Friday, April 10, 2020

ब्रेन बाइट्स

‘म’ को मात  
ओम बानियाँ 

आई अर्थात् म । वी अर्थात् हामी । यी दुई मानवीय भावनाहरु आआफ्ना ठाउँमा निकै शक्तिशाली छन् । निकै महत्वपुर्ण छन् । गहिएर सोच्ने हो भने म र हामी शब्दहरुमा नै मानव समाजको सम्पूर्ण मनोविज्ञान टिकेको छ । मनोवैज्ञानिक दृष्टिमा म नकारात्मक मनोविज्ञान हो भने हामी सकारात्मक मनोविज्ञान हो । म रोग हो भने हामी निरोग हो । म दुःख र विनाश हो भने हामी सुख र समृद्धि हो । म नर्क हो भने हामी स्वर्ग हो।

मानव समाजको मनोविज्ञान यति सरल हँुदा पनि धेरै पढेलेखेका मानिसहरुले समेत यो बुझ्न सकेका छैनन् । वा बुझेर पनि व्यवहारमा लागु गर्न सकेका छैनन् । उल्टो, धेरै पढेलेखेका र धनड्या मानिसहरुमा नै मको मात झनै बढी छ । पढेलेखेको मानिसमा पढाइको मात । धनी व्यक्तिमा धनको मात । बलशाली व्यक्तिमा बलको मात । सुन्दरताको मात । यौवनको मात । यही मातको कारण मानिसहरु अनेक समस्याहरुमा पर्छन् । आफै आफ्नो विनाश निम्ताउँछन् । गीतामा श्रीकृष्णाले दम्भ, घमण्ड, अभिमान तथा क्रोधलाई आ्सरी सम्पदा भनेका छन् । यिनै दुर्गुणले मानिसलाई अधोगति लान्छ, मानिसको विनाश गर्छ भनेका छन् ।

रावणकी पत्नी मन्दोदरीले रावणसँग सीतालाई ससम्मान रामलाई फिर्ता दिई माफी माग्न हजार विन्ती गरेकी थिइन् । तर रावणले पत्नीको प्रस्ताव ठाडै अस्किार गरेका थिए । रावणमा विश्व विजेताको अहंकार थियो कि ब्रह्माण्डको कुनै पनि शक्तिले उसलाई हराउन सक्दैनन् । रावणको यही अहंकारका कारण लंका नै ध्वस्त भयो । रावणको पतन भयो । 

कृष्णाले ध्रृतराष्ट्रको दरवारमा दूर्योधनको उपस्थितिमा पाडण्वको तर्फबाट संधीको प्रस्ताव राखेका थिए । यदि पाण्डवलाई पाँच गाउँ दिने हो भने यूद्ध रोकिन्छ भनेका थिए । तर अहंकारी दूर्योधनले कृष्णाको प्रस्ताव ठाडै अस्विकार गरे । नतिजा महाभारतको यूद्ध भयो । कौरबको विनाश भयो ।

म अर्थात् अहंकार यस्तो नकारात्मक मानविय भावना हो जसको कारण मानिसले आफुलाई जीवनको हर क्षेत्रहरुमा उत्कृष्ट मान्न थाल्छन् । अरुलाई निचो देखाउने प्रयास गर्छन् र अरुलाई निचो देखाएर नै अगाडि बढ्ने सोच्दछन् । उचाईमा पुगे पछि अहंकार झनै बढ्छ ।  अनि मदोन्मत्त हुन्छन् । अहंकारको मातमा मानिसले अरुको ज्ञान र अनुभव ठीकसँग उपयोग गर्न पाउँदैनन् । अहंको कारण नै उसको पतन हुन्छ । त्यसबेला उसलाई साथ दिने कोही हदैनन् । यसरी मानिसको व्यक्तित्व नष्ट हुन्छ । अनेक मानसिक रोगहरु यही अहंकारका कारण नै पैदा हन्छन् । अंहकारकै कारण मानिसले पाप तथा अपराध गर्छन् । अहंकार कारण नै जीवनमा दुःखद घटनाहरु पैदा हुन्छन् । वास्तविकता के हो भने संसारमा हरेक व्यक्ति चाहे कति नै कमजोर वा खराब किन नहोस्, उसमा कुनै न कुनै गुण अवश्य हुन्छ भने मानिस जति नै शक्तिशाली वा असल किन नहोस् उसमा कुनै न कुनै अवगुण अवश्य हुन्छ । भनिएको नै छ, गुण नभएका राक्षस हुँदैनन, अवगुण नभएका देउवा हँुदैनन् । 

