाजुले चलाउनु हुन्छ । 

स्टोकहोमको मास्त्राबाट चिल्लो बाटोमा चिल्लो कार तुफान कुद्न थाल्यो । टमक्क मिलेका दाँत जस्ता आर्कषक घरहरु, पार्क, टलक्क टल्किने सफा सडक, ठाउँ ठाउँमा सडकको वरिपरि फूलवारीझै मिलाइका जंगल पार गर्दै हामी गन्तब्यतिर कुदिरहेका थियौं, १५० किलोमिटर प्रति घण्टाको स्पीडमा । कारको झ्यालबाट देखिएका मनोरम दृश्यहरु देखेर रमाइरहेका पनि थियौ । रोमान्च थियो । छुट्टै आनन्द थियो । 

करिब ५ घण्टाको यात्रापछि स्वीडेन र नर्वेको सीमाना आयो । सानैदेखि रक्सौल र सुनौली नाका देखेर हुर्केका हामीहरु त्यहाँको सीमाना नाका देखेर अचम्म पर्यौ । नाकामा न त प्रहरी छन्, न त कुनै कर्मचारी । साइनबोर्डमा लेखिएको छ, चेकजाँच गर्नु पर्ने समान भए, यो बाटो जानुहोस्, नपर्ने चाहीं यो बाटो । त्यो देखेर हामी सबै दंग पर्दै हाँस्यो । भिनाजुले भन्नुभयो, सुनौलीमा यस्तो भएको भए कति तस्करी हुने थियो है ?



बाटोमा हामीले धेरै नौलो कुराहरु देख्यौ । घाँस काट्दै गरेको स्वाचालित मेसिनहरु पनि देख्यौ । करिब ६ घण्टाको यात्रापछि हामी सूर्य नअस्ताउने देश भनेर चिनिएको नर्वेको राजधानी ओस्लो पुग्यौ । झमक्क रात परेको थियो । शारा ओस्लो शहर सुनशान थियो । सुनशान शहरलाई चिर्दै गाडी भने गन्तव्य खोजिमा थियो । गाडिमा जडित जीपीएसले यो बाटो जाऊ, यता मोड, फेरि उता मोड, अनि अघि जाउ भन्दै कारलाई ठीक अपार्टमेन्ट अगाडि खडा गर्यो । 

कारलाई पार्किगं गरेर हामी अपार्टमेन्ट भित्र पस्यौ । अपार्टमेन्ट स्वाचालित थियो । भाइले कम्प्युटरमा बुकिंग कोड हाल्यो । तर चाबी खुलेन ।  पटक पटक इरर देखायो । के भयो ? कसलाई सोध्ने ? हामी एकछिन रनभुल्ल भयौं । भान्जा सुबृतले पुनः अनलाइन बुकिंग हेरे । हत्तेरिका १ बुकिंग त सोमबारदेखिको पो रहेछ । भाइले अपार्टमेन्ट बुकिंग गर्दा आइतावारलाई सोमवार ठानेर बुकिंग पो गरेको रहेछ । हो । संझना शक्तिले मानिसलाई बेला बेलामा धोका दिन्छ । झुक्काउँछ । आफ्नो जीवनकालमा कुनै न कुनै बेला यसरी नझुक्कने मानिस साहेद कोही हँुदैनन् । प्रायः अनलाइन बुकिंग गर्दा यस्ता गल्तिहरु हुन्छन् । त्यसैले अनलाइन बुकिंग गर्दा सबै कुराहरु ध्यान पुराएर गर्न उचित हुन्छ । 

भाइ अलि टेन्स्ड भयो । हामीहरु चाहीँ दुःखी हाँसो हाँस्दै थियौं । भाइले कता कताबाट त्यस अपार्टमेन्टको व्यावस्थापकको फोन नं. भेटायो र सबै कुरा बतायो । उसले कोठाको व्यावस्था मिलाउने प्रयास गर्छु भन्यो । हामीले राहत महसुस गर्यौ । ओस्लोमा आफन्त तथा परिचित नेपाली तथा नर्वेजियनहरु पनि थिए । हामीलाई उनीहरुको निम्तो पनि थियो । तर, हामीलाई घरको पाहुना भन्दा होटलकै पाहुना हुन ठिक लाग्यो र स्वीडेनबाट नै अपार्टमेन्ट बुक गरेका थियौं ।

केही क्षणपछि भाइले फेरि फोन गर्यो । उताबाट कोठाहरु सबै प्याक भएकाले केही गर्न नसक्ने जवाफ पाएपछि रात काट्न त्यो चिसो रातमा हामी होटल खोज्न यत्रतत्र दौडियौं । धन्न नजिकै होटल भेटियो । तर, हाम्रो लागि निकै महंगो, एक रातको दुई कोठाको लगभग नेपाली ३० हजार नेपाली । उता २० हजार गयो, यता ३० हजार । मौसम पुस जस्तै चिसो थियो । निकै थकाइ लागेको थियो । अनि खाना खाइवरि हामी सिरक ओढेर ५० हजारको निद्रा सुत्यौं ।


भोलिपल्ट बिहान झ्याल खोल्दा टलक्क घाम लागिरहेको थियो । घामको किरणले गर्दा रुखहरुबाट तप तप शितका थोपाहरु खसिरहेका थिए ।  बिहान ८ बजे ब्रेकफास्ट गरी हामी ओस्लो शहर घुम्न निस्कियौं । शहर शानदार छ । तर मानिसहरु भने निकै पातलो । स्टोकहोम भन्दा पनि पातलो । नेर्वेको जनसंख्या निकै कम छ । ३ लाख ८५ हजार २ सय ३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको नर्वेको जनसंख्या सिर्फ ५० लाख छ । तेल र ग्याँसका कारण नै नर्वे समृद्ध बनेको रहेछ । नेर्वेमा मजदुरको ज्याला पनि निकै रहेछ । नेपालबाट ओस्लो युनिभरसिटिमा पढ्न गएका विद्यार्थीहरुले समेत काम गरेर महिनाको तीनचार लाख कमाउँदा रहेछन् । नर्वेमा आइटी इन्जिनियरहरुका लागि त हिरा कटाइ छ । त्यसो त आम्दानीका आधारमा हरेक व्यक्तीले सरकारलाई निश्चित कर अनिवार्य तिर्नै पर्छ । यहाँ कर छलेर काम गर्ने तथा लगानी गर्ने भन्ने कल्पना नगरे हुन्छ । नर्वेमा स्थायी वसोवास गर्नेहरुका लागी सरकारले उसले आम्दानीबाट तिरेको कर पेन्सनको रुपमा बुढेसकालमा फिर्ता गर्ने रहेछ । 


ओस्लो घुम्ने क्रममा बाटोमा एकाध नेपालीहरु भेट्यौं । नर्वेमा कति नेपाली छन, त्यसको गैर आवासीय नेपाली संघ नर्बेसँग पनि एकिन तथ्यांक छैन । तीन हजारको हारहारीमा नेपाली रहेको अनुमान गरिन्छ । अधिकांश नेपालीहरु ओस्लोमा नै बस्ने गर्छन् । नर्वेमा खासगरी विद्यार्थी आउँछन् । । स्वीडेनमा जस्तै नर्वेमा पनि शिक्षा निशुल्क छ । पोर्चुगल लगायतका देशबाट पार्सपोर्ट बनाएर आउने नेपालीहरुको संख्या धेरै छ । नर्वे बसाई र आम्दानीको हिसाबले युरोपकै राम्रो मानिन्छ ।

