Friday, April 3, 2020

हेल्थ फर्स्ट /मान्छेको खान्की

मान्छेको खान्की
ओम बानियाँ
 गाईभैंसी तथा भेडाबाख्रा आदिले घाँसपात खान्छन्, अन्न खान्छन् । हात्तीघोडा जस्ता शक्तिशाली जनवारहरुले पनि घाँसपात तथा अन्न नै खान्छन् । तर कुकुर, बिरालो तथा बाघ आदिले मासु खान्छन् । यस पृथ्वीमा मांसहारी, शाकाहारी तथा सर्वाहारी (मासु तथा घाँसपात दुबै सेवन गर्ने )पशुपंक्षीहरु छन् । तर हरेक पशुपंक्षीहरुले अक्षरस प्राकृतिक नियमको पालना गर्छन्, जे खाना हुने हो, त्यही खान्छन्, केवल आफ्नो स्वाभाविक आहार सेवन गर्छन् र सधैं स्वस्थ रहन्छन्, कथम्कथाचिंत विरामी हुँदा प्राकृतिक घाँसपात नै खाएर आफ्नो उपचार आफैं गर्छन् । हरेक पशुपंक्षीहरु आफ्नो डाक्टर आफैं हुन्, उहिले पनि अहिले पनि ।


तर सृष्टिको सबै भन्दा बुद्धिमान ठानिएको प्राणी मानिस उहिलेदेखि नै एउटा बहसमा अल्झिएको छ, वास्तवमा मान्छेको प्राकृतिक तथा स्वाभाविक खान्की के हो ? मांसहार कि शाकाहार कि सर्वाहार कि भिगन ? सबैका आआफ्ना जोडदार तर्कहरु छन् । यी तर्कहरुमा आम मानिसहरु रनभुल्ल छन् । त्यो किनभने मांसहारीको तर्क सुन्दा मांसाहार ठीक जस्तो लाग्दछ, शाकाहारीको कुरा सुन्दा शाकाहार नै ठीक लाग्छ । अझ भिगनहरुको कुरा सुन्दा त भिगन नै सर्वश्रेष्ठ जस्तो लाग्दछ । तर, संसारमा मांसहारीको संख्या अत्याधिक छ । 

पछिल्लो तथ्यांकलाई हेर्ने हो भने संसारका ८५ प्रतिशत मानिस मांसहारी छन् । मांसहारीलाई सर्वाहारी भन्न ठीक हुन्छ किनकि मांसहार गर्ने मानिसहरुले सिर्फ पशुपंक्षीको मासु मात्र खाँदैनन्, अन्न तथा सागपात पनि सेवन गर्छन् । १२ प्रतिशत मानिस शाकाहारी छन् भने ३ प्रतिशत मानिस भिगन छन्, जसले माछामासु अण्डा मात्र होइन दुःध तथा दुःधजन्य पदार्थ तथा मह समेत सेवन गर्दैन, पूर्णतया वनस्पतिमा मात्र निर्भर रहन्छन् । 

हो, कानूनीरुपमा अहिले विश्व आफ्नो आहार छनौट गर्न स्वतन्त्र छ । मान्छे सर्वाहारी, शाकाहारी या भिगन जे पनि हुन सक्दछ । तर के छुट मानिसलाई प्रकृतिले दिएको छ ? पक्कै दिएको छैन ।

