Monday, April 13, 2020

ब्रेन बाइट्स

सक्षम नेताका गुण
ओम बानियाँ 

कुनै पनि राष्ट्र वा संघसंस्थाको प्रगति तथा समृद्धिका लागि सक्षम नेतृत्व आवश्यक हुन्छ । सक्षम नेतृत्व त्यस्तो नेताले दिन सक्छ, जसको हृदयमा ईमानदारीता र मस्तिष्कमा भावनात्मक बुद्धिमत्ता हुन्छ । यस्ता गुणहरु भएका नेता नै सक्षम नेता हुन् ।  सक्षम नेता नै हरेक राष्ट्र वा संघसंस्थाको आवश्यकता हो । त्यसैले नागरिक तथा संघसंस्थाका सदस्यहरुले नेता चुन्दा नेतामा यि दुई गुणहरु छ कि छैन हेर्नुपर्छ ।



के हो भावनात्मक बुद्धिमत्ताः
आफ्नो क्षमता र अरुको मनस्थितिको पहिचान गर्न सक्ने, जस्तोसुकै प्रतिकुल परिस्थितिहरुमा पनि होशह्वास नछोडिकन दूरदर्शी निर्णय गर्न सक्ने, कठिनाइहरुमा औसर खोज्न सक्ने, आफूलाई आफैंले उत्प्रेरित गर्न सक्ने तथा आफ्नो र मानवीय अन्तर्सम्बन्धको भावनाहरूको तालमेल गर्नसक्ने खूबी नै भावनात्मक बुद्धिमत्ता हो। 

प्रसिद्ध लेखक तथा जीवनमा भावनात्मक बुद्धिमत्ताको  विषयमा वर्षौदेखि शोध गर्दै आएका शोधकर्ता प्रा. डेनियल गोलमैनको भनाइ छ, बुद्धिमत्ता समर्थता त्यो अश्वशक्ति हो, जसले मानिसको मस्तिष्कलाई सफलताको चुचुरोमा पुग्ने आत्मविश्वास, शक्ति र सामथ्र्य दिन्छ । बुद्धिलब्धी (आई. क्यू.) ठूला–ठूला शैक्षिक योग्यता तथा प्राविधिक विशेषताहरूभन्दा बढी महत्वपूर्ण हुन्छ, भावनात्मक बुद्धिमत्ता (ई. क्यू.) ।  कठिन, असहज तथा विषम परिस्थितिमा बुद्धिको भन्दा पनि भावनात्मक समर्थताको महत्वपूर्ण भूमिका हुन्छ, जुन मस्तिष्कले भावनात्मक समर्थता प्रर्दशन गर्न सक्छ, उसले जस्तोसुकै परिस्थितिमा पनि समस्याहरूको निक्र्याैल निकाल्न सक्दछ । विगत लामो समयदेखि वैदेशिक नांगो हस्तक्षेप र समस्या नै समस्याहरुको चक्रव्यहूमा परेको हाम्रो देश नेपाललाई चाहिएको नेता पनि यस्तै होइन र ?

आई. क्यू. र ई. क्यू.:
बुद्धिलब्धी (आई. क्यू.) र भावनात्मक बुद्धिमत्ता (ई. क्यू.) फरक फरक मानसिक क्षमताहरु हुन् । साधारणतया जुन व्यक्तिको स्मरणशक्ति तथा आई.क्यु. बढी हुन्छ, त्यो व्यक्तिले पढाइलेखाइमा राम्रो गर्न सक्छ । तर आई.क्यु. बढी भएका तथा उच्च शैक्षिक सफलता प्राप्त गरेका सबै व्यक्तिले उच्च पेशागत दक्ष्यता वा प्रभावकारी नेतृत्वदायी भूमिका प्रर्दशन गर्छन् भन्ने छैन । डा. बाबुराम भट्टराई यसको ज्वलन्त उदाहरण हुन् । यसको ठीक विपरित आई.क्यु. कम भएका तथा उच्च शैक्षिक सफलता प्राप्त गर्न नसकेका कतिपय व्यक्तिले उच्च पेशागत दक्ष्यता वा प्रभावकारी नेतृत्वदायी भूमिका निभाउन सक्दछन् । हाम्रो वरिपरि यस्ता हजारौं उदाहरणहरु छन् । यसको कारण के हो ? यसको प्रमुख कारण हो, आई.क्यु. भन्दा बढी महत्वपुर्ण हुन्छ, ई.क्यु. (इमोसनल कोसेन्ट अर्थात् भावनात्मक बुद्धिमत्ता), स्मरणशक्ति भन्दा बढी महत्वपुर्ण हुन्छ, बौद्धिक स्मरणशक्ति (इन्टेलिजेन्स मेमोरी ।)