सबै भन्दा पहिला हामी ओस्लो युनिभरसिटिको मनोविज्ञान विभागमा गयांै । प्रा. डा. म्यारियन स्लेरि तथा प्रा. डा. ज्यारेन ओल्सेनेरा मेरा पुराना परिचित हुन् । मेन्टल हेल्थ विषयका उनीहरु त्यहाँका हस्ती नै हुन् । उनीहरुले आफु मनोवैज्ञानिक समस्याहरुलाई मानसिक रोग मान्नुको पक्षमा आफुहरु नभएको बताउँछन् । मेडिसिनले मानसिक समस्यालाई झन जटिल बनाएको उनीहरु लगायत थुप्रै मनोवैज्ञानिक तथा मनोचिकत्सकहरुको पनि भनाइ छ । त्यस दिन ओस्लो युनिभरसिटि घुम्दाघुम्दै दिन सकियो ।


अर्को दिन हामी राज दरवार तथा किल्ला आदि हेर्ने योजनाका साथ निक्लियौ । नेर्वेको राजदरवार देखेर त म छक्क परें । एक समान्य मानिसको जस्तै घरमा राजारानी बस्दा रहेछन् । दरवार अगाडि नै मानिसहरु घुमिरहेका छन्, तीन चार सुरक्षाकर्मी छन् । पयर्टकहरुले  सुरक्षाकर्मीहरु फोटो खिचाइरहेका थिए । मलाई पनि फोटो खिच्ने रहर लाग्यो । मैले ढोका उभिएका सुरक्षाकर्मीसँग फोटो खिचाएँ । रोयल गार्डसँग फोटो खिच्दा एक प्रकारको आनन्द अनुभूति भयो । त्यो किनभने हाम्रोतिर उत्तिबेला दरवारमा तैनाथ शाही नेपाली सेनाले दरवारको गेटबाहिरबाट भित्रतिर हेर्न पनि दिदैन्थे । 


मलाई संसारको ठूलो स्कल्प्चर पार्क ओस्लोको नमूना केन्द्र लाग्यो । हामीहरु निकै बेर पार्कमा घुम्यौ, फोटोहरु खिच्यौ, भिडियोहरु बनायौं । रमायौं । पार्कमा रमाउन पाउँदा मलाई  निकै आनन्दको अनुभूति भयो ।



नर्वे राजतन्त्रात्मक देश हो । यहाँ सेरेमोनियल राजा छन् । राजा छन् भन्ने अधिकांशलाई थाहा छ । तर, राजा र राजपरिवार कहिल्यै समाचार बन्दैनन् । राजा र राजपरिवारले के गर्छन् कसो गर्छन् कसैलाई चाँसो छैन । राजा को हो, रानी को हो ? प्रधानमन्त्री को हो ? अधिकांश नागरिकहरुलाई खासै थाहा छैन । न त उनीहरु नेपालमा जस्तो गरी बारम्बार समाचार आइरहन्छन् । न त  उनीहरु रिबन काट्ने, केक काट्ने तथा पुस्तक विमोचन गर्ने जस्ता कार्यक्रमहरुमा जान्छन् ।  न त नागरिकले नेपालमा जस्तो पहुँच दिएर उनीहरुलाई सार्वजनिक कार्यक्रममा ल्याउँछन् । यसैले पनि नर्बेका राजनीतिक व्यक्तिहरुलाई मिडियाहरुमा बारम्बार देख्न नपाइनेरहेछ । बरु आवश्क परेका खण्डमा नागरिकले उनीहरुलाई सजिलै भेट्न पाउने रहेछन् । सदनमै गएर नागरिकले आवाज उठाउन ठाउँ रहेछ ।

भिनाज्यु भन्दै हुनुहुन्थ्यो, एक पटक नर्बेका एक मन्त्रीको समाचार छापियो । सार्वजनिक यातायात चढ्दा ट्राभल कार्ड नकिनेका मन्त्री चेकिंगमा परि जरिवाना तिरेको समाचार थियो त्यो ।  भिनाज्युको कुरा सुनेर मैले आफैलाई प्रश्न गरेँः ‘के नेपालमा त्यसरी मन्त्रीलाई कारवाही हुँदो हो ?’पहिलो कुरा त नेपालका मन्त्रीले सार्वजनिक सवारी चढेर कार्यालय जाने कल्पना समेत गर्दैनन् । दोस्रो कुरा नेपालमा करोडौ अरबौंको घोटला गर्ने मन्त्रीहरु छाती फुलाएर निर्धक्क हिँड्छन । मिडियाहरुमा आएर ठुलाठुला कुरा गर्छन । अनि यस्ता भ्रष्टचारहरुलाई जोगाउन प्रधानमन्त्री स्वयं न्यायाधीश भएर लाग्छन् । 
धन्य छ हाम्रो देश ।

नर्वेको भ्रमण निकै रोमान्चकारी र ज्ञानवद्र्धक भयो । भ्रमणले नयाँ ठाउँ देख्ने अवसर मात्र होइन कि निकै आनन्द पनि दिलायो । वास्तवमा नयाँ ठाउँको भ्रमण माइण्डबोडी हेल्थका लागि निकै फाइदाजनक हुन्छ । अझ दिनभरि खटेर मानसिक कार्य गर्नेहरुले त बेला बेलामा छोटो वा लामो भ्रमण गर्न जरुरी छ । 


घुम्ने ठाउँहरु अझ कति थिए कति ? दसैं टीका अर्को दिन थियो । त्यसैले दिउँसोको २ बजे ४ दिने नर्वेको रोमान्चकारी भ्रमण सकेर हामी पुनः स्वीडेन फर्कियौं, सर्र टेल्सा कारमा । मास्त्रा आइपुग्दा रातको १० बजिसकेको थियो । आमा तथा दिदीहरु भोलिको टीकाको तयारी गर्दै थिए । फ्रेस भएपछि मैले इमेल खोलेँ । एउटा इमेल प्रा. डा. एमी स्पेक्टरको थियो । अक्टुबर २८ मा लण्डन विश्वविद्यालयको मनोविज्ञान विभाग कि प्रा. डा. एमी स्पेक्टरले विकास गरेको सि.एस.टि (कग्निटिभ स्टेमुलेसन थेरापि)को रिफ्रेसमेन्ट प्रशिक्षणको निमन्त्रणा थियो । म यस सेन्टरको एक सदस्य समेत हुँ । क्रमशः 
सम्पर्कः
https://www.ucl.ac.uk/pals/research/clinical-educational-and-health-psychology/research-groups/international-cognitive-19 

Friday, June 19, 2020

ब्रेन बाइट्स 

पेरिसका रमाइला पाँच दिन 
ओम बानियाँ 
इफल टावरको फेदमा रहेको काउण्टरमा एक घण्टाको पर्खाइपछि बल्ल हाम्रो पालो आयो । हामी लिफ्टद्धारा बिस्तारै टावरमाथि चढ्यौ । आइफल टावरमाथि बजार रहेछः क्याफे, बार, आइसक्रिम सपदेखि रेष्टुरेन्टसम्म, ग्यालरिदेखि म्युजियमसम्मको सुबिधाले पर्यटकहरुको ठूलो भिडलाई आकर्षित गरिरहेको थियो । आइफल टाबरको सबैभन्दा माथि सँसारभरिका झन्डाहरु र राजधानीको एरियल डिस्टेन्स लेखिएको रहेछ । आइफल टाबर चडनेहरुले संझनाकालागि त्यहाँका फलामे पिलर र भित्ताहरुमा आफ्ना नाम र मिति लेखेको देखियो । फ्रेन्च टेलिविजन र रेडियोले आइफल टावरको चुचुरोलाई एन्टिनाको रुपमा प्रयोग गरेकाछन्। उक्त एन्टेना सहितको टावरको उचाइ ३२४ मिटर रहेको छ । आइफल टावर साँझमा हेर्दा रमाइलो देखिने कारण त्यसमा जडिएका चम्किला बत्तीहरू रहेछन् । सुन्दर टावरलाई रातीमा समेत चम्काइ राख्न छ हजार वाटका ठूला ४ फ्लूड लाइटहरू र जेनन बल्बहरू घुम्ने गरि जडान गरिएका छन्, जसले पुरै पेरिसमाथि उज्ज्यालो छर्छन् । ३ सय २४ मिटर अग्लो आइफल टावरबाट उतिबेला हामीले पढ्दै आएको विश्वको सुन्दर शहर, सारा पेरिस देखिंदो रहेछ । हिजोसम्म कितावका पानाहरुमा, रोमान्चकता र काल्पनामा मात्र सिमित रहेको आइफल टावर आज हाम्रा आँखा अगाडि थियो । आइफल टावरबाट देखिएको मनमोहक पेरिस शहरले हामी सबैलाई मन्त्रमुग्ध बनाएको थियो, सबै पर्यटकहरु दृश्य हेर्न र फोटो खिच्न व्यस्त थिए । 