मासु बाघको लागि स्वभाविक आहार हो । तर, माछामासु मानिसको स्वभाविक आहार होइन । मानिसको शरीरको बनौट, दाँत, नंग्रा, छाला, आन्द्रा र पाचन क्रियाका कुनै पनि अंग मांसाहार पचाउन सक्ने प्रकृतिका नै छैनन् । बाघलेझैं सिर्फ मासु खाएर मानिस बाँच्न सक्दैन । यस कुरामा विश्वास लाग्दैन भने केही दिन मासु मात्र खाएर हर्नुहोस् । तस्बिर आफैं छर्लङ हुन्छ । मांसाहारका फाइदा भन्दा बेफाइदा धेरै हुँदाहँुदै पनि स्वादका कारण माछामासु त्याग्न सकेको छैन मानिसले । मांसाहारको सेवनले हृदयाघात, कोलेस्ट्रोल, उच्च रक्तचाप, कलेजो, पेट तथा आन्द्राको क्यान्सर बढेको, मानिसमा क्रोधी, स्वार्थी एवं हिंस्रक, अस्तव्यस्त र तनावपूर्ण लक्षण बढ्दै गएको अनेक अध्ययनले देखाएको छ । मासु मात्र होइन, दुःध र दुग्धजन्य पदार्थहरु पनि मानिसलाई फाइदाजनक छैनन् । एक त अहिले शुद्ध दुःध नै पाइँदैन, अर्को कुरा दुःध बालक, श्रमिक तथा खेलाडीहरुको लागि मात्र उत्तम छ । शारीरिक श्रम कम गर्ने मानिसलाई उपयुक्त छैन । त्यसैले स्वस्थ रहन जनवारजन्य पदार्थ होइन, वनस्पतिजन्य खाद्यपदार्थ (प्लान्ट बेस्ड फुड) सेवन गर्नुपर्छ । माछा, मासु र अण्डाको ठाउँमा चना, भटमास, बदाम तथा ओख्खर, गाईभैंसीको दुःधको ठाउँमा नरिवलको दुःध सेवन गर्नुपर्छ ।
के दुःध हानीकारक छ ? 

मानिस बाहेक यस धर्तीका स्तनधारी पशुपंक्षीले बढेसकालसम्म दुःध पिउँदैनन् । अन्य प्राणीको दुःध पनि पिउँदैनन् । मानिस मात्र यस्तो प्राणी हो, जसले जीवनभर नै अर्काको दुःध पिउँछ । यो सरासर प्रकृतिको नियमको उलंगन हो । वैज्ञानिक रुपमा पनि दुःध र दुग्धजन्य पदार्थहरु मानिसको स्वास्थ्यलाई फाइदाजनक छैनन् । एक त अहिले शुद्ध दुःध नै पाइँदैन, अर्को कुरा दुःध बालक, श्रमिक तथा खेलाडीहरुको लागि मात्र उत्तम छ । शारीरिक श्रम कम गर्ने मानिसलाई उपयुक्त छैन । त्यसैले स्वस्थ रहन जनवारजन्य पदार्थ होइन, वनस्पतिजन्य खाद्यपदार्थ (प्लान्ट बेस्ड फुड) सेवन गर्नुपर्छ । माछा, मासु र अण्डाको ठाउँमा चना, भटमास, बदाम तथा ओख्खर, गाईभैंसीको दुःधको ठाउँमा नरिवल तथा भटमासको दुःध सेवन गर्नुपर्छ ।


यहाँ उल्लखनीय अर्को तथ्य के भने कुनै पौष्टिक तत्वहरु नभएका मृत औद्योगिक खाद्यपदार्थहरु मानिसको स्वाभाविक आहार होइनन्, प्रकृतिबाट सिधैं प्राप्त हुने, नमरेका अमृत खाद्यपदार्थ (लिभिंग फुड) नै मानिसको स्वाभाविक आहार हो । अमृत या नमरेका खाद्य पदार्थ भन्नाले प्राण भएका खाद्यपदार्थ हुन्, जो उर्मिन सक्छन् । जस्तो चना, आलु तथा केराउ आदि । तर, बिस्कुट तथा चाउचाउ उर्मिन सक्दैनन् । 

वैज्ञानिकरुपमा नै पष्टि भएको छ कि प्राकृतिक मकैले दिने फाइदा कर्नफलेक्सले दिँदैन । आलुले दिने फाइदा आलुचिप्सले दिँदैन । चना र जौले दिने फाइदा हर्लिक्सले दिँदैन । शुद्ध गहुँको पिठोमा रहेको प्राकृतिक गुण पाउरोटी र बिस्कुटमा पक्कै हुदैन । ताजा फलफूलमा पाइने भिटामिन प्रशोधन गरेर संरक्षक र अध्याधिक चिनी मिलाएर तयार पारिएका जुसमा अवश्य पाइँदैन ।

