Saturday, April 11, 2020

हेल्थ फर्स्ट
सुपरफूड हो, कोदो  

ओम बानियाँ 

केही वर्ष अघिसम्म कोदोलाई गरिबको खानाको रुपमा लिइन्थ्यो । कुअन्न भनिन्थ्यो । कोदोको रोटी र ढिँडो खाने गरिबले मात्र हो भन्ने भनाई थियो । कोदो जाँडरक्सी बनाउन मात्र काम लाग्ने भन्ने मान्यताले कोदोको खेती समेत कम हुन थालेको थियो । तर अहिले सूचनाप्रविधिको विकाससँगै कोदो खेती र कोदोको परिकारहरुमा आकर्षण बढ्न थालेको छ ।  वास्तवमा कोदो कुअन्न होइन, सुअन्न हो । कोदो सुपरपूmड्स हो, ब्रेनफूड्स हो । कोदोमा प्रोटिन, आइरन तथा क्याल्सियम प्रशस्त मात्रामा पाइने हुनाले स्वास्थ्यका लागि निकै उपयोगी छ । कोदोलाई खाद्यतत्व र पोषणको आधारमा अन्य अन्नबालीको तुलनामा उच्च स्थानमा राख्न सकिन्छ । कोदोमा चामल र मकैमा भन्दा ३५ गुणा र गहुँमा भन्दा ८.७३ गुणा बढी क्यालसियम पाइन्छ । यसमा चामल भन्दा २.३ गुणा, गहुँभन्दा १.५ गुणा र मकै भन्दा ३.७ गुणा बढी आइरनको मात्रा पाइन्छ । मासुमा पाइने पौष्टिक तत्व कोदामा पाउन सकिने तर चिल्लो नहुने र पचाउन पनि गाह्रो नहुने हुनाले कोदो बालबालिकादेखि बृद्धबृद्धा र विरामीहरुलाई समेतलाई ज्यादै लाभलायक हुन्छ ।


कोदोको परम्रागत परिकारः



परम्परागत रुपमैँ कोदोको ढिंडो, रोटी, पुवा र खोले बनाएर खाईन्छ । थोरै चामलको भातसँग बिहान र बेलुका ढिंडो खाईन्छ । रोटी भने दिउँसोको खाजा र बेलुकाको खानाको रुपमा गुन्द्रुकको झोल वा साँधेको गुन्द्रुकसँग खाईन्छ । जाडो याममा मरमसला वा मासु मिसाएर खोले खाने चलन छ । कोदोले तातो दिने हुँदा बढी जसो कोदोको परिकार जाडो याममैं खाईन्छ। कोदोको रक्सी सबैभन्दा राम्रो मानिन्छ । खनिज र शुद्ध अल्कोहलको मात्रा राम्रो भएकाले स्वास्थ्यका हिसाबले पनि कोदोको रक्सीले अरु रक्सीको तुलनामा सबैभन्दा कम असर गर्ने वैज्ञानिकहरुको दावी छ ।  

कोदोको आधुनिक परिकारः

नेपाली आम जनमानसमा कोदो भनेपछि रोटी, ढिंडो र खोले जस्ता परिकारहरु बनाएर गाउँमा खाने कुअन्न भनेर बुझिन्छ । तर, अहिले शहरबजारमा पनि कोदोको माग बढ्न थालेपछि खोलेलाई सुप भन्न थालिएको छ र कोदो खानेहरुको संख्या बढ्दै गएको छ । कोदोबाट बिस्कुट तथा पाउरोटी जस्ता बेकरी परिकारहरु पनि बन्न थालिसकेका छन् । तर पछिल्लो समय कोदोको केक, हर्लिक्स र सेलरोटी बन्न थालेपछि यसको माग निकै बढेको छ । कोदोको हर्लिक्स मधुमेह (सुगर) र उच्च रक्तचाप (हाई ब्लडप्रेसर) का बिरामीहरुका लागि समेत राम्रो मानिन्छ । 

ब्रेन फूड कोदो

कोदो बालबालिकाको सबैभन्दा उत्तम खाद्यान्न हो । वास्तवमा कोदो बालबालिकाको ब्रेनफुड हो । त्यो किनभने कोदोको परिकार खाएका वालवालिकाको मस्तिष्कको विकास तीव्र गतिमा हुन्छ । कोदोले बालकालिकाको मस्तिष्क शक्ति तथा स्मरण शक्ति बढाउऊँछ । त्यत्ति मात्र होइन, हड्डी मजबुत बनाउन र सम्पुर्ण शरीरको संरचना विकासमा कोदोको परिकारहरुले महत्वपूर्ण भुमिका खेल्दछ । कोदोमा पाइने प्रोटिनमा दुःधमा पाइने जस्तै मिथियोनिन र सल्फरयुक्त एमिनो एसिड जस्ता सन्तुलित एमिनोएसिडहरू पाइन्छन् । तसर्थ बिश्व स्वास्थ्य संगठनले समेत कोदोलाइ बच्चाहरूको उत्कृष्ट ठोस आहारको रूपमा सिफारिस गरेको छ । त्यसैले बालबालिका तथा गर्भिणी माहिलाहरुलाई कुनै न कुनै रुपमा कोदोको परिकारहरु खुवाउने शारीरिक तथा मानसिक स्वास्थ्यको दृष्टिले निकै उत्तम हुन्छ । 