'म' को जन्मः

मानिसमा म अर्थात अहं यस कारण पैदा भएको होइन कि उसले कुनै काम शानदार तरिकाबाट सम्पन्न गर्याे या धनी भयो वा धेरै पढ्यो वा बहुत सुन्दर भयो वा आफ्नो शरीरलाई बलवान बनायो । जब मानिस पहिलो चोटि आमाको पेटमा खुट्टा चलाउन थालेको थियो, त्यतिखेरदेखि नै अहंको जन्म भएको थियो । म छु भन्ने पहिचान बनाउनुको मतलब हो, अहंको जन्म ।  त्यसै बेला नै मको जन्म भएको हो । 

म अर्थात् अहंकारको जन्म आत्म प्रशांसाको बिजबाट पैदा हुन्छ । स्वयंको सर्वोच्चता मान्ने भावनाले पैदा हुन्छ ।  तर, यो एक झुटो सत्य हो । त्यो किनभने जसलाई मानिसले आत्मविश्वास भन्छन्, त्यो एक झुट हो, जो मानिसले आफै निमार्ण गरेको हुन्छ । वास्तवमा अहं मानिसको छायाँ जस्तै हो । जस्तो कि शरीर छ भने छाँया पनि हुन्छ । छाँया न त राम्रो हुन्छ, न त नराम्रो । न सानो रहन्छ न ठुलो रहन्छ । यदि सूर्य माथि हुन्छ भने छाँया सानो हुन्छ, सूर्य ढल्दै गयो भने छाँया अग्लो हुन्छ । 

अहंकारले मानिसलाई लक्ष्यको बाटोबाट भटकाउँछ । वास्तवमा अहंकार एक मृगतृष्णा जस्तै हो, जसबाट न त आफ्नो तिर्खा मेटिन्छ, न त अरुको । आफुलाई हर क्षेत्रमा पूर्ण मान्ने मानिसको अहंले आफ्नो कमजोरी तथा दोष छुपाउने कोशिश गर्छ । अहंकारी व्यक्तिले आफनो कमजोरी तथा दोष जानेर पनि अहंकारका कारण अरुको अगाडि स्वीकार गर्दैन । जो हमेशा अरुको निन्दामा नै लागिरहन्छ । निन्दामा नै उसलाई निकै आनन्द आउँछ । तर ऊ मानसिक रोगहरु नाश गर्ने औषधि क्षमा, दया, करुणा, प्रेम, धैर्य, नम्रता, शान्ति र सादगीबाट हमेशा बन्चित रहन्छ । 


परिवार, समाज तथा राष्ट्रमा यही अंहकारको कारण वादविवाद, झैझडा, लडाई तथा यूद्ध समेत हुन्छ । दूर्योधनले राज्यसत्ताको अंहकार नगरेर पाण्डवलाई पाँच गाउँ दिएको भए न त महाभारत हुन्थ्यो, न त कौरवको विनाश । पारिवारिक वादविवाद, झैझडा तथा लडाईंको एक प्रमुख कारण पनि यही अहंकार हो । पतिमा पुरुषत्वको अहंकार । पत्नीमा माइतीको अहंकार । बुहारीमा आधुनिकताको अहंकार । सासुमा म सासु हँु भन्ने अहंकार । यिनै अहंकार कारण घर घरमा कुनै न कुनै वादविवाद, झैझडा तथा लडाईं हुने गर्छ । 

मानिसले आफ्नो गल्तिलाई हृदयदेखि स्वीकार गर्ने हो भने मात्र अहंकारको पुनरावृतिबाट जोगिन सक्दछ । वास्तवमा क्षमा माग्ने र क्षमा दिने व्यक्ति परम मानसिक आनन्दको अनुभव गर्छन् । यहाँ मनन योग्य कुरा के भने अहंकारको नास भएपछि मात्र विनम्रताको भावना पैदा हुन्छ । विनम्रताले ज्ञानको ज्योति जल्दछ । ज्ञानको ज्योतिले अज्ञानको अध्यारो नस्ट गर्छ । मानिसक रोग पनि निर्मूल हुन्छ । तर, मको नकारात्मक ऊर्जाले मदोन्मत्त मानिसले यो मनोविज्ञान बुझ्न सक्दैनन् । त्यसैले अहंकारको उपचार आवश्यक छ ।

पुछारमाः 

अतः सकारामत्मक मनोविज्ञानले म होइन हामीलाई महत्व दिने गर्छ । जोड दिने गर्छ । त्यो किन भने हामी मध्य कोही पनि हामीहरु भन्दा राम्रो, स्मार्ट र बलियो छैनौं । महान साहित्यकार तथा समाजसेवी हैलेन केलेर भनेकी नै छिन्ः एक्लै हामीले थोरै (कार्य) मात्र गर्न सक्छौं, आपसमा मिलेर हामीहरूले धेरै (कार्य) गर्न सक्छौँ । अतः स्वस्थ जीवन जिउन तथा जिवनमा कुनै महान् कार्य गर्न म होइन हामीको भावनालाई आत्मसात गरौं, मानिसको जीवन निकै सुन्दर छ । (लेखक मनोविद् तथा मेमारी ल्याब प्रमुख हुन् ।)










No comments:

Post a Comment