बौद्धिक स्मरणशक्तिः
मानिसको सामान्य स्मरणशक्ति उसको चेतन प्रक्रियासँग सम्बन्धित हुन्छ, जसको मानिसलाई प्रत्यक्ष अनुभव हुन्छ, विशेषतः यो स्मरणशक्तिले कार्य नगर्दाको अवस्थामा ! यो हाम्रो सामान्य स्मरणशक्ति हो, जसले ठीकसँग कार्य गरेन भने बिहान राखेको पर्स वा चाबी कहाँ राखियो भन्ने कुरा बिर्सन सकिन्छ । यसप्रकारको स्मरणशक्तिको दैनिक जीवनमा महत्व त हुन्छ, तर यो भन्दा पनि बढी महत्वपूर्ण छ, मानिसको बौद्धिक स्मरणशक्ति !

किन मानिसले आफुले जति छिटो र तर्कपूर्ण ढंगले सोच्न सक्थें, त्यसरी सोच्न नसकेको गुनासो गर्छन् ? किन मानिसले साथीसंगी तथा आफन्तलेझैं सवालजवाफ गर्न, समस्या समाधान गर्न, चुटकिला भन्न तथा तर्क अगि सार्न पछि परेको महसुस गर्छन् ? अरुले जवाफ दिएपछि ए, हो त नी, यो कुरा मलाई पहिला किन आएन ? मैले किन यस्तो अनुमान गर्न सकिनँ ? मैले किन यस्तो सोच्न सकिनँ ? भन्ने पछुतो गर्छन् ? अतः उपर्युक्त सबै कुराहरू बौद्धिक स्मरणशक्तिसँग सम्बन्धित छन् ।

बौद्धिक स्मरणशक्ति, यस्तो स्मरणशक्ति हो, जसले सृजनात्मक विचार र सामान्य स्मरणका अंशलाई सँगसँगै, एकाकार बनाएर स्मृतिमा ल्याउँछ । बौद्धिक स्मरणशक्ति विचार तथा जुक्तिका साथसाथ एक मानसिक प्रक्रिया हो, जसलाई सृजनशील वा बौद्धिक सोच भन्ने गरिन्छ । बौद्धिक स्मरणशक्तिले मानिसको बृद्धिमत्ताका लागि ऊर्जाको कार्य गर्छ । यसले मानिसलाई छिटो समस्या समाधान गर्न तथा सृजनात्मक ढंगले सोच्न सहयोग गर्छ । वास्तवमा यही स्मरणशक्तिले नै मानिसलाई स्मार्ट र सफल बनाउँछ । त्यसैले बौद्धिक स्मरणशक्तिलाई सफलताको मुटु मान्न सकिन्छ । 

अतः मस्तिष्कमा भावनात्मक बुद्धिमत्ता र बौद्धिक स्मरणशक्ति तथा हृदयमा इमानदारीता भएको व्यक्ति नै जस्तोसुकै परिस्थितिमा पनि समस्याहरूको निक्र्याैल निकाल्न सक्ने एक सक्षम नेता बन्न सक्दछ । राष्ट्रलाई समृद्धशाली बनाउन यस्तै नेतृत्वको आवश्यकता पर्छ । त्यसैले जुन व्यक्तिसँग भावनात्मक बुद्धिमत्ता तथा बौद्धिक स्मरणशक्ति कम छ, त्यो व्यक्ति नेता बन्नु नै हुदैन । नागरिकले यस्ता व्यक्तिलाई नेता मान्नु नै हँुदैन । त्यो किनभने यदि नेतासंग इमानदारीता भएन भने राजनीति बेइमान हुन्छ, राजनीतिमा अपराधिकरण बढ्छ, राष्ट्रियता कमजोर हुन्छ, देशको स्थिति सुकेनाशेले खाएको विरामी जस्तो हुन्छ । अर्को शब्दमा भन्ने हो भने देशको स्थिति नेपालको जस्तो हुन्छ । 