फ्रान्सको पेरिसमा रहेको आइफल टावर विश्वकै एक महत्वपूर्ण पर्यटकीय गन्तव्य हो, यस विश्व प्रसिद्ध टावरलाई हेर्न विश्व भरका मन्छेको त्यहाँ धुइँचो हुने गर्द छ । हरेक वर्षमा ६० लाख भन्दा बढी विदेशी पर्यटकहरू पुग्ने गर्दछन् । यो विश्वको मानवनिर्मित ७ आश्चर्यमध्येको एक आश्चर्य हो । धेरैलाई सुन्दा अचम्म लाग्न सक्छ, यो टावरमाथि कुनैबेला जर्मनीका तानाशाह हिटलरले कब्जा गरेका थिए ।गुस्ताव आइफलले निर्माण गरेको यो टावरको निर्माणमा २ वर्षभन्दा बढी समय लागेको थियो । यसलाई फ्रान्सको संस्कृतिको प्रतिक मानिन्छ । सन् १८८९ मा निर्माण सम्पन्न भएको यो टावरले १ सय ३० वर्ष सफलतापूर्वक पार गरेको छ । जब आइफल टावर निर्माण भयो, त्यतिबेला यो टावर संसारकै अग्लो संरचना थियो । 


हामी केही क्षण टावरको शिखरमा रमाएपछि तल झर्यौ । घाम लागे पनि चिसो हावा चलेको थियो । केही फोटोहरु खिचेपछि हामी आइफल टावरको कम्पाउण्ड बाहिर निस्किर्यौ । बाहिर सडकको किनारामा आइफल टावर बेच्नेहरुको बाक्लो घुइँचो थियो । एउटा कालेले बुबाले ढाका टोपी लगाएको देखेर होला, नेपालीमा भन्यो, नमस्ते १ यो लिनुहोस् आइफल टावर २० युरोमा । हामीले हिन्दी बोल्ने त युरोपमा धेरै देखेका थियौं, तर आइफल टावरमा नेपाली पनि बोल्ने अफ्रिकन मुलको काले देखेर हामी अचम्म पर्यौ । मैले भनँे चाहिँदैन । ऊ हाम्रो पछि पछि आयो, १५ युरो दिनुहोस् । भिनाज्युले भन्नुभयो, १० युरोमा दिने हो ? हुन्छ भन्दै उसले दियो । 

सडक किनारमा परिस शहर घुमाउने बिग बस तथा पेरिस टुकटुकहरु थिए । आमाबुबा, दिदीभिनाज्यु र म, हामी पाँच जना थियौं । मैले टुकटुक रोजँे । अनि हामी पेरिस भ्रमणको पहिलो दिन पेरिस टुकटुकमा केही महत्वपुर्ण ठाउँहरु घुम्ने योजना बनाऔं । टुकटुक अगाडि बढ्यो, टुकटुकवाला निकै मस्त व्यक्ति थियो । उनले फ्रान्सको इतिहास बताउँदै टुकटुक कुदाउन थाल्यो । फराकिलो सडकका दायाँवायाँ लामबद्ध कटिङ्ग मिलाइएका रुखहरु,  कलात्मक घरहरू, ठाउँठाउँमा सुन्दर बागबगैचाहरू, फराकिला चोक र गल्लीहरूमा बनाइएका विशाल स्मारक र पार्कहरू, जता हेर्यो उतै फोटो खिचूँ खिचूँ लाग्ने मनमोहक दृश्यहरुमा पौडी खेल्दै  र धेरै रमाइला चोक, आकर्षक मोनुमेन्ट र सुन्दर पार्कहरुलाई छिचोल्द टुकटुक हुइँकिरहेको थियो । 

लगभग तीन किमिको दूरीपछि हामी ऐतिहासिक कला र सँस्कृतिले सजिएको भब्य संग्रालय लूब्र दरबारको परिसरमा पुग्यौ । हामीसँग समय थोरै हेर्नुपर्ने सिङ्गै बिशाल कला संग्रालय । लामो भिडमा लामबद्धभएर हामी पालो आफ्नो पर्खियौ, मोनालिसालाई भेट्ने रोमान्चकासाथ । कलाकृतिको राजधानी मानिने पेरिस र त्यसको मुटु लुब्र दरवार । पर्यटकहरुको एउटा ठूलो भिड क्यामेरा र मुवि क्यामेरा चलाउन ब्यस्त देखिन्थे । हामी मोनालिसालाई भेट्नेहरुको भिडतिर लाग्यौ । हिजोसम्म कौतुहलता र कल्पनाको मोनालिसा, किताबका पानाहरुमा, पोस्टकार्डहरुमा सिमित मोनालिसाको बिम्ब आज आँखा अगाडिको थियो । हेर्दा सामान्य नै लाग्ने यस चित्रका कति प्रति पोस्टकार्ड बने, कति प्रति तस्बिर बने त्यो सँख्याले करोड नाग्ला । धेरै लेखिए र लेख्दै छन् अझै मोनालिसाका फ्यानहरु । लियोनार्दो दा भिन्ची अमर छन् मोनालिसासँगै ।


लुब्र दरवारको घुमाइ सकेर हामी खानाको बन्दोबस्त तिर लाग्यो । आमाबुबा शाकाहारी भएकाले इण्डियन वा नेपाली रेष्टुराँको आवश्यक थियो, टुकटुकवालाले नेपाली रेष्टुराँको बारेमा बतायो, अनि हामी काठमाडौं रेस्टुराँमा गयौ । दालभात खार्यौ ।

पेरिसमा धेरै आफन्तहरु थिए, साथीहरु थिए, तर आफन्त तथा साथीहरुको घरमा बस्नु भन्दा होटलमा बस्न ठीक ठानेर बेलायतमा बस्ने भाइले आइफल टावर नजिकै ५ दिनका लागि एक अपार्टमेन्ट बुक गरिदिएको थियो । बबाले नेपाली रुपैयाँमा हिसाब गर्नुभयो, ५ दिनको डेढ लाख रुपैयाँ । दिदी हाँस्दै भन्नुभयो, बुबा यसरी नेपालीमा हिसाब गर्ने हो भने त यहाँ न केही किन्न सकिन्छ, न कतै घुम्न सकिन्छ । हिजो राती एअरपोर्टबाट आउँदा टैक्सीले १०० युरो लिएको थियो, त्यसको नेपाली १३ हजार जति हुन्छ ।

