Saturday, April 11, 2020

हेल्थ फर्स्ट
मोरिंगा मेडिसिन
ओम बानियाँ 

मोरिंगा अर्थात सितलचिनी । बहुउपयोगी वनस्पती हो । यो दिव्य वनस्पति हिजोआज संसारका विकसित मुलुकहरुमा निकै चर्चित छ । तर, नेपालमा भने निकै अपहेलित । नेपाली समाजमा यदाकदा मात्र यसको कोशालाई तरकारीका रुपमा प्रयोग गरिन्छ । सितलचिनीको वनस्पतिक नाम मोरिंगा ओलिफेरा हो भने यसको कोसा ड्रम पिट्ने लट्ठी जस्तो भएकोले अंग्रेजीमा यसलाई ड्रम स्टिक भनिन्छ । मोरिंगा पनि भनिन्छ । मोरिंगालाई विभिन्न ठाउँ र समाजमा विभिन्न नामहरुले चिनिन्छ । नेपालको तराईतिर यसलाई सहजन, सोहिजन, सैजन तथा मुनगा आदि नामले चिनिन्छ भने मध्य पहाडी भेगमा सितलचिनीको नामले चिनिन्छ । 

सुपरफूड मोरिंगाः
मोरिंगा औषधीय गुणले भरिपूर्ण बहुउपयोगी वनस्पती हो । यसको फूल, पात, फल, बोक्रा, डाँठ तथा जरा सबैथोक जीवन उपयोगी हुन्छन् । त्यसैले मोरिंगालाई संसारभर एक चमत्कारी तथा निकै जिवन उपयोगी जडिबुटिको रुपमा लिने गरिन्छ । मोरिंगामा मानव शरिरलाई आवश्यक पर्ने ९० भन्दा बढि किसिमका पोषण तत्वहरु र ४६ किसिमका एन्टी अक्सिडेन्ट पाइन्छ । मोरिंगा अण्डा ,दुध, माछा जस्ता धेरै पोषणयुक्त भनिएका खाद्यपदार्थहरु भन्दा पनि धेरै पोषण र खाद्यपदार्थले भरिएको हन्छ । यसको पातमा गाँजरमा पाइने बीटाकेरोटीन भन्दा बढी, सुन्तलामा भन्दा बढी भिटामीन सी, दूधमा भन्दा बढी क्यालसीयम, पालुङोमा भन्दा बढी फलाम एबं केरामा भन्दा पोटासियम पाइन्छ । मोरिंगा संसारको बढी पोषिलो वनस्पतीहरु मध्य एक हो । वास्तवमा मोरिंगा पौष्टिकताको पावरहाउस हो । यसमा प्रचुर मात्रामा औषधीय गुणहरु समेत हुने हँुदा यो विश्व कै एक प्रमुख सुपरफूड मानिन्छ । 

मोरिंगाको उपयोगः 
संसारको सबैभन्दा तागतिलो पूरक आहार मोेरिंगालाई अनेक तरिकाले उपयोगमा ल्याएको पाइन्छ । परंपरागत रुपमा संसारका धेरै ठाउँहरुमा यसका कलिलो नरम फल (कोसा) तथा पात तरकारीका रुपमा खाने गरिन्छ । कलिलो गेडा हरियो केराउको परिकार बनाएझैं प्रयोग गरिन्छ । यसको पाकेको बीउबाट उत्तम किसिमको तेल निकालिन्छ, जुन खाना पकाउन तथा सिंगारमा प्रयोग गरिन्छ । बोक्रा तथा जरा मसालाको रुपमा प्रयोग गरिन्छ । ताजा अथवा सुकाएको फूल चिया बनाउन प्रयोग गरिन्छ । हिजोआज मोरिंगाको पूmलबाट बनाइएको मोरिंगा चिया संसारभर निकै चर्चित छ । 

मोरिंगा मेडिसिनः

मोरिंगा मेडिसिन पनि हो । दक्षिण एसियामा पाइने यो वनस्पति हजारौँ वर्षदेखि घरेलु औषधिका रूपमा प्रयोग हुँदै आएको छ । आयुर्वेदमा मोरिंगालाई तीन सयजति रोगहरुको उपचारमा उपयोगी भनिएको छ । त्यसैले त विकसित देशहरुमा मोरिंगा क्याप्सुल निकै महँगोमा विक्री हुने गरेको पाइन्छ ।

