Sunday, April 12, 2020

हेल्थ फर्स्ट 
हेल्थ फर्स्ट 
नयाँ वर्ष २०७७ को संकल्प
ओम बानियाँ

मानिसको सबै भन्दा ठुलो धन भनेको नै स्वास्थ्य हो । स्वास्थ्य भए सबकुछ छ, स्वास्थ्य नभए केही पनि छैन । यो कुरा कोरोना भाइरसको महामारीले पनि पुष्टि गरिदिएको छ । त्यसैले हरेक व्यक्तिले मात्र होइन, संसारका हरेक राष्ट्रले समेत 'हेल्थ फर्स्ट' भावनालाई व्यबहारमा उर्तानु पर्ने खाँचो देखिएको छ । त्यसैले नयाँ वर्ष २०७७ साललाई हेल्थ फर्स्टको संकल्पका रुपमा मनाऔं । नयाँ वर्ष- २०७७ को मंगलमय शुभकामना । 



नेक वैज्ञानिक अध्ययनहरुबाट प्रमाणित भैसकेको छ कि मानिसको स्वास्थ्यमा आहारबिहार अर्थात् जीवनशैलीको महत्वुपर्ण भुमिका रहन्छ । खराव जीवनशैली अनेक रोगहरूको प्रमुख कारण हो भने स्वस्थ जीवनशैली आरोग्य जीवनको आधार मात्र नभएर रोगहरूको औषधि पनि हो । त्यो किनभने खराब जीवनशैलीका कारण ९० प्रतिशत रोगहरू पैदा हुन्छन् भने स्वस्थ जीवनशैलीबाट नै ९० प्रतिशत रोगहरू ठीक हुने गर्छन् । मधुमेह, उच्च रक्तचाप, मुटुका रोग तथा मानसिक रोग(नकारात्मक सोचका कारण) जस्ता डरलाग्दा रोगहरु अनुचित जीवनशैलीकै उपज हुन् । र, यस्ता रोगबाट मुक्त हुन आफ्नो जीवनशैली परिवर्तन गर्न आवश्यक छ । औषधि विकल्प हुन सक्दैन ।

चना र मकैझैं मुठीभरि औषधि खाएर मात्र कुनै हालत्मा पनि यस्ता रोगहरुबाट मुक्त हुन सकिदैन । त्यसैले स्वस्थ र निरोगी जीवनकालागि आफ्नो जीवनशैली ठीक राख्न अत्यन्तै जरुरी छ । महत्वपूर्ण कुरा के भने स्वस्थ जीवनशैलीकालागि एक पैसा पनि खर्च गर्नु पदैन् । आहार–विहार ठीक राखे पुग्छ । तर यहाँ आहारको अर्थ व्यापक छ । मुख र जिब्रोले लिने खाद्य पदार्थलाई मात्र आहार मान्नु हुदैन  । आहारको अर्थ हुन्छ, बाहिरको चिज शरीर भित्र लिनु । जेसुकै कुरा पनि हामीले बाहिरबाट भित्र लिन्छौं भने त्यो आहार हो । भोजन आहार हो,  जसलाई हामीले मुख र जिब्रोद्वारा भित्र लिन्छौं । तर आँखाद्वारा पनि हामीले बाहिरको दृश्यहरू भित्र लिन्छौं । दृश्य पनि आहार नै हो । कानले लिने आवाज, त्वचाले लिने स्पर्श तथा मनले सीधै ग्रहण गर्ने विचार र कल्पना पनि आहार नै हो । 
 नसर्ने रोगको महामारी

नेपालमा अस्पतालमा भर्ना भएका सय जना विरामी मध्य ८५ जना नसर्ने रोगबाट पीडित भेटिन्छन् । नसर्ने रोग हाम्रै जीवनशैली, आचार र व्यवहारसँग सम्बन्धित छ । मद्यपान तथा धुम्रपान गर्ने, सन्तुलित आहार नखाने, व्यायाम नगर्ने तथा बेला बेलामा स्वास्थ्य परीक्षण नगर्ने कारणले गर्दा नै नेपालमा नसर्ने रोगको महामारी फैलिएको हो । नेपालमा मद्यपान र धुम्रपानको स्थिति निकै कहालीलाग्दो छ । नेपालका ५० प्रतिशत पुरुषले धुम्रपान गर्छन् भने सात जना नेपाली महिला मध्य एक जनाले धुम्रपान गर्ने गर्ने तथ्यांक छ । नेपालमा एकातिर खाना नपुगेर तीन मध्य एक मानिसको शारीरिक विकास हुन सकेको छैन भने अर्कोतिर २० प्रतिशत मानिस बढी खाएर तथा व्यायाम नगरेर मोटाएका छन् । यी दुवै थरिका मानिसहरुमा नसर्ने रोगहरुको प्रकोप छ । विश्व स्वास्थ्य संगठनले गरेको एक सर्वेक्षणमा नेपालमा फलफूल र सागपात खाने जम्मा एक प्रतिशत भेटिए । अर्थात् एक प्रतिशतले मात्रै सन्तुलित आहार खान्छन् नेपालमा । यो नपुगेर मात्र होइन, नचाहेर पनि हो । यसरी खानुपर्ने चिज नखाने, नखानुपर्ने चिज धेरै खाने हो भने कसरी भइन्छ स्वस्थ ?