फेसबुकका कारण पेरिसमा बस्ने आफन्त, छिमेकी तथा साथीहरुले हामी पेरिस आएका थाहा पाए, सबैले आआफ्नो घर बोलाउन थाले । साँझ पख हामी टे«न मार्फत पार्वती मल्लको घरमा रातीको खाना खान गयौं । बुढा आमाबालाई धेरै दौडधुप गर्न गाह्रो थियो, चाहेर पनि धेरै आफन्त तथा साथीभाइलाई भेट्न सकेनौं । कतिपय साथी तथा छिमेकीहरु खोज्दै हामीलाई भेट्न आए ।  


पेरिसमा हाम्रो बसाइ ५ दिनको थियो । ५ दिनमा पेरिस हेरिसक्नु पर्ने भएकाले अर्को दिन बिग बसको खुला छतमा बसेर सुन्दर शहर पेरिस हेर्न निक्लियौं ।  छतमा गोराहरुको बीचमा हामी मात्र नेपाली थियौ । सडकमा पेरिसका सबै पर्यटकीय स्थलहरुलाई समेटने गरि बसहरु कुदिरहेका थिए । बसको अडियो सिस्टमबाट हरेक ठाऊँको बारेमा दिइएको जानकारीले हामीलाई रोमान्चित बनाइरहेको थियो । जति घुमेपनि घुमिरहूँ जस्तो लाग्ने पेरिसलाई दिनभरि खुला बसको छतबाट हेर्दे हामीहरु साँझ फर्कियौ ।

तेस्रो दिन हामी मेट्रो टे«न र सार्वजनिक बसमा घुम्यौं । चौथो दिन पेरिसमा कार्यरत छिमेकी भाइ कृष्णा पराजुली र बहिनी पार्वती मल्लसँग कतै पैदल त कतै बसमा दिनभरि घुम्यौ । पाँचौ दिन फेरि त्यही टुकटुकवाला केटो आयो । फरर्र अंग्रेजी र फ्रेन्च बोल्ने त्यो रोमानियन केटो हामीसँग निकै प्रभावित भएको थियो । केही वर्ष पहिला ऊ नेपाल घुम्न गएको रहेछ । फेरि पनि उसको नेपाल आउने इच्छा रहेछ । त्यसदिन पनि हामी उसैको टुकटुकमा घुम्यौ । तर त्यस दिन उसले पहिलो दिनको भन्दा आधा पैसा कम लियो । 


बेलायत, स्वीडेन, फ्रान्स, नर्बे, जर्मन, स्वीजरलैण्ड तथा फिनल्याण्ड आदि देशहरुमा रोमानियनहरु खुब देखिन्छन् । सडकमा भिख माग्ने रोमानियनहरु पनि थुप्रै छन् । भिनाज्यु हाँस्दै टुकटुकवालालाई भन्नुभयो, तिमीहरुकोतिर त भिख माग्न नजाने बिहे गर्ने केटी नै पाइँदैन रे हो ? ऊ केही बोलेन, खिस्स हाँस्यो मात्र ।

२०, २५ वर्ष पहिला हाम्रो नेपालमा कुनै पनि नेपालीले भिख मागेको देखिदैन्थ्यो । नेपालीहरुले भिख मागेर खानु भन्दा मर्न निको ठान्थे । भिख माग्न बिहार र युपीतिरबाट आउँथे । तर अहिले अनेक बहाना बनाएर भिख माग्ने संख्या बढ्दै गएको छ । सरकार नै अन्तर्राष्ट्रिय नामुद भिखारी भएपछि भिखारीको संख्या यसरी बढ्नु कुनै अनौठो कुरा भएन ।

२ बजेतिर हामी आइफल टावर नजिकै रहेको अपार्टमेन्टमा आयौं । नजिकैको सपिंग मलबाट केही खरिदारी गरी स्वीडेन फर्किने तयारी गर्न थाल्यौ । साँझ ६ बजेको फलाइट थियो । अनि ३ बजे नै टैक्सी लिएर आइफल टावरलाई बिदा गर्दैै एअरपोर्टतर्फ लाग्यौ । क्रमश:
 Watch This Video!
https://www.facebook.com/om.baniya.3/videos/1426678394150471/?t=11


               

Thursday, June 18, 2020

ब्रेन बाइट्स

बाल्टिक सागरको सौंदर्य
ओम बानियाँ 

०७६ साल भाद्र ३१ गते । पानीजहाज आफ्नै रफ्तारमा, बाल्टिक सागरमा गुडिरहेको थियो, स्टोकहोमको समुन्द्रीतटबाट फिनल्याण्डको हेलसिन्कीतर्फ । हाम्रो क्याबिन दोस्रो तल्लामा थियो । बाल्टिक सागरको सौंदर्य हेर्न हामी लिफ्टबाट दसौं तल्लामा गयौं । दसौं तल्लाबाट सिढी मार्फत एघारौं तल्लामा गयौं ।


आहा ! बाल्टिक सागर ! बाल्टिक सागरको सौंदर्यले मेरो मनमस्तिष्कमा आनन्दको वर्षा भयो । मेरा आँखा मन्त्रमुग्ध चारैतिर रमाउन थाले । जहाजको छतमा चिनियाहरुको एक ग्रुप पनि थियो । उनीहरु पनि रोमान्चित हुँदै क्लिक क्लिक फोटो खिचिरहेका थिए । अलि अलि अंग्रेजी बोल्ने एक चिनिया महिलाले मलाई फोटो खिचिदिन अनुरोध गरिन् । मैले उनको जोडीको केही फोटोहरु खिचिदिएँ । उनले सोधिन, कहाँबाट आएको ? मैले भनेँ, नेपालबाट । उनको अनुहारमा खुसीको लहर दौडियो, उनले खुसी हँुदै भनिन्, नेपाल निकै सुन्दर छ, पोहोर मात्र हामी काठमाडौं, पोखरा र लुम्बिनी गएका थियौं ।मलाई पनि किन हो कुन्नी चिनियाहरु भेटिदा आफ्नै टोलका छिमेकीहरु भेटिए जस्तो लाग्यो । केही वर्ष यता चिनिया पर्यटकहरुको ओहिरो विश्वभरि छ । युरोप यात्राको दौरान स्वीडेन, फिनल्याण्ड, स्वीजरल्याण्ड, फ्रान्स, स्टोनिया, नर्वे, जर्मन तथा बेलायत जताततै चिनियाहरु देखिए । नेपालमा पनि चिनियाहरु आउने गर्छन् । तर जुन हिसाबमा नेपाल आउनु पर्ने हो त्यो हिसाबमा आउने गरेका छैनन्, कमजोरी नेपाल सरकारको हो । त्यसैले छिटो भन्दा छिटो नेपाल सरकारले बढी भन्दा बढी चिनिया पर्यटकहरु नेपाल भित्राउने ठोस योजना बनाउनुपर्छ । 


जल, जंगल, जडीबुटी तथा पर्यटन नै नेपालको विकासको स्रोत हो । यी प्राकृतिक स्रोतको उचित सदुपयोग गरेर नै नेपाल समृद्ध बन्न सक्दछ । तर जति सरकार आए गए, सबै सरकारको ध्यान यत्तापट्टि होइन, भिखमा नै केन्द्रित छ । भिख मागेर सडक बनाउने रे ? मिख मागेर पुल बनाउने ? भिख मागेर रेल कुदाउने रे ? भिख मागेर सडकको खाल्डो पुर्ने रे ? भिख भिख भिख सरकारको दिमागमा भिख बाहेक बाँकी केही छैन । भिख मागरे पनि कोही धनी भएको छ र ?

