Monday, April 27, 2020

हेल्थ फर्स्ट 

हानीकारक छ सेतो चिनी
ओम बानियाँ 
 एउटा चर्चित लोकोक्ती छ, धेरै खाए चिनी पनि तितो हन्छ । वास्तवमा चिनी धेरै खाएमा तितो मात्र होइन, विष बन्छ । त्यसैले त अत्याधिक चिनी अर्थात् गुलियो सेवनकै कारण शरीरमा रोगको घर बनाउने नेपालीको संख्या बढ्दो छ । कृषि विकास मन्त्रालयको तथ्यांक अनुसार हरेक नेपालीले एक वर्षमा ११ किलोग्राम चिनी उपभोग गर्छन् । जसमा ५ किलोग्राम विशुद्ध चिनी रहने गरेको छ भने ६ किलोग्राम गुलिया पदार्थबाट अतिरिक्त चिनी शरीरमा पुग्छ । चिनीको कुल उत्पादन, आयात र निर्यातका आधारमा मन्त्रालयले तयार गरेको फूड ब्यालेन्स सिट, २०७० लाई हेर्ने हो भने प्रत्येक नेपालीले एक दिनमा सरदर ३० ग्रामभन्दा बढी चिनी प्रयोग गरेको देखिन्छ । २०७१ मा विश्व स्वास्थ्य संगठनले जारी गरेको चिनी प्रयोग सम्बन्धी निर्देशिकाले दैनिक २५ ग्रामभन्दा बढी खानु हानिकारक हुने भनेको छ । वयश्क र बालबालिका दुवैले दैनिक २५ ग्रामभन्दा कम चिनी प्रयोग गर्नुपर्छ, डब्लुएचओको सुगर रिकमेन्डेड फर अडल्ट एण्ड चिल्ड्रेनु निर्देशिकामा भनिएको छ । 


स्वास्थ्य समस्याको प्रमुख कारण मध्य अधिक चिनी प्रयोग एक भएको डब्लुएचओको ठहर छ । निर्देशिकामा भनिएको छ, सफ्ट ड्रिंक, चकलेट तथा मिठाई आदि जस्ता पदार्थहरुबाट धेरै चिनी खाने बालबालिकामा मोटोपनको समस्या देखिएको छ । अमेरिकन हार्ट एसोसिएसनले पनि चिनी प्रयोग सम्बन्धी मापदण्ड बनाएको छ । एएचएका अनुसार पुरुषले दैनिक ९ चिया चम्चा र महिलाले ६ चिया चम्चा भन्दा बढी चिनी खानु हितकर छैन । वास्तवमा सेतो चिनी सेवन गर्नु भनेको रोगहरु निम्ताउनु हो । 

चिनी र मस्तिष्कः
चिनीको अत्याधिक प्रयोगका कारण कमजोर स्मृति, पढाई र सिकाइमा कमजोर, निरासा, पागलपन, अल्जाइमर र मानसिक रोगसमेत निम्तने अध्ययनमा उल्लेख छ । हरेक मानिसले विभिन्न खानेकुरामार्फत वार्षिक रुपमा लगभग ७० केजी चिनीको सेवन गर्छन् । अर्थात आफ्नो शरीरको वजन भन्दा बढी त चिनीको नै प्रयोग गर्छन् । हरेक खानेकुरा, चकलेट, मिठाई, चियादेखि बजारमा पाइने पेय पर्दाथसम्म चिनीको प्रयोगबा अछुतो हुँदैन । जुन एकदम खतरनाक र दुर्भाग्य भएको अनुसन्धानकर्ताहरुले जनाएका छन् । अध्ययनका अनुसार अनावश्यक चिनीको मात्राले मस्तिष्कले व्युत्पन्न गर्ने न्युरोट्रोफिक फ्याक्टरलाई केमिकलको रुपमा परिवर्तन गराउँछ । न्यूरोट्रोफिकको कमिले हाम्रो मस्तिष्कले नयाँ कुरा सिक्न धेरै समय लाग्ने, कमजोर स्मृति, पढाई सिकाइमा कमजोर र मानसिक रोग जस्ता समस्या देखिने अध्ययनले देखाएको छ । मस्तिष्कले व्युत्पन्न गर्ने न्यूरोट्रोफिकका कारण मधुमेहको समस्या देखिन्छ । मस्तिष्कले व्युत्पन्न गर्ने न्युरोट्रोफिकको कमीले निरासा, पागलपन र अल्जाइमरसँग विशेष सम्बन्ध रहेको हुन्छ । धेरै चिनीको राखिएको खानेकुरा लगातार खान थाल्यौं भने हाम्रो मस्तिष्कले नखान अनुरोध गर्छ जस्तो कि धेरै चिनी खायो भने तीतो हुन्छ भन्नुको अर्थ नै यहि हो । 