बिस्कुट, चाउचाउ तथा कुरकुरे जस्ता मृत औद्योगिक खाद्यपदार्थहरुले शरीरमा टक्सिन बढाएर मानिसलाई बिरामी बनाउँछन् भने गेडागूडी, फलपूmल तथा सागपात जस्ता प्राण भएका अमृत पदार्थहरुले शरीरलाई उर्जा दिन्छन्, पोषण दिन्छन्, शरीरबाट रोगहरुलाई खेद्छन् । त्यसैले रोगबाट मुक्त हुन र स्वास्थ्य रहन बिस्कुट तथा चाउचाउको ठाउँमा अंकुरित अनाज, ताजा नरिवल  वा फलपूmलहरु, कोल्डडिं«ग्सको ठाउँमा नरिवलको पानी वा कागती पानी, दालमोठ आदिको ठाउँमा फलपूmल र सागपातको सलाद जस्ता अमृत खाद्यपदार्थ (लिभिंग फुड) खानुपर्छ ।

स्वस्थ रहन तथा रोगहरुबाट मुक्त हुन अमृत खाद्यपदार्थलाई सम्पूर्णरुपमा (होलसम फुड) खानुपर्छ । प्रकृतिले कहिल्यै गल्ति गर्दैन । तर मानिसले प्राकृति खाद्यपदार्थलाई विकृत बनाएर गल्तिगरेका छन् । प्रकृतिले उखु, मकै तथा खजुर बनाएको छ । तर मानिसले चिनी बनाएका छन् । त्यसैले स्वस्थ रहन राइस होइन, ब्राउन राइस, चिनी होइन, भेली, आलुचिप्स होइन, आलु, पाउरोटी होइन, सुक्का रोटी, पकौडा होइन, अंकुरित चना आदि खाने गर्नुपर्छ ।

यस धरतीमा पानीको मात्राको हिसाबमा दुई थरिका फुड्स छन्, रसद्धार फुड्स र कम रस भएका फुड्स । तरभुजा, खरभुजा, मेवा, कागती, सुन्तला, अंगुर आदि फलपूmलहरु तथा टमाटर, सागपात, काँक्रो, लौका, फर्सी आदि भेजिटेबल्स रसद्धार फुड्स हुन भने चामल, गहँु, मकै, गेडागूडी तथा  नट्स रस कम भएका फुडस हुन् । अहिलेका मानिसहरुले रसद्धार खाद्यपदार्थ (वाटररिच फुड) निकै कम र रस कम भएका पदार्थ बढी खाने गर्छन् । शरीर र स्वास्थ्यका हिसाबमा भोजनको यो अनुपात ठीक होइन । त्यो किनभने मानिसको शरीरमा ७० प्रतिशत पानी छ । बाँकी ३० प्रतिशत हाडमासु आदि छ । त्यसैले मानिसले सेवन गर्ने ७० प्रतिशत फुड्स रसद्धार हुनुपर्छ भने ३० प्रतिशत कम रस भएका अन्न हुनुपर्छ ।

अन्तमाः 

हो, रोगमा क्षणिक राहत पाउन र दुखाई कम गर्न औषधि सहायक हुन सक्दछ, तर औषधिबाट कदापि स्वास्थ्य प्राप्त हुदैन । मानिस रोगबाट मुक्त हुन र स्वस्थ रहन आहारबिहार ठीक हुन जरुरी छ । आयुर्वेदमा भनिएको नै छ, खानपीन ठीक भएन भने औषधिले पनि काम गर्दैन, खानपीन ठीक भयो भने औषधिको आवश्यकता नै पर्दैन । त्यसैले आफ्नो खान्कीमा ध्यान देऔं । पशपंक्षीहरुबाट सिकौं, प्रकृतितिर फर्कौ । प्राकृतिक जीवनशैली अपनाऔं, रोगहरुबाट मुक्त होऔं, सुखी, स्वस्थ र दीघार्यु जीवन बाँचौ । (लेखक मनोविद् हुन् ।)





No comments:

Post a Comment