चिसो हावाको सिरोटोले हानिरहेको थियो, आमाबबा चिसो भयो भन्दै तल क्याबिनतिर जानु भयो । म र भान्जा छतमा नै थियांै, मेरा आँखा अझै अगाएका थिएनन् । घरि यताको दृश्यमा त घरि उताको दृश्यमा नाचिरहेका थिए । रात छिप्पिदै गयो, अनि हामी पनि तल झर्यौ ।

भोक लाग्यो । आमाबुबा शुद्ध शाकाहारी भएकाले खानाको समस्या थियो । जहाजमा शुद्ध शाकाहारी भोजन पाउने कुरै थिएन । त्यसैले हामीले घरबाटै रोटीतरकारी ल्याएर आएका थियौं । जहाजमा खाना ल्याउन पुर्ण बन्देज छ । त्यो कुरा हामीलाई पहिल्यै थाहा थियो । तर पनि दिदीले लिएर जाऔं, अनुरोध गरौलाँ, लग्न दियो भने दियो, नदिए फाल्देला भन्दै रोटीतरकारी आदि बनाएर झोलामा हाल्नु भएको थियो । जहाज चढ्ने बेलामा चेकजाँचमा हामी लाइनमा थियौं । झोलाको चेक जाँच भयो, पुरुष कर्मचारीले महिला कर्मचारीतिर हेर्दै स्वीडिसमा भन्यो, झोलामा खाना छ । भान्जाले बुझे । महिलाले मेरो पासपोर्ट हेरिन् । र, अंग्रेजी भनिन्, तपाईंहरु नेपालबाट आएको हो ? नेपाल धेरै सुन्दर छ । भिनाजुले फ्याट्ट भन्नु भयो, हाम्रा बाआमा शाकाहारी हो । त्यसैले खाना लिएर आएको हौं । ऊ मुसुक्क हाँसी र भनी, शाकाहारी खाना धेरै राम्रो । ऊ हामीसँग धेरै कुरा गर्न चाहन्थी । तर, ऊ ड्युटीमा थिई, तर पनि हात हल्लाउँदै हामीलाई बिदा गरी । 


आमाबुबा धेरै पहिलादेखि नै शाकाहारी हो । हुन पनि शाकाहारी खाना नै मानिसको प्राकृतिक आहार हो । माछामासु मानिसको स्वभाविक आहार होइन । मानिसको शरीरको बनौट, दाँत, नंग्रा, छाला, आन्द्रा र पाचन क्रियाका कुनै पनि अंग मांसाहार पचाउन सक्ने प्रकृतिका नै छैनन् । मांसाहारका फाइदा भन्दा बेफाइदा धेरै हुदाहुदै पनि स्वादका कारण माछामासु त्याग्न सकेको छैन मानिसले । मांसाहारको धेरै बेफाइदाहरु छन् । मांसाहार सेवनले हृदयाघात, कोलेस्ट्रोल, उच्च रक्तचाप, कलेजो, पेट तथा आन्द्राको क्यान्सर बढेको, मानिसमा क्रोधी, स्वार्थी एवं हिंस्रक, अस्तव्यस्त र तनावपूर्ण लक्षण बढ्दै गएको अनेक अध्ययनले देखाएको छ । मासु मात्र होइन, दुःध र दुग्धजन्य पदार्थहरु पनि मानिसलाई फाइदाजनक छैनन् । एक त अहिले शुद्ध दुःध नै पाइँदैन, अर्को कुरा दुःध बालक, श्रमिक तथा खेलाडीहरुको लागि मात्र उत्तम छ । शारीरिक श्रम कम गर्ने मानिसलाई उपयुक्त छैन । त्यसैले स्वस्थ रहन जनवारजन्य पदार्थ होइन, वनस्पतिजन्य खाद्यपदार्थ (प्लान्ट बेस्ड फुड) सेवन गर्नुपर्छ । माछा, मासु र अण्डाको ठाउँमा चना, भटमास, बदाम तथा ओख्खर, गाईभैंसीको दुःधको ठाउँमा नरिवलको दुःध सेवन गर्नु उत्तम हुन्छ ।

वास्तवमा स्वस्थ रहन तथा रोगहरुबाट मुक्त हुन अमृत खाद्यपदार्थलाई सम्पूर्णरुपमा (होलसम फुड) खानुपर्छ । प्रकृतिले कहिल्यै गल्ति गर्दैन । तर मानिसले प्राकृति खाद्यपदार्थलाई विकृत बनाएर गल्तिगरेका छन् । प्रकृतिले उखु, मकै तथा खजुर बनाएको छ । तर मानिसले चिनी बनाएका छन् । त्यसैले स्वस्थ रहन राइस होइन, ब्राउन राइस, चिनी होइन, भेली, आलुचिप्स होइन, आलु, पाउरोटी होइन, सुक्का रोटी, पकौडा होइन, अंकुरित चना आदि खाने गर्नुपर्छ ।

खाना खाएपछि हामी जहाजको चौथो तल्लामा रहेको विशाल सपिंग कम्पेल्समा घुम्न थाल्यौ । ठुलो बजार थियो त्यस तल्ला भाटभटेनी भन्दा पनि ठुलो । पाचौं तल्लामा रेस्टँुरा थियो । अनि अर्को तल्लामा डान्स चलेको थियो, देशविदेशका सांस्कृतिक झाँकीसहितको । पर्यटकहरु बिन्दास थिए । खुब रमाइरहेका थिए । तर हामीलाई नाच हेरे निद्रा खराब गर्नु भन्दा क्याबिनमा आएर सुत्न नै ठीक लाग्यो । 

रातभरिको यात्रापछि बिहान उठेर दिसापिसाब तथा स्नान गरेपछि हामी कफी लिएर जहाजको बार्दलीमा बसेर बिहानको घाम ताप्दै स्टोनियाका दृश्यहरु हेर्न थाल्यौ । घाम शरीरका लागि नै निकै आवश्यक छ । मानिस विमार हुनुको पछाडिको एक प्रमुख कारण कपडाले शरीर पुरा ढाकेर पर्याप्त घाम नलिनु पनि हो । त्यसैले रोगबाट बच्न हरेक दिन आधा घण्टा घाम तात्नु निकै उपयोगी हुन्छ । बुझनु पर्ने कुरा के भने हरेक प्राणीको ऊर्जाको स्रोत भनेको नै घाम हो । हामीले अन्न तथा वनस्पति आदिबाट लिने ऊर्जा भनेको घामको ऊर्जा नै हो । 

सूर्य मास्तिर चढ्दै गए । बिहानको ८ बज्यो । अब हाम्रो गन्तब्य पुग्न २ घण्टा बाँकी थियो, बिस्तारै फिनल्याण्डको हेलसिन्की क्षितिजमा देखिन थाल्यो । अनि हामी जहाजको छतमा चढ्यौ । चिनियाहरु पहिल्यै छतमा आएर खुब रमाइरहेका थिए । 

१० बजे जहाज हेलसिन्की बन्दरगाहामा पुग्यो । हामी जहाजबाट उत्रियौ र होपअन होपअफ बसमा दिनभरि हेलसिन्की घुम्ने योजना बनायौं । आमाबुबा शाकाहारी भएकाले पहिला नै खानाको व्यावस्था गर्नु महत्वपुर्ण काम थियो । अनि गुगलमा नेपाली वा इण्डियन किचन खोज्न थाल्यौं ।  धेरै दौडधुपपछि गुल्मीका दम्पतीले खोलेको नेपाली किचन भेटायौं । हामीले त्यहाँ दालभातको स्वाद लियौं । बुबाले रोटीखानु भयो । एउटा अचम्मको कुरो के भने त्यहाँ खोइरेहरु पनि भातदाल खाना आउँदा रहेछन् । दाललाई सुपको रुपमा पिएको हामीले देख्यौं ।