नेताको परीक्षाः
राजनीतिमा नेताको वास्तविक परीक्षा भनेको नै सत्ता हो । विद्रोह वा प्रतिपक्षको आन्दोलन भनेको सेन्टअप जस्तै हो । जव कुनै पार्टी विद्रोह, आन्दोलन वा प्रतिपक्षबाट सत्तामा पुग्छ, अनि उसको फाइनल परीक्षा शुरु हुन्छ । अतः सेन्ट अपमा जतिसुकै धेरै अंक ल्याएको भएता पनि नेपालका हरेक नेता यही फाइनल परीक्षामा फेल भएको लामो इतिहास छ । यसरी नेतृत्व असफल हुनुको प्रमुख कारण भनेको नै इमानदारीता र भावानात्मक बुद्धिमत्ताको अभाव हो । पटक पटक फेल भएका नेतालाई पुनः पुनः सत्तामा पराउनु नागरिकको भयानक कमजोरी हो ।


सुधार सम्भवः
मनोविज्ञानमा एउटा प्रविधि छ, जसलाई मोडलिङ भनिन्छ । यस प्रविधि रामले कुनै कार्य गर्न सक्छ भने श्यामले पनि त्यो गर्न सक्छ भन्ने सिद्धान्तमा आधारित छ । यसैको आधारमा भावनात्मक सक्षमताहरू सिक्न र आफूमा विकास गर्न सकिन्छ । यसका लागि सम्बन्धित पेशामा उच्च दक्षता प्राप्त गर्नका लागि कस्तो किसिमको सक्षमताहरू आवश्यक हुन्छ, सो अवगत गर्न सर्वप्रथम त्यो पेशामा संलग्न प्रसिद्ध मानिसहरूलाई हेर्नुपर्दछ । उनीहरूले आफ्नो पेशामा कस्तो सक्षमता प्रदर्शन गरेका छन्, त्यो निर्धारण गर्नुपर्दछ । र, त्यो सक्षमता आफुमा विकास गर्न अग्रसर हुनुपर्दछ ।  तर नेपाल र नेपाली नागरिकको बिडम्बना नेपालका कुनै पनि नेता यस दिशातर्फ अग्रसर भएको देखिदैन । त्यसैले जुन नेता जति पटक सत्तामा पुगे पनि उही अक्षम शेर बहादुर सावित हुन्छन् । 

अन्तमाः
अतः कुनै पनि महान् कार्य गर्न वा सफलतापुर्वक सत्ताको नेतृत्व गर्न इमानदारिता र भावनात्मक समर्थता आवश्यक हुन्छ । र, एक समर्थ नेतृत्वको सत्ताले नै सफलतापुर्वक राष्ट्रको नेतृत्व गर्न सक्दछ र देशलाई चमत्कारिक ढंगले जमिनबाट अकाशमा पुराउँछ । थुप्रै राष्ट्रहरु यसरी नै समृद्धिशाली भएका छन् । त्यसैले सुन्दर, शान्त र समृद्ध नेपालको परिकल्पना गर्नेहरूले आफूमा तनमनकासाथ यस्तो भावनात्मक समर्थता विकास गर्नेतिर लाग्नु पर्दछ । इमानदार राजनीति गर्नुपर्छ वा यस्ता गुणहरु भएका व्यक्तिहरु राजनीतिमा आउनुपर्छ । यहाँ जनसाधारणले बुझ्नु पर्ने कुरा के भने भीडमा चर्का छेपारे नारा दिने, जोड्न भन्दा तोड्नतिर लाग्ने, सधैँ होचुवा ठूला–ठूला कुराहरू गर्ने, रीस उठ्ने बित्तिकै गोलीको भाषा बोल्ने, समस्याको दूरदर्शी समाधान खोज्ने होइन, झन् समस्या थप्ने, जसरी भएपनि सत्तामा पुग्ने अभिष्ट राख्ने, सत्तामा पुगेपछि जसरी भए पनि टिकीरहने, पावर र पैसालाई सबकुछ ठान्ने व्यक्ति बेइमान र अक्षम नेता हो । यस्तो सोच, शैलीको अक्षम नेताहरुबाट सुन्दर, शान्त र समृद्ध नेपालको परिकल्पना गर्नु बेकार छ । (लेखक मनोविद् हुन् ।)

















No comments:

Post a Comment