चिनी र मुटु रोगः
चिल्लोले भन्दा चिनीले मुटु र रक्तनलीलाई नराम्रो असर गर्छ । चिनीले मुटुसँग सम्बन्धित रोगहरु र हृदयघातको सम्भावना बढाउँछ । चिया, कफी र फलफूलको जुसमा हुने चिनीको मात्रा कटौती मात्र समस्याको समाधान होइन । मह र फलफूलमा प्राप्त हुने गुलियो बढी भयो भने पनि खराब कोलेस्ट्रोल बढाउँछ, रक्त धमनीलाई साँघुरो बनाइदिन्छ, ब्लड ग्लुकोज र इन्सुलिनलाई बढाइदिन्छ र समग्रमा अनावश्यक मोटोपन ल्याइदिन्छ । त्यसले मुटु रोग र मधुमेहको उच्च जोखिम निम्त्याउँछ । 

चिनी र कुलतः
लागूऔषध, मदिरा वा अन्य कुनै पनि प्रकारको कुलत भएका मानिसहरु चिनी वा गुलियो बढी भएका जंक फुड, प्यास्ट्रिज, मिठाई वा डेर्जटका पारखी हुन्छन् । यस्ता व्यक्तिहरुमा चिनी मोह हुुनुमा एउटा कारण छ । चिनीले दिमागमा उत्पादन हुने डोपामाइन नामक न्युरोट्रान्समिटरलाई बाहिर निकालिदिन्छ, जसले गर्दा चिनीप्रति उनीहरुको मोह बढ्छ । लागूऔषध प्रयोगकर्ताले जति चिनी खान्छन्, त्यति नै उनीहरुको दिमागबाट डोपामाइन बाहिर निस्कासन भइरहेको हुन्छ र सदाबहार सन्की मुडमा रहन्छन् । स्मरण रहोस् डोपामाइनले मानिसलाई बढी खुसी बनाउँछ ।

चिनी र कलेजोः
खानेकुराबाट दुई प्रकारको सुगर प्राप्त हुन्छ– ग्लुकोज र फ्रुक्टोज । मह तथा पाकेका फलहरुबाट प्राप्त हुने गुलियोलाई फ्रुक्टोज भनिन्छ । शरीरको हरेक कोषलाई ग्लुकोजको आवश्यकता भए पनि फ्रुक्टोजको अधिक उपभोग शरीरकै लागि खतरा हुन्छ । तर फलफूल, मह, चकलेटमा प्रशस्त फ्रुक्टोज हुन्छ, जुन हाम्रो शरीरको रक्त नलीमा प्रवाहित हुन्छ । पू्रmक्टोजलाई कलेजोले मात्र अर्गानिक परिवर्तन गरिदिन्छ र शरीरलाई भविष्यमा आवश्यक पर्ने ऊर्जाका लागि ग्लुकोजमा परिवर्तन गरी भण्डारण गर्छ । तर रगतमा बढी मात्रामा फ्रुक्टोज भण्डारण भएमा कलेजो मोटो हँुदै जान्छ र बिस्तारै सामान्य रुपमा काम पनि गर्न छोड्छ र मुटुसँग सम्बन्धित विभिन्न रोग लाग्छ । 

