Thursday, April 2, 2020

इम्यूनिटि बढाउने अमला

इम्यूनिटि बढाउने अमला
ओम बानियाँ
 

अमला । नेपाली माटो पनि पाइने एक दिव्य वनस्पति हो । यो बहुगुणी बनस्पति खासगरि नेपालको तराई र तल्लो पहाडी भागमा पाइन्छ । अमलाको जरो, पात र बोक्राको तुलनामा यसको फल नै बढी उपयोगी अंग हो । यो सुपरफल हो । त्यसो त अमलाको जरो, पात र बोक्रा पनि औषधि लगायत विभिन्न कार्यहरुमा प्रयोग गरिन्छ ।
सुपरफल अमलाः
 
अमला एक बहुगुणकारी फल हो । अमला खाँदा अमिलो र टर्रो भए पनि खाएको एकैछिनमा मुखमा मिठो स्वाद उत्पन्न हुन्छ । स्वास्थ्यका दृष्टिले अमला अति स्वस्थकर मानिन्छ । अमला एंटी–अक्सिडेंटको एक बेजोड स्रोत हो । अमला भिटामिन सीको अनन्त भण्डार हो । एक दाना अमलामा १६ वटा केरा वा ३ दाना सुन्तलामा जति भिटामिन सी माइन्छ । वास्तवमा अमला एक सुपरफल हो, प्रकृतिको वरदान हो । यो फल जति पौष्टिक छ, त्यत्ति नै औषधीय गुणले भरिपूर्ण छ ।

औषधिका दृष्टिमा अमला त्रिदोषनाशक सुपरफल हो । अमलामा प्रशस्त औषधीय गुण हुन्छ । अनेक रोगहरुमा अमलाले फाइदा गर्छ । यो दिव्य सुपरफलले हाड, दाँत र गिंजालाई मजबुत बनाउँछ, अनुहारको कान्ति बढाउँछ, कपाललाई पाक्न दिँदैन, नेत्रज्योति बढाउँछ, मस्तिष्कलाई ऊर्जा दिन्छ, मस्तिष्क शक्ति तथा स्मरण शक्ति बढाउँछ, बुद्धिलाई तीब्र बनाउँछ तथा शरीरमा बल–वीर्यको बृद्धि गराउँछ । यसले हाई ब्लड–प्रेशर, हृदय रोग, क्यान्सर, नपुंसकता, मन्दाग्नि, कब्जियत, स्नायु रोग, चर्म रोग, आँखाको रोग, कलेजो तथा मिर्गौलाको रोग, रक्त रोग, जण्डिस, टी.बी., पिसाब तथा हड्डीका रोगहरूलाई ठीक पार्न सहयोग गर्दछ । अमलाले आँखा, मस्तिष्क तथा कपाललाई निकै फाइदा गर्दछ । यसलाई रसायनको रूपमा पनि प्रयोग गरिन्छ । वास्तवमा अमला ब्रेन टनिक हो, आई टनिक हो, हर्ट टनिक हो, हेयर टनिक हो ।

*अमलाको सुकेको चूर्णमा गाईको घ्यु वा मह मिसाई राती सुत्नुअघि नियमित सेवन गर्दा आँखा तेजिलो हुन्छ । मोतिविन्दु वा आँखाको अरू रोग भएमा ताजा अमलाको रस आधादेखि एक चम्चा दिनहु महमा मिसाई चाट्ने अथवा सँधै आँखालाई सुकेको अमला वा त्रिफलाको पानीले धुने गरेमा आराम हुन्छ ।

*अमला कपालका लागि पनि निकै उपयोगी छ । अमलाको दैनिक सेवनले त्वचा लामो समयसम्म जवान हुनुका साथै कपाल पनि फुल्नबाट जोगिन्छ । हप्तामा एकदुईपटक अमलाको चूर्ण वा त्रिफला चूर्ण पानीमा भिजाई टाउकोमा रौंको जरासम्म पुग्ने गरी मालिश गर्ने र त्यसपछि त्यसकै पानीले टाउको धुने गर्दा चाया पर्न छाड्छ । साथै, कपाल पनि लामो र चम्किलो हुन्छ ।