फिनल्याण्डमा मेरो थुप्रै परिचितहरु थिए, ती मध्य न्युरोसाइकोलोजिष्ट प्रो.डा. रित्वा लाक्सोनेन एक हुन् । उनीबाट पनि न्युरोसाइकोलोजिकाबारेमा धेरै नयाँ कुराहरु सिक्दै आएको छु । उनी मार्फत नै मैले अक्टोबर २४, २५ गते हुन गइरहेको ३१ औं अन्तर्राष्ट्रिय साइक्याएट्री तथा मेन्टल हेल्थ सेमिनारको निम्तो पाएको थिएँ । हामी हेलसिन्की विश्वविद्यालय लगायतका प्रमुख ठाउँहरु सेनेट स्क्वायर, फिनिस आर्किपेलगो,  स्काइह्वील आदि घुम्यौं । 

फिनल्याण्डको भ्रमण पछि हामी पुनः पानीजहाजमा नै स्वीडेन फर्कियौं ।मलाई स्वीडेन र फिनल्याण्ड उस्तै उस्तै लाग्यो । दुवै शान्त, सुन्दर र समृद्ध । दुवै लोककल्याणकारी राज्य । तर स्वीडेन संवैधानिक राजतन्त्रात्मक मुलुक हो भने फिनल्याण्ड प्रधानमन्त्री कार्यकारी प्रमुख भएको गणतान्त्रिक मुलुक । क्रमशः 
 Baltic Sea In Video:



Wednesday, June 17, 2020

ब्रेन बाइट्स

आहा ! बिपीको सपना
ओम बानियाँ 

दौ २६ गते रातीको ८ः३० बजे हामी स्टोकहोमको अलरण्डा एअरपोर्टबाट झिलिमिली सफा र शान्त शहरलाई चिर्दै सिगटुना नगरपालिकाको मास्त्रातर्फ लाग्यौ । दिदीको घरमा पुग्दा रातको करिब ९ बजिसकेको थियो । दिनभरिको हवाइ उडानले निकै थाकेका थियौ । खाना खाइवरि छिट्टै सुत्यौ ।


बिहान आमाबुबा, दिदी, भान्जा र म बाहिरतिर घुम्न निस्कियौ । भदौको पहिलो सातामा पनि त्यहाँ चिसो बढिसकेको थियो । घाम लागेपनि सिर्रर चिसो हावा चलेको थियो । दिदीले भन्दाभन्दै पनि मैले कान छोप्ने टोपी नलगाएकोले कान केही चिसो भयो । दिदीको घर नजिकै एउटा सानो सुन्दर पार्क थियो । अलि अगाडि प्राथमिक स्कुल थियो । आहा १ कति राम्रो स्कुल । स्कुल देखेर हामी मन्त्रमुग्ध भयौ । स्कुलबाट २ सय मिटर अगाडि एउटा सार्वजनिक व्यायाम पार्क थियो । म र भान्जा केही क्षण व्यायाममा रमायौ । बुबा झुलामा बस्नुभयो । आमाले हल्लाइदिनु भयो । भान्जा हाँस्न थाले । अलि अगाडि अर्को स्कुल थियो । ५ सय मिटर अगाडि लाइट सहितको भव्य स्टेडियम थियो । स्टेडियम भित्र ससना केटाकेटीदेखि बुढापाकाहरु समेत आआफ्नो रुचिका खेलहरु खेलिरहेका थिए । एउटा सानो वस्तीमा समेत यत्रो स्टेडियम देख्दा हामी दंग पर्यौ । फेरि अर्को स्कुल आयो । भान्जाले भने, यो जिम्निासियम (स्कुल ) हो । यहाँ ११, १२ कक्षाको पढाइ हुन्छ । यत्रतत्र सानाठुला स्कुलहरु देख्दा लाग्थ्यो, स्वीडेनमा वस्तीहरु भन्दा स्कुलहरु बढि छन् ।

दिदी, आमा र बुवा: मास्त्रा सेन्टरमा 

हामी छोटो पैतल यात्रामा थियो । सुन्दर, सफा र टलक्क टल्किने सडक । सडक किनारमा फूलेका फलेका अनेक थरिका बोटविरुवा । ठाउँ ठाउँमा उस्तै उस्तै चिटिक्क परेका घर र रमणीय पार्कसहितको सून्दर बस्तिहरु छिचल्दै हामी मास्त्रा सेन्र्टम अर्थात मास्त्रा सेन्टरको बजारमा पुग्यौ । सपिंग गर्यौ । र, अर्को बाटो घुम्दै घर पर्कियौ । गाउँको सानो बाटोमा पनि सडक बत्ति थियो । गाउँको भित्री बाटो, जहाँ ट्राफिक लाइट छैन, त्यहाँ मानिसले बाटो काट्दा टाढै गाडी रोकिदिने अनुशासित चालक देखेर हामी दंग पर्यौ ।

बाटोमै राजदरवार

अर्को दिन राजधानी स्टोकहोम घुम्ने योजना बन्यो । बिहान खाइबरि दिदी र ठूलो भान्जा कुशल टे«नमा र भिनाजु, आमाबबा, कान्छा भान्जा क्रिशल र म कारमा निक्लियौ । पहिला हामी ड्रोटिंगिंगहम प्यालेस घुम्यौ । यो निकै प्रसिद्ध पर्यटकीय क्षेत्र हो । त्यहाँबाट हामी पार्लियामेन्ट हाउस तथा राज दरवार पुग्यौ । स्वीडेनको राजदरवार देख्दा अनौठो लाग्यो । दरवार चारैचिर न त गोली गठ्ठासहित सैनिक तैनाथ थिए, न त प्रहरी थिए । दरवार सडकको किनारमा थियो । नजिकैबाट गाडीहरु हिँडिरहेका थिए । दरवार र पार्लियामेन्ट हाउस फन्को लगाए पछि हामी मुख्य बजारतिर लाग्यौ । बजारका घरहरु पनि टम्म मिलेका दाँत जस्ता । सफासुग्घर फराकिलो बाटो । न कतै प्रहरी न त कतै भिडभाड र हल्लागुल्ला । अनि जनजीवन चाही स्वाचालित रुपमा चलेको जस्तो देखिन्थ्यो


स्वीडेनका सडक मात्र होइन, रेल तथा बस स्टेसन, सपिंग मल, कार्यालय सबै अपांगमैत्रि देखियो । बुझ्दा स्वास्थ्य र शिक्षा सबैको पहुँच रहेको थाहा भयो । विद्यार्थी, बालक, सुत्केरी तथा बेरोजगारी भत्ताको व्यावस्था रहेछ । सबै भन्दा महत्वपुर्ण कुरा के भने यहाँ कुनै पनि मेधावी विद्यार्थी पैसाको कारण आफुले चाहेको विषय पढाइबाट बंचित हुनु पर्दैन । हेरेँ, मैले त विपीको प्रजातान्त्रिक समाजवाद यहाँ पो लागु भएको देखेँ । यदि नेपाली काँग्रेसका नेताहरुले विपीको सिद्धान्त अनुसार कार्य गरेको भए, अहिले नेपाल स्वीडेनको बाटोमा अगि बढ्ने थियो । र, अहिलेसम्म नेपाल सुन्दर, शान्त र समृद्ध भैसकेको हुने थियो । 