चिनी र क्यान्सरः
चिनीबाट क्यान्सर लाग्ने विषय कुनै काल्पनिक भनाइ होइन । अत्यधिक चिनीको मात्रा क्यान्सरको एउटा संकेत हो । स्मरण होस् शरीरको कोषको वृद्धिलाई नियन्त्रण गर्न इन्सुलिनले महत्वपूर्ण भूमिका खेल्दछ । उच्च गुलियो परिकारबाट उत्पन्न र संग्रहित इन्सुलिनले प्रोस्टेट, पेट र छातीको क्यान्सर हुने विभिन्न अध्ययनले देखाएका छन् ।

चिनी र दाँतः
चिनी दाँतका लागि निकै हानिकारक हुनुको साथै दाँत तथा गिजामा हुने रोगको प्रमुख कारण हो । हुन त चिनी क्यालोरीशून्य हुन्छ तर यसले खानेकुराबाट प्राप्त पोषणलाई सोसिदिन्छ । तसर्थ गुलियो चिज खाएपछि दाँत माँझ्नु भएन भने मुखमा भएको सुगरले मुखभित्र ब्याक्टेरिया उत्पन्न हुन र हुर्कन सहयोग पु¥याउँछ ।

चिनी र बूढोपनाः
खानामा धेरै चिनी भयो भने छालाको चमक हराउँछ र चाउरी पर्छ । त्यस्तै गुलियो मात्राले अनुहारमा दाग देखिनुका साथै मानिसलाई वास्तविक उमेरभन्दा बढी देखाउँछ । मधुमेहको जोखिम बढी ग्ुलियो खानेकुराले रगतमा इन्सुलिनको मात्रा बढ्छ र डायबिटिजको जोखिम बढ्छ ।

सेतो चिनीको स्वस्थ विकल्प

सेतो चिनी स्वास्थ्यका लागि निकै हानिकारक छ । त्यसैले स्वास्थ्य ठीक राख्न सेतो चिनी सेवन बन्द गर्नुपर्छ । सेतो चिनीका ठाउँमा खैरो चिनी, धागोवाला मिश्री, मह तथा गुढ सेवन गर्न उचित हुन्छ । चिनी भन्दा मिश्री, मिश्री भन्दा गुढ स्वस्थ्यकर मानिन्छ । डब्लुएचओको सुझाव छ, स्वास्थ्यका लागि प्रत्येक सरकारले चिनीको प्रयोग घटाउने नीति ल्याउनु जरूरी छ । प्रत्येक नागरिकले खाना छनोटमा परिवर्तन नल्याई धरै छैन ।

पुछारमाः
शरीरलाई प्राकृतिक रुपमा चिनी चाहिन्छ । जुन दैनिक आहार, फलफूल तथा अन्य फाइवरयुक्त खानेकुराहरुबाट सहजै प्राप्त गर्न सकिन्छ । यस्तो चिनीको मात्राले शरीरलाई असर गर्दैन । हाम्रो मस्तिष्कको कोषिका सक्रिय हुन ग्लुकोज अर्थात गुलियो रक्तकोषको आवश्यकता पर्दछ । तर बाह्य मिश्रित चिनीले समस्या सिर्जना गरीदिन्छ । त्यसैले सकेसम्म प्राकृतिक खानेकुराबाटै चिनीको मात्रा प्राप्त गर्नु उत्तम हुन्छ । त्यसका लागी बजारमा पाइने गुलियो पदार्थ कम खाने र अग्र्यानिक फलफूल, मह तथा उखु जस्ता गुलियो खानेकुराहरुमा बढी जोड दिनु ठीक हुन्छ ।



No comments:

Post a Comment