*प्रत्येक दिन अमला खानाले पेट सफा रहिरहन्छ र कब्जियत लगायत पेटमा देखा पर्ने समस्याहरु हुन पाउदैन साथै ग्यास्ट्रिक पनि केहि हदसम्म कन्ट्रोल हुन्छ । अमलाको सुकेको धुलोमा हर्रो र बर्रोको धुलो बराबर मिसाई एकदुई चम्चा सुत्ने बेलामा खाँदा बिहान दिसा खु्ल्छ । सुकेको अमलाको चूर्ण नियमित रूपमा पानीसँग सेवन गर्दा आउँ, अपच र कब्जियतमा फाइदा गर्छ । दिनको दुईतीनवटा ताजा अमला खाने वा बिहान बेलुका खाना खानु अघि आधादेखि एक चम्चा सुकेको अमलाको चूर्ण खाँदा भोक लाग्छ ।
रगत बग्ने समस्या जस्तैः नाथ्री फुट्ने, महिलाको रक्तप्रदर (महिनावारीमा बढी रगत जाने), पाइल्सको रक्तश्राव आदि समस्यामा अमलाको सेवनले निकै फाइदा गर्छ । पाइल्सका कारण रक्तश्राव भएको छ भने एक चम्चा अमला चूर्ण खाने हो भने तुरुन्त रक्तश्राव रोकिन्छ ।

*सुकेको अमलाको चूर्णमा तोरीको तेल वा चमेलीको तेल मिसाई छालामा लगाउँदा चिलाउन कम हुन्छ । अमलाको चूर्णले दाँत मल्ने, अमलाको पानीले कुल्ला गरेमा स्वास गन्हाउने समस्या हट्छ । केही समयसम्म अमला पनि नियमित रूपले खाने गर्नुपर्छ ।

कोरोनाको रोकथाममा अमला 
 
कोरोना संक्रमणको रोकथाम हरेक मानिसको आफ्नै हातमा छ। त्यसैले कोरोना भाइरस संक्रमणलाई रोकथाम गर्न समाजिक दुरी राख्ने, भीडभाडबाट टाढा रहने, सरसफाइका साथै आहारबिहारमा विशेष ध्यान दिने। योग, प्राणायाम तथा व्यायाम गर्ने, चुरोट, रक्सी, चिसो तथा गुलियो पदार्थ, फास्टफुड्स, जंकफुड्स सेवन नगर्ने, गिलोय, तुलसी, अमला, कागति, अदुवा, प्याज, बेसार तथा लहसुन आदि कुनै न कुनै रुपमा सेवन गर्ने। वैज्ञानिक अध्ययन भन्छ, यदि मानिसको शरीरको रगत प्लाज्मामा लगभग 16 mcmol/L भिटामिन सी हुन्छ भने भाइरस तथा ब्याक्टेरियाले आक्रमण गर्न नसक्ने लगभग ८० प्रतिशत चान्स हुन्छ। यदि गरिहाले पनि शरीरको इम्युनिटिले यस्ता भाइरस तथा ब्याक्टेरियालाई खेदेर शरीर बाहिर फ्याँकिदिन्छन्। भिटामिन सीको प्रमुख स्रोतहरु भनेको अमला, कागति, सुन्तला, मौसमी तथा अन्य अमिलो फलफुल तथा तरकारीहरु हुन्। अतः दैनिक दुई दाना ताजा अमला वा एक चम्चा शुद्ध अमला पाउडर सेवन गर्ने हो भने इम्युनिटि बढाउने मात्र होइन, अनेक स्वास्थ्य लाभ प्राप्त हुन्छ। अर्को महत्वपुर्ण कुरा डरत्रासले पनि मानिसको इम्युनिटि कमजोर बनाउँछ। कोरोनाबाट यतिविधि त्राहीमाम हुन जरुरी छैन। कोरोना खतरनाक छैन, तर लापरवाही गरे खतरनाक हुन सक्दछ।