पेट रोगको औषधिः 

मोरिंगा पेटसम्बन्धी सबै प्रकारका विकारहरुबाट छुटकारा पाउन निकै उपयुक्त मानिन्छ । यसले पाचन क्रियालाई बलियो बनाउँछ । यो एन्टिबायोटिकको गुणले भरिपूर्ण हुन्छ । यसको सेवनले कपाल झर्ने समस्याबाट मुक्ति पाइन्छ । यसको फलको तेलले कपाललाई टुट्न नदिने र सिल्की बनाउने कार्य गर्छ । यसको फललाई पानी शद्ध गराउन पनि प्रयोग गरिन्छ । यसको बोक्राले शरीरमा भएका विभिन्न एलेर्जीहरु जस्तैः दादखाज, खुजली तथा लुतो आदिमा पिसेर लगाउदा फाइदा गर्छ । यसको पात नियमित रुपमा खाली पेटमा सेवन गर्नाले पेट सम्बन्धि दीर्घ रोगहरु सन्चो हुने र यसले अनुहारमा चमक ल्याउनुका साथै कालो पोतो र डंडीफोर हटाउन निकै उपयोगी मानिएको छ ।

पावर टनिकः 

मोरिंगालाई वीर्यवद्र्धक तथा संभोगशक्तिबद्र्धक मानिन्छ । यसले शरीरलाई निकै फुर्तिलो र तागतिलो बनाउँछ । त्यसैले मोरिंगा यौन रोगहरु हटाउन तथा सेक्स पावर बढाउन निकै उपयोगी मानिएको छ । छिप्पेको फललाई उमालेर नियमित साँझ सुत्ने बेला निरन्तर प्रयोग भर्ने हो भने सेक्स पावर बढ्ने विज्ञहरुको भनाइ छ । यसको फल दूधमा उमालेर पिउने हो भने पनि सेक्स पावर बढ्छ । मोरिंगाको जराको बोक्राको चूर्ण सेवन गर्ने हो भने नपुंसकता, शीघ्रपतन जस्ता समस्याहरुमा फाइदा हुन्छ । यो महिलाहरुको यौन समस्याहरुका लागि पनि उत्तिकै उपयोगी छ । 

मोटोपना र मोरिंगाः 

मोरिंगा मोटोपना घटाउन निकै उपयोगी हुन्छ । यसमा पाइने फस्फोरसले शरीरको अतिरिक्त क्यालोरी तथा बोसो कम गर्छ । त्यसैले यसको पातको एक कप रसमा एक चम्चा मह र आधा कागतीको रस हालेर बिहान खाली पेटमा सेवन गर्ने हो भने बोसोको मात्रा घट्छ । बिस्तारै बिस्तारै वजन कम हँुदै जान्छ । मोरिंगा जिम गर्ने युवाहरुलाई पनि निकै उपयोगी मानिएको छ । गठिया र मोटोपनाले पीडितहरूको लागि त यो झनै उपयोगी छ । यो वायुनाशक हुन्छ । त्यसैले गर्दा यसको सेवनले बोसो कम हुन्छ । बोसो कम हुँदा मोटोपना कम हुन्छ, गठिया निको हुन्छ । यो पीडानाशक प्राकृतिक औषधि पनि हो । यसले शरीर सुन्निएको पनि कम गर्छ । 

महिलाको मेडिसिनः

मोरिंगा महिलाको मेडिसिन हो । यो महिलाहरुको माहिनावारी गडबडीमा निकै फाइदाजनक हुनका साथै पाटेघर सम्बन्धी रोगहरुलाई समेत उपयोगी छ ।  मोरिंगाले हेमाग्लोबिन बढाउँछ । आयूर्वेदमा यसको फुलले दाल झान्नाले शरीरमा आइरनको मात्रा बढाउने कार्य गर्छ भनिएको छ । मोरिंगा गर्भवती महिलाका लागि झनै उत्तम टनिक हो । यसको पातको तरकारी तथा पातको रसले गर्भवती महिलाहरुलाई आवश्यक क्यालशियम, फलाम, भिटामिन्स उपलब्ध गराउँछ । यसको सेवनले प्रसवपीडा कम हुन्छ । मोरिंगको पातको तरकारी सेवन गर्ने हो भने शिशु जन्मिएपछि आमाको दुःध पर्याप्त मात्रामा आउँछ । 