के छैन र नेपालमा ? नेपाल प्राकृति साधानस्रोतले निकै धनि छ । छैन त राजनीतिमा ईमान्दारिता । बेइमान राजनीतिका कारण नै प्राकृतिक साधनस्रोतले यति धनी हुँदा पनि नेपालको विकास हुन सकेन । प्रगति हुन सकेन । पछिल्लो ३०, ४० वर्षमा नेपाल भन्दा निकै गरीब र कमजोर देशहरुले समेत आर्थिक विकासको अकाश छुदै गर्दा नेपाल भने जहाँको तहीं छ । यसरी नेपालको प्रगति हुन नसक्नुको मख्य कारण हो,  नेपालको असक्षम राजनीति ।

दिदि- भिनाजु र  भान्जाहरू 

विकास र समृद्धिका नाममा नेपालमा अनेक राजनीतिक प्रयोगहरु भए । पंचायती व्यावस्था आयो, ३० वर्ष शासन गर्यो । बहुदलीय पजातन्त्र, १३ वर्ष शासन गर्यौ । पुनः सक्रिय राजतन्त्र आयो । र, अहिले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र छ । तर नेपालमा जुनतन्त्र आए पनि नेपालको राजनीति इमानदार, दूरदर्शी र सक्षम हुन सकेन । आफ्नै खुट्टामा उभिन सकेन, सकिरहेको छैन । 

हो, हरेक पार्टीका नेताहरुले नेपालको विकास र समृद्धिका ठूल्ठूला कुरा गर्छन् । सिंहझै गर्जिएर आकाशको तारा झार्ने भाषण ठोक्छन् । तर कुन विकास किन कसरी कहिले गर्ने भन्ने योजनाप्रति उनीहरुको कुनै चाँसो छैन । ज्ञान पनि छैन । वास्तवमा नेपाली राजनीतिमा कन्ट्री फस्र्टको भावना नै छैन । नेपाली राजनीति पार्टी फस्र्ट, गुट फस्र्टको भावनाले ओतप्रोत छ । पछिल्लो ३० वर्षको इतिहास पल्टाउने हो भने नेपाली राजनीतिले देशको भन्दा पनि आफ्नो पार्टीको, आफ्नो र आफ्नो गुटको हित र विकास गरेको देखिन्छ । 


फर्किदा कुशल भान्जा र म टे«नमा आयौ । हामी बसेको सिटको अलिपर एक जना महिला थिइन् । भान्जाले भने, मामा ऊ त्यो मन्त्री हो । यहाँ त मन्त्रीहरुलाई बस तथा रेल जस्ता सार्वजनिक सवारी साधानमा समेत यात्रा गरेको भेटिन्छ । पछि थाहा भयो एक समान्य कर्मचारी जस्तो गरि रेलमा यात्रा गर्ने ती महिला स्वीडेनकी शिक्षा मन्त्री अन्ना एकस्ट्रोम रहेछिन् ।
म दंग परेँ ।

तत्कालै मेरो मनमस्तिष्कमा एकाएक महगां चिल्ला गाडीहरुमा साइरन बजाउँदै लावालस्करसँगै हिँड्ने मन्त्री र तिनका झोलेहरु अनुहार नाच्न थाले । चित्रबहादुर केसीलाई सम्झेर हामीकहाँ पनि कोही त छन् नि भनेर मनलाई सानत्वना दिएँ ।

गाडी मास्त्रा स्टेसनमा रोकियो । मास्त्राबाट हामी ठुलो बसमा  घरतर्फ लाग्यौ।   
अन्तमा स्वीडेन संवैधानिक राजतन्त्रात्मक बहुदलिय प्रजातान्त्रिक मुलुक हो । उत्तरी धुर्वमा पर्ने हुनाले निकै जाडो छ । असोज कात्तिक महिनादेखि नै यहाँ बरफ पर्न थाल्छ । ४ बजे नै साँझ पर्छ । यस लोककल्याणकारी मुलुक २१ प्रशासनिक जिल्ला (काउंटी) र जिल्ला अन्तर्गत  नगरपालिका(कम्युन)मा बाँडिएको छ । क्रमशः 
 
https://www.facebook.com/om.baniya.3/videos/1442557149229262/




Tuesday, June 16, 2020

ब्रेन बाइट्स 

युरोपको यात्रा
यति एअरको तातो हावा 
 ओम बानियाँ
न्तब्य थियो, युरोप । २०७६ साल भदौ २४ गते बिहानै गौतमबुद्ध एअरपोर्ट भैरहवामा पुग्यौ हामी तीन जना, आमा, बुबा र म, काठमाडौंका लागि, काठमाडौंबाट स्वीडेन, बेलायत अन्य सेनजेन देशहरु घुम्न, पारिवारिक भेटघाट र दसैंतिहार मनाउनका लागि । ८.५५ को उडान थियो । हामी ८ बजे नै एअरपोर्ट पुगिसकेका थियौ । तर, यति एअर आधा घण्टा पैतालिस मिनेट गर्दा गर्दै डेढ घण्टा नै डिले भयो । प्रतिक्षालयमा नेपाल अस्र्टिच फार्मका संचालक सीपी शर्मासँग भेट भयो तीन वर्ष पछि । भेट भयो, प्रेम नगरका दाई विष्णु पाण्डेका बुढाबुढीसँग पनि । बुबाले सोध्नु भयो, कता हिँडेको ? उनले भने, अस्ट्रेलियातिर । 


प्रतिक्षा गर्न निकै गारो हुन्छ, तर यसको विकल्प थिएन । समयमै गौतमबुद्ध अन्तर्राष्ट्रिय एअरपोर्ट बनेको भए हामी एअरबसमा सिधै दोहातिर जाने थियौ, काठमाडौं जानु नै पर्दैन्थ्यो । पर्यटन तथा नागरिक उडड्यान मन्त्रीले जति गफ लगाए पनि गौतमबुद्ध अन्तर्राष्टिय एअरपोर्टको निर्माणलाई हेर्दा अझ एकदुई वर्ष एयरपोर्ट संचालनमा आउला जस्तो देखिँदैन्थ्यो । 

साढे दस बजे बल्ल जहाज आयो । हामी जहाजमा चढ्यौ । पर्खाइले थकित हामीलाई कतिखेर काठमाडौं पुग्ने हतार थियो । तर कतिपय यात्रीहरुले जहाज चढ्दै गर्दा सेल्फी लिँदै थिए । पक्का पनि उनीहरुले काठमाडौं जाँदै गर्दाको अवस्था भन्दै फेसबुकमा फोटो हाले होलान् । नेपालमा फेसबुकले धेरैलाई लति बनाएको छ । फेसबुकमा फोटो हाल्न सेल्फी लिँदा कतिको ज्यान पनि गएको छ । त्यसो त फेसबुकले आन्तरिक पर्यटन पनि बढाएको छ । कतिपय मानिसहरु त फेसबुकमा फोटो हाल्नका लागि पनि घुम्न जान्छन् । जहाज भित्र आमाबा दायाँ तिर बस्नु भयो । म वायाँतर्फ । हाम्रो पछिपट्टि सीपी शर्माको सीट थियो । जहाज उढ्यो । उफ गर्मी ! जहाज भित्र चिसो हावा चल्ने ठाउँमा तातो हावा चल्यो । सबै कराउन थाले । एअर होस्टेसहरुले पाइलटलाई खबर गरे । तर जहाजको एसी ठीक भएन । कराउँदै र पसिना पुछ्दै काठमाडौं पुगियो । र, नेपालको हवाइसेवा यस्तै हो भनेर आआफ्नो बाटो लागियो । तर, मलाई मात्र होइन यति एअरको त्यो उडानमा यात्रा गरेका जो कोहीलाई डिमेंसिया जस्ता रोगहरु नलागेको खण्डमा नमर्दासम्म त्यो क्षण सम्झना रहिरहन्छ । यहाँ उल्लेखनीय कुरा के भने मानिसको स्मरण शक्ति भावनाबाट प्रभावित हुन्छ । त्यसैले मन छुने अति राम्रो भावना वा अति खराब भावना मेमोरी बैंकमा राम्रोसँग स्टोर हुन्छ । त्यसैले त मानिसलाई अति गर्मी वा अति सर्दी, अति मान वा अति अपमान, अति सुख वा अति दुःखसँग सम्बन्धित भावानात्मक कुराहरु सजिलै याद रहन्छ । स्कूलका अनगिन्ती दिनहरुमा पुरस्कार पाएको दिन वा शिक्षकले गाली गरेको वा सजाय दिएको गरेको दिन कुनै विद्यार्थीले साहेदै बिर्सिन्छन् । स्मरणशक्तिको यस विज्ञानलाई विज्ञापनले खुब उपयोग गरिरहेको छ । 