सधैं तन्नेरी अमलाः   
अमला सेवन गर्ने मानिस बढेसकालसम्म पनि तन्नेरी नै रहन्छ । त्यो किनभने अमलामा पाइने एंटी–अक्सिडेन्ट इन्जाइमले बुढोपनालाई रोक्दछ । अमलामा जति रोग–प्रतिरोधक, रक्त–शोधक तथा बल–वीर्यबद्र्धक तत्वहरू पाइन्छ, त्यति संसारको कुनै पदार्थ तथा औषधिमा पाइ“दैन । वास्तवमा अमला सम्पर्ण शरीरको कल्प(बोडी रिभाइभ) गर्ने यौवनको झरना हो । नियम अनुसार अमलाको सेवन गर्ने हो भने यसले कायाकल्प गर्दछ । पाको उमेरसम्म पनि यौवनलाई कायम राख्दछ । त्यसैले शरीरलाई स्वस्थ, मजबुत र दीर्घायू राख्न कुनै न कुनै रूपमा प्रतिदिन १–२ वटा अमला सेवन गर्नु राम्रो हुन्छ ।
प्रयोग गर्ने तरिकाः
अमलालाई अनेकौं तरिकाले प्रयोग गर्न सकिन्छ । जस्तैः चूर्णको रूपमा, काटेर सलादको रूपमा, जुस, अचार तथा मुरब्बाको रूपमा वा त्यसै पनि सेवन गर्न सकिन्छ । तर बिहानको नास्तामा २–४ वटा अमलाको मुरब्बा(जाम) सेवन गर्नु तथा राती सुत्ने बेलामा एक चम्चा अमलाको चूर्णमा दुई चम्चा मह मिलाएर एक गिलास दूधसँग सेवन गर्नु सर्वोत्तम हुन्छ ।
अमलाको मुरब्बाः
अमला मुरब्बा(जाम) ज्यादै स्वादिलो हन्छ । बालबाबालिका तथा बृद्धबृद्धा सबैलाई मन पर्छ । त्यसैले अमलाको मुरब्बा(जाम) बनाएर वर्षभरि नै अमलाको सेवन गर्न सकिन्छ । अमलाको मुरब्बा बनाउन अति नै सरल छ । अमलाको मौसममा अमला ल्याएर घरमै सजिलै अमलाको मुरब्बा बनाउन सकिन्छ । त्यसैले यहाँ अमलाको मुरब्बा बनाउन आवश्यक सामाग्रीहरू र बनाउने विधि उल्लेख गरिएको छ । सामाग्रीहरूः (अमलाः १ केजी, चिनी वा भेलीः १–२ केजी, साइट्रिक एसिडः  ५ गा«म तथा नूनः अलिकति ।) निमार्ण विधिः अमला थिचेर भित्री गेडा फालिदिने र अलिकति नून हालेको घोलमा केही बेर डुबाइदिने । त्यसपछि अमलाका टुक्राहरूलाई शुद्ध पानीमा धुने र स्टेनलेस स्टीलको काँटामा उनेर उम्लिएको पानीमा दुई मिनेट जति राखेर निकाल्ने । अनि साइट्रिक एसिड हालेर मैला सफा गरेको चिनीको चासनीमा ती टुक्राहरू डुब्ने गरी हालिदिने । र, छोपेर रातभरि राख्ने । अर्को दिन अमलाको टुक्रा राखेको चासनीलाई आगोमा तताउने । जब चासनी मह जस्तो लेदो देखिन्छ, तब उतार्ने र ठण्डा भएपछि त्यसलाई शीशीमा भरेर राख्ने । यसरी राख्दा अमलाको टुक्रा चासनीमा डुबेको हुनुपर्दछ । शीशीको बिर्को हावा नपस्ने गरी राख्ने हो भने यो मुरब्बा वषौेवर्ष तक बिग्रिदैन । यसरी आवश्यकता अनुसार मुरब्बाको मात्र बढाएर वर्षभरि सेवन गर्न सकिन्छ । मात्रा र सेवन विधिः मुरब्बाको १–२ टुक्रा बिहान खाली पेट वा दिउँसो खाना खाएको १ घण्टापछि खाने । तर बिहान खानु सर्वोत्तोम हुन्छ ।
अमलाको जुसः
अमला सेवन गर्ने अर्को तरिका हो, जुसको रुपमा । अमलाको जुस बनाएर खानाले पनि रगत सफा हुन्छ र शरीर स्वस्थ रहन्छ । अमला शरीरको त्वचा र कपालको लागि फाइदाजनक हुन्छ । दैनिक अमलाको जुस अथवा जाम खाएर दुध पिउने गर्नाले शरीरमा कुनै पनि रोगले आक्रमण गर्न सक्दैन । बाबा रामदेवले शरीरलाई स्वस्थ र मजबुत राख्न दिनहँु अमलाको रस, घृतकुमारीको रस तथा गिलोय खाने सल्लाह दिन्छन् । आफुले पनि दिनहु सेवन गर्ने कुरा बताउँछन् ।
अन्तमाः
अतः सुपरफल अमला मानवका लागि प्रकृतिको दिव्य वरदान हो । त्यसैले यस दिव्य फलको उचित सदुपयोग गर्नुपर्छ । बाल्यकालदेखि नै कुनै न कुनै रूपमा यो सर्वशुलम अमृत फलको सेवन गर्ने हो मानिस शारीरिक रुपमा मात्र होइन, मानसिकरुपमा पनि पाको उमेरसम्म पनि हृष्टपुष्ट, तन्दुरुस्त रहन्छ । (लेखक साइकोथेरापिष्ट  हुन् ।)

No comments:

Post a Comment