मेडिसिन कोदोः
कोदो सुपरफूड तथा ब्रेनफूड मात्र होइन, मेडिसिन पनि  हो । कोदोले अनेक रोगहरुमा औषधिको काम गर्छ । मधुमेह र रक्तचापका विरामीहरुलाई समेत कोदोको सेवनबाट उल्लेख्य फाइदा पुग्ने बैज्ञानिक अनुसन्धानबाट पुष्टि भइसकेको छ । कोदोको सेवनले रगतमा बोसो र कोलस्टेरोल घटाऊँछ । कोदोमा आइरन प्रचुर मात्रामा पाइने हुँदा मानिसलाई रक्तअल्पता हुनबाट बचाउ“छ, क्यालसियम बढी पाइने हुँदा हाड र दाँतको विकास र स्वास्थ्यमा मद्दत गर्दछ । कोदोमा प्रसस्त मात्रामा पाइने रेसा पदार्थले कब्जीयतको समस्या निदान गरेर पेट सफा राख्न मद्दत गर्दछ । रूघाखोकी र चिसो लागेको बेला घरेलु उपचारको रूपमा कोदोको सुप वा खोले प्रयोग गर्दा फाइदा पुग्छ । चिल्लो नहालिकन बनाइएको कोदोको खोलेले घाँटीको टनसिल तथा मुखको खटिरा निको पार्छ । पुरानो घाउ वा एलर्जीले सताएमा पनि कोदोको लेप लगाउनाले ठिक हुने गर्छ । जाडो याममा कोदोको खोलेले वृद्धवृद्धालाई निकै फाइदा गर्छ । 

कोदोको लिटो

बालबालिका लागि जन्मदेखि २ वर्षसम्मको अवधि शारीरिक तथा मानसिक वृद्धिविकासको दृष्टिले अत्यन्तै संवेदनशील तथा महत्वपूर्ण हुने भएकाले यस अवधिमा बालबालिकालाई न्यूनपोषण र विरामी हुनवाट बचाउनका लागि निरन्तर स्तनपानका साथै ६ महिना पुगेपछि विभिन्न प्रकारका खाना मिलाएर बनाइएको पोषणयुक्त थप तथा पूरक खाना खुवाउन विशेष जोड दिनुपर्दछ । यस सन्दर्भमा बालबालिकाका लागि विभिन्न खाद्यपदार्थ मिसाएर बनाएको कोदोको लिटो सर्वोत्तम हुन्छ । कोदोको पोषिलो लिटो बनाउन आवश्यक सामग्रीहरु ः १ टेवल चम्चा थिचेको गाजर वा पाकेको फर्सी । २ टेवल चम्चा पिंधेकोको स्याऊ । ३ टेवल चम्चा कोदोको पिठो । ४ कप पानी । स्वादको लागि आवश्यकता अनुसार चिनी वा सख्खर ।) कोदोको पोषिलो लिटो बनाउने तरिकाः एउटा भाँडोमा कोदोे, टुक्रा पारेको वा किच्चाएको गाजर वा पाकेको फर्सी तथा किच्चाएको स्याउ र पानी राख्ने । पहिले उमाल्ने र उम्लिसकेपछि कम आगोमा छोपेर वीस मिनेट सम्म पकाउने । पकाइ सकेपछि बालबालिकालाई ताजा र पोषिलो लिटो खुवाउने ।


पुछारमाः

निचोडमा भन्नु पर्दा कोदो हामीले सुअन्न भन्ने गरेका खाद्यान्नहरु भन्दा अब्बल गुण भएको अन्न हो, सुपरफूड हो भन्ने कुरा बैज्ञानिक परीक्षणबाट पुष्टि भइसकेको हुदा कोदोमा पाइने पौष्टिक पदार्थ र यसका औषधीय गुणहरूको प्रचारप्रसार गर्ने हो भने कोदोको खोजी र उपयोग झनै बढ्ने देखिन्छ । विश्वमा जलवायु परिवर्तनको समस्या विकराल बन्दै गएको वर्तमान सन्दर्भमा भविष्यमा कोदोवाली समस्त मानव जगतकै प्राण रक्षा गर्ने अन्न सावित हुन सक्छ । तसर्थ कोदोलाइ सबैैले खाने सुपरफूडको रुपमा परिभाषित गर्नु र यसको खेती एवं उपयोग बढाउनु आजको खाँचो हो । (लेखक साइकोथेरापिष्ट तथा सुलभ हेल्थ फूड्सका प्रमुख हुन् ।)







No comments:

Post a Comment