अर्को दिन बिहान ८ बजे हामी त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थल तर्फ लाग्योै । टैक्सी ड्राभइरले सोधे, अस्टे«लियातिर हिँडनु भाको हो ? मले भनेँ, होइन युरोपतिर । कुरा गर्दा थाहा भयो, उनका छोरा छोरीहरु पनि बाहिर गएका रहेछन् । छोरी जापान । छोरा चाही दुबइ । उनी पनि १० वर्ष दुबइ बसेर फर्खेका रहेछन् । विमानस्थल पुगेपछि उनले टैक्सीबाट लकेज झारेर गेटसम्म पुराउन सहयोग गरे । हामी भित्र पस्यो ।

सुरक्षा जाँच तथा बोर्डिंग पास लियौ । अनि हामी माथिको तल्लामा चढ्न स्कालेटर(स्वाचालित सिढी) तर्फ लाग्यौ । मैले हयाण्डब्याग बोकेर आमालाई समाएर स्कालेटर चढेँ । बुबा पछि पछि हुनुहुन्थ्यो । बुबाको एक हातमा जकेट थियो, अर्को हातमा ब्याग थियो । सिढीको छेऊमा खुट्टा परेछ, बुबा धन्न पल्टिएर तल खस्नु भएन, पछि पछि आएकी बैनीले पछिबाट सर्पोट नगरेको भए र त्यहाँ तैनाथ गार्डले दौडिँदै आएर स्कालेटर बन्द नगरेको भए बुबा स्कालेटरबाट तल खस्न हुन्थ्यो, टाउको फुट्न सक्थ्यो । हातखुट्टा भाँचिन पनि सक्थ्यो । बुबा पहिला पनि देशविदेश जाँदा पटक पटक स्कालेटरमा हिँडनु भएको थियो, तर त्यस दिन धन्न ठूलो दुर्घटनाबाट बच्नु भयो । विश्वभरि अझ विकसित देशहरुमा, स्कालेटर निकै प्रयोग हुन्छ । एयरपोर्ट, रेलवे स्टेसन तथा सपिंग मल आदिमा स्कालेटर नै हुन्छ । स्कालेटर दुर्घटना पनि निकै हुन्छ । पछिल्लो अध्ययन अनुसार अमेरिका जस्तो विकसित देशमा समेत स्कालेटर दुर्घटनामा परि हरेक वर्ष दसौं हजारौं मानिस घाइते हुन्छन् र कतिपय मर्ने गर्छन् । 

आमाको सातो गयो । आमाले त्यी बैनीलाई भन्नु भयो, धेरै धेरै धन्यावाद छ छोरी । भगवान बनेर आयो बुबालाई बचाउन । आमाको मुटु बेतमासलले धड्करहेको थियो । सास छिटो छिटो चलिरहको थियो । मैले आमाबुबालाई कुर्सीमा लगरे बसाएँ । केही क्षण आराम गरेपछि आमालाई केही आराम भयो । अनि हामी जहाजको प्रतिक्षामा प्रतिक्षा रुममा गयौ । 

विष्णु दाई कताबाट टुप्लक्क आए र भने, होइन तपाईहरु पनि अस्ट्रेलिया तिरै हो ? मैले भनेँ, होइन युरोपतर्फ । हिजोआज विदेश जाने बुढापाकाको नेपालीहरुको संख्या निकै बढेको छ । विदेशमा छोराछोरीहरु भएका कारण नै घुम्न जान पाएका हुन् । तर, छोराछोरीहरुले विदेश बोलाएर बिदेश गएका कतिपय आमाबुबाको आफ्नै गुनासो छ । के को घुम्न बोलाएका हुन र ? सुत्केरी स्याहार गर्न, छोराछोरीहरु हेर्न र गुहुमुत सोर्न बोलाएका हुन् ? ठीक समयमा जहाज आयो । हामी कतार एअरवेजमा चढ्यौ । जहाज दोहाको हमाद इन्टरनेशनल एयरपोर्टतिर लाग्यो । हामी बसेको सिटको केही पछितिर एक हुल नेपाली युवाहरु थिए । जहाज उडेको केही छिनमै रक्सी खाँदै हल्ला गर्न थाले, एअर होस्टेसलाई नेपालीमा जिस्काउदै पनि थिए । हामीलाई उनीहरुको व्यवहार कति पनि ठीक लागेको थिएन । तर केही बोलेनौं । 


ठीक समयमा नै जहाज ल्याण्ड भयो । भर्दौ २५ गते पनि बाहिरको तापक्रम ४२ डिग्री भएको थाहा भयो । हामी जहाजबाट उत्रिर्यौ । एक जना केटी आई र ती युवाहरुलाई गोरुलाई नाकेरसीमा डोराएझैं गरेर लिएर गई । मलाई कस्तो लाग्यो भने विश्वमा दासप्रथा अझै पनि जीवित छ । 

हामी आफ्नो बाटो लाग्यौ । दोहाको हमाद एअरपोर्ट कति ठुलो हो ? स्कालेटर, इलेभेटर, ट्रेन गर्दैैै निकैबेर हामी प्रतिक्षारुममा पुग्यौ । आधा घण्टामा नै जहाज आयो । जहाज कम्पनी एउटै हो, कतार एअरवेयज । तर काठमाडौं दोहा उडानको एअर होस्टेसहरुको व्यबहार र दोहा स्टोकहोम उडानका एअर होस्टेसहरुको व्यबहार आकाशजमिनको फरक थियो । नेपालबाट कतार बढी नेपाली कामदार आउँछन् र उनीहरुलाई जस्तो व्यवहार गरे पनि हुन्छ भन्ने जहाज कम्पनीले कर्मचारीलाई प्रशिक्षण दिएको हुनुपर्छ । 

लभ अफ अट्राक्सन

दोहा स्टोकहोम उडानमा एक जना थाइ एअरहोस्टेस थिइन्,  नमस्ते र आमा भन्न जानेकी । उनले आमालाई खुब माया गरिन् । सोधी सोधी शाकाहारी खाना खुवाइन् छोरीलेझैं । ठीक समयमा नै हामी स्टोकहोमको अलराण्डा एअरपोर्टमा पुग्यो । ती एअरहोस्टेसले आमालाई अँगालो हालेर बिदा गरिन् । आफ्नै आमा जस्तो गरेर । जहाजमा आमाहरु जस्ता त अरु पनि थिए, तर हाम्री आमाप्रति उनी किन यसरी आर्कषित भइन्, उनले नै जानुन् । साहेद लभ अफ अट्राक्सन भनेको यही हो कि ? 



हजरुपमा हामी त्यो विशाल अरलाण्ड एअरपोर्ट बाहिर निस्कियौ, बाहिर दिदीभिनाज्यु तथा भान्जाहरु हातमा फुलको गुच्छाको न्यानो माया लिएर हामीलाई पर्खिरहेका थिए । क्रमश;