बेबी फूड 
मोरिंगा बालबालिकाहरुका लागि निकै उत्तम आहार हो । यसले कुपोषित बालबालिकाहरुलाई स्वस्थ बनाउन सहयोग गर्छ ।  मोरिंगालाई पाउडर बनाएर बालबालिकालाई दिँदा उनीहरूको शरीरमा पौष्टिक तत्व पुग्छ । भिटामिन ए को कमीले बालबालिकाको रोगसँग लड्ने क्षमता कम हुन्छ, अनि राति आँखा नदेख्ने समस्यासँगै झाडा–पखाला लाग्ने, श्वासप्रश्वासको समस्या हुने गर्छ । यसरी झाडापखाला र श्वासप्रश्वासको समस्या भएपछि बच्चालाई खान मन नलाग्ने, कुपोषण बढ्दै जाने र अन्तमा मृत्यु नै हुन्छ । तर मोरिंगाको सेवनले कुपोषण हुन दिँदैन भने कुपोषण भइसकेका बालबालिका वा वयस्कका लागि सञ्जीवनीको काम गर्छ । त्यसैले आफ्ना शिशुलाई र परिवारलाई विभिन्न प्रकारका कुुपोषणबाट बचाउन मोरिंगाको प्रयोग गर्न सुरु गर्नु बुद्धिमानी हो । मोरिंगा नहुने ठाउँमा पनि यसको पातलाई सुकाएर तरकारीमा वा दालमा हालेर उपयोग गर्न सकिन्छ । यस्तो दिव्य वनस्पति पाइने नेपालका बालबालिका कुपोषण हुनु भनेको त घरआँगनमा सुनखानी भएर दरिद्र जीवन बिताउनुजस्तै हो भन्ने डा. अरुणा उप्रेतिको भनाइ छ ।

रोग प्रतिरोधकः

मोरिंगामा शरीरको प्रतिरक्षात्मक प्रणालीलाई मजबुत बनाउने क्षमता भएकोले छिटै निको नहुने संक्रमणित रोग जस्तैः एड्स वा एचआइभीको आधुनिक औषधी बनाउन प्रयोग गरिन्छ । यसको प्रयोग कलेजोको रोगी समेत विभिन्न अरु रोगहरु उपचार गर्ने परम्परागत औषधी बनाउन प्रयोग गरिन्छ । यसले फोक्सोको रोगमा पनि सहयोग गर्छ ।

आई टनिकः
मोरिंगाको सेवनले आँखाको ज्योति बढाउँछ । यसमा भिटामिन ए पर्याप्त मात्रा हुने भएकोले रतान्धो रोग लाग्दैन । रतान्धो भिटामिन ए कै कमीले गर्दा हुने रोग हो । मोरिंगाको बीउबाट बनाइएको तेल ओलिभ तेल जत्तिकै राम्रो हुन्छ भनेर अनुसन्धानले देखाएको छ ।
जादुको रुखको सुप

हिजोआज अमेरिका र युरोपमा समेत मोरिंगाको लोकप्रियता निकै बढेकै छ । मोरिंगलाई कतिपय ठाउँहरुमा जादुको रूख पनि भन्ने गर्छन् । सायद यस वनस्पती पौष्टिकता र औषधीय गुणको पावर हाउस भएका कारण यसो भनिएको होला । मोरिंगालाई विभिन्न तरिकाले सेवन गर्न सकिन्छ । यसको सुप बनाएर पिउँदा अनेक स्वस्थ फाइदा हुन्छ । सुप बनाउने विधिः मोरिंगालाई साना साना टुक्रा बनाएर काट्ने र दुई कप पानीमा हालेर उमाल्ने । यसमा मोरिंगाको पात पनि हाल्न सकिन्छ । जब पानी खिल्टिएर आधा हुन्छ तब थोरै बिरेनुन र मरिचको धुलो हाल्ने । मोरिंगा सुप तयार भयो । यस सुपको नियमित सेवनले सेक्स पाउव राम्रो हुन्छ । रोगप्रतिरोधक क्षमता बढ्छ । पाचन प्रणाली मजबुत हुन्छ । कब्जियत हट्छ । रगत सफा हुन्छ । मधुमेह नियन्त्रणमा सहयोग गर्छ ।

पुछारमाः
मोरिंगा अर्थात सितलचिनी अनेक प्रकारमा भिटामिन र सूक्ष्म पोषण तत्वहरु राखेर प्रकृतिले सित्तैमा दिएको पौष्टिक उपहार हो । तर नेपाली समाजमा उपहार नै अपहेलित अवस्थामा छ । त्यसैले मोरिंगाको महत्व बझौं र मोरिंगाको क्याप्सल होइन, पात तथा कोशाको तरकारी आदि सेवन गरेर स्वस्थ जीवन बाँचौं । व्यावसायिक रुपमा यसको खेतीतिर लागौं । मोरिंगाको जरालाई कम पानी भए पुग्ने हुँदा थोरै पानी पर्ने ठाउँमा समेत यसलाई लगाउन सकिन्छ । (लेखक साइकोथेरापिष्ट तथा पोषणविद् हुन् ।) 














No comments:

Post a Comment