गलत विचारको आहारले नै अधिकांश मानसिक रोगहरु पैदा हुन्छ । त्यसैले त भनिन्छ, जस्तो खान्छौं, उस्तै हुन्छौं । त्यसैले आहारको यो महत्वलाई ह्दगंम गर्दै स्वस्थ जीवनकालागि निम्नलिखित चार कुराहरूमा विशेष ध्यान दिनु अनिवार्य छ । ती हुन्, (क) सन्तुलित भोजन (ख) शुभाचरण (ग) निद्रा–विश्राम (घ) शुभविचार ।  यो नै स्वस्थ जीवनशैली हो । यस्तो स्वस्थ जीवनशैलीलाई व्यवहारमा उर्तान निम्नलिखित स्वस्थकर नियमहरुको पालना गर्नुपर्छ । 

पहिलो नियमः 

बिहान सुर्योदयपूर्व वा ब्र≈म मुहूत्र्तमा उठ्ने बानी बसाल्ने । उठ्नासाथ एकदुई गिलास शुद्ध पानी (कब्जियतले दिसा खलास हुदैन भने मनतातो पानी) पिएर बाथरुम जाने । दिसापिसाब तथा स्नान गर्ने । दैनिक रुपमा, नसके कम्तिमा पनि सप्ताहको एक दिन स्नान गर्नुपूर्व तोरीको तेल या तिलको तेल या जैतुनको तेलले सम्पूर्ण शरीर मालिस गर्ने । अनि सफासुग्घर लुगा लगाएर शान्त, सफा र खुल्ला ठाउँमा बसेर प्राणायाम, ध्यान तथा योग आसनहरू गर्ने । सकिन्छ भने दिनहु ५ किलोमिटर हिँड्ने या दौडिने । कम्तिमा पनि महिनाको एक पटक उपवास बस्ने । 

दोस्रो नियमः 
आफ्नो काम पूरा लगनकासाथ गर्ने । परिश्रम अनुसार विश्राम गर्ने । अति भोगविलास नगर्ने । बिबाहित भए सप्ताहमा एकदुई पटक सहवास गर्ने । समयमै सन्तुलित भोजन खाने, समयमै सुत्ने र समयमै उठ्ने बानी बसाल्ने । गहिरो र पर्याप्त निद्रा लिने । सधैँ सत्य, प्रिय र हितकारी वचन बोल्ने । फटाहा कुरा नगर्ने, कटुवचन नबोल्ने । अरुबाट जस्तो विनम्र व्यवहारको अपेक्षा गरिन्छ, अरुलाई पनि त्यस्तै विनम्र व्यवहार गर्ने । फजुलखर्च नगर्ने, जुवातास नखेल्ने, व्यभिचार तथा अनावश्यक फेसनमा धन र समय खेर नफाल्ने । 

तेस्रो नियमः 
घुस खाने तथा भ्रष्टाचार गर्ने जस्ता कुकृत्यहरू नगर्ने । जस्तोसुकै आपत्–विपत्मा पनि मनको धैर्यतालाई कहिल्यै टुट्न नदिने, हिम्मत र हौसला बनाइराख्ने । ठूलाको आदार, असलको संगत र सानालाई  माया गर्ने । सदैव सत्य, अनुशासन र न्यायको मार्गमा हिँड्ने । अन्याय र असत्यका अगाडि कहिल्यै नझुक्ने । जातपात, भेषूभषा मत–सम्प्रदाय, लिंग, वर्ण र पेशा आदिको आधारमा कसैसँग पनि भेदभाव तथा पक्षपातपूर्ण व्यवहार नगर्ने । 

चौथो नियमः
देशको संविधान र कानूनको पालना गर्ने । देशलाई अहित हुने कुनै काम नगर्ने । सरल र सरस जीवन जिउने ।  घर सफासुग्घर राख्ने । घरको वरिपरि फलफूलहरू रोप्ने । घरलाई फूलवारी बनाउने । घर बनाउँदा यसरी बनाउने कि बिहान सूर्यको प्रकाश घरभित्र छिरोस् । बेडरुममा अनावश्यक सामाग्रीहरू नराख्ने । भित्तामा उत्तेजक तस्विर तथा धेरै भित्तेपात्रोहरू नझुण्डाउने । बिछयौना सधैँ सफासुग्घर राख्ने । लुगाहरू जताभावि नफाल्ने, मिलाएर राख्ने । च्यात्तिएका लुगालाई नष्ट गर्ने भने अनावश्यक लुगाफाटाहरू अरुलाई दिने । अध्ययन कोठामा किताबहरू मिलाएर राख्ने । च्यात्तिएका किताबहरूलाई पुनः बाइण्डिङ गरेर राख्ने । नचाहिने किताबहरू अरुलाई दिने । टुटेफुटेका कुनै पनि सामाग्रीहरू कोठामा नराख्ने । पत्रपत्रिकाहरूलाई यत्रतत्र नफाल्ने । सधँै हलुका यात्रा गर्ने । 

पाँचौ नियमः
जीवनको एक महान् लक्ष्य बनाउने र त्यो लक्ष्यमा अर्जुनदृष्टि साँधी अगाडि बढ्ने । मेहनतको पसिना बगाउने र अनि चैनको निद सुत्ने । बेला बेलामा स्वास्थ्य परीक्षण गराउने । यो नै स्वस्थ जीवनशैली हो । यस्तो जीवनशैली अपनाउने मानिसको जीवन नै स्वस्थ र सुखी हुन्छ । नागरिक स्वस्थ, सवल र सुखी भएमा नै देश शान्त र समृद्धिशाली बन्दछ । (लेखक मनोविद् तथा पोषणविद् हुन् ।)





No comments